हामी २०७५ सालको चैत्र महिनाको अन्तिम साता इङ्गलैण्डको
राजधानी लण्डन पुगेका थियौँ । २०७६ सालको नयाँ वर्षको शुभ बिहानीको आनन्द त्यहीँ लिएका थियौँ । फर्कदा दुवई, अवुधावीको अर्थात् खाडी मुलुकमा भएको अभूतपूर्व विकास निर्माणको फड्कोलाई हेरेर फर्केका थियौँ । त्यसपछि भने विश्वव्यापी कोरोनाको महामारीले गर्दा कतै जाने अवसर पाइएन । डुलुवा मन कोठाको चौघेरामै सीमित भयो । २०७९ सालको दशैँ, तिहारले छोप्न लागेको समय, त्यही समयको सदुपयोग गर्दै थाइलैण्ड, सिङ्गापुर र मलेसियाको भ्रमण गरौँ भन्ने साहिली छोरी डा. सेनीको प्रस्तावलाई सहर्ष स्वीकार नगर्ने कुरै थिएन । उनी तीन वर्ष लगातार वनेपास्थित आँखा अस्पतालमा काम गरेर भैँसेपाटी स्थित मेडिसिटी अस्पतालमा स्थानान्तर हुँदै थिइन् । काममा खट्न थालेपछि फेरि फुर्सद नमिल्ने उनको पेसालाई बुझिदिनुपर्ने हाम्रो बाध्यता पनि छँदै थियो । सरसल्लाह गर्दागर्दै एकहप्ता चिप्लियो ।
थाइलैण्ड जान १५ दिन अगावै अनलाइन फारम भिसाका लागि भर्नु पर्ने रहेछ । समयमा नभरेका कारण हामीले त्यो देशको भिसा पाएनौँ । सिङ्गापुरका लागि भिसा आवश्यक नपर्ने । मलेसियाको भिसा ट्रावल एजेन्सीले मिलाए । भाद्र २१ गते छ सेप्टेम्बर २०२२ को अपरान्ह सवा तीन बजे हामीले घर छाड्यौँ । यात्राका निम्ति जेठी छोरी रोजमेली, साहिली डा. सेनी र हामी बाबु– आमा । चारजना । हामी उमेरले डाँडा काटेका बूढाबूढी । छोरीहरूलाई सानै देख्ने आमाको बानी । अर्को बुझक्की अभिभावक विनाको यात्रामा कतै धोका खाइने पो हो कि भन्ने बूढीआमाको चिन्ता । अहिलेको प्रविधि बुझी सकेका र अन्य देशको यात्राको अनुभव सँगाली सकेका छोरीहरूको साथले आफू भने ढुक्क ।
त्रिभुवन विमान घाटको विदेशी कक्ष । सधैँ आउने जानेहरूको भीडभाड भैरहने । साढे तीन बजे नै हाम्रा डकुमेन्टहरू हेर्दै अध्यागमनका हँसिला र रसिला कर्मचारीले भने, “दशैँमा पो सिङ्गापुर जानुपथ्र्यो अगाडि नै हतार गर्नु भएछ ।” हामीले आफ्नो यात्राको बाध्यताबारे खुलेर उनीसँग कुरा ग¥यौँ । उनको बाहिरी रूप कृष्णमूर्तिजस्तै देखिए पनि खुला हृदयका रहेछन् । फटाफट कम्प्युटरमा हाम्रो पासपोर्ट स्क्यानिङ गर्दै जाने अनुमति थिए । खोप कार्ड चाहिँ खोज्दा नै रहेछन् ।
पाँच बजे विस्तरा नामको विमानभित्र चढ्यौँ । चढ्ने ढोकामै हाते ब्यागहरूको चेक गर्ने प्रहरी तैनाथ । ती ब्यागहरू अगाडि पनि चेक भएकै हुन् । विमानको अगाडिको कक्ष–बिजनेस कक्ष तर पूरै खाली । मैले दुई लहरका सिटहरू गनेँ । एउटै लहरमा ४५ पु¥याएँ । प्रायः तीन सिटको एउटा लहर । छोरी र आमा एकै ठाउँमा । म भने अर्कोपट्टि एकजना धेरै हिँडेजस्ता अनुभवी यात्रीको साथमा । उनी त्यति नबोल्ने मानिस रहेछन् । एउटा सिट खाली ।
साँझमा बालिएका बत्तीहरूको झिलिमिलीको दृश्यावलोकन काठमाण्डूको । त्यसपछि भने कुइरोभित्र हरायो – हाम्रो विमान । यात्रीहरू आफ्ना अगाडिको कम्प्युटरको स्व्रिmनमा फिल्म, गीत तथा यात्राको मार्गबारे जानकारी लिँदै रमाउन थाले । धेरै उचाइमा उड्ने विमान तलका दृश्यहरू नदेखिने । हवाईमार्गको दूरी १५० माइल देखाउँदै थियो कम्प्युटर । हामी दिल्ली जाँदै थियौँ । कम्प्युटरमा पोखरा, वागलुङ, धनगढीको छेउछाउ हुँदै हामी भारत पस्तै थियौँ । दिल्ली नजिकिदै जाँदा वन–जङ्गलको सुन्दर दृश्यले हाम्रो चारकोसे झाडीलाई सम्झाउँदै थियो । त्यो जङ्गलभित्र बनाइएका आधुनिक ठूल–ठूला घरहरूले मनलाई लोभ्याउँदै थिए । यस्तो वातावरणमा बाँच्न पाउनेहरू साँच्चै भाग्यमानी हुँदा हुन् । एयरपोर्ट नजिकिदै जाँदा विमान ओर्लदै थियो । झिलिमिली सडकमा बत्ती बालेर हुइँकिँदै गुडिरहेका दोहोरोलत्ती गाडीहरूको घुइँचोको दृश्यले आँखा रमाउँदै थिए । एक घण्टा २४ मिनेटको समय पूरा गरेर हाम्रो विमान इन्दिरागान्धी विमानस्थलको धावन मार्गमा थचक्क थेचारियो । हामीले ढुक्कको सास फे¥यौँ । विस्ताराका चार–पाँच ओटा अरू विमानहरू भएकै ठाउँमा हामी ओर्लियौँ ।
विमानस्थलका कर्मचारीहरू अर्को कनेक्ट फ्लाइटका लागि ढोकैमा यात्रीहरूलाई बोलाउँदै थिए । उनीहरूले अमेरिका, लण्डन तथा सिङ्गापुर जाने यात्रीहरूलाई वर्गीकरण गर्दै भिन्न भिन्न स्थलमा राखे अनि हिँड्न निर्देशन दिए । स्वचालित तेर्सा बाटामा चलिरहेका लिफ्टहरू – यता १० वटाभन्दा बढी लिफ्टहरूमा हामी चिप्लिदै हिँडिरह्यौँ । हाते ब्यागभन्दा अरू सामान नभएकाले तेर्सो बाटामा हिँड्न सजिलै भयो । हाम्रो खुट्टाहरू गले पनि मन गलेको थिएन । हिँड्नेहरूमा अरू नेपालीहरू पनि थिए । चार जना केटीहरूको एउटा ग्रुप अर्को लाहुरेजस्ता बूढाबूढी र उनका छोरीहरू । एक–
डेढ कि.मि.कै दूरी पार गरियो । बल्ल प्रहरीको चेक गर्ने ठाउँमा आइपुगियो । आराम गरेर सुत्न पनि सकिने खाटे–कुर्सीमा एकछिन सुतियो पनि । तुरुन्तै उडानमा लाग्ने उर्दी । डकुमेन्ट देखाएपछि पुलिसको कडा चेक । सबै सामान खोतल–खातल पार्ने इन्डियन काइदा ।
बङ्गलादेशबाट साउदी अरब जाने एकै उमेरका केटाहरू एकै किसिमका ड्रेसमा देखिए । नेपालीहरू जसरी कामको खोजीमा जान्छन् त्यसरी नै बङ्गालीहरू पनि जाँदा रहेछन् । एउटै कम्पनीमा काम पाएका छौँ भन्थे । रमाएर कुरा गरे । बोर्डिङ कार्ड स्क्यानिङ गरेपछि फ्री वाइफाइको सुविधा रहेछ । हामीले पनि फटाफट स्क्यानिङ ग¥यौँ । विमानस्थलको भित्री भाग पनि कलाकारिताले सिङ्गारिएको – म्युजियमको झझल्को आउने । जताततै झिलिमिली बत्तीमा पसलै पसल । भनाइ ड्युटी फ्री शप । हामी लिफ्टबाट माथिल्लो तला उक्लियौँ । अझ माथिल्लो तलमा खाने होटल देखियो । त्यहीँ तन्दुरी रोटी र पनिरको तरकारी अर्डर ग¥यौँ । होटलभन्दा तल मानव सागर नै उर्लिएको जस्तो भीडभाड देखिन्थ्यो । रमाउँदै दृश्य मात्र हेरेनौँ फोनबाट विराटनगरमा बस्ने छोरी नातिनीलाई समेत यहाँको दृश्य देखाउन सक्यौँ । उनीहरू हामीसँग यात्रामा सामेल हुन नपाएकोमा चुकचुकाउँदै थिए । तन्दुरी रोटी डढेका, छानेर खानु प¥यो । खाना सकेर ओर्लियौँ । छ नं. गेट खोज्दै हिँडिरह्यौँ । त्यहाँ पुग्दा कोही पनि आइपुगेका रहेनछन् । अनुभवीहरू कता सुत्ने सिट पाइन्छ उतै गए होलान् । कर्मचारीको आउने टायम भएकै छैन । उता बैङ्कक लण्डन र दोहा जाने यात्रीहरूको खोजी गर्दै कराउँदै गरेका कर्मचारीहरू । हामी भनेँ खाली कुर्सीमा मोवायल चार्जमा राखेर उङ्दै बसिरह्यौँ । केही अनुभवी यात्रीहरू पसलबाट कफी, पाउरोटी जस्ता खानेकुराहरू किनेर एक्लै खाँदै गरेको पनि देखियो ।
मेरी श्रीमती सिङ्गापुर जाने यो ठाउँ होइन कि ? भनेर हड्बडाउँदै थिइन् । कम्प्युटरको स्व्रिmनले त्यही हो भनेर देखाएको थियो । एउटा कर्मचारी जस्तो मान्छेले विस्ताराका कर्मचारीहरू ११ बजे मात्र यहाँ आउने बताएका थिए । पर्खदा–पर्खदा १० बजेतिर लाहुरेजस्ता मान्छे र उनको परिवार आइपुगे । चार केटीहरू त बेपत्ता । नभन्दै ११ बजे काउण्टर खुल्यो । विमानमा पसेपछि हाम्रै पछाडि केटीहरूको ग्रुप आइपुगे । १२ बजे विस्ताराको विमानले आकाशमा कावा खायो । साढे पाँच घण्टाको उडान अवधि । झन्डै ८०० कि.मि. को हवाई मार्ग । सुत्नेहरू सुते । कोही गीतमा रमाए, कोही टि.भि. हेर्न थाले । मभनेँ हवाई मार्गको चित्र र कहाँनेर हाम्रो विमान रहेको छ, त्यसको अवस्थिति हेर्दै घरिघरि आँखा चिम्लेर निदाएको स्वाङ पार्दै थिएँ । विमान लखनउ, राँची, भुवनेश्वर हुँदै बङ्गालको खाडीभित्र पस्यो । मौसम खराब रहेकाले पेटी बाँधी रहन र हलचल नगर्न बेला–बेलामा माइकिङ्ग भै रहेथ्यो । समुद्रमा रातमा हावाको चाप बढी हुन्छ क्यारे ! त्यसैले जहाज धेरै हल्लियो । चाकाचुली खेले झैँ हल्लिँदा अनि जहाजकै बत्ती पनि बिजुलीजस्तै चम्किएको देखिँदा मन नै भरङ्ग हुने । बिहानको झिसमिसेमा भने फुकेट, जर्ज टाउन, क्वालालम्पुरको मधुरो दृश्य देखिदै थियो । सिङ्गापुर आउन लाग्दा टापु, समुद्र र समुद्रभरिनै भरिएका साना–तिना जहाजहरूको दृश्यले अब यात्रा नजिकिदै गरेको अनुभूति भैरहेको थियो ।
