घर व्यवहार चलाउन खप्पिस घरमुलीले सीमित खर्चमा आदर्श घर चलाउनु र सीमित शब्दहरूमा सुन्दर व्याख्या गर्दै उत्कृष्ट कथानकसहित असीमित निष्कर्ष निकाल्दै लघुकथा सिर्जना गर्नु उस्तै कुरा हो । प्रसिद्ध निबन्धकार रामबाबु घिमिरेले, नविनतम लघुकथा सङ्ग्रह लिएर आएका छन् । भर्खरै बजारमा आएको उनको लघुकथासङ्ग्रह “अघोरी" को अध्ययनपछि मेरो मनले यस्तै ठहर गरेको छ । छोटो आकारले मात्र लघुकथा बन्दैन । न त विना कथानक लघुकथा बन्न सक्छ ! यी दुवै विषयको संयोजनमा लघुकथा लेखन कार्य त्यति सहज कार्य पनि होइन । लघुकथाको रचनात्मक उद्देश्य चुनौतीपूर्ण हुन्छ । लघुकथा आकारमा छोटो भएर पनि यसको निष्कर्ष भने विस्तृत हुन्छ । लघुकथाको सबैभन्दा विशिष्ट गुण भनेकै यही हो, जसको अर्थ संक्षिप्ततामा गाम्भिर्य र गतिमा चपलता हुन्छ । ‘अघोरी' लघुकथासङ्ग्रहमा यिनै विशेषताहरू भरिपूर्ण छन् र कथाकारले तिनै चुनौतीहरूलाई चिरेर अत्यन्त सुन्दर लघुकथाहरू प्रस्तुत गरेका छन् ।
म अहिले घिमिरेको पछिल्लो लघुकथासङ्ग्रह ‘अघोरी ' निकै तन्मयका साथ अध्ययन गरिरहेको छु । प्रस्तुत कृति ‘अघोरी' मा कथाकारले लघुकथा लेखनको मान्यता अनुसार अनावश्यक शब्दहरूलाई नियन्त्रण गरेर शब्दहरूमा मितव्ययिता अपनाउँदै लघुकथा सिर्जना गरेका छन् । यसलाई लघुकथा लेखनको महत्त्वपूर्ण सूत्रका रूपमा लिन सकिन्छ । त्यसैले घिमिरेको ‘अघोरी'मा समाविष्ट गरिएका कथाहरूमा सूक्ष्मताभित्र स्थूलता फेला पार्न सकिन्छ ।
‘अघोरी' लघुकथाका अधिकांश कथाहरू सघनता प्रधान छन् । कथाको यही गुणले कथालाई गुणस्तरीय बनाएको छ । कथामा अनावश्यक शब्दहरूलाई प्रवेश निषेध गरेर आश्यकता अनुसार सटीक शब्दहरू मात्र समावेश गरिएकोले लघुकथासङ्ग्रह उत्कृष्ट बन्न पुगेको हो । घिमिरेका कथाहरू छोटा छन् तर त्यही छोटो कथा भित्र पूर्णता सहित अनगिन्ती विशेषताहरू छन् ।
कतिपय लघुकथामा कथानक प्रत्यक्ष रूपमा नभई सङ्केत मार्फत व्यक्त गरिएकोले ती बिम्बात्मक बनेका छन् । कथामा प्रयोग गरिएका यस प्रकारका प्रतीकवादको प्रयोगले लघुकथाको गुणस्तरमा थप वृद्धि भएको छ । ‘अघोरी' ‘आत्माको मन’ ‘उपचार' ‘घाती' ’सङ्कटमोचन' ‘पूर्व लडाकु' ’फरक' जस्ता कथाहरू बिम्बात्मक छन् । कथा, निबन्ध र कवितामा प्रयोग हुने गरेको संवेदनशीलताले लेखकमा भएको परिपक्वता र ज्ञान वा अनुभवलाई उजागर गर्छ । यसरी लेखकले यहाँ पनि संवेदनशील कथा प्रस्तुत गरिरहँदा लेखकले मनलाई भावनाको गहिराइमा पुगेर लेखेको प्रष्ट हुन्छ । वास्तवमा ‘अघोरी'का कथाहरूले पाठकको हृदयलाई गहिरोसँग छुन पुगेको छ । ‘अऋणि' ‘पूर्व पत्नी' ‘फोन कल' ‘बिकाउ' ‘आमा' ‘उपचार' लगायत कथाहरू अत्यन्त संवेदनशील छन् ।
