19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्मान

कथा बद्री अधिकारी August 19, 2026, 12:33 am
बद्री अधिकारी
बद्री अधिकारी

पूर्वतर्फ फर्किएको ठूलो झ्यालबाट छिर्ने घामले कार्यकक्षलाई उज्यालो बनाएको थियो। रातिको वर्षापछि आकाश स्वच्छ थियो। कार्यालय परिसरका अशोक र सिरिसका रूखहरू वर्षाले पखालिएकाले पातहरू झन् ताजा देखिन्थे। पातका टुप्पामा अडिएका पानीका थोपाहरूमा घामका किरण पर्दा क्षणभर टल्किन्थे। खुला परिसरमा उभिएका रूखहरूले हावाको प्रत्येक स्पर्शलाई सहज रूपमा स्वीकार गरिरहेका थिए। प्रकृतिको एउटा आफ्नै स्वभाव हुँदो रहेछ—हरेक वर्षापछि ऊ फेरि आफ्नै लयमा फर्कन्छ।

कार्यकक्षभित्र पनि एउटा निश्चित लय थियो। टेबुलमाथि निर्णयको प्रतीक्षामा रहेका फाइलहरू क्रम मिलाएर राखिएका थिए। दाहिनेपट्टि संविधान, निजामती सेवा, सार्वजनिक प्रशासन र प्रशासनिक कानुनसँग सम्बन्धित पुस्तकहरू मिलाएर राखिएको सानो र्याक थियो। झ्यालनजिकको गमलामा रोपिएको हरियो बिरुवाले कार्यकक्षमा सजीवताको आभास थपेको थियो। भित्तामा नेपालको नक्सा, राष्ट्रिय प्रतीक चिन्हहरू र एउटा घडी झुन्डिएका थियो। घडीका सुइँहरू कुनै हतारबिनै आफ्नै गतिमा अघि बढिरहेका थिए। समयलाई गति चाहिन्छ, हतार होइन भन्ने अनुभूति त्यसले प्रत्येक दिन गराइरहन्थ्यो।

समीरा एउटा फाइलको अन्तिम टिप्पणी ध्यानपूर्वक पढिरहेकी थिइन्। कुनै निर्णयमा हस्ताक्षर गर्नु उनका लागि केवल प्रशासनिक प्रक्रिया थिएन। कागजमा लेखिएको एउटा निर्णयले कहिलेकाहीँ कसैको जीवनको दिशा परिवर्तन गर्न सक्थ्यो। त्यसैले उनले कुनै पनि फाइल हतारमा टुङ्ग्याउने बानी बसालिनन्। अनुभवले उनलाई एउटा कुरा सिकाएको थियो—अधिकारले निर्णय गर्न सक्ला, तर न्याय गर्न विवेक चाहिन्छ।

कार्यालय खुल्न थालेसँगै सेवाग्राहीहरूको आवतजावत बढ्दै गइरहेको थियो। कसैले निवेदन बोकेर आएको थियो, कसैले आफ्नो काम कहिले टुङ्गिन्छ भनेर सोधिरहेको थियो। मानिसहरू आफ्ना अपेक्षासहित भित्र पस्दथे र कुनै न कुनै उत्तर लिएर फर्किन्थे। वर्षौँको सेवाले समीरालाई एउटा कुरा बुझाइसकेको थियो—सरकारी सेवामा सबै समस्या समाधान गर्न सम्भव नहुन सक्छ, तर प्रत्येक मानिसलाई सम्मानपूर्वक व्यवहार गर्न भने सधैँ सम्भव हुन्छ।

त्यही बेला टेबुलको कुनामा राखिएको मोबाइल फोन बज्यो।

समीराले फाइल बन्द गरिन्। स्क्रिनमा अपरिचित नम्बर देखियो।

उनले सामान्य ढङ्गले कल उठाइन्।

"हेलो..."

उताबाट केही क्षण कुनै आवाज आएन।

त्यसपछि एउटी महिलाको स्वर सुनियो—

"भाउजू बोल्दै हुनुहुन्छ?"

समीराले क्षणभर केही भनिनन्। त्यो सम्बोधन धेरै वर्षपछि उनका कानमा परेको थियो।

"हो... बोल्दै छु।"

उताबाट फेरि स्वर आयो—

"म... मोहन दाइकी बहिनी। चिन्नुभएन?"

समीराले आँखा झ्यालबाहिर लगेकी थिइन्। सिरिसका पातहरू हावासँगै हल्का हल्लिरहेका थिए।

"चिनेँ... भन्नुहोस्।"

अर्कोतर्फको स्वर एकाएक गम्भीर बन्यो।

"भाउजू... दाइको स्वास्थ्य धेरै बिग्रिएको छ। अस्पतालमा भर्ना गर्नुपरेको छ। डाक्टरहरूले अझै केही दिन निगरानीमै राख्नुपर्छ भन्नुभएको छ..."

फोन कानमै थियो। समीराले न कुनै प्रश्न गरिन्, न कुनै प्रतिक्रिया जनाइन्।

कहिलेकाहीँ जीवनमा यस्ता समाचार आउँदा शब्दभन्दा पहिले सम्झनाहरू जाग्ने गर्दा रहेछन्।

"के भएको हो?"

