भाग १: दुई सिंहको जन्म
जंगलको पूर्वी किनारमा फैलिएको विशाल सालघारीभित्र एउटा सिंह जन्मिएको थियो, जसको नाम पछि सम्पूर्ण जंगलले आदर र भयका साथ लिन थाल्यो—सेरु । जन्मँदा ऊ अरू शावकजस्तै सामान्य थियो । न त उसको गर्जन विशेष थियो, न त उसको शरीर अरूभन्दा ठूलो । तर, बाल्यकालदेखि नै उसमा एउटा फरक गुण थियो—ऊ सधैँ अगाडि हुन चाहन्थ्यो । खेलमा होस् वा शिकार सिक्ने अभ्यासमा, सेरु कहिल्यै दोस्रो स्थान स्वीकार गर्दैनथ्यो ।
समयसँगै उसका पञ्जा बलिया बन्दै गए, दाँत तीखा हुँदै गए र आँखा झन् तेजिला हुँदै गए । जंगलका अनुभवी सिंहहरूले पनि उसको साहस देखेर प्रशंसा गर्थे । ऊ जोखिम लिन डराउँदैनथ्यो । जहाँ अरू सिंहहरू हच्किन्थे, त्यहाँ सेरु निसङ्कोच अघि बढ्थ्यो ।
जंगलमा त्यतिबेला पुराना सिंहहरूको नेतृत्व थियो । उनीहरू अनुभवी त थिए, तर उमेरसँगै उनीहरूको फूर्ति हराउँदै गएको थियो । धेरै जनावरहरूलाई लाग्न थालेको थियो कि जंगललाई अब नयाँ नेतृत्व चाहिएको छ । युवा सिंहहरूबीच पनि यही चर्चा चल्थ्यो ।
त्यही समयमा सेरु चम्कन थाल्यो ।
उसले पहिलोपटक एउटा जङ्गली भैँसीको शिकारमा असाधारण साहस देखायो । जहाँ धेरै सिंहहरू पछि हटेका थिए, त्यहाँ सेरुले अगाडि बढेर झुण्डलाई विचलित बनाएको थियो । त्यस दिनदेखि जंगलका धेरै जनावरले उसलाई नयाँ आशाको रूपमा हेर्न थाले ।
"सेरु फरक छ," युवा सिंहहरू भन्थे ।
"उसमा पुरानो पुस्ताले गुमाइसकेको आँट छ," अरू थप्थे ।
सेरु यी कुरा सुन्थ्यो र मुस्कुराउँथ्यो । ऊ आफूलाई केवल एउटा सिंह मात्र होइन, भविष्यको प्रतीक सम्झन थालेको थियो ।
उता जंगलभन्दा निकै पर, मानिसहरूको संसारमा पनि यस्तै एउटा कथा जन्मिँदै थियो ।
देश लामो समयदेखि पुराना नेताहरूको घेराबन्दीमा थियो । चुनाव आउँथे, सरकार फेरिन्थे, अनुहार बदलिन्थे, तर जनताको जीवनमा खासै परिवर्तन आउँदैनथ्यो । बेरोजगारी बढ्दै थियो, भ्रष्टाचार मौलाउँदै थियो, र युवाहरूको निराशा गहिरिँदै थियो ।
यही समयमा एउटा युवा नेता राजनीतिको मञ्चमा देखा पर्यो ।
उसको बोली तेज थियो, प्रस्तुति आकर्षक थियो, र आत्मविश्वास असाधारण। ऊ पुराना नेताहरूजस्तो थाकेको देखिँदैनथ्यो । सभामा उभिएर बोल्दा उसका शब्दहरू भीडको मनमा सीधा पुग्थे ।
"देशलाई नयाँ दिशा चाहिएको छ," ऊ भन्थ्यो ।
"अब पुरानो राजनीति होइन, नयाँ सोचको समय आएको छ ।"
जनताले ताली बजाउँथे । युवाहरू उत्साहित हुन्थे । सामाजिक सञ्जालमा उसका भाषण भाइरल हुन्थे । धेरैले उसमा भविष्यको प्रधानमन्त्री देख्न थालेका थिए ।
जंगलमा सेरु र देशमा त्यो युवा नेता—दुवै फरक संसारका पात्र थिए । तर उनीहरूबीच एउटा अद्भूत समानता थियो । दुवैलाई लाग्थ्यो कि पुरानो व्यवस्था असफल भइसकेको छ ।
दुवै आफूलाई परिवर्तनको वाहक ठान्थे । दुवैको वरिपरि आशा र अपेक्षाको घेरा बन्दै गइरहेको थियो । जंगलका युवा सिंहहरू सेरुलाई हेरेर भविष्यको सपना देख्थे । देशका युवा नागरिकहरू त्यो नेतालाई हेरेर परिवर्तनको कल्पना गर्थे ।
तर इतिहासको एउटा पुरानो नियम छ—
जब कुनै व्यक्तिलाई धेरै मानिसहरूले आशाको प्रतीक बनाउँछन्, त्यही क्षणबाट उसको परीक्षा सुरु हुन्छ । किनभने शक्ति प्राप्त गर्नु सजिलो हुन सक्छ, तर शक्तिले जन्माउने मोहबाट बच्नु सबैभन्दा कठिन हुन्छ । त्यो बेला न सेरुलाई यसको आभास थियो, न त्यो युवा नेतालाई ।
दुवै आफ्नो यात्राको सुरुआती मोडमा थिए । दुवैको आँखामा परिवर्तनको सपना थियो । र दुवैलाई लाग्थ्यो—उनीहरू अरूभन्दा फरक छन् ।
तर जंगल र राजनीति दुवैले धेरै पटक देखिसकेका थिए—
कहिलेकाहीँ परिवर्तनका नाममा जन्मिएका सिंहहरू नै पछि सबैभन्दा ठूलो गर्जन गर्ने शासक बन्न पुग्छन् ।
२: पहिलो विजय
सपना देख्नेहरू धेरै हुन्छन्, तर सपना साकार गर्ने अवसर सबैलाई प्राप्त हुँदैन । अवसर पाउनु एउटा कुरा हो, त्यसलाई समात्न सक्नु अर्को कुरा । सेरु र त्यो युवा नेताको जीवनमा पनि यस्तै एउटा क्षण आयो, जसले उनीहरूको परिचयलाई सीमित घेराभन्दा बाहिर पुर्यायो ।
जंगलमा वर्षायाम सकिएको थियो । नदीहरू क्रमशः साँघुरिँदै थिए र जनावरहरू पानीको खोजीमा निश्चित ठाउँहरूमा भेला हुन थालेका थिए । यही समय सिंहहरूको लागि शिकारको मौसम मानिन्थ्यो । तर यसपटक जंगलमा एउटा विशेष चुनौती देखा परेको थियो—एक विशाल अर्ना ।
त्यो अर्ना साधारण थिएन । उसको शरीर पहाडजस्तै बलियो थियो, सिङ्गहरू तरबारजस्तै तीखा थिए, र उसको झुण्डमा उसको ठूलो प्रभाव थियो । विगतमा धेरै सिंहहरूले उसलाई ढाल्ने प्रयास गरेका थिए, तर अधिकांश असफल भएका थिए । केही त घाइते समेत भएका थिए ।
एक साँझ सिंहहरूको समूह एउटा ठूलो रुखमुनि भेला भयो । अनुभवी सिंहहरूले योजना बनाइरहेका थिए ।
"यो अर्नालाई ढाल्न सजिलो छैन," एउटा बूढो सिंहले भन्यो, "सावधानी अपनाउनुपर्छ ।"
कतिपय युवा सिंहहरू मौन थिए । जोखिम ठूलो थियो ।
तर सेरुको आँखामा भने छुट्टै चमक थियो ।
"यदि हामी सधैँ डराएर बस्यौँ भने जंगलले हामीलाई किन सम्झने ?" उसले आत्मविश्वासका साथ भन्यो ।
बूढो सिंह मुस्कुरायो ।
"साहस राम्रो कुरा हो, सेरु," उसले भन्यो, "तर साहस र हतारबीचको भिन्नता कहिल्यै नबिर्स ।"
सेरुले जवाफ दिएन । ऊ केवल टाढा देखिएको अर्नाको आकृतितिर हेरिरह्यो ।
भोलिपल्ट बिहान शिकार सुरु भयो ।
अर्नाको झुण्ड नदीकिनारमा पानी पिइरहेको थियो । सिंहहरू योजनाअनुसार विभिन्न दिशाबाट अघि बढे । केहीले झुण्डलाई तर्साए, केहीले बाटो छेके ।
तर निर्णायक क्षणमा सबैभन्दा अगाडि सेरु नै थियो । उसले गर्जना गर्दै अर्नातर्फ छलाङ मार्यो । अर्नाले पनि प्रतिकार गर्यो । उसका सिङ्गले हावा चिरे । केही क्षणका लागि लाग्यो, सेरु पछाडि हट्नेछ । तर ऊ हटेन । उसले दोस्रो आक्रमण गर्यो । त्यसपछि तेस्रो । अन्ततः विशाल अर्ना लड्यो ।
धुलो उड्यो । जंगल केही क्षण मौन भयो । र त्यसपछि सिंहहरूको गर्जन चारैतिर फैलियो । शिकार सफल भएको थियो । समूहका सबै सिंहहरूले योगदान दिएका थिए, तर सबैको ध्यान एउटा पात्रमा केन्द्रीत थियो—सेरु ।
त्यो दिनदेखि जंगलभर एउटा नयाँ कथा फैलियो ।
"अर्ना ढाल्ने सिंह !"
"सेरु !"
"भविष्यको नेता !"
युवा सिंहहरू उसलाई आदर्श मान्न थाले । बूढा सिंहहरूले पनि उसको साहसको प्रशंसा गरे । र पहिलोपटक, सेरुले भीडको प्रशंसाको स्वाद चाख्यो । त्यो स्वाद शिकारको मासुभन्दा पनि मिठो लाग्यो ।
उता मानिसहरूको संसारमा पनि एउटा अर्को युद्ध चलिरहेको थियो । त्यो युद्ध दाँत र सिङ्गको थिएन, मतपत्र र भाषणको थियो । देशमा चुनाव घोषणा भएको थियो । पुराना दलहरू आत्मविश्वासी थिए । उनीहरूलाई लाग्थ्यो, जनताले फेरि आफूहरूलाई नै रोज्नेछन् । तर जनताको मनभित्र केही बदलिँदै थियो । युवाहरू निराश थिए । किसानहरू असन्तुष्ट थिए । शहरका नागरिकहरू थाकेका थिए । र यही असन्तुष्टिलाई आफ्नो शक्ति बनाएर त्यो युवा नेता देशभर घुमिरहेको थियो । उसका सभा भीडले भरिन्थे । उसका भाषणहरू उत्साहले गुञ्जिन्थे ।
"पुरानो राजनीति सकियो !"
"अब नयाँ युग सुरु हुन्छ !"
यी नारा हजारौँ कण्ठबाट प्रतिध्वनित हुन्थे ।
मतगणनाको दिन आयो । देशभर मानिसहरू टेलिभिजन र मोबाइलको स्क्रिनमा आँखा गाडेर बसे । सुरुका नतिजाहरू आउन थाले ।
एकपछि अर्को क्षेत्रबाट समाचार आयो—
युवा नेता अगाडि ।
फेरि अर्को समाचार—
युवा नेता अगाडि ।
फेरि अर्को—
ऐतिहासिक मतान्तर ।
दिन ढल्दै जाँदा एउटा कुरा स्पष्ट भयो— देशले नयाँ अनुहारलाई रोजेको थियो । उसले केवल चुनाव जितेको थिएन । उसले आशाको प्रतीकको रूपमा विजय हासिल गरेको थियो ।
उसका समर्थकहरू सडकमा नाचे । झण्डाहरू फहराए । पटाका पड्किए । सामाजिक सञ्जाल उत्सवमा डुब्यो । र त्यो रात देशभर एउटा नाम गुञ्जियो ।
जंगलमा एउटा नाम गुञ्जिरहेको थियो—सेरु । देशमा अर्को नाम गुञ्जिरहेको थियो—नयाँ नेता । दुवैले पहिलो ठूलो विजय हासिल गरेका थिए । दुवैले आफ्ना समर्थकहरूको प्रेम पाएका थिए । दुवैले इतिहासको ढोका ढकढक्याएका थिए । तर विजयसँगै एउटा अदृश्य छायाँ पनि जन्मिएको थियो ।
त्यो छायाँको नाम थियो—अहंकार ।
सुरुमा त्यो देखिँदैन । त्यो प्रशंसाको शब्दहरूभित्र लुकेको हुन्छ । तालीको आवाजभित्र मिसिएको हुन्छ । समर्थकहरूको जयजयकारभित्र घुमिरहेको हुन्छ । र मानिसले थाहा पाउँदा नपाउँदै, त्यो छायाँले उसको काँधमा हात राखिसकेको हुन्छ । सेरुले अझै त्यो हात महसुस गरेको थिएन । नेताले पनि गरेको थिएन ।
किनभने दुवैलाई लागिरहेको थियो— उनीहरू अहिले पनि परिवर्तनका नायक हुन् ।
३: डरको साम्राज्य
विजयले मानिसलाई उचाइ दिन्छ, तर उचाइसँगै एउटा खतरा पनि आउँछ—तल उभिएका मानिसहरू साना देखिन थाल्छन् । अनि एक दिन यस्तो क्षण आउँछ, जब अरूलाई सानो देख्ने व्यक्तिले आफूलाई विशाल सम्झन थाल्छ ।
सेरुको जीवनमा पनि त्यही समय सुरु हुँदै थियो । विशाल अर्नालाई ढालेपछि उसको चर्चा जंगलको हरेक कुनामा फैलिएको थियो । नदीकिनारमा पानी पिउने हरिणहरूदेखि लिएर रूखको टुप्पोमा बस्ने बाँदरहरूसम्म सबैले सेरुको नाम सुनेका थिए ।
"त्यही हो सेरु ?"
"अर्ना ढाल्ने सिं ह?"
"हो, उसैको कुरा हो ।"
यस्ता कुराकानीहरू जंगलभर सुनिन्थे । सुरुमा यो चर्चा सम्मानका साथ हुन्थ्यो । जनावरहरू उसको साहसको प्रशंसा गर्थे । तर बिस्तारै त्यो प्रशंसा अर्को भावनामा बदलिन थाल्यो ।
डरमा ।
पहिले जनावरहरू सिंह देख्दा भाग्थे । अब त सेरुको नाम सुन्नासाथ झस्किन थाले । नदीकिनारमा पानी पिइरहेका हरिणहरू कसैले "सेरु" शब्द उच्चारण गरिदियो भने एकछिनमै सतर्क भएर चारैतिर हेर्थे । बाँदरहरूले आफ्ना बच्चाहरूलाई तर्साउन नयाँ उखान बनाउन थाले ।
"चुप लाग, नत्र सेरु आउँछ ।"
एक दिन एउटा बूढो हात्तीले यो कुरा सुनेर गहिरो सास फेर्यो ।
"जंगल बदलिँदै छ," उसले बिस्तारै भन्यो ।
"कसरी ?" सानो हात्तीले सोध्यो ।
"जब नामले प्रेरणा दिन छोडेर डर दिन थाल्छ, त्यतिबेला केही न केही गलत भइरहेको हुन्छ ।"
तर त्यो आवाज जंगलको कोलाहलमा हरायो । किनकि त्यतिबेला सेरुको चर्चा गर्नेहरू धेरै थिए, सोच्नेहरू थोरै । सेरु आफैँ पनि बदलिँदै थियो । पहिले ऊ समूहसँग सल्लाह गरेर निर्णय गर्थ्यो । अब ऊ आदेश दिन थालेको थियो । पहिले ऊ साथीहरूको सुझाव सुन्थ्यो । अब ऊ आफ्नै कुरा दोहोर्याउँथ्यो । उसलाई लाग्न थालेको थियो—उसले जे सोच्छ, त्यही सही हो । उसले जे गर्छ, त्यही अन्तिम हो । र यस्तो सोच्ने मानिसलाई वरिपरि चाप्लुसी गर्नेहरूको कमी कहिल्यै हुँदैन ।
"सेरुजस्तो साहसी सिंह जंगलमा जन्मिएकै छैन ।"
"तिमीबिना शिकार सम्भव छैन ।"
"तिमी नै जंगलको भविष्य हौ ।"
यस्ता शब्दहरू दिनहुँ उसको कानमा पुग्थे । धेरैजसोले विश्वासका साथ भनेका थिएनन् । कतिले त केवल सुरक्षित रहन भनेका थिए ।
तर चाप्लुसीको एउटा विशेषता हुन्छ—
बारम्बार सुनेपछि झुट पनि सत्यजस्तो लाग्न थाल्छ ।
उता मानिसहरूको संसारमा पनि त्यस्तै दृश्य दोहोरिँदै थियो । चुनाव जितेपछि युवा नेता राष्ट्रिय राजनीतिका केन्द्रमा पुगेका थिए । उनी जहाँ जान्थे, भीड लाग्थ्यो । जहाँ बोल्थे, समाचार बन्थ्यो । जहाँ हाँस्थे, त्यो पनि चर्चा हुन्थ्यो । समर्थकहरू उनलाई परिवर्तनको प्रतीक भन्थे । विरोधीहरू भने विस्तारै मौन हुन थाले । किनकि उनले केवल चुनाव जितेका थिएनन्, जनमतको ठूलो लहर पनि आफ्नो पक्षमा ल्याएका थिए ।
संसद्मा उनका समर्थकहरूको आवाज गुञ्जिन्थ्यो । टेलिभिजनमा उनका प्रवक्ताहरू छाइरहन्थे । सामाजिक सञ्जालमा उनका आलोचकहरूलाई देशद्रोही, प्रतिक्रियावादी वा पुरानो व्यवस्थाका दलाल भनेर गाली गरिन्थ्यो । कुनै पत्रकारले प्रश्न उठायो भने हजारौँ टिप्पणीहरू उसमाथि खनिन्थे । कुनै विश्लेषकले आलोचना गर्यो भने उसलाई जनताको शत्रु घोषित गरिन्थ्यो । बिस्तारै विपक्षीहरू तर्कभन्दा बढी प्रतिक्रियाको डर मान्न थाले ।
एक दिन संसद्को गल्लीमा एउटा पुरानो नेता आफ्नो साथीलाई भन्दै थियो—
"हामी उसको विचारसँग होइन, उसको प्रभावसँग डराउन थालेका छौँ ।"
"अनि फरक के भयो ?" साथीले सोध्यो ।
बूढो नेताले मुस्कुराउँदै उत्तर दियो—
"लोकतन्त्रमा मानिसले तर्कसँग हार्नुपर्छ । डरसँग होइन ।"
तर त्यो समय यस्तो थियो, जहाँ डर र सम्मानको सीमारेखा बिस्तारै मेटिँदै थियो । जंगलमा जनावरहरूले सेरुलाई सम्मान गर्थे कि डराउँथे, छुट्याउन गाह्रो हुँदै थियो । राजनीतिमा नेतालाई जनताले प्रेम गर्थे कि उनको शक्तिसँग त्रसित थिए, त्यो पनि स्पष्ट थिएन । सेरु जब नदीकिनार पुग्थ्यो, सबै चुप हुन्थे । नेता जब कुनै कार्यक्रममा पुग्थे, आलोचनाका स्वर हराउँथे । र दुवैलाई त्यो मौनता मन पर्न थालेको थियो ।
किनकि उनीहरूले त्यसलाई सम्मान ठानेका थिए ।
तर इतिहासले बारम्बार प्रमाणित गरेको एउटा सत्य छ—
सम्मान स्वेच्छाले जन्मिन्छ, डर बाध्यताले ।
सम्मानले मित्र बनाउँछ । डरले अधीनस्थ बनाउँछ । र जुन दिन शासकले यी दुईलाई एउटै कुरा ठान्न थाल्छ, त्यसै दिन उसको पतनको बीउ रोपिन थाल्छ । सेरुलाई त्यो थाहा थिएन । नेतालाई पनि थाहा थिएन । उनीहरू दुवै आफ्नो सफलताको शिखरतर्फ उक्लिरहेका थिए । तर शिखर जति अग्लो हुन्छ, त्यहाँबाट खस्दा चोट पनि त्यति नै गहिरो लाग्छ ।
४: शक्तिको स्वाद
शक्ति आफैँमा न राम्रो हुन्छ, न नराम्रो । त्यो त एउटा औजार मात्र हो । तर शक्तिको स्वाद भने मदिराभन्दा पनि खतरनाक हुन्छ । मदिराले केही घण्टाका लागि होस हराउँछ, शक्तिको नशाले वर्षौँसम्म विवेक हराउन सक्छ ।
सेरु र युवा नेताको जीवनमा अब यही नशाको सुरुवात हुँदै थियो ।
जंगलमा सेरुको प्रभाव दिनप्रतिदिन बढिरहेको थियो । शिकारको योजना बनाउँदा सबैभन्दा पहिले उसैको राय सोधिन्थ्यो । नयाँ सिंहहरू उसलाई गुरुजस्तै मान्थे । अनुभवी सिंहहरूले पनि धेरै विषयमा उसको सुझावलाई महत्त्व दिन थालेका थिए । पहिले ऊ समूहको एउटा सदस्य थियो । अब ऊ समूहको केन्द्र बनेको थियो ।
एक दिन शिकारपछि सबै सिंहहरू एउटा ठूलो रुखमुनि बसेका थिए । एउटा युवा सिंहले उत्साहित हुँदै भन्यो—
"यदि सेरु नभएको भए आजको शिकार सम्भव नै हुने थिएन ।"