यसैगरी जुनसुकै विधाका साहित्य किन नहोस् , साहित्यका हरेक विधामा विराम चिह्नको महत्त्वपूर्ण भूमिका हुन्छ , अझ लघुकथा लेखन कार्यमा भने विराम चिह्नले झनै बढी महत्त्व राखेको हुन्छ । प्रस्तुत कृतिमा पनि कथाकार घिमिरेले प्रयोग गरेका विराम चिह्नले वाक्य संरचनालाई शुद्ध रूपमा र यसको सही अर्थमा पाठकलाई कथाको सार र उद्देश्य बुझ्न निकै सहज बनाइ दिएको छ । सीमित शब्दमा लघुकथा बुन्न सिपालु घिमिरेका लघुकथामा विराम चिन्हको उचित प्रयोगले अनावश्यक शब्द नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।
घिमिेरेले अधिकांश कथाहरूमा वास्तविकताको अनुभूति हुनेगरी कथा सिर्जना गरेका छन् । वर्णन गरिएका घटनाहरूको घटनास्थल र समय तोक्नु आधुनिक कलाको एक महत्त्वपूर्ण विशेषता हो । यद्यपि, समय र स्थानले स्थान र समय मात्र नभई रीतिरिवाज, जीवनशैली, पात्रहरूको शिष्टाचार, व्यवहार, विचार, भाषा र कुराकानीको शैली तथा कथाको प्राकृतिक पृष्ठभूमिलाई पनि उचित प्रकारले समेटेको छ । कथाकारले प्रस्तुत सबै कथालाई प्राकृतिक वातावरण प्रदान गरेको छ । यहाँ उनले आफ्नो समयको सत्यलाई समय र स्थानको रूपमा अमर बनाउन प्रयास गरेका छन् । उनले लघुकथाहरूमा भौतिक वा प्राकृतिक अवस्थालाई बडो सुन्दर ढङ्गले चित्रण गरेका छन् । ‘पूर्व पत्नी' लगायत अन्य केही लघुकथामा देशको माटोको बास्ना चलेको छ । माटोको बास्ना चलेका सिर्जनाहरू सुन्दर मात्र हुँदैनन् मुटु छुने खालका हुन्छन् । कतिपय लघुकथामा कथाकारले प्रयोग गरेका चोटिलो व्यङ्ग्य प्रहारले सुनमाथि सुगन्ध थपेको आभास हुन्छ । प्रस्तुत सङ्ग्रहमा समसामयिक विषयमाथि गरिएको सामाजिक व्यङ्ग्य निकै रोचक र घोचक छन् ।
नेपाली साहित्यमा लघुकथाको इतिहास त्यति पुरानो नभए पनि यो इतिहास लेख्ने क्रममा निरन्तर अघि बढिरहेको छ । हालका दशकहरूमा साहित्यका अन्य विधाको तुलनामा लघुकथाको माग पाठकहरू माझ बढ्दो छ । अर्थशास्त्रको सिद्धान्तले भनेको जस्तो उत्पादन कम भएर यसको माग बढेको भने होइन । लघुकथाको उत्पादन र माग, एउटै रफ्तारमा बढेको पाइन्छ । अन्य विधामा जस्तै लघुकथामा पनि प्रकृति र लेखकको क्षमताले कृतिको दशक निर्धारण गर्दछ । कथाको विषयवस्तु र शैली लेखकको व्यक्तिगत गुण हो, जसले पाठकहरू समक्ष आफ्ना विचारहरू पुर्याउने काम गर्छन् । यो कुरा कथाकारमा निर्भर हुन्छ । उसले आफ्नो कथानकलाई धेरै पृष्ठहरूमा व्याख्या गर्न चाहन्छ वा केही अनुच्छेदहरूबाट नै पूर्ण सन्देश दिन सक्छ ! यसैगरी लघुकथाको लम्बाई र कृतिको आकार निर्धारण गर्न पनि कथाकार स्वतन्त्र हुन्छन् ।
