एउटा कथन यस्तो रहेछ- “Life is a dream for the wise, a game for the fool, a comedy for the rich, a tragedy for the poor.” अर्थात् जीवन ज्ञानीका निम्ति एउटा सपना,मूर्खका निम्ति एउटा खेल,धनीका निम्ति एउटा कामदी ,गरीबका निम्ति एउटा त्रासदी हो ।
Sholom Aleichem (शोलोम अलेखेम)-को रहेछ यो कथन। यस कथनले आकृष्ट गरेपछि शोलोम आलेखेमलाई चिन्न मन लाग्यो । अनलाइन सन्दर्भहरू कोटयाउँदै गएँ । उनी त ०२ मार्च १८५९ मा पेरेयास्लाव,यूक्रेनमा जन्मिएका येद्दिस साहित्यका नामी येहूदी लेखक, नाटककार रहेछन्।उनको खास नाम सोलोमन नौमोविच रबीनोविच(Solomon Naumovich Rabinovich) रहेछ ।तर उनी उपनाम शोलोम अलेखेम नामले नै प्रख्यात भए। हिब्रु भाषाको वाक्यांश ‘शोलोम अलेखेम’-को अङ्ग्रेज़ी अर्थ हुन्छ ’Peace be with you’।
१९ औं र २०औं शताब्दीको पूर्वार्धका पूर्वीय यूरोपमा येहूदी जीवन कस्तो थियो(?)त्यसको हास्यात्मक र ज्ञानमूलक चित्रण उनका कृतिहरूमा पाइन्छ । उनलाई “Yiddish Mark Twain” अर्थात् “येहूदी मार्क ट्वेन” को उपाधि दिइएको रहेछ। भनिन्छ – उनलाई “येहूदी मार्क ट्वेन” भनिएको थाहा पाएर मार्क ट्वेनले भनेका थिए “उसलाई भन्दिनु कि मचाहिँ अमेरिकन शोलोम अलेखेम हुँ ।”
शोलोम अलेखेमले असङ्ख्य कथा,उपन्यास,निबन्ध,नाटक आदि लेखेका रहेछन्। उनका कृतिहरूले परिवर्तित हुँदै गइरहेको संसारमा येहूदीहरूले दिनहूँ सामना गरेका सङ्कष्ट,सङ्घर्ष,खुशी,चुनौती आदि चित्रित गरेका रहेछन्। येहूदी समाजमा सामाजिक र आर्थिक परिवर्तनका लागि नै अग्रसारित भएको रहेछ उनको कलम। राजनीतिक उथलपुथल र येहूदी विरोधी हिंसा(Anti-sematic violence)-ले गर्दा उनले सारा जीवन नै व्यक्तिगत र आर्थिक चुनौतीहरूको सामना गरे। उनी गरीबी र विस्थापनका शिकार भए । त्यसरी कठिन परिस्थितिको चेपारोमा परे तापनि उनले येहूदी साहित्यमा धेरै योगदान दिए। येहूदी साहित्य र संस्कृतिमा उनका योगदान र प्रभाव अमिट भएर बसेका रहेछन्। येहूदी र साहित्यिक वृत्तभित्र उनी अति प्रिय र आदरणीय व्यक्तित्वका रूपमा अधिष्ठित रहेछन्।
सृजनशील सर्जक शोलोम अलेखेमले विविध विधामा लेखनी कुदाएका छन् । उनका प्रकाशित कृतिहरू धेरै छन् ।तीमध्ये यी कृतिहरू उल्लेख्य छन्:-
क॰ तेव्ये द डेयरीम्यान शृङ्खलाअन्तर्गत(Tevye the Dairyman series):
१. तेव्ये एण्ड हिज डटर्स (Tevye and His Daughters) (तेव्ये द डेयरी म्यान भनेर पनि जानिन्छ)
२. तेव्ये स्ट्रायक्स इट रिच (Tevye Strikes It Rich)
३. तेव्ये ब्लोव्ज ए स्मल फर्चुन (Tevye Blows a Small Fortune)
४. तेव्येज डटर्स "Tevye's Daughters" (कथा सङ्ग्रह)
ख॰ मेनाखेम-मेनडल् शृङ्खलाअन्तर्गत (Menakhem-Mendl series):
१. मेनाखेम-मेनडल् (Menakhem-Mendl)
२. मेनाखेम-मेनडल् एण्ड शीन शिण्डल(Menakhem-Mendl and Sheyne-Sheyndl)
ग॰ उपन्यासहरू :
१. ब्लडी होक्स (The Bloody Hoax) (The Bewitched Tailor भनेर पनि जानिन्छ)
२. द एड्भेन्चर्स अफ मोट्टेल द कान्टर्स सन (The Adventures of Mottel the Cantor's Son)
३. इन द स्टोर्म(In the Storm)
घ॰ कथासङ्ग्रहहरू :
१. जुइस चिल्ड्रेन (Jewish Children) (Children भनेर पनि जानिन्छ)
२. स्टेम्पेन्यू: ए जुइस रोमान्स (Stempenyu: A Jewish Romance)
