कथालाई कहानी पनि भनिन्छ । कथाले अनेक अर्थ दिन्छ तर पहिलेदेखि प्रचलनमा रहेको अर्थ हो –जे भन्न सकिन्छ, अर्थात् भन्नयोग्य । केही पुराना रचनाहरूमा कथालाई यसरी पनि अथ्र्याइएको पाइन्छ–न्यायमा यथार्थ निश्चय वा विपक्षीलाई पराजयको लागि भनिने वृत्तान्त । यद्यपि वर्तमानमा कथालाई सन्दर्भ वा प्रसङ्ग, ऐतिहासिक वर्णनको रूपमा पनि लिएको पाइन्छ । कथामा पाइने कथानकको स्रोतको आधारमा कथालाई अनेक किसिमले वर्गीकरण गरिए पनि कथाकारले कथा लेख्न पाउने स्वतन्त्रता वा विषयवस्तुको रोजाइ तथा भाषा–शैलीगत पृथकताले कथाको क्षेत्रलाई व्यापक बनाउँछ । हरेक कथाकारको मौलिकता पनि यसैमा झल्किन्छ । यस्तै मौलिक कथा सिर्जनकी धनी व्यक्तित्व हुन्–भारतीगौतम ।
हाल अमेरिकाको ज्याक्सनभिल फूलोरिडामा रहेकी कथाकार भारती गौतमको एउटा कथा कृति हात परेको छ–फरक फूल। कृतिको अन्तिम पृष्ठमा टङ्कन गरिएको आधारमा कृतिकार गौतमको मुख्य सिर्जनाभिरुचि संस्मरण हो । प्रकाशित कृतिहरूमा एउटा कविता र तीन संस्मरण छन् । कृति प्रकाशनको यात्राले तीन दशक पूरा गरिसकेको देखिन्छ । पहिलो कृति कविता सङ्ग्रहको रूपमा २०६३ मा प्रकाशित भएको देखिन्छ–आकाशमाथिको शहर । दुईओटा विशुद्ध संस्मरण सङ्कलन छन–्‘स्मृतिमा भीमू’ र ‘विगत र बाडुली’ । अर्को संस्मरणात्मक उपन्यास हो–‘अमेरिकामा आमा’ । सम्भवतः आख्यान र संस्मरणको कोलाज हुनुपर्छ यो कृति । संस्मरणलाई निबन्धको श्रेणीमा राखिन्छ र भनिन्छ, जब कुनै निबन्धले चार हजार शब्दको सीमा नाघ्छ, तब त्यसले विधा परिवर्तन गर्दछ । प्रकाशित कृतिहरूको आधारमा साहित्यकार गौतमलाई काव्य, आख्यान र निबन्धको सचेत स्रष्टा मान्न सकिन्छ ।
समकालीन साहित्य प्रतिष्ठान, बेलायतद्वारा वि.स. २०८२ (सन् २०२५) मा प्रकाशित ‘फरक फूल’ कथा सङ्ग्रहको प्रथम संस्करणलाई आवृत्ति छापाखाना प्रा.लि. बागबजार, काठमाडौंले मुद्रण गरेको छ । केदार अधिकारीको लेआउट रहेको यस कृतिको आवरण सुन्दर बस्नेतले सिर्जना गरेका छन् । आवरण पृष्ठमा रहेको फूलको चित्रजति सरल छ, त्यत्तिकै आकर्षक पनि छ । प्रकाशकीयमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतका अध्यक्ष कृष्ण बजगाईं लेख्छन्–‘फरक फूल’ कथा सङ्ग्रहमा नेपाली डायस्पोराका स्वादिला कथाहरू छन् । सङ्ग्रहका प्रायःजसो कथाले नेपाली मनलाई अमेरिकी जीवनसँग जोड्ने काम गरेका छन् ।” यी दुई वाक्यले