19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हाइनान प्रान्तका नरिवल र हरिणको सहरतिरको यात्रा

नियात्रा प्रमाण अधिकारी August 13, 2026, 6:44 pm
प्रमाण अधिकारी
प्रमाण अधिकारी

चीनको दक्षिणतम प्रान्त हाइनान हो । राजधानी बेइजिङबाट करिब दुई हजार आठ सय किलोमिटर दूरीमा रहेको उक्त प्रान्तको राजधानी हाइखउ विभिन्न दृष्टिकोणले महत्त्वपूर्ण छ । सोही प्रान्तको अर्को आकर्षक गन्तव्य सहर, सान्या, हाइखउ सहरबाट करिब दुई सय सत्तरी किलोमिटर टाढा छ । यिनै दुई महत्त्वपूर्ण सहरहरूको भ्रमण गर्ने संयोगका सन्दर्भको वर्णनसँगै यी सहरहरूका बारे जानकारी र स्मरणीय क्षणहरू यस संस्मरणमा उल्लेख गर्ने जमर्को गरेको छु ।
म अध्ययनरत विश्वविद्यालयमा अध्ययन गर्दै गरेका विद्यार्थीहरू विभिन्न देशबाट फरकफरक छात्रवृत्तिका प्रकारअन्तर्गत बेइजिङ आएका छन् । म समाविष्ट रहेको प्रकारअन्तर्गतका विद्यार्थीहरूलाई चीन सरकारले विश्वविद्यालयसँगको समन्वयमा प्रत्येक छ महिनामा एकपटक चीनको कुनै ठाउँको शैक्षिक अवलोकन भ्रमणार्थ लैजाने गर्दोरहेछ । यसपटकको भ्रमणमा धेरै विद्यार्थी अफ्रिका महादेशका देशहरू इथियोपिया, जिम्बाब्वे, लेसोथो, नाइजेरिया, लाइबेरिया, तान्जानिया, सियरा लियोन, नामिबिया, बोत्सवाना आदिबाट थिए भने केही एसियाका कम्बोडिया, म्यानमार, नेपाल, ओमान, इण्डोनेसिया, ताजिकिस्तान र अन्य महादेशका मुलुकहरूबाट थिए । यो अवलोकन भ्रमण चीनको सबैभन्दा दक्षिणमा रहेको प्रान्त हाइनानमा हुने कुरा भ्रमण सुरु हुनुभन्दा पाँच दिनअघि जानकारी भयो । २०८१ सालको भाइटीका (कात्तिक १८) का दिन बिहान तीन बजे विश्वविद्यालय भवन अगाडि दुईवटा ठूला बसमा करीब सत्तरीजना स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरू, विश्वविद्यालयका कर्मचारीहरू र प्राध्यापकको टोली बेइजिङस्थित क्यापिटल विमानस्थल जान तयारी अवस्थामा बस्यो । बेइजिङमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । बेइजिङ क्यापिटल र तासिङ अन्तर्राष्ट्रिय विमानस्थल । तासिङ अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङको केन्द्रभागबाट केही टाढा पर्छ । डेढ घण्टाजति यात्रा गर्नुपर्छ त्यहाँ पुग्नका लागि । करिब पौने घण्टाको बसयात्रापछि बेइजिङ क्यापिटल विमानस्थल पुगेर सबैले बेइजिङबाट हाइनान प्रान्तको राजधानी हाइखउ जाने आन्तरिक उडानका लागि आफ्नो सिट सुरक्षित गर्यौँ । बेइजिङलाई चीनियाँ भाषामा पेइचिङ भनेर उच्चारण गरिन्छ । पेइ भनेको उत्तर दिशा र चिङ भनेको राजधानी हो । पेइचिङ राजधानी हुनुपूर्व चीनको राजधानी नानचिङ थियो । नान भनेको दक्षिण हो । मिङ वंशको शासन (सन् १३६८ देखि १६४४) रहेका बेला नानचिङ चीनको राजधानी रहेको र सोही समयावधिभित्र, सन् १४२१, मा राजधानी सारिएको जानकारी हुन्छ । १४ वर्ष लगाएर, सन् १४०६ देखि, बेइजिङमा बनाइएको फरबिडन सिटी (निषेधित सहर) त्यसपछि करिब पाँच सय वर्षसम्म शासनको केन्द्रका रूपमा रहेको पनि जानकारी हुन्छ ।
एअर चाइनामा करिब चार घण्टाको उडानपछि विमान हाइखउ सहरको हाइखउ मेइलान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान एघार बजेतिर अवतरण भयो । दक्षिण चीन सागरमा अवस्थित हाइनान टापुको पूर्वोत्तर भागतिर विमानस्थल पर्दोरहेछ जुन टापुको माथिल्लो उत्तरी क्षेत्र पनि हो । विमानस्थल हाइनानको राजधानी हाइखउबाट २६ किलोमिटरजति टाढा पर्दोरहेछ । हाम्रो उक्त दिनको गन्तव्य हाइखउ नभई बोआओ हुँदै सान्या सहरसम्मको थियो । त्यसैले विमानस्थलबाट बाहिर निस्किएपछि आफ्ना तोकिएका बसमा हामी चढ्यौँ । दुवैवटा बसमा यात्रा अवधिभर वरपरका दृश्य र गन्तव्यबारे जानकारी दिइरहने काम हाइनान पुगेपछि विमानस्थलदेखि खटिएका भ्रमण प्रदर्शक (टुर गाइड) ले गर्ने जिम्मेवारी लिएबमोजिम बोआओसम्मको डेढ घण्टाको बसयात्राबारे सूचना गराएर थलयात्रा प्रारम्भ भयो । ११० किलोमिटरको यात्रा गरी हामी बोआओमा रहेको बोआओ फोरम फर एसियाको स्थायी कार्यक्रमस्थल रहेको क्षेत्र जाँदै थियौँ । यात्राको प्रारम्भसँगै हाइनानकै स्थानीय रहेकी अ्ह मेई, हाम्री पथप्रदर्शकले हाइनानको चिनारीसँगै पहिलो दिनको भ्रमण तालिकाबारे बताइन् । चिनिया भाषामा ‘हाइ’ भनेको समुन्द्र र ‘नान’ भनेको दक्षिण हो । हाइनान भनेको चाहिँ समुन्द्रको दक्षिणी भाग भन्ने हुँदो रहेछ । त्यसैगरी हाइनानको राजधानी हाइखउ भन्ने शब्दमा रहेको ‘खउ’ले मुख अथवा द्वार भन्ने अर्थ बुझाउँछ । त्यसैले समुन्द्रको प्रवेशद्वारका रूपमा रहेकाले यसलाई त्यस अर्थअनुसार नामकरण गरिएको जानकारी पाइयो ।
हाइनानको जनसंख्या एक करोड पाँच लाख जति रहेछ । करिब ६० प्रतिशत मानिस सहरी क्षेत्रमा बसोबास गर्दा रहेछन् । पथप्रदर्शक मेईका अनुसार यस प्रान्तका तीस लाख जति मान्छे संसारका २१ वटा देशमा अस्थायी रूपमा बसोबास गर्दै आइरहेका रहेछन् । बेइजिङमा बोलिने चीनियाँ भाषाको लवज र त्यहाँको लवज फरक रहेको पनि उनले केही उदाहरण दिएर यात्राका क्रममा बताइन् । बसमा यात्रा गर्ने क्रममै हामीले एउटा ठुलो नदी देख्यौँ । नान्तु नामको यस नदी हाइनान प्रान्तकै सबैभन्दा लामो नदी रहेछ । करिब ३३४ किमि लामो यस नदी हाइनान प्रान्तको मध्यभागतिरका पहाडहरूबाट उत्पन्न भएर उत्तरपूर्वतिर विभिन्न बस्ति र सहर छुँदै बहँदो रहेछ । हाइनानका करिब ३० प्रतिशत मानिसका लागि खानेपानी र दैनन्दिनीका लागि आवश्यक पानी आपूर्ति गर्ने, कृषिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने गरेका कारण यस नदीलाई ‘आमा नदी’ पनि भनिँदो रहेछ ।

