19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दुई मन, एक यात्रा

कथा बद्री अधिकारी August 12, 2026, 3:40 am
बद्री अधिकारी
बद्री अधिकारी

काठमाडौं मलाई कहिल्यै एउटै अनुहारको सहर जस्तो लागेन। बिहान यसको गति फरक हुन्छ, दिउँसो अर्को र साँझ फेरि अर्कै। एउटै सडकले पनि दिनभरि कति स्वर फेर्छ भन्ने कुरा यहाँ आएपछि मात्रै बुझ्न थालेको थिएँ।

म अठ्ठाइस वर्षको थिएँ। नेपाली साहित्यमा स्नातकोत्तरको अन्तिम वर्ष पढ्दै थिएँ र साथसाथै लोकसेवा आयोगको तयारी पनि गरिरहेको थिएँ। समय जति बाँकी हुन्थ्यो, पुस्तकसँगै बस्ने बानी थियो। कहिलेकाहीँ केही लेख्थेँ पनि, तर आफूलाई लेखक ठान्ने साहस कहिल्यै गरेनँ। शब्दहरू मेरा लागि कहिले सोच्ने माध्यम बने, कहिले एक्लोपनबाट उम्किने बाटो।

त्यो दिन विश्वविद्यालयबाट निस्कँदा असारको साँझ काठमाडौंमाथि विस्तारै झर्दै थियो। केहीबेर अघि परेको पानीले सडकको धुलो पखालिएको थियो। भिजेको कालोपत्रेमा बत्तीहरू झिलिमिली देखिन्थे। हावामा माटोको हल्का गन्ध मिसिएको थियो।

म एउटा क्याफेतिर जाँदै थिएँ—नोट मिलाउने बहाना, तर मनमा अलिकति लेख्ने योजना पनि थियो। क्याफेअगाडि पुगेर म केही क्षण रोकिएँ। सडकपारिको दृश्य हेर्दै मोबाइल निकालेर क्यामेरा खोलेँ।

कुनै विशेष कारण थिएन। तर त्यो क्षण जोगाउन मन लागेको मात्र थियो।

मलाई कहाँ थाहा थियो, अर्को केही क्षणमै त्यही मोबाइल मेरो जीवनको सबैभन्दा अनपेक्षित घटनाको पहिलो साक्षी बन्नेछ।


मोबाइलको स्क्रिनमा दृश्य खोज्दै गर्दा सडकको लय एकाएक भाँचियो।

क्याफेको सानो पार्किङबाट एउटी युवतीले सेतो स्कुटर बिस्तारै सडकतिर निकालिन्। उनले हतार गरेकी थिइनन्, साधारण दिनको साधारण यात्राजस्तो देखिन्थ्यो। स्कुटरले गति समात्न नपाउँदै पछाडिबाट आएको पल्सर मोटरसाइकल अस्वाभाविक वेगमा नजिकियो।

सेकेन्डभरमै ठक्कर लाग्यो।

स्कुटर एकातिर चिप्लियो। युवती सडकमा ढलिन्। मोटरसाइकल केही पर लरबरायो, तर चालकले सन्तुलन सम्हाल्दै अगाडि बढाइदियो। उसले पछाडि फर्केर हेरेन। केही क्षणमै ऊ सवारीको भीडमा हरायो।

सबै कुरा धेरै छिटो भयो, तर त्यो दृश्य आँखामा धेरै समयसम्म बसिरह्यो।

मलाई थाहा थिएन, मैले त्यस क्षण मोबाइल उठाइसकेको रहेछु। भिडियो आफैं रेकर्ड भएको थियो। तर त्यो हेर्ने समय थिएन। म तुरुन्तै क्यामेरा बन्द गरेर घटनातिर दौडिएँ।

वरिपरिका केही मानिस पनि जम्मा भइसकेका थिए। कसैले करायो, कसैले बाटो छोड्न भन्यो। युवती अचेतजस्तै थिइन्, तर सास चलिरहेको थियो।

मैले कसैलाई भनें, “एम्बुलेन्स बोलाउनुहोस्।”

कसैले फोन निकाल्यो। कसैले ट्राफिक प्रहरीलाई खबर गर्‍यो। हामीले उनलाई अनावश्यक नचलाउने निर्णय गर्‍यौँ।

त्यो सडक केही मिनेटका लागि मात्रै होइन, समय नै रोकिएजस्तो भयो। तर सहर भने वरिपरि चलिरह्यो—जसरी केही पनि भएको छैन।

केहीबेरमै एम्बुलेन्सको आवाज टाढाबाट आउन थाल्यो।


एम्बुलेन्सको साइरन नजिकिँदै गर्दा भीड अलि फाट्न थाल्यो। अस्पतालबाट आएको एम्बुलेन्ससँगै दुईजना स्वास्थ्यकर्मी पनि आएका थिए। उनीहरूको चाल छिटो थियो, तर हतारिएको होइन—अनुभवले निर्देशित।