कथाको विषयवस्तुतर्फ सङ्केत गर्दै कृतिप्रतिको उत्सुकतालाई उत्कर्षमा पुर्याएको छ । कुनै पनि कृतिलाई पाठकसम्म पुर्याउन वरिष्ठ साहित्यकार बजगाईंका यस्ता प्रोत्साहनमूलक शब्दले निकै सकारात्मक प्रभाव पार्दछ । बजगाईंले कथाकार भारतीका लागि ‘वरिष्ठ’ शब्द उपयोग गरेका छन्, जुन कथा–कृतिको अध्ययन गर्दा पूर्णतः सार्थक प्रमाणित भएको देखिन्छ ।
कथाकार भारती गौतम एक परिचित तथा प्रतिष्ठित साहित्यकार हुन् । विश्वभर फैलिएको नेपाली भाषाको साहित्यमा गौतमको साहित्यिक प्रतिष्ठाको विस्तार भएको उनले प्राप्त गरेको पुरस्कार र सम्मानबाट पुष्टि हुन्छ । गौतमले ‘वनिता काव्य पुरस्कार’, ‘अनेसास उत्कृष्ट नारी हस्ताक्षर पुरस्कार’, ‘राजमित्राप्रज्ञा पुरस्कार’, ‘अनेसास उत्कृष्ट नारी साहित्य पुरस्कार’, ‘उत्तमशान्ति पुरस्कार’जस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेकी छन् । ‘देवकोटा शताब्दी सम्मान’, ‘हिमालय लायन्स क्लब न्यु इङ्गल्यान्ड साहित्य सेवा सम्मान’, ‘अनेसास डायस्पोरिक सम्मान’, ‘ज्योति साहित्य सम्मान’, ‘नासिया (दक्षिण अमेरिकाका नेपालीहरूको सङ्गठन) ‘साहित्य सेवा सम्मान’, ‘देवकोटा साहित्य सम्मान’ (लक्ष्मी वाचनालय धरानआदिबाट सम्मानित साहित्यकार गौतमको प्रस्तुत ‘फरक फूलमा १६ कथा–कृति सङ्कलित छन् ।
‘ठूलीफुपूजस्तै रूथ’, ‘जीवन उत्सव’, ‘मिसेस स्मिथ’, ‘सारी पिन र हजुरआमा’, ‘डोरोथीको डेट’, ‘भाग्यमानी’, ‘डोनर नम्बर पैंतालीस’, ‘एक्लो एन्थोनी’, ‘बिहेको निम्तो’, ‘अर्लको इच्छापत्र’, ‘नोरा र नियति’, ‘इजबेलाको कथा’, ‘अधूरो वाक्य’, ‘न्यान्सी र क्रिस्टल’, ‘रमला कि रञ्जिता’, ‘रातो पस्मिना’ र ‘मातृत्व कोसँग’ कथाहरू ‘फरक फूल’ कृतिभित्र सङ्कलित छन् । कथाका शीर्षकहरू र कथाको विषयवस्तुको दृष्टिकोणले कथाकारको चिन्तन र दृष्टिकोण मात्र नभई अनुभव, अनुभूति, भ्रमण तथा अध्ययनसमेतको फराकिलोपनालाई देखाएको छ । कथाहरूको अध्ययन गर्दा प्रस्तुत कृति कथाकार गौतमको पहिलो कथा कृति हो जस्तो लाग्दैन । साहित्यकार गौतम एक सिद्धहस्त कथाकार हुन् भन्ने कुरा यस कृतिले पूर्णतः स्पष्ट हुन्छ । कृतिकार गौतमको सिर्जनाले एक अलग कथाकाश सिर्जना गरेको स्पष्ट हुन आउँछ ।