अर्कोले तुरुन्तै समर्थन गर्यो—
"साँचै । सेरु जहाँ हुन्छ, सफलता त्यहीँ हुन्छ ।"
यस्ता कुरा सुन्दा पहिले सेरु हाँसेर टारिदिन्थ्यो । तर अब ऊ मौन बस्न थालेको थियो । मौन—जसले अस्वीकार गर्दैन । र जब मानिसले चाप्लुसीलाई अस्वीकार गर्न छोड्छ, तब उसले त्यसलाई विश्वास गर्न थालिसकेको हुन्छ । त्यो रात सेरु एक्लै एउटा चट्टानमाथि बसेर जंगल हेरिरहेको थियो । टाढा हरिणहरू चरिरहेका थिए । झन् टाढा अर्नाहरूको झुण्ड देखिन्थ्यो ।
उसले मनमनै सोच्यो—
"सायद उनीहरू ठीकै भन्छन् ।"
"म नभएको भए यो समूह यति सफल हुने थिएन ।"
यो विचार सानो थियो । तर ठूलो रूख पनि सानो बीउबाटै उम्रन्छ ।
उता मानिसहरूको संसारमा पनि लगभग उस्तै दृश्य चलिरहेको थियो । युवा नेता अब केवल नेता थिएनन् । उनी एउटा अभियान, एउटा भावना, एउटा लहर बनिसकेका थिए । जहाँ सभा हुन्थ्यो, त्यहाँ उनका समर्थकहरूको भीड उम्लिन्थ्यो । जहाँ क्यामेरा पुग्थ्यो, त्यहाँ उनको अनुहार देखिन्थ्यो । उनका भाषणका वाक्यहरू सामाजिक सञ्जालमा उद्धृत हुन्थे । उनका समर्थकहरू उनीबारे कुरा गर्दा पार्टीभन्दा बढी व्यक्तिको चर्चा गर्थे ।
"देशलाई यही नेता चाहिन्छ ।"
"उहाँ जस्तो अर्को कोही छै न।"
"उहाँ नभए फेरि पुरानै अवस्था फर्किन्छ ।"
यी वाक्यहरू दिनहुँ दोहोरिन थाले । शुरुमा नेता यस्ता कुरा सुन्दा विनम्र मुस्कान दिन्थे । तर विस्तारै त्यो मुस्कान बदलिन थाल्यो ।
उनी पनि सोच्न थाले—
"सायद देशले साँच्चै मलाई नै खोजिरहेको छ ।"
"सायद म नभए यो परिवर्तनको यात्रा अधुरो रहन्छ ।"
एक दिन उनका एक पुराना साथी भेट्न आए ।
ती साथीले आन्दोलनका कठिन दिनहरू सम्झाउँदै भने—
"हामीले यो यात्रा सँगै सुरु गरेका थियौँ ।"
नेता मुस्कुराए ।
"अवश्य ।"
साथीले फेरि भने—
"त्यसैले एउटा कुरा सम्झ । कुनै आन्दोलन एक व्यक्तिले बनाउँदैन । हजारौँ मानिसको पसिनाले बनाउँछ ।"
केही क्षण मौनता छायो ।
त्यसपछि नेताले हल्का हाँसो हाँस्दै भने—
"त्यो त सही हो । तर नेतृत्व गर्ने व्यक्ति पनि त चाहिन्छ नि ।"
वाक्य सामान्य थियो । तर त्यसभित्र एउटा नयाँ सोच लुकेको थियो । नेतृत्व अब जिम्मेवारीभन्दा बढी विशेषाधिकारजस्तो लाग्न थालेको थियो ।
जंगलमा पनि यस्तै परिवर्तन देखिन थालेको थियो । पहिले कुनै शिकार सफल हुँदा सेरु भन्थ्यो—
"हामीले जित्यौँ ।"
अब ऊ भन्न थालेको थियो—
"मैले योजना बनाएको थिएँ ।"
पहिले नेता भन्थे—
"जनताले जितेका छन् ।"
अब उनी भन्न थालेका थिए—
"मैले वाचा पूरा गरिरहेको छु ।"
शब्दहरूमा सानो परिवर्तन थियो । तर इतिहासका धेरै तानाशाहहरूको यात्रा यस्तै साना परिवर्तनबाट सुरु भएको थियो ।
एक साँझ बूढो सिंहले सेरुलाई एक्लै भेट्यो ।
उसले केहीबेर सेरुलाई हेर्दै भन्यो—
"तिमी धेरै बदलिएका छौ ।"
सेरु हाँस्यो ।
"शायद म परिपक्व भएको हुँला ।"
बूढो सिंहले टाउको हल्लायो ।
"परिपक्वता र घमण्डको बाहिरी रूप कहिलेकाहीँ उस्तै देखिन्छ । फरक यत्ति हो—परिपक्व मानिसले आफूलाई प्रश्न गर्छ, घमण्डीले अरूलाई ।"
सेरुले त्यो कुरा सुनेर पनि गम्भीरतापूर्वक लिएन । किनभने त्यतिबेला उसको वरिपरि प्रशंसाका आवाजहरू धेरै थिए । चेतावनीका आवाजहरू थोरै ।
उता राजनीतिमा पनि एक वृद्ध राजनीतिज्ञले पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए—
"लोकप्रियता राम्रो कुरा हो । तर जब नेता आफूलाई संस्थाभन्दा ठूलो ठान्न थाल्छ, त्यहीँबाट समस्या सुरु हुन्छ ।"
तर त्यो अभिव्यक्ति अर्को दिनको समाचार चक्रमा हरायो । किनकि जनता विजयको उत्सवमा थिए । समर्थकहरू जयजयकारमा थिए । र नेता आफ्नै लोकप्रियताको उज्यालोमा नुहाइरहेका थिए । शक्ति अब सेरुको हातमा मात्र थिएन, उसको मनमा पनि प्रवेश गरिसकेको थियो । लोकप्रियता अब नेताको पदमा मात्र थिएन, उनको आत्मछविमा पनि मिसिइसकेको थियो ।
र दुवैको मनमा एउटा वाक्य विस्तारै आकार लिन थालेको थियो—
"म नभए केही चल्दैन ।"
यही वाक्य भविष्यका धेरै गल्तीहरूको जननी बन्ने थियो । किनकि कुनै पनि समूह, कुनै पनि संस्था, कुनै पनि राष्ट्र र कुनै पनि जंगल एउटै व्यक्तिले चल्दैन । तर शक्ति र सफलताको नशाले मानिसलाई यही भ्रम सबैभन्दा पहिले बेच्ने गर्छ । सेरुले त्यो भ्रम किन्न थालिसकेको थियो ।
नेताले पनि ।
५: पहिलो हक
अहङ्कार कहिल्यै एकैचोटि प्रकट हुँदैन । त्यो बिस्तारै बढ्छ । सुरुमा मनभित्र एउटा सानो विश्वासका रूपमा जन्मिन्छ—"म विशेष छु ।" त्यसपछि त्यो विश्वास विस्तारै अर्को विचारमा बदलिन्छ—"म अरूभन्दा बढी योग्य छु ।" र अन्ततः एउटा दिन त्यही विचार अधिकारको दाबीमा परिणत हुन्छ—"त्यसैले पहिलो हक मेरै हुनुपर्छ ।"
सेरु र नेताको जीवनमा अब यही चरण सुरु हुँदै थियो ।
जंगलमा त्यस दिन एउटा सफल शिकार भएको थियो । सिंहहरूको समूहले लामो प्रयासपछि एउटा बलियो नीलगाई ढालेको थियो । शिकारपछि सबै सिंहहरू थकित थिए, तर खुसी थिए । उनीहरू आफ्नो पुरानो परम्पराअनुसार शिकार बाँड्ने तयारीमा थिए ।
त्यही बेला सेरु उठ्यो । उसको चालमा आत्मविश्वास थियो, अनुहारमा कठोरता । सबैको ध्यान उसैतिर गयो । उसले केही क्षण सबैलाई हेर्यो अनि गम्भीर स्वरमा भन्यो—
"साथीहरू, आज म एउटा नयाँ व्यवस्था घोषणा गर्न चाहन्छु ।"
सिंहहरू एक-अर्काको अनुहार हेर्न थाले ।
"अबदेखि जुनसुकै शिकार भए पनि सबैभन्दा पहिले म खान्छु । त्यसपछि मात्र अरूले आफ्नो भाग पाउनेछन् ।"
क्षणभर जंगल मौन भयो । कसैले सोचेका थिएनन्, सेरुको मुखबाट यस्तो कुरा निस्कनेछ ।
एक युवा सिंहले सोध्यो—
"किन ?"
सेरुले बिना हिचकिचाहट उत्तर दियो—
"किनकि यो समूहको सबैभन्दा ठूलो जिम्मेवारी मैले बोकेको छु । सबैभन्दा ठूलो जोखिम मैले लिन्छु । अधिकांश सफलताको कारण म हुँ । त्यसैले पहिलो हक पनि मेरै हुनुपर्छ ।"
कसैले तुरुन्त विरोध गरेन । तर धेरैको मनमा असन्तोष जागिसकेको थियो । त्यो साँझ नदीकिनारमा बसिरहेको बूढो सिंहले बिस्तारै भन्यो—
"आज सेरुले शिकारको कुरा गरेको छ ।"
अर्को सिंहले सोध्यो—
"अनि ?"
बूढो सिंह मुस्कुरायो ।
"समस्या शिकार होइन । समस्या सोच हो ।"
"कस्तो सोच ?"
"जब कुनै नेता योगदानको हिसाब गर्न थाल्छ, उसले अधिकारको भाषा बोल्न थाल्छ । अनि अधिकारको भाषा बोल्न थालेपछि उसले बराबरी बिर्सिन्छ ।"
उता मानिसहरूको संसारमा पनि लगभग यस्तै दृश्य दोहोरिँदै थियो । युवा नेता अब सरकारको केन्द्रमा थिए । मन्त्रालयहरू चलिरहेका थिए । पार्टीका बैठकहरू भइरहेका थिए । निर्णयहरू बनिरहेका थिए । तर विस्तारै एउटा नयाँ प्रवृत्ति देखिन थाल्यो । पहिले बैठकमा बहस हुन्थ्यो । अब निष्कर्ष पहिल्यै तय हुन्थ्यो । पहिले निर्णय सामूहिक रूपमा बनाइन्थ्यो । अब अन्तिम निर्णय एउटै कोठाबाट आउन थालेको थियो ।
एक दिन पार्टीको केन्द्रीय बैठकमा एउटा वरिष्ठ नेताले फरक मत राखे ।
"हामीले यो विषयमा अझ व्यापक छलफल गर्नुपर्छ," उनले भने ।
कोठाभित्र केही क्षण मौनता छायो । त्यसपछि प्रधानमन्त्रीको नजिक बसेका एक नेताले तुरुन्त प्रतिक्रिया दिए—
"नेतृत्वले निर्णय गरिसकेको विषयमा किन अनावश्यक बहस गर्ने ?"
त्यसपछि अर्कोले थप्यो—
"जनताले विश्वास व्यक्तिमा गरेका हुन्, समितिमा होइन ।"
कोठाभित्र केही मानिसहरू मुस्कुराए । कतिपय चुपचाप बसे ।
तर धेरैले त्यो दिन एउटा नयाँ यथार्थ बुझिसकेका थिए—
निर्णय अब बैठकमा हुँदैनथ्यो । बैठक केवल निर्णय सुन्नका लागि हुन्थ्यो ।
बिस्तारै नेताको मनमा एउटा खतरनाक धारणा बलियो हुँदै गयो।
"मैले यो पार्टीलाई यहाँसम्म ल्याएको हुँ ।"
"मैले चुनाव जिताएको हुँ ।"
"मैले जनताको विश्वास जितेको हुँ ।"
र त्यसपछि अर्को निष्कर्ष आयो—
"त्यसैले अन्तिम निर्णय गर्ने अधिकार पनि मेरै हो ।"
त्यो विचार उनले सार्वजनिक रूपमा कहिल्यै बोलेनन् । तर उनका निर्णयहरूमा त्यो स्पष्ट देखिन थाल्यो ।
जंगलमा सेरु पनि त्यही बाटोमा हिँडिरहेको थियो । पहिले ऊ शिकारलाई सामूहिक उपलब्धि मान्थ्यो । अब व्यक्तिगत योगदानको हिसाब गर्न थालेको थियो । राजनीतिमा नेता पनि त्यही गर्दै थिए । पहिले विजयलाई सामूहिक प्रयास भन्थे । अब त्यसलाई व्यक्तिगत उपलब्धि मान्न थालेका थिए ।
व्यङ्ग्य यहीँबाट सुरु हुन्छ । स्वार्थ कहिल्यै स्वार्थको भाषामा आउँदैन ।
यदि सेरुले भनेको भए—
"म लोभी भएको छु, त्यसैले पहिले म खान्छु ।"
कसैले स्वीकार्ने थिएन ।
यदि नेताले भनेका भए—
"मलाई सबै शक्ति आफैँसँग राख्न मन छ ।"
कसैले समर्थन गर्ने थिएन ।
त्यसैले दुवैले नयाँ भाषा सिके ।
सेरुले भन्यो—
"यो मेरो योगदानको सम्मान हो ।"
नेताले भने—
"यो स्थायित्व र प्रभावकारी नेतृत्वको आवश्यकता हो ।"
शब्दहरू फरक थिए ।
अर्थ एउटै ।
इतिहासमा धेरै अन्यायहरू तरबारको बलमा टिकेका छैनन् । तिनीहरू तर्कको आवरणमा टिकेका छन् । धेरै शासकहरूले आफ्नो लोभलाई अधिकार भने । धेरै नेताहरूले आफ्नो महत्वाकाङ्क्षालाई राष्ट्रिय आवश्यकता भने । र धेरै अनुयायीहरूले त्यो कुरा विश्वास पनि गरे । त्यो रात सेरु शिकारको सबैभन्दा राम्रो भाग खाइरहेको थियो । उता नेता एउटा महत्वपूर्ण निर्णयमा अन्तिम हस्ताक्षर गरिरहेका थिए । दुवै सन्तुष्ट देखिन्थे । दुवैलाई लागिरहेको थियो—उनीहरूले केवल आफ्नो उचित हक लिएका हुन् ।
तर दुवैलाई थाहा थिएन—
सामूहिक अधिकारमाथि व्यक्तिगत पहिलो हकको दाबी जहाँबाट सुरु हुन्छ, त्यहीँबाट असन्तोषको आगो पनि सल्किन थाल्छ । र त्यो आगो अझै धुवाँ मात्रै बनेको थियो । ज्वाला बन्न बाँकी थियो ।
६: वृद्ध सिंहको चेतावनी
शक्तिको एउटा अनौठो बानी हुन्छ—जबसम्म मानिस संघर्षमा हुन्छ, उसले सबैको कुरा सुन्छ । तर जब ऊ शिखरमा पुग्छ, उसलाई लाग्न थाल्छ कि अब अरूले उसको कुरा सुन्नुपर्छ । यही क्षणबाट अनुभवको मूल्य घट्न थाल्छ र चाप्लुसीको मूल्य बढ्न थाल्छ ।
सेरु र प्रधानमन्त्रीको जीवनमा पनि अब त्यही समय आएको थियो ।
सेरुको "पहिलो हक" को घोषणापछि जंगलमा असन्तोष विस्तारै फैलिन थालेको थियो । कसैले खुलेर विरोध गरेको थिएन, तर धेरै सिंहहरूको मनमा प्रश्नहरू जन्मिन थालेका थिए ।
एक दिन साँझ, सिंहहरूको एउटा विशेष सभा बोलाइयो । त्यो सभा कुनै शिकारको योजना बनाउनका लागि थिएन । त्यो सभा एउटा बढ्दो समस्याबारे कुरा गर्नका लागि थियो । सेरु गर्वका साथ सभाको बीचमा बस्यो । उसलाई लागिरहेको थियो, सबैले उसको निर्णयको प्रशंसा गर्नेछन् ।
तर त्यो दिन एउटा अप्रत्याशित घटना भयो । समूहका सबैभन्दा वृद्ध र सम्मानित सिंह उठे । उनको शरीर बूढो थियो, तर आँखाको तेज अझै हराएको थिएन । जंगलमा उनी बलका कारण होइन, बुद्धिका कारण सम्मानित थिए । उनले केही क्षण मौनता छाउन दिए अनि सेरुतिर हेरे ।
"सेरु," उनले शान्त स्वरमा भने, "तिमीलाई थाहा छ, यो समूह किन बलियो छ ?"
सेरुले तुरुन्त उत्तर दियो—
"किनकि हामी शक्तिशाली छौँ ।"
वृद्ध सिंह मुस्कुराए ।
"होइन ।"
सभामा सन्नाटा छायो ।
"हामी बलियो छौँ, किनकि हामी सँगै छौँ ।"
वृद्ध सिंहले अगाडि भने—
"अर्नालाई ढाल्ने बेला तिमी अगाडि थियौ, यो सत्य हो । तर झुण्डलाई घेराबन्दी कसले गर्यो ? बाटो कसले छेक्यो ? जोखिम कसले बाँड्यो ?"
सेरु चुप रह्यो ।
"शिकार एउटा सिंहले होइन, समूहले गरेको हो ।"
केही युवा सिंहहरूले सहमतिमा टाउको हल्लाए ।
वृद्ध सिंहको स्वर अझ गम्भीर भयो—
"आज तिमीले मासुको पहिलो भाग मागेका छौ । भोलि तिमीले शिकारको आधा भाग माग्नेछौ । पर्सि सायद सबै भाग आफ्नो भन्नेछौ ।"
सभामा हलचल मच्चियो । सेरुको अनुहार कठोर बन्दै गयो ।
"तपाईं मलाई लोभी भन्न खोज्दै हुनुहुन्छ ?" सेरुले तिखो स्वरमा सोध्यो ।
"म तिमीलाई केही भन्न खोजिरहेको छैन," वृद्ध सिंहले शान्तिपूर्वक उत्तर दिए, "म केवल इतिहास सम्झाइरहेको छु ।"
"कुन इतिहास ?"
"हरेक समूहमा कुनै न कुनै बेला एउटा यस्तो सिंह जन्मिन्छ, जसलाई लाग्छ—समूह उसले बनाएको हो । अनि त्यही सिंहले अन्ततः समूह तोड्छ ।"
सेरुलाई यो कुरा मन परेन । उसलाई लाग्यो, यो चेतावनी होइन, उसको अपमान हो ।
उसले सभाभरि हेर्दै भन्यो—
"तपाईंहरू सबैले मेरो योगदान बिर्सनुभयो जस्तो छ ।"
कसैले केही बोलेन ।
किनकि कहिलेकाहीँ सत्य सुन्नुभन्दा मौन रहन सजिलो हुन्छ ।
उता मानिसहरूको संसारमा पनि यस्तै दृश्य दोहोरिँदै थियो । प्रधानमन्त्रीको कार्यशैलीप्रति पार्टीका पुराना नेताहरू असन्तुष्ट हुन थालेका थिए । एकपछि अर्को निर्णय केन्द्रीकृत हुँदै गइरहेको थियो । पार्टीका समितिहरू औपचारिक बन्दै गएका थिए । चर्चा कम, आदेश बढी हुन थालेको थियो ।
एक दिन पार्टीका संस्थापक पुस्ताका केही नेताहरू गोप्य रूपमा भेला भए । उनीहरू सबै राजनीतिका पुराना खेलाडी थिए । उनीहरूले जेल भोगेका थिए । आन्दोलन गरेका थिए । पार्टी निर्माणमा जीवन खर्च गरेका थिए ।
त्यसमध्ये एक वृद्ध नेताले गहिरो सास फेर्दै भने—
"हामीले पार्टी बनायौँ । अहिले पार्टी एउटा व्यक्तिको वरिपरि घुम्न थालेको छ ।"
अर्कोले थपे—
"पहिले हामी नीतिको कुरा गर्थ्यौँ । अहिले व्यक्तिको कुरा मात्र हुन्छ ।"
केही दिनपछि उनीहरूले प्रधानमन्त्रीसँग भेट मागे । भेट भयो । कक्षमा सम्मानजनक वातावरण थियो । तर भित्रभित्रै तनाव पनि थियो ।
वृद्ध नेताले सावधानीपूर्वक भने—
"तपाईं लोकप्रिय हुनुहुन्छ । त्यो राम्रो कुरा हो । तर पार्टी संस्थाभन्दा व्यक्ति ठूलो हुन थाल्यो भने समस्या आउँछ ।"
प्रधानमन्त्री मुस्कुराए ।
"म पनि त्यही चाहन्छु, संस्थाहरू बलियो बनून् ।"
अर्को नेताले सोधे—
"त्यसो भए निर्णय प्रक्रियामा सामूहिकता किन घट्दै छ ?"
प्रधानमन्त्रीको मुस्कान केही क्षणका लागि हरायो ।
"देश कठिन अवस्थामा छ," उनले उत्तर दिए, "यस्तो बेला छिटो निर्णय आवश्यक हुन्छ ।"
"तर छिटो निर्णय र एकल निर्णय एउटै कुरा होइन," वृद्ध नेताले भने ।
कोठामा फेरि मौनता छायो । त्यो मौनता असहज थियो । किनकि दुवै पक्षले एकअर्काको कुरा बुझेका थिए । तर स्वीकार गर्न चाहेका थिएनन् । भेट सकियो । पुराना नेताहरू बाहिर निस्किए ।
पत्रकारहरूले सोधे—
"के भयो भेटमा ?"
