नारायण ठूलोबाको काजकिरियामा रहेका दाजुभाइलाई सघाउन केही आफन्त र गाउँलेहरू जम्मा भएका थियौँ । क्रिया गर्ने छोराहरू घरको पूर्वतर्फको पालीकोठामा परालमा सुतिरहेका छन् । पश्चिमतर्फको पालीकोठामा बुहारीहरू गाइँगुइँ कुरा गर्दै छन् । क्रियापुत्री बसेको कोठाको नजिकै, घरको मूल ढोकाको अगाडिको पिँढीमा चारजना तास खेलिरहेका छन् । नजिकबाट चार-पाँच जनाले तासको खेलमा होमा हो मिलाइरहेका छन् । त्यहीँ नजिकै भएको खाटमा भतिज गणेश सुतिरहेको छ । म भने उसकै नजिकमा हातले टाउकोलाई टेको लगाएर खाटमा पल्टिरहेको छु ।
वास्तवमा तास खेल्नु त क्रियापुत्रीहरुलाई कुर्ने र आवश्यकतामा सहयोग गर्ने बहाना मात्र हो । जीवनको पत्ती मिलाउन हार मानिरहेकाहरूलाई पनि तासको खेलमा बाजी मार्दा एकैछिन भए पनि जीवनमा नै जित हासिल गरेको भ्रम प्राप्त हुन्छ । त्यसैले त तासको खेल पैसा जित्ने मात्र होइन एउटा उत्साहको खेल भइदिन्छ । म भने तासको खेलमा रमाउने र ध्यान केन्द्रित गर्ने कार्यमा असफल नै रहेँ ।
घरभन्दा तल रूखहरूले ढाकिएर बारी जङ्गल नै बनेको छ । जुठेल्नासँगै खुर्सानी, गोलभेँडा, साग र मौसम अनुसार थोरै तरकारी लगाउने साँघुरो-साँघुरो गरो भने रूख विहिन छ । बारीको पुछारमा रहेको काभ्राको रूख र त्यसको फेदमा रहेको पँधेरोमा पुग्न त दिउँसै पनि डर लाग्ने भएको छ । रातको शान्त वातावरण र मान्छेको कल्याङकुलुङ चलिरहेकै अवस्थामा थोरै तल एउटा जङ्गली जनावरको ह्वाप्प-ह्वप्प गरेको आवाज आउँछ । आवाजले तास खेल्नेदेखि त्यहाँ रहेका सबैको ध्यान खिच्छ । गोठको नजिकै रहेको शौचालयमा गएकी एकजना महिला घरतर्फ दौडेर आइन् । सबै पिसाब शौचालयमा विसर्जन गर्न भ्याइन कि, भ्याइनन् ?
तास खेल्दै गरेका रामप्रसाद काका चर्कै आवाजमा काराउनु भयो । " बाघ ! बाघ ! "
तास खेलिरहेकाहरूले हातमा रहेका तास आफ्नो अगाडि घोप्ट्याए र आफ्नो शरीरलाई तन्काउँदै कान ठाडा पारे ।
उहाँसँगै कसैले भने ”किन कराएको होला ?”
रामप्रसाद काका फेरि चर्कै आवाजमा भन्नुभयो "ह्यअ.....नकारा! हामी यहीँ छौँ ।"
कसैले " के ले त्यसका बच्चा खाइदिएछ ? अस्ति ज्यामिरे खेतमा मरेका बच्चा भेटिएका थिए, तिनै बच्चा खोज्दै यता आएर कारउँदै छ कि " भने ।
कसैले भने "आजकल समसाँझैमा कराउन थालेको छ ।"
एकछिन त्यसैतर्फ सबैको ध्यान मोडियो । एक लयमा चलेको तास खेल र शान्त वातावरण एकछिन हल्लामा बदलियो ।
मेरो नजिकै सुतेको गणेश मेरो नजिकमा टाँसियो । मैले पनि उसको शरीरलाई दाहिने हातले फन्को लगाएर आफ्नो नजिक तानेँ ।