उनीहरूले युवतीको अवस्था छिटो हेरे, टाउकोतिरको चोट जाँच गरे र सावधानीपूर्वक स्ट्रेचर तयार पारे। वरिपरि उभिएका मानिसहरू स्वतः पछि हटे।

“कसले दुर्घटना देख्नुभएको हो?” एक जनाले सोधे।

मैले अघि बढेर भनें, “म थिएँ।”

छोटो बयानपछि उनले टाउको हल्लाए, “ठीक छ।”

त्यो बेला कसैले पनि धेरै शब्द खर्च गरेन। सबैको कामना एउटै थियो—उनको सास चलिरहोस्।

युवतीलाई स्ट्रेचरमा राखिँदै गर्दा मसँगै उभिएका एकजनाले सोधे, “कोही साथमा जानुहुन्छ?”

सबैले एकअर्काको मुख हेराहेर मात्र गरे।

म अघि बढेँ, “म जान्छु।”

म किन गएँ भन्ने प्रश्न त्यसबेला मनमा आएन। त्यतिबेला निर्णय सोचेर होइन, आफैं भइदिँदो रहेछ।

एम्बुलेन्सभित्र पस्दा बाहिरको सहर झन टाढा हुँदै गएको जस्तो लाग्यो। साइरन बजिरहेको थियो, तर भित्रको मौनता अझ ठूलो थियो।

युवतीको अनुहार अर्धबेहोस अवस्थामा शान्त देखिन्थ्यो। त्यो शान्तता अचम्मको थियो—जस्तो केही भएको छैन भन्ने भ्रम दिने खालको।

एम्बुलेन्स अघि बढ्यो। काठमाडौंका सडकहरू बिस्तारै पछाडि छुट्दै गए।

र त्यही यात्रासँगै, मैले पहिलो पटक महसुस गरेँ—आजको दिन अब मेरा लागि सामान्य रहने छैन।


एम्बुलेन्स वीर अस्पतालको आकस्मिक कक्षअगाडि रोकिँदा साँझ झन गाढा भइसकेको थियो। स्ट्रेचर बाहिर निकालिँदै गर्दा स्वास्थ्यकर्मीहरूको बोली छोटो र स्पष्ट थियो। सबै प्रक्रिया अभ्यासजस्तै चलिरहेको थियो, तर परिस्थितिको गम्भीरता फरक थियो।

म बाहिरै रोकिएँ। औपचारिक रूपमा म केही पनि थिइनँ, तर त्यहाँबाट हट्न पनि मनले मानेन।

केही समयपछि नर्स बाहिर आइन्। उनले युवतीको झोला र मोबाइल समातिरहेकी थिइन्।

“उहाँको नाम के हो?” उनले सोधिन्।

झोलाबाट भेटिएको परिचयपत्र हेरेर उनले टिपिन्—आर्या श्रेष्ठ।

त्यही नाम पहिलो पटक सुनियो। किन हो कुन्नि, त्यो नाम मनमा बसिरह्यो, तर त्यतिबेला त्यसको अर्थ थिएन।

केहीबेरमै प्रहरी पनि आइपुगे। घटनाबारे छोटो सोधपुछ भयो। मैले देखेका कुरा मात्रै भनें। पछि मोबाइलमा भएको भिडियो पनि देखाएँ।

“यो हामीले राख्छौं,” प्रहरीले भने, “अनुसन्धानका लागि उपयोगी हुन्छ।”

म टाउको हल्लाएर सहमत भएँ।

केहीबेरपछि अर्को दृश्य आयो—एक दम्पती हतारिँदै अस्पतालतिर दौडिएर आइपुगे। उनीहरूको अनुहारमा डर र अनिश्चितता दुवै थियो। नर्सले उनीहरूलाई भित्र लैजाँदा मैले अनुमान गरेँ—सायद उहाँहरू उनका परिवारका सदस्यहरू हुनुहुन्थ्यो।

त्यही क्षणसम्म पनि म त्यहाँ किन छु भन्ने स्पष्ट कारण थिएन। तर म बाहिर निस्किन पनि सकिनँ।

अस्पतालको चिसो हावा, उज्यालो बत्ती र मानिसहरूको हतारोबीच म केहीबेर उभिरहेँ।

भित्र कतै एउटा अपरिचित जीवन चलिरहेको थियो, र बाहिर म त्यसको मौन साक्षी बनेर उभिएको थिएँ।


साँझ ढल्दै थियो। अस्पतालको बाहिरको उज्यालो बत्ती झन् चिसो लाग्न थालेको थियो। आकस्मिक कक्षअगाडि मानिसहरूको आवतजावत निरन्तर थियो, तर मेरो ध्यान एउटै ठाउँमा अडिएको थियो।