एक वृद्ध नेताले केवल यति भने—
"हामीले हाम्रो कर्तव्य पूरा गर्यौँ ।"
"के प्रधानमन्त्रीले तपाईंहरूको कुरा सुन्नुभयो ?"
वृद्ध नेता केही क्षण हाँसे । त्यो हाँसोमा निराशा थियो ।
"सुन्नु र स्वीकार गर्नु फरक कुरा हो ।"
जंगलमा पनि त्यही भइरहेको थियो ।
राजनीतिमा पनि ।
अनुभवले चेतावनी दिइरहेको थियो । इतिहासले संकेत गरिरहेको थियो । तर शक्ति अब सुन्ने अवस्थाबाट धेरै टाढा पुगिसकेको थियो । शक्तिलाई अब प्रश्न मन पर्दैनथ्यो । उसलाई समर्थन मन पर्थ्यो । उसलाई संवाद होइन, सहमति चाहिन्थ्यो ।
त्यो रात वृद्ध सिंह आकाशतिर हेर्दै बसे । उता वृद्ध नेता आफ्नो पुरानो डायरी पल्टाउँदै थिए ।
दुवैको मनमा एउटै चिन्ता थियो—
"हामीले चेतावनी त दियौँ । तर सुन्ने कान बाँकी छन् कि छैनन् ?"
किनकि इतिहासको अर्को कठोर नियम पनि छ—
जब शक्ति केवल बोल्न चाहन्छ र सुन्न छोड्छ, तब पतनको यात्रा सुरु भइसकेको हुन्छ ।
सेरुको यात्रा अब त्यही दिशातर्फ मोडिँदै थियो ।
प्रधानमन्त्रीको पनि ।
७: चाकडीको दरबार
जब कुनै नेता शिखरतिर उक्लिन थाल्छ, उसले शत्रुभन्दा पहिले एउटा अदृश्य खतरा भेट्छ—चाकडी । शत्रुले कहिल्यै मित्रको रूप लिँदैन, तर चाकडीले सधैँ शुभेच्छुकको मुखौटा लगाएको हुन्छ । शत्रुले आक्रमण गर्छ, चाकडीले प्रशंसा गर्छ । र इतिहासमा धेरै सिंहहरू शत्रुसँग होइन, चाकडीसँग हारेका छन् ।
सेरुको जीवनमा पनि अब यही अध्याय सुरु भएको थियो ।
वृद्ध सिंहको चेतावनीपछि केही दिनसम्म जंगलमा बहस चल्यो । कतिपय सिंहहरूले सेरुको निर्णयमाथि प्रश्न उठाए । कतिपयले समर्थन गरे । तर विस्तारै एउटा नयाँ समूह जन्मियो । युवा सिंहहरूको एउटा घेरा ।
उनीहरू जहाँ सेरु जान्थ्यो, त्यहीँ देखिन्थे । जहाँ सेरु बस्थ्यो, त्यहीँ बस्थे । जहाँ सेरु बोल्थ्यो, त्यहीँ ताली बजाउँथे । यदि सेरुले दिनलाई रात भन्यो भने उनीहरू आकाशतिर हेरेर तारा खोज्न थाल्थे ।
एक दिन शिकारको योजना बनिरहेको थियो । अनुभवी सिंहले एउटा सावधानीपूर्ण रणनीति प्रस्ताव गरे ।
"अर्नाको झुण्ड अहिले सतर्क छ," उनले भने, "हामीले केही दिन पर्खनुपर्छ ।"
सेरुले फरक राय दियो ।
"हामी भोलि नै आक्रमण गर्छौँ ।"
तुरुन्तै एक युवा सिंह उफ्रियो ।
"वाह ! कस्तो साहसी योजना !"
अर्कोले थप्यो—
"यही कारणले सेरु महान् छ । अरूले जहाँ समस्या देख्छन्, सेरुले अवसर देख्छ ।"
तेस्रोले भन्यो—
"हामीले यति धेरै सफलता पाउनुको कारण पनि यही सोच हो ।"
केही अनुभवी सिंहहरूले एकअर्काको अनुहार हेरे । उनीहरूलाई थाहा थियो, यो समर्थन होइन, चाकडी हो । तर त्यो घेरामा सत्यको आवाज कमजोर हुँदै गइरहेको थियो ।
बिस्तारै जंगलमा एउटा नयाँ चलन बस्न थाल्यो । सेरुको निर्णय ठीक भए पनि प्रशंसा । गलत भए पनि प्रशंसा । सफल भए पनि जयजयकार । असफल भए पनि बहाना । सत्यभन्दा निष्ठा ठूलो घोषित हुन थाल्यो । तर त्यो निष्ठा समूहप्रति थिएन । व्यक्तिप्रति थियो ।
उता मानिसहरूको संसारमा पनि लगभग उस्तै दृश्य निर्माण भइरहेको थियो । प्रधानमन्त्रीको लोकप्रियता बढेसँगै उनको वरिपरि नयाँ अनुहारहरू देखिन थाले । कुनै समय उनको आलोचना गर्नेहरू अहिले प्रशंसक बनेका थिए । कुनै समय विपक्षी शिविरमा रहेका मानिसहरू अहिले नजिकिन थालेका थिए । कसैले सल्लाहकारको पद खोजिरहेको थियो ।
कसैले नियुक्ति ।
कसैले ठेक्का ।
कसैले संरक्षण ।
र कसैले केवल शक्तिको न्यानो घाम ताप्न खोजिरहेको थियो ।
प्रधानमन्त्रीको कार्यालय विस्तारै एउटा संस्थाभन्दा बढी दरबारजस्तो बन्न थालेको थियो । त्यहाँ प्रवेश गर्नेहरू दुई प्रकारका थिए ।
पहिलो—सत्य बोल्नेहरू ।
दोस्रो—रमाइलो कुरा बोल्नेहरू ।
समस्या के थियो भने दोस्रो समूह दिनप्रतिदिन बढ्दै थियो ।
एक दिन एउटा वरिष्ठ कर्मचारीले एउटा फाइल प्रस्तुत गर्दै भने—
"यो योजना लोकप्रिय त देखिन्छ, तर यसले दीर्घकालीन समस्या निम्त्याउन सक्छ ।"
कोठामा मौनता छायो ।
त्यसपछि प्रधानमन्त्री नजिकका एक सल्लाहकार हाँसे ।
"तपाईंहरू सधैँ समस्या मात्र देख्नुहुन्छ ।"
अर्कोले थप्यो—
"जनताले प्रधानमन्त्रीको दृष्टिकोण बुझिसकेका छन् । पुराना सोचले देश चल्दैन ।"
फाइलको विषयभन्दा बढी चर्चा प्रधानमन्त्रीको प्रशंसामा केन्द्रीत भयो । अन्ततः फाइल पास भयो । तर्क हार्यो । प्रशंसा जित्यो ।
त्यो दिन घर फर्कँदै गर्दा वरिष्ठ कर्मचारीले आफ्ना साथीलाई भने—
"अब यहाँ सुझाव दिन होइन, सहमति जनाउन बोलाइन्छ ।"
साथीले सोध्यो—
"त्यसो भए बोल्न किन छोड्दैनौ ?"
ती वृद्ध कर्मचारी मुस्कुराए ।
"किनकि मौनता चाकडीको पहिलो चरण हो ।"
तर धेरैले त्यो चरण पार गरिसकेका थिए ।
जंगलमा पनि ।
राजनीतिमा पनि ।
सेरुको वरिपरि अब यस्तो वातावरण बन्दै गइरहेको थियो, जहाँ उसको गल्ती देख्नेभन्दा उसको अनुहार हेर्नेहरू धेरै थिए । प्रधानमन्त्रीको वरिपरि पनि त्यस्तै वातावरण थियो ।
जहाँ पदका लागि प्रशंसा गरिन्थ्यो । जहाँ अवसरका लागि निष्ठा बेचिन्थ्यो । जहाँ सिद्धान्तभन्दा पहुँच महत्त्वपूर्ण बन्दै थियो।
वृद्ध सिंह एक दिन टाढाबाट त्यो दृश्य हेरिरहेका थिए । युवा सिंहहरूको घेरा, निरन्तर प्रशंसा, अविरल जयजयकार । उनी बिस्तारै मुस्कुराए । त्यो मुस्कान खुसीको थिएन । अनुभवको थियो ।
उनले आफैँसँग भने—
"अब खतरा बाहिर छैन । खतरा वरिपरि छ ।"
उता राजनीतिमा पनि एक पुरानो नेता आफ्नो डायरीमा लेखिरहेका थिए—
"नेतालाई हराउने विपक्षीले होइन । उसलाई हराउने चाप्लुसहरूले हुन् । किनकि विपक्षीले उसको कमजोरी देखाउँछ, चाप्लुसले कमजोरी नै छैन भन्ने भ्रम दिन्छ ।"
सेरु भने त्यो भ्रममा रमाइरहेको थियो ।
प्रधानमन्त्री पनि ।
उनीहरूलाई लागिरहेको थियो—सबैले उनीहरूलाई प्रेम गर्छन् ।
तर वास्तविकता अलि फरक थियो । कतिले प्रेम गर्थे । कति डराउँथे । कतिले स्वार्थ खोज्थे । र कति केवल शक्तिको नजिक बस्न चाहन्थे ।
इतिहासको एउटा कठोर सत्य छ—
जब सत्य बोल्नेहरू कोठाको कुनामा पुग्छन् र चाकडी गर्नेहरू बीचको कुर्सीमा बस्छन्, त्यतिबेला पतनको घडी नजिक आइरहेको हुन्छ ।
तर पतनको सबैभन्दा ठूलो विशेषता यही हो—
त्यो आउँदै गरेको कुरा सबैले देख्छन्, बाहेक उसले जसतर्फ त्यो आउँदै गरेको हुन्छ ।
सेरुले देखेन ।
प्रधानमन्त्रीले पनि देखेनन् ।
किनकि उनीहरू अझै तालीको आवाज सुन्दै थिए ।
८: आफ्नै समूहमाथि दमन
कुनै पनि शासकको वास्तविक परीक्षा तब हुँदैन, जब ऊ आफ्ना शत्रुसँग लडिरहेको हुन्छ । वास्तविक परीक्षा तब हुन्छ, जब उसको वरिपरिका मानिसहरू उससँग असहमत हुन थाल्छन् । किनकि शत्रुलाई हराउनु सजिलो हुन्छ, तर सत्य बोल्ने आफ्नै मानिसलाई सहन गर्नु कठिन हुन्छ ।
सेरु र प्रधानमन्त्री दुवै अब यही कठिन परीक्षाको मोडमा पुगेका थिए ।
जंगलमा सेरुको प्रभाव यति बढिसकेको थियो कि धेरै युवा सिंहहरू उसलाई प्रश्न गर्नै डराउँथे । तर सबै सिंहहरू चुप थिएनन् । केही अनुभवी सिंहहरू अझै पनि समूहको पुरानो परम्परा र समानताको पक्षमा थिए । एक दिन शिकारको बाँडफाँड भइरहेको बेला एउटा मध्यम उमेरको सिंहले साहस जुटाएर भन्यो—
"सेरु, हामी सबैले सँगै जोखिम उठाएका छौँ । त्यसैले शिकारको हिस्सा पनि पहिलेझैँ बराबरी हुनुपर्छ ।"
त्यो स्वर शान्त थियो । सम्मानजनक पनि । तर सेरुलाई त्यो सुझावभन्दा चुनौतीजस्तो लाग्यो ।
उसले सबैको अगाडि ती सिंहतिर हेरेर भन्यो—
"तिमीलाई सफलता देखिँदैन, केवल हिस्सा देखिन्छ ।"
सभामा केही युवा सिंहहरू हाँसे । असहमत सिंहको अनुहार रातो भयो ।
उसले फेरि केही भन्न खोज्यो, तर सेरुले बीचमै रोकेर भन्यो—
"शिकार गर्न नसक्नेहरूले शिकार बाँड्ने कुरा धेरै गर्छन् ।"
अब त झन् धेरै हाँसो उठ्यो । त्यो दिन पहिलोपटक जंगलमा एउटा खतरनाक दृश्य देखियो । कसैलाई तर्कले होइन, उपहासले हराइयो । विचारलाई विचारले होइन, भीडको हाँसोले दबाइयो । असहमत सिंह चुप लागेर त्यहाँबाट उठ्यो । तर उसको मौनता पराजयको थिएन । त्यो निराशाको थियो ।
त्यसपछि यस्ता घटना बढ्दै गए । जसले फरक मत राख्यो, ऊ "कमजोर" घोषित भयो । जसले प्रश्न उठायो, ऊ "ईर्ष्यालु" कहलियो । जसले चेतावनी दियो, ऊ "पुरानो सोचको" भनियो । विस्तारै धेरै सिंहहरूले प्रश्न गर्न छोडे । किनकि अपमान सहनुभन्दा मौन बस्न सजिलो थियो ।
वृद्ध सिंहले यो परिवर्तन देखिरहेका थिए।
एक दिन उनले आफ्ना नजिकका साथीलाई भने—
"अब सेरु शत्रुहरूसँग कम र साथीहरूसँग बढी लड्न थालेको छ ।"
"किन ?" साथीले सोध्यो ।
वृद्ध सिंहले लामो सास फेरे ।
"किनकि बाहिरको शत्रुले उसको शक्ति चुनौती दिन्छ । तर भित्रको आलोचकले उसको अहंकार ।"
उता मानिसहरूको संसारमा पनि लगभग उस्तै नाटक मञ्चन भइरहेको थियो । प्रधानमन्त्रीको पार्टीभित्र असन्तुष्टि बढ्दै थियो । केही नेताहरू निर्णय प्रक्रियाको केन्द्रीकरणको विरोध गरिरहेका थिए । केहीले पार्टीभित्र लोकतान्त्रिक बहसको माग गरिरहेका थिए । तर अब वातावरण बदलिइसकेको थियो ।
एक दिन केन्द्रीय समितिको बैठकमा एक वरिष्ठ नेताले खुला रूपमा प्रश्न उठाए—
"हामी किन सबै निर्णय केही व्यक्तिहरूको सानो घेराभित्र सीमित गरिरहेका छौँ ?"
कोठाभित्र एकाएक चिसोपन फैलियो । प्रधानमन्त्री मौन रहे । तर उनका समर्थकहरू सक्रिय भए ।
"तपाईं परिवर्तनविरोधी सोच बोलिरहनुभएको छ ।"
"यही कारणले पुरानो पुस्ता जनताबाट टाढा भयो ।"
"पार्टीलाई कमजोर बनाउने काम बन्द गर्नुस् ।"
एकपछि अर्को आरोप आउन थाले । प्रश्न उठाउने नेता एक्लिँदै गए ।
केही सातापछि ती नेतालाई एउटा महत्त्वपूर्ण जिम्मेवारीबाट हटाइयो ।
आधिकारिक कारण दिइयो—
"संगठनात्मक पुनर्संरचना ।"
अनौपचारिक कारण सबैलाई थाहा थियो—
उनी धेरै प्रश्न सोध्थे ।
त्यसपछि अरू नेताहरूले पनि संकेत बुझ्न थाले । फरक मत राख्नु जोखिमपूर्ण थियो ।
सहमति जनाउनु सुरक्षित ।
मौन बस्नु झन् सुरक्षित ।
राजनीतिक दलको कार्यालयमा एउटा व्यङ्ग्यात्मक उखान चल्न थाल्यो—
"यहाँ दुई प्रकारका सदस्य छन्—एक, सहमत हुने । दुई, सहमत हुन सिकाइने ।"
कसैले सार्वजनिक रूपमा यो उखान दोहोर्याउँदैनथ्यो । तर सबैले बुझ्थे ।
जंगलमा पनि यस्तै अवस्था थियो । असहमत सिंहहरू बिस्तारै किनारामा धकेलिँदै थिए । राजनीतिमा पनि फरक मत राख्नेहरू जिम्मेवारीबाट हटाइँदै थिए । बाहिरका विरोधीहरू त पुरानै थिए ।
तर अब सेरु र प्रधानमन्त्री दुवैलाई नयाँ खतरा देखिन थालेको थियो—
आफ्नै समूहभित्रका आलोचकहरू ।
व्यङ्ग्य यहीँ लुकेको थियो । लोकतन्त्र, परामर्श र सामूहिकताको कुरा गर्दै माथि पुगेकाहरू विस्तारै आलोचनालाई अपराधजस्तो ठान्न थालेका थिए ।
उनीहरूलाई लाग्न थालेको थियो—
"जो मेरो पक्षमा छैन, ऊ मेरो विरोधमा छ ।"
यो सोच जन्मिएपछि मित्र र शत्रुको सीमा हराउन थाल्छ । अनि संस्थाभन्दा व्यक्ति ठूलो बन्न थाल्छ ।
एक साँझ सेरु आफ्नो मनपर्ने चट्टानमाथि बसेको थियो । उता प्रधानमन्त्री आफ्नो कार्यालयको ठूलो कुर्सीमा ।
दुवैलाई लागिरहेको थियो—
उनीहरूले समूहलाई अनुशासनमा राखेका छन् । तर वास्तविकता अलि फरक थियो । उनीहरूले अनुशासन होइन, डर फैलाइरहेका थिए । र डरले केही समय शान्ति दिन सक्छ । तर विश्वास कहिल्यै दिन सक्दैन ।
वृद्ध सिंहले आकाशतिर हेरे । उता एक वृद्ध नेताले पार्टीको पुरानो झण्डा हेरे ।
दुवैको मनमा एउटै विचार आयो—
"जब नेतृत्वले आफ्नै मानिसलाई शत्रु ठान्न थाल्छ, त्यसबेला उसको सबैभन्दा ठूलो संकट सुरु भइसकेको हुन्छ ।"
तर संकटको आवाज अझै मधुरो थियो । अहंकारको गर्जन अझै ठूलो थियो ।
९: सर्वज्ञताको रोग
अहङ्कारको पनि विकासक्रम हुन्छ । सुरुमा मानिस आफूलाई योग्य ठान्छ । त्यसपछि अरूभन्दा बढी योग्य ठान्छ । अनि एक दिन यस्तो बिन्दु आउँछ, जहाँ उसलाई लाग्न थाल्छ—ऊ कहिल्यै गलत हुन सक्दैन ।
त्यही रोगलाई इतिहासले अनेक नाम दिएको छ—अहंकार, व्यक्तिपूजा, सर्वज्ञताको भ्रम । तर यसको परिणाम सधैँ एउटै हुन्छ ।
मानिसले सिक्न छोड्छ ।
जंगलमा सेरु अब केवल शक्तिशाली सिंह थिएन । ऊ आफैँलाई जंगलको सबैभन्दा बुद्धिमान प्राणी पनि सम्झन थालेको थियो । पहिले कुनै शिकारअघि ऊ अनुभवी सिंहहरूको सल्लाह सुन्थ्यो । अब ऊ केवल आफ्नो योजना सुनाउँथ्यो । पहिले छलफल हुन्थ्यो । अब घोषणा हुन्थ्यो । पहिले प्रश्न सोध्न पाइन्थ्यो । अब प्रश्न सोध्नेहरूलाई कमजोरीको प्रतीक मानिन्थ्यो ।
एक दिन नदी किनारमा एउटा जटिल शिकारको योजना बनिरहेको थियो ।
अनुभवी सिंहले भने—
"अर्नाहरूको झुण्ड अहिले असामान्य रूपमा सतर्क छ । हामीले केही दिन पर्खनु उचित हुन्छ ।"
सेरुले टाउको हल्लायो ।
"तिमीहरू धेरै सोच्ने गर्छौ ।"
"तर जोखिम—"
"जोखिम म बुझ्छु ।"
"हामीले अर्को बाटो पनि—"
"मलाई थाहा छ ।"
केही समयपछि वृद्ध सिंह मौन भए । किनकि सल्लाह दिन सकिने मानिस र सल्लाह सुन्न इच्छुक मानिस एउटै हुनुपर्छ । सेरु अब दोस्रो प्रकारको मानिस रहन छोडिसकेको थियो । शिकार असफल भयो । अर्नाहरू भागे । दुई युवा सिंह घाइते भए । तर त्यो असफलतापछि पनि सेरुले आफ्नो निर्णयमाथि प्रश्न उठाएन ।
उसले भन्यो—
"योजना सही थियो । कार्यान्वयन कमजोर भयो ।"
चाकडीको घेराले तुरुन्त समर्थन गर्यो ।
"ठीक भन्नुभयो ।"
"समस्या योजना होइन ।"
"हामी अझै राम्रो गर्न सक्छौँ ।"
कसैले पनि यो भनेन—
"शायद योजना नै गलत थियो ।"
किनकि त्यो वाक्य अब खतरनाक बनिसकेको थियो ।
वृद्ध सिंहले टाढाबाट त्यो दृश्य हेर्दै भने—
"अब उसले गल्ती गर्न छोडेको छैन ।"
अर्को सिंहले सोध्यो—
"अनि समस्या के हो ?"