हाम्रो तिर सबैले चितुवालाई बाघ भन्थे । मैले पनि त्यही भनेँ । नारायण ठूलोबा बस्ने घरमा मात्र होइन लाम्सुका सबै घरको दैलामुनिको जुठेल्ने गराबाहेक अरु सबै बारी बाँझो भएको छ । पाखा बारी सबैमा विशाल रुखहरू हुर्किएका छन् । सानै देखि कमाएको, खनिया, गेडुला, बेलौती खोजेर खाएको बारीमा झाडीले ढाकेर जानै नसकिने जङ्गल भएको छ । पहिलो पटक बलेवा जाँदा दुई घण्टा पैदल हिँडेपछि मात्र बाँदर देखेको र चिनेको हो । अहिले त्यही जङ्गलमा बाँदरको बास हुन थालेको छ । लाम्सु गाउँमा मात्र होइन वारिपारिका गाउँमा समेत बाँदरले आतङ्क नै मच्चाएको छ । मान्छेले आँखा झिमिक्क पार्न नपाउँदै बाँदरका हुल बारीका खानमिल्ने तरकारी, फलफूल मात्र होइन घरभित्र पसेर मकैका झोतेला बोकेर भाग्छन् । गाउँ जङ्गल भएको छ । हुन त प्राणधान्न सहयोग पुर्याएको खेतबारीमा झाडी र काँडा तब मात्र उम्रिन्छन्, जब मान्छेको मनबाट आफ्नो माटोप्रतिको मोह मरेर जान्छ ।
त्यो अनौठो आवाजले मेरो मनमा बाघसम्बन्धी प्रश्नहरु उत्पन्न भए । भद्र स्वभावको, धेरै नकाराउने जङ्गली जनावर किन मान्छेको यति नजिकै... आएर कराए होला ? मैले त्यो आवाजलाई सन्देह गरेँ । मनले भन्यो "यति नजिकै बाघ कराएको होइन होला, अन्य जनावर पनि हुन सक्छ " बाघ तथा चितुवा कराकै होला भन्ने कुरामा पूर्ण विश्वस्त हुन सकिन । मनले सोच्यो बाघ वा बाघ प्रजाति विना कारण त्यसै त कराउँदैन । मैले सुनेको बाघ वा बाघ प्रजाति कुनै समस्या आइलागेमा कराउँछ, कि बच्चाहरूलाई डाक्न या परिवार जम्मा गर्न कराउछ । समागमको समयमा भालेले पोथीलाई आफूतिर आकर्षित गर्न र भालेले आफ्नो क्षेत्राधिकार जानकारी दिन कराउँछ । शान्त स्वभावको बाघ बस्तीको त्यति नजिकै कराउनु नपर्ने । तर मेरो मनको कुरा अरूलाई सुनाइनँ । बरु तत्काल मोबाइलको डाटा अन गरेँ र युट्युबमा "चितुवा कराएको आवाज" टाइप गरेँ, अनि सर्च थिचेँ । युट्युवका एउटा होइन दुईचार च्यानलमा राखिएका आवाज औलाले थिचेँ र सुनेँ । घरको तल काराएको आवाज र मोवाइलमा सुनेको आवाज जस्ताको तस्तै थियो, ठ्याक्कै मिल्दो थियो । युट्युबले शङ्का मेटाइदियो । बाघ काराए पछि उत्पन्न भएको हल्ला शान्त भयो । तास खेल्दै गरेका र नजिकमा बसेकाहरूको हल्ला पनि मौनतामा बदलियो । चर्को- चर्को हल्लाखल्लाका बिच चलिरहेको खेल पनि मौन खेलमा बदलियो । त्यही मौन अवधिमा मेरो मस्तिष्कमा भने बाघसँग भएको जम्काभेटको रिल फनफनी घुम्न थाल्यो।
जम्काभेट भएको चाँही कालुङखोला पारी बिरौटाको जङ्गलको पुछार तथा गोस्ती खोला र कालुङ्खोला मिसिने दोभान नजिकै हो । कसरी भेट भयो भन्ने कुराको भने केही भूमिका समेत थाहा पाउनु पर्छ । हाम्रो केही खेत र बारी कालुङ्खोला पारी थियो । खोलाको किनारबाट खेत र पाखो सुरु हुन्थ्यो भने माथि बारी थियो । त्यो चिलाउने खर्क, बस्नाते डाँडाको पुछा तिर । खोलाको पानी लाग्नेमा खेत थियो र त्यस भन्दा माथी खरबारी अलि भाथि बारी थियो । बारीको सिरानमा गोठ थियो । खेत र बारीको घाँस बर्षादमा उर्लेर आउने कालुङखोला तारेर घर भएको लाम्सु डाँडामा