तेस्री श्रीमतीले पनि पुनः छोरी नै जन्माएको खबर घिमिरे माइलाको कानमा गाउँले कामदारहरुबाट सुन्नमा आयो। हलो जोतिरहेको घिमिरे माइलाले स्वास्नीले छोरी जन्माएको खबर सुन्नसाथ फत्रक्क गले जस्तो भयो। उसका नौ नारी शिथिल हुँदै आए। हलो जोत्न छोडेर ऊ लत्रक्क परेर खेतका गराको आलीमा बस्यो। उसले धेरै बेरसम्म चिउँडोमा हात राखेर उधो मुन्टो लगाएर सोचिरह्यो। हिलो आली गरेर खेतीको रोपाई गर्ने तरखरमा लागेका गाउँका छिमेकीहरुलाई यो समय हतारमा उज्यालिएको थियो। त्यसैले होला घिमिरे माइलाको यो दुःखलाई कसैले त्यति ध्यान दिएको देखिदैनथ्यो।
धेरै बेरसम्म घिमिरे माइलाको टाउको उठेको थिएन। ऊ आफ्ना आँखाहरुलाई हिलोले भरिएका आफ्ना खुट्टाहरुतिर फ्याँकेर आफ्नै सन्तापमा पिरोलिरहेको थियो। जीवनभर उसले कुटो, कोदालो, हलो र जुवाहरुको दर्शन जोतेको थियो। धान, मकै, गहुँ र तुलफूलहरु फलाउने क्रममा आफ्ना सम्पूर्ण जाँगरहरु रोपेको थियो र उसको समष्टिगत मित्रता नै घामपानी र हिलोको साँठगाँठमा लेपिएको हुन्थ्यो। एकाध दिन कतै सोमवारे औँशी, बाबुको तिथी र नमानी नहुने चाडपर्व पर्दा मात्र ऊ घरभित्रको दलानमा बसेर हजुरबाको एउटै मात्र बचेको सम्पत्ति हुक्का तानेर रमाइलो अनुभव गर्ने मौका पाउँथ्यो नत्र त उसलाई उसका बाबुले कमाइदिएको चार बिघा खेतलाई नै जोत्नु र मलजल गरेर बाली फलाउनु बाहेक अरु सोच्न सक्ने विकल्प नै थिएन।
पोहोर साल मात्रै हो गाउँको सभा कचहरीले उसको भए भरको इज्जत र मर्यादामा आगो सल्काएको। पोहोर मात्रै हो उसको आजसम्म आर्जन गरेको पौरखमाथि गाउँलेहरुले अविश्वास गरेर उसलाई एक्लो बनाएको। अनि पोहोर मात्रै हो घिमिरे माइलाले गाउँका संगठित जमातहरुका माझमा टुहुरो हुनु परेको। आफ्ना नाताभित्रका र आफ्नै सम्झेका एक दुई परिवारले समेत उसको बत्ख्याइँ उसकै आँखा सामु फलाक्दा घिमिरे माइलाले शिर झुकाएर नतमस्तक हुँदै मौन सहेको थियो।
छँदा खाँदाका आफ्ना दुई दुईटी श्रीमतीमाथि पुनः अर्की सौता हाल्ने क्रममा घिमिरे माइलाले जयपुर बजारै छेउकी विधवा बिमल्नी ठूलीलाई क्षयरोग ग्रस्त अवस्थामा भित्र्याउन पुगेको थियो। नाति नातिनीको बिहे गर्नु पर्ने बेलामा आफै बिहेको बन्धनमा फसेर पोइल जाने बिमल्नी ठूलीलाई ल्याएपछि छोरी जन्मिन सक्छ कि भन्ने आशा पलाएरै होला आफ्नो शरीरमा बुढ्यौती पालिरहेको घिमिरे माइलाले यति ठूलो साहस गर्न सकेको थियो। तर समयसँग हिड्न नसक्दा समयले कति नराम्ररी उसलाई पछारी दियो त्यो तमासा हेर्ने सबैलाई थाहा भएको थियो।
केही महिना अघिदेखि नै गाउँभरि हल्ला चर्केको थियो। घिमिरे माइलालाई चर्चाको पात्र बनाएर कुराको खेती गर्नेहरु धेरैले उसकी तेस्री श्रीमतीलाई पनि बाँकी छाडेका थिएनन्। त्यति मात्र होइन उसकी कान्छी श्रीमतीको गर्भ रहेकोमा डाह गर्ने उसकै अरु दुई श्रीमतीहरु पनि थिए जसलाई उसले केही महिनाअघि मात्र एक एक बिघा खेतबारी अंशमा छुट्याइदिएर आफ्नो खेतको पुछारमा स–साना पराले कटेराहरुमा स्थानान्तरण गराएको थियो।