बोआओ फोरम फर एसिया
सन् २००२ देखि प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको बोआओ फोरम फर एसियाको स्थापना सन् २००१ मा एसिया महादेशका देशहरूबीच, विशेष गरी सन् १९९७ को आर्थिक सङ्कटपश्चात्को परिस्थितिमा आर्थिक सहयोग सुदृढिकरण गरी सङ्कटको समाधान खोज्ने उद्देश्यका साथ गरिएको रहेछ । सन् १९९८ मा फिलिपिन्सका तत्कालीन राष्ट्रपति फिडेल भी. रामोस, अस्ट्रेलियाका प्रधानमन्त्री बव हक् र जापानका प्रधानमन्त्री मोरिहिरो होसोकावाको संयुक्त पहलमा यस मञ्चको स्थापना गरिएको जानकारी यस स्थल भ्रमणका दौरान प्राप्त गरियो । संसारका उच्च तहका राजनीतिक नेतृत्व, अर्थराजनीतिक विशेषज्ञहरू तथा व्यापारिक व्यक्तित्वहरूको सहभागिता रहने हुँदा विश्वतहमा एसियाको आवाज बुलन्द गर्न यस मञ्चले एउटा उच्चस्तरीय संवाद र सहकार्यको अवसर प्रदान गरिरहेको जानकारी दिएर यसको महत्ता पनि भ्रमणका क्रममा दर्शाइयो । यस मञ्चको वार्षिक सम्मेलन स्थायी रूपमा हाइनान प्रान्तको तोङ्यु टापुमा रहेको बोआओ नगरमा हुँदोरहेछ । यहाँ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, होटल तथा प्रदर्शनी स्थल रहेछन् । हामी पुगेको महिना सन् २०२५ को नोभेम्बर थियो । उक्त वर्षको वार्षिक सम्मेलन मार्च महिनाको २५ देखि २८ तारिखसम्म भएको रहेछ । उक्त सम्मेलनमा ‘बदलिँदो विश्वमा एसिया र साझा भविष्य’का विषयलाई मूल छलफलको सन्दर्भ बनाइएको पनि जानकारी भयो । अन्तर्राष्ट्रिय सँगसँगै थुप्रै आन्तरिक पर्यटकले निकै चासो दिएर उक्त स्थल र त्यहाँ रहेका संरचनाको भ्रमण गरेको देखियो । सम्मेलनको मुख्य सभाहलमा सामूहिक तस्वीर खिचाई वरपर रहेका प्रदर्शनी स्थल आदिको भ्रमण गरी हाम्रो टोली सान्या सहरतिर सोझियो ।