समीराले यति मात्र सोधिन्। स्वरमा हतार थिएन, तर उदासीनता पनि थिएन।

"दाइ केही महिनादेखि बिरामी हुनुहुन्थ्यो, भाउजू। सुरुमा सामान्य कमजोरी होला भन्ने लाग्यो। धेरै पटक डाक्टर देखाउनुभयो। औषधि पनि खानुभयो। तर स्वास्थ्य झन् खस्किँदै गयो। अहिले त अस्पतालमै भर्ना गर्नुपरेको छ।"

उताबाट केही क्षण सास फेरेको आवाज मात्र सुनियो।

"डाक्टरले अझै केही भन्नुभएको छैन। तर... अवस्था राम्रो छैन।"

समीराले झ्यालबाहिर हेरिन्। केहीबेरअघिसम्म सिरिसका पातहरूमा चम्किरहेका पानीका थोपाहरू विस्तारै सुकिसकेका थिए। समयले आफ्नै काम गरिरहेकै थियो। मानिसको जीवन भने कहिले कुन मोडमा पुग्छ, त्यसको कुनै निश्चित तालिका हुँदैन रहेछ।

"उहाँलाई के भएको छ?"

"सबै परीक्षण हुँदैछन्। शरीर धेरै कमजोर भइसक्यो भन्नुहुन्छ। धेरै दिनदेखि राम्रोसँग खान पनि सक्नुभएको रहेनछ।"

समीराले केही भनिनन्।

उताबाट फेरि स्वर आयो—

"भाउजू... अर्को एउटा कुरा पनि छ।"

"भन्नुहोस्।"

"दाइ सुतिरहेको बेला कहिलेकाहीँ तपाईंको नाम लिनुहुन्छ। सुरुमा मैले त्यत्तिकै होला भन्ने सोचेकी थिएँ। तर बारम्बार त्यही हुन थाल्यो। त्यसपछि... तपाईंलाई खबर गरूँ कि नगरूँ भनेर धेरै दिन सोचिरहेँ।"

कार्यकक्षभित्र केही क्षण निस्पन्दता फैलियो। बाहिर सेवाग्राहीहरूको आउजाउ उस्तै थियो। घडीका सुइँहरू पनि आफ्नै गतिमा अघि बढिरहेका थिए। जीवन कसैको व्यक्तिगत पीडामा रोकिँदैन, आफ्नो लयमा बगिरहन्छ।

समीराले बिस्तारै सोधिन्—

"अहिले अस्पतालमै हुनुहुन्छ?"

"हो। आज बीस दिन भयो।"

"हजुरहरू को–को हुनुहुन्छ त्यहाँ?"

"म मात्रै छु। बिहान घरमा काम गर्ने दिदी आउनुहुन्थ्यो। अहिले दाइ अस्पतालमा हुनुहुन्छ। म पनि यहीँ छु।"

समीराले गहिरो सास फेरिन्।

"ठीक छ।"

त्यति मात्र भनिन्।

उताबाट केही क्षणसम्म कुनै आवाज आएन। त्यसपछि मोहनकी बहिनीले संकोचपूर्वक भनिन्—

"भाउजू... मैले तपाईंलाई आउनैपर्छ भनेर भनेकी होइन। केवल... यो कुरा थाहा होस् भनेर फोन गरेकी हुँ।"

समीराको स्वर उस्तै संयत थियो।

"समाचार दिएकोमा धन्यवाद।"

फोन टुङ्गियो।

मोबाइल टेबुलमै राखेर उनी केहीबेर झ्यालतिर हेरिरहिन्। कार्यालय परिसरमा मानिसहरूको आवतजावत उस्तै थियो। एउटा सेवाग्राही ढोकाबाहिर पालो कुरिरहेको देखिन्थ्यो।

जीवनको एउटा अनौठो स्वभाव रहेछ—व्यक्तिगत स्मृतिहरूले मनभित्र जति हलचल ल्याए पनि बाहिरी संसारले आफ्नो दैनिकी कहिल्यै रोक्दैन।

समीराले फाइल फेरि खोलिन्।

तर त्यस दिन उनका आँखाले शब्दहरू पढिरहेका थिए, मन भने कतै धेरै टाढा पुगिसकेको थियो।

त्यस दिन कार्यालयबाट घर फर्कंदा सहर उस्तै व्यस्त थियो। सडकमा सवारीसाधनहरूको लाम थियो। आकाशमा फेरि बादल जम्न थालेका थिए। मानिसहरू आ–आफ्नो गन्तव्यतिर हिँडिरहेका थिए। संसारलाई कसैको व्यक्तिगत घटनाले रोक्ने अधिकार हुँदैन रहेछ।

घरको ढोका खोलेर उनी भित्र पसिन्। कोठाभित्र उस्तै शान्त वातावरण थियो। बिहान जसरी मिलाएर राखिएका सामान थिए, बेलुका पनि त्यसरी नै थिए। एक्लै बस्ने मानिसको घरमा दिनभरि समयले धेरै परिवर्तन ल्याउँदैन।

उनले झोला टेबुलमाथि राखिन्। लुगा फेरिन्। चिया बनाएर झ्यालनजिकको कुर्सीमा बसिन्। कपबाट उठिरहेको बाफ विस्तारै हावामा विलाउँदै गइरहेको थियो। तर चियाको स्वाद उनले महसुस गरिनन्।

मनले एकपछि अर्को प्रश्न उठाइरहेको थियो।

मोहन साँच्चै यति धेरै बिरामी परेका होलान्?