“यी कथाहरू नेपाली मनलाई अमेरिकासँग जोड्ने सेतु बनेका छन् । अर्थात् अमेरिकामा नेपाली हृदयबाट देखिने विभिन्न दृष्टि र दृश्य देखिनु कथाहरूको वैशिष्ट्य बनेको छ । भारती गौतमको अन्नमय शरीर त्यहाँ छ, तर मनोमय सूक्ष्म शरीर भने नेपालमा छ ।” भूमिकामा वरिष्ठ साहित्यकार डा. दयाराम श्रेष्ठले उल्लेख गरेका छन् । कथामा प्रयोग भएका पात्रहरू अमेरिकी र नेपाली पृष्ठभूमिका छन् । कथामा आएको परिवेशमा भने निकै पृथकता रहेको पाइन्छ । अधिकांश कथाहरू अलग परिवेशमा रहेका छन् अर्थात् कुनै एक कथामा कुनै एक ठाउँको भौगोलिक परिवेश मात्र आएको छैन । अमेरिका, क्यानडा तथा अस्ट्रेलिया र नेपालमध्ये कम्तीमा दुई देशको भूगोल जोडिएका छन् । पात्रहरू दुई भूगोलका परिचित वा अपरिचित रहे पनि कथाकारको पूर्ण हस्तक्षेपी शैलीले कथालाई सबै भौगोलिक परिवेशमा पाठकलाई, भिजेको अनुभूति गराउँछ । सङ्ग्रहका करीब सम्पूर्ण कथामा प्रयोग गरिएको समयमा पार्थक्य पाइन्छ । कुनै एक समयमा मात्र कथानकले वण्र्य विषयलाई समेटेको छैन । कम्तीमा दुई वा अधिक समयलाई कथाकारले समेट्दै यसरी कथानकलाई बुनेकीछन् कि हरेक समयको मूल्य र महत्त्व कथानक तथा पात्रको समन्वितिमा अझ विशिष्ट बन्न पुगेको छ । अधिकांश कथामा विगत जोडिएको छ र धेरै कथामा भविष्यको सङ्केत गरिएको छ । परम्परागत कथाभन्दा पृथक गौतमका कथाहरूमा कथानक, घटना, भूगोल र समयका साथै समग्र वातावरणको जुन सन्तुलन देखिन्छ, त्यसले कथामा जीवन्तता थपिदिएको छ । यसलाई वास्तविकताको नजीकजस्तो तुल्याउन कथाकार निकै सफल देखिन्छिन् ।
यस सङ्ग्रहका कथाहरूमा पाइने भाषा र शैलीमा एकरूपता पाइन्छ । अङ्ग्रेजी शब्दको आधिक्य भए पनि कथानक र परिवेशले यस्ता शब्दलाई पूर्णतः ग्राह्य बनाएको छ । कथामा प्रयोग भएका विम्ब र प्रतीकहरू यति सशक्त छन् कि कथा ऐनासादृश्य कलात्मक बनेको प्रतीत हुन्छ । अनेक अलङ्कारको प्रयोगले कतिपय ठाउँमा कथाहरू काव्यात्मक र उच्च कलात्मक बनेका छन् ।
‘फरक फूल’ अनेक दृष्टिकोणले सार्थक शीर्षक भएको कथाकृति हो । यसमा ‘फरक फूल’ नामको कुनै कथा परेको छैन । कुनै एक कथा वा रचनाको नामबाट कुनै कृतिको नामकरण गर्नुको अर्थ कृतिकारले उक्त रचनालाई सर्वोच्च रहेको भनेर पाठकसामु सिफारिश गर्नु हो भन्ने मेरो पनि मान्यता रहेको छ । कृतिकारले आफ्ना सबै कथालाई समान माया गरेको देखिन्छ, कृतिमा । यो एक अत्यन्त सफल कृति हो । कृतिकारबाट यस्तै जानकारीमूलक कथाहरूको कृति आगामी दिनमा आउने आशासहित यस ‘फरक फूल’ कृतिको सफलताको शुभकामना व्यक्त गर्दछु ।