भर्खरै उडेर गएका थिए चराहरू
जसरी उडेका थिए हजारौं चराहरू
बर्षौंदेखि।
भर्खरै मात्र थियो विरक्त लाग्न थालेको
देखेर ती दृष्यहरू
नारिएर गएका हलगाडाहरू
घस्रीएर गएका सरिसृपहरू
बुर्कुसी मारेका चौपायाहरू
मानिसहरू त झन् नगएको भए
सायद
ती मानिस नै हुने थिएनन्,
यसरी हेर्दाहेर्दै गैरहे सबै सबै
अनि त म हेरिरहेथेँ केवल
मर्दै गरेका थिए जो मेरा विरक्तिहरू पनि।
कहाँबाट समेटुन् नदिका छालहरूले मेरा पाइलाका आभास
कहाँबाट भेटुन् पहराका फूलहरूले मेरा औंलाका स्पर्श
मैले कहिँ कुनै सागर त के कुरा खोला-खोल्सा पनि नाघेको थिइन
अग्लाअग्ला पहाड हिमाल त के कुरा कुनै थुम्सा-थुम्सीहरू पनि उक्लेको थिइन
जहाँ थिएँ त्यहीँ रहें...... ।
छोडेर गए धर्म सकिने
बसिरहँदा आफू नै मासिने,
तर त्यो नितान्त मेरो मोह थियो,
केही थिएन सकिएर जाने
कसैको स्वार्थले ममा जगाएको मोह थियो दया
कसैको निरिहताले ममा जगाएको मोह थियो माया
कसैको अभिमानले ममा जगाएको भय थियो कर्तव्य
कसैको पासोले ममा जगाएको भय थियो धर्म
जे थिए
ती त केवल
अलिकति चिताको दाउरा, अलिकति घ्यू र तेल
अलिकति तर्पणको जल, अलिकति सुल्कोको अग्नी
मात्र थिए।
बाँकी त
कि त सपना थिए
कि त सपनामा त पुरा होलान् कि भनेर
विपनामा गरिएका आश थिए।
ईच्छाहरूले उठ्न नभनेका होईनन्
विद्रोहका फिलिङ्गाहरू निभ्न नखोजेका होईनन्
सबै सबै खरानी भएर खसे
र उठ्दा खरानी भएरै उडे
बाँचुञ्जेल एक हात समाजले बाँधे
एक पाउ घरले र अर्को पाउ देशले
बाँकी एक हातले खाने कि दिशा धुने ?
नैतिकताको धूवाँघर भित्र
अलमल र दिगमिगले सँधै सताइरह्यो।
र आजै आफ्नै खरानीहरूलाई पनि धर्तीमै छोडेर
यहाँ हाजिर भएको छु
र आजै धर्तीका अदालतहरूले
मेरा विरूद्ध
मेरा प्रीयजनहरूको फिराद पत्र लिएर
मेरा नाउँमा
इतलायनामा जारी गरेका छन्।