त्यत्तिकै अर्को विचार आयो।

त्यसको उत्तर खोज्ने जिम्मेवारी अब मेरो हो र?

उनले आफूलाई कुनै उत्तर दिइनन्।

जीवनमा केही निर्णय अदालतले टुङ्ग्याउँछ। केही समयले। तर केही यस्ता पनि हुन्छन्, जसको फैसला मानिसले आफ्नै अन्तरमनसँग बारम्बार बसेर गर्नुपर्छ।

त्यो रात उनले किताब खोलेर केही पढ्ने प्रयास गरिन्। पाना पल्टिए, तर अक्षरहरू मनभित्र पस्न सकेनन्। अन्त्यमा किताब बन्द गरिन्।

झ्यालबाहिर रात विस्तारै गाढा हुँदै गइरहेको थियो।

दस वर्षअघि यस्तै रातहरूमा उनी भविष्यको खोजीमा किताबसँगै बस्ने गर्थिन्। आज भविष्य कुनै प्रश्न थिएन। प्रश्न त विगतले किन फेरि ढोका ढकढक्यायो भन्ने थियो।

सुत्न खोज्दा पनि निद्रा सहजै आएन।

मोहनकी बहिनीको स्वर बारम्बार कानमा गुञ्जिरह्यो—

"दाइ सुतिरहेको बेला कहिलेकाहीँ तपाईंको नाम लिनुहुन्छ..."

उनले आँखा चिम्लिइन्।

मनले एउटा कुरा सम्झायो—

तिमीले त्यो घर छोड्दा कुनै आवेगमा निर्णय गरेकी थिइनौ। वर्षौँको आत्मसम्मानले त्यो निर्णय जन्माएको थियो।

अर्को स्वरले त्यत्तिकै शान्त भएर भन्यो—

तर बिरामी मानिससँग भेट्नु भनेको निर्णय बदल्नु त होइन।

उनी झसङ्ग भइन्, उठेर बसिन्।

आफ्नै मनभित्र दुई विचार आमनेसामने उभिएका थिए।

र दुवै आ–आफ्नै ठाउँमा सही थिए।

कहिलेकाहीँ मानिसलाई अरू कसैले होइन, आफ्नै विवेकले सबैभन्दा कठिन प्रश्न सोध्ने रहेछ।

त्यो रात धेरै लामो भयो।

र भोलिपल्ट बिहान घाम उदाउँदा पनि समीराले कुनै निर्णय गरिसकेकी थिइनन्।

○ ○

समयले दिनहरूलाई उस्तै गतिमा अघि बढाइरहेको थियो। कार्यालय जाने, सेवाग्राहीका कुरा सुन्ने, फाइलहरू टुङ्ग्याउने र साँझ घर फर्कने समीराको दैनिकीमा बाहिरबाट हेर्दा कुनै परिवर्तन देखिँदैनथ्यो। तर कहिलेकाहीँ मानिसको जीवनमा परिवर्तन दिनचर्यामा होइन, मनको गहिराइमा सुरु हुने रहेछ।

मोहनकी बहिनीको फोन आएको सात दिन बितिसकेको थियो।

ती सात दिनमा समीराले अस्पताल जाने निर्णय गरिनन्। न त उनले फेरि फोन गरेर मोहनको स्वास्थ्यबारे सोधिन्। उनले आफ्नो निर्णयलाई हतारमा जन्मिन दिन चाहिनन्। जीवनले उनलाई एउटा कुरा धेरै अघिदेखि सिकाइसकेको थियो—भावनाले उठाएका प्रत्येक पाइला सही हुँदैनन्।

तर मनलाई सम्झाएर मात्र मन मान्दो रहेनछ।

कहिलेकाहीँ कार्यालयको काम गरिरहेकी बेला पनि अनायासै एउटा प्रश्न उठ्थ्यो— "अहिले उनको अवस्था कस्तो होला?"

प्रश्न उठ्नेबित्तिकै उनी आफूलाई फेरि काममै डोर्‍याइहाल्थिन्।

मानिसले बिर्सन खोजेका सबै कुरा बिर्सन सकिँदैन रहेछ। केही सम्झनाहरूलाई हामी जीवनबाट होइन, केवल दैनिक व्यस्तताभित्र लुकाएर राख्छौँ।

त्यो शनिबार कार्यालय आधा दिन मात्र थियो।

बाहिर निस्कँदा दिउँसोको घाम बादलसँग लुकामारी खेलिरहेको थियो। घर फर्किने सोच्दै उनी नजिकैको एउटा पुस्तक पसलतिर लागिन्। नयाँ प्रकाशित प्रशासनसम्बन्धी एउटा पुस्तक आएको भन्ने खबर केही दिनअघि सुनेकी थिइन्।

पुस्तक किनेर निस्कँदै गर्दा पछाडिबाट कसैले विनम्र स्वरमा बोलायो—

"समीरा दिदी...!"

उनी फर्किइन्।

अगाडि उभिएकी महिलालाई चिन्न उनलाई केही क्षण लाग्यो।

महिलाले मुस्कुराउँदै भनिन्—

"सायद चिन्नुभएन होला। म आर्या।"

समीराका स्मृतिमा एउटा कफी पसल, एउटा अपरिचित भेट र धेरै वर्षअघि सुनिएको एउटा सत्य एकैपटक जाग्यो।

"आर्या...!"

"धेरै वर्ष भयो, होइन?"