वृद्ध सिंहले उत्तर दिए—
"समस्या यो हो कि अब उसले आफ्नो गल्ती स्वीकार गर्न छोडेको छ ।"
उता मानिसहरूको संसारमा पनि त्यही रोग फैलिँदै थियो । प्रधानमन्त्रीको लोकप्रियता अझै कायम थियो । उनका समर्थकहरू अझै सक्रिय थिए । मञ्चहरू अझै भरिन्थे । तर सत्ता जति बलियो हुँदै गयो, आलोचनाप्रतिको असहिष्णुता पनि त्यति नै बढ्दै गयो ।
एक दिन सरकारले एउटा विवादास्पद निर्णय गर्यो । केही अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरे । केही नागरिक समाजका प्रतिनिधिहरूले प्रश्न उठाए । केही पत्रकारहरूले आलोचनात्मक लेख लेखे । तर सरकारको प्रतिक्रिया रोचक थियो । निर्णयको बचाउ कम भयो । आलोचकहरूमाथि आक्रमण बढी भयो ।
प्रधानमन्त्री निकटका एक नेताले सार्वजनिक रूपमा भने—
"यस्तो ऐतिहासिक निर्णय नबुझ्नेहरू विकासविरोधी हुन् ।"
अर्कोले भने—
"देश परिवर्तनको यात्रामा छ । बाटो छेक्नेहरू इतिहासको गलत पक्षमा छन् ।"
केही समर्थकहरूले त झन् अगाडि बढेर भने—
"प्रधानमन्त्रीको विरोध गर्नु भनेको परिवर्तनको विरोध गर्नु हो ।"
यहीँबाट एउटा खतरनाक भ्रम जन्मिन्छ । नेता र राष्ट्र एउटै चीज हुन् भन्ने भ्रम । जसमा कुनै व्यक्तिको आलोचना राष्ट्रद्रोह जस्तो देखाउन थालिन्छ ।
एक साँझ प्रधानमन्त्री आफ्ना निकट सहयोगीहरूसँग बसेका थिए ।
कुराकानीका क्रममा एक सहयोगीले भन्यो—
"जनताले तपाईंमाथि असाधारण विश्वास गरेका छन् ।"
अर्कोले थप्यो—
"इतिहासले यस्ता नेता कम जन्माउँछ ।"
तेस्रोले भन्यो—
"देश अहिले तपाईंको दृष्टिकोणले चलिरहेको छ ।"
प्रधानमन्त्री मुस्कुराए । पहिले यस्तो कुरा सुन्दा उनी असहज हुन्थे । अब उनी सहज थिए । सायद रमाइरहेका पनि थिए ।
त्यो रात उनी एक्लै बसेर देशको नक्सा हेरिरहेका थिए ।
मनमा एउटा विचार आयो—
"यदि म नभएको भए यो देश कहाँ पुग्थ्यो होला ?"
विचार सानो थियो । तर इतिहासका धेरै दुर्घटनाहरू यस्तै साना विचारबाट सुरु भएका छन् ।
जंगलमा पनि सेरु त्यही सोच्दै थियो ।
"यदि म नभएको भए यो समूहले शिकार गर्न सक्थ्यो ?"
जुन व्यक्तिहरूले परिवर्तनको नाममा यात्रा सुरु गरेका थिए, उनीहरू विस्तारै आफूलाई परिवर्तनभन्दा ठूलो ठान्न थालेका थिए ।
उनीहरूलाई लाग्न थालेको थियो—
उनीहरू बिना जंगल अधुरो छ ।
उनीहरू बिना राष्ट्र अधुरो छ ।
तर सत्य फरक थियो । जंगल सेरुभन्दा पुरानो थियो । राष्ट्र प्रधानमन्त्रीभन्दा पुरानो थियो । समूह कुनै एक सिंहले बनाएको थिएन । देश कुनै एक नेताले बनाएको थिएन । तर शक्तिले मानिसलाई इतिहासको केन्द्रमा आफूलाई राखेर सोच्न सिकाउँछ ।
वृद्ध सिंहले एक दिन भने—
"जंगलको सबैभन्दा खतरनाक रोग भोक होइन ।"
"अनि के हो ?" एक युवा सिंहले सोध्यो ।
वृद्ध सिंहले उत्तर दिए—
"जब कुनै सिंहलाई लाग्छ, उसले सबै कुरा जान्दछ ।"
उता राजनीतिमा एक पुरानो विचारकले लेखेका थिए—
"राष्ट्रलाई बचाउने नेता खतरनाक हुँदैन ।
आफूलाई राष्ट्रकै उद्धारक ठान्ने नेता खतरनाक हुन्छ ।"
तर त्यस्ता वाक्यहरू पढ्ने मानिसहरू कम हुँदै गएका थिए ।
जयजयकार गर्ने मानिसहरू बढी ।
सेरु अब आफूलाई जंगलको सबैभन्दा बुद्धिमान प्राणी सम्झन थालेको थियो । प्रधानमन्त्रीले आफूलाई राष्ट्रको अपरिहार्य मार्गदर्शक ठान्न थालेका थिए । बुद्धि अझै उनीहरूसँग थियो । तर अब त्यसलाई विनम्रताले नियन्त्रण गरिरहेको थिएन । आत्मविश्वासले गरिरहेको थियो ।
र जब आत्मविश्वासले बुद्धिलाई निल्न थाल्छ, तब निर्णयहरू तालीले मापन हुन थाल्छन्, सत्यले होइन ।
१०: अलगाव
अहङ्कारको अन्तिम चरण त्यतिबेला सुरु हुन्छ, जब मानिसले आफ्नो सफलताको स्रोत नै बिर्सन्छ । उसलाई लाग्न थाल्छ—जुन समूहले उसलाई माथि पुर्यायो, त्यो समूह वास्तवमा आवश्यक नै थिएन । जसले उसको साथ दियो, तिनीहरू केवल दर्शक थिए । र ऊ आफैँ सम्पूर्ण सफलताको एकमात्र कारण थियो ।
सेरु र प्रधानमन्त्री दुवै अब यही भ्रमको शिखरतिर पुगिरहेका थि ए।
वृद्ध सिंहका चेतावनीहरू, अनुभवी सिंहहरूको असन्तुष्टि र केही युवा सिंहहरूको मौन विरोधका बाबजुद सेरुको व्यवहार परिवर्तन भएन । बरु ऊ झन् कठोर बन्दै गयो ।
एक दिन ठूलो शिकारपछि फेरि विवाद उठ्यो ।
केही सिंहहरूले पुरानै कुरा दोहोर्याए—
"शिकार सामूहिक प्रयास हो ।"
"सबैको योगदान बराबर सम्मानित हुनुपर्छ ।"
"समूहभन्दा कोही ठूलो हुँदैन ।"
सेरुले केही बेर सबैलाई हेरेर बस्यो । त्यसपछि ऊ उठ्यो । उसको आँखामा चुनौती थियो, स्वरमा घमण्ड ।
"यदि तिमीहरूलाई लाग्छ, मेरो योगदान अरूजस्तै हो भने आज एउटा कुरा स्पष्ट गरौँ ।"
सभामा सन्नाटा छायो ।
"आजदेखि म एक्लै शिकार गर्छु ।"
केही सिंहहरू झस्किए । कसैले सोचेका थिएनन्, कुरा यहाँसम्म पुग्नेछ ।
"तिमीहरू मिलेर शिकार गर ।"
सेरुले अगाडि भन्यो—
"अनि म एक्लै गर्छु ।"
"त्यसपछि थाहा हुनेछ, सफलता कसको कारणले आएको थियो ।"
वृद्ध सिंह बिस्तारै उठे ।
"सेरु, यो रिसले लिइएको निर्णय हो ।"
"होइन," सेरुले जवाफ दियो, "यो सत्य प्रमाणित गर्ने निर्णय हो ।"
"सत्य प्रमाणित हुँदैन, देखिन्छ ।"
"त्यसो भए अब सबैले देख्नेछन् ।"
सेरुले कसैको कुरा सुनेन ।
उहाँलाई लागिरहेको थियो—
उसले समूहलाई छोडिरहेको छैन । समूहले उसको मूल्य बुझेको छैन । र यही सोचले मानिसलाई आफ्नै गल्तीलाई पनि न्यायोचित देखाउँछ ।
त्यो साँझ सेरु एक्लै जंगलको अर्को दिशातिर लाग्यो । उसको पछाडि कुनै सिंह थिएन । कुनै साथी थिएन । कुनै सहयोगी थिएन ।
तर उसलाई विश्वास थियो—
ऊ एक्लै पर्याप्त छ ।
उता मानिसहरूको संसारमा पनि त्यही कथा अर्को रूपले दोहोरिँदै थियो । प्रधानमन्त्रीको लोकप्रियता र प्रभाव यति बढिसकेको थियो कि पार्टीभित्रका धेरै निर्णयहरू संगठनभन्दा व्यक्तिको वरिपरि केन्द्रीत हुन थालेका थिए । समितिहरू थिए । बैठकहरू पनि थिए । तर वास्तविक शक्ति कहाँ थियो, सबैलाई थाहा थियो ।
एक दिन पार्टीको महाधिवेशनको तयारी भइरहेको थियो । केही नेताहरूले संगठनलाई थप संस्थागत बनाउने प्रस्ताव ल्याए । अधिकारहरू विकेन्द्रीत गर्ने कुरा उठ्यो । निर्णय प्रक्रियालाई सामूहिक बनाउने माग गरियो ।
प्रधानमन्त्रीका समर्थकहरू तुरुन्त सक्रिय भए ।
"जनताले पार्टीलाई होइन, नेतृत्वलाई मत दिएका हुन् ।"
"व्यक्तित्व नै अहिलेको शक्तिको स्रोत हो ।"
"संगठन नेतृत्वका कारण बलियो भएको हो ।"
बिस्तारै एउटा नयाँ नारा जन्मियो—
"नेता नै पार्टी हुन् ।"
यो वाक्य सार्वजनिक रूपमा कसैले नलेखे पनि व्यवहारमा लागू हुन थाल्यो ।
एक दिन पत्रकारले प्रधानमन्त्रीलाई प्रश्न सोध्यो—
"पार्टीभित्र तपाईंभन्दा फरक मत राख्नेहरूको संख्या बढ्दै छ । यसलाई कसरी हेर्नुहुन्छ ?"
प्रधानमन्त्री मुस्कुराए ।
"विचार फरक हुनु स्वाभाविक हो ।"
तर केही क्षणपछि थपे—
"तर जनताले कसलाई विश्वास गरेका छन् भन्ने कुरा पनि बिर्सनु हुँदैन ।"
त्यो उत्तर सामान्य सुनिन्थ्यो । तर त्यसको गहिरो अर्थ थियो । विस्तारै व्यक्ति संस्थाभन्दा माथि उभिन थालेको थियो ।
पार्टीका एक वृद्ध नेताले त्यो अन्तर्वार्ता हेरेपछि भने—
"अब समस्या विचारको छैन ।"
"अनि केको हो ?" कसैले सोध्यो ।
वृद्ध नेताले उत्तर दिए—
"अब उसलाई लाग्न थालेको छ कि संगठन उसको कारणले बाँचेको छ ।"
जंगलमा पनि त्यही सोच थियो । राजनीतिमा पनि ।
जब सेरु कमजोर थियो, समूह उसको शक्ति थियो । जब नेता संघर्षमा थिए, संगठन उनको आधार थियो । तर शक्तिशाली बनेपछि दुवैले आधारलाई बोझ सम्झन थाले ।
इतिहासमा धेरै साम्राज्य बाहिरी आक्रमणले ढलेका छैनन् ।
ती आफ्नै घमण्डले ढलेका छन् ।
किनकि घमण्डले मानिसलाई एउटा भ्रम दिन्छ—
"म एक्लै पर्याप्त छु ।"
तर प्रकृतिको नियम फरक छ । एक्लो सिंह शक्तिशाली हुन सक्छ । तर झुण्डभन्दा शक्तिशाली हुँदैन । एक्लो नेता लोकप्रिय हुन सक्छ । तर संगठनभन्दा ठूलो हुँदैन ।
त्यो रात जंगल असामान्य रूपमा शान्त थियो । सिंहहरूको समूह मौन थियो । उता पार्टी कार्यालयमा पनि एउटा अदृश्य तनाव फैलिएको थियो ।
दुवैतिर एउटा प्रश्न घुमिरहेको थियो—
"के साँच्चै कुनै व्यक्ति समूहभन्दा ठूलो हुन सक्छ ?"
तर त्यो प्रश्नको उत्तर अब बहसले होइन, घटनाले दिने थियो । किनकि सेरु आफ्नो जीवनको सबैभन्दा ठूलो परीक्षातर्फ हिँडिसकेको थियो ।
र प्रधानमन्त्री पनि ।
आकाशमा जून उक्लिँदै थियो । सेरु एक्लै नयाँ शिकारको खोजीमा अगाडि बढिरहेको थियो । उता प्रधानमन्त्री आफ्नै प्रभावको घेराभित्र झन् गहिरो प्रवेश गरिरहेका थिए ।
दुवैलाई लागिरहेको थियो—
उनीहरूले स्वतन्त्रता पाएका छन् । तर वास्तविकतामा उनीहरू अलगावको यात्रामा निस्किसकेका थिए ।
अनि अलगाव, प्रायः, पतनको पहिलो दृश्य हुन्छ ।
११: अर्नाको प्रतिकार
शक्ति जबसम्म सामूहिक हुन्छ, त्यसले आत्मविश्वास दिन्छ । तर जब शक्ति अहङ्कारमा बदलिन्छ, त्यसले भ्रम दिन थाल्छ । र भ्रमको सबैभन्दा खतरनाक रूप त्यो हो, जहाँ मानिसले आफ्ना विरोधीहरूलाई कमजोर सम्झन थाल्छ । सेरु अब त्यही भ्रमको कैदी बनिसकेको थियो ।
समूह छोडेको केही दिन भइसकेको थियो । सुरुका दिनहरूमा सेरुलाई कुनै चिन्ता थिएन । बरु उसलाई हल्का महसुस भइरहेको थियो । अब उसले कसैको कुरा सुन्नुपर्दैनथ्यो । कसैसँग शिकार बाँड्नुपर्दैनथ्यो । कसैलाई जवाफ दिनुपर्दैनथ्यो । उसलाई लागिरहेको थियो—ऊ वास्तवमै स्वतन्त्र भएको छ ।
तर स्वतन्त्रता र एक्लोपनबीचको भिन्नता बुझ्न समय लाग्छ । भोकले त्यो भिन्नता छिट्टै सिकाउँछ ।
केही दिनपछि सेरुको पेट खाली हुन थाल्यो । सानातिना जनावरहरूले उसको आवश्यकता पूरा गर्न सकेनन् । उसलाई ठूलो शिकार चाहिएको थियो । अनि उसको नजर जंगलको पश्चिमी मैदानमा चरिरहेको अर्नाको विशाल झुण्डमा पर्यो ।
एक समय थियो, जब त्यही अर्नाहरू सेरुको नाम सुन्नासाथ सतर्क हुन्थे । कतिपय भाग्थे । कतिपय लुक्थे । आज पनि सेरुलाई त्यही पुरानो दृश्यको अपेक्षा थियो ।
उसले गर्जना गर्यो । जंगल गुञ्जियो । चराहरू उडे । धुलो उठ्यो । अनि ऊ अर्नाहरूतिर दौडियो । तर यसपटक केही फरक भयो । अर्नाहरू भागेनन् । झुण्डका अगुवा अर्नाले टाउको उठायो । उसका सिङहरू सूर्यको प्रकाशमा चम्किरहेका थिए । उसले भाग्ने संकेत दिएन । बरु अगाडि बढ्ने संकेत दियो । एकपछि अर्को अर्ना उसको वरिपरि उभिन थाले । केही क्षणमै एउटा घेरा बन्यो । सेरु एकछिन रोकियो । उसले यस्तो दृश्यको अपेक्षा गरेको थिएन ।
अगुवा अर्नाले गर्जनजस्तै स्वरमा भन्यो—
"आज हामी भाग्दैनौँ ।"
सेरु रिसले चिच्यायो—
"तिमीहरू मलाई चुनौती दिन्छौ ?"
अर्नाले उत्तर दियो—
"हामी तिमीलाई होइन, हाम्रो डरलाई चुनौती दिइरहेका छौँ ।"
त्यसपछि झुण्ड अघि बढ्यो । धर्ती काँप्न थाल्यो । धुलोको बादल उठ्यो । दर्जनौँ तीखा सिङहरू एउटै दिशामा सोझिए । सेरुले आक्रमण गर्ने प्रयास गर्यो । तर यो त्यही पुरानो झुण्ड थिएन । पहिले छुट्टाछुट्टै भाग्ने अर्नाहरू आज एउटै शरीरजस्तै बनेका थिए । उसले एउटा अर्नालाई लक्ष्य बनायो । अर्को अर्ना उसको छेउमा आइपुग्यो । उसले दायाँतिर छलाङ मार्यो । बायाँबाट अर्को सिङ आयो ।
केही क्षणमै परिस्थिती उल्टियो । शिकारी शिकारजस्तो देखिन थाल्यो । सेरुको काँधमा चोट लाग्यो । पाखुरामा घाउ भयो । ऊ पछाडि हट्न थाल्यो ।
अनि अन्ततः—
ऊ भाग्न बाध्य भयो । अर्नाहरूले उसको धेरै परसम्म पीछा गरे । जबसम्म उनीहरू निश्चित भएनन् कि सेरु साँच्चै भागिसकेको छ, उनीहरू रोकिएनन् ।
त्यो साँझ जंगलभर एउटा नयाँ खबर फैलियो ।
"सेरु हार्यो ।"
"अर्नाहरूले सेरुलाई भगाए ।"
"एक्लो सिंहलाई झुण्डले हरायो ।"
वृद्ध सिंहले त्यो खबर सुनेर आँखा बन्द गरे । उनी अचम्मित भएनन् ।
केवल बिस्तारै भने—
"शक्ति घटेको होइन ।"
"अनि के भयो ?" एक युवा सिंहले सोध्यो ।
"उता झुण्ड बलियो भएको हो ।"
उता मानिसहरूको संसारमा पनि त्यस्तै दृश्य निर्माण हुँदै थियो । वर्षौँदेखि एकअर्कासँग झगडा गरिरहेका विपक्षी दलहरू विस्तारै नजिकिन थालेका थिए । उनीहरूको विचार फरक थियो । स्वार्थ फरक थियो । इतिहास फरक थियो ।
तर एउटा कुरा साझा थियो—
उनीहरू सबै एउटै व्यक्तिको बढ्दो प्रभावबाट चिन्तित थिए ।
राजनीतिक गल्लीहरूमा नयाँ कुराकानी सुरु भयो ।
"हामी अलगअलग लड्यौँ भने हार्छौँ ।"
"हामीलाई एउटै मोर्चा चाहिन्छ ।"
"कम्तीमा यसपटक साझा उद्देश्य खोज्नुपर्छ ।"
जनतामाझ पनि परिवर्तन देखिन थाल्यो । कुनै समय नेताका कट्टर समर्थक रहेका केही मानिसहरू प्रश्न गर्न थाले । पत्रकारहरू अलि साहसी बन्दै गए । नागरिक समाज फेरि सक्रिय हुन थाल्यो । अहिले पनि प्रधानमन्त्री शक्तिशाली थिए । सेरु अझै बलियो थियो । तर पहिलोपटक उनीहरूको विरोधीहरू कमजोर देखिन छोडेका थिए ।
अहङ्कारी शासकहरू प्रायः आफ्ना शत्रुहरूलाई विभाजित देख्न अभ्यस्त हुन्छन् ।
उनीहरू बिर्सन्छन्—
कहिलेकाहीँ एउटै शक्तिले आफ्ना सबै विरोधीहरूलाई एक ठाउँमा ल्याइदिन्छ ।
जंगलमा अर्नाहरूलाई एक बनाउने काम सेरुले नै गरेको थियो । राजनीतिमा विपक्षीहरूलाई एक बनाउने काम पनि प्रधानमन्त्रीको शैलीले नै गरिरहेको थियो । त्यो रात घाइते सेरु एउटा ओडारमा लुकेर बसेको थियो ।
पहिलोपटक उसको मनमा एउटा प्रश्न उठ्यो—
"के म साँच्चै एक्लै पर्याप्त छु ?"