मेरो व्यक्तिगत पाठकीय विचारमा लघुकथालाई शब्द , शैली, लम्बाई र कृतिको आकारका सन्दर्भलाई लिएर नयाँ नयाँ सिद्धान्त र नियम उपनियम थोपर्नु उचित हुँदैन । कथाकार घिमिरेले पचास भन्दा बढी कथा तयार भएको स्वीकार गरिरहँदा बाईसवटा कथा बाहेक अन्य कथा कृतिमा अटाउन सकेनन् । यसबाट घिमिरेका अन्य कथाको रसास्वादन गर्नबाट पाठकहरू बञ्चित भएका छन् । यसरी घिमिरेका बाँकी कथाहरू समावेश भएको अर्को कृति कुर्नै पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
" प्रस्तुत कृति ‘अघोरी'मा कथाकारले आकारमा छोटा तर तिनीहरूको निहितार्थ र उद्देश्यमा ठूलो र दूरगामी प्रभाव पार्नेगरी कथा सिर्जना गरेका छन् ।" यस सन्दर्भमा लघुकथा लेखकको जिम्मेवारी बढी गम्भीर र चुनौतीपूर्ण हुन्छ । समावेश गरिएका लघुकथाहरू लोकप्रिय र उत्कृष्ट छन् । यो सन्तुलनले लेखकको जिम्मेवारीलाई अति महत्त्वपूर्ण बनाउँछ । समाजीकरणको प्रक्रिया कहिल्यै सरल हुँदैन । यो अनगिन्ती संकटहरूबाट गुज्रनु पर्छ । लघुकथाले प्रणालीका अवरोधहरूलाई सही रूपमा महसुस गर्छ । यही क्षमता यसको शक्ति बन्छ ।
कथाकार घिमिरेले यस कथामा कथाहरूको अन्तर्निहित विषयवस्तु र उद्देश्यको सारांश प्रस्तुत गरेका छन् । उनका लघुकथाहरूसँग परिचित कुनै पनि पाठकले घिमिरेका लघुकथाहरू वास्तविकताको ऐना हुन् भन्ने कुरामा सहमत हुन्छन् । घिमिरेका कथाहरू कृत्रिमताबाट मुक्त छन् । कथाहरूका पात्रहरू हाम्रो वरिपरि र हामीसँगै छन् । जसलाई हामी हरेक दिन देख्छौं, भेट्छौँ, ठोकिन्छौँ र अगाडि बढ्छौं । घिमिरेले लेखनको केन्द्रमा जात, धर्म, महिला वा पुरुषलाई होइन , केवल मानव चरित्रलाई आफ्नो रोजाइमा पारेका छन् । यसले लघुकथालाई थप उत्कृष्टता प्रदान गरेको छ । कृतिको नामाकरण पनि ‘अघोरी' शीर्षकबाट गरिएको छ । समाजमा देखिएको अस्तव्यस्तता, अकर्मण्यता, विकृति र विसङ्गतिको सम्पूर्ण जड समाज डोर्याउन ठेक्का लिएका यस्तै अघोरी चरित्रका व्यक्तिहरू भएको तथ्य ‘अघोरी'मा पढ्न पाइन्छ । त्यसैले कृतिको शीर्षक अत्यन्त सार्थक छ ।
‘कोरोना जाबो' दुनियामा अचानक पैदा भएको महामारीबाट सारा संसार त्रासदीको भुङ्ग्रोमा पिल्सिएको वास्तविक र यथार्थ घटनाको दस्तावेज बनेको छ । ‘बिकाउ' शीर्षकको कथामा डाक्टरले बिरामीप्रति गर्ने व्यवहारलाई एकजना विरामीले पढाएको पाठका रूपमा लिन सकिन्छ । विरामी हेर्ने समय डाक्टरको होइन बिरामीको समय हो । यो यथार्थ सबै डाक्टरले मात्र होइन विरामीले पनि बुझ्नुपर्छ र आफ्नो सबै शारीरिक र मानसिक समस्या निर्धक्कसँग डाक्टरसँग भन्न सक्नुपर्छ ।