सान्यातिरको यात्रा
बोआओ नगरबाट करिब १८० किलोमिटरको दूरीमा रहेको सान्या सहर बाटामा विश्राम लिँदै बिस्तारै जाँदा साढे दुई घण्टा जतिमा पुगियो । सान्या सहर पुग्दा साँझको ७ बजिसकेको हुँदा अँध्यारो भइसकेको थियो । उक्त दिनको यात्राको अन्त्य गर्न सान्या सहरभित्र विश्रामस्थलतिरको यात्रा गर्दा बसबाट झिलिमिली बत्तिले सजिएका भवनहरू, पुलपुलेसा र बाटाघाटा देखिए । हामी बस्ने होटलतर्फ जाँदै गर्दा दाहिनेपट्टी रुखको आकारको संरचना भएका केही भवनहरू लस्करै देखिए । ती भवनहरू सान्या नदी र दक्षिण चीन सागरको बीच भागमा पर्दारहेछन् । हाम्री पथप्रदर्शक अ्ह मेईले ती भवनहरू होटल भएको जानकारी दिँदै ६ पटक विश्व सुन्दरी प्रतियोगिता आयोजना भएकाले यी भवन चर्चित पनि रहेको बताइन् । अङ्ग्रेजी नाम ‘विउटी क्राउन होटल’ रहेको यस होटलमा सन् २००३÷४÷५÷७÷१० र १४ गरी ६ पटक उक्त प्रतियोगिता आयोजना गरिएको रहेछ । यस होटलमा ९९९० वटा कोठा रहेको पनि उनले जानकारी दिइन् तथापि यो आधिकारिक तथ्यमा फरक पर्नसक्ला । होटलको चर्चा गर्दै पथप्रदर्शक मेईले सान्यामा एटलान्टिक सान्या नामको होटल रहेको पनि बताइन् जुन अत्यन्तै महँगो र त्यसका केही कोठा पानीमुनि रहेको जानकारी गराइन् । यी कोठाहरूमा बस्नेले कोठा बाहिर सार्क र अन्य थुप्रै माछा तथा सामुन्द्रीक जीव आफ्ना वरपर देख्न पाउने बताइन् । यी कोठाको भाडा पर्यटकीय मौसमका बेला एक रातको नेपाली १३ लाखदेखि चौबीस लाख रुपैयाँसम्म पर्ने पनि जानकारी भयो ।

सान्या सहर हाइनान प्रान्तको दक्षिणतम भागतिर पर्छ । हाइनान, हाइखउ आदिका नामकरण जस्तै सान्याको नामकरण पनि रोचक रहेछ । सान्या सहरको मध्यभागतिरका पहाडबाट रसाएको सान्या नदी करीब २९ किलोमिटर लामो रहेछ । त्यहाँबाट उत्पन्न भएर दक्षिण तटतिर बहने यो नदीलाई पनि हाइनानको नान्तु नदीलाई ‘आमा नदी’ भनेजस्तै, सान्याको ‘आमा नदी’ भनिँदो रहेछ । सान्या नदीको भङ्गालोका कारण सहरको दक्षिणी तटीय क्षेत्र तीनवटा चुच्चा परेका आकारमा रहेका छन् । चीनियाँ भाषामा नेपाली अङ्क ३ लाई ‘सान्’ भनिन्छ । काँटा, चुच्चो, हाँगा, शाखाजस्ता अर्थ ‘या’ ले जनाउँदो रहेछ । यसक्रमानुसार तीन शाखा वा चुच्चा आकारको अर्थमा यस सहरको नाम ‘सान्’ र ‘या’ मिलेर ‘सान्या’ बनेको रहेछ । यिनै केही जानकारी बटुल्दै अनि दृश्यावलोकन गर्दै सान्या नदीकै छेउमा रहेको एक होटलमा बास बसी पहिलो दिनको यात्राको थकान मारियो । नयाँ ठाउँमा पुगेपछि कम आराम गर्ने अनि सम्भव भएसम्म त्यहाँका बस्ती, बजार, उद्यान र वातावरणको अवलोकन गर्ने र मिले स्थानीयसँग बातचित गर्ने विचारबमोजिम सान्या नदी र बजारवरपर पैदल यात्रा गरी बाँकी दिनमा अझै धेरै जानकारी बटुल्ने निधो गरियो । तथापि चीनमा चीनियाँ भाषा खासै नजानिएको अवस्था र दोभाषे पनि लिएर हिँड्न नसकिने हुँदा स्थानीयसँग अन्तरक्रियाको अवसर भने खासै जुट्ने सम्भावना भने देखिएन ।

‘लि’ जातिको सुपारी उपत्यका
चीनमा ५६ जातीय समूह छन् जसमा हान जातिबाहेकका बाँकी ५५ जातजाति अल्पसङ्ख्यकका रूपमा रहेका छन् । चीनमा ९० प्रतिशत जति जनसंख्या ‘हान’ जातिको रहेको छ । थोरै जनसंख्या भएका जातिमा ३००० भन्दा कम रहेका ‘लोभा’ जाति छन् भने कममध्येका बढी रहेकामा १ करोड ६० लाखजति ‘चुआङ’ जाति छन् । चीनको मुख्यभूमिबाट करिब ३००० वर्ष पहिले हाइनान आइपुगेका ‘लि’ जातिका मानिसहरू र करिब ४०० वर्ष पहिले मिङ वंशको शासनका बेला आएका ‘मियाओ’ जातिका मानिसहरूको बसोबास रहेको क्षेत्र हाम्रो दोस्रो दिनको पहिलो गन्तव्य रह्यो । ‘लि’ जातिका मानिसहरू यहाँका प्रथम बासिन्दा मानिँदा रहेछन् । अहिले यस जातिका मानिसको जनसंख्या करिब १२ लाख ५० हजार रहेछ । चीन सरकारले पर्यटकीय गन्तव्यको महत्त्व, त्यस क्षेत्रको व्यवस्थापन र त्यहाँ उपलब्ध सुविधा आदिका आधारमा पर्यटकीय स्थानलाई वर्गीकरण गर्दोरहेछ । अङ्ग्रेजीको एउटा ‘ए’ देखि पाँचवटासम्म ‘ए’ भएका ठाउँहरू हुँदारहेछन् । हामी पुगेको ठाउँलाई ‘पिङ्लाङ्गु’ भनिँदो रहेछ जसको अर्थ सुपारीको उपत्यका हुँदोरहेछ । यो संरक्षित क्षेत्र ‘लि’ र ‘मियाओ’ जातिको जीवित सांस्कृतिक सङ्ग्रहालयका रूपमा चर्चित रहेछ ।