साधु गोतामेका छ जना छोरीहरुमध्ये जेठी छोरीलाई बिहे गरेको छ वर्ष नपुग्दै छोरो नजन्मेको बाहानामा साधुवा सँगकै मिलेमतोले काइँली छोरीलाई फुल्याएर माइली स्वास्नी बनाउन सफल भएको घिमिरे माइलाका बारेमा गाउँमा अरु पनि हल्ला सुन्नमा आएको थियो। तेस्रो बिहे हुनअघि कान्छी सालीमाथि समेत आँखा गाड्न पुगेको घिमिरेले उसकी साली माग्न आउने धेरै युवकहरुलाई समेत भड्काएको थियो रे। माईली श्रीमतीबाट पनि लगालग छोरीहरुमात्रै जन्मिएकाले कान्छी साली तिर एकोहोरिएको हुनुपर्छ भनेर धेरैले लख समेत काटेका थिए। आखिर कान्छी सालीले उसलाई धेरै नराम्रोसँग झुक्याएर बाहिरकै कोनी कुन लाहुरेसँग सुइकुच्चा ठोकेपछि घिमिरे माइलो हेर्या हेर्यै भयो।
कान्छी श्रीमती भित्र्याएपछि पोहोर सालको सभाकचहरी पनि सकियो। सभा कचहरीपछि सबै गाउँलेहरुले तमासा हेर्न लायक कुरा त्यही थियो कि घिमिरे माइलाको हुनेवाला सन्तान कुन रुप रंगको हुन्छ। छोरी नै भई भने सारा गाउँका अगाडि घिमिरे माइलाले मुख नदेखाए पनि हुने थियो। परिणाम त्यही भयो जुन नहुनु पर्ने थियो।
घिमिरे माइलाले विस्तारै टाउको माथितिर उठायो। आकाशको उत्तर पूर्वी क्षितिजभरि बालदका गाढा डफ्फाको साम्राज्य चारैतिर फैलिएको थियो। केही बथान सुगाका जोडीहरु लहर मिलाएर बादल भएको तलबाट उत्तरतर्फ बेगिइरहेका थिए। वरपरको भू भागभरि हरियाली अन्मिएको थियो। धान रोपाईँको तरखरमा लागेका सम्पूर्ण किसानहरु परिश्रम फलाउनमा जुटेका थिए। बर्खे धान, मकै र जुटपाटको फसल उठाइसकेपछिका उनीहरु बाँजो फोर्न , चास लगाउन र हिलो आली गरेर धान रोप्ने काममा तल्लिन रहेका देखिन्थे।
बुढ्यौती बोकेको घिमिरे माइलाको अनुहार फुङ्ग उडेको थियो। उसको छेउमै काधमा जुवा थामेर उभिएका हलगोरु उग्राइरहेको थिए। हलगोरुको मुखमा लगाइएको मोहला झैँ बाधकको रुपमा घिमिरे माइलाले आफ्ना नातेदार र गाउँका मान्छेहरुलाई सोचिरहेको थियो। उ ज्यादै कठोर बनेको जस्तो देखिन्थ्यो। उसमा प्रसुति पीडाबाट उठेकी श्रीमतीलाई हेर्न जाने कुनै जाँगर चलिरहेको थिएन। पूर्व स्मृतिका पानाहरु एकपछि अर्को गरेर उसका मस्तिष्कमा गिजोल्न आउँथे। मानसिक हिसाबले ऊ आफूलाई ज्यादै कमजोर सोचिरहेको थियो। लामो समयसम्म उसले आफूलाई यथार्थमा ल्याउन सकिरहेको थिएन। आफ्ना वरिपरि उसले कालो निलो मात्र देखिरहेको थियो। एकाएक उसले आफ्ना दुबै कान बजेको महसुस गर्न थाल्यो। आलीमा बसिरहेको उसलाई कस्तो कस्तो भयो। ऊ आलीमाथि उठ्न खोज्यो। लर्वरीदै भए पनि क्रमशः उठ्नमा सफल भयो। अघिदेखि दुखिरहेको टाउको एकाएक अचाक्ली दुख्न थालेपछि उसलाई रिँगटा लागेर भाउन्न भयो र केही क्षणमै आफ्नो जीउ थाम्न नसकेर डङरङ्ग भूइँमा लड्यो।
