रात कहिल्यै एकैचोटि अँध्यारो हुँदैन। पहिले उज्यालो थाक्छ, त्यसपछि विश्वास, अन्त्यमा मानिस। त्यो साँझ पनि अँध्यारो विस्तारै पृथ्वीमाथि ओर्लिरहेको थियो। पश्चिम क्षितिजमा डुबिरहेको सूर्यले रक्तिम आभाको अन्तिम रेखा छोडेर विदा लिइसकेको थियो। आकाशमा बाक्ला खरानी रङका बादलहरू निस्पन्द झुन्डिएका थिए, मानौँ उनीहरू पनि कुनै अनिष्टको प्रतीक्षा गरिरहेका हुन्। हावामा अस्वाभाविक चिसोपन थियो, तर त्यसमा जीवनको ताजापन थिएन, बरु मृत्युको गन्ध मिसिएको थियो। सहरको उत्तरतिर फैलिएको पुरानो वन आज असामान्य रूपमा सुनसान देखिन्थ्यो। वनको बीचमा रहेको शान्त पोखरी कालो ऐनाजस्तो निश्चल थियो, जसले आकाशको उदासीलाई आफ्नै काखमा कैद गरेको थियो। पोखरीमाथि झुकेको विशाल बरको रुख समयको थकित प्रहरीझैँ उभिएको थियो। उसका सुकेका हाँगाहरू आकाशतिर फैलिएका असहाय हातजस्ता देखिन्थे, मानौँ नियतिसँग दया मागिरहेका हुन्।
वनतर्फ जाने धुलाम्मे बाटो उजाड र उराठलाग्दो थियो। प्रत्येक पाइला चाल्दा धुलोको मुस्लो उठ्थ्यो, जसले आँखामात्र होइन, मन पनि धमिलो बनाइदिँथ्यो। बाटोछेउका तरकारीबारीहरू लामो खडेरीले जलेर खैरो भइसकेका थिए। सागका पातहरू ओइलाएर जमिनमा लत्रिएका थिए। गोलभेँडाका बोटहरू फलभन्दा बढी पीडाले झुकेका देखिन्थे। करेलाका लहराहरू सुकिसकेका थिए। फर्सीका पातहरूमा हरियालीको सट्टा खरानी रङको थकान बसेको थियो। मकैका बोटहरू निर्जीव सैनिकझैँ टाउको झुकाएर उभिएका थिए। खेतहरूमा चिरा परेका थिए, मानौँ पृथ्वीको मुटु नै टुक्राटुक्रा भएको होस्। बाँसघारीबाट आउने सुस्केरा हावासँग मिसिएर शोकगीत बनेको थियो।
साँझ गहिरिँदै जाँदा गाउँभरिका कुकुरहरू एकपछि अर्को गर्दै कराउन थाले। त्यो सामान्य भुकाइ थिएन। त्यो अनिष्टको पूर्वसूचना बोकेको विलापजस्तो सुनिन्थ्यो। टाढा-टाढासम्म उनीहरूको आवाज प्रतिध्वनित हुन्थ्यो र फेरि मौनतामा बिलाउँथ्यो। कहिलेकाहीँ कुनै लाटोकोसेरोको करुण चिच्याहटले सन्नाटालाई चिर्थ्यो। झ्यालहरू चाँडै बन्द भइसकेका थिए। मानिसहरू घरभित्र थिए, तर प्रकृतिलाई भने निद्रा लागेको थिएन। हावा सुकेका पातहरूमाथि सरसर बग्दा लाग्थ्यो, कसैले अदृश्य अक्षरमा मृत्युको घोषणा लेखिरहेको छ। त्यो रातमा चन्द्रमाको उज्यालो पनि लजाएको थियो। ताराहरू बादलभित्र लुकेका थिए। अँध्यारो केवल आकाशमा थिएन, बाटोमा थिएन, वनमा थिएन। त्यो त नियतिले लेखिसकेको एउटा त्रासदीको प्रस्तावना बनेर सम्पूर्ण प्रकृतिमाथि फैलिएको थियो।
आर्या र निरज कहिल्यै एकअर्काको संसार थिए। तर समयले प्रेमलाई सम्झनामा बदलिसकेको थियो। आर्याले धेरैअघि नै त्यो सम्बन्ध समाप्त गरिसकेकी थिई। उसका लागि प्रेम स्वतन्त्रताको अर्को नाम थियो, तर निरजका लागि प्रेम स्वामित्व थियो। उसले सम्बन्धको अन्त्यलाई अस्वीकार मात्र गरेन, आफ्नो अहङ्कारमाथिको आक्रमण ठान्यो। मानिसले प्रेम गुमाउँदा सबैभन्दा बढी पीडा हुँदैन, आफ्नो अधिकारको भ्रम गुमाउँदा हुन्छ। निरज त्यही भ्रमको बन्दी बनेको थियो।