केहीबेरपछि नर्स फेरि बाहिर आइन्।

“उहाँलाई होस आएको छ,” उनले भनिन्, “तर अहिले एक जना मात्र भेट्न मिल्छ।”

त्यो कुरा सुनेपछि आर्याका साथ आएका मानिसहरू अलि पछि हटे। एक क्षणको मौनतापछि एक जना वृद्ध पुरुषले मतिर हेरे।

“तिमी नै हौ कि अस्पतालसम्म ल्याउने?” उहाँले सोध्नुभयो।

“हो,” मैले छोटो जवाफ दिएँ।

उहाँले हल्का टाउको हल्लाउनुभयो, “भित्र जाऊ।”

म केही क्षण अलमलिएँ। तर नर्सले संकेत गरेपछि म उपचार कक्षतिर लागेँ।

ढोकाभित्र पस्दा वातावरण फरक थियो—चिसो, शान्त र औषधिको हल्का गन्धले भरिएको। आर्या ओछ्यानमा थिइन्। निधारमा पट्टी बाँधिएको थियो। आँखा खुलिसकेका थिए, तर अझै पूर्ण रूपमा होसमा फर्किएकी थिइनन्।

उनको नजर बिस्तारै ममा अडियो।

केही क्षण दुवै मौन रह्यौँ।

मैले शान्त स्वरमा भनें, “तपाईं अहिले सुरक्षित हुनुहुन्छ। दुर्घटनापछि अस्पताल ल्याइएको हो।”

उनले हल्का टाउको हल्लाइन्। लाग्थ्यो, उनी केही सम्झन खोजिरहेकी थिइन्, तर सम्झनाका धागाहरू अझै जोडिन सकेका थिएनन्।

“म… यहाँ कसरी आएँ?” उनले कमजोर स्वरमा सोधिन्।

“क्याफेबाट निस्किँदै गर्दा दुर्घटना भयो,” मैले बिस्तारै भनें, “म त्यहीँ थिएँ...अरूमानिसहरूको सहयोगमा यहाँ ल्याइयो।”

उनले एकछिन आँखा चिम्लिन्।

त्यही बेला ढोका फेरि खुल्यो। प्रहरी भित्र आए। केही औपचारिक प्रश्नहरू सोधिए। आर्याले धेरै स्पष्ट सम्झन नसकेको बताइन्। केहीबेरपछि प्रहरी बाहिरिए।

कोठामा फेरि शान्ति फैलियो।

त्यसपछि उनले मतिर हेर्दै बिस्तारै भनिन्, “तपाईं… मेरो आफन्त हो?”

म हल्का मुस्कुराएँ।

“होइन। म त्यो बेला त्यहाँ थिएँ।”

उनको आँखामा अलिकति आश्चर्य देखियो।

“त्यसो भए… तपाईं किन यहाँ?”

मैले सहज स्वरमा भनें, “किन भनेर सोच्ने समय त्यतिबेला थिएन।”

उनले केही क्षण मलाई हेरेर बिस्तारै भनिन्, “धन्यवाद…”

त्यो शब्द सानो थियो, तर त्यसको भारीपन फरक थियो।

म बाहिर निस्कँदा साँझ पूर्ण रूपमा रातमा बदलिसकेको थियो। अस्पतालको सिसा झ्यालबाट टाढाको सडक उज्यालो देखिन्थ्यो। सहर आफ्नै लयमा बगिरहेको थियो, जस्तो केही भएको छैन।

तर मेरो मनमा भने एउटा कुरा स्पष्ट रूपमा अड्किसकेको थियो—आजको सामान्य दिन अब कहिल्यै सम्झनाबाट हट्ने छैन।


⬤ ⬤


त्यो घटनापछि सदा झैँ सहर उस्तै व्यस्त थियो, तर मेरो मन भने अलि फरक चलिरहेको थियो। अस्पतालबाट फर्किएपछि पनि त्यो साँझ बारम्बार सम्झनामा आउँथ्यो—सडक, ठक्कर, र आकस्मिक कक्षको चिसो मौनता।

जीवन फेरि आफ्नै नियमित लयमा फर्किएको थियो। विश्वविद्यालय, पुस्तकालय, लोकसेवाको तयारी—सबै उस्तै थिए। तर मनको एउटा कुनामा आर्याको अनुहार अड्किएको जस्तो हुन्थ्यो, जुन न त बलजफ्ती सम्झनुपर्थ्यो, न त सजिलै बिर्सिन सकिन्थ्यो।

केही दिनपछि अपरिचित नम्बरबाट फोन आयो।

“नमस्कार…”

त्यो स्वर सुन्नासाथ मैले चिनें। आवाज अलि कमजोर थियो, तर पहिचान स्पष्ट।

“हो, भन्नुहोस्,” मैले भनें।

“म… अस्पतालबाट बोल्दैछु,” उनले भनिन्, त्यसपछि हल्का अड्किएर थपिन्, “अब म घर फर्कने क्रममा छु।”

मैले सहज रूपमा सोधेँ, “अहिले स्वास्थ्य कस्तो छ?”