घिमिरे माइलो एकास्सी लडेको देखेर उग्राइरहेका गोरुहरु केही हच्किएर तर्सिदै जोतिएको हलोसहित अगाडि सरे। हिलो गरामा लडिसकेको घिमिरे माइलाको शरीर फट्फटाउन थालेको थियो। यस्तो दृश्यले छेउका हलगोरु यताउति आँखा फर्काएर भयभीत हुँदै कान ठाडो पार्दै उग्राउन छोडेर चारैतिर दृष्टि घुमाइरहेका थिए। हलोको अनौ पनि हिलो माटोमा लेपिन पुगेको थियो। अघि पूर्वमा रहेका बादलका गाढा डफ्फाहरु क्रमशः चारैतिर फैलिएर पातलिदै घिमिरे माइलाको टाउका माथिबाट उडिरहेका थिए। पानी बर्साउने संकेत दिएर मेघ गर्जिरहेको थियो।
हिलो खेतमा लडेर फट्फटाउन छोडेको करिब दुई घन्टापछि छिमेकीको पाखा बारीमा हलोसहित रोपो कुल्चन पुगेका हलगोरुलाई धपाउन आउने छिमेकी कुल बहादुर भुजेलले चारैतिर पाटावारीले ढाकिएको बीच खेतमा लडिरहेको घिमिरे माइलाको त्यो दुर्दशा देखेपछि उसको पनि हंशले ठाउँ छोडेको थियो। केही क्षण अघि मात्र अग्नि शर्मा भएर घिमिरे माइलासँग बाझ्न तम्सेको कुल बहादुर भुजेलले त्यसपछि गाउँभरि हल्ला मच्चायो। केही क्षणमै सारा गाउँलेहरु भेला भए। खेत रोप्दै गरेका सारा खेतालाहरु पनि घिमिरे माइलो लडिरहेको ठाउँमा जम्मा भएका थिए। देवीथानका कान्छा कँडेल र घिमिरे माइलाकै छिमेकी पाठक ठूलेले उसको चोला उठिसकेको शरीरलाई उठाएर छेउको पाखामा सुताए। बिहान हलो जोत्न आएको घिमिरे माइलाको शरीरलाई जडवत् अवस्थामा त्यसरी दब्दवे हिलोबाटा निकालेर बाहिर पाखामा सार्दा सबैलाई अचम्म लागिरहेको थियो।
धेरै दिनदेखि घिमिरे माइलासँग बोलचाल बन्द भएका जेठी र माइली श्रीमतीहरु पनि पाखा खेतमा निकालिएको घिमिरे माइलाको अचल र निष्त्रि्कय शरीरलाई हेरेर सुक्सुकाइरहेका थिए। घरमा सुत्केरी उत्रेकी कान्छी श्रीमतीले आफ्ना श्रीमान्को हठात मृत्युको खबर सुनेपछि मुर्छा परेर डाको छोडेकी थिइ। अझ भएभरका छोरीहरु कंकला शब्द निकालेर भीडभित्र रोइरहेका थिए।
चारैतिर कालो नीलो भएर छाएको बादलले फट्याक्फुटुक् पानी झार्न लागेको थियो। केही समयपछि नै तीन चार जना गाउँलेहरु मिलेर घिमिरे माइलाको लासलाई उसकै घर भएतिर बोकेर लगे। सुनपानी, तुलसीपानी ख्वाउने काम गाउँकै लम्साल बाजेले जबरजस्ती मुख हालिदिएर गरे। तुलसाको मठमा मृतक घिमिरे माइलाकेा टाउको छेउ बसेका लम्साल बाजेलाई पानी अझ पर्न थालेपछि घरको ओत लाग्ने ठाउँमा गोबरले पोतेर घिमिरे माइलाको शवसँगै सारियो।
घिमिरे माइलाको घर गाउँलेको भीड भाडले खचाखच भरिएको थियो। केही क्षणमै गाउँभरि ठूलो साँझ झर्यो। कात्रो किन्न गएको महेश्वर ओडारी अझै फर्किसकेको थिएन। पाार्थिव शरीरलाई घाट लाने सुरसारले घिमिरे माइलाको घरमा बसेका अधिकांश गाउँलेहरु भोकले आक्रान्त भएर एक अर्कामा मुखामुख गरिरहेका थिए। घिमिरे माइलाकी कान्छी श्रीमती अझै मुर्छाबाट बौरिएकी थिइनन्। बिहान मात्र जन्मेकी छोरी घरको कोठाभित्र कर्कश आवाज निकालेर रोइरहेको बाहिरसम्म सुनिन्थ्यो। बाहिर पानी थामिने कुनै नाम निशान थिएन। मलामी जम्मा भएको त्यो घिमिरे माइलाको घरबाट निकै पर खेतको पाखामा आकृति मात्र देखिने हल गोरु अझै पनि हलो जुवा सहितको मोहलाभित्र उभिइरहेका थिए, मुसलधारे वर्षालाई ओढेर।