घर छाडेको दोस्रो दिन बिहानको सवा आठमा सिङ्गापुरको चाङ्गी विमानस्थलमा हाम्रो जहाज ओर्लियो । हामी विमानबाट ओर्लिएपछि ठूल–ठूला तीन वटा सिङ्गापुर एयर लाइन्सका जहाजहरू उड्न लागेका रहेछन् । जहाजबाट उत्रेपछि हामीलाई लिएर जाने बसले बाटो कुर्नु प¥यो । यो विमानस्थलको भित्री भागको सौन्दर्यको बखान धेरै सुनिएको थियो । पानीको फोहोरा, बगैँचा, कलात्मक सजाइएका मूर्ति र सपहरूको बयान सुने पनि बाहिरिने भाग त्यति आकर्षक थिएन । रुखका पोथ्रा, सफा सडकको बयानै नगरौँ । यो हरियाली शहरको रङ्ग र दङ्ग नै अर्को । अध्यागमन सबै कम्प्युटर सिस्टममा । छापसम्म प्रयोग गरेको देखिएन । उभ्भिनलाई लाइन व्रmस गर्न नहुने । कडा ड्युटीका सिपाही–खबरदारी गर्न आइपुगि हाल्ने । हामी पार भयौँ ।
सामान लियौँ । ट्रावलका कर्मचारी लिन आइपुगे । उनैले १० बजे इन्डियन वस्ती नजिकै रहेको ‘लिटल इन्डिया’ कै ‘अक्वीन हेरिटेज’ भन्ने होटलमा छाडी दिए । होटलमा आइ पुगे पनि कोठा खाली नभएकोले सामान राखेर खाना खाने ठाउँतिर जान कर्मचारीको आग्रह ।
होटलमै यसो हात–मुख धोएर बिहानको खानाको खोजीमा हामी चारैजना हिँड्यौँ ।
०००
सिङ्गापुरको पैदल तथा सुरुङ मार्गको यात्रा
एशियाको दक्षिण पूर्वमा रहेको यो देश भनौँ शहर सिङ्गापुर । भूमध्यरेखीय क्षेत्रभित्रै रहेको । केही माथिबाट यो रेखा गएको छ । त्यसैले प्रायः गर्मी हुने, मौसम परिवर्तन नहुने, पानी परिरहने टापुको देश । ७२८.६ कि.मि. फैलिएको भूभाग । लगभग ६० लाखकै हाराहारी जनसङ्ख्या । व्यापार र पर्यटन आय–आर्जनको बाटो । मले, तमिल, अङ्ग्रेजी र मान्दरिन सरकारी कामकाजको भाषा । पश्चिममा बङ्गालको खाडी, पूर्वमा चिनियाँ सागर । तीनतिर पानी नै पानी एकातिरको भूभाग मलेसियासँग जोडिएको । यति सानो देशले केही दशकमै विकासको फड्को कसरी मा¥यो ? हामीलाई होटलमा पु¥याउने ड्राइभर इन्डियन मूलका
थिए, उनका हजुरबुबा नै यहाँ आएका रे । उनका अनुसार विकासको मूल मन्त्र कडा अनुशासन भन्दैथे । शहरमा जताततै सि.सी. क्यामरा । चुरोटको ठूटो सडकमा फाले ३०० डलर जरिवाना हुन्छ रे । चुरोट पनि जहाँ पायो त्यहाँ खान पाइन्न । तोकिएको स्थलमा मात्र खान पाइन्छ रे । सडकमा धुलो कतै छैन । सडक किनारमा हरियाली रुख । रुखका पातमा पनि धुलो देखिदैन । यसो हुनुमा दिनको एकपटक पानी पर्ने कुराले पनि हुनसक्छ । चोरीको डर २४ घण्टा नै हुँदैन । आफ्नो झोला सडकमा छाडे पनि कसैले उठाउँदैन । उठाए प्रहरीको फन्दामा परिहाल्छ । सडकमा गुड्ने गाडी दस वर्षभन्दा पुराना छैनन् । गुडाउन पाइँदैन । सबै गाडी इलेक्ट्रिक । इन्धनवाला चलाउन पाइँदैन । हाम्रा नेताहरू हाम्रो देशलाई सिङ्गापुर बनाउने सपना बाँड्छन् । प्रकृतिले त हामीलाई पनि साथ दिएकै छ । तर हाम्रो खै अनुशासन ? प्रकृतिको दोहन गर्न र भ्रष्टलाई साथ दिएर आफ्नै भुँडी भर्न मात्र जान्ने । जनता सधैँ निरीह । गरिबीलाई उखेल्ने खै योजना ? पर्यटनको विकासमा यो देशले गरेको कामको सिको गर्ने हो भने करोडौँ पर्यटकको केन्द्र बन्ने सम्भावना छ – हाम्रो देश ।
दक्षिण भारतीयहरूको बस्तीभित्र सडकको रमझम हेर्दै बिहानको खानाको खोजीमा पैदल हिँड्दैछौँ । सडककै किनारमा कुर्सी बेन्चीमा खाइरहेका मान्छेहरू देख्छौँ तर त्यहाँ बसेर खान मन पराएनौँ । ‘कोमला भिल्ला’ शाकाहारी होटलको साइनबोर्ड देख्यौँ । लाइनमा मान्छेहरू उभिएर पालो पर्खिरहेका थिए । भित्र तल÷माथि टेवल खाली भएपछि बोलाएर लाँदा रहेछन् । टेवल पनि मान्छे गनेर लाने, पाउन मुस्किल । बल्लबल्ल पालो पाइयो । खाना मीठो तर पिरो । अर्डर गरे जति खान पनि सकिएन । केराको पातमा विभिन्न खाले भेराइटी सजाएर ल्याएको । आधा खानेकुरा फालियो । हामीसँग अमेरिकी डलर मात्र थियो । खाना खाइसकेपछि भुक्तानी गर्न जाँदा सिङ्गापुरे डलर मात्र लिने रहेछन् । सटही काउन्टर गएर साटेर ल्याउनु प¥यो । हामी बूढाबूढी त्यहीँ बसिरह्यौँ । छोरीहरूले बाहिर गएर साटेर ल्याए र भुक्तानी गरे । राष्ट्रियताको एउटा गतिलो पाठ सिकेजस्तो लाग्यो । सिङ्गापुरे मुद्राको भाउ पनि चर्कै रहेछ ।
१२ बजे होटल पुग्दा एउटा कोठा पाइयो । हामीलाई चाहिने अर्को कोठा दुई–तीन घण्टापछि उपलब्ध हुने आश्वासन पाएपछि एउटैमा कोच्चियौँ । भुसुक्क निदाइएछ । यो शहरमा आफ्नै गाउँकी चेली, पूर्व विद्यार्थी तारा गुरुङ बस्थिन् । उनी लाहुरेनी । यहाँ आउन प्रेरित गरेकी मान्छे । मैले पनि आफू आउँदै गरेको जानकारी दिएको थिएँ । उठ्ता फोनमा उनको म्यासेज आएको रहेछ । आज घुमघामको काम थाती रहेको बताएपछि चार बजेतिर उनकी जेठी छोरी सिसमलाई लिएर आइन् । उनकै गाइडेन्समा हामी घुम्न निक्लियौँ ।
यहाँको नूनदेखि सुनसम्म जे पनि पाइने सुपर मार्केट रहेछ – मुस्ताफा । त्यस्तै सेन्ट्रल मलको बजार क्षेत्र हुँदै अन्डर ग्राउण्ड रेल मार्गबाट ‘मरिना बे’ को सामुद्रिक दृश्य हेर्न पुग्यौँ । यो क्षेत्र पूरै समुद्र पुरेर बनाइएको कुरा तारा बताउँदै थिइन् । उनी यहाँ बीस वर्ष बसेकी मान्छे । उनी आउँदासम्म यो क्षेत्रमा यस्ता घर तथा होटल, बैङ्क घर खुलेकै थिएनन् रे । यो समुद्र पुरेर बनाइएको दुवई वा कतारकै जस्तो क्षेत्र रहेछ । ‘मरिना वे स्ट्यान्ड होटल’ संसारकै महङ्गो होटल । संसारभरकै धनाढ्यहरूको क्यासिनो (जुवाघर) भएको । तीनवटा खाँवे खम्वाको आकृतिको यो होटलको माथिल्लो तलमा स्वीमिङ पुल र फूलबारीसहितको गार्डेन छ रे । त्यसको माथिल्लो भाग नुहाउने टप जस्तो देखिन्थ्यो । त्यो तलाबाट पूरै सिङ्गापुर देखिन्छ रे । त्यो हेर्नुपर्छ भन्दैथिन् तारा । होटलको पछाडि दिनभर डुलेर पनि नसकिने पार्क रहेछ । त्यहाँ प्लास्टिकका घरभित्र र बाहिर थरि–थरिका फूलहरू, बुस, झाडीहरू, लहराहरूको बगैँचा छ रे । अग्लो पुलबाट पनि त्यहाँको हरियाली दृश्य हेर्न सकिन्छ रे । पुल पनि लामो, घुमाउरो फलामे ।
होटलको सामुन्ने विपरीततिर बैङ्क, होटलका ठूलाठूला अग्ला घरहरू । होटलकै छेउमा म्युजियम, लोटस टेम्पलको नमूनाको । बीचमा समुद्र वरपर पेटीसहितको घुम्ने ठाउँ, फूलबारी । हामी डुरियन फलको छानोजस्तो भएको फूलबारीसहितको घर अगाडि पुग्यौँ । त्यहाँ केही मूर्तिहरू पनि थिए । घरको भित्र सङ्गीतहरूको धून बजिरहेको थियो । समुद्रमा मान्छेहरू डुङ्गामा आनन्द लिइरहेका थिए । सेतो सिंहको मूर्तिको मुखबाट झरेको पानीको झरना अत्यन्तै आकर्षक देखिन्थ्यो । त्यो पानी पिउँदै गरेको भान पर्ने गरी अन्जुली थापेर सिसमले हाम्रा फोटाहरू खिचिन् । सिसम यहीँ जन्मेर मेनेजमेन्टमा डिग्री पास गरेकी । श्रीमान् बेलायती सेनामा लण्डनमै भए पनि उनी यहीँ जागिरको खोजीमा रहिछन् । आमा–छोरी साथी साथी जस्ता । नेपालीभन्दा अङ्ग्रेजी बोल्न सजिलो हुने उनलाई । रसिली, फरासिली रहिछन् । हामीसँग घुलमिल भइहालिन् । तारा आफ्नो गुरुलाई घुमाउन पाउँदा मख्ख । हरिया उसिनेका मकै, जुस खाँदै ‘मरिना बे’ को सन्ध्याकालीन झिलिमिलीमा हामी हराइरह्यौँ । साँझमा बलेका बत्तीहरूको दृश्य अति सुन्दर पानीमा देखिने ।
सात बज्यो । अन्डर ग्राउण्ड रेलबाटै फर्कने भयौँ । यो सुरुङ मार्गको बाटो यहाँका अपार्टमेन्ट, कोलोनीकै मुनि सबै ठाउँ पुगेको छ रे । फर्कदा रेल बदल्नु प¥यो – धोवीघाटमा । धोवीघाटले काठमाण्डूको धोवीधारा सम्झायो । तारा भन्दै थिइन्, “यो शहरको विकासमा धोवीकै भूमिका छ । जब धोबी यो शहरको मेयर भए । उनैले कोरेको विकास र निर्माणको खाकाले यो सिङ्गापुरको विकास भएको हो ।”