समीराले हल्का मुस्कानसहित टाउको हल्लाइन्।

"हो, धेरै वर्ष।"

केही क्षण दुवै एकअर्कालाई हेरिरहे।

समयले अनुहारमा सामान्य परिवर्तन ल्याएको थियो, तर दुवैका आँखामा पहिलेभन्दा बढी स्थिरता देखिन्थ्यो।

आर्याले सहज रूपमा भनिन्—

"यदि तपाईंलाई हतार छैन भने, केहीबेर चिया पिउँदै बसौँ न। धेरै कुरा गर्न मन छ।"

समीराले घडीतिर एकपटक हेरिन्।

त्यसपछि शान्त स्वरमा भनिन्—

"ल, जाऔँ।"

दुवै सडकपारिको एउटा सानो कफी पसलतिर लागे।

कहिलेकाहीँ जीवनले वर्षौँअघि छुटेका संवादहरू पूरा गर्न पनि मानिसहरूलाई फेरि एउटै बाटोमा उभ्याउँदो रहेछ।


कफी पसल धेरै भीडभाड भएको थिएन। झ्यालछेउको एउटा टेबुल खाली थियो। दुवै त्यहीँ गएर बसे।

बाहिर सडकमा मानिसहरूको चहलपहल उस्तै थियो। कसैको हिँडाइमा हतार थियो, कसैको अनुहारमा थकान। भित्र भने मधुरो सङ्गीत बजिरहेको थियो। वेटरले दुई कप कफी टेबुलमा राखेर शान्तसँग फर्कियो।

"तपाईंमा खासै परिवर्तन आएको छैन," आर्याले मुस्कुराउँदै भनिन्।

समीराले पनि हल्का मुस्कान दिइन्।

"परिवर्तन सबैमा आउँछ। देखिने र नदेखिने मात्र फरक हो।"

आर्याले सहमतिमा टाउको हल्लाइन्।

केहीबेर दुवैले सामान्य कुराकानी गरे। काम, व्यस्तता र समयको फेरबदलका कुरा भए। वर्षौँपछि भेटिएका दुई परिचितजस्तै उनीहरू सहज हुँदै गए।

कफीको कप हातमा समाउँदै आर्याले बिस्तारै भनिन्,

"दिदी, एउटा कुरा धेरै वर्षदेखि मनमै थियो। आज नभने फेरि भन्न सक्ने अवसर पाइन्छ कि पाइँदैन भन्ने लाग्यो।"

समीराले शान्त दृष्टिले उनलाई हेरिन्।

"भन्नुहोस्।"

आर्याले केही क्षण शब्दहरू मिलाइन्।

"हामी अन्तिमपटक भेटेको केही समयपछि एक दिन काम विशेषले मन्त्रालय गएको थिएँ। त्यहीँ मोहन सरसँग भेट भयो।"

समीराको अनुहारमा कुनै परिवर्तन आएन।

आर्याले अगाडि भनिन्,

"त्यतिबेलासम्म तपाईंहरूको पारपाचुके भइसकेको रहेछ। उहाँ आफैँले त्यो कुरा सुनाउनुभएको थियो।"

कफीको कपबाट हल्का बाफ उठिरहेको थियो।

"मैले उहाँलाई एउटा प्रश्न सोधेकी थिएँ," आर्याले भनिन्, "मैले भनेकी थिएँ—'सर, तपाईंले दिदीलाई रोक्नुभएन? सम्बन्ध जोगाउने प्रयास गर्नुभएन?'"

समीराले केही बोलिनन्।

आर्याले मोहनको उत्तर सम्झँदै बिस्तारै भनिन्,

"उहाँले मुस्कुराएर भन्नुभयो—'आर्या, जीवन आफ्नो–आफ्नो हुन्छ। आफ्नो जीवनलाई आफ्नो तरिकाले बाँच्ने अधिकार सबैलाई हुन्छ। समीरालाई मबाट स्वतन्त्रता चाहिएको थियो। उनी आफ्नो जीवन आफ्नै निर्णयले जिउन चाहन्थिन्। मैले त्यसमा हस्तक्षेप गरिनँ।'"

समीराको नजर झ्यालबाहिर पुगेको थियो। सडकको किनारमा उभिएको एउटा सिरिसको रूख हावासँगै बिस्तारै हल्लिरहेको थियो।

आर्या केही क्षण रोकिइन्।

त्यसपछि फेरि भनिन्,

"मैले अर्को प्रश्न पनि सोधेकी थिएँ।"

"के?"

"'अर्को विवाह किन गर्नुभएन त?'"

आर्याले समीराको आँखातिर हेर्दै मोहनको उत्तर सुनाइन्,

"'मेरी समीराजस्ती अर्को स्त्री संसारमा पाइँदैन। उनी बिना नै बाँकी जीवन बिताउनु मेरो रोजाइ होइन, तर यही जीवन मैले स्वीकारेको सत्य हो। उनले आफ्नो इच्छा अनुसार बाँच्ने निर्णय गरिन्। अब म पनि यही निर्णयको सम्मान गर्दै बाँच्न चाहन्छु।'"

त्यसपछि दुवै केहीबेर नबोली बसिरहे।

कहिलेकाहीँ अनुपस्थित व्यक्तिका केही वाक्यहरूले वर्षौँदेखि स्थिर देखिएको मनमा पनि हल्का तरङ्ग उठाइदिँदा रहेछन्। समीराले त्यो तरङ्गलाई अनुहारमा आउन दिइनन्।