बोक्न कठिन हुने । हिउँदमा त्यो खेत र बारीलाई लाम्सु गाउँबाट एकजनाले दिनभर बोकेको मलले एउटा गरालाई पनि नपुग्ने । दिनभर मल बोक्दा शरीर हदेलो खानुपर्ने हुने । हुन त किसानी जीवन गधाजस्तै त हो, भारी त कहिले छट्छ र ? त्यही पनि भरियाले ढाकर चौतारीमा टुसुक्क बिसाए जस्तो सहजताको लागि गोठ सारिन्थ्यो । हरेक वर्ष खेति लगाउने माँचो सकिएपछि, हरेलो फालेपछि, साउन लाग्दालाग्दै गोठ सार्ने चलन थियो । बारीको सिरानमा भएको गोठमा गाईगोरू बाँध्यो, खेत, बारी र खरबारीबाट घाँस बोक्यो निकै सहज हुने । हाम्रो गोठसँग जोडिएको लक्ष्मी हजुरबाको पनि गोठ थियो । समस्या र सहजता हाम्रै जस्ता थिए । दुईवटा गोठ भएपछि आउन-जान, गाईगोरू चराउन सँगै हुने सहज हुन्थ्यो । घर नै छाडेर पढ्न अन्यत्र गएको अवस्थामा बाहेक गोठको जिम्मा मेरो हुन्थ्यो । गोठमा जाने, गाईको भकारो सफा गर्ने, घाँस काट्ने, दिउँसोमा गाई-गोरु चराउने, दुहुनु गाई भए दुहुने लगायतका काम मेरो जिम्मामा पर्थे । साउनमा सारिएका गाईगोरुहरू खेती थन्काउने मौसम तथा कार्तिक सम्म पनि त्यँही रहन्थे । भदौ लागेपछि कुनैवर्ष अलि छिटो त कुनै वर्ष भदौको अन्तिम सम्ममा दाम्ला समेत डोकोमा बोकेर गाईगोरु खेद्दै लाम्सु ल्याउँथ्यौँ । दुईवटा गोठमा प्राय दुईजना गोठाला हुन्थ्यौ । आफ्नो आफ्नो काममा लाग्ने हुनाले गोठमा एक्लै हुने अवस्था आउँथ्यो ।
दिउँसो गाईगोरु चराउन लैजाँदा कहिले सँगै हुन्थ्यौ त कहिले फरक-फरक स्थानमा लैजान्थ्यौ । बिहान सवेरै गोठमा गयो घाँस काट्यो दिनभरलाई घाँस पुर्यायो । दिउँसो गाईगोरु फुकायो चराउन लग्यो । बेलुकी चरनबाट फर्केपछि बिहान काटेर गोठको कुनामा राखेको घाँस टाट्नामा हाल्यो । दुहुनो गाई भए, गाई दुह्यो अनि लाम्सुको बाटो लाग्यो । प्रायः दिनको कार्यतालिका यस्तै हुन्थ्यो । अन्य काम पर्दा, झरी परेको दिनमा नियमित कार्यतालिकामा परिवर्तन आउँथ्यो । ठूलो वर्षा भएको दिनमा घाँस काट्न पनि नसकिने फुकाएर चरनमा लैजान पनि नसकिने । ओतिने ओढा भएमा उकालो लागिन्थ्यो र केही माथि भएको रामप्रसाद कान्छाबाको घरमा गएर कान्छाबा, कान्छी आमा, भाइ-बहिनीहरूसँग गफगाफ गरेर समय काट्यो । ठूलो पानी पर्यो, ओढ्ने पनि छैन भने थारोमा डाँठ राखेर सामान्य बस्न र सुत्न मिल्ने स्थान बनाइएको थियो । त्यसैमा बस्ने, पल्टिने, सुत्ने गरिन्थ्यो । दुहुनो गाई छ भने खिर पकाएर पनि खाइन्थ्यो । अहिले जस्तो मोबाइलको जमाना भए मोबाइल हेरेरै समय बित्थ्यो होला, त्यतिबेला कहाँ यस्तो प्रविधि हुनु । कहिले झ्यामझ्याम पानी पर्यो भने खोलो बढेर घर फर्कन नै नसकिने पनि हुन्थ्यो । गोठमा ओत बसेर वारीपारिका दृष्यहरू हेर्दा रमाइलै लाग्थ्यो । बारीको कर्कलोमा परेको वर्षात्को पानी सानो थोपा मात्र पातको बिचमा रहन्थ्यो, थप पानी नागबेली