साँझको खाना खाएर मात्र छुट्टिने इच्छा राखिन् – ताराले । उनको इच्छा थियो – होटलको छतबाट सिङ्गापुर पूरै देखाउने तर मेरी श्रीमतीले ‘मरिना बे’ को वरिपरि करिब डेढ कि.मि. को पैदल यात्रा गर्न सकिनन् । खुट्टामा चप्पल । हामीले जुत्ता होटलमा छाडेर आएका थियौँ । थकथकी लाग्यो । शाकाहारी होटल भेटियो । रोटी, तरकारी र दूधले पेट भरियो । होटलमा बोली नभएका वृद्ध–वृद्धाको इसाराको भाषा देखेर हामी छक्क प¥यौँ । वृद्धा युरोपियन मूलकी वृद्ध इन्डियन मूलका । आखिर इसाराको भाषा र गफ संसारमै एउटै हुने । कस्तो रमाइलो । हामीलाई होटलमा छाडेर तारा र उनकी छोरी घरतर्फ लागे । हामी उनको आतिथ्य र व्यवहारले हुनसम्म खुशी भयौँ । परदेशमा आफ्ना मान्छे हुनु कति राम्रो । त्यसमाथि ताराका बाबु कली माइला पनि लाहुरे । अति नरम मिजासका । मेरा साथीजस्तै थिए । उनी चाँडै बिते । आज उनी बाँचेका भए – कति खुशी हुन्थे होलान् । सुत्ने बेलामा पनि हामी उनीहरूकै चर्चा गर्दै निदायौँ ।
‘मरिना बे’ सिङ्गापुरको प्रमुख पर्यटनको केन्द्रस्थल रहेछ । मुटुभन्दा हुने । हामी यसैमा रहेको चर्खे पिङजस्तो ‘सिङ्गापुर फ्लायर’ मा चढेर सिङ्गापुरको दृश्यमा पुनः रमाउने वाला थियौँ । यो प्याकेज ट्रावलले मिलाएको थियो । छोरीहरूको कोठा नजिकै मिलेन । टाढा बसे । दुईतले होटल भए पनि फैलिएको विस्तृत क्षेत्र रहेछ । यहाँका घरहरू माथिल्लो तलमा टाली छापेका हुँदा रहेछन् । सायद यो गर्मीले गर्दा हुनसक्छ । हाम्रो कोठाको अगाडि सानो बार्दली थियो । त्यहाँबाट शहरको अलेली दृश्य देख्न सकिन्थ्यो ।
०००
सेन्तोषा टापुको यात्रा
बिहान सात बजे नै बसेको होटलमै नास्ताको सुविधा । दक्षिणी भारतीय खानेकुरा । इडली, साम्बर, चिउराको पुलाउ, चिया, कफी पाइने तर फलफूल भने शून्य । नास्तापछि इन्डियन बस्तीमा रहेको हिन्दु मन्दिर गयौँ । भारतीयहरूले यहाँ पनि आफ्नै शैलीको मन्दिर तथा मूर्तिहरूको स्थापना गरेर आफ्नो संस्कृतिलाई विश्वव्यापी बनाएको देख्ता गर्व लाग्यो । कलाकारिता, मूर्ति तथा मन्दिरको ढाँचा भने दक्षिण भारतकै जस्तो । बजारक्षेत्रमा घुम्दा भारतकै याद आउने, जीवन्त उस्तै । सडकमा पनि उतैका बाजा–गाजाको झलक दिने गेट, तस्वीर । सुनका गहनाका पसलहरू अत्यधिक ।
सेन्तोषा टापु
हामीलाई घुमाउन लाने ट्रावलका कर्मचारीहरू दिउँसो दुई बजेपछि मात्र आउँदा रहेछन् । दिउँसो चरक्क गर्मी, फाटफुट वर्षा हुने भएकोले होला। सडकको पेटी पनि ओतिने खालको पानी पर्दा । छिटपुट वर्षामा काम लाग्ने । होटलमै फर्केर केही समय सुस्तायौँ । दुई बजे गाडी लिएर गाइड आइपुगे । उनले अरू होटलका मान्छेहरू पनि बटुल्दै साथै लाने रहेछन् । हामीसहित अरू दुई जोडी थपिए । हिजो भ्रमण गरेकै ‘मरिना बे’ को बाटो हुँदै दुईटा लामा सुरुङ मार्ग पार गरेर अलिक अग्लो उकालोतिर गाडी उक्लियो । हरियाली जङ्गलको क्षेत्र, अत्यन्तै सुन्दर । शहरी अनि एकान्तजस्तो क्षेत्रबाट हामीलाई सामुद्रिक किनाराको टापुमा पु¥याएर ड्राइवरले भने, “केवलकार चढेर पारिपट्टि जानुस्, त्यहाँको भ्रमणको आनन्द लिँदै बसबाट साँझको बिजुलीको रे मा देखाइने आतेसबाजी हेर्नुस् । म त्यहीँ तपाईंहरूलाई लिन आइपुग्छु ।” हामी केवलकार चढ्ने स्टेशनमा पुग्यौँ । मोवायलमा भएको हाम्रो टिकट बुकिङ हाते मेसिनबाट चेक गर्दै हामीलाई एउटै बट्टामा चढ्ने अनुमति दिए । अहा ! तल समुद्रको पानी त्यो पानीमा तैरिरहेका डुङ्गा, जहाजहरूको ताँती, टापु, वनजङ्गल अनि त्यहीँ जङ्गलभित्र पोखरी, बगैँचाका दृश्यहरूमा हाम्रा आँखा नाचिरहे । मनोरञ्जन होस् त यस्तो । शहर समुद्रको किनारमा चम्किरहेको ।
स–स्याना नानीहरू खेल्ने क्षेत्र, जङ्गलभित्रको घुमाउरो बाटो, पोखरी, कुन्ड अनि तिनीहरूमा खेलिरहेका डल्फिनका भुराभुरीदेखि लिएर ठूल–ठूला माछा पनि केवलकारबाट देखिने । तलको देखिने बगैँचा घुम्न दिनभर लाग्ने जस्तो । सेन्तोषा टापुकै स्टेशनमा पुगेर झर्न लाग्दा कर्मचारीले भने, “लगातार जान सक्छौ ।” पारिपट्टि अर्को टापुमा केवलकारका बट्टाहरू नाच्तै थिए । हाम्रो टिकटमा दुई अरू टापुको बुकिङ्ग थियो । हामी ओर्लिएनौँ तर हाम्रो केवलकार त जताबाट आएको हो उतै पो फर्कियो । हामी झुक्कियौँ, आत्तियौँ । बीचको अर्को स्टेशनमा उत्रिएर आफ्नो समस्या बतायौँ । कर्मचारीले उत्रेर पुनः पारिपट्टि गएर उतै जान सङ्केत गरे । बिजुलीका स्वचालित लिफ्टहरू चढेर उत्रदै अर्कोपट्टि गयौँ । दृश्य उनै, रमाइलो उस्तै केही आत्तिएका केही पछुताएका हामीहरू एउटै पैसामा दोहोरो यात्राको आनन्द लिइयो भन्दै रमायौँ । यसपटक भने ढिलो नगरी केवलकार छोड्यौँ ।
हिँड्दै आँगनमा सुन्दर फूलबारी रहेको, बगैँचासहितको सङ्ग्रहालयभित्र छि¥यौँ । सङ्ग्रहालयको तल्लो तलामा पुरानो सिङ्गापुरको जन–जीवनको झलक दिने घरका इँटाहरू, साइकल तरकारी तथा माछा बेच्नेहरूको दृश्य, धातु तथा काठका भाँडाकुँडा, बाजा, सजाइएका कोठाहरू चहार्दै हिँडिरह्यौँ । डोरी टाँगेर जाने बाटाहरूको निर्देशन गर्न कर्मचारीहरू यत्रतत्र भेटिए । यी अँध्यारा कोठाहरूमा ढुसी गनायो । माथिल्लो तलामा संसारप्रसिद्ध नेता, अभिनेता, कलाकार, वैज्ञानिक, लेखक, खेलाडी, सङ्गीतज्ञ आदिका दुरुस्त प्रतिमाहरू । कतै सङ्गीतको धुन र बाजा बजिरहेका । तिनीहरूमा झुल्दै पोज बनाएर फोटो खिच्नेहरूको भीड । जस्ता कलाकार त्यस्तै हाउभाउ, अभिनयमा फोटो खिच्न तँछाडमछाड गरिरहेका पर्यटक यात्री । तल्लै तलामा घरभित्र कुलो, नहर लगिएको त्यसैको पानीमा पुरानै रङ्गढङ्गको नाउमा १० मिनेट जति बोटिङ्ग गरेर आनन्द लिन पाइयो । नाउ स्वचालित आफै ठोकिएर चल्ने । नाउमा चढाउने र उतार्नेहरू तैनाथ । हामी चारैजना एउटै डुङ्गामा ।
एक डेढ घण्टा त्यही सङ्ग्रहालयमा बिताएर बाहिर निस्कदा हामी भोकाएका थियौँ । आलो साग, मूला, जागर, काँव्रmासहितको ताजा रोटीले उदरपूर्ति ग¥यौँ । पिउनेपानी बोतल भए पाइने रहेछ । बोतल फालेकोमा पछुतो भयो । पुनः किन्नु प¥यो । अर्को टापु जाने केवलकार चढ्नै थियो । त्यसमा चढ्यौँ । त्यो पनि तीन÷चार स्टेसनपछि फर्कदो रहेछ । खुला किसिमको केवलकार अर्को टापुतिर जाँदै देखियो तर त्यसको स्टेसन कता हो ? हामीले मेलोमेसो पाएनौँ । हामीसँग पार्क, बगैँचा तथा जङ्गली क्षेत्र घुम्ने समय बचेन । बिहानै आउन सके मात्र धेरै घुम्न मिल्ने रहेछ । यहाँको मौसमको टुङ्गो नहुने । छिनछिनमा घाम, पानी र बादल बराबर देखिने । मूमध्यरेखीय क्षेत्रको प्रभाव । मैले भूगोल पढाउँदा भनेको क्षेत्रको प्रत्यक्ष अनुभव हुँदै थियो । यी सामुद्रिक टापुहरूको उचाइ ५०० मिटरभन्दा बढी थिएन । समुद्रभित्र उठेका यी टुटुल्काहरूमा केवलकारमा घुमाएर पर्यटक तान्ने यहाँको नीति र कार्यव्रmम कति प्रभावकारी । देखेर हाम्रो मन प्रफुल्ल तर आफ्नो देश सम्झेर खिस्रिक्क ।
गाइडबिना पैसा तिरेर पनि हामी गन्तव्यको टापुसम्म पुग्न सकेनौँ । फर्कियौँ । बीच अर्थात् समुद्रको किनारामा देखाइने आतेसबाजी हेर्न सात बजे पुग्नु थियो । सोधखोज गर्दै बस स्टप पुग्यौँ । अरू पनि त्यता जाने भेटिए । सहयोगी मान्छेहरू – जानकारी दिन कन्जुस्याइँ नगर्ने । धेरजसो त पर्यटक नै । यही व्यवसायले संसारलाई लोभ्याउने ।