उता प्रधानमन्त्री आफ्नो कार्यालयमा बसेर विपक्षीहरूको नयाँ गठबन्धनको समाचार पढिरहेका थिए । उनको अनुहार गम्भीर थियो । पहिलोपटक एउटा असहज भावना मनमा जन्मिएको थियो ।
किनकि उनीहरूले एउटा कुरा बुझ्न थालेका थिए—
डरले मानिसहरूलाई केही समय अलग राख्न सक्छ, तर साझा डरले उनीहरूलाई एकजुट पनि बनाउन सक्छ ।
र एकजुट भएको झुण्ड—
चाहे जंगलको होस् वा राजनीतिको—
एक्लो सिंहका लागि सधैँ खतरनाक हुन्छ ।
१२: हरिणको उपहास
पराजय आफैँमा सबैभन्दा ठूलो पीडा होइन । वास्तविक पीडा तब हुन्छ, जब आफूलाई अजेय ठान्ने व्यक्तिले पहिलोपटक आफ्ना सीमाहरू देख्न थाल्छ । अझ त्योभन्दा ठूलो पीडा तब हुन्छ, जब अरूले पनि उसका कमजोरीहरू देख्न थाल्छन् ।
सेरु अहिले यही पीडाको बीचमा थियो ।
अर्नाको झुण्डसँगको पराजयपछि उसको शरीर घाइते थियो । काँध दुखिरहेको थियो । खुट्टामा घाउ थियो । तर उसको अहङ्कार शरीरभन्दा धेरै घाइते भएको थियो । किनकि उसले केवल शिकार गुमाएको थिएन बरु उसले आफ्नो अजेयताको भ्रम गुमाएको थियो । केही दिनसम्म उसले ओडारमै आराम गर्यो ।
तर भोकले आराम बुझ्दैन । भोकले सम्झौता गर्दैन ।
अन्ततः एक बिहान ऊ फेरि शिकारको खोजीमा निस्कियो । यसपटक उसले अर्नातिर हेरेन । त्यो सम्झना अझै ताजा थियो । उसको नजर टाढा घाँसे मैदानमा चरिरहेका हरिणहरूको झुण्डमा गयो ।
"यी त सजिला छन्," उसले मनमनै सोच्यो ।
"अर्नाजस्तो लड्न सक्दैनन् ।"
उसलाई लाग्यो, आजको दिनले उसको हराएको प्रतिष्ठा फिर्ता ल्याउनेछ ।
सेरु झाडीभित्र लुक्यो । सुस्तरी अगाडि बढ्यो ।
पहिले जस्तै धैर्य ।
पहिले जस्तै चालाकी ।
अनि सही क्षण पर्खियो ।
अचानक ऊ बिजुलीजस्तै कुद्यो । हरिणहरू झस्किए । झुण्ड एकैचोटि भाग्न थाल्यो । सबै कुरा ठीक भइरहेको जस्तो देखिन्थ्यो । तर केही क्षणपछि समस्या सुरु भयो । सेरुले एउटा जवान हरिणलाई लक्ष्य बनायो ।
हरिण दायाँ मोडियो । सेरु पनि दायाँ मोडियो । हरिण बायाँ मोडियो । सेरु पनि बायाँ मोडियो । अचानक हरिण एउटा साँघुरो बाटो हुँदै उफ्रियो । सेरुले पछ्याउने प्रयास गर्यो । तर उसको गति पहिले जस्तो थिएन । उसको शरीर थकित थियो । उसको सन्तुलन बिग्रियो । र ऊ धुलोमा लड्न पुग्यो ।
हरिणहरू धेरै टाढा पुगिसकेका थिए । तर एउटा जवान हरिण केही बेर रोकियो । उसले फर्केर सेरुतिर हेर्यो । त्यसपछि फेरि उफ्रियो ।
मानौँ ऊ भन्दै थियो—
"समय बदलिएको छ ।"
सेरु उठ्यो । रिसले उसको सास फुलिरहेको थियो । उसले फेरि अर्को झुण्ड पछ्यायो ।
फेरि असफल ।
अर्को प्रयास गर्यो ।
फेरि असफल ।
साँझसम्म ऊ भोकै थियो । र थकित पनि ।
पहिलोपटक उसले महसुस गर्यो—
शक्ति अझै छ । तर त्यो पर्याप्त छैन ।
उता जंगलभर नयाँ कुरा फैलिन थाल्यो । पहिले जनावरहरू सेरुको कथा डरका साथ सुनाउँथे । अब व्यङ्ग्य मिसिन थालेको थियो । बाँदरहरूले रुखको टुप्पोबाट उसको नक्कल गर्न थाले । स्यालहरूले चुट्किला बनाउन थाले ।
हरिणहरू आफ्ना बच्चाहरूलाई नयाँ कथा सुनाउन थाले—
"एक समय एउटा सिंह थियो, जसलाई लाग्थ्यो ऊ सबैभन्दा तेज छ ।"
वृद्ध हात्तीले यो सब सुन्दै भने—
"डर हराएपछि मानिस हाँस्न सिक्छ ।"
उता मानिसहरूको संसारमा पनि त्यस्तै दृश्य देखिन थाल्यो । प्रधानमन्त्री अझै शक्तिशाली थिए । उनको प्रभाव अझै ठूलो थियो । तर अब आलोचनासँग डराएर लुक्ने अवस्थामा थिएन । साना राजनीतिक दलहरू, जसलाई पहिले कसैले गम्भीरतापूर्वक लिँदैनथ्यो, अब खुलेर बोल्न थाले । युवा नेताहरूले सामाजिक सञ्जालमा व्यङ्ग्य गर्न थाले । विद्यार्थीहरूले प्रश्न गर्न थाले । पत्रकारहरूले पुराना फाइलहरू खोतल्न थाले ।
एक समय प्रधानमन्त्रीको एउटा भाषण समाचार बन्थ्यो । अब भाषणपछि तथ्य-जाँच समाचार बन्न थाले । एक समय उनका समर्थकहरूको नारा ट्रेन्ड हुन्थ्यो । अब उनका विरोधमा बनेका व्यङ्ग्यचित्रहरू भाइरल हुन थाले ।
साना शक्तिहरूले एउटा कुरा बुझेका थिए—
ठूलो पहाडलाई ढाल्न सकिँदैन भने पनि त्यसमा चिरा पार्न सकिन्छ ।
एक युवा राजनीतिक अभियन्ताले सार्वजनिक कार्यक्रममा भने—
"समस्या यो होइन कि नेता शक्तिशाली छन् । समस्या यो हो कि उनीहरू आफूलाई गल्तीभन्दा माथि ठान्छन् ।"
त्यो वाक्य अर्को दिन हजारौँ मानिसले साझा गरे । प्रधानमन्त्रीका समर्थकहरूले त्यसलाई तुच्छ ठाने ।
"यी त साना मानिसहरू हुन् ।"
"यिनीहरूको के प्रभाव छ र ?"
तर इतिहासको अर्को नियम पनि छ—
ठूला परिवर्तनहरू प्रायः साना आवाजबाट सुरु हुन्छन् ।
जंगलमा पनि यही भइरहेको थियो । हरिणहरूले सेरुलाई हराएका थिएनन् । तर उनीहरूले एउटा भ्रम तोडेका थिए ।
कि सेरु अजेय छ ।
राजनीतिमा पनि साना दलहरूले प्रधानमन्त्रीलाई पराजित गरेका थिएनन् । तर उनीहरूले अर्को भ्रम च्यातिरहेका थिए । कि उनको निर्णयमाथि प्रश्न उठाउनै मिल्दैन ।
अर्नासँग हार्दा सेरु रिसायो । तर हरिणसँग छकिँदा ऊ लज्जित भयो । किनकि शक्तिशालीलाई आफ्नो बराबरीसँग हार्नु भन्दा सानोसँग छकिँनु बढी पीडादायी लाग्छ ।
त्यो रात सेरु नदीकिनारमा एक्लै बसेको थियो, पानीमा आफ्नो प्रतिबिम्ब हेर्दै । उसले देखिरहेको सिंह उही थियो । तर उसको आँखामा पहिलेको जस्तो निश्चिन्तता थिएन ।
उता प्रधानमन्त्री पनि आफ्ना सल्लाहकारहरूसँग बसेका थिए । सामाजिक सञ्जालमा फैलिएका व्यङ्ग्य, आलोचना र प्रश्नहरूको रिपोर्ट टेबलमा थियो । उनी बाहिर शान्त देखिन्थे । तर भित्र एउटा प्रश्न जन्मिन थालेको थियो ।
किनकि अर्नाले शक्ति चुनौती दिएका थिए।
हरिणहरूले प्रतिष्ठा ।
र प्रतिष्ठामाथिको चोट प्रायः गहिरो हुन्छ ।
जंगल र राजनीतिमा एकै समयमा एउटै सत्य प्रकट हुँदै थियो—
जब साना आवाजहरू हाँस्न थाल्छन्, त्यतिबेला ठूलो शक्तिको जादु कमजोर हुन थालिसकेको हुन्छ ।
सेरु अझै सिंह थियो ।
प्रधानमन्त्री अझै शक्तिशाली थिए ।
तर अब उनीहरू पहिलोपटक आफ्नै कथाका नायक मात्र होइन, व्यङ्ग्यका पात्र पनि बन्न थालेका थिए ।
१३: खाली पेट र खाली सभा
लोकप्रियताको एउटा विशेषता हुन्छ—जब त्यो शिखरमा हुन्छ, मानिसलाई लाग्छ यो कहिल्यै समाप्त हुँदैन । तर नदीको बाढीजस्तै लोकप्रियता पनि स्थायी हुँदैन । पानी घट्न थालेपछि मात्र थाहा हुन्छ—किनारामा वास्तवमा कति गहिराइ बाँकी छ ।
सेरु र प्रधानमन्त्री दुवै अब त्यही अवस्थातिर पुगिरहेका थिए ।
अर्नाले भगाएपछि, हरिणहरूले छक्याएपछि पनि सेरुले सुरुमा आफूलाई ढाडस दिएको थियो ।
"यो केवल खराब समय हो ।"
"म अझै उही सेरु हुँ ।"
"म फेरि उठ्नेछु ।"
तर प्रकृतिले आत्मविश्वास र वास्तविकताबीचको दूरी धेरै दिनसम्म लुकाउन दिँदैन ।
दिनहरू बित्दै गए । शिकारहरू असफल हुँदै गए । सानातिना मुसा, खरायो र चराले पेट भरिँदैनथ्यो । ठूलो शिकार गर्न ऊ अब सक्षम देखिँदैनथ्यो ।
समूहबाट टाढा भएपछि उसले एउटा कुरा बुझ्न थालेको थियो—
शिकार केवल शक्तिको खेल थिएन । त्यो समन्वयको खेल थियो । धैर्यको खेल थियो । विश्वासको खेल थियो ।
एक बिहान सेरु नदीकिनारमा पुग्यो । उसको शरीर दुब्लिँदै गएको थियो । पहिलेको चमक हराउँदै थियो ।
उहाँलाई देखेर केही बाँदरहरू फुसफुसाए—
"के त्यो साँच्चै सेरु हो ?"
"उही त हो ।"
"पहिलेभन्दा कति फरक देखिन्छ ।"
सेरुले उनीहरूको कुरा सुनेन । वा सुनेर नसुनेझैँ गर्यो । किनकि कहिलेकाहीँ अपमानभन्दा मौनता बढी पीडादायी हुन्छ ।
त्यो दिन उसले पूरा दिन शिकार खोज्यो । तर साँझसम्म उसको पेट खाली थियो । ऊ एउटा चट्टानमुनि थकित भएर बस्यो । सूर्य अस्ताउँदै थियो । आकाश रातो हुँदै थियो । र धेरै वर्षपछि पहिलोपटक उसले भोकको वास्तविक पीडा महसुस गर्यो ।
भोक केवल पेटको हुँदैन । भोक सम्मानको पनि हुन्छ । स्वीकृतिको पनि हुन्छ । साथको पनि हुन्छ । र त्यो साँझ सेरु तीनै किसिमको भोकले ग्रसित थियो ।
उता मानिसहरूको संसारमा पनि यस्तै दृश्य विस्तारै देखिन थालेको थियो । प्रधानमन्त्री अझै पदमा थिए । अझै शक्तिशाली थिए । अझै समाचारका मुख्य पात्र थिए । तर केही कुरा बदलिँदै थियो । पहिले जहाँ उनका सभा हुन्थे, त्यहाँ मानिसहरू घण्टौँअघि पुग्थे । अब कुर्सीहरू अन्तिम समयमा मात्र भरिन्थे । पहिले नाराहरू स्वतः गुञ्जिन्थे । अब उद्घोषकले बारम्बार सम्झाउनुपर्थ्यो । पहिले मानिसहरू आशाले आउँथे । अब धेरैजसो औपचारिकताले आउँथे ।
एक दिन एउटा ठूलो जनसभाको आयोजना गरियो । आयोजकहरूले लाखौँको दाबी गरेका थिए । पोस्टरहरू छापिएका थिए । झण्डाहरू फहराइएका थिए । मञ्च भव्य बनाइएको थियो । प्रधानमन्त्री भाषण दिन मञ्चमा उक्लिए । तर उनको आँखाले एउटा दृश्य देख्यो, जुन पहिले कहिल्यै देखेको थिएन ।
खाली कुर्सीहरू ।
यहाँ–त्यहाँ छरिएका मानिसहरू ।
र त्यो उत्साहको अभाव, जसले कहिल्यै उनको सभा छोडेको थिएन ।
भाषण भयो । ताली पनि बज्यो । नारा पनि लाग्यो । तर केही कुरा हराइसकेको थियो ।
त्यो स्वाभाविक ऊर्जा ।
त्यो उत्साह ।
त्यो विश्वास ।
कार्यक्रमपछि एक सल्लाहकारले तुरुन्त रिपोर्ट तयार गर्यो ।
"सभा अत्यन्त सफल रह्यो ।"
"जनताको अभूतपूर्व सहभागिता ।"
"नेतृत्वप्रति जनलहर यथावत् ।"
प्रधानमन्त्रीले रिपोर्ट पढे । त्यसपछि केही क्षण झ्यालतिर हेरे ।
उनलाई थाहा थियो—
रिपोर्टले देखाएको दृश्य र मञ्चबाट देखिएको दृश्य एउटै थिएनन् ।
उता पार्टीभित्र पनि परिवर्तन भइरहेको थियो । पहिले स्वयंसेवकहरू आफैँ आउँथे । अब बोलाउनुपर्थ्यो । पहिले कार्यकर्ताहरू अवसर खोज्दैनथे । अब धेरैले दूरी बनाउन थालेका थिए । पहिले संगठन परिवारजस्तो लाग्थ्यो । अब त्यो कार्यालयजस्तो लाग्न थालेको थियो ।
एक वृद्ध कार्यकर्ताले आफ्ना साथीलाई भने—
"हामी पहिले विचारका लागि काम गर्थ्यौँ ।"
"अहिले ?"
"अहिले धेरैजसो मानिस पदका लागि काम गर्छन् ।"
जंगलमा पनि यही अवस्था थियो । सेरुको वरिपरि भीड हराइसकेको थियो । राजनीतिमा पनि नेताको वरिपरि विश्वास घट्दै थियो ।
जब शक्ति शिखरमा हुन्छ, मानिसहरू त्यसतर्फ आकर्षित हुन्छन् ।
त्यतिबेला नेता वा सिंहलाई लाग्छ—
"सबैले मलाई प्रेम गर्छन् ।"
तर समयले एउटा कठोर सत्य देखाउँछ—
धेरैजसो मानिसहरू शक्ति नजिक जान्छन्, व्यक्तित्व नजिक होइन । जब शक्ति घट्न थाल्छ, भीड पनि घट्न थाल्छ ।
त्यसपछि मात्र थाहा हुन्छ—
को आफ्नो थियो । को अवसरको यात्री मात्र थियो ।
सेरु त्यो रात फेरि भोकै सुत्यो । उसको गर्जन कमजोर भइसकेको थियो । उसको शरीर थकित थियो । तर सबैभन्दा धेरै थकित उसको अहङ्कार थियो ।
उता प्रधानमन्त्री राति एक्लै कार्यालयमा बसेका थिए । बाहिर पार्टीको झण्डा फहराइरहेको थियो । भित्र सन्नाटा थियो ।
उनले पुराना तस्बिरहरू हेरे—
विशाल सभा ।
उत्साहित समर्थकहरू ।
जोशले भरिएका भाषणहरू ।
अनि वर्तमान सम्झिए-
खाली कुर्सीहरू ।
थाकेका अनुहारहरू ।
औपचारिक तालीहरू ।
त्यो क्षण दुवै संसारमा एउटै सत्य स्पष्ट हुँदै थियो—
लोकप्रियता हराउनु भन्दा कठिन कुरा लोकप्रियताको भ्रम हराउनु हो ।
सेरुको पेट खाली थियो ।
प्रधानमन्त्रीका सभा खाली हुन थालेका थिए ।
र खालीपनको यही अनुभवले पहिलोपटक उनीहरूलाई आफ्नै सीमासँग परिचित गराउन थालेको थियो ।
अहङ्कार अझै पूर्ण रूपमा मरेको थिएन । तर अब त्यसमा पहिलो चोट लागिसकेको थियो ।
र कहिलेकाहीँ एउटा चोट नै आत्मबोधको सुरुवात हुन्छ ।
१४: आत्मबोध
मानिसले जीवनका सबैभन्दा गहिरा पाठहरू विजयबाट सिक्दैन । विजयले प्रायः आत्मविश्वास दिन्छ, कहिलेकाहीँ घमण्ड पनि । तर पराजयले प्रश्न दिन्छ । र प्रश्नहरूले मानिसलाई आफूसँगै बस्न बाध्य बनाउँछन् ।
सेरु र प्रधानमन्त्री दुवै अहिले प्रश्नहरूको बीचमा थिए ।
धेरै दिनदेखि सेरुको जीवन उस्तै थियो ।
बिहान शिकारको खोजी ।
दिनभर असफलता ।
साँझ थका न।
र रात भोक ।
पहिले उसलाई लाग्थ्यो, संसार उसकै वरिपरि घुम्छ ।
अहिले संसार सामान्य गतिमा चलिरहेको थियो । नदी बगिरहेको थियो । घाँस उम्रिरहेको थियो । चराहरू गाइरहेका थिए ।
र जंगलले उसलाई एउटा कठोर सत्य सिकाइरहेको थियो—
कुनै पनि प्राणी जंगलभन्दा ठूलो हुँदैन ।
एक साँझ ऊ एउटा अग्लो डाँडामाथि चढ्यो । त्यहाँबाट उसले टाढा आफ्नो पुरानो समूहलाई देख्यो । केही सिंहहरू अर्नाको शिकारमा व्यस्त थिए । केहीले घेरा बनाएका थिए । केहीले अर्नालाई लखेटिरहेका थिए । शिकार सफल भयो । झुण्डले खाना बाँड्यो । र रात पर्दासम्म सबैको पेट भरियो ।
सेरुले त्यो दृश्य धेरै बेर हेरिरह्यो ।
उहाँले पहिलोपटक स्पष्ट रूपमा देखे— सफलताको केन्द्र आफू होइन, समूह रहेछ ।
उसले पहिले कहिल्यै यो दृष्टिले हेरेको थिएन । किनकि जबसम्म मानिस शक्ति र प्रशंसाको बीचमा हुन्छ, उसलाई धेरै कुरा देखिँदैन ।
वृद्ध सिंहका शब्दहरू अचानक सम्झनामा आए—
"शिकार केवल नङ्ग्रा र दाँतले हुँदैन, विश्वासले पनि हुन्छ ।"
त्यतिबेला सेरुले त्यो कुरा हाँसेर उडाएको थियो । आज त्यो वाक्य उसको मनभित्र प्रतिध्वनित भइरहेको थियो ।
उसले आफूलाई प्रश्न गर्यो—
"यदि म यति महान् थिएँ भने किन भोकै छु ?"
"यदि म एक्लै पर्याप्त थिएँ भने किन असफल भएँ ?"
"यदि अरूको कुनै मूल्य थिएन भने म उनीहरूलाई किन सम्झिरहेको छु ?"
प्रश्नहरू असहज थिए । तर उत्तरहरू अझ असहज थिए । किनकि ती उत्तरहरूले उसको अहङ्कारलाई चोट पुर्याइरहेका थिए ।
उता मानिसहरूको संसारमा पनि एक प्रकारको आत्ममन्थन सुरु भएको थियो । प्रधानमन्त्रीका वरिपरि भीड अझै थियो । तर त्यो पुरानो जोश थिएन । समर्थन अझै थियो । तर त्यो पुरानो विश्वास थिएन ।
एक दिन उनी पार्टीको पुरानो कार्यालय पुगे । त्यो भवन अहिले खासै प्रयोग हुँदैनथ्यो । नयाँ कार्यालयहरू, नयाँ संरचनाहरू र नयाँ शक्ति केन्द्रहरू बनिसकेका थिए । भित्र पस्दा उनले भित्तामा झुन्डिएका पुराना तस्बिरहरू देखे । त्यहाँ उनी थिए ।
तर प्रधानमन्त्रीका रूपमा होइन । एक साधारण कार्यकर्ताका रूपमा पोस्टर टाँस्दै, नारा लगाउँदै, सभा व्यवस्थापन गर्दै ।
उनी लामो समय ती तस्बिरहरू हेर्दै बसे ।
त्यो समय सम्झिए—
जब उनीसँग पद थिएन । सुरक्षा घेरा थिएन । सरकारी गाडी थिएन । तर हजारौँ कार्यकर्ता थिए ।
एक वृद्ध कार्यकर्ता त्यहीँ भेटिए ।
सेतो कपाल ।
पुरानो झोला ।
थाकेको अनुहार ।
वृद्धले मुस्कुराएर भने—
"सम्झनुहुन्छ, एकपटक वर्षामा पोस्टर टाँस्दा हामी रातभर भिजेका थियौँ ?"
प्रधानमन्त्री पनि मुस्कुराए ।
"सम्झन्छु ।"
"त्यतिबेला हामीसँग केही थिएन," वृद्धले भने ।
"तर हामीसँग एकअर्का थियौँ ।"
त्यो वाक्य सुनेपछि प्रधानमन्त्री केही बेर मौन भए । किनकि त्यो वाक्यमा राजनीतिभन्दा ठूलो सत्य थियो ।
कार्यकर्ता भनेका केवल नारा लगाउने मानिस होइनन् ।
संगठन भनेको केवल कार्यालय होइन ।
विश्वास, श्रम, त्याग र साझा यात्राको नाम संगठन हो ।
त्यो कुरा उनले वर्षौँअघि बुझेका थिए । तर सत्ताको भीडभाडमा कतै बिर्सिएका थिए ।
जब नेता माथि पुग्छ, उसलाई लाग्छ कार्यकर्ताहरू उसको पछि लागेका छन् । तर सत्य उल्टो हुन्छ । कार्यकर्ताहरूले नै उसलाई त्यहाँसम्म पुर्याएका हुन्छन् ।
जंगलमा पनि यही सत्य थियो । सेरुलाई लाग्थ्यो, समूह उसको कारण बलियो छ ।
अहिले उसले बुझ्न थालेको थियो—
ऊ पनि समूहका कारण बलियो थियो ।
त्यो रात सेरु नदीकिनारमा बस्यो । धेरै दिनपछि उसले गर्जन गरेन । शिकारको योजना बनाएन । कसैलाई दोष दिएन । उसले केवल आकाशतिर हेर्यो । र आफ्ना गल्तीहरू सम्झियो ।
उता प्रधानमन्त्री पनि राति आफ्नो कार्यकक्षमा एक्लै थिए । टेबलमा पुराना फोटोहरू थिए । पुराना साथीहरूको सूची थियो । कतिपय टाढा गएका थिए । कतिपय रिसाएका थिए । कतिपय मौन थिए ।
पहिलोपटक उनले सोचे—
"के मैले उनीहरूलाई गुमाएँ, कि उनीहरूले मलाई ?"