“ठीकै छ,” उनले भनिन्, “डाक्टरले आराम गर्न भनेका छन्।”

केही क्षणको मौनतापछि उनले बिस्तारै थपिन्, “मैले तपाईंलाई धन्यवाद भन्नकै लागि फोन गरेकी हुँ। तपाईँको नम्बर मलाई अस्पतालकी नर्सले दिएकी हुन्।”

मैले अलिकति मुस्कुराउँदै भनें, “त्यो दिन म मात्रै थिएँ भन्ने होइन। अरू धेरैले सहयोग गरे।”

उनी हल्का हाँसिन्।

“तर सबैले त्यहाँ बसेर अन्त्यसम्म साथ दिँदैनन्,” उनले भनिन्, “त्यो तपाईंले गर्नुभयो।”

त्यो वाक्यपछि म केही बोलिनँ।

फोनमा फेरि सामान्य कुराकानी भयो—स्वास्थ्य, पढाइ, सामान्य जीवनका कुरा। तर त्यो कुराकानी औपचारिक थिएन, न त पूर्ण अपरिचित जस्तो। बीचमा कुनै अदृश्य दूरी घट्दै गएको जस्तो अनुभूति हुन्थ्यो।

फोन राखेपछि पनि केहीबेर म चुपचाप बसेँ।

सायद जीवनले कहिलेकाहीँ मानिसहरूलाई धेरै ठूलो कारणले होइन, धेरै सामान्य क्षणले जोड्दोरहेछ।


त्यसपछि फोनहरू बिस्तारै नियमित हुन थाले। सुरुमा कहिलेकाहीँ, पछि हप्तामा एक–दुई पटक। कुरा पनि सधैँ लामो हुँदैनथ्यो, तर छोटा संवादहरूमा पनि एउटा सहजता बढ्दै गएको थियो।

कहिले उनी पढाइबारे सोध्थिन्, कहिले म उनका स्वास्थ्यबारे। कहिलेकाहीँ बीचैमा कुनै अनावश्यक मौनता आउँथ्यो, तर त्यो मौनता असहज लाग्दैनथ्यो।

एक दिन उनले भनिन्, “तपाईं सधैँ यति कम बोल्नुहुन्छ?”

मैले हल्का मुस्कुराउँदै भनें, “पहिलो पटक राम्रोसँग नचिनेको मान्छेसँग धेरै बोल्ने बानी छैन।”

उनले तुरुन्तै प्रतिउत्तर दिइन्, “अब त हामीलाई नचिनेका भन्न मिल्छ र?”

त्यो वाक्यपछि म केहीबेर चुप बसेँ।

“सायद,” मैले बिस्तारै भनें।

त्यसपछि हाम्रो संवाद अलि सहज हुँदै गयो। कहिले साहित्यका कुरा, कहिले सहरका कुरा... कहिले सामान्य जीवनका साना अनुभवहरू। उनी मनोविज्ञान पढिरहेकी रहिछिन्। मानिसका व्यवहारबारे उनका कुरा सुन्दा मलाई कहिलेकाहीँ आफ्नै सोचहरू अलि अपूरो लाग्थे।

एक साँझ उनले सोधिन्, “मान्छेहरू सधैँ संयोगले भेटिन्छन् होला?”

मैले केहीबेर सोचेर भनें, “संयोगले भेटिन्छन् होला… तर टाढा रहने कि नजिकिने भन्ने कुरा चाहिँ संयोगले होइन, समयले तय गर्छ।”

उनी केही क्षण मौन रहिन्।

“त्यो समय कहिले आउँछ त?” उनले बिस्तारै सोधिन्।

मैले उत्तर दिन सकिनँ।

बाहिर हल्का हावा चलिरहेको थियो। सहरको कोलाहल पहिलेजस्तै सुनिन्थ्यो। तर फोनको अर्को छेउमा एउटा यस्तो प्रश्न थियो, जसको उत्तर किताबमा पाइँदैन।

त्यो दिनको कुराकानी त्यहीँ सकियो। तर मनमा एउटा सानो तर स्पष्ट परिवर्तन भने सुरु भइसकेको थियो।


दिनहरू फेरि आफ्नै लयमा बग्दै गए। तर अब त्यो लयभित्र आर्याको उपस्थिति कहिलेकाहीँ अनायासै मिसिन्थ्यो। कुनै विशेष कारण बिना नै फोन बज्ने, वा सन्देश आउने क्रम बढ्दै गएको थियो।