हामी आधा घण्टा अघि नै समुद्रको किनारमा पुगेछौँ । पानी पिउँदै बसिरहेका पर्यटकहरूसँग खुला पटाङ्गिनीमा टहली रह्यौँ । एकजोडी केटाकेटीले कुटाकुट गरेको नमीठो दृश्य देखियो । मुक्कामुक्की हात हालाहाल । रगत निस्किएको देख्ता कटु अनुभूति । सुरक्षा गार्डले छुट्याए । पुलिस बोलाए । केटो हातमा चुँडिएको मास्क लिँदै भौँतारीरह्यो, उसको रिस मरेको थिएन । केटीलाई महिला सुरक्षा गार्डहरूले घेरेर राखे । यसको समाधान कसरी गरियो, त्यो हामीले थाहा पाएनौँ ।
उता किनारातिर जाने सङ्केत पाइयो । दुईतर्फबाट जान सकिने । किनारमा सूर्य डुब्न लागेको दृश्य, फोटो खिच्नेहरूको पोज, हेर्नलायक । किनारामा लहरै बेन्चीहरू । त्यहीँ बसेर आतेसबाजी हेर्नुपर्ने । केही युरोपियन तर अधिकांश दक्षिण भारतीय यात्रीहरू र चिनियाँ मूलका यात्रीहरू सरावरी ।
समुद्रको पानीमै ९ वटा त्रिकोणीय आकारका पर्दाहरू, आङखुडे, बाङ्खुडे बाँसका भाटामा कपडा बेरेजस्तो । मैले दिङ्लाको टुँडिखेलमा ठूलो पर्दामा जेनेरेटरबाट चलाइएको नेपाली सिनेमा ‘आमा’ हेरेथेँ । त्यस्तै लाग्यो । सङ्गीतबाट कार्यव्रmम सुरु । पहिले अङ्ग्रेजी पछि मले हो या चाइनिज भाषामा उद्घोषण । केटापछि केटीको आवाज सुरिलो, जोसिलो । पानीको फोहोरा, आगोको ज्वाला, कारतोस, पट्का पड्केर छिनछिनमा बालुवा नै जुरुक्क उठेको देख्ता हंसले ठाउँ छोड्ला जस्तो भरङ्ग भइने । पर्दामा रङ फेरी फेरी देखिने दृश्य । समुद्रमा आपतमा परेको, डुबेको दृश्य, पन्छीले उद्धार गरेर बचाएको जस्तो देखिने । केटाकेटी पानीमा डुब्दै, उत्रदै गर्दा आफैँ डुबेजस्तो लाग्ने । आधा घण्टाको यो आतेसबाजीको संयोजन माथिको एउटा घरको तलाबाट मिलाइएको रहेछ ।
पट्का तथा आगोको ज्वाला सामुद्रिक किनाराका ठूल–ठूला ढुङ्गाबाट निक्लदा दर्शकहरूले ताली बजाए । जेनेरेटरबाट एकैपटक मिलाइएको यो संयोजन पनि अत्यन्तै आकर्षक थियो । मुटु कमाउने, शरीर थर्कने । किनाराका बेन्चहरू प्रायः भरिएका देखिन्थे ।
झमक्क साँझ प¥यो । रमाइलो सकियो । अब फर्कने गाडी र ड्राइवर खोज्नु पर्ने । बसस्टप आइयो । त्यसको तल ट्याक्सी स्ट्रान्ड पूरै घुमियो तर भेटिएन । एकजोडी सँगै आएका भारतीय र हामी अलमलियौँ । तल–माथि गर्दै समय भड्कियो । एकजना सहयोगीले “तल आउनू” भने । तर भारतीय मित्रले त लिफ्टबाट माथि पो चढाए । तल झर्नै प¥यो । ती अघि बोलाउने व्यक्तिले बाटो बताइदिए । दुईटा बाटो व्रmस गरेर सडक उकालियो । बाँदर, स्याल, मयूर जङ्गलमा देखिए । डराउँदै बल्लतल्ल भ्यान स्टेसनमा ड्राइवर भेटिए । बाटो समुद्रकै किनारै किनार वारिपट्टि नै पुलबाट जोडिएको रहेछ । आधा घण्टामै उही ‘मरिना वे’ कै छेउबाट होटल पुगियो । होटलमा साँझको खानाको व्यवस्था थिएन । पुग्यौँ – कोमला भिल्लामा लाइनमा । मान्छे धेरै भएकाले होला बाहिर सर्वत बाँडिदै थियो । नपिउने कुरै भएन ।
यी टापुहरू नघुमे सिङ्गापुर घुमेको ठहरिने रहेनछ । यो देश नै टापु नै टापु भएको दक्षिण एशियाकै सानो देश तर चर्चित उत्तिकै । कुनै समय सामुद्रिक डाकुहरू लुक्ने र लुट्ने ठाउँ भनेर दुर्नाम कमाएको यही देशले आज गरेको प्रगति र उन्नति देख्ता कसको मन नलोभिएला ? हामी हाम्रो यात्राको सफलतामा भुसुक्क निदायौँ चर्चा गर्दागर्दै ।
०००
सिङ्गापुर फ्लायर
बिहानको नास्तापछि हिँडेरै मुस्ताफाको विग मार्केट पुग्यौँ । कोसेलीका निम्ति घुमीघुमी केही कपडाहरू किने आमाछोरीले । भोलि हामी सिङ्गापुर छाडेर मलेसियातिर लाग्ने कुरा थाहा पाएकी तारा पुनः जेठी छोरी सिसमलाई लिएर होटलमै भेट्न आइन् । ज्वाइँले पनि भेट्न चाहेको तर आफ्नो रिटायरमेन्टको झमेला र जिम्मेवारीले आउन नसकेको कुरा गर्दै थिइन् । ज्वाइँले २७ वर्षको सैनिक जीवन राम्ररी पूरा गरेर अफिसर बन्न सकेकोमा उनी गर्व गर्दै थिइन् । सिङ्गापुरको सधैँको एकैनासे हावापानीले जिउ अल्छी हुने, फुर्ति नआउने उता नेपाल जाँदा बेग्लै किसिमको स्फुर्ति आउने कुरा पनि बताउँदै थिइन् । आलस्यले सधैँ निद्रा लाग्ने र शरीर मोटाउने कुराको पनि सङ्केत गर्दै थिइन् । यो सबै भूमध्यरेखीय हावापानीको प्रभाव थियो । सबैलाई जिउ जनङ्गी कोसेलीका कपडाहरू लिएर आएकी रहिछन् । हामी उनको सौहाद्र्रतामा पग्लियौँ । हामीले कोसेली ल्याउन नसकेकोमा पछुतो पनि भो । दुई घण्टा जति कोठैमा बसेर आ–आफ्ना कुराकानीमा रमाइरह्यौँ ।
दिउँसो दुई बजे मात्र ड्राइवर लिन आइपुगे । आज सिटी टुरको दृश्यावलोकन गर्दै फ्लायरमा चढेर सिङ्गापुर हेर्ने । पहिले ड्राइवरले फ्लायर मर्मत कार्यका लागि बन्द रहने सूचना दिए । हामी झस्कियौँ । उनैले इन्टरनेटबाट आफै पत्ता लगाउँदै भने, “खुलै रहेछ ।” मुस्ताफा, चाइनाटाउन, सिटी सेन्टर मल हुँदै उनले सेन्टेक फाइव टावर देखाए । पाँच जना व्यापारीले मिलेर निर्माण गरेका एकै किसिमका अग्ला टावर घर ।
लण्डन शहरको ‘लन्डन आइ’ जस्तै विद्युतीय चर्खे पिङमा रमाइलो गर्दै माथि उक्लने र तल झर्ने, पूरै सिङ्गापुर शहर, टापु, समुद्रको दृश्य देखिने सिङ्गापुर फ्लायर । बिस्तारै माथि चढ्ने सिसैसिसाका मादले आकारका अर्थात् गोलाकृतिका बट्टाहरू । बट्टाभित्र दुइटा बेन्च । बसेर वा उठेरै हेर्न सकिने । हामीसँग मुम्बई अन्धेरीका युवती केटीहरू र केही बालबालिकाहरू एउटै बट्टामा थिए । तल जगमा ढुङ्गे चट्टानसहितको सानो खोल्सी, फूलबारी, सिमसारका झारपातको दृश्य । बिस्तारै चढ्दै जाँदा शहरको रमणीय दृश्य, टावरजस्ता घरहरू । समुद्रमा ठूला–साना जहाजहरू, जङ्गलको हरियाली टापुमा । फ्लायर जब उकालियो उठ्तै, बस्तै भुइँमा पनि आलोपालो गरेर फोटो खिच्ने हतारो । फोटो खिच्न सहयोगीको भूमिका एक अर्काको । यसको उचाइ ‘मरिना बे’ को होटल जत्ति अग्लो रहेनछ । त्यो होटल चढाउने इच्छा ताराले राखेकी थिइन् तर त्यो दिन मेरी श्रीमती धेरै थाकेकीले हिँड्न सकिनन् पछि उनी चुकचुकाइन् । यस्तो अवसर फेरि जुटाउन हामीलाई कति सकस पर्ला ! होटल माथिको फूलबारी अलि–अलि देखियो । उता पारिपट्टिको ठूलो पार्कको झलक सबै हेरियो । आधा घण्टाको यो आकाशे यात्राको अनुभव र अनुभूति स्वर्गीय आनन्दमय । वर्णन गर्नै नसकिने ।
तल ओर्लेर अघि आउँदै किनेका मकै र चिया खायौँ । फ्लायर आज बन्द हुने ठानेर ड्राइवरले टिकट नलिई आएका रहेछन् । त्यो टिकट लिन जाँदा ‘मरिना बे’ कै तल पोखरी नजिक उनले हामीलाई छाडेका थिए । त्यही अवसरमा छोरीहरूले किनेका थिए – मकै । मौकामा चौका हान्दै अर्को सानो सिंहको मूर्तिको मुखबाट निस्केको फोहोरासहितका फोटाहरू खिच्न भ्याइएको थियो । पर्यटकहरूको उस्तै भीडभाड । दुई अङ्ग्रेजी युवतीहरूसँग एकजना मलेसियन प्रौढ हात मिलाउँदै सोध्दै थिए, “बिदामा रमाइलो गर्न आएका हौँ ?” केटीहरूको फेसन र इत्रदै दिएको जवाफमा अझ आशक्तिको नयाँ प्रयोग गर्दै उनीहरूको कुम थपथपाउँदै भन्दै थिए, “नयाँ साथी कत्तिको मन पर्ने हो ? म त तयारै छु ।” उनीहरूको गफ पूरै सुन्ने हामीसँग समय थिएन । फर्कियौँ । उनी हामीलाई लिन आउँदा सडकमा प्रहरी रहेकाले पार्किङ गर्न नमिलेकोले आधा घण्टा अन्यत्र घुम्न बाध्य भएको समस्या बताउँदै थिए । उनलाई ६ बजे बेलुका अरू यात्रु लिन एयरपोर्ट जानु रहेछ । कुनै शपिङ मलमा तपाईंहरूलाई छाड्छु भन्दै थिए । हामीसँग किनमेल गर्ने पैसा छैन भन्यौँ । यहाँको महङ्गीले ढाड सेक्ने रहेछ । उनले पुनः अघि गएकै चाइना टाउन, सुपर मार्केट, नेसनल पुस्तकालय गाडीबाटै देखाउँदै साँझको हामीले खाना खाने शाकहारी भोजनालय कोमला भिल्लामै छाडिदिए । हामी आफू अनुकूलको खाना अर्डर गर्न पोख्त भइसकेका थियौँ । त्यस्तै लाइनमा उभिन पनि । खाएर होटलमा आयौँ र भोलि सिङ्गापुर छाड्ने सपना तुन्दै, गफिदै निदायौँ ।
०००
सिङ्गापुरदेखि क्वालालम्पुरसम्मको बस यात्रा