आत्मबोध सधैँ नाटकीय हुँदैन । कहिलेकाहीँ त्यो एउटा सानो प्रश्नबाट सुरु हुन्छ ।
एउटा सम्झनाबाट ।
एउटा खाली कुर्सीबाट ।
एउटा पुरानो तस्बिरबाट ।
सेरुको मनमा पनि एउटा वाक्य घुमिरहेको थियो ।
प्रधानमन्त्रीको मनमा पनि ।
"म एक्लै बलियो हुन सक्छु, तर महान् कहिल्यै हुन सक्दिन ।"
त्यो रात उनीहरू दुवैले एउटै कुरा बुझ्न थाले—
शक्ति व्यक्तिको हुन सक्छ । तर स्थायित्व सधैँ संगठनको हुन्छ ।
गर्जन सिंहको हुन सक्छ । तर शिकार झुण्डको हुन्छ ।
कुर्सी नेताको हुन सक्छ । तर आन्दोलन कार्यकर्ताको हुन्छ ।
र यही बोधसँगै, धेरै महिनादेखि जमेको अहङ्कारको पर्खालमा पहिलो ठूलो चिरा परेको थियो ।
१५: फर्किने बाटो
पतनपछि उठ्न गाह्रो हुन्छ । तर त्योभन्दा पनि गाह्रो काम हुन्छ—आफू गलत भएको स्वीकार गर्नु । धेरै मानिसहरू हार स्वीकार्छन्, तर गल्ती स्वीकार्दैनन् । किनकि हार बाहिरी घटना हो, गल्ती भित्री सत्य ।
सेरु र प्रधानमन्त्री दुवै अब यही सत्यको ढोकामा उभिएका थिए ।
आत्मबोधको त्यो रातपछि धेरै दिनसम्म सेरु मौन रह्यो । ऊ पहिलेजस्तो गर्जँदैनथ्यो । पहिलेजस्तो रिसाउँदैनथ्यो । पहिलेजस्तो आफूलाई जंगलको केन्द्र सम्झँदैनथ्यो ।
एक बिहान ऊ फेरि त्यो पहाडको टुप्पोमा पुग्यो, जहाँबाट आफ्नो पुरानो समूह देखिन्थ्यो । सिंहहरू सँगै थिए । कोही शिकारको योजना बनाइरहेका थिए । कोही शिकारपछि आराम गरिरहेका थिए । कोही साना शावकहरूलाई प्रशिक्षण दिइरहेका थिए ।
त्यो दृश्य हेर्दै गर्दा सेरुको मनमा एउटा प्रश्न आयो—
"के उनीहरूले मलाई स्वीकार गर्नेछन् ?"
अहङ्कारले त्यो प्रश्न कहिल्यै सोध्दैन ।
तर विनम्रताले सधैँ सोध्छ ।
किनकि अहङ्कारलाई अधिकारमा विश्वास हुन्छ ।
विनम्रतालाई सम्बन्धमा ।
सेरु बिस्तारै तल झर्यो । उसका पाइला पहिलेभन्दा ढिला थिए ।
आँखा पहिलेभन्दा शान्त ।
र गर्जन पूर्ण रूपमा मौन ।
जब ऊ समूह नजिक पुग्यो, केही युवा सिंहहरूले उसलाई देखे । एकछिन सबै चुप भए । जंगलमा एउटा असजिलो मौनता फैलियो ।
कुनै समय त्यही ठाउँमा आउँदा सबैले सम्मानका साथ बाटो छोड्थे । आज कसैले केही भनेन । किनकि अब प्रश्न शक्तिको थिएन । विश्वासको थियो ।
वृद्ध सिंह अगाडि आए । उनी केही बेर सेरुतिर हेर्दै रहे ।
"किन फर्कियौ ?" उनले शान्त स्वरमा सोधे ।
सेरुले टाउको झुकायो ।
धेरै वर्षपछि पहिलोपटक ।
"किनकि म गलत थिएँ ।"
सन्नाटा झन् गहिरियो ।
"मलाई लाग्थ्यो, म एक्लै पर्याप्त छु ।"
"मलाई लाग्थ्यो, सफलता मेरै कारणले आएको हो ।"
"मलाई लाग्थ्यो, समूह मबिना चाल्दैन ।"
उसले केही क्षण रोकिने प्रयास गर्यो ।
"तर मैले बुझें—मलाई समूह चाहिन्थ्यो ।"
कुनै ताली बजेन । कुनै जयजयकार भएन ।
किनकि साँचो क्षमायाचनामा नाटक हुँदैन । त्यहाँ केवल सत्य हुन्छ ।
वृद्ध सिंहले केही बेर आकाशतिर हेरे ।
त्यसपछि भने—
"गल्ती गर्नु अपराध होइन ।"
"गल्तीलाई सत्य बनाउने प्रयास गर्नु अपराध हो ।"
सेरुको आँखा भिजेजस्तो भयो ।
त्यसपछि वृद्ध सिंहले अगाडि बढेर भने—
"यदि तिमी साँच्चै सिकेर फर्किएका हौ भने, यो समूह तिम्रो पनि हो ।"
बिस्तारै अन्य सिंहहरू पनि नजिक आए । कसैले टाउको हल्लाए । कसैले मौन समर्थन दिए । कसैले पुरानो रिस बिर्सन समय मागे ।
तर एउटा कुरा स्पष्ट थियो—
फर्किने बाटो बन्द भएको थिएन ।
उता मानिसहरूको संसारमा पनि यस्तै यात्रा सुरु भएको थियो । बिदेश सम्झी थुक निलिरहने प्रधानमन्त्रीले धेरै समयपछि स्वदेश तथा केही पुराना नेताहरूलाई भेट्न थाले । जसलाई कहिल्यै बैठकमा बोलाउन आवश्यक ठानिएको थिएन, उनीहरूलाई फोन गरियो । जसका सुझावहरू बेवास्ता गरिएका थिए, उनीहरूलाई सुन्न थालियो । जसले आलोचना गरेका थिए, उनीहरूलाई शत्रुजस्तो व्यवहार गर्न छोडियो ।
एक दिन पार्टीको पुरानो कार्यालयमा एउटा विशेष बैठक आयोजना गरियो । त्यहाँ मन्त्रीहरू थिएनन् । उच्च पदाधिकारीहरू पनि धेरै थिएनन् । त्यहाँ पुराना कार्यकर्ताहरू थिए । कोही बीस वर्षदेखि पार्टीमा थिए, कोही तीस वर्षदेखि । कतिले जेल भोगेका थिए । कतिले आन्दोलन गरेका थिए । कतिले आफ्नो युवावस्था पार्टीलाई दिएका थिए ।
प्रधानमन्त्री उनीहरूको अगाडि उभिए ।
केही क्षण मौन बसे ।
त्यसपछि भने—
"सायद मैले धेरै कुरा ढिलो बुझें ।"
हलमा पूर्ण मौनता थियो ।
"मैले संगठनलाई स्वाभाविक रूपमा पाइने चीज ठानेँ ।"
"मैले कार्यकर्ताको योगदानलाई पर्याप्त सम्मान गर्न सकिनँ ।"
"मैले धेरै साथीहरू गुमाएँ ।"
त्यसपछि उनले एउटा वाक्य भने, जसले सबैलाई चकित पार्यो—
"यदि मबाट गल्ती भएको छ भने, म त्यसको जिम्मेवारी लिन तयार छु ।"
राजनीतिमा यस्तो वाक्य दुर्लभ हुन्छ । किनकि जिम्मेवारी लिनुभन्दा दोष सार्न सजिलो हुन्छ । त्यहाँ उपस्थित एक वृद्ध कार्यकर्ता मुस्कुराए ।
"हामीलाई पूर्ण नेता चाहिएको होइन," उनले भने ।
"हामीलाई सिक्न सक्ने नेता चाहिएको हो ।"
त्यो वाक्यले हलको वातावरण बदलिदियो ।
जुन मानिसहरूलाई लाग्थ्यो झुक्नु कमजोरी हो, उनीहरूले अब बुझ्दै थिए—
झुक्नु कहिलेकाहीँ सबैभन्दा ठूलो शक्ति हुन्छ ।
जंगलमा सेरु फर्किएको थियो ।
राजनीतिमा प्रधानमन्त्री पनि आफ्ना जरातिर फर्किरहेका थिए ।
दुवैलाई एउटा कुरा बुझ्न समय लाग्यो—
शिखरमा पुग्नु नेतृत्वको प्रमाण हुन सक्छ ।
तर शिखरबाट तल झरेर "म गलत थिएँ" भन्न सक्नु परिपक्वताको प्रमाण हो ।
त्यो रात सेरु धेरै महिनापछि समूहसँगै सुत्यो । भोकको डर थिएन । एक्लोपनको बोझ थिएन ।
उता प्रधानमन्त्री पनि धेरै समयपछि हल्का महसुस गरिरहेका थिए । किनकि कहिलेकाहीँ मानिसलाई कुर्सीले होइन, सम्बन्धले सुरक्षित बनाउँछ ।
फर्किने बाटो सजिलो थिएन । घाउहरू अझै थिए । अविश्वास पूर्ण रूपमा हटेको थिएन । तर यात्रा सुरु भइसकेको थियो ।
________________________________________
र इतिहासले सधैँ देखाएको छ—
पतनपछि उठ्ने पहिलो कदम अगाडि होइन, पछाडि हुन्छ ।
आफ्ना मानिसहरूति र।
आफ्ना जराति र।
आफ्नो सत्यतिर ।
१६: क्षमा र पुनर्स्थापना
माफी माग्नु साहस हो । तर माफी दिनु अझ ठूलो साहस हो । किनकि क्षमाले केवल एउटा व्यक्तिलाई मुक्त गर्दैन, सम्पूर्ण समुदायलाई भविष्यतिर अघि बढ्न सक्ने बनाउँछ । सेरु र प्रधानमन्त्री दुवै आफ्नो गल्ती स्वीकार गरेर फर्किएका थिए । अब परीक्षा उनीहरूको मात्र थिएन । परीक्षा समूह र संगठनको पनि थियो ।
सेरु फर्किएपछि जंगलका सिंहहरूबीच धेरै दिनसम्म छलफल चल्यो । सबैको धारणा एउटै थिएन । कतिपय सिंहहरू अझै रिसाएका थिए । कतिपयलाई लाग्थ्यो, सेरुलाई यति सजिलै स्वीकार गर्नु हुँदैन । कतिपयले भने, गल्ती स्वीकार गरेर फर्किएको सिंहलाई सधैँ बाहिर राख्नु पनि न्याय हुँदैन । एक साँझ ठूलो चट्टानमुनि सिंहहरूको सभा बस्यो । वृद्ध सिंहले सबैको कुरा सुने । कसैले सेरुको पुरानो योगदान सम्झायोः कसैले उसका गल्तीहरू, कसैले उसको अहङ्कार, कसैले उसको पछुतो ।
अन्त्यमा वृद्ध सिंह उठे ।
"हामी यहाँ एउटा सिंहको भविष्य मात्र तय गरिरहेका छैनौँ," उनले भने, "हामी आफ्नो समूहको चरित्र तय गरिरहेका छौँ ।"
सभामा सन्नाटा छायो ।
"यदि गल्ती स्वीकार गरेपछि पनि सुधारको अवसर दिइँदैन भने, कसैले गल्ती स्वीकार गर्ने साहस गर्नेछैन ।"
"तर यदि गल्तीलाई बिर्सेर पुरानै व्यवहार दोहोर्याइयो भने, समूह टिक्दैन ।"
त्यसपछि उनले सेरुतिर हेरे ।
"तिमीलाई स्वीकार गरिन्छ ।"
"तर एउटा सर्तमा ।"
सेरुले टाउको उठायो ।
"अब यहाँ कोही पनि समूहभन्दा ठूलो हुँदैन ।"
सेरुले बिनाहिचकिचाहट उत्तर दियो—
"म सहमत छु ।"
त्यो क्षण कुनै विजयको घोषणा थिएन । कुनै जयजयकार पनि थिएन । तर त्यो जंगलको भविष्यका लागि महत्त्वपूर्ण क्षण थियो ।
बिस्तारै सिंहहरू सेरुनजिक आए। कसैले काँध छोयो । कसैले मौन मुस्कान दियो । कसैले पुरानो रिस बिर्सन अझ समय चाहिने संकेत गर्यो ।
सेरुले पहिलोपटक बुझ्यो—
विश्वास आदेशले प्राप्त हुँदैन । विश्वास कमाउनुपर्छ ।
त्यसपछि ऊ फेरि शिकार टोलीमा सामेल भयो । तर यसपटक अगाडि उभिने होइन, सँगै हिँड्ने प्रयास गर्दै ।
उता मानिसहरूको संसारमा पनि पुनर्मिलनको प्रक्रिया सुरु भएको थियो ।
प्रधानमन्त्रीले पार्टीको विस्तारित बैठक बोलाए । त्यहाँ मन्त्रीहरू मात्र थिएनन् । त्यहाँ आलोचकहरू पनि थिए , पुराना असन्तुष्ट नेताहरू पनि , साधारण कार्यकर्ताहरू पनि । बैठकको वातावरण सुरुमा असजिलो थियो । वर्षौँको असन्तोष केही घण्टामा हराउने कुरा थिएन ।
प्रधानमन्त्री मञ्चमा उभिए ।
"म आज भाषण गर्न आएको होइन," उनले भने ।
"म सुन्न आएको हुँ ।"
धेरैलाई विश्वास लागेन । तर उनले साँच्चै सुन्न थाले ।
कसैले संगठन कमजोर भएको गुनासो गर्यो । कसैले अवसरवाद बढेको आरोप लगायो । कसैले नेतृत्वले दूरी बढाएको पीडा सुनायो । पहिले यस्तो आलोचना सुन्नासाथ प्रतिवाद आउने गर्थ्यो । आज उनी मौन थिए ।
बैठक धेरै घण्टा चल्यो।
अन्त्यमा प्रधानमन्त्रीले भने—
"यदि संगठन बलियो छैन भने नेतृत्व बलियो भएको भ्रम मात्र हो ।"
हलमा हल्का ताली बज्यो । यो ताली व्यक्तिप्रति थिएन । एक स्वीकारोक्तिप्रति थियो । त्यसपछि पार्टीभित्र बिस्तारै नयाँ संवाद सुरु भयो।
पुराना नेताहरू फर्किए । टाढिएका कार्यकर्ताहरू सक्रिय हुन थाले । अविश्वास पूरै हराएको थिएन । तर पुलहरू फेरि बन्न थालेका थिए ।
जुन मानिसहरूलाई कुनै समय लाग्थ्यो—
"संगठन मेरो कारणले बलियो छ ।"
उनीहरूले अब बुझ्दै थिए—
"म संगठनका कारण बलियो थिएँ ।"
जंगलमा पनि त्यही सत्य थियो । शिकारमा सेरुको भूमिका महत्त्वपूर्ण थियो । तर शिकार केवल सेरुले गर्दैनथ्यो ।
राजनीतिमा पनि त्यही सत्य थियो । नेतृत्व आवश्यक थियो । तर आन्दोलन, संगठन र जनविश्वासबिना नेतृत्व केवल पदको नाम मात्र थियो ।
केही सातापछि जंगलमा एउटा ठूलो अर्नाको शिकार भयो । यसपटक सेरु पनि टोलीमा थियो । शिकार सफल भयो । सबै सिंहहरू गोलो घेरामा बसे । शिकार बाँडियो पहिलेझैँ ।
सेरुले आफ्नो हिस्सा लिएर वृद्ध सिंहतिर हेर्यो । वृद्ध सिंह मुस्कुराए ।
त्यो मुस्कानमा एउटा सन्देश थियो—
"अब तिमीले शक्ति होइन, सम्बन्धको मूल्य बुझ्यौ ।"
उता राजनीतिमा पनि पार्टी फेरि सक्रिय हुन थालेको थियो । कार्यकर्ताहरूको ऊर्जा फर्किन थालेको थियो । नेतृत्व र संगठनबीचको दूरी केही कम भएको थियो । सबै समस्या समाधान भएका थिएनन् । सबै घाउ निको भएका थिएनन् ।
तर एउटा महत्त्वपूर्ण कुरा भएको थियो—
अहङ्कारको ठाउँमा संवाद आएको थियो । र यही परिवर्तनले पुनर्स्थापनाको आधार तयार गर्यो ।
________________________________________
किनकि इतिहासले बारम्बार देखाएको छ—
व्यक्तिले जितेको विजय क्षणिक हुन सक्छ, तर संगठनले जोगाएको सम्बन्ध दीर्घकालीन हुन्छ ।
सेरु फेरि सिंह थियो ।
प्रधानमन्त्री फेरि नेता थिए ।
तर यसपटक उनीहरूलाई एउटा कुरा थाहा थियो—
गर्जनले जंगल जित्न सकिन्छ ।
विश्वासले मात्र जंगल टिकाउन सकिन्छ ।
१७: लोभको दोस्रो चरण
अहङ्कारले मानिसलाई अरूभन्दा ठूलो ठान्न सिकाउँछ । लोभले भने आफूले पाएको कुरा पर्याप्त छैन भनेर सिकाउँछ ।
सेरुले एकपटक अहङ्कारको मूल्य चुकाइसकेको थियो । उसले समूह गुमायो, शिकार गुमायो, प्रतिष्ठा गुमायो र अन्ततः आफ्नै गल्ती स्वीकारेर फर्कियो ।
तर मानिसको मन अचम्मको हुन्छ । एउटा रोग निको भएपछि अर्को रोगले ढोका ढकढक्याउन सक्छ ।
सेरुको जीवनमा अब त्यही भइरहेको थियो ।
समूहमा फर्किएपछि सेरुको पुरानो प्रभाव फेरि स्थापित हुन थाल्यो । उसले पहिलेभन्दा बढी सावधानीपूर्वक शिकार गर्न थाल्यो । अनुभवी सिंहहरूको कुरा सुन्थ्यो । युवा सिंहहरूलाई पनि साथमा राख्थ्यो । शिकार सफल हुन थाले। अनि केही समयमै जंगलमा फेरि सेरुको पुरानो गर्जन सुनिन थाल्यो । तर यसपटक उसले आफूलाई पहिलेभन्दा परिपक्व ठान्थ्यो ।
उसलाई लाग्थ्यो—
"अब म पहिलेको सेरु होइन । मैले पाठ सिकिसकेको छु ।"
सायद उसले अहङ्कारको पाठ साँच्चै सिकेको थियो । तर अर्को पाठ सिक्न भने बाँकी थियो ।
लोभको ।
एक दिन ठूलो अर्नाको शिकार भयो । समूहले खान पुग्नेभन्दा धेरै मासु पायो । सिंहहरूले पेट भरे । केही बाँकी रह्यो ।
सेरुले बाँकी मासुलाई हेर्दै भन्यो—
"यसलाई सुरक्षित राखौँ ।"
वृद्ध सिंहले सहमति जनाए ।
"भोलि काम लाग्छ ।"
तर सेरुले त्यतिमै रोकिएन । अर्को दिन शिकार भयो । फेरि केही मासु बच्यो । उसले अर्को ठाउँमा थुपार्यो । तेस्रो दिन फेरि शिकार भयो, फेरि भण्डारण । केही दिनपछि सेरुको ओढारमा शिकारका अवशेषहरू थुप्रिन थाले ।
उसले एउटा कुनामा मासु राखेको थियो ।
अर्को कुनामा हड्डीहरू ।
अर्को ठाउँमा छालाहरू ।
अनि अर्को गुफा खोजेर त्यहाँ पनि भण्डारण गर्न थाल्यो ।
एक युवा सिंहले अचम्म मान्दै सोध्यो—
"सेरु, यति धेरै किन जम्मा गरेको ?"
सेरुले गम्भीर हुँदै भन्यो—
"भोलिको के भरोसा ?"
युवा सिंहले भन्यो—
"तर हामीलाई आज खान पुगिरहेको छ ।"
सेरु हाँस्यो ।
"आज पुग्नु र भोलिका लागि हुनु फरक कुरा हो ।"
वाक्य सुन्दा बुद्धिमानी लाग्थ्यो । तर लोभ प्रायः बुद्धिमानी वाक्यको पोशाक लगाएर आउँछ । बिस्तारै सेरुको सोच बदलियो ।
पहिले उसले शिकार गर्थ्यो—खानका लागि । अब शिकार गर्न थाल्यो—जम्मा गर्नका लागि । पहिले उसलाई पेट भरिएपछि सन्तोष हुन्थ्यो । अब भण्डार भरिएपछि पनि सन्तोष हुँदैनथ्यो ।
एक दिन वृद्ध सिंहले उसको गुफा देखे ।
"सेरु," उनले भने, "तिमीलाई यति धेरै किन चाहिएको ?"