सान्या सहरबाट २८ किलोमिटर दुरीमा रहेको यस सङ्ग्रहालयमा हजारौँ सुपारीका बोट, हरियाली, शताब्दीयौँ पुराना घर, ग्रामीण संरचना, प्रत्यक्ष सांस्कृतिक प्रदर्शनीअन्तर्गत परम्परागत बुन्ने कला, धातुकला, माटाका भाँडा बनाउने कला र शरीरमा चित्र खोप्ने कला (अङ्ग्रेजीमा ट्याटू) तथा सीपको अवलोकन गर्ने अवसर मिल्यो । ‘लि’ जातिका मानिसले बिहे गर्ने सन्दर्भमा पछ्याउने प्रचलन चाखलाग्दो हुँदोरहेछ । गायन क्षमता र कला केटाकेटीले एकअर्कालाई मनपराउने सन्दर्भमा महत्त्वपूर्ण मानिँदो रहेछ यस जातिमा । गीत गाएर एकअर्कालाई मनपराएका खण्डमा उनीहरूले केही चिनो साटासाट गर्ने गर्दारहेछन् । केटाले आफ्नो पुरुषत्व प्रदर्शन गर्न केटीका परिवारलाई सुपारीका रुख छिटो र कुशलतापूर्वक चढेर देखाउनुपर्ने हुँदोरहेछ । छोरी १६ वर्षजतिकी भएपछि भान्साबिनाको घर भनेर चिनिने एउटा घुमाउरो शैलीको घर बनाइदिने चलन रहेछ । केटी उक्त घरमा बसेका बखत घरबाहिर ती कन्यालाई चाहने केटाले बाजा बजाएर अनि गाएर आफ्नो प्रेमाकर्षण जाहेर गर्नुपर्ने रहेछ । केटीलाई मनपरेका खण्डमा केटालाई गीतैमा उत्तर फर्काउने अन्यथा नफर्काउने चलन हुँदोरहेछ र सोही आधारमा बिहेसम्म पुग्ने यो प्रक्रिया अघि बढ्दो रहेछ । ‘लि’ र ‘मियाओ’ जातिका बीच सांस्कृतिक समानता धेरै रहेकाले पनि उनीहरू एकै ठाउँमा मिलेर बसेको जानकारी भयो । हाइनान टापुमा ‘लि’ जातिका मानिस डुङ्गाको प्रयोग गरी आएका र त्यहाँ पुगेलगत्तै बासस्थानका लागि तिनै डुङ्गा घोप्टो पारेर छानोका रूपमा प्रयोग गरेको जानकारी भयो । त्यसैको प्रमाणस्वरूप त्यहाँ देखिएका पुराना घरका छाना डुङ्गा आकारका देखिन्थे । हामी विद्यार्थीहरूले पनि कपडामा रङ्ग भर्ने, माटाका विभिन्न भाँडा र आकृति बनाउने क्रियाकलापमा प्रत्यक्ष सहभागी भएर महत्त्वपूर्ण सांस्कृतिक अनुभव सँगाल्ने अवसर प्राप्त गर्यौँ र त्यहाँबाट अगाडि बढ्यौँ ।

‘लि’ जाति र ‘मियाओ’ जातिको गाउँ घुमेपछि त्यहाँबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यानोदा वर्षावन सांस्कृतिक पर्यटकीय क्षेत्र भ्रमणका लागि पुगियो । यो पनि पाँचवटा ‘ए’ पाएको उच्चस्तरीय गन्तव्य रहेछ । अङ्ग्रेजी शब्द ‘रेनफरेस्ट’ लाई नेपालीमा ठ्याक्कै के भनिन्छ भन्ने मलाई जानकारी भएन । त्यसैले वर्षावन शब्दको प्रयोग गरेको छु । वर्षभरि १७०० देखि २००० मिलिमिटर वर्षा हुने घना वनक्षेत्रलाई वर्षावन भनिँदो रहेछ । उच्च आद्र्रता रहने र उष्ण मौसम हुने, अधिक जैविक विविधता हुने, घना वर्षा र वन, अग्ला रुखहरू यस किसिमका वनको विशेषता हुँदोरहेछ । अक्सिजन उत्पादनमा यस किसिमका वनको महत्त्वपूर्ण भूमिका हुनेरहेछ । औषधीय गुण भएका वनस्पतिको उपलब्धता र यस्ता वनक्षेत्रमा आदिबासीहरू पहिलेदेखि बसेका र जीविका चलाएका कुरा पनि यस भ्रमणका क्रममा बुझ्ने अवसर मिल्यो । यस संरक्षित क्षेत्रमा २० देखि ३० मिटर अग्ला बरका रुखहरू, शताब्दीदेखिका लहरायुक्त वनस्पति, चट्टानी पहाड, छहरा, केही संरक्षित वन्यजन्तुको अवलोकन गर्ने मौका मिल्यो ।

दोस्रो दिनको भ्रमणलाई बिट मार्नुअघि नेपाल, कम्बोडिया र ओमानका साथीहरूसँग राति सान्या सहरको स्थानीय बजार घुमियो । सान्यामा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूमध्ये करिब ४० प्रतिशत रसियाका नागरिक हुँदा रहेछन् । तसर्थ बजार घुम्दा अधिकांश रसियनहरू देखिँदा रहेछन् । त्यसपछि काजकस्तान र दक्षिण कोरियाका पर्यटक आउने गरेको जानकारी भयो । रसियाका नागरिकका लागि खुकुलो प्रवेशाज्ञा नीति, सिधा हवाई उडान आदिका कारण सन् २०२५ मा यिनीहरूको आगमन अघिल्लो वर्षका तुलनामा दोब्बरभन्दा बढी हुन पुगेको रहेछ । उनीहरू त्यहाँ पर्यटन र व्यापारका विभिन्न क्षेत्रमा लगानी र व्यवसाय गरेर स्थानीय अर्थतन्त्रमा संलग्न भएका पनि रहेछन् ।