उनले केवल कप उठाएर कफीको एउटा सानो चुस्की लिइन्।


घर फर्किने बाटोभरि आर्याले सुनाएका वाक्यहरू समीराको मनमा फेरि–फेरि आइरहे।

सहर उस्तै थियो। चोकहरूमा सवारीसाधन रोकिँदै र अघि बढ्दै थिए। फुटपाथमा मानिसहरू आफ्नै हतारमा थिए। उनी भने सामान्य दिनझैँ घरतिर हिँडिरहेकी थिइन्। बाहिरको चालमा कुनै परिवर्तन थिएन, तर भित्र कतै एउटा पुरानो ढोका फेरि हल्का खुल्न थालेको थियो।

घर पुगेपछि उनले झ्याल खोलिन्। साँझको हावा बिस्तारै कोठाभित्र पस्यो। टाढा देखिने डाँडामाथि घामको अन्तिम रङ अडिएको थियो।

आर्याका शब्दहरू फेरि स्मृतिमा उत्रिए—

"उनले आफ्नो इच्छा अनुसार बाँच्ने निर्णय गरिन्। अब म पनि यही निर्णयको सम्मान गर्दै बाँच्न चाहन्छु।"

समीराले कुर्सी तानेर बसिन्।

उनले आफूलाई एउटा प्रश्न सोधिन्—

के मानिस समयसँगै साँच्चै बदलिन्छ?

उत्तर तुरुन्तै आएन।

जीवनले उनलाई एउटा कुरा भने सिकाएको थियो—कसैको परिवर्तनको प्रमाण उसका शब्द होइनन्, उसले बिताएको समय हुन्छ।

मोहनसँग अलग भएको दिन उनले कुनै विजयको अनुभूति गरेकी थिइनन्। त्यो हार पनि थिएन। त्यो केवल एउटा निर्णय थियो, जसले दुवैलाई आ–आफ्नो बाटो रोज्न बाध्य बनाएको थियो।

ती बाटाहरू फेरि कहिल्यै एक ठाउँमा भेटिने छैनन् भन्ने विश्वास उनले धेरै अघिदेखि गरिसकेकी थिइन्।

तर आज पहिलोपटक उनलाई लाग्यो—कतिपय बाटाहरू आ–आफ्नै दिशामा अघि बढ्दा पनि एकअर्काप्रतिको आदर जोगाइराख्न सक्दा रहेछन्।

त्यो सोच पूरा नहुँदै मोबाइल फेरि बज्यो।

स्क्रिनमा उही नम्बर थियो।

मोहनकी बहिनी।

समीराले केही क्षण हेरेर मात्र कल उठाइन्।

"हेलो..."

उताबाट थकित स्वर सुनियो।

"भाउजू... म फेरि दुःख दिन खोजेकी होइन।"

"भन्नुहोस्।"

"दाइको अवस्था उस्तै छ। आज डाक्टरले फेरि केही परीक्षण गर्नुभएको छ। उहाँ धेरै कमजोर हुनुभएको छ।"

समीराले केही भनिनन्।

उताबाट फेरि स्वर आयो—

"आज दिउँसो एकछिन आँखा खोल्नुभएको थियो। मलाई हेरेर सोध्नुभयो—'समीरा आएकी छैन?' त्यसपछि फेरि चुप लाग्नुभयो।"

मोहनकी बहिनीको स्वर अब थोरै भरिएको थियो।

"मैले के उत्तर दिऊँ, भाउजू? केही भन्न सकिनँ।"

समीराले झ्यालबाहिर हेरिन्। साँझको उज्यालो विस्तारै फिक्का हुँदै गइरहेको थियो।

"यदि तपाईंलाई उचित लाग्छ भने... एकपटक आएर भेटिदिनुहोस्। म तपाईंलाई आग्रह गरिरहेकी होइन। यो केवल मेरो मनको कुरा हो।"

समीराले लामो सास फेरिन्।

"म अहिले केही भन्न सक्दिनँ।"

यति मात्र भनिन्।

"हुन्छ, भाउजू। तपाईंलाई जस्तो ठीक लाग्छ।"

फोन टुङ्गियो।

फोन टुङ्गिएपछि कोठाभित्र फेरि कुनै आवाज रहेन।

समीरा धेरैबेर उभिरहिन्।

मनले उनलाई दुई फरक दिशातिर तानिरहेको थियो।

एउटा स्वर भन्थ्यो—

"जुन सम्बन्ध समाप्त भइसकेको छ, त्यसलाई फेरि फर्केर हेर्नु आवश्यक छैन।"

अर्को स्वरले शान्तसँग सोध्थ्यो—

"बिरामी मानिसलाई भेट्नु सम्बन्ध फर्काउनु हो र?"