समयले आर्याको जीवनमा नयाँ बिहान ल्याएको थियो। आदित्यसँग उसको विवाह तय भइसकेको थियो। भविष्यले फेरि मुस्कुराउन थालेको थियो। तर केही विगतहरू यस्ता हुन्छन्, जसले वर्तमानको ढोका ढकढकाउन कहिल्यै छोड्दैनन्। एक साँझ निरजको सन्देश आयो—‘एकपटक भेट, त्यसपछि कहिल्यै होइन।’ ती शब्दहरू सामान्य देखिन्थे, तर उनीहरूभित्र विषालु वाचा लुकेको थियो।
धेरै सोचिसकेपछि आर्याले सबै कुरा सधैँका लागि समाप्त गर्ने उद्देश्यले भेट्न जाने निर्णय गरिन्। तर उनी सतर्क थिइन्। घरबाट निस्कनुअघि उनले आदित्यलाई फोन गरिन्। ‘म एउटा अधुरो अध्याय बन्द गर्न जाँदै छु। तिमी लाइनमै बस, सकेसम्म चाँडै आइपुग।’ आदित्यले केवल यति भने, ‘म आइरहेको छु।’ त्यसपछि फोन नकटाई उनी दौडिन थाले।
वनको बाटो सुनसान थियो। साँझले आकाशभरि कालो कसीदा बुन्दै थियो। सुकेका पातहरू हावासँग सुस्केरा हालिरहेका थिए। बरको रुखका पातहरू साक्षीजस्तै काँपिरहेका थिए। पोखरीको पानी स्थिर थियो, तर त्यसको सतहमा अदृश्य भयका तरङ्गहरू उठिरहेका थिए। त्यहीँ निरज उभिएको थियो। उसका आँखामा निद्रा थिएन, आशा थिएन, केवल अस्वीकारको आगो थियो। त्यो आगो प्रेमको थिएन, स्वामित्वको थियो। उसले आर्यालाई हेर्दै भन्यो, ‘तिमीले मलाई किन छोड्यौ?’ आर्याले शान्त स्वरमा उत्तर दिई, ‘किनकि प्रेमले सास फेर्न दिनुपर्छ, घाँटी समात्न होइन।’
फोनको अर्को छेउमा आदित्यले प्रत्येक शब्द सुनिरहेका थिए। उनी दौडिरहेका थिए। उनको सासको आवाज, आर्याको मौनता र निरजको बदलिँदो स्वर एकसाथ मिसिएर भयको संगीत बनेको थियो। अचानक निरजको अनुहारमा क्रोधको बादल झन् बाक्लियो। ‘तिमी मेरो हौ,’ उसले गर्जियो। आर्याले आँखा उठाएर दृढ स्वरमा भनिन्, ‘मानिस कसैको सम्पत्ति हुँदैन।’ त्यो एउटा वाक्यले निरजको भ्रमको महल भत्काइदियो। जब भ्रम चकनाचुर हुन्छ, केही मानिस सत्य स्वीकार्छन्, केही मानिस विनाश रोज्छन्।
अर्को क्षण समय स्थिर भयो। निरजको हातबाट निस्किएको धारिलो चक्कु चन्द्रमाको चिसो टुक्राजस्तै चम्कियो। आर्याले एक पाइला पछाडि सर्दै ‘निरज...’ मात्र भन्न भ्याइन्। त्यसपछि हावाले आफ्नो गति बिर्सियो। चराहरू उड्न बिर्सिए। बरको रुख मौन भयो। पहिलो प्रहारसँगै आर्याको ओठबाट अधुरो सास निस्कियो। त्यसपछि अर्को प्रहार। फेरि अर्को। रगत घाँसमाथि फैलिन थाल्यो। त्यो रगत रगतजस्तो देखिँदैनथ्यो, डुबिरहेको सूर्यले आफ्नो अन्तिम रातोपन पृथ्वीलाई सुम्पिएजस्तो देखिन्थ्यो। घाँसले त्यो रातोपन सम्हाल्न खोज्यो, तर मृत्यु पानीभन्दा पनि चिप्लो हुन्छ।
फोन अझै खुलै थियो। आदित्यको चिच्याहट निरन्तर सुनिन्थ्यो। ‘आर्या! आर्या!’ तर उत्तर मौनताले दियो। केही क्षणपछि निरजले रगतले रङ्गिएको हातले फोन उठायो। उसको स्वर अनौठो गरी शान्त थियो। उसले केवल यति भन्यो, ‘अब तिमी ढिलो भयौ। तिम्रो बिहान अस्तायो।’ लाइन काटियो। त्यो एउटा वाक्य आदित्यको जीवनभर नसुक्ने घाउ बन्यो।