आकारमा बहन्थ्यो । सिमसिम पानी र घाम लागेको मौकामा कर्कलाको पातको पानी टल्कँदा साँच्चै हिराको खेती जस्तै देखिन्थ्यो । कोदोमा बाला लागिसकेपछि पानीले सिरसिर हावा चलेको अवस्थामा कोदोबारी नै नाचेको अनौठा दृश्यहरू देखिन्थे । हावासँगै कोदोबारी नै नाचेजस्तो भान हुन्थ्यो । हावासँगै एक छेउबाट कोदोका बाला हल्लिँदै अर्को छेउमा पुग्दा साँच्चै दृश्य आनन्ददायी हुन्थ्यो । हावाले कोदो नुगाउँदै लैजान्थ्यो फेरि कोदो उठ्दै जान्थ्यो । कोदो साँच्चै झुल्थ्यो । यस्तो दृश्यले मन निकै आनन्दित हुन्थ्यो ।
केटाकेटी अवस्थामा बाघ भनेको डराउने, सातो लिने चिज थियो । खाना नखाए बाघले खान्छ । भनेको नमाने बाघले खान्छ । डारउन दिने विम्ब मध्ये भूतप्रेत जस्तै बाघ पनि एउटा थियो । भूतप्रेत कहिल्यै देखिएन । बाघ नदेखे पनि राति रातिमा उसले घटाएका घटना भने वास्तविक हुन्थे । गाउँघरमा त्यतिबेला पनि बाघले बाच्छो लग्यो, बाघले खोरबाट बाख्रो तानेर लग्यो र खायो । बाघले सुँगुर खायो, कुकुर लतार्यो यस्तै यस्तै सुनिन्थ्यो । झण्डै हाम्रोतिर बाघले अरू जे गरेपनि बालबालिकालाई खाएको, झम्टेको र मारेको भने थिएन । बाघ भनेपछि मन नै अमिलो हुन्थ्यो । मेरो मात्र होइन त्यतिवेलाका हामी बालबालिका र वयस्क समेतको मन झसङ्ग गर्थ्यो । अहिले तास खेल्दै गरेको समूहमा बाघ-बाघ भनेर उत्तेजित हुँदै ठूलो आवाजमा कराउने रामप्रसाद कान्छाबाले पनि बाघसँग जम्काभेट भोग्नु भएको थियो । मैले बाघ भेटेको ठाउँभन्दा केही माथि बारीको बाँझो गरामा विपरित दिशाबाट आमुन्ने-सामुन्ने हुँदा कान्छाबा त थचक्कै बस्नु भएछ । बाघ आफ्नो बाटो लागेपछि कान्छाबा पनि उठेर आफ्नो बाटो लाग्नु भएछ ।
हाम्रो हजुरबा हरिप्रसाद कान्छाबासँगै गाउँको पुछारको घरमा बस्नुहुन्थ्यो । घरको आडमा एउटा बारीको केही चाक्लो गरो थियो भने त्योभन्दा तल गोठहरू थिए । गरो भन्दातल र गोठको आडमा बाँसका झ्याङ्हरू थिए । हिउँदको जाडो मौसममा त्यही बारीको गरोमा छाप्रो बनाएर गाईवस्तु सार्ने चलन थियो । हजुरबाले पुजाकोठामा बसेर बेलुकीको नित्य पूजा र जप गर्दै हुनुहुँदोरहेछ । त्यसै बेला समसाँझै बाघले बाच्छो समात्न छाप्रोमा पसेछ । भएका गाईगोरु एकैपटक अनौठो र चर्को-चर्को आवाजमा कराउन लागेछन् । हजुरबाले के भयो ? भन्दै पूजा गर्दा लगाएको लुङ्गी, अनि माथि ओढेको चादर र हातमा गन्दै गरेको रुद्राक्षको मालासँगै गाईगोरु भएको छाप्रोतर्फ लाग्नुभएछ । बाघले बाच्छो समातेको देख्नुभएछ । तत्काल बाच्छोलाई पछाडिबाट समात्नुभएछ र चर्कै डाँको गर्नुभएछ । "बाघले बाच्छो समात्यो, छोड् ऽऽऽऽऽ छोड्ऽऽऽ !" एक किसिमबाट चितुवा र हजुरबाको बीचमा बाच्छो खोसाखोस भएछ । दुईवटा पञ्जाले बाच्छाको गलामा झुण्डिएको चितुवा हजुरबालाई देखेर र उहाँको डाँको सुनेर बाच्छो छाडेर भागेछ । बाच्छो लैजान पाएन । हजुरबा पहाड बन्नुभयो, चितुवा लुते कुकुर जस्तो । कठालोमा बाघका नङ्ग्रा र दाँतको डोब स्पष्ट देखियो । हजुरबाले गफ लगाउनु भयो कि भन्ने शंका पनि रहेन । त्यतिबेला अन्य उपचार त के थियो र तेल बेसार र सतुवा घोटेर चितुवाले बाच्छोको गलामा बनाएका प्वालहरूमा लगाएर पछि बाच्छो तङ्ग्रियो ।