एक दिन साँझ उनले भनिन्, “आज काठमाडौं अलि फरक देखिएको छ।”

“किन?” मैले सोधेँ।

“पानी परेको छ,” उनले भनिन्, “सडक भिजेको छ, बत्तीहरू अझ टाढा–टाढा फैलिएका जस्तो लाग्छ।”

मैले झ्यालतिर हेरेँ। साँच्चै, बाहिर हल्का वर्षा भइरहेको थियो। सडकको धुलो हराएर कालोपत्रे चम्किरहेको थियो।

उनको आवाज फेरि आयो, “यस्तो बेला सहर पनि अलि शान्त जस्तो लाग्छ।”

मैले भनें, “सहर कहिल्यै शान्त हुँदैन। तर कहिलेकाहीँ हामीलाई शान्त देखिए झैँ लाग्छ।”

उनी हल्का हाँसिन्।

“सायद,” उनले भनिन्, “मान्छेको मन शान्त भयो भने सहर पनि त्यस्तै देखिन्छ।”

त्यसपछि केहीबेर हामी दुवै चुप रह्यौँ। फोनमा मौनता थियो, तर त्यो पूर्ण शान्त थिएन। उतातिरबाट उनको सास फेरेको हल्का आवाज सुनिरहेको थियो।

कहिलेकाहीँ यस्तै साना कुराहरूले पनि दुई अपरिचित मान्छेबीचको दूरी अलि कम गरिदिन्छन् भन्ने महसुस हुन थालेको थियो।

त्यो साँझपछि हाम्रो कुराकानीले एउटा नयाँ किसिमको सहजता पायो। अब प्रश्नहरू औपचारिक थिएनन्, न त जवाफहरू सावधानीपूर्वक तौलिएर दिइन्थे।

तर अझै पनि हामी दुवैबीच एउटा अदृश्य सीमाना थियो—नाम नदिइएको, तर महसुस गरिने।


समयसँगै हाम्रो कुराकानीमा एउटा स्थिरता आउन थालेको थियो। न धेरै नजिक, न टाढा—ठ्याक्कै बीचको दूरीजस्तो। कहिलेकाहीँ त्यो दूरी नै सुरक्षित पनि लाग्थ्यो।

एक दिन उनले फोनमा सोधिन्, “तपाईंको नाम त निश्चल हो नि?”

मैले अलि अचम्म मान्दै भनेँ, “हो। तपाईंलाई अहिले सोध्ने बेला भयो?”

उनी हल्का हाँसिन्, “अहिले होइन, धेरै अगाडि सोध्नुपर्ने रहेछ जस्तो लाग्यो।”

मैले पनि मुस्कुराएँ, “नामभन्दा पहिले हाम्रो परिचय परिस्थितिले बनाएको जस्तो लाग्छ।”

उनी केही क्षण चुप रहिन्।

“सायद,” उनले भनिन्, “तर नामले पनि मान्छेलाई अलि वास्तविक बनाउँछ।”

त्यो वाक्यपछि हाम्रो संवाद अलि गम्भीर हुँदै गयो।

कहिलेकाहीँ उनी आफ्नो पढाइबारे सुनाउँथिन्, मनोविज्ञानका कक्षाहरू, मानिसका व्यवहारका अनौठा पक्षहरू। म सुन्थेँ, र बीचमा केही प्रश्नहरू सोध्थेँ। उनी हरेक कुरा सरल बनाउँदै बुझाउने प्रयास गर्थिन्।

एक साँझ उनले भनिन्, “मान्छेहरू आफूलाई बुझ्नेभन्दा अरूलाई बुझ्न सजिलो ठान्छन्।”

मैले सोधेँ, “किन?”

“किनभने आफूलाई बुझ्दा सत्यसँग सामना गर्नुपर्छ,” उनले भनिन्, “अरूलाई बुझ्दा अनुमानले पनि काम चल्छ।”

त्यो वाक्य लामो समयसम्म मनमा बसिरह्यो।

त्यसपछि केही दिन हाम्रो कुराकानी भएन। न त उनले फोन गरिन्, न त मैले। त्यो मौनता असहज थिएन, तर फरक चाहिँ थियो—जस्तो कुनै कुरा अझै भन्न बाँकी छ भन्ने अनुभूति।


केही दिनको मौनतापछि एक साँझ उनको फोन आयो। घण्टी बज्नेबित्तिकै उठाएँ।

“निश्चल…,” उनले बिस्तारै भनिन्, “केही दिन बोलिनँ है।”

मैले सहज स्वरमा भनेँ, “ठिकै छ।”

उनी हल्का हाँसिन्, तर त्यो हाँसो अधुरोजस्तो लाग्यो।

“कामको चाप थियो,” उनले थपिन्, “र मन पनि अलि अस्थिर जस्तो भयो।”

मैले सोधेँ, “केही भएको थियो?”