जब आदित्य घटनास्थलमा पुगे, बरको रुख उभिएको थियो, पोखरी उभिएको थियो, आकाश उभिएको थियो, तर आर्या ढलिसकेकी थिइन्। उनका खुला आँखा अझै आकाशतिर थिए, मानौँ उनी अन्तिम पटक उज्यालो खोजिरहेकी हुन्। उनको हातमा अझै जीवनका अधुरा सपनाहरूको न्यानोपन बाँकी थियो, तर शरीर चिसिँदै थियो। विवाहको माला लगाउने हात नियतिले मृत्युको चिसोमा सुम्पिसकेको थियो। आदित्य घुँडा टेकेर बसिरहे। आँसु झरे, तर समय पग्लिएन।
उता निरज भागिरहेको थियो। मानिस संसारबाट भाग्न सक्छ, तर आफ्नो अपराधबाट कहिल्यै भाग्न सक्दैन। प्रत्येक पाइला उसको पछाडि पछुतो दौडिरहेको थियो। केही दूरीमा एउटा पुरानो पीपलको रुख थियो। त्यसका जराहरूले सयौँ वर्षका कथा बोकेका थिए। आज त्यही रुखले अर्को कथा देख्यो। निरजले डोरी बाँध्यो, एकपटक आकाशतिर हेर्यो र आफ्नै अन्धकारमा झुन्डियो। केही घण्टापछि प्रहरीले दुई शव भेट्यो—एउटा प्रेमको हत्या भएको शरीर र अर्को आफ्नै अपराधले मरेको आत्माको खोल।
आर्याको घरमा विवाहको रातो साडी अझै झुन्डिएको थियो। चुरा बाकसमै थिए। मेहेन्दीले हात भेट्न पाएन। सिन्दूरले सिउँदो देख्न पाएन। एउटा आमाको काख रित्तियो, एउटा बाबुको भरोसा टुक्रियो, एउटा युवकको भविष्य चिहानमा परिणत भयो। समाचारले घटनाको विवरण दियो, तर कुनै शीर्षकले ती परिवारहरूको मौन विलाप लेख्न सकेन।
आज पनि त्यो वन उही छ। बरको रुख उही छ। पोखरी उस्तै निश्चल छ। धुलाम्मे बाटोमा साँझ उस्तै बिस्तारै झर्छ। तर त्यहाँ पुग्ने जो कोहीले एउटा अनौठो अनुभूति लिएर फर्कन्छ। हावा चल्दा बरका सुकेका पातहरू एकअर्कासँग ठोक्किन्छन्, र त्यसको आवाज कहिलेकाहीँ दुई जनाको अधुरो संवादजस्तो सुनिन्छ। मध्यरातमा पोखरीको कालो पानीमा चन्द्रमाको प्रतिबिम्ब काँप्न थाल्छ, जबकि हावाको सानो झोक्कासमेत हुँदैन। गाउँलेहरू भन्छन्, त्यो काँपाइ पानीको होइन, स्मृतिको हो। रात गहिरिँदै जाँदा टाढाबाट कुकुरहरू एकैसाथ कराउन थाल्छन्। त्यसपछि वन एकाएक अस्वाभाविक रूपमा मौन हुन्छ। त्यो मौनता यति बाक्लो हुन्छ कि आफ्नै मुटुको धड्कन पनि पराइ आवाजजस्तो लाग्छ।
कतिपयले दाबी गर्छन्, अमावस्याको रात बरको रुखमुनि क्षणभरका लागि सेतो छायाँ देखिन्छ। कसैले विश्वास गर्दैन, तर कसैले त्यसलाई अस्वीकार पनि गर्न सक्दैन। पोखरीको किनारमा बिहान कहिलेकाहीँ दुई जोडी अस्पष्ट पैतालाका डोब देखिन्छन्, जबकि त्यहाँ रातभर कोही गएको हुँदैन। बिहानको पहिलो घाम लाग्नेबित्तिकै ती चिन्हहरू आफैँ हराउँछन्, मानौँ पृथ्वीले आफ्नै रहस्य फेरि गाडिदिएको हो।
सायद केही कथाहरूको अन्त्य शवसँग हुँदैन। केही प्रेमहरू चिहानभित्र पनि निदाउँदैनन्। तिनीहरू हावाको सुस्केरामा बस्छन्, पातको कम्पनमा बोल्छन्, पोखरीको निश्चल पानीमा आफ्नो अनुहार खोज्छन्। त्यसैले त्यो वनमा आज पनि कसैले ठूलो स्वरले प्रेमको वाचा गर्दैन। किनकि त्यहाँका रूखहरूले एउटा रहस्य सुरक्षित राखेका छन्—प्रेमलाई स्वामित्वमा बदल्ने हरेक आत्माले अन्ततः आफ्नै छायासँग हार्छ। र जब मध्यरातमा वनको गहिराइबाट कसैले बिस्तारै फुस्फुसाउँछ, "अन्तिम कल अझै काटिएको छैन...", तब हावा एकाएक चिसिन्छ, पातहरू थर्थर काँप्छन् र अँध्यारोले फेरि अर्को रहस्य आफ्नो काखमा लुकाइदिन्छ।