सदाकै जस्तो नियमित नास्ता होटलमै । केही आइटमहरू अदलबदल गर्दा रहेछन् । नौ बजे बस स्टप पु¥याउन ड्राइवर आइपुग्यो । हामीले साडे आठ बजे नै होटललाई वाइवाई गरिसकेका थियौँ । बस स्टप नजिकै रहेछ । यात्रा पहिले हिँडेकै सडक उही मरिना बेकै छेउछाउबाट । धेरैपटक हिँडिसकेकाले होला सबै जानेसरह । २० मिनेटमै बस–स्टपमा हामीलाई छाडेर ड्राइवर हिँडे । हामी सामान सिँढीमा राखेर शौचालय खोज्दै पसलभित्र छि¥यौँ । अन्यत्र जुन सफाइ देखिन्थ्यो त्यस्तो पाइएन । हुनसक्छ, भीडभाड र यात्रुहरूको असावधानीले यस्तो भएको होला । धुलो, धुवाँ नदेखिने यो हरियाली शहरमा पनि यस्तो दुर्दशापूर्ण स्थान पनि रहेछन् भनेर हामी छक्क प¥यौँ ।
साढे नौ बजेको कोच हिँड्यो । १० बजेको कोच खडा । हामीले सामान कोचमा राख्यौँ । यात्रु २६ जना मात्र । हाम्रो सिट नं. २, ३, १३ परेछ । एकल सिट एकातर्फ अर्कातर्फ दुई । सुविधायुक्त । ढाड मसाज गरिदिने, खुट्टा तेस्र्याउन मिल्ने – प्लेनकै जस्तो । चौडा सडक । दुई तीन लेन बीचमा फूलबारी । ४५ मिनेटमै समुद्र वारि नै बोर्डरमा पु¥याएर ड्राइवरले माइकबाट एनाउन्स गर्दै भने, “आ–आफ्नो पासपोर्ट लिएर उत्रनू ।” लाइन लागे – यात्रुहरू । आफैले पासपोर्ट स्क्यानिङ गर्नुपर्ने, सिकाउने सुरक्षाकर्मीहरू । फोटो कम्प्युटरले खिचेर ओ के गरेपछि सिङ्गापुर छाडेको अध्यागमनको अनुमतिको इसारा । कति सजिलो । कम्प्युटराइज्ड सिस्टम । पुल तरेपछि मलेसिया प्रवेश । यहाँचाहिँ सामानसहित अध्यागमनको लाइनमा बस्नु पर्ने रहेछ । इन्टरनेसनल यात्रुको पासपोर्ट र आन्तरिक यात्रुको पासपोर्ट चेक गर्ने अलग–अलग ठाउँ । सामान्य सोधपुछपछि सजिलै अनुमति पाइयो । सामानहरू भने मेसिनले चेक गर्ने रहेछ । पुनः सवारी साधनमै सामानको थान्को लगाइयो । यात्रा जारी हुनु अघि अघिल्लो कोचले ११ जना भारतीय यात्रुहरूलाई छोडेर हिँडेछ । ती बिचल्लीमा परेका यात्रुहरू हाम्रो कोचको ड्राइवरसँग गुनासो पोख्तै थिए । ड्राइवर फर्केर सिङ्गापुरतिर नै जान सल्लाह दिँदै थिए । किन यस्तो भयो ? यसको केही छेकछन्द हामीले थाहा पाएनौँ । हुनसक्छ उनीहरूलाई समयमै अध्यागमन कार्यालयले छोडेन कि ? अथवा उनीहरू नै शौचालय वा अन्यत्र अलमलिए कि ? समयमै गाडी पु¥याउनु पर्ने बाध्यता थियो कि ? हामी लख काट्न सक्थ्यौँ तर उत्तर हामीसँग थिएन ।
समुद्रमा नाउमै पाल टाँगेर घरजस्तोमा मान्छेहरू बसेको दृश्यले कस्तो कस्तो अनौठो लाग्यो । पानीमा हलचल आयो भने यिनीहरूको के हाल होला ? मलेसिया छुनासाथ जङ्गली एरिया भेटियो । ठाउँ ठाउँ टिनका र कतै टालीका एकतले घरहरू पनि देखिदै थिए । पहाडको माथितिर बाक्लो जङ्गल । मैले भूगोल पढाउँदा यस्तो जङ्गलको धेरै चर्चा गरेको सम्झिएँ । जङ्गलको तल्लो भागमा भने पाम आयलको खेती । नरिवलकै जस्ता रुखहरू । ओलिभ आायलको भने पोथ्रे स–साना रुखहरू । देशको आम्दानीको स्रोत यो आयल भएकाले कतै पाममा बिरुवा, कतै ठूला रुख काटेर फाँड्दै, कुनै ठिक्कका बिरुवा, नयाँ लगाउन बनाएको जमिन । यो दीर्घकालीन आम्दानीको स्रोत बनाउने कस्तो राम्रो नीति र कार्यव्रmम । हाम्रोमा यस्तो नीति कहिले आउला ? यी थरिथरिका रुख, बिरुवाले यस्तै सम्झायो । कतै कतै केराबारी । जङ्गलै जङ्गल भए पनि राजमार्ग खारेर बनाइएको । एकै किसिमका झुरुप्प घरहरू देख्ता यता कारखाना पनि भएको अनुमान गर्न सकिन्थ्यो । फैक्टरीहरू यस्तै एकान्तमा हुँदा हुन् । नेपालबाट काम खोज्दै आउनेहरू यता पनि होलान् । मूल सडकको दायाँ बाँया सडकै–सडकको सन्जाल । दोहारी लत्ता गाडीहरू दायाँ बाँया हुत्तिरहेका । एक ठाउँमा जाम । सडक दुर्घटनामा गाडी बिग्रेको कच्याककुचुक परेको पनि देखियो । पेट्रोल भर्ने ग्याँस सेन्टरहरू पनि ठाउँ ठाउँमा । कतै कतै पैरोले च्यातिएको भूमि पनि देखियो – हाम्रै देशको पहाडी भूभागमा जस्तो । हिमाली क्षेत्रजस्तो भने होइन ।
अध्यागमन कार्यालयमा रहेको शौचालय गइएन । गाडी बीचमा रोकिएन । पिसाबले गाह्रो पा¥यो । ड्राइवरलाई अनुरोध गर्दा भन्छ, “पर्ख, सिटमै गएर बस ।” उभिएको यात्री देखिए सायद ऊ कार्वाहीमा पर्छ । लगातार पाँच घण्टाको लामो यात्रामा ब्रेक नलिँदा अप्ठ्यारो नहुने यात्रीहरू कमै थिए तर उसले त्यसको वास्ता गरेन । जङ्गली क्षेत्र पार गरेर अलेली शहरको आकृतिका घरहरू देखिन थाले । तैपनि गाडी रोकिएन । क्वालालम्पुर आउन आघा घण्टा जस्तो बाँकी छँदा ड्राइवरले सङ्केत गर्दै भने, “छिटो गरेर आउनुस् ।” लाइन कति लामो ? चुरोट उडाउनेहरूको धुँवाको खार । लाइनमा पनि अप्ठ्यारो परेकोले अनुरोध गरे लाइन छाडिदिने पाइए । कस्तो आपत्ति ? बस–स्टपमै हामीलाई लिन आउने सवारी साधनका ड्राइवर भेटिए । नजिकै रहेछ प्यासिफिक एक्सप्रेस होटल । नजिकै चाइना टाउन मार्केट, सुपर मार्केट, ड्रागन इन होटल, सिसन प्वाइन्ट होटल । बन्दै गरेको बुर्ज खालिफा पछिको अग्लो ७०० मिटरको टावर । ड्राइवरले सुझाए, “शाकाहारी भोजनालय–सरावन भवनमा छ । त्यहाँ जानुस् ।” यस्तै किनमेलका निम्ति चाइना टाउनमा हुने बार्गेनिङ र बुकी भिन्ताङजस्ता मलहरूको जानकारी पनि उनले दिए । हामी होटलमै सुस्तायौँ ।
केहीबेर होटलमा सुस्ताएर साँझको खानाका निमित्त गुगल म्यापको सहायताले सरावना भवन खोज्दै सडकमा हिँड्दै छौँ । ब्याग पछाडि भिर्दा कसैले खोस्ला भन्ने डरले अगाडि भिरेका छौँ । यस्तो सन्त्रासको आभाष दिने सिङ्गापुरका गाइड र चेली तारा हुन्, जसले बारम्बार सुरक्षाको निम्ति सतर्क रहन भनेका छन् । सडकसँग जोडिएका घरका पेटीहरूमा घरवारविहीन मान्छेहरू सुत्ने ओछ्यान मिलाउँदै देखिन्छन् । कोही चुरोट पिउँदै । व्रmसब्रिजका छानामुनि पनि माग्ने मान्छेहरू देखिन्छन् । यस्तै फुटपाथमा नाङ्ले पसलेझैँ चिया, कफी, पाउरोटी, अण्डा बेच्नेहरू पनि कतै कतै भेटिन्छन् । साँझमा नीलो बत्तीको चहकिलो उज्यालो भएको मस्जिद घरमा केही पढ्दै गरेको माइकको आवाज सुनिन्छ । सडकका किनारका रुखहरूमा चराहरूको साँझको चिरिबिरी पनि सुनिन्छ । तीन चारवटा सडक पार परेर फूलहरू बेच्ने पसलनजिकै सरावना भवन भेटिन्छ । उही दक्षिण भारतीय खानेकुरा डोसा, इडली, साम्बर, चपाती, जुस, आलु र पनिरको तरकारी । हामीलाई पिरो मन नपर्ने । त्यस्तै दिए । यसका शाखाहरू यो शहरमा ६ वटा छन् रे । एउटामा नेपाली कुक रहेको कुरा भोजनालयका कामदारले बताए । यहाँ रहुन्जेल आइरहने कुरा गर्दै हामी होटल नै फर्कियौँ ।
भूमध्य रेखाको उत्तर दुई डिग्री अक्षांसदेखि सात डिग्री अक्षांससम्म फैलिएको यो देशको क्षेत्रफल ३,२९,८७४ वर्ग कि.मि. छ । भूमध्यरेखीय हावापानीको क्षेत्र भएकोले हिउँद नहुने छ हजार मिटरको उचाइका पहाडमा पनि हिउँ नपर्ने, सधैँ संवाहनिक वर्षा भै रहने यो मुलुकको विशेषता बताउँदा मेरा विद्यार्थीहरू छक्क पर्थे । त्यसमाथि यहाँको जङ्गलमा हराइयो भने जङ्गली कुकुर र स्यालले नै मान्छेको शिकार गर्दछन् हतियार छैन भने भन्दा झन् तीन छक्क पर्थे । जङ्गली ट्रेनिङको निम्ति बेलायती सेनाले यही मलायाको जङ्गलमा प्यारासुटबाट खसाल्थ्यो । मेरा विद्यार्थी भैँसेका रामकुमार लामाले आफू त्यो जङ्गलमा हराउँदा मेरो कुरा झल्झली सम्झेको मलाई नै बताएका थिए । त्यस्तो जङ्गल कहाँ होला ? भन्ने खुल्दुली सिङ्गापुरबाट आउँदा भेटिएन । त्यहाँको प्राकृतिक वन मासेर खालि पामको खेती बढाएको देखियो । झन्डै सवा तीन करोडको जनसङ्ख्या रहेको यो देशमा मले जातिको बाहुल्य रहेछ । झन्डै ७०% यो जातिका मान्छेहरू मुस्लिम धर्मावलम्बी रहेछन् । २०% चाइनिज र १०% भारतीय मूलका मान्छेहरूले ढाकिएको यो देशमा हिन्दु धर्मावलम्बीले पनि आफ्नो प्रभाव जमाएका रहेछन् । होटलबाट फर्कदा तामाङ जातिकी महिला आफ्नो जातीय भेषभूषामा देख्ता हामीलाई पनि रमाइलो लाग्यो । यस्तै एउटा कम्पनीजस्ता दोकानमा सेक्युरिटी गार्ड गर्दै गरेका दुई नेपाली भेटिए । लालीगुराँस नामको रेस्टुरेन्ट पनि रहेछ । कोरोनाले गर्दा अरू दुई नेपाली रेस्टुरेन्ट विस्थापित भएको कुरा सुन्दा दुख्ख पनि लाग्यो । हामी बसेको होटलमा अधिकांश पाहुनाहरू चइनिज मूलका देखिए । यो देशको र जातिका कुरा गर्दै हामी सुत्यौँ ।