केही क्षण मौनता रह्यो। त्यसपछि उनले भनिन्, “घरमा फेरि विवाहको कुरा उठ्यो।”

त्यो वाक्य सामान्य थियो, तर त्यसको बीचमा लुकेको भार महसुस गर्न सकिन्थ्यो।

“तपाईंले के भन्नुभयो?” मैले सोधेँ।

“अहिले समय चाहिन्छ भनेँ,” उनले भनिन्, “तर अब धेरै दिन टार्न सकिँदैन जस्तो लाग्छ।”

मैले केहीबेर केही बोलिनँ।

फोनको अर्को छेउमा पनि मौनता थियो।

पछि उनले बिस्तारै भनिन्, “तपाईंलाई चाहिँ यस्तो कुरा हुँदा के लाग्छ?”

मैले झ्यालतिर हेरेँ। बाहिर सहर सामान्य थियो—गाडीको आवाज, बत्ती, र चलिरहेको जीवन।

“मलाई लाग्छ,” मैले बिस्तारै भनें, “हतारमा गरिएको निर्णयभन्दा समयले बनाएको स्पष्टता राम्रो हुन्छ।”

उनी केही क्षण चुप रहिन्।

“तर समयले कहिल्यै पर्खिँदैन,” उनले भनिन्।

त्यो वाक्यमा केही पीडा झल्किरहेको थियो।

कुराकानी लामो भएन। तर फोन राखेपछि पनि मन केहीबेर हल्का असहज बनिरह्यो। अब हाम्रो सम्बन्धमा केवल परिचय वा संवाद मात्र थिएन भन्ने कुरा दुवैलाई थाहा भइसकेको थियो, तर त्यसलाई नाम दिने समय अझै आएको थिएन।

तर एउटा कुरा स्पष्ट हुँदै गइरहेको थियो—अब मौनताले पनि पहिले जस्तो सरल अर्थ बोकेर बस्न छोडेको थियो।


⬤ ⬤ ⬤


लोकसेवा आयोगको परीक्षाको दिन नजिकिँदै जाँदा मेरो जीवन फेरि किताब र नोटतिर सीमित हुन थाल्यो। बिहानदेखि साँझसम्म एउटै तालिका—पढाइ, नोट बनाउने, र फेरि दोहोर्याउने। बीचबीचमा आर्याको सन्देश आउँथ्यो, तर संवाद पहिले जस्तो लामो हुँदैनथ्यो।

“पढाइ कस्तो चलिरहेको छ?”

“ठिकै छ,” म लेख्थेँ।

“अलि धेरै थाक्नु हुँदैन है,” उनी उत्तर दिन्थिन्।

यस्तै नै।

तर यस्ता छोटा संवादहरूले पनि अनौठो रूपमा मन हल्का बनाउँथे।

एक दिन परीक्षा नजिकिँदै गर्दा आर्याले फोन गरिन्।

“तपाईंलाई तनाव त भइरहेको छैन नि?”

मैले हल्का मुस्कुराउँदै भनेँ, “तनाव नभए त परीक्षा नै गम्भीर लाग्दैन।”

उनी हाँसिन्, “तपाईं सधैँ यति शान्त कसरी रहन सक्नुहुन्छ?"

“शान्त देखिनु र भित्र शान्त हुनु फरक कुरा हो,” मैले भनेँ, “तर म आफूलाई नियन्त्रणमा राख्न प्रयास गर्छु।”

उनी केही क्षण मौन रहिन्।

त्यसपछि बिस्तारै भनिन्, “तपाईं जस्तो मानिस भेटिनु दुर्लभ हुन्छ जस्तो लाग्छ।”

मैले सोधेँ, “किन?”

“किनभने धेरै मानिसहरू या त धेरै बोल्छन्, या त बिल्कुलै चुप बस्छन्,” उनले भनिन्, “तर तपाईं बीचमा हुनुहुन्छ।”

त्यो वाक्यले अनौठो रूपमा मन छोयो।

त्यही दिन साँझ म फेरि पुस्तकालयको झ्यालछेउ बसेको थिएँ। बाहिर हल्का हावा चलिरहेको थियो। रूखका पातहरू बिस्तारै हल्लिरहेका थिए। टाढा डाँडाहरू धुम्म देखिन्थे।

मलाई लाग्यो—जीवन पनि यस्तै हो, कहिलेकाहीँ स्पष्ट देखिन्छ, कहिलेकाहीँ धुम्म। तर दुबै अवस्थामा अघि बढिरहनुपर्छ।

त्यही बेला मोबाइल बज्यो। आर्याको नाम देखियो।


फोन उठाउनासाथ उनले केही क्षण केही भनिनन्। अर्को छेउमा हल्का हल्लिएको सास मात्र सुनिन्थ्यो।

“निश्चल,” उनले बिस्तारै भनिन्, “आज अलि गाह्रो दिन जस्तो लाग्यो।”

मैले सोधेँ, “के भयो?”

