कसैले केही बुझ्नै पाएनन् । दनदनती आगो बल्यो । "कसैलाई बाँकी नराख, सबलाई लखेट" भन्दै दंगा भड्काउनेहरू एकाएक बजार प्रवेश गरे । लूटपाट मच्चाउन थाले । सामाजिक सद्भाव भत्काउने र धार्मिक सहिष्णुता खल्बल्याउने गरी हिंसात्मक दंगा फैलियो ।
एक समुदायको बजारका पसलहरु छानीछानी खरानी बने । अर्को समुदायको लहरै रहेका घरहरूलाई आगोको लप्कोले निल्न थाल्यो । बृद्ध, बालबालिका जसोतसो निकालिए पनि सरसमानसँगै घरमा बिताएका सुखदुःखका पलहरूको स्मृति धुवासँगै विलीन भए ।
एक अर्काविरुद्ध उत्तेजक, अपमानजनक अभिव्यक्ति र नाराहरू गुञ्जियो । रातको समय, अन्धकारले घेर्यो । स-साना बालबालिका भोकैप्यासै सुते । रामको सपना भताभुंग भएको थियो । रहिमको निन्द्रा गायब थियो ।
यो आपतकालीन स्थितिको सामना गर्न तत्कालै रहिमले आफ्नो समुदायको भेला डाके । “कति सहेर बस्नु । अति भयो । अब सहिदैन् ।” युवाहरू कुर्लिए ।
पाकाहरू पनि गर्जिए “निक्ल अब । जे होला-होला, धर्मको रक्षा र अस्तित्वका लागि जोखिम मोल्नै पर्छ ।”
योजनाबद्ध घरमा भेटेको बन्चरो, खुकरी, कोदालो, खन्ती, डोरी, बाँस साथमा बोके । झिसमिसेमै सबै अर्को समुदायको बस्तीतर्फ निस्किए । हरेक घरबाट एक दुई युवा मिसिएपछि दलबल ठूलो भयो ।
पाकाहरूको नेतृत्वमा जोशिला युवाहरूको लश्कर रामको बस्तीमा पुग्यो । उज्यालो हुँदासम्म उनीहरूले सबै काम तमाम गरिसकेका थिए । त्यहाँ पूर्ववत् घरहरू खडा थियो ।
राजविराज-६, सप्तरी, हाल : विराटनगर-११, मोरङ