एक दिन पारीको गोठमा गोठालो गर्न गएको बेलुकीपख ठूलै पानी पर्यो, ओढा पनि थिएन । म करिब आठबजेसम्म गोठमा नै बस्नुपर्यो । मेरो उमेर त्यस्तै १४ -१५ वर्षको थियो होला । पानी रोकिएपछि खाली डोको बोकेर घर आउन बारीको डिलै डिलको बाटो केही समय तेर्सो हिँडेर खोलामा झर्न ओरालो लागें । खेती गर्न छाडेको बारी रूखहरूले ढाकेर जङ्गल नै बनेको थियो । बारी सकिएपछि भने बाक्लो झाडीसहितको कटुसको जङ्गल थियो । रुखले ढाकेको पाखोमा बनाइएको सिँढीवाला बाटोमा ओरालो झर्दै थिएँ । कटुसको जङ्गल भएको पाखोतिरबाट चितुवा मेरै अगाडि हामफाल्यो । ऊ माथिबाट तल झर्दै गरेको रहेछ । म पनि ओरालोमा खोलैतर्फ झर्दै थिएँ । ओरालो बाटोमा म माथी थिएँ, ऊ तल । उसले मतिर टाउको थोरै घुमाएर हेर्यो र फेरि फनक्न अगाडि खोलातर्फ नै फर्कायो । ऊ चारै खुट्टाले भुइँ छाड्दै खोला किनारको ढुङ्गामा उफ्रिएर टेक्न पुग्यो । मेरो सास बढ्यो, मुटुले ढ्याङ्ग्रो ठोक्यो । शरीर हलचल भएन । धन्न चितुवा खोला तरेर फटाफट दुई खोलाको बीचमा रहेको सानो बगर हुँदै हाम्रो गाउँतर्फको पाखोमा लाग्यो । अगाडि बढौँ भने बाघ त्यसैबाट भर्खर अगाडि गएको छ । रोकिएर बसौँ भने खोला किनारमा रातिको समयमा एक्लै कसरी बस्ने । फर्कौँ भने माथि झनै जङ्गल छ गोठमा पुगेपनि एक्लै बस्नुपर्छ । बाघले सामान्य अवस्थामा मान्छेलाई केही गर्दैन भन्ने सुनेको थिएँ । त्यसैलाई स्मरण गरेँ, हजुरबाले बाच्छो बचाएको स्मरण गरेँ, भएभरको साहस निकालेँ । साहास भनेको डर नै नहुनु होइन, डरका बिचमा पनि पाइला अगाडि बढाउने हिम्मत गर्नु रहेछ । मुटुलाई दह्रो बनाएँ । सरासर अगाडी बढेँ ।
म पनि खोला तरेर लाम्सुगाउँ जाने पाखाको तेर्पाए-तेर्पाए बाटो हिँडिरहेँ । गाउँनजिकै पुग्नै लाग्दा पल्लो थरका मानिसहरू चर्कै आवाजमा कराउन थाले । चौतर्फी हाँ..... र हुँ....... को हल्ला खल्ला सुनियो । कसैले बाघ आयो ! बाघ आयो ! भन्दै डाँको हाल्न थाले । हाम्रोतिर बाघ गाउँतिर पसेको चाल पाए पहिला चाल पाउने डाको हाल्छ अनि सबै गाउँलेहरू त्यस्तै तरिकाले हाँ र हुँ गरेर हल्ला गर्छन् । म अलि छिटो-छिटो पाइला चालेर घरमा पुगेँ । भोलिपल्ट बिहान गाउँमा हल्ला फैलियो । म हिँडेर आएको बाटो भन्दा केही माथि, गाउँको पुछारमा रहेको घरको खोरबाट चितुवाले सुँगुर थुतेर फालेको रहेछ । त्यो थाहा पाएपछि शरीर जिरिङ्ग भयो । उसले सुँगुर फालेको म हिँडेको बाटोतर्फ नै थियो। उसले गरेको शिकार मेरो नजिकै परेको भएर उसले मलाई अवरोधको रूपमा लिएको भए मेरो हालत के हुन्थ्यो ? भन्ने सोचेँ ।