सेरुले जवाफ दियो—
"शक्ति भनेको केवल शिकार गर्ने क्षमता होइन । कति जम्मा गर्न सकिन्छ भन्ने पनि हो ।"
वृद्ध सिंह केही बेर मौन रहे । उनीसँग एउटा पुरानो अनुभव थियो ।
उनले बिस्तारै भने—
"अहिले तिमीले शक्ति र सम्पत्तिलाई एउटै ठान्न थालेका छौ । सावधा न।"
सेरुले त्यो चेतावनीलाई गम्भीरतापूर्वक लिएन । किनकि यसपटक ऊ आफूलाई अहङ्कारी होइन, व्यावहारिक ठानिरहेको थियो ।
उता मानिसहरूको संसारमा पनि लगभग उस्तै परिवर्तन भइरहेको थियो । प्रधानमन्त्री फेरि प्रभावशाली बनेका थिए ।
संगठनमा उनको पकड बलियो थियो । पुराना विवादहरू मत्थर भएका थिए । कार्यकर्ताहरू फेरि सक्रिय थिए । र शक्ति फेरि उनीहरूको हातमा केन्द्रीत हुँदै थियो ।
तर यसपटक समस्या फरक थियो । अब कुरा केवल पद र प्रतिष्ठाको थिएन । सम्पत्ति, पहुँच र प्रभावको जाल विस्तारै फैलिन थालेको थियो । एक समय सरकारी स्रोतलाई सार्वजनिक सम्पत्ति ठान्ने नेताले अब त्यसलाई आफ्नो प्रभावको क्षेत्रजस्तो हेर्न थाले ।
ठेक्का कसले पाउने ?
कुन नियुक्ति कसलाई दिने ?
कुन व्यवसायी नजिक छ ?
कुन समूहलाई संरक्षण गर्ने ?
कसको पहुँच कहाँसम्म पुर्याउने ?
यी प्रश्नहरू पार्टीको विचारभन्दा ठूलो हुँदै गए । प्रधानमन्त्रीका वरिपरि फेरि मानिसहरूको भीड बढ्न थाल्यो । तर यसपटक चाकडीको कारण फरक थियो । पहिले मानिसहरू पदको नजिक जान्थे । अब मानिसहरू पदबाट उत्पन्न हुने लाभको नजिक जान थाले ।
एक व्यवसायीले भन्यो—
"हामी तपाईंका विचारसँग छौँ ।"
अर्कोले भन्यो—
"हामी पार्टीको विकासका लागि योगदान गर्न चाहन्छौँ ।"
तेस्रोले भन्यो—
"देशको समृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ ।"
शब्दहरू सुन्दर थिए ।
तर उद्देश्यहरू सधैँ सुन्दर हुँदैनन् ।
बिस्तारै उपहारहरू आउन थाले । सुविधाहरू बढ्न थाले । सम्पर्कको दायरा फैलिन थाल्यो । सरकारी शक्ति र निजी स्वार्थबीचको दूरी घट्दै गयो ।
________________________________________
एक पुरानो कार्यकर्ताले यो दृश्य देखेर भने—
"हामीले पहिले नेताको अहङ्कारसँग संघर्ष गरेका थियौँ ।"
साथीले सोध्यो—
"अब ?"
उनले लामो सास फेरे ।
"अब लोभसँग संघर्ष गर्नुपर्ने देखिन्छ ।"
जंगलमा सेरुको गुफा भरिँदै थियो । राजनीतिमा नेताको प्रभाव र पहुँच बढ्दै थियो ।
दुवैलाई लागिरहेको थियो—
जति धेरै जम्मा भयो, उति सुरक्षित भइन्छ ।
तर लोभको नियम उल्टो हुन्छ ।
जति जम्मा गरिन्छ, त्यति नै गुमाउने डर बढ्छ ।
सेरु अब आफ्नो भण्डारको रक्षा गर्न राति पनि उठ्थ्यो । कुनै स्याल वरिपरि देखियो भने शंका गर्थ्यो । कुनै सिंहले धेरै शिकार गर्यो भने असन्तुष्ट हुन्थ्यो ।
उसलाई डर लाग्न थाल्यो—
"कतै मेरो भण्डार कसैले खोस्ला कि ?"
उता प्रधानमन्त्री पनि आफ्ना सम्पर्क, प्रभाव र सम्पत्तिको सुरक्षाप्रति झन् संवेदनशील हुँदै गए ।
जति शक्ति बढ्यो, त्यति नै शंका बढ्यो ।
जति पहुँच बढ्यो, त्यति नै सुरक्षा घेरा बढ्यो ।
वृद्ध सिंहले एक दिन सेरुलाई भने—
"पहिले तिमीलाई डर थियो कि शिकार कसैले खोस्ला ।"
"अहिले तिमीलाई डर छ कि भण्डार कसैले खोस्ला ।"
"फरक के भयो ?"
सेरु चुप भयो ।
वृद्ध सिंहले थपे—
"पहिले तिमी शिकारको मालिक बन्न खोज्थ्यौ । अहिले तिमी अभावको डरको मालिक बनेका छौ ।"
सेरुले त्यो कुरा बुझेन ।
अझै होइन ।
किनकि लोभको सबैभन्दा ठूलो विशेषता यही हो—
उसले 'मलाई चाहिन्छ' बाट सुरु गर्छ र 'मलाई अझै चाहिन्छ' मा पुगेर कहिल्यै रोकिँदैन ।
समय बित्दै गयो । सेरुको भण्डार बढ्दै गयो । नेताको पहुँच बढ्दै गयो । बाहिरबाट हेर्दा दुवै पहिलेभन्दा शक्तिशाली देखिन्थे । तर भित्रबाट उनीहरू पहिलेभन्दा असुरक्षित हुँदै थिए ।
एक दिन सेरु आफ्नो भण्डारको अगाडि बसेर सोचिरहेको थियो—
"अझै एउटा गुफा भए राम्रो हुन्थ्यो ।"
उता प्रधानमन्त्रीको टेबलमा नयाँ प्रस्तावको फाइल आयो ।
उनले पढे ।
केही क्षण सोचेर भने—
"यो पनि हाम्रो नियन्त्रणमा आउनुपर्छ ।"
दुवैको मनमा एउटै शब्द थियो—
"अझै ।"
र यही "अझै" नै अब उनीहरूको अर्को यात्राको सुरुवात थियो ।
१८: कोठाभित्रका कोठा
लोभको पनि एउटा सीमा हुन्छ भन्ने मानिसले आफूलाई सान्त्वना दिन्छ । तर लोभलाई सीमा मन पर्दैन । आज एउटा कोठा भरिन्छ, भोलि अर्को कोठा चाहिन्छ । एउटा थैली भरिन्छ, अर्को थैली खोजिन्छ । एउटा पहुँच पर्याप्त हुँदैन, अर्को पहुँच आवश्यक हुन्छ ।
सेरु र नेताको जीवनमा अब त्यही समय आएको थियो ।
सेरुको गुफा पहिले सामान्य थियो । एउटा कुनामा केही हड्डी । अर्को कुनामा शिकारको छाला । कुनै दिनका लागि बचाइएको थोरै मासु । तर अहिले त्यो गुफा गुफा रहेन । भण्डारघर बनेको थियो । एउटा कोठामा अर्नाको मासु । अर्कोमा हरिणका छाला । तेस्रोमा जंगली भैँसीका हड्डी । चौथोमा सुकाएर राखिएका शिकारका भाग । तर यी सबै सेरुले आफैँ खानका लागि जम्मा गरेको थिएन ।
उसले आफ्ना विश्वासपात्र सिंहहरूलाई भन्यो—
"जंगलमा अभाव आउन सक्छ । त्यसैले सुरक्षित राख्नुपर्छ ।"
"कति सुरक्षित राख्ने ?" एक युवा सिंहले सोध्यो ।
सेरुले उत्तर दियो—
"जति सकिन्छ ।"
त्यो "जति सकिन्छ" को कुनै अन्त्य थिएन ।
बिस्तारै जंगलका विभिन्न ठाउँमा सेरुका भण्डारहरू बन्न थाले ।
एउटा नदीछेउ ।
एउटा पहाडमुनि ।
एउटा घना झाडीभित्र ।
एउटा पुरानो ओडारमा ।
सेरुले अब आफैँ शिकार गर्नुभन्दा अरू सिंहहरूलाई शिकार गर्न लगाउन थाल्यो । उसले हिस्सा तोक्थ्यो । कसले कति ल्याउने भन्ने निर्धारण गर्थ्यो । कुन शिकार कहाँ जाने भन्ने पनि उसैले तय गर्थ्यो । जंगलका स्रोतहरू विस्तारै एउटा सिंहको नियन्त्रणमा जान थाले । तर सेरुले यसलाई नियन्त्रण भनेन ।
उसले नाम दियो—
"व्यवस्था ।"
कसैले प्रश्न गर्यो—
"यी सबै किन ?"
सेरु मुस्कुरायो ।
"संगठनका लागि ।"
तर संगठनको भण्डार र व्यक्तिको भण्डारबीचको सीमा बिस्तारै हराउँदै थियो ।
उता शहरमा पनि एउटा यस्तै संसार निर्माण भइरहेको थियो । त्यहाँ गुफा थिएनन् । त्यहाँ पर्खाल थिए । ढोका थिए । कम्पनी थिए । खाता थिए । बिचौलिया थिए । सम्झौता थिए । र कागजमा सफा देखिने अनेक संरचनाहरू थिए ।
प्रधानमन्त्रीको वरिपरि अब एउटा अदृश्य सञ्जाल फैलिइसकेको थियो ।
एक ठाउँमा पैसा ।
अर्को ठाउँमा कम्पनी ।
अर्को ठाउँमा बिचौलिया ।
कुनै ठाउँमा नजिकको मानिस ।
कुनै ठाउँमा पुरानो सहयोगी ।
कुनै ठाउँमा नयाँ साझेदार ।
बाहिरबाट हेर्दा सबै अलग-अलग थिए । तर धागो एउटै केन्द्रतिर जोडिएको थियो ।
कुनै व्यवसायीले सरकारी काम पाउँथ्यो । उसले अर्को व्यवसायीलाई जोड्थ्यो । त्यसले अर्को कम्पनी खोल्थ्यो । कम्पनीले अर्को सम्झौता गर्थ्यो । अनि फेरि अर्को बाटोबाट पैसा फर्केर त्यही शक्ति केन्द्रको वरिपरि आइपुग्थ्यो । कागजमा सबै कानुनी जस्तो देखिन्थ्यो । व्यवहारमा सबैको उद्देश्य बुझ्न गाह्रो थिएन ।
एक पुरानो पत्रकारले आफ्ना सहकर्मीलाई भने—
"पहिले भ्रष्टाचारको फाइल हुन्थ्यो । अहिले भ्रष्टाचारको नेटवर्क छ ।"
सहकर्मीले हाँस्दै सोध्यो—
"फरक के हो ?"
पत्रकारले जवाफ दिए—
"फाइल खोजे भेटिन्छ । नेटवर्क खोज्न मानिस खोज्नुपर्छ ।"
सरकारले घोषणा गर्यो—
"पारदर्शिता बढाइनेछ ।"
त्यसको केही दिनपछि अर्को कम्पनी खोलियो ।
घोषणा भयो—
"भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता ।"
त्यसैबीच अर्को बिचौलिया शक्तिशाली बन्यो ।
घोषणा भयो—
"सार्वजनिक स्रोतको न्यायपूर्ण वितरण ।"
तर स्रोतहरू पुरानै घेरामा घुमिरहे ।
जनताले समाचार पढे । पहिले हाँसे । पछि रिसाए । अनि बिस्तारै प्रश्न गर्न थाले ।
जंगलमा पनि एउटा रोचक दृश्य थियो । सिंहहरूको समूहमा शिकार बाँड्ने दिन आयो । सबैले आफ्नो हिस्सा पाए । तर सेरुको भण्डारमा जाने हिस्सा सबैभन्दा ठूलो थियो ।
एक युवा सिंहले साहस गरेर सोध्यो—
"सेरु, तिमीलाई यति धेरै किन ?"
सेरुले उत्तर दियो—
"म व्यवस्थापन गर्छु ।"
"तर व्यवस्थापनको हिस्सा यति ठूलो ?"
सेरुको अनुहार फेरियो ।
त्यही युवा सिंहलाई अर्को दिन शिकारको जिम्मेवारीबाट हटाइयो । अब जंगलमा नयाँ नियम थियो । प्रश्न सोध्न पाइन्थ्यो । तर प्रश्नको परिणाम पनि भोग्नुपर्थ्यो ।
शहरमा पनि त्यस्तै ।
कसैले फाइल खोल्न खोज्यो । कसैले पुरानो कारोबार खोतल्यो । कसैले सम्पत्तिको स्रोतबारे प्रश्न उठायो ।
तर तुरुन्तै अर्को आवाज आयो—
"यो राजनीतिक पूर्वाग्रह हो ।"
"यो विकास रोक्ने षड्यन्त्र हो ।"
"यो नेताको चरित्रहत्या हो ।"
प्रश्न फेरि व्यक्ति विरुद्धको षड्यन्त्र बनाइयो । जवाफ भने कतै आएन । तर एउटा कुरा बदलिइसकेको थियो । पहिले मानिसहरू डराएर चुप लाग्थे । अब उनीहरू आपसमा कुरा गर्न थाले ।
चिया पसलमा ।
बसमा ।
बजारमा ।
विश्वविद्यालयमा ।
कार्यालयमा ।
गाउँको चौतारोमा ।
सबै ठाउँमा एउटै प्रश्न घुम्न थाल्यो—
"यति धेरै पैसा कहाँबाट आयो ?"
जंगलमा पनि जनावरहरूले सेरुको भण्डारबारे कुरा गर्न थाले ।
"हामीले शिकार गर्छौँ ।"
"हामीले जोखिम उठाउँछौँ ।"
"तर भण्डार कसको भरिन्छ ?"
एउटा स्यालले व्यङ्ग्य गर्दै भन्यो—
"जंगलमा सबैभन्दा खतरनाक जनावर त्यो रहेछ, जसलाई भोक लाग्दैन तर भण्डार बढाउन मन लाग्छ ।"
सबै हाँसे ।
तर त्यो हाँसोभित्र आक्रोश थियो ।
सेरु भने अझै आफ्नो भण्डार थपिरहेको थियो ।
उसले नयाँ गुफा बनायो । त्यसमा प्रवेश गर्न अर्को बाटो । त्यो बाटोबाट अर्को कोठा । त्यस कोठाभित्र अर्को कोठा ।
एक दिन उसकै नजिकको सिंहले सोध्यो—
"सेरु, यी सबै कहाँसम्म पुग्छ ?"
सेरुले भन्यो—
"मलाई पनि सबै थाहा छैन ।"
त्यो वाक्य सुन्दा सिंह केही बेर मौन भयो । किनकि अब भण्डार यति ठूलो भइसकेको थियो कि मालिकलाई पनि त्यसको पूरा हिसाब थिएन ।
शहरमा पनि अवस्था उस्तै थियो ।
कम्पनी कति ?
सम्पत्ति कति ?
कसको नाममा ?
कुन बिचौलियामार्फत ?
कुन सम्झौताबाट ?
कुन खाताबाट ?
कुन पहुँचले ?
हिसाब खोज्नेहरू आफैँ हिसाबमा हराउन थाले ।
तर लोभको साम्राज्यको एउटा कमजोरी हुन्छ । त्यसले धेरै चिन्ह छोड्छ । धेरै मानिस जोड्छ । धेरै गोप्य कुरा जन्माउँछ । र धेरै मानिसलाई असन्तुष्ट बनाउँछ ।
अब ती असन्तुष्ट मानिसहरू अलग-अलग थिएनन् । उनीहरूबीच कुराकानी हुन थालेको थियो ।
जंगलमा पनि ।
शहरमा पनि ।
वृद्ध सिंहले टाढाबाट सेरुको भण्डार हेरे ।
उनले बिस्तारै भने—
"पहिले सेरुले समूहलाई आफ्नो शक्तिको कारण सम्झिन्थ्यो ।"
"अहिले उसले समूहलाई आफ्नो भण्डारको कारण सम्झिरहेको छ ।"
एक युवा सिंहले सोध्यो—
"अब के हुन्छ ?"
वृद्ध सिंहले उत्तर दिए—
"जब पेट भरिएर पनि लोभ भरिँदैन, तब कुनै न कुनै दिन जंगलको पेटमा आगो लाग्छ ।"
उता शहरमा पनि जनताको धैर्यको सीमा नजिकिँदै थियो । सडकमा साना समूहहरू भेला हुन थाले । युवाहरू प्रश्न गर्न थाले । पुराना घटनाहरू फेरि उठ्न थाले । भ्रष्टाचारका पुराना आरोपहरू नयाँ आवाजमा सुनिन थाले ।
अझै आन्दोलन सुरु भएको थिएन । तर आन्दोलनको बीउ रोपिइसकेको थियो ।
सेरुलाई भने केही थाहा थिएन ।
ऊ नयाँ भण्डारको ढोका जाँच्दै थियो ।
प्रधानमन्त्रीलाई पनि सबै कुरा थाहा थिएन ।
उनी नयाँ शक्ति समीकरणको हिसाब गर्दै थिए ।
दुवैलाई लागिरहेको थियो—
"सबै कुरा नियन्त्रणमा छ ।"
तर बाहिर एउटा अर्को शक्ति जन्मिँदै थियो । जनताको धैर्य सकिँदै थियो ।
र इतिहासको सबैभन्दा ठूलो व्यङ्ग्य यही हो—
जसले आफूलाई सबै कुरा नियन्त्रणमा छ भन्ने ठान्छ, प्रायः त्यही बेला नियन्त्रण उसको हातबाट बिस्तारै फुत्किरहेको हुन्छ ।
जंगलको भण्डार भरिएको थियो । शहरका कोठा भरिएका थिए । तर जनताको मनमा एउटा खाली ठाउँ बढिरहेको थियो—
न्यायको ।
१९: जेन्जी आँधी
जंगलमा सबैभन्दा खतरनाक गर्जन सिंहको हुँदैन । कहिलेकाहीँ लामो समयसम्म दबाइएको मौनता अचानक गर्जनमा बदलिन्छ । सेरुले त्यो दिनको कल्पना गरेको थिएन ।
शहरमा पनि कसैले सोचेको थिएन—वर्षौँदेखि चुप बसेको नयाँ पुस्ता एक दिन सडकमा यसरी निस्कनेछ भनेर ।
तर असन्तोषको पनि एउटा मौसम हुन्छ ।
त्यो मौसम आइपुगेको थियो ।
सुरुमा केही युवा जनावरहरू मात्र जंगलको बीचमा भेला भए । उनीहरू सिंहको विरोधमा मात्र थिएनन् । उनीहरू एउटा यस्तो व्यवस्थाको विरोधमा थिए, जहाँ शिकार गर्ने धेरै थिए तर खाने अधिकार केहीको मात्र ।
एउटा युवाले चर्को स्वरमा भन्यो—
"जंगल सबैको हो !"
अर्कोले थप्यो—
"शिकारमा सबैको हिस्सा हुनुपर्छ !"
तेस्रोले भन्यो—
"भण्डारको हिसाब देखाऊ !"
त्यो आवाज सानो थियो । तर सानो आवाजको पनि एउटा विशेषता हुन्छ—
यदि त्यसमा धेरै मानिसको पीडा मिसियो भने त्यो चाँडै ठूलो हुन्छ ।
केही दिनमै जंगलका विभिन्न भागबाट जनावरहरू आउन थाले ।
हरिण आए ।
अर्ना आए ।
बाँदर आए ।
चराहरू आए ।
सानातिना जीवहरू पनि आए ।
सबैको गुनासो एउटै थिएन । तर असन्तोषको केन्द्र एउटै थियो—
"जंगल कसैको निजी भण्डार होइन ।"
उता शहरमा पनि दृश्य बदलियो । सडकहरूमा युवाहरू निस्किए ।
हातमा प्लेकार्ड ।
मुखमा नारा ।
मोबाइलमा प्रत्यक्ष प्रसारण ।
सामाजिक सञ्जालमा भ्रष्टाचारका पुराना काण्डहरू फेरि चर्चामा ।
पुराना फाइलहरू ।
पुराना भाषणहरू ।
पुराना वाचा ।
र ती वाचासँग मेल नखाने नयाँ सम्पत्तिहरू ।
एक नारा चारैतिर फैलियो—
"हिसाब देऊ !"
"भ्रष्टउचार छोड् !"