उनी केहीबेर चुप रहिन्।

“घरमा कुरा फेरि गहिरियो,” उनले भनिन्, “अब धेरै समय छैन भन्ने कुरा सबैले महसुस गर्न थालेका छन्।”

मैले किताब बन्द गरेँ।

“तपाईं के चाहनुहुन्छ?” मैले सोधेँ।

यो प्रश्नपछि उनी झनै लामो समय चुपचाप रहिन्। सायद यो पहिलो पटक थियो, जहाँ शब्दले होइन, निर्णयले जवाफ दिनुपर्ने अवस्था थियो।

“म… बुझ्न चाहन्छु,” उनले बिस्तारै भनिन्, “के हामीले जे महसुस गरेका छौँ, त्यो स्थायी हो कि होइन।”

मैले केही क्षण सोचेर भनेँ, “भावनाहरू तुरुन्त स्थायी हुँदैनन्। तर समयसँगै जाँचिँदै गएपछि मात्रै थाहा हुन्छ।”

उनी हल्का हाँसिन्, तर त्यो हाँसोमा पुरानो सहजता थिएन।

“त्यसैले त समय चाहिएको हो,” उनले भनिन्।

फोनमा फेरि शान्ति छायो। तर त्यो रित्तोपन खाली थिएन। त्यसभित्र प्रश्नहरू थिए—जसको जवाफ दुवैले पूर्ण रूपमा पाइसकेका थिएनौँ।

मैले बिस्तारै भनेँ, “हामीले हतारमा कुनै कुरा पनि अन्तिम बनाउनु हुँदैन।”

“तर ढिलो गर्दा सबै कुरा आफैं टाढा त हुँदैन?” उनले सोधिन्।

त्यो प्रश्नको उत्तर मसँग थिएन।

फोन केही बेरपछि टुङ्गियो।

म फेरि झ्यालतिर फर्किएँ। बाहिर सहर उस्तै थियो—चलायमान। तर हामीभित्र कतै एउटा कुरा स्पष्ट हुँदै गइरहेको थियो—अब हाम्रो सम्बन्ध केवल संवादको चरणमा थिएन। यो निर्णयको छेउछाउ पुगिसकेको थियो।


त्यो दिनपछि केही समय हामीबीचको संवाद फेरि पातलो भयो। पहिलेको जस्तो अनायास फोन आउने क्रम घट्दै गयो। तर पूर्ण बन्द भएको पनि थिएन—कहिलेकाहीँ छोटो सन्देश आउँथ्यो, र म पनि उस्तै छोटकरीमा जवाफ दिन्थेँ।

“परीक्षा नजिक आयो होला,” उनले लेख्थिन्।

“हो,” म लेख्थेँ।

“ध्यान दिनु है,” उनको उत्तर आउँथ्यो।

यति मात्र।

तर यस्ता सामान्य शब्दहरू पनि कहिलेकाहीँ गहिरो अर्थ बोकेर आउँथे।

एक साँझ म क्याम्पसबाट फर्किँदै थिएँ। बाटो किनारका रूखहरू हल्का हावामा हल्लिरहेका थिए। सडकमा साँझको उज्यालो र बत्ती मिसिएर अनौठो रंग बनेको थियो। मान्छेहरू आफ्नै गन्तव्यतिर हिँडिरहेका थिए, कसैको हतार, कसैको थकान।

त्यो क्षण अचानक मलाई आर्याको त्यो वाक्य याद आयो—

“के हामीले जे महसुस गरेका छौँ, त्यो स्थायी हो कि होइन।”

त्यो प्रश्न अझै पनि टुङ्गिएको थिएन।

घर पुगेर म केहीबेर झ्यालछेउ बसें। बाहिर टाढा–टाढासम्म फैलिएको काठमाडौंको बत्तीहरू देखिन्थे। सहर जीवित थियो, तर कुनै न कुनै रूपमा थकित पनि।

त्यही बेला मोबाइल बज्यो।

आर्याको नाम।

मैले केही क्षण हेरेँ। र फोन उठाएँ।


लोकसेवा आयोगको परीक्षा सकिएको दुई दिन बितिसकेको थियो। धेरै दिनपछि म फुर्सदिलो भएको थिएँ। हामी निस्फिक्रीसँग कुरा गरिरहेका थियौँ। परीक्षा, पढाइ र दैनिकीका सामान्य कुरा हुँदै जाँदा उनले अचानक भनिन्,

“बुबाले आज तपाईंको बारेमा सोध्नुभयो।”

म केही क्षण चुप रहेँ।

“के भन्नुभयो त?”