शैक्षिक केन्द्र बन्ने पूर्वाधार
सान्या सहरलाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउनतर्फ पनि धेरै कामहरू भइसकेको हाम्रो तेस्रो दिनको पहिलो गन्तव्यबाट जानकारी भयो । सान्या सहरबाट ७० किलोमिटर जतिको दुरीमा १२.८ वर्ग किलोमिटर क्षेत्रफलमा विशाल शैक्षिक पूर्वाधारको विकास गरिएको रहेछ । लिआन प्रायद्वीपमा रहेको यो शैक्षिक क्षेत्र पुग्दा एउटा सानोतिनो सहरमा पुगेको अनुभूति हुँदो रहेछ । शैक्षिक भवनहरू, प्रशासनिक भवनहरू, सभाहलहरू, व्यायामशाला, प्रदर्शनी भवन, प्रयोगशाला, खेलकुद मैदान, रङ्गशाला, खाजा÷खानाघर आदिका कारण त्यसकिसिमको अनुभूति भएको हुनसक्छ । यहाँ चीनका चर्चित विश्वविद्यालयहरू तथा अन्तर्राष्ट्रका विभिन्न विश्वविद्यालय गरी २६ वटा संस्थाका शैक्षिक कार्यक्रम विभिन्न क्षेत्रसँग सम्बन्धित भएर अध्ययन, अध्यापन, अनुसन्धानका काम भइरहेको रहेछ । यसक्षेत्रलाई हाइनान लिङ्स्वे लिआन अन्तर्राष्ट्रिय शैक्षिक अन्वेषण विशेष (पाइलट) क्षेत्र भनिँदो रहेछ र यसले शैक्षिक क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने प्रचुर सम्भावना बोकेको रहेछ ।

सीमा टापुको सौन्दर्य
हाइनानको तटबाट दुई किलोमिटरजति पूर्वपट्टी फेरी डुङ्गामा यात्रा गरेर हाम्रो टोली पाँचवटा ‘ए’ प्राप्त ‘सीमा टापु’ (बाउन्ड्री आइल्याण्ड) पुग्यो । चीन भनेपछि हाइनान चर्चित अनि पर्यटकीय दृष्टिले सान्या झनै चर्चित रहेको कुरा हाम्रो भ्रमण सुरु हुनभन्दा पहिले त्यहाँ पुगिसकेका विश्वविद्यालयकै केही भाइबहिनीहरूले भनेका थिए । उनीहरू त करिब ३८ घण्टाको रेलयात्रा गरेर सान्या पुगेका रहेछन् । अधिक जाडो छल्न, उष्ण मौसम, सामुन्द्रीक छाल र तटीय क्षेत्रमा रमाउने उद्देश्यका साथ धेरै पर्यटक सान्या सहर आउने गरेको बुझियो । हान जाति र लि÷मियाओ जातिको सांस्कृतिक सीमाना क्षेत्र र दक्षिणी तथा उत्तरी भेगको उष्ण जलवायुमा हुने फरकपनाका कारण यसलाई बाउन्ड्री आइल्याण्ड भनिएको रहेछ । यसको प्रमाणस्वरूप टापुको एक भागमा पानी परिरहेका बेला अर्कापट्टी घाम लागिरहेको दृश्य देख्न पाइने रहेछ । समुन्द्रका पानीमा जलबिहार तथा खेलकुद र मनोरञ्जनका विविध गतिविधि पनि सञ्चालन हुँदारहेछन् । तटीय क्षेत्रमा पुग्दा भूपरिवेष्ठित हाम्रो देशजस्तै अन्य देशका साथीहरूले रमाइलो मानेर समुन्द्रको पानी छुने, तस्विर लिने आदि काम गरे । सुन्दरताका दृष्टिले मेरा नजरमा यहाँको समुन्द्र र तटीय क्षेत्र श्रीलङ्का, इण्डोनेसियाका भन्दा राम्रो लाग्यो; तर माल्दिभ्स र तुर्किएका क्षेत्रभन्दा चाहिँ कमै चित्ताकर्षक लाग्यो । हुनतः तुलना गरेर कुनै चिजको महत्ता बढाउने वा घटाउने विचार सभ्य होइन तर वस्तुगत हिसाबले हेर्दा मैले उक्त कुरा महसुस गरेँ । चीन सरकारले पर्यटकीय सम्भावना बोकेका ठाउँको विकास र प्रचारप्रसार गर्न कुनै कसर बाँकी राखी नछोडेको अनुभूति भयो । टापुको १०० मिटर उचाइमा रहेको उँचोभागमा पुगेर चिसो बतासको आनन्द लिँदै अनन्त दक्षिण चीन सागर अवलोकन गरियो, तस्विर लिइयो र शनैः शनैः ओरालो लाग्दै अर्को गन्तव्यका लागि फेरी डुङ्गा चढियो ।