उनले कुनै निर्णय गरिनन्।

झ्याल बन्द गरिन्।

तर मनभित्र खुलेको एउटा प्रश्न भने त्यसै खुलै रह्यो।

○ ○ ○

त्यो रात समीराले कुनै पुस्तक खोलिनन्।

झ्यालछेउको कुर्सीमा बसेर उनी धेरैबेर बाहिर हेरिरहिन्। केही दिनअघिको वर्षाले पखालेका रूखहरू फेरि आफ्नै हरियालीमा उभिएका थिए। सडकमा बत्तीहरू एकपछि अर्को बल्दै थिए। सहर आफ्नो दैनिक लयमा अघि बढिरहेको थियो।

तर उनको मनले भने त्यो लय समात्न सकिरहेको थिएन।

मोहनको सम्झना अचानक आएको थिएन। न त उनी फेरि विगतमा फर्किएकी थिइन्। बरु विगत आफैँ वर्तमानको ढोकासम्म आइपुगेको थियो।

उनले आफूलाई धेरैपटक सम्झाइन्—

"तिमीले लिएको निर्णय गलत थिएन।"

मनले त्यसको प्रतिवाद गरेन।

फेरि अर्को प्रश्न उठ्यो—

"त्यसैले भेट्नै नहुने हो र?"

यसपटक पनि उत्तर आएन।

रात धेरै बितेपछि उनी ओछ्यानमा पल्टिइन्। निद्रा भने टाढै रह्यो।

कहिलेकाहीँ मानिसलाई अरूको व्यवहारले भन्दा आफ्नै विवेकले नै बढी कठिन प्रश्न सोध्दो रहेछ।

भोलिपल्ट कार्यालय पुग्दा पनि उनी सामान्य देखिन खोजिरहेकी थिइन्। सेवाग्राहीका निवेदन सुनिन्। केही फाइलमा टिप्पणी लेखिन्। एउटा निर्णयमा हस्ताक्षर गरिन्। तर एउटा काम सकिँदा अर्को काममा लाग्ने प्रत्येक क्षण मन फेरि उही ठाउँमा पुग्थ्यो।

अस्पताल।

मोहन।

दिउँसोको विश्रामका बेला उनी कार्यकक्षको झ्यालनजिक उभिइन्।

परिसरमा एउटा वृद्ध दम्पती बिस्तारै हिँडिरहेका थिए। वृद्धले हातमा कागजात समातेका थिए। वृद्धा उनीभन्दा एक पाइला पछाडि थिइन्। कार्यालयको सानो सिंढी उक्लँदा वृद्धले सहज रूपमा आफ्नो हात पछाडि बढाए। वृद्धाले केही नभनी त्यो हात समातिन्।

त्यो दृश्य केही क्षणमै सकियो।

तर त्यसले समीराको मनमा एउटा विचार छोडेर गयो।

जीवनमा सँगै हिँड्नु भनेको सधैँ एउटै बाटो रोज्नु मात्र रहेनछ। कहिलेकाहीँ फरक बाटो रोजिसकेपछि पनि एकअर्काको अस्तित्वलाई अस्वीकार नगर्नु नै सम्बन्धको परिपक्वता हुँदो रहेछ।

त्यस साँझ घर फर्किएपछि उनले धेरै दिनदेखि नखोलेको एउटा दराज खोलिन्।

भित्र एउटा पुरानो डायरी राखिएको थियो।

उनले त्यसका केही पाना पल्टाइन्।

पहिचान खोजिरहेकी एउटी स्त्रीका अक्षरहरू त्यहाँ अझै जीवित थिए।

अन्तिम पानामा आफ्नै हस्ताक्षरमुनि एउटा वाक्य लेखिएको थियो—

"वर्षौँदेखि खोजिरहेकी परिचय अब कसैको सम्बन्धबाट होइन, आफ्नै निर्णयबाट बनेको थियो।"

समीराले धेरैबेर त्यो वाक्य हेरिरहिन्।

त्यसपछि डायरी बिस्तारै बन्द गरिन्।

मन एकाएक हलुङ्गो भयो।

आफ्नो निर्णयप्रति उनी आज पनि उस्तै दृढ थिइन्।

तर एउटा कुरा भने अब स्पष्ट भइसकेको थियो—

अस्पताल पुग्नु भनेको आफ्नो निर्णय बदल्नु होइन।

त्यो त एउटा मानिसप्रति कहिल्यै समाप्त नभएको सम्मानलाई स्वीकार्नु मात्र थियो।

भोलि बिहान उनी अस्पताल जानेछिन्।

यो निर्णय न आवेगको थियो।

न पछुतोको।

यो निर्णय केवल उनको विवेकले गरेको थियो।


भोलिपल्ट कार्यालय जानुअघि समीराले अस्पताल जाने निर्णय गरिन्।

सहर पूर्ण रूपमा ब्युँझिसकेको थिएन। सडकमा सवारीसाधनको चाप विस्तारै बढ्दै थियो। अस्पतालको मुख्य प्रवेशद्वारमा पुग्दा उनले केही क्षण वरिपरि हेरिन्। स्ट्रेचरमा बिरामी ल्याइँदै थिए। कतै आफन्तहरू चुपचाप बेन्चमा बसेका थिए। कतै डाक्टरको प्रतीक्षामा आँखाहरू ढोकातिर अडिएका थिए।

अस्पतालभित्र पस्ने मानिसहरू सबै एउटै कारणले आउँदैनन्। तर बाहिर निस्कँदा उनीहरू केही न केही बुझेर फर्कन्छन्।

रिसेप्सनबाट कोठा नम्बर बुझेर उनी बिस्तारै माथिल्लो तलातिर लागिन्।

कोठाको ढोकाबाहिर मोहनकी बहिनी बसेकी थिइन्।

समीरालाई देख्नेबित्तिकै उनी हतारिँदै उठिन्। केही क्षण उनी बोल्नै सकिनन्।

"भाउजू...!"