०००
क्वालालम्पुरका पाँच पर्यटकीय स्थलको यात्रा
बिहानको नास्ता होटलमै भए पनि नुडल्सहरूको बढी प्रयोग त्यसमा मासु मिसाइएको हाम्रो लागि सन्तोषजनक रहेन । पाउरोटी, जुस, कफी र वाटरमेलनका चानाहरूमै चित्त बुझाउनु प¥यो । घुमाउन लाने मान्छे १० बजे नै आए । उनले आज यहाँका प्रमुख पाँच वटा पर्यटकीय ठाउँहरू घुमाउँछु भने । केरलाका यी गाइडका हजुरबुबा नै यहाँ आएका थिए रे । शहरको केन्द्रमा रहेको सिद्धि विनायकको पुरानो मन्दिरमा पु¥याएर उनले गणेशजीको विशाल मूर्तिको दर्शन गराए । यो आजको शुभमङ्गलको दिनको यात्राको थालनी थियो । त्यसपछि उनले शहरकै केन्द्रबिन्दुमा रहेको ट्विन टावरमा पु¥याए । ५५१ मिटर अग्लो यी जोडी टावरलाई बीचमा पुलले जोडिएको छ । यस्तो कलात्मक दुई टावरहरूको संयोजन गरिएको विश्वमै अन्त कतै छैन । पेट्रोलको खानी भएको यो देशले आफ्नो प्राकृतिक उत्पत्तिको सम्पत्तिलाई सदुपयोग गरेर उद्योगधन्धा, बन्दव्यापारमा, सडक यातायातमा खर्च गरेर अभूतपूर्व उन्नति गरेको रहेछ । त्यसमाथि पर्यटकीय क्षेत्रको विकासले अझ उन्नतिको फड्को मारेको पनि देखियो । यी जुम्ल्याहा टावरको अधिकांश कोठाहरू पेट्रोनस भन्ने पेट्रोल कम्पनीले भाडामा लिएकोले कसै कसैले यो टावरलाई पेट्रोनस टावर भनेको पनि सुनियो । केही कोठाहरू त व्यापारिक मलहरूले पनि भाडामा लिएका रहेछन् । टावरको अगाडिको पटाङ्गिनीमा फूलबारी, पानीको फोहोरामा फोटो खिच्नेहरूको ताँती लाग्दोरहेछ । लेन्सले तानेर २० रिङ्गेटमा फोटो खिचिदिने व्यापारीहरू पनि पाइए । यसको पछाडिपट्टि पनि पार्क, पोखरी र फूलबारी रहेछ । यो हाम्रो आजको पहिलो दर्शनीय स्थल रह्यो ।
दोस्रो ‘वेलिस चकलेट किङ्डम’ भनिने चकलेट फैक्टरीमा गाइडले पु¥याए । अगाडि टाटे विकासे ठूलो गाईको नमुना रहेछ । त्यसैको पाश्र्वमा फोटो खिच्तै हामी भित्र पस्यौँ । दूधमा विभिन्न फलफूलमा बनाइएका चकलेटहरू चाख्ने अवसर मिल्यो । किने पनि नकिने पनि गुलिया, पिरा, नुनिला चकलेटहरू चखाएर प्रचार गर्ने चलन रहेछ । तेस्रो शहरभन्दा अलिक परै अलग्ग ठाउँमा रहेको राजदरबारमा गाइडले पु¥याए । ‘इस्ताना नेगारा’ भनिने दरबारको गेटमा रहेका गार्ड सिपाहीसँग फोटो खिच्न पाइने रहेछ । घोडामा चढेर सतर्क पोजिसनमा रहेका सैनिक र अर्का स्थानीय पोशाकका सिपाही । नजिकै दायाँपट्टि थुम्की, पहाड, आँगनमा ठूलो फूलबारी बायाँपट्टि पनि पहाडकै थुम्की । शान्त, एकान्तस्थल । पस्ने ठाउँमै राजकीय ढङ्गको शौचालय ।
नेपालका राजाको दरबार नागार्जुनमै रहेको भए पछाडि सुन्दरतामा कति रमाइलो लाग्थ्यो होला । अहिले त राजा नै रहेनन् । एकाध घण्टा त्यहाँबाट देखिने पहाड तथा शहरको दोहोरो दृश्य, आकाशमा देखिएका बादलहरूको झुण्ड, फूलबारी हेर्दै फोटो खिच्तै रमाइ रह्यौँ ।
फर्कदा बोटानिकल गार्डेन भन्ने क्षेत्र हुँदै गाइडले शहरको पुरानो मस्जिद पनि देखाए । यो फलफूलसहितको गार्डेन घुम्न तीन घण्टा लाग्छ रे । त्यसपछिको अर्को चौथो स्थल थियो – सैनिक स्मारक । दोस्रो विश्वयुद्धमा
एकै रातमा जापानिज सेनाले मलेसिया कब्जा गरेको थियो रे । त्यो युद्धमा
११ हजार मलेसियन सेना मारिएका थिए रे । तिनीहरूकै सम्झनामा बनाइएको, यो स्मारक । स्मारकमा सैनिक पोशाकमै हतियारधारी
सैनिकहरूका मूर्तिहरू । देख्तै आङ् जुरुङ्ग हुने । अगाडि पानीका फोहोरा र पोखरी । यो क्षेत्रमा पुग्दा झमझम पानी प¥यो । छाता ओड्दै फूलबारी र तलको अर्को क्युरियो सपहरू अगाडिका बेन्चीमा केहीबेर थकाइ मा¥यौँ । यी स्मारकहरूले सैनिकहरूप्रति देखाइएको सद्भावलाई उच्च बनाएको देखियो । यो राष्ट्रिय गौरवको विषय हो । यस्ता स्तम्भ र स्मारक हाम्रा देशमा छन्, छैनन्, यो खोजीको विषय हो ।
आजको भ्रमण तालिकाको पाँचौँ स्थल थियो – स्वतन्त्रता स्क्वायर (फ्रिडम) चोक । यसको अगाडि बेलायती सेनाको साम्राज्यकै बेला तयार गरिएका सैनिक गृहहरू पनि रहेछन् – बेलायती पाराकै । काठमाण्डूको खुला मन्च झैँ यो देशका राष्ट्रिय पर्वहरू त्यही चोकमा मनाइदो रहेछ । चोकमा फर्फराइएका झन्डाहरू । खुला ठाउँ, चोक जम्मै ढुङ्गा छापेको सुन्दर । यसको अगाडि आर्ट ग्यालरी रहेछ । त्यहाँ ऐतिहासिक सामग्रीहरू टाँगिएका । केही समय त्यही ग्यालेरीमा हराइयो । यो चोककै नजिक अलिक परतिर दुई नदीको सङ्गम स्थल रहेछ । त्यहाँको दृश्य रमाइलै भए पनि पानी भने धमिलो वागमतीजस्तै देखियो । हुनसक्छ भरखरै परेको पानीले होला । खोला पनि सानै थिए । बिहानको नास्ताले छोडिसकेको थियो । हामीले दुई नबज्दै होटलमा होइन, सरावना भवनमा छोडिदिन ड्राइवरलाई आग्रह ग¥यौँ । त्यहीँ खाना खाएर होटल पुग्यौँ । हामी बूढाबूढी शहरको दृश्य कोठाबाटै हेर्दै बसिरह्यौँ । दिदी–बहिनी भने चाइना टाउन छिरे । लगभग दुई घण्टाजति हराएर केही सामग्रीहरू लिँदै आइपुगे ।
साँझमा पनि हिजोको जस्तै सरावना भवनकै गोलचक्करमा घुमिरह्यौँ ।
०००
वाटु केभ र गेन्टिङ हाइटको यात्रा आज बिहानको नास्ताको हाल बुझ्न होटलको तल्लो तला झरेका छोरीहरू मासुभात देखेर तर्सेछन् । सरावन भवन नगै धरै पाइएन । १० बजे हामीलाई घुमाउन लाने गाइड आइपुगे । उनले शहरकै मुख्य भाग व्रmस गरेर अस्पतालको क्षेत्र देखाउँदै भने, “म यहीँ सरकारी अस्पतालमा जन्मेको हुँ । त्यसको विपरीत रहेको प्राइवेट अस्पताल धेरै महङ्गो भएकाले धनाढ्य परिवारले मात्र उपचार गराउन सक्तछन् । शिक्षामा भने त्यस्तो भेदभाव छैन ।” यहाँ सार्वजनिक सवारीका साधनमा पैसा लिइँदैन रे । यस्तै संचार सुविधा पनि फ्री । स्वास्थ्यमा भने नेपालकै जस्तो लुट्ने प्रवृत्ति रहेछ ।
दक्षिण भारतीय मूलका यी रसिला ड्राइवरसँग कुरा गर्दागर्दै २० कि.मि. टाढाको यात्रा सकिएछ । जिल्लान्तर हुनेबेलामा कार्डबाट सवारी साधनको कर भुक्तानी गर्दा रहेछन् । एउटा पहाडको पहरोभित्र रहेको गुफानजिक पु¥याएर उनले भने, “यहाँको मन्दिर परिसर र गुफा हेरेर आउनुस्, समय आघाघण्टा मात्र ।” विशाल भीमकाय पित्तले मुर्गन भनिने कार्तिकेयको मूर्ति । मूर्तिको अगाडि खुला ठाउँ । बायाँपट्टि विशाल मन्दिर । मन्दिरभित्र छि¥यौँ । गणेश, शिव, देवी, राम, सीता सबैका छुट्टाछुट्टै मूर्ति र कोठा । सबैमा पुजारीहरू आ–आफ्ना औपचारिक पोशाकमा । घुम्दै सबैको परिव्रmमा र दर्शन गरियो । बाँदरहरू पशुपतिनाथकै जस्तो, परेवा उस्तै । बाँदर भने खिनाउटे, मरन्च्याँसे । बाँदरलाई खुवाउने केरा, फलफूल त्यहीँ पाइने । केही पर्यटकहरू हातैमा केरा लिएर बाँदर उफार्दै थिए । गुफामा जाने सिँढी २७२ वटा । समाउँदै उक्लन मिल्ने ।
कार्तिकेयको मूर्ति अगाडि फोटो खिच्नेहरूको भीड । यस्तै सिँढीमा उक्लदा पनि बाँदरहरू यत्रतत्र । गुफाभित्र राम, सीता, हुनमानसहितका मूर्तिहरू बिजुलीको प्रकाशमा टल्किरहेका । यो प्राकृतिक गुफालाई रामायणकालीन अवस्थिति झल्काएर पर्यटकलाई तान्ने कस्तो जुक्ति ? उता मन्दिरका छानाछेउमा पनि स–स्याना कलात्मक मूर्तिहरूकै सजावट । यहाँ वर्षको एकपटक मेला पनि लाग्दो रहेछ । कार्तिकेयलाई वर्षादका देवताको रूपमा पूजा गरिँदो रहेछ । त्यस्तो मेलामा १२ लाखसम्म मानिसहरू भेला हुने कुरा गाइडले बताए । कति त त्यो समय व्रत बसेर शहरबाट खाली खुट्टा आउँछन् रे !