‘अऋणि' कथाले समग्र देशको खस्कँदो तस्वीर देखाएको छ । जसरी चाहिएको समयमा खुरुक्क कागजात फेला पार्न नसक्दा पुरै बाकस जलाइनु समस्याको समाधान होइन समाधान गर्ने अनगिन्ती माध्ययम हुन्छन् । यसरी नै सयौँ वर्ष अघिका महत्त्वपूर्ण अभिलेख जलाउँदैमा रातारात भ्रष्टाचार नियन्त्रण हुँदैन । त्यसका लागि पदमा रहने हरूले आत्म संयममा रहन सक्नुपर्छ । ‘गाढामाया' कथामा चाहे वृद्ध उमेर होस्, चाहे कुरुप किन नहोस् , आफ्नी श्रीमती भनेको आफ्नै श्रीमती हुन्छ भन्ने वास्तविकतालाई छर्लङ्ग बनाइएको छ । गाँजाले मस्त लट्ठिएको समयमा पनि एकजना पात्रद्वारा आफ्नी श्रीमती प्रतिको प्रेम, सद्भाव, र कर्तव्य छताछुल्ल मात्र बनाइएको छैन देवाधिदेव महादेव प्रवित्तिलाई कसरी उत्तर दिनुपर्छ भन्ने महत्त्वपूर्ण सन्देश यस कथामा पाइन्छ ।
‘फोनकल' कथा राजनीतिक परिवर्तन पछि सबै मान्छेहरूमा बढेको महत्वाकांक्षाले मान्छे कसरी पतीत हुँदै गएको छ र तिनले आफ्नो नैतिकता, पद र पैसाका लागि कसरी बन्दकीमा राख्न सक्छन् भन्ने विश्लेषण गरिएको छ । देशका साँसद र मन्त्रीहरूलाई कसरी बिचौलियाले फनफनी घुमाइ रहेका हुन्छन् र उनीहरू त्यसमा कसरी बाँधिएका हुन्छन् भन्ने प्रष्ट पारिएको कथा ‘बिचौलिया' हो । कथामा देशको वास्तविकता बोलिरहेको पाइन्छ ।
अत्यन्त उत्कृष्ट स्वैर कल्पनाको नमुना बनेको लघुकथा हो, ‘आत्माको मन' यस लघुकथामा आत्माको पनि मन हुन्छ भन्ने विषयको अत्यन्त सुन्दर प्रस्तुति देख्न सकिन्छ । ‘पूर्वपत्नी', कथा पहिलो माया भनेको पहिलो माया हो र सामान्य मतभेदका कारण पतिपत्नीको सम्बन्धलाई हल्का रूपमा लिएर कसैको देखासिकीमा सम्बन्ध टुटाउने आलाकाँचा मानसिकता भएकाहरूलाई दिइएको सिख हो ‘पूर्वपत्नी' कथा ।
यसैगरी ‘आमा' नेपाली युवाहरूले वर्तमान अवस्थामा भोगिरहेको तीतो यथार्थ हो । वर्तमान समाजमा कतै कर र कतै रहरका कारण देखिने गरेका यी घटना हुन् । प्रस्तुत कथा अत्यन्त मार्मिक भएकोले पाठकको मुटु छुन सफल मध्येको एक कथा हो ‘आमा' । ‘उपचार' कथा नेपालको स्वास्थ्यसेवाको दयनीय अवस्था उजागर गरिएको कथा हो,कथा सुन्दर छ ।यसैगरी ‘समानुपातिक' कथा आफ्ना श्रीमान् श्रीमती भाइ भतिजा दाजुभाइ हुँदै आफ्ना सहयोगीहरूलाई समेत समानुपातिकमा स्थान दिएर सुरक्षित गर्ने परिपाटीलाई उदाङ्गो बनाइएको कथा हो ।
'दूरदर्शिता' राजनीतिमा संलग्न हुनेहरूको अकर्मण्यता प्रस्तुत गरिएको छ । राजनीति कर्मीले आफ्नो खेतमा जाने खोल्सीमा पुल हालेर हजारौं जनता हिँड्ने नदीमाथि पुल निर्माण गर्न बेवास्ता गर्ने गरेको निरिह नेपालीको कथा व्यथा हो । नेताहरूले जनतालाई कसरी काइते तर्क गर्दै जिप्ट्याउने गरेका छन् , त्यसको सार नै दूरदर्शिता लघुकथा हो । ‘फरक' कथामा सत्ता र पद प्राप्तिका लागि इमान्दार र क्रान्तिकारीहरू पनि कसरी बिक्द्दै जान्छन् भन्ने यथार्थ बोलिरहेको छ । कथाले यस प्रवृत्तिका विरुद्ध दह्रो झापड दिएको छ । समग्रमा कृतिभित्र समेटिएका अन्य सबै कथाहरू सुन्दर , आकर्षक र प्रभावशाली छन् । त्यसैले कृति पठनीय र सङ्ग्रहणीय बनेको छ । यो सुन्दर कृतिका लागि कथाकार रामबाबु घिमिरेलाई हार्दिक बधाई ।
कालिका चितवन ।