यति मात्र भन्न सकिन्।

समीराले हल्का मुस्कान दिइन्।

"उहाँ जागा हुनुहुन्छ?"

"हुन्छ... केहीबेरदेखि जागै हुनुहुन्छ।"

बहिनीले ढोका बिस्तारै खोलेर बाटो छोडिदिइन्।

समीरा भित्र पसिन्।

कोठाभित्र औषधिको हल्का गन्ध थियो। झ्यालको पर्दा आधा सारिएको थियो। बिहानको उज्यालो बिस्तारै भित्र पसिरहेको थियो।

मोहन ओछ्यानमा पल्टिएका थिए।

दश वर्षअघि छुट्टिँदाका मोहन र आजका मोहनबीच समयले निकै दूरी कोरिसकेको थियो। अनुहारमा कमजोरी स्पष्ट देखिन्थ्यो। कपाल पूरै फुलेका थिए। शरीर निकै दुब्लाइसकेको थियो।

ढोकातिरको सानो आवाज सुनेर उनले आँखा उठाए।

केही क्षण उनी स्थिर भएर हेरिरहे।

मानौँ विश्वास गर्न खोजिरहेका थिए—देखिरहेको दृश्य यथार्थ हो कि स्मृति।

त्यसपछि उनका ओठमा बिस्तारै मुस्कान आयो।

"समीरा..."

स्वर निकै मन्द थियो।

समीराले नजिकैको कुर्सी तानेर बसिन्।

"कस्तो छ स्वास्थ्य?"

मोहनले उत्तर दिनुअघि हल्का सास फेरे।


"डाक्टरलाई सोध्यौ भने धेरै कुरा थाहा हुन्छ। मलाई सोध्यौ भने... आज धेरै राम्रो छ।"

समीराका ओठमा पनि क्षीण मुस्कान झल्कियो।

"त्यो त देखिरहेकी छु।"

दुवै हल्का मुस्कुराए।

त्यो मुस्कान धेरै लामो थिएन, तर धेरै वर्षपछि उनीहरूबीच कुनै बोझबिनाको पहिलो मुस्कान थियो।

कोठाभित्र फेरि केही क्षण मौनता छायो।

दुवै एकअर्कालाई हेरिरहे।

त्यो हेराइमा कुनै गुनासो थिएन।

कुनै सफाइ थिएन।

कुनै हिसाबकिताब पनि थिएन।

केवल धेरै वर्ष बाँचिसकेका दुई मानिस थिए, जसले समयसँगै जीवनका धेरै उत्तरहरू भेट्टाइसकेका थिए।

मोहनले बिस्तारै भने,

"तिमी आउनेछौ भन्ने मैले सोचेको थिइनँ।"

समीराले शान्त स्वरमा उत्तर दिइन्,

"मैले पनि आउने निर्णय एकैदिनमा गरेकी होइन।"

मोहनले केहीबेर उनलाई हेरिरहे।

त्यसपछि बिस्तारै आँखा चिम्लिए।

"धन्यवाद।"

त्यो शब्द सानो थियो।

तर त्यसभित्र धेरै वर्षदेखि मनमा थामेर राखिएका अनेक भावहरू मिसिएका थिए।

समीराले कुनै उत्तर दिइनन्।

कहिलेकाहीँ केही शब्दहरूको उत्तर शब्दले होइन, उपस्थितिले दिइँदो रहेछ।

झ्यालबाहिर बिहानको हावाले सिरिसका पातहरू हल्का चलाइरहेको थियो।

कोठाभित्र भने समय केहीबेरका लागि निकै शान्त भएर बसेजस्तो लागिरहेको थियो।


केहीबेरपछि मोहन आफैँ बोल्न थाले।

"अस्पतालमा धेरै कुरा सिकिँदो रहेछ, समीरा। औषधिले शरीरको उपचार गर्छ। तर मानिसले जीवनभर बेवास्ता गरेका सत्यहरू भने एक्लोपनले सिकाउँछ।"

समीराले उनको कुरा शान्तसँग सुनिरहिन्।

"अहिले मलाई रोगभन्दा समयले धेरै सोच्न लगाएको छ। कार्यालयमा हुँदा दिन छोटा लाग्थे। निवृत्त भएपछि दिन लामा भए। त्यसपछि थाहा भयो—व्यस्तताले धेरै कुरा ढाकेर राख्दो रहेछ।"

उनले केही क्षण विश्राम लिए।

"तिमीलाई माफी मागेर बितेका वर्षहरू फर्किने होइनन्। त्यसैले माफी माग्नुको पनि कुनै अर्थ देख्दिनँ। तर एउटा कुरा भने स्वीकार्न सक्छु।"

उनको स्वर अझ मृदु भयो।

"श्रीमती हुनु र जीवनसाथी हुनु एउटै कुरा रहेनछ। त्यो बुझ्न मलाई धेरै ढिलो भयो।"

समीराले पहिलोपटक सिधै उनको आँखातिर हेरिन्।

"हरेक मानिसले आफ्नो समयमा सिक्छ, मोहन।"

मोहन हल्का मुस्कुराए।

"हो। तर सबै सिकाइ समयमै काम लाग्दैन रहेछ।"

कोठाभित्र फेरि केही क्षण नीरवता छायो।

समीराले घडीतिर हेरिन्।

"अब म जानुपर्छ।"

मोहनले टाउको हल्लाए।

उनी उठेर ढोकातिर लागिन्।

"समीरा..."