आधाघण्टा मिलिक्कै बित्यो । यो भीर र पहरा भित्रको वाटु केभ भनिने गुफा र भीरमा रहेको जङ्गल तथा मन्दिर, मूर्तिलाई क्यामराभित्र र आफ्नो मनभित्र पनि कैद गरेर हामी अर्को गन्तव्यतर्फ लाग्यौँ । शहरदेखि पूर्व जाँदै गर्दा बाक्लो जङ्गली क्षेत्रभित्र हामी पस्यौँ । गाइड भन्दै थियो, “यो राष्ट्रिय वन क्षेत्र हो । यो क्षेत्रभित्र गाउँले जनजीवन छ ।” हो, मैले खोजेको रवर उत्पादन हुने र घामै छेल्ने बाक्लो जङ्गल यही थियो । यस्तो क्षेत्रभित्र पनि जाने र आउने दुई लाइनका छुट्टाछुट्टै पक्की सडक । हामीलाई गेन्टिङ हाइल्याण्ड लाँदै थिए । ६००० मिटर उचाइ रहेको त्यो पहाडलाई विकास गराउन एकजना चाइनिज मूलका व्यापारीको प्रशंसा गर्दै उनले भने, “मुस्लिमहरूको धर्मले जुवा अर्थात् गेम्वलिङ्ग खेल्ने अनुमति दिँदैन । त्यहाँ ७००० रुम भएको होटल खोल्ने अनि विभिन्न किसिमका जुवाहरूको खेल खेलाउने कुराहरूलाई मुस्लिम शासकहरूले पहिले अनुमति दिएनन् । शासकहरूको परिवर्तनलाई अर्थात् मन्त्रीहरूको अदलबदल नहुन्जेल उनी पर्खेरै बसे । धेरै पापड बेले । अन्त्यमा अनुमति पाए । यी व्यापारीले खोलेको होटल पछि यति चल्यो कि त्यसको शाखा यिनले सिङ्गापुरमा पनि खोलेका छन् । यो बाटो, केवलकार, मनोरञ्जक विद्युतीय खेल सबै उनकै खर्चमा निर्माण भएको हो ।” केवलकार पुग्ने बेलामा ती व्यापारीको आवास र फूलबारी, बगैँचाको सुन्दर क्षेत्र पनि उनले देखाए । जान त सवारी साधनहरू हाइटसम्म नै जाँदा रहेछन् तर उनले हामीलाई केवल कारको आवाना स्काइ भन्ने स्टेसनमा पु¥याएर भने, “तपाईंहरू जानुस्, रमाइलो गर्नुस्, म चारबजे लिन आइपुग्छु ।” शहरदेखि हाइल्याण्डसम्मको सडकको दूरी ६० कि.मि. रहेछ । यस्ता हाइलैण्डहरू अन्यत्र पनि खोलिदै रहेछन् ।
हाम्रो टिकट हाते मेसिनले चेक गरेर केवलकारमा चढ्न अनुमति दिए । चन्द्रागिरिकै जस्तो जङ्गल अनि तलचाहिँ पहाडकै फेदीमा खोँचमा बसेको स–स्यानो शहरकै जस्ता गगनगुम्बी महलहरू । यस्तो जङ्गली एरियालाई गुल्जार बनाउने ती चाइनिज व्यापारीको सपनालाई सम्मान गर्नु, यो क्षेत्रकै कर्तव्य हो जस्तो लाग्यो । केवलकार उकालिदै जाँदा टाढासम्म देखिने पहाड, आकाशको कुइरो, जङ्गलसँगै चिसोको पनि अनुभूति भयो । बीचमा अग्लो चाइनिज शैलीको मन्दिर रहेछ । केही चाइनिज मूलका मान्छेहरू यसको नजिकैको स्टेसनमा उत्रदै पनि थिए । हामी उत्रेनौँ तर मन्दिरको फोटो भने खिच्यौँ । केवलकार चढ्न लाग्दा र यस स्टेसनमा रोकिदा फोटो खिच्ने क्यामरा म्यानहरू ठिक्क पर्दा रहेछन् । उत्रदा फोटो कम्प्युटर स्व्रिmनमा मात्र होइन, फ्रेममा सजाएर राखेको पनि पाइने । लिए पनि हुने, नलिँदा कर गर्दा रहेनछन् । एउटा अनौठो हाम्रो देशमा पाँचहजार मिटरको उचाइमा पर्दछ – हिमरेखा तर यहाँ छ हजार मिटरको उचाइमा पनि हिउँ शून्य । रमाउँदै, फोटो खिच्दै, गफिदै, टाढा–टाढाका पहाडी जङ्गली भूभागको टाउको टेकियो । केवलकार रोकियो । हामी उत्रियौँ । बसबाट आउने यात्रीहरू आफ्ना सुटकेस घिसार्दै होटलतिर जाँदै थिए । ७००० सिटे लामो होटल देखियो ।
गेन्टिङ हाइल्याण्ड
हामी लिफ्टबाट तल ओर्लियौँ । चारतलामुनि त्यहाँको दृश्यावली कम्प्युटरका ठूल–ठूला पर्दामा घुमाइ–घुमाइ देखाइएको । चर्को सङ्गीत । अगाडि कारहरू सजाएर राखिएका । यी कसै कसैले जुवामा जित्ता हुन् । घुमेको आकृतिको चारतले भवन । कपडा बेच्ने पसलहरू, बैङ्क, चमेनागृहहरू, थरिथरिका गेम खेलाउने जुवाघरहरू । अलिकपर विद्युतीय तार, झोलुङ्गाहरूमा खेलिने खेलहरू, पौडी खेल्ने पोखरी, चट्टानको कृत्रिम पहाड, कृत्रिम हिउँ । मानिसहरूको कुँडुलो । अपाङ्गहरूलाई समेत यात्रामा घिसार्दै ह्विल चेयर । कति हो कति आकर्षक ठाउँ र खेल । बजारकै जस्तो कत्रो भीड ? धेरजसो चाइनिज मूलका मान्छेहरू ।
हामी फनफनी घुमिरह्यौँ । नानीहरूले केही राम्रा कपडाका लुगाहरू किने । भोक लाग्यो । चमेनागृहमा पसेर आलुका चाना, कफी खायौँ तर यहाँको कालो कफी खान सकिएन । त्यसै आधाजति फालियो । खुट्टा गले । बस्ने ठाउँहरूको भने कमी । हामीलाई जुवा खेल्नु थिएन । त्यस्तै अन्य केटाकेटीले जस्तो पीङमा झुन्डिनु पनि थिएन । गेन्टिङ हाइल्याण्ड घुम्न पाएकोमा भने मख्ख परेका थियौँ । घडी हे¥यौँ । तीन बज्न लागेछ । केहीबेर टहलियौँ र भुइँतलाको सङ्गीतमा झुल्यौँ । साढे तीन बजे लिफ्टबाट पुनः केवलकार चढ्ने ठाउँमा लाइनमा लाग्यौँ । पालो आयो । सरर्र आएको जस्तै उनै दृश्यावलीहरूमा रमाउँदै फर्कियौँ । माथिको भन्दा यहाँ तलका चमेनागृहहरूमा राखेका खानेकुराहरूमा हामी लोभियौँ । खास गरेर गहुँको रोटीहरू यहाँ पाइँदो रहेछ । यात्रीहरू खाँदै थिए । ड्राइवर आइ नपुगुन्जेल फोटोहरू खिच्तै यता–त्यता गरिरह्यौँ ।
फर्कदा क्वालालम्पुरमा ६० कि.मि. मात्र भूमिगत रेल वे भएको, जमिनमा भने उही ब्रिटिसकै पालामा चलेका रेलहरू मर्मत गरेर चलाइदै गरेको जानकारी गाइडले दिए । ठाउँ ठाउँमा शहरमै पनि त्यस्ता रेलहरू कुदेको दृश्य हामीले देखेकै थियौँ ।
०००
क्वालालम्पुर छाडेको दिन
आजको होटलको नास्ता दक्षिण भारतीयहरूकै जस्तो थियो । हामीले अनुमान लगायौँ – “होटलमा बस्ने यात्रीहरूको बढी सङ्ख्या हेरेर नास्ता बनाइदो रहेछ क्यारे ।” होटलमा यस अघि चाइनिजहरूको बढी सङ्ख्या देखिन्थ्यो भने आज भारतीयहरूको । सिङ्गापुरकै जस्तो नास्ता पाएर हामी रमायौँ । हाम्रो उडानको समय रातको १२ बजे । होटल ३ बजे नै छोड्नुपर्ने रहेछ । रिसेप्सनमा कुरा गर्दा एउटा कोठा छाड्नुस् अर्कोको १०० रिङ्गेट तिर्दा हुन्छ भन्ने सल्लाह दिए । तीन बजेदेखि नै सामान निकालेर उनीहरूको स्यानो बैठकमा मच्छडलाई खुवाउँदै बस्न उचित लागेन, त्यसैले पैसा थपेर एउटै कोठामा सामान सा¥यौँ । दिउँसो अन्यत्र घुमाउने ट्रावलको योजना पनि थिएन । आफैं के एल् टावर चढ्ने योजना बनायौँ । ट्याक्सीभन्दा पठाउ सस्तो भनेर होटलवालाले मोबाइल सर्च गर्न सिकाए । उनीहरूकै सल्लाहअनुसार दिउँसो निक्लियौँ । काठमाण्डूभन्दा दोब्बर नै जनसङ्ख्या रहेको यो शहरको क्षेत्रफल भने २४३ वर्ग कि.मि. । अधिकतम उचाइ ६३ मिटर रहेको यो शहरको मुख्य भाग भने आकर्षक सिङ्गापुरकै जस्तो सफाइ, सडक किनारामा रुख बिरुवा, फूलबारी तर मुख्य सडक छाडेर गल्लीतिर लाग्दा भने फोहोरको डङ्गुर जताततै थुपारिएको पाइने । समय मिलाएर फ्यालिँदो हो । दुर्गन्ध भने फैलिएको थिएन । पुराना घरहरूमा झ्याउ उम्रिएको पनि देखियो । यो शहरभन्दा बाहिर भने हाम्रै देशकोजस्तो पहाडै–पहाड । अग्लो होचो जमिन । ग्रामीण क्षेत्र भने अविकसित हाम्रैजस्तो । त्यस्तो क्षेत्रमा भने पेट्रोल बेचेको पैसाको सदुपयोग गर्दै कल कारखानाहरू चाहिँ प्रशस्त खोलिएका छन् । सडकको सञ्जाल उस्तै ।