हरिणको सहर हुँदै नरिवलको सहरसम्मको यात्रा
सान्या सहरको मुख्य भागतिरै रहेको ‘सोङचङ प्रदर्शन कला’ समूहले विविध सांस्कृतिक प्रस्तुति दिने निकै विशाल ‘सान्या प्रणय बाग’ (सान्या रोमान्टिक पार्क) को भ्रमण उक्त सहरमा हामीले अवलोकन गरेकामध्येको एक अविष्मरणीय र अत्यन्तै चित्ताकर्षक क्षण बन्न गयो मेरा लागि । उक्त विशाल सांस्कृतिक प्रदर्शनी स्थलमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक गतिविधि हुँदा रहेछन् । ती सबै प्रदर्शनीहरूमध्ये एक घण्टाको मुख्य प्रस्तुति हुँदोरहेछ जसलाई ‘रोमान्टिक शो’ भनिँदो रहेछ । हाइनान र सान्या सहरको इतिहास र संस्कृतिको प्रस्तुति सङ्गीत, नृत्य, नाटक, शारीरिक व्यायाम र कसरतकला (एक्रोव्याट) साथै विशेष प्रविधि प्रयोग गरी पानी पार्ने, हावा चलाउने किसिमका विधिबाट एक किसिमको जीवन्त प्रस्तुति त्यहाँ गरिँदो रहेछ । प्रकाश, ध्वनि र प्रविधिको उच्चतम प्रयोग गरी मञ्चमा एकैछिनमा पानी भरिएर समुन्द्रमा डुङ्गा हिँडेका दृश्य, छाल आएको अवस्था, खोला बगेका, डाँडाकाँडा, हरियाली, आगलागी, रणमैदान, दरबार आदिजस्ता दृश्यको संयोजन केही सेकेण्डमै भएको देख्दा जोकोही आश्चर्यचकित हुँदोरहेछ । दर्शकदीर्घाबाटै हठात् पात्रहरूको प्रवेश, दर्शकका टाउकामाथि जलपरीका नृत्य दर्शकलाई छक्क पार्ने खालका हुँदारहेछन् । कतिखेर के प्रदर्शन हुने हो, कसरी हुने हो, को कताबाट आउने हुन् र मञ्चको दृश्य के हुने हो भन्ने कौतुहलताले दर्शकलाई चनाखो सँगसँगै एकाग्र र ध्यानमग्न बनाउने रहेछ । माथि ‘लि’ जाति कसरी हाइनान आए भन्ने प्रसङ्ग चर्चा गरेजस्तै त्यसको जीवन्त प्रस्तुति त्यहाँ गरिँदो रहेछ । सान्यालाई हरिणको सहरको रूपमा किन चिनिन्छ भन्ने सन्दर्भको किंवदन्ती र सम्बन्धित प्रस्तुति यहाँ चर्चा गर्नैपर्ने हुन्छ । ‘उजि’ पर्वततिरका ‘लि’ जातिको एक सिकारीले एउटा अत्यन्त सुन्दर हरिण देखेछ र सिकारका लागि पछ्याउन थालेछ । पछ्याउने क्रममा हरिणलाई लखेट्दै जाँदा ९९ वटा डाँडा र ९९ वटा खोला नौ दिन नौ रातमा पार भएछन् । यो लखेट्दै जाने क्रम एउटा डाँडोको डिलनेर पुगेपछि रोकिएछ जसको तल दक्षिण चीन सागर रहेछ । भाग्ने ठाउँ कतै नदेखेपछि हरिण रोकिएछ र फर्किएर सिकारीलाई हेरेछ । सिकारीले वाँण हान्नै लागेका बेला आगो र धुँवा उत्पन्न भएछ र उक्त हरिण एक सुन्दर युवतीमा परिणत भएछ । उक्त युवतीले ती सिकारी सामु उनलाई उसकोे व्यक्तित्व र चरित्र धेरै मन परेर प्रेममा परेका कारण उसका सामु आएको बताइछ । तत्पश्चात् उनीहरूले एकअर्कालाई मनपराएका, प्रेममा बाँधिएर सँगै बस्न थालेको कथा सान्यालाई हरिणको सहरको रूपमा चिनिने सन्दर्भमा भनिने कथा रहेछ । यो घटना भएको थलोलाई ‘लु हुइ थोउ’ भनिँदो रहेछ जसको अर्थ जहाँबाट हरिणले फर्केर हेर्यो भन्ने हुँदोरहेछ । यसप्रकार सान्या सहर ‘हरिणको सहर’ का रूपमा चिनिएको रहेछ ।

यात्राको चौथो रात सान्या सहरमै बास बसी कात्तिक २२ गतेका दिन अन्तरिक्ष प्रविधिमा चीनले मारेको फड्कोबारे जानकारी लिन सान्यादेखि हाइनानको उत्तरपूर्वी तटीय क्षेत्र नजिक पर्ने २०० किलोमिटर दुरीमा रहेको ‘वेनछन् एरोस्पेस सुपरकम्प्युटिङ सेन्टर’मा पुगियो । यस केन्द्रमा छिर्ने बित्तिकै सिलिण्डर आकारको २० मिटर अग्लो पर्दा (स्क्रिन) मा अन्तरिक्षयान प्रक्षेपणको प्रक्रिया र अन्तरिक्षमा पुगेपछिको अवस्था देखाइँदोरहेछ । तत्पश्चात् सो केन्द्रका कर्मचारीले उक्त केन्द्रको परिचय र कामबारे जानकारी दिँदै अवलोकनकर्तालाई विभिन्न ठाउँ डुलाउने रहेछन् । मङ्गल ग्रह र चन्द्रमाबाट ल्याइएका ससाना टुक्रा वा पिण्ड र विभिन्न उल्कापिण्डका टुक्राहरू पनि त्यहाँ प्रदर्शनीमा राखिएको रहेछ । चीनमा रहेका चारवटा अन्तरिक्षयान प्रक्षेपण केन्द्रमध्येको यो ठाउँ एक रहेछ । सुपरकम्प्युटिङ सेन्टर, अन्तरिक्षयान प्रक्षेपण केन्द्र आदि विशाल क्षेत्रमा फैलिएका हुने हुँदा हामी पुगेको ठाउँबाट दशदेखि पन्ध्र किलोमिटरको दुरीमा अन्तरिक्षयान प्रक्षेपण केन्द्र रहेको जानकारी पाइयो । ठुला आकार र वजनका अन्तरिक्षयान प्रक्षेपण गर्न हाइनानको अन्तरिक्षयान प्रक्षेपण केन्द्र प्रयोग हुँदो रहेछ । अन्तरिक्षयान चीनको उत्तरपूर्वी भागमा रहेको थियान्चिन सहरबाट पानी जहाजका माध्यमबाट हाइनान ल्याइँदोरहेछ, करिब ३३०० किलोमिटरको यात्रा तय गरेर । उक्त केन्द्रमा ‘चिलिन कृत्रिम उपग्रह सञ्जाल’ का बारे पनि जानकारी राखिएको रहेछ । यसअन्तर्गत सन् २०१५ को अक्टोवर ७ तारिखका दिन चारवटा कृत्रिम उपग्रह (स्याटेलाइट) अन्तरिक्षमा पठाइएको रहेछ । हालसम्म ११७ वटा कृत्रिम उपग्रह सक्रिय रहेको यस सञ्जालबाट पृथ्वीको कुनै एक निश्चित बिन्दुको एकदिनमा ४० पटकसम्म तस्विर लिन सकिने रहेछ । यस सञ्जालका कुनै कृत्रिम उपग्रहले त एकपटकमा पृथ्वीको सतहको १५० किलोमिटर लामो क्षेत्रफलको तस्विर लिएर पृथ्वीमा पठाउने क्षमता राख्दारहेछन् । अन्तरिक्षबाट कृत्रिम उपग्रहमार्फत् आउने सूचना ग्रहण गर्ने, प्रशोधन गर्ने, सङ्ग्रह गर्नेलगायतका विशाल स्मरण क्षमता चाहिने काम गर्न सक्षम सुसाङ्ख्य भएकाले यी कम्प्युटर विशेष हुँदा रहेछन् । साधारण १५ लाख वटा कम्प्युटरहरूले एकपटकमा गर्नसक्ने कार्यक्षमता बराबर एउटा सुपर कम्प्युटरको रहने जानकारी पाउँदा पनि अनौठो मानियो ।