“त्यो दुर्घटनाको दिनदेखि अहिलेसम्मको सबै कुरा उहाँहरूलाई थाहा थियो। मैले पनि केही लुकाइनँ।”

“त्यसपछि?”

आर्याले हल्का सास फेरिन्।

“उहाँले धेरै बेर केही भन्नुभएन। पछि बुबाले यति मात्र भन्नुभयो, ‘मान्छेलाई चिन्ने सबैभन्दा राम्रो समय उसले कुनै स्वार्थबिना कसैको साथ दिएको बेला हो।’”

म केहीबेर मौन रहेँ।

आर्या फेरि बोलिन्, “निश्चल...”

“हजुर?”

“अब मलाई लाग्छ, हामीले आफ्ना कुरा घरपरिवारसँग खुला रूपमा भन्नुपर्छ। अनुमानमा अल्झिएको सम्बन्धभन्दा विश्वासमा अडिएको सम्बन्ध धेरै बलियो हुन्छ।”

“म पनि त्यही सोच्दै थिएँ,” मैले भनें, “समयले हामीलाई एकअर्कालाई चिन्ने अवसर दियो। अब आफ्ना मानिसहरूसँग केही पनि लुकाएर राख्नु उचित हुँदैन।”

“त्यसो भए...” उनले बिस्तारै सोधिन्, “भोलि साँझ भिडियो कल गरौँ?”

“हुन्छ,” मैले सहज स्वरमा उत्तर दिएँ।

फोन काटियो।

भोलि हुने त्यो भिडियो कलको सम्झनाले मनको एउटा कुना रमाएर नाचिरहेको थियो भने अर्को कुना कताकता सशङ्कित पनि हुँदै थियो।

भोलिपल्ट साँझ हामी भिडियो कलमा जोडियौँ।

स्क्रिनमा आर्याको अनुहार देखिएपछि दुवैले केही क्षण मुस्कुराएर मात्र एकअर्कालाई हेराहेर गर्‍यौँ।

त्यो हेराहेरमा पनि अनौठो आत्मीयता थियो।

सबैभन्दा पहिले आर्याले नै कुरा सुरु गरिन्।

“आज मेरो मन निकै हलुङ्गो लागेको छ।”

“किन?” मैले सोधेँ।

आर्याको अनुहारमा मुस्कान फैलियो।

“बुबा र आमाले आज भन्नुभयो— 'जीवन तिम्रो हो। निर्णय पनि तिम्रै हुनेछ। हामी तिम्रो निर्णयलाई स्वीकार गर्छौँ।' उहाँहरूको त्यो विश्वासले मेरो मन एकाएक हलुङ्गो भयो।”

उनको कुरा सुनिसकेपछि मैले पनि मुस्कुराउँदै भनेँ,

“मेरो घरमा पनि आज लगभग त्यही कुरा भयो। उहाँहरूले मेरो निर्णयलाई स्वीकार गर्ने भन्नुभयो।”

आर्याले केही क्षण केही बोलिनन्। त्यसपछि बिस्तारै भनिन्,

“त्यसो भए अब हामीलाई रोक्ने कुनै अन्योल बाँकी रहेन जस्तो लाग्छ।”

मैले टाउको हल्लाएँ।

“निर्णय त हामीले धेरैअघि मनमनै गरिसकेका थियौँ,” मैले भनें, “आज परिवारहरूको विश्वासले त्यसलाई अझ मजबुत बनाइदियो।”

आर्याका आँखामा सन्तोष झल्कियो।

“यदि त्यो दिन तपाईं त्यहाँ हुनुहुन्नथ्यो भने... आजको यो क्षण पनि आउने थिएन होला!”

म केही क्षण मौन रहेँ।

“सायद,” मैले बिस्तारै भनें, “तर आज लाग्छ, त्यो दिन संयोगले भेट गरायो, बाँकी यात्रा भने हामीले विश्वासले तय गर्‍यौ।”

आर्याले मुस्कुराउँदै टाउको हल्लाइन्।

“अब जीवनले जता डोर्‍याए पनि,” उनले भनिन्, “त्यो बाटो हामी सँगसँगै हिँड्नेछौँ।”

स्क्रिनका दुई किनारामा देखिएका मुस्कानहरूमा कुनै हतारो थिएन।

बाहिरको सहर आफ्नै गतिमा चलिरहेकै थियो। जीवन पनि आफ्नै लयमा अघि बढिरहेकै थियो। तर दुई अपरिचित मनबीच संयोगले सुरु भएको यात्रा अब दृढ विश्वासका साथ सँगै जीवन जिउने कुरामा रूपान्तरित भइसकेको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।