शहरकै केन्द्रबिन्दुमा रहेको के एल टावर मिलिक्कै पुगियो । देख्न त साँझमा यसको झिलिमिली टाढैबाट हेरेकै थियौँ । यसको माथिल्लो भागबाट शहरको सबै टेलिफोनको कन्ट्रोल गर्ने अफिस रहेछ । पहिलो तलामै टिकटको व्यवस्था । लिफ्टबाट माथि घुम्ने ठाउँमा पुग्यौँ । साढे चारसय मिटरको उचाइ भएको यो टावरबाट देखिने दृश्य अत्यन्तै मनोरम । दूरबिनबाट अर्को बन्दै गरेको टावरका मान्छेहरू पनि देखिए – टोपधारी । अग्ला टावरजस्ता घरहरू, हाउजिङ्ग, पार्क, नदी, जङ्गल सबै घुमिघुमी हे¥यौँ । यो टावरकै जस्ता नमूनाहरू पनि टाँगिएका । त्यसको छेउमा बसेर फोटाहरू खिच्यौँ । अरू यात्रीहरू पनि गोलघर वरिपरिको वरण्डामा घुम्दै सुस्ताउँदै आनन्द लिइरहेका थिए । एकघण्टा जति त्यहाँको उचाइको चिसो खाएर तल ओर्लिएर पार्कजस्तो ठाउँमा निक्लदा त तातो भुत्भुते टाउकामा खन्याएजस्तो गर्मी । एक दुईवटा फोटो हतार हतार खिचेर पुनः टावरकै भित्री भागमा पस्यौँ । अघि लिफ्टबाट ओर्लदा यात्रीहरूका साथ आएका गाइडले भन्दै थिए, “यहाँ विना अनुमति टावरबाट चार जना जर्मन युवा÷युवतीहरूले प्यारासुटबाट जम्प गरेछन् । त्यसपछि सेनाले तुरुन्तै यसलाई घेरेर तिनीहरूलाई पव्रिmयो । त्यो बेला टावर एकहप्ता बन्द भयो । अहिले तिनीहरू तीन वर्षको कैद सजाय भोगिरहेका छन् । के हाम्रो नीति–नियम मिच्न पाइन्छ ?” उनी प्रश्न गर्दै पनि थिए ।
उनी सबै नागरिकले आ–आफ्नो नीति र मर्यादामा हिँड्न हामीलाई सिकाउँदै थिए । हामीले समर्थन जनाउँदै टाउको हल्लायौँ । भित्रभित्रै कानुन मिचेर रजाइँ गर्ने हाम्रा अगुवा नेताहरूको व्रिmयाकलाप सम्झेर आफैँ कँुडियौँ पनि । टावरको मुनिको पार्कबाट पनि शहरको दृश्य राम्रै देखिदो रहेछ । टावर नै अलिक अग्लो ठाउँमा थियो । फर्कने सुरसार ग¥यौँ । फोनबाटै सम्पर्क गरिएका पठाउवाला आइपुगे । प्रविधि जाने कति सजिलो ।
के.एल्. टावर
होटलमा हामीलाई छाडेर दिदीबहिनी किनमेलका लागि चाइना टाउनतिर लम्किए । फर्कदा हामीले पनि एउटा पसलमा पसेर झोला, पर्सहरू किनेका थियौँ । नानीहरू झन्डै तीन घण्टापछि फर्किए । सबै शहरै छापा मारेछन् । घुम्न आएपछि अलेली थाकेको अनुभूति र अनुभव नसँगाले केको मज्जा ?
साँझमा सरावन भवन नै पुग्यौँ । सधैँ एकैनासको खानेकुराको अर्डर गर्ने भनेर उनीहरूले हामीलाई चिनी सकेका थिए । फेरि घुम्न आउँला भन्दै र नेपाल घुम्न आउनू भनेर उत्प्रेरित गर्दै हामीहरू विदा भयौँ ।
आठ बजे नै एयरपोर्ट पु¥याउने गाइड आइपुगे । उनलाई केहीबेर कुराएर हामी निक्लियौँ । उनले शहर घुमाउँछु भनेर ट्विन टावर पु¥याए । साँझमा बिजुलीको चमकमा चम्किने दृश्यलाई कैद गर्दै फोटो पनि खिचिदिए । दिउँसो भ्रमण गरेको के.एल्. टावर पनि सन्ध्याकालीन दृश्यमा जगमगाएको देखिन्थ्यो । मुस्लिमहरूको बाक्लो बस्ती भएको बजारक्षेत्र हुँदै बुकी भिन्ताङ र चौबीसै घण्टा खुला रहने सपिङ सेन्टरहरू पनि उनले देखाए । सङ्गीतको धूनमा मस्त रहने सङ्गीतज्ञहरूको झुण्ड र बजारको अत्यन्तै महङ्गो मानिने तर स्तरीय रेस्टुरेन्टहरू पनि देखाए । पूरै शहरको दृश्यावलीपछि व्रmमशः जङ्गल, ग्रामीण क्षेत्र देखाउँदै लगे । एयरपोर्ट टाढै रहेछ । हुनत शहर– बस्तीभन्दा टाढै एयरपोर्ट हुनु जाति तर हाम्रो काठमाण्डूमा भने एयरपोर्ट घना वस्ती भएको क्षेत्रभित्र छ । दुईटा एयरपोर्ट दायाँ बायाँ एकै ठाउँमा अलि वरपर रहेछन् । आज हामीलाई ल्याउने भारतीय ड्राइवर पहिलेको भन्दा अलिक बूढा जस्ता थिए । सरल र मिजासिला नै रहेछन् । एयरपोर्ट पुगेपछि हामीले केही ड्राइफुट कोसेली दियौँ । धेरै खुशी भए । एयरपोर्टको लिफ्टसम्म पु¥याएर हामीलाई भने, “पाँच तला माथि चढ्नुहोला । राम्ररी जानुहोस् ।” लिफ्टबाट उत्रेपछि हामी कता जाने भनेर अलमलियौँ । यसो हेर्दै र आफ्ना सामान गुडाउँदै जाँदा कोलम्बो जाने ठाउँमा पो पुगेछौँ । फेरि फर्केर आउँदा नेपालीहरूको ग्रुप भेट्टायौँ । सबै कारखानाका कामदारजस्ता । उनीहरूका सुटकेसहरू ठूलाठूला । पूरै जालीले बेरिएका । एकजोडी दम्पती हामीसँगै सिङ्गापुरको फ्लाइटमा आएका भेटिए । काठमाण्डूकै रहेछन् । सामान चेक गर्दा तीनवटा पोको भएका एकजना नेपाली यात्रुलाई दुइटा पार्न सुझाव दिँदै देखिए – कर्मचारीहरू । लाइनमा आफ्नो सामान चेक गराएपछि अध्यागमन कार्यालयतिर जान निर्देशन आयो । स्वदेशी र विदेशीको बेग्लाबेग्लै लाइन । डकुमेन्ट हेरेर कम्प्युटरले फोटो खिचेपछि जान अनुमति । तल्लो तलामा आ–आफ्नो टर्मिनल पु¥याउने रेलहरू तयार । सबैभन्दा अगाडि हामी नै पुगेछौँ, कोही थिएनन् टर्मिनलमा । व्रmमशः थपिदै गए । महिलाहरू एकदमै कम । बढी कामदार युवाहरू । छोरीलाई त कोसेली किनेँ तर बूढीलाई त केही किनिएन भन्नेहरू पनि थिए । एकजना अङ्ग्रेज दोहा जाने थिए ट्रान्जिट काठमाण्डू । यस्तै दस बाह्रजना मुस्लिम युवा÷युवती पनि तीर्थयात्रामा उतै जाने । यसरी काठमाण्डू शहर पनि ट्रान्जिट शहर बन्दै गएको थाहा पाउँदा खुशी नै लाग्यो । पूर्वी देशबाट पश्चिम जानेका लागि सजिलो पनि । केही यात्रीहरू भुइँमा थ्याच्च बसेर लुँडो खेल्न थाले । पर्खदा–पर्खदा ११ बजेतिर सेक्युरिटीको चेक सुरु भयो । जुत्ता, पेटी, गहना, पर्स खोलेर राख्नु पर्ने बेग्लै मेसिनमा । खानेपानीसम्म पनि फाली दिए । तरल पदार्थमा शङ्का गरिँदो रहेछ । हामीसँगै सिङ्गापुर घुम्ने साथीले अर्काको झोला बोकी दिएका रहेछन् । त्यो झोला दिने मान्छे नपाउँदा उनी दिक्क भएका थिए । बल्लतल्ल त्यो दिने मान्छे फेला पार्दा उनी रिसाए । धेरैबेर बोकेर ल्याउँदा अर्काको भलो गर्न नहुने रहेछ, भन्दै पनि थिए ।
जहाजमा बोर्डिङ गराउँदा महिलालाई प्राथमिकता । त्यसपछि व्रmमशः पछिबाट नम्बर काउन्टिङ गर्दै बोलाए । जहाजको सिट असजिलो । दुवैतर्फ तीन सिट । हामी बूढाबूढीको छेउमा एकजना अग्ली महिला थिइन् । उनी पाँचवर्षपछि नेपाल फर्केकी भन्दैथिन् । गाडीको पाटपूर्जा बनाउने कारखानामा उनले काम पाएकी थिइन् रे । अगाडिको बिजनेस क्लासको सिटहरू खाली थिए । जहाज उडेको आधा घण्टापछि त्यतै गएर म चाहिँ ढुक्कले सुतेँ । विमान परिचारिकाहरू पनि सुतेको देखियो – खास्टो ओढेर । विमानमा कम्प्युटर थिएन । गीत पनि सुन्न सकिएन । बिहान छ बजे काठमाण्डू एयरपोर्ट उत्रने सूचना प्रसारण भएपछि उठियो । यात्रा सफल भएकोमा हामी खुशी भयौँ ।