उनी फर्किइन्।

"यदि... तिमीलाई उचित लागे... कहिलेकाहीँ आउनू।"

उनी केही क्षण रोकिए।

"म त्यसलाई तिमीले मलाई माफ गर्यौ भन्ने अर्थ लगाउने छैन। केवल... जीवनमा सम्मान अझै बाँकी रहेछ भन्ने ठान्नेछु।"

समीराले हल्का मुस्कान दिइन्।

"स्वास्थ्यको ख्याल राख्नुहोस्।"

त्यसपछि उनी बाहिर निस्किइन्।

त्यसपछि समीरा कहिलेकाहीँ अस्पताल जान थालिन्।

भेटहरू लामो हुँदैनथे।

प्रायः केही मिनेट मात्र।

कहिले औषधिको कुरा हुन्थ्यो।

कहिले डाक्टरले भनेको कुरा।

कहिले बाहिरको मौसम।

कहिले कार्यालयका सामान्य प्रसङ्ग।

कतिपय दिन त एक–दुई वाक्यभन्दा बढी कुरा नै हुँदैनथ्यो।

तर पनि उनीहरू दुवैले ती भेटहरू अधुरा कहिल्यै महसुस गरेनन्।

कहिलेकाहीँ एउटै झ्यालतिर हेरेर धेरैबेर बसिदिनु पनि संवाद हुँदो रहेछ।

कहिलेकाहीँ एकअर्कालाई शान्तसँग हेरेर मुस्कुराइदिनु पनि मन बुझ्ने भाषा हुँदो रहेछ।

दिनहरू बिस्तारै बित्दै गए।

मोहनको स्वास्थ्य पनि विस्तारै सुधार हुँदै गयो।

केही महिनापछि उनी घर फर्किए।

त्यसपछि पनि समीराको दैनिकी धेरै फेरिएन।

कार्यालयबाट फर्किने क्रममा कहिलेकाहीँ उनी मोहनलाई भेट्न पुग्थिन्।

कहिले पाँच मिनेट।

कहिले दस मिनेट।

चिया पिइन्थ्यो।


बैठक कोठा उनले जसरी सजाएकी थिइन् त्यस्तै थियो सजावट परिवर्तन गरिएको थिएन। सजावट यथावत भएपनि सरसफाई दैनिक रूपमा गरिए जस्तो भान हुन्थ्यो।


दुई–चार शब्द आदानप्रदान हुन्थे।


त्यसपछि उनी आफ्नो बाटो लाग्थिन्।

न कसैले विगत कोट्याउँथ्यो।

न भविष्यको कुनै योजना एक-अर्कालाई सुनाउँथे।


एकअर्काकोमा आउने जाने क्रममा यी साना भेटहरूले अनौठो शान्ति दुबैले प्राप्त गरिरहेका थिए।

सायद सम्बन्धलाई फेरि नाम दिन आवश्यक नपर्दोरहेछ।

सम्मान र सहजताले मात्र पनि दुई मानिसलाई नजिक ल्याउन सक्दोरहेछ।

एक दिन साँझ चिया पिइरहेका बेला मोहनले कप टेबुलमा राखे।

केही क्षण समीरातिर हेरिरहे।

त्यसपछि बिस्तारै भने—

"एउटा कुरा भनूँ?"

"भन्नुहोस्।"

"हामीसँग पति–पत्नी भएर बाँच्ने समय बितिसक्यो। त्यसलाई फर्काउने इच्छा पनि छैन।"

उनी केही क्षण रोकिए।

"तर यदि तिमीलाई स्वीकार्य छ भने... जीवनको बाँकी यात्रा साथी भएर हिँड्न सकिन्छ कि? कुनै बन्धन बिना। कुनै अपेक्षा बिना। केवल एकअर्काको सम्मान गर्दै। एउटै घर आवश्यक परे, छुट्टाछुट्टै घर आवश्यक परे। सम्बन्धको नामभन्दा सम्बन्धको अर्थ ठूलो हुन्छ भन्ने कुरा अब बुझेको छु।"

समीराले उनलाई केहीबेर हेरिरहिन्।

यी केही महिनाका साना–साना भेटहरू, एक–दुई शब्दका संवाद, मौन मुस्कान, आपसी हेराहेर र मनले पाएको शान्ति एकैपटक उनको स्मृतिमा आए।

उनको अनुहारमा बिस्तारै मुस्कान फैलियो।

त्यो मुस्कानमा न विगतको पीडा थियो।

न भविष्यको डर।

त्यो मुस्कानमा केवल एउटा शान्त स्वीकृति थियो।

मोहन पनि मुस्कुराए।

सायद धेरै वर्षपछि उनी पहिलोपटक मनदेखि मुस्कुराएका थिए।

झ्यालबाहिर सिरिसका पातहरू हावासँगै बिस्तारै हल्लिरहेका थिए।

समीरालाई लाग्यो—

जीवनमा सबै सम्बन्धहरू पहिलेजस्तै रहँदैनन्।

कतिपयले आफ्नो रूप परिवर्तन गर्छन्।

तर एकअर्काप्रतिको सम्मान रहुन्जेल कुनै सम्बन्ध पूर्ण रूपमा समाप्त हुँदैन।

त्यो केवल अर्को स्वरूपमा बाँचिरहन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।