सुरुमा सत्ताको प्रतिक्रिया हल्का थियो ।
"यो केही युवाको असन्तुष्टि हो ।"
"दुई–चार दिनमा शान्त हुन्छ ।"
"विपक्षीले उचालेको विषय हो ।"
सत्ताका दरबारका चाप्लुसहरूले पनि त्यही बताए ।
"महामहिम, चिन्ता गर्नुपर्ने केही छैन ।"
"जनता नेतृत्वसँग खुसी छन् ।"
"सडकमा देखिएका मानिसहरू धेरै होइनन् ।"
तर सडक गन्ने काम भाषणले गर्दैन । सडक आफैँ बोल्छ ।
तेस्रो दिन भीड बढ्यो ।
सातौँ दिन अझ बढ्यो ।
दशौँ दिन शहरका मुख्य सडकहरू भरिए ।
अब यो केवल एउटा पुस्ताको आन्दोलन रहेन । पुराना असन्तुष्टहरू पनि जोडिन थाले । पीडितहरू जोडिए । बेरोजगारहरू जोडिए । मुख्यतः भ्रष्टाचारबाट दिक्क भएकाहरू जोडिए । र वर्षौँदेखि मौन बसेका मानिसहरूले पनि आफ्नो आवाज भेट्टाए ।
उता जंगलमा पनि जनावरहरूको संख्या बढ्दै गयो । अर्नाहरूको ठूलो समूह अगाडि आयो । हरिणहरूले समर्थन गरे । बाँदरहरूले जंगलभरि खबर फैलाए । चराहरूले आकाशबाट आन्दोलनको दृश्य हेरेर समाचार पुर्याए ।
सेरु आफ्नो गुफाबाट बाहिर निस्कियो ।
उसले पहिलोपटक आफ्नै भण्डारतिर शंकाको आँखाले हे¥यो । "कसले कुरा फैलायो?" उसले सोध्यो ।
एक चाप्लुस सिंहले भन्यो—
"केही असन्तुष्ट जनावर हुन् ।"
"तर उनीहरूलाई मेरो भण्डारबारे कसरी थाहा भयो ?"
चाप्लुससँग उत्तर थिएन ।
सेरुले आफ्नो सबैभन्दा विश्वासिलो सिंहलाई बोलायो ।
"भण्डार सुरक्षित छ ?"
"छ ।"
"सबै ?"
"सबै ।"
"कसैलाई थाहा छैन ?"
सिंह केही बेर मौन रह्यो । त्यही मौनतासँग सेरु डरायो ।
उसले तुरुन्त एउटा अर्को गुफा खोज्यो । केही सामान सार्ने आदेश दियो। केही पुराना चिन्ह मेटाउन लगायो । केही हड्डी जंगलको अर्को भागमा फाल्न लगायो । तर अब ढिलो भइसकेको थियो ।
जंगलमा एउटा बाँदर चिच्यायो—
"सेरुको भण्डार त्यहाँ मात्र छैन !"
अर्कोले भन्यो—
"यहाँ पनि छ !"
तेस्रोले भन्यो—
"त्यहाँ पनि छ !"
जनावरहरू अचम्ममा परे ।
सेरुको एउटा भण्डार होइन ।
भण्डारमाथि भण्डार ।
शहरमा पनि यस्तै खबरहरू आउन थाले ।
एउटा कम्पनी ।
त्यससँग जोडिएको अर्को कम्पनी ।
त्यसको पछाडि अर्को साझेदार ।
अनि अर्को बिचौलिया ।
जनताले प्रश्न गर्न थाले—
"यो सबै संयोग हो ?"
सत्ताले भन्यो—
"सबै कानुनी प्रक्रिया हो ।"
जनताले फेरि सोधे—
"कानुनी भए हिसाब देखाऊ ।"
त्यसपछि मौनता । मौनता कहिलेकाहीँ उत्तरभन्दा ठूलो प्रमाणजस्तो देखिन्छ ।
आन्दोलन अझ चर्कियो । नारा अब केवल भ्रष्टाचारविरुद्ध थिएनन् ।
अब प्रश्न थियो—
"कसले राज्यलाई निजी सम्पत्तिजस्तो चलायो ?"
नेताको साम्राज्य हल्लिन थाल्यो । वरिपरिका मानिसहरू बिस्तारै टाढिन थाले । हिजोसम्म "नेतृत्व अमर छ" भन्नेहरू आज मोबाइल बन्द गर्न थाले । हिजोसम्म ढोकामा घण्टौँ कुरेर बस्नेहरू आज अर्को शक्तिशाली मानिस खोज्न थाले ।
राजनीतिक चाकडीको पनि मौसम हुन्छ ।
शक्ति घटेपछि चाकडीको दिशा बदलिन्छ ।
उता सेरु पनि बुझिसकेको थियो—
अब जंगलमा बसिरहनु सुरक्षित छैन ।
एक रात उसले आफ्नो सबैभन्दा नजिकको सिंहलाई बोलायो ।
"म केही समयका लागि जंगलको अर्को भागमा जान्छु ।"
सिंहले सोध्यो—
"भाग्ने ?"
सेरु झर्कियो ।
"भागेको होइन । रणनीतिक स्थानान्तरण ।"
जंगलको भाषामा त्यसलाई भाग्नु भनिन्थ्यो ।
रातको अँध्यारोमा सेरु आफ्नो पुरानो गुफा छोडेर निस्कियो । कुनै समय उसको गर्जनले जंगल थर्किन्थ्यो । आज ऊ आफैँ आफ्नो पाइलाको आवाजसँग डराइरहेको थियो ।
शहरमा पनि नेताका समर्थकहरूले भने—
"नेता केही समयका लागि बाहिर जानुभएको हो ।"
जनताले हाँस्दै भने—
"कहाँ ?"
जवाफ आएन ।
आन्दोलनले एउटा ठूलो सफलता हासिल गरेको जस्तो देखियो । भ्रष्टाचार मुख्य एजेन्डा बन्यो । पुराना शक्ति केन्द्रहरू डराउन थाले । ठूला नेताहरूको नाम सार्वजनिक बहसमा आउन थाले ।
किनकि आन्दोलन जति ठूलो भयो, त्यति नै त्यसको भित्रका आवाजहरू पनि फरक देखिन थाले ।
एक समूहले भन्यो—
"सबै भ्रष्टलाई कारबाही गर्नुपर्छ ।"
अर्को समूहले भन्यो—
"पहिले पुराना नेताहरूलाई ।"
तेस्रोले भन्यो—
"जनतालाई मन नपर्ने सबैलाई हटाउनुपर्छ ।"
कसैले न्यायको कुरा गर्यो ।
कसैले बदला ।
कसैले सुधा र।
कसैले सत्ता ।
आन्दोलनको सुरुवाती एउटै आवाजभित्र धेरै आवाज जन्मिन थाले ।
जंगलमा पनि त्यस्तै भयो ।
अर्नाले भन्यो—
"सेरुको भण्डार सबै बाँड्नुपर्छ ।"
हरिणले भन्यो—
"पहिले हिसाब गर्नुपर्छ ।"
बाँदरले भन्यो—
"पहिले नयाँ नेतृत्व चाहिन्छ ।"
स्यालले चुपचाप भन्यो—
"नेतृत्व कसको ?"
सबैभन्दा ठूलो विडम्बना यही थियो।
सेरुको विरुद्ध एकजुट भएका जनावरहरू अब सेरु गएपछि जंगल कसरी चलाउने ? भन्ने प्रश्नमा विभाजित हुन थाले ।
शहरमा पनि प्रश्न उठ्यो—
भ्रष्टाचारविरुद्ध आन्दोलन सफल भएपछि त्यसपछि के ?
कसले शासन गर्ने ?
कुन नियम बनाउने ?
कसलाई कारबाही गर्ने ?
कसलाई बचाउने ?
आन्दोलनको ऊर्जा अझै ठूलो थियो ।
तर दिशा विस्तारै अस्पष्ट हुन थालेको थियो ।
एक वृद्ध नागरिकले भीड हेर्दै भने—
"आँधीले पुरानो रूख ढाल्न सक्छ ।"
"तर आँधीपछि नयाँ जंगल कसरी बनाउने भन्ने कुरा आँधीले सिकाउँदैन ।"
त्यो कुरा कसैले खासै सुनेन । किनकि भीडलाई त्यसबेला विजयको उत्साह थियो । उता सेरु अँध्यारो जंगलको एउटा अपरिचित कुनामा लुकेर बसेको थियो । उसको भण्डारको केही भाग जफत भइसकेको थियो । उसले जम्मा गरेको सम्पत्तिको केही हिस्सा अरूको हातमा पुगिसकेको थियो। उसको पुरानो प्रभाव भत्किएको थियो । तर ऊ समाप्त भएको थिएन ।
शहरमा पनि नेताको साम्राज्य हल्लिएको थियो । तर उसको संगठन पूर्ण रूपमा समाप्त भएको थिएन । पुराना सम्बन्धहरू जीवित थिए । पुराना कार्यकर्ताहरू अझै थिए । पुराना संरचनाहरू अझै थिए ।
आन्दोलनले साम्राज्य हल्लाएको थियो ।
तर जरासम्म उखेलेको थिएन ।
ठूलो परिवर्तनको नारा लगाउने आन्दोलनले पुरानो सिंहलाई भगायो; तर सिंहको गुफा खाली भएपछि त्यसमा बस्ने लोभ भने धेरैको आँखामा देखिन थाल्यो ।
जेन्जी आँधी अझै चलिरहेको थियो ।
तर आँधीभित्रै अर्को कथा जन्मिइरहेको थियो ।
भ्रष्टाचारविरुद्ध उठेको आन्दोलनले साँच्चै ठूला भ्रष्टहरूलाई न्यायको कठघरामा पुर्याउला ?
कि फेरि साना र कमजोरहरूकै घरमा यसको डण्डा पुग्ला ?
यसको उत्तर अझै बाँकी थियो ।
भाग २०: फेरि उही जंगल
आँधी आउँदा जंगलको रूप बदलिन्छ । ठूला रूखहरू हल्लिन्छन् । पुराना हाँगाहरू भाँचिन्छन् । धुलो आकाशसम्म पुग्छ । केही गुँडहरू भत्किन्छन् । केही बाटाहरू बन्द हुन्छन् । तर आँधी रोकिएपछि जंगल फेरि शान्त देखिन थाल्छ । शान्ति फर्किएको जस्तो देखिन्छ । तर शान्त जंगल सधैँ बदलिएको जंगल हुँदैन ।
कहिलेकाहीँ आँधीले केवल पात झार्छ ।
जराहरू भने जस्ताको तस्तै रहन्छन् ।
जेन्जी आँधी पनि विस्तारै मत्थर हुन थाल्यो । पहिले सडकमा दिनरात सुनिने नाराहरू कम हुँदै गए । भीड घट्न थाल्यो । प्लाकार्डहरू सडकका कुनामा थन्किन थाले । सामाजिक सञ्जालमा केही समयअघिसम्म आगोझैँ फैलिएका नाराहरूको ठाउँमा नयाँ विषयहरूले लिन थाले ।
सुरुमा मानिसहरूलाई लाग्यो—
"अब परिवर्तन हुन्छ ।"
पछि उनीहरूले सोधे—
"कहिले हुन्छ ?"
अनि केही समयपछि प्रश्न नै गर्न छोडे ।
आन्दोलनका अगुवाहरूबीच पनि मतभेद बढ्दै गयो । कसैले सत्ता परिवर्तनलाई उपलब्धि माने । कसैले भ्रष्टाचारविरुद्ध कानुनी कारबाहीलाई मुख्य मुद्दा बनाए । कसैले पुराना दलहरू समाप्त हुनुपर्ने बताए । कसैले नयाँ दल खोल्ने तयारी गरे ।
हिजोसम्म एउटै मञ्चमा उभिएका मानिसहरू अब छुट्टाछुट्टै मञ्च बनाउन थाले ।
हिजोसम्म एउटै नारा लगाउनेहरू अब एकअर्काको नियतमा प्रश्न गर्न थाले ।
एक वृद्ध नागरिकले सडकको छेउमा बसेर त्यो दृश्य हेरिरहेका थिए ।
उनले नजिकैको युवालाई सोधे—
"आन्दोलन सकियो ?"
युवाले भन्यो—
"सकिएको होइन, परिवर्तन भइरहेको छ ।"
वृद्ध मुस्कुराए ।
"परिवर्तन कहाँ भइरहेको छ ?"
युवाले उत्तर दिन सकेन ।
"के पर्वर्तन तिम्रो दैलोमा यो ?"
त्यसमा पनि ऊ मौन भयो ।
उता ठूला भ्रष्ट पात्रहरूको अवस्था पनि बिस्तारै बदलिन थाल्यो । केही फाइल हराए । केही फाइलको गति सुस्त भयो । केही मुद्दामा नयाँ कानुनी व्याख्या आयो, जेन्जी आन्दोलनमा पुराना(भ्रष्टाचारका फाइल) डकुमेन्ट खरानी भएको रहेछ । केही मानिस विदेश पुगे । केही बिरामी परे । केहीले आफूलाई निर्दोष साबित गर्ने प्रमाण जुटाए ।
हिजो सडकमा जसको नाम चर्को स्वरमा लिइन्थ्यो, उनीहरू बिस्तारै फेरि सार्वजनिक जीवनमा देखिन थाले ।
कसैले अन्तर्वार्ता दिए ।
कसैले विज्ञप्ति निकाले ।
कसैले भने—
"ममाथि राजनीतिक प्रतिशोध भएको थियो ।"
जनताले टेलिभिजनमा हेरे । केहीले टाउको हल्लाए । केहीले रिसाए । केहीले हाँसे ।
अनि केहीले भने—
"फेरि सुरु भएछ ।"
जंगलमा पनि त्यही भइरहेको थियो । सेरु लामो समयदेखि लुकेर बसेको थियो । उसको पुरानो भण्डारको ठूलो हिस्सा जफत भइसकेको थियो । उसको प्रभाव घटेको थियो । उसको नाम सुन्दा पहिले डराउनेहरू अब उसको बारेमा खुलेर कुरा गर्न थालेका थिए ।
तर एउटा कुरा भने उसले गहिरोसँग बुझिसकेको थियो—
एक्लो सिंह धेरै टाढासम्म बाँच्न सक्दैन ।
उसले आफ्नो पुरानो समूह सम्झियो ।
ती सिंहहरू, जसलाई उसले कहिल्यै आफ्नो बराबर मानेको थिएन ।
ती वृद्ध सिंह, जसले पटक–पटक चेतावनी दिएका थिए ।
ती युवा सिंह, जसलाई उसले अपमान गरेको थियो ।
एक साँझ सेरु फेरि त्यही पुरानो बाटोतिर लाग्यो । यसपटक ऊ लुक्दै थिएन । तर पहिलेझैँ गर्जँदै पनि थिएन ।
समूहले उसलाई देख्यो ।
सबै चुप भए ।
सेरुले टाउको झुकायो ।
"म फेरि फर्कन चाहन्छु । त्यसैले त म आफ्नो देश सम्झी आएको ।"
एक युवा सिंहले तुरुन्तै भन्यो—
"किन ?"
सेरुले केही क्षण सोच्यो ।
"किनकि मैले बुझें—संगठनबिना मेरो शक्ति अधुरो रहेछ ।"
वृद्ध सिंहले टाढाबाट हेर्दै भने—
"अनि यसपटक ?"
सेरुले जवाफ दियो—
"यसपटक म एक्लै शिकार गर्ने छैन ।"
सबै चुप रहे ।
वृद्ध सिंहले अर्को प्रश्न गरे—
"भण्डा र?"
सेरुको अनुहार केही क्षण कठोर भयो ।
त्यसपछि उसले भन्यो—
"जति बाँकी छ, त्यसको हिसाब दिन्छु ।"
"मान्छेको जस्तै जेन्जी आन्दोलनले डढायो भने भने नि ?"
समूहमा फेरि मौनता छायो ।
माफी माग्नु एउटा कुरा थियो ।
विश्वास पुनः निर्माण गर्नु अर्को ।
तर अन्ततः सिंहहरूले उसलाई फेरि स्वीकार गरे । पूर्ण विश्वासका साथ होइन । तर सुधारको सम्भावनाका साथ ।
उता राजनीतिमा पनि पुरानो संगठन बिस्तारै पुनर्गठित हुँदै थियो । प्रधानमन्त्रीले पुराना नेताहरूलाई बोलाए । टाढिएका कार्यकर्ताहरूलाई फर्काए । असन्तुष्ट समूहसँग सम्झौता गरे । कतिपय आलोचकलाई फेरि जिम्मेवारी दिए ।
कुनै समय निष्कासन गरिएका मानिसहरू फेरि बैठकमा देखिन थाले ।
कुनै समय विरोध गरेका मानिसहरू फेरि एउटै मञ्चमा उभिन थाले ।
बाहिरबाट हेर्दा यो एकता थियो ।
भित्रबाट हेर्दा यो राजनीतिक आवश्यकता पनि थियो ।
एक पुरानो कार्यकर्ताले आफ्नो साथीलाई सोध्यो—
"नेता साँच्चै बदलिनुभयो होला ?"
साथीले भन्यो—
"थाहा छैन ।"
"अनि हामी किन फर्कियौँ ?"
उसले हाँस्दै भन्यो—
"हामी पनि त बदलिएका छैनौँ नि । हामीलाई पनि संगठन चाहिएको छ, जङ्गलको शेरुलाई जस्तै ।"
सत्ता व्यक्तिलाई मात्र आवश्यक हुँदैन ।
संगठनलाई पनि व्यक्ति आवश्यक हुन्छ ।
र दुवै एकअर्कालाई आवश्यक पर्ने अवस्थामा पुगेपछि सम्झौताको राजनीति जन्मिन्छ ।
केही समयपछि सेरु फेरि समूहको अगाडि हिँड्न थाल्यो ।
पहिलेभन्दा शान्त । तर फेरि प्रभावशाली ।
उसको शरीरमा पुरानो चोटका दाग थिए । तर गर्जन भने फर्किएको थियो ।
एक बिहान उसले ठूलो चट्टानमाथि चढेर गर्जियो ।
"गर्ज्ज्ज्ज !"
जंगल फेरि थर्कियो ।
अर्नाहरूले टाउको उठाए ।
हरिणहरू केही क्षण रोकिए ।
बाँदरहरू रूखमाथि चढे ।
चराहरू आकाशमा उडे ।
युवा सिंहहरूले उत्साहित हुँदै भने—
"सेरु फर्कियो !"
जंगलमा फेरि पुरानै चर्चा सुरु भयो ।
"सिंह बलियो भयो ।"
"संगठन फेरि एक भयो ।"
"अब जंगल सुरक्षित हुन्छ ।"
तर त्यसमा समर्थन असमर्थन पटक्कै थिएन ।
तर एउटा बूढो सिंह चुपचाप मुस्कुराइरहेको थियो ।
उसको छेउमा बसेको युवा सिंहले सोध्यो—
"किन हाँस्नुभएको ?"
वृद्ध सिंहले सेरुलाई हेरे ।
केही बेर मौन बसे ।
अनि भने—
"राजा होइन, केवल गर्जने शैली फेरिएको हो ।"
"मान्छेले भन्छ नि बातल नयाँ रक्सी पुरानै ।"
युवा सिंहले अचम्म मान्दै सोध्यो—
"त्यसो भए केही पनि बदलिएको छैन ?"
वृद्ध सिंहले टाउको हल्लाए ।
"बदलिएको छ ।"
"के ?"
"जनावरहरू पहिलेभन्दा धेरै सचेत भएका छन् ।"
"अनि सेरु ?"
वृद्ध सिंहले लामो सास फेरे ।
"त्योचाहिँ समयले बताउँछ ।"
दूरबाट फेरि सेरुको गर्जन सुनियो । यसपटक केही जनावरहरू डराए । केहीले ताली बजाए । केहीले बेवास्ता गरे । तर धेरैले एकअर्कालाई हेरे ।
उनीहरूको आँखामा एउटा प्रश्न थियो—
"यसपटक साँच्चै केही फरक होला ?"
शहरमा पनि नयाँ सरकार, नयाँ गठबन्धन, नयाँ भाषण र नयाँ घोषणाहरू सुरु भए । पुराना अनुहारहरू फेरि मञ्चमा देखिन थाले । पुराना नाराहरू नयाँ शब्दमा सुनिन थाले । पुराना सम्बन्धहरू नयाँ सम्झौतामा बाँधिन थाले ।
नेताले एउटा विशाल सभामा भाषण गरे—
"अब नयाँ सुरुवात हुनेछ !"
भीडले ताली बजायो ।
तर भीडको पछाडिबाट एउटा वृद्ध कार्यकर्ताले बिस्तारै भन्यो—
"नयाँ सुरुवात ?"
उसको साथीले सोध्यो—
"के भयो ?"
वृद्धले मुस्कुराउँदै भने—
"हामीले यो वाक्य धेरैपटक सुनिसकेका छौँ ...ती वृद्ध पात्र, वृद्ध जनावर जसको त्याग तपस्या ठूलो छ, तर सधैँ साधारण सदस्य !!! सधैँ दयनीय अवस्था !!!...
योभन्दा ठूलो ब्यङ्ग्य के होला ?
सेरु फेरि चट्टानमाथि उभियो ।
उसले आकाशतिर मुख उठायो ।
र फेरि गर्जियो—
"गर्ज्ज्ज्ज !"
जंगल काँप्यो ।
सबै जनावर केही क्षण चुप भए ।
अनि बूढो सिंहले बिस्तारै मुस्कुराउँदै भन्यो—
"राजा बदलियो कि ?"
छेउको जवान सिंहले उत्साहित हुँदै भन्यो—
"बदलियो होला !"
बूढो सिंहले टाउको हल्लायो ।
"राजा होइन बाबु... केवल गर्जने शैली फेरिएको हो ।"
र जंगल फेरि शान्त भयो ।
तर त्यो शान्तिभित्र एउटा नयाँ प्रश्न जन्मिइसकेको थियो—
"अब अर्को पटक गर्जने सिंह आउँदा, के हामी फेरि डराउनेछौँ... कि यसपटक जंगल नै बदल्नेछौँ ?"