नरिवलको महिमा
चीनमा वर्षमा करिब २२ करोड नरिवल उत्पादन हुँदा रहेछन् । ती नरिवलमध्ये हाइनान प्रान्तका मात्र ९९ प्रतिशत हुँदा रहेछन् । नरिवलको कुल आन्तरिक उत्पादन मागको १० प्रतिशतमात्र हुन आउने हुँदा नपुग् नरिवल थाइल्याण्ड, भियतनामलगायतका दक्षिणपूर्वी मुलुकहरूबाट आयात गरिँदो रहेछ । हाइनानको राजधानी हाइखउमा मात्र नरिवलका एक लाख तीस हजार बोट् रहेको पनि जानकारी बटुलियो । करिब दुई खर्ब चीनियाँ युआन नरिवलसँग सम्बन्धित उद्योगमा लगानी भएको र यसले करिब २० लाख जनालाई रोजगारी दिएको अर्को तथ्याङ्क पनि भेटियो । खानेकुरादेखि पिउने कुरासम्म, सजावटका सामानदेखि निमार्ण सामग्रीसम्म र हुँदाहुँदा जैविक इन्धनसम्म गरी यसको ३६० थरीको प्रयोग भइरहेको र यसो गर्दा नरिवलका कुनै भाग र तत्त्व खेर नजाने हुँदा यसलाई त्यहाँका स्थानीयले ‘एकै थोकमा हजार कुरा’ भनेर पनि नरिवलको बखान गर्ने गर्दारहेछन् । नरिवलको यति महत्त्व बुझेर स्थानीय सरकारले पहिले ड्रागन सहरका रूपमा चिनिने सहरलाई सन् १९८७ देखि नरिवलको सहरका रूपमा आधिकारिता पनि प्रदान गरेको रहेछ । अन्तरिक्षयान प्रक्षेपणकेन्द्रबाट दशदेखिपन्ध्र मिनेटको दूरीमा रहेको ‘छुआनगुआन कोकोनट किङडम’ को भ्रमणले नरिवलको महत्त्व र हाइनानमा यससँग सम्बन्धित गतिविधि, नरिवल उत्पादनको इतिहासबारे बुझ्ने अवसर मिल्यो । खुला उद्योगका रूपमा रहेको यस प्रशोधन केन्द्र तथा सङ्ग्रहालयमा ठुलाठुला सिसाका झ्यालबाट भित्रपट्टी रहेका विशाल यन्त्रहरू, नरिवलको प्रशोधन, तयार हुँदै गरेका विभिन्न खाद्य सामग्री तथा पेय पदार्थ र बजार पठाउन ठिक्क पारिएका सामग्रीहरू अवलोकन गर्न पाइँदोरहेछ । हाइनानमा प्राचीन कालदेखि गरिएको नरिवलको प्रयोग, यसको प्रशोधन गर्ने प्रविधि, प्रशोधन गर्न प्रयोग गरिने यन्त्र आदिको इतिहासबारे जानकारी दिने व्यवस्था पनि त्यहाँ मिलाइएको रहेछ । उद्योग र सङ्ग्रहालय घुमिसकेपछि अन्त्यमा तिनै नरिवलबाट बनेका विविध सामग्री बेच्न राखिएको रहेछ । नरिवलबाट बनेका चकलेट, क्यान्डी, दूध, पानी आदि गरी सयौँ थरीका सामान त्यहाँ राखिएका थिए । उत्पादनदेखि बजारसम्म एकै ठाउँमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा पनि यसबाट सिक्ने अवसर मिलेको थियो ।