एस. एल. सी. पास गरेको खबर रिजल्ट निस्केको १५-२० दिन पछि त्यही पारिको गोठमा गोठालो लाग्न गएकै समयमा लक्ष्मी ठूलाबाले पहिलो पल्ट सुनाउनु भएको हो । उहाँ त्यतिबेला शिक्षक हुनुहुन्थ्यो । केटाकेटीमा तर्साइने बाघ प्रत्यक्ष रुपमा नजिकैबाट ठम्याएर अवलोकन मौका पनि एस. एल. सी. पासले दिलाएको हो । मैले मात्र होइन पाटेबाघले खाउँला झै गरेर मलाई पनि हेरेको पनि त्यतिवेला हो । पासको खबरले शरीरमा पखेटा पलाएका थिए, उडौँ-उडौँ भएको थियो । आइ. ए. पढ्ने हुट्हुटीले विभिन्न शहरमा पुर्याएको थियो । कहाँ पढ्ने ? के विषय पढ्ने ? निश्चित भइसकेको थिएन । हुन त बागलुङको सदरमुकाम बागलुङ बजारमा, पर्वतको कुश्मा र फलेवासमा पनि प्रमाणपत्र तह पढाउने क्याम्पसहरू थिए । हाम्रातिरका मानिसहरू धेरै जसो क्याम्पस पढ्न पोखरामा जाने गर्थे । क्याम्पस पढ्ने र पोखरा शहर छुटाउन नमिल्ने गरी गाँसिएका थिए । हाम्र तिरलाई पोखरा पाइक पर्ने मानिन्थ्यो । चितवन र काठमाडौंमा पनि विकल्प थिए । एक पटक चितवन पनि पुगियो र काठमाडौं पनि पुगियो । काठमाडौं पुगेको समयमा एक पटक घुम्नै पर्ने स्थान जाउलाखेल चिडियाखाना हो भनेर पहिला पुगेका आफन्तले सुनाएका थिए । म र मसँगै गएका साथीहरु मिलेर चिडियाखानामा पुग्यौँ । झम्टला जस्तो गर्ने बाघलाई विना डर निर्धक्कसँग हेर्यौं । फलामको बार हामीलाई जोगाउने छेकबार बनेर उभिएको थियो । सदर चिडियाखानामा मात्र ठूलो पाटेबाघ, चितुवा, चरीबाघ र सिंह समेत नजिकबाट नियालियो । चित्रमा दखेको, दिनदिनै जस्तो डरको विम्बको रुपमा सुन्दै आएको त्यो भयानक बाघ आज खोरभित्र थियो भने हामी बाहिर थियौं । कतिबेला कतिबेला ठूलो आवाज निकाल्दै भित्र रहेकाले पनि मुख ठूलो पारेर नजिक हुत्तिन्थ्यो । डर नलागे पनि मन भने झसङ्ग हुन्थ्यो । उमेरसँगै डरको रुप पनि फेरिँदो रहेछ-हिजो जसले मुटु ढ्याङ्ग्रो ठोकाउँथ्यो, आज त्यही कुरा सम्झना बनेर मनमा हल्का रमाइलो ल्याइदिन्छ । मनमा बाघसँग जोडिएका यस्तै अनेकौँ सम्झनाहरू खेलाउँदा-खेलाउँदै मलाई निद्रा लाग्यो ।
यसो गणेशतिर ध्यान दिएर हेरेँ-उसले त आँखा बन्द गरी एउटै गतिमा लामो-लामो सास फेरिरहेको रहेछ । अब निदाएछ भन्ने ठानेर मैले उसलाई बोलाइनँ । बरु मेरो शरीरलाई ऊबाट थोरै टाढा पुर्याएँ । उता तास खेल्ने समूहमा पनि दर्शक कतिबेला हिडिसेकछन् । चारजना मात्र चुपचाप खेलिरहेका, उनीहरूको खेल अब हल्लाबाट इसारामा चल्दै थियो । चराचुरुङ्गी र अन्य कुनै आवाज थिएन सुनसान रात छिप्पिसकेको थियो । हल्ला थिएन शान्त भइसकेको थियो । म पनि हातको अढेस छाडेर सिरानीमा टाउको राखेँ । हातखुट्टा फुक्का पारेर निदाउने प्रयासमा लागेँ ।
हाल चितवन