(पन्चचामर छन्द)
हिमाल माल तालमा समाल विश्व टाकुरा
अमूल्य गर्भ खोँचमा बबाल रत्नका चुरा
छचल्किँदै जलाशयी सहस्र स्रोतमा बडा
दबाई पाउमा अहा ! जडीबुटी लता खडा
विदेश मोहले खिचे उचाइ विश्व सम्पदा
स्वदेश बन्धु ता जुटे बढाइ भावना सदा
विशेष जीवजन्तुले हराभरा छ जङ्गल
भएर चन्द्र दाहिना बनून् त सूर्य मङ्गल
महान भारती कला पहाड मन्च माधुरी
उठान रक्तले भला मुना टुसाउ चातुरी
सुतृप्ति नेत्रमा अहो ! छ–टा–र बेँसि निर्झरा
सुखानुभूति सर्वदा सु–प्राण वायु उर्वरा
उमङ्गका नदीहरू छचल्किँदै सुसाउँछन्
फनक्क फन्फनी घुमी धरादिमा रसाउँछन्
अभिन्न भिन्न मित्रता जुटेर पार लाउँछन्
अनेक एक कन्दरा फुटेर नै जुटाउँछन्
सदाबहार जङ्गली प्रचण्ड ताप भावर
जटा समान केशको घना छ सन्त सागर
चुरे टुटे सरी नदी सलल्ल बग्न पाउँछन्
धरा छ जीर्ण वालुवा शनै शनै बगाउँछन्
मधेस देशको कथा छ फाँट फाँट उर्वर
हरेक एक दृष्टिमा रचेर दिव्य पावर
मिलीजुली वसन्तको अपार शक्ति जुट्नु छ
मदेसको स्वदेशको अखण्ड भक्ति रच्नु छ
विदेशका विडम्बना विशाद पार लाउनु
पुरातनी विचारका विषाक्तता निखारनु
विवेकका सचेतले उमार्नु मृत्तिका जरा
पहाडका मधेसका स्यहार्नु खेतका गरा
सुसृष्टिका सुदृष्टिले उमार भन्छ आँकुरा
सुकर्मका सुमार्गका उचाल भन्छ पाखुरा
सुगन्धका सुबासका फुलाउनू छ कोपिला
कुकर्मका अकालका उखाल दुख्खका किला ।