यात्राको पाँचौ दिनको अन्त्य गर्नुअघि कम्बोडिया, ओमान, ताजिकिस्तान र नेपालका सहयात्री साथीहरू हाइनानकै राजधानी हाइखउमा रहेको ‘छिलोउ पुरानो गल्ली÷बाटो’ जाने योजनाका साथ बास बस्ने होटलमा पुगेपछि बाटामा पाइने भाडाका साइकल चढेर त्यता लाग्यौँ । हामीलाई सो ठाउँ घुमाउने तालिका नरहेको जानकारी पाएका तर उक्त ठाउँ बसबाट निकै सुन्दर देखिएका कारण यो ठाउँ चाहिँ जानैपर्छ भनेर सल्लाह गरी हिँडिएको थियो । समुन्द्री किनारमा रहेका कारण व्यापार सँगसँगै जलपारवाहनको प्रचुर सम्भावना रहेको हाइनानमा दोस्रो अफिम युद्धमा छिङ शासनको पराजयपछि सन् १८५८ मा भएको थियान्चिन सन्धिले वैदेशिक व्यापारका लागि त्यहाँका धेरै नाका खुलेको रहेछ । यस सँगसँगै बसाइसराइको क्रम पनि ह्वात्तै बढेको रहेछ । त्यस समय हाइनानका मानिस सिङ्गापुर र पेनाङ श्रम, व्यापार र व्यवसायका लागि जाने गरेका रहेछन् । हाइखउ व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएपछि दक्षिणपूर्वी एसियाका देशहरूमा व्यापार, व्यवसायबाट राम्रो धनार्जन गरेका चीनियाँ नागरिकहरूले हाइखउमा आएर पनि व्यापार गर्न थालेपछि परदेशमा देखेका र मनपरेका भवनका संरचना बनाइएको रहेछ । हाइखउमा पानी परिरहने भएकाले भुइँतलाका छाना बाहिरसम्म निकालेर बनाइएको रहेछ जसका कारण ग्राहकलाई पसलहरू जान सहज हुने र व्यापारमा खासै असर नपर्ने भएर त्यस्तो संरचना बनाइएको भन्ने बुझियो । त्यसैगरी बजार घुम्ने क्रममा सुगन्धी र सिसौका काठको माग धेरै रहेको पनि जानकारी भयो । हाइनानको उत्पादनले नपुगेर अफ्रिकी मुलुक माडागास्करबाट समेत यी काठ आयात गरिँदा रहेछन् । यो ऐतिहासिक क्षेत्रमा रहेका भवनहरूमध्ये ७० प्रतिशत भवन दक्षिणपूर्वी देशहरूबाट फर्केका नागरिकहरूले बनाएका भन्ने कुराको पनि जानकारी भयो ।

हाइनान अहिले पर्यटनको केन्द्रमात्र भएको छैन, व्यापार र व्यवसायको केन्द्र पनि बनेको र यो भविष्यमा विश्वस्तरको हुने दौडमा रहेछ । हाइनानलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी र खुला अर्थतन्त्रको रूपमा विकास गरिँदै रहेछ । हाइनान फ्रि ट्रेड पोर्टबाट संसारका ४४ वटा व्यापार केन्द्र र नाकासँग सहकार्य गरेर साथै २२० भन्दा बढी देश र क्षेत्रीय सङ्गठनहरूसँग व्यापार सम्झौता गर्दै यसलाई विश्वस्तरको व्यापारिक क्षेत्र बनाइँदै गरेको जानकारी भयो । यहाँ उच्च–प्रविधि उत्पादन गर्ने उद्योगहरू, आधुनिक यन्त्र उत्पादन गर्ने उद्योग सँगसँगै आधुनिक सेवा क्षेत्रका उद्योग (विमान मर्मतसम्भार, स्वास्थ्य सेवा, ड्युटी फ्रि बिक्री, वाणिज्य सेवा, पारवाहन, शिक्षा आदि) पर्यटन र कृषिले तीव्र आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका रहेछन् ।

अनुसन्धानका क्षेत्रमा पनि लगानी र राज्यले त्यसलाई प्रबद्र्धन गर्ने गरेको हाइनान भ्रमणको अन्तिम दिनको पहिलो गन्तव्य हाइनान हुआलोन औषधी कम्पनी लिमिटेडमा पुगेर बुझ्ने अवसर मिल्यो । हाइनान फ्रि ट्रेड पोर्टबाट कच्चापदार्थ ल्याउँदा कुनै भन्सार शुल्क नलाग्ने र औषधी उत्पादन भइसकेपछि चीनभित्रकै बजारमा लैजाँदा कुनै कर नलाग्ने व्यवस्थाका कारण उद्योगका प्रतिनिधि निकै उत्साहित देखिन्थे । भ्रमणका क्रममा उनीहरूले औषधी उत्पादनको दायरा बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने योजना रहेको औपचारिक कार्यक्रमको प्रस्तुतिका क्रममा बताए ।

भ्रमणको छैठौँ दिन, कात्तिक २३ गते शुक्रबार, हाइनान प्रान्तको भ्रमण टुङ्ग्याएर बेइजिङ फर्कनुअघि समग्र हाइनानकै इतिहास हेर्ने, बुझ्ने र हामी भ्रमणका क्रममा पुगेका स्थानको विस्तृत जानकारी पाइने गन्तव्य ‘हाइनान प्रान्तीय सङ्ग्रहालय’ पुगियो । यो सङ्ग्रहालय सन् १९८४ मा स्थापना भएको रहेछ । राष्ट्रिय प्रथम श्रेणी स्तरको यस सङ्ग्रहालयले चारवटा ‘ए’ पाएको रहेछ । यस सङ्ग्रहालयमा हाइनानका सामुन्द्रीक यात्रा, व्यापार, विकास, शासन, सुगन्धित काठ आदि अनेकौँ विधाका इतिहास विस्तृतमा राखिएका भेटिए । आधुनिक प्रविधिको संयोजनले सङ्ग्रहालयलाई निकै व्यवस्थित बनाइएको पनि पाइयो । यस सङ्ग्रहालयका सबै कुरा महत्त्वपूर्ण भएकाले यो संस्मरणमा धेरै जानकारी साझा गर्न सकिएन । तथापि यो भ्रमणले चीनले ऐतिहासिक, सांस्कृतिक पक्षको संरक्षण गर्दै आर्थिक, सामाजिक विकासका लागि अपनाएका खाका र बसालेका थिति र व्यवस्थाले अहिलेको समृद्धि सम्भव भएको महसुुस गरायो । हाइनान एउटा उच्च सम्भावना बोकेको प्रान्त रहेको आभाष दिलायो । आर्थिक, शैक्षिक, पर्यटकीयमात्र नभई सामरिक र भू–राजनीतिक हिसाबले पनि महत्त्वपूर्ण रहेको ज्ञान दिलायो । यिनै अनुभव सँगाल्दै पुनः बेइजिङतर्फको यात्रा गर्दै मध्यराततिर विश्वविद्यालयको छात्राबास पुगेर झोला र थकान बिसाइयो ।

रामघाट, पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।