३. ओल्ड कन्ट्री टेल्स (Old Country Tales)
४. द ओल्ड कन्ट्री (The Old Country)
ङ॰ नाटकहरू :
१. द विच (The Witch)
२. मरेनबाद (Marienbad)
३. नोज्हिक(Nozhik) (The Knife)
४. द हाइ स्कूल (The High School)
च॰ आत्मकथात्मक कृतिहरू :
१. फ्रम द फेयर (From the Fair)
२. फन मेनशन (Fun Mentshn) (From Man)
३. फन इडिशेन लेखयिम (Fun Idishen Lekhayim) (From Jewish Life)
छ॰ निबन्ध अनि गैर-आख्यान :
१. द जुइस वेड्डिङ(The Jewish Wedding)
२. टोग्बुख फन ए बेल्बोस(Togbukh Fun a Balebos) (Diary of a Single Man)
ज॰ विविध :
१. डस क्लेन मेनशेल (Dos Kleyne Mentshele) (The Little Man)
सृजनशील सर्जक शोलोम अलेखेमका कृतिहरू अनेक भाषामा अनूदित भएका रहेछन्। अलेखेमबारे अनुसन्धान गर्दा उनलाई नाटककारका रूपमा पनि पाउँदा म अझ जिज्ञासु बनेँ र उनका नाट्यकृतिहरू पढ्ने लालसा जाग्यो । सर्वप्रथम उनको एकाङ्की “द डक्टर”(The Doctor) पढ्ने सुयोग पाएँ । आइज्याक गोल्डबर्ग ,पीएचडी(Isaac Goldberg,Ph॰D)ले अङ्ग्रेजीमा अनुवाद गरेका शोलोम अलेखेमकृत ‘द डक्टर’ मा सातजना पात्र-पात्रा छन् । सत्र पृष्ठको यस एकाङ्कीमा केही हास्य-व्यङ्ग्यात्मकता अङ्गीकृत भएको पाइन्छ। यस एकाङ्कीमा भर्खरै धनी भएको परिवारको कथा छ। एकाङ्कीको कथासार यस्तो छ-
आफ्नी छोरी भेराको बिहा एकजना व्यापारीसित गर्न चाहन्छन् पिता हाइमन क्रेन्डेलमेन । तर माता अन्ना र छोरो अब्राहम भने भेराको बिहा एक डक्टरसित गरिदिन चाहन्छन्।
आधुनिक भई जिउन चाहने छोरी भेराको अनुपस्थितिमा बिहेको तारतम्य मिलाउने तथा बिहेका निम्ति जोड़ी खोजिदिने घटक सोलोम (match maker)ले भेराको बिहाका निम्ति वर चुन्ने काम गर्नुपर्ने हुन्छ। तर हाइमन परिवारका सदस्यहरूमाझ नै छोरी भेराको दुलहा व्यापारी र डाक्टर हुनुपर्ने विषयक तर्कबीच घटक सोलोम अफ्ठ्यारो अवस्थामा पर्न जान्छ । आफ्नो दुलहा बाबाका निम्ति व्यापारी,आमा र भाइका निम्ति डक्टर हुनुपर्ने वार्तालाप सुनेर छोरी भेरा छक्क परेर मरमरी हाँस्छिन्। पिताका निम्ति ज्वाइँ व्यापारी,माता र भाइका निम्ति भने भेराको जीवनसाथी डक्टर नै हुनुपर्ने संवादात्मक द्वन्द्वमा एकाङ्की अग्रसारित भएको छ। भेराको पति व्यापारी र डाक्टर नै हुनुपर्ने पारिवारिक अमिल्दो अड़ानले घटक सोलोम अन्योलमा पर्छन्। उनले अघिबाटै भेराका निम्ति चुनेका वर कसैले मन पराउँदैनन् । एकाङ्कीमा दस हजार र बीस हजार डलर दाइजोका रूपमा दिनुपर्ने संवाद रहेकोले त्यसले येहूदी समाजमा पनि दाइजो प्रथा रहेको सङ्केत दिन्छ । घटक सोलोमले वरवधू चुन्ने काम गर्न खोजे तापनि हाइमेन परिवारभित्रै छोरीको दुलहाबारे मत भिन्नता रहेकोले घटक सोलोम पति हाइमनको पक्षमा व्यापारी-डाक्टर छान्ने अनि पत्नी अन्ना र भाइ अब्राहमको पक्षमा डाक्टर-व्यापारी छानिदिने कुरा गरेर बहसलाई शान्त पार्न खोज्छन्। तर बाबा हाइमेन छोरीको जीवनसाथी व्यापारी नै हेर्न चाहन्छन् भने आमा र छोरोचाहिँ छोरी र दिदीको जीवनसाथी डक्टर हुनपर्ने निर्णयमा अडिग रहन्छन्। आफ्नो जीवनसाथीबारे पारिवारिक मतान्तर बुझेर छोरी भेरा हाँसिरहन्छे भने अन्तमा जोड़ी मिलाउन खोज्ने घटक सोलोम पागलझैँ भएर भन्छन्-“यस परिवारलाई साँच्चै डाक्टर चाहिने रहेछ।” यत्तिमा नै एकाङ्की समाप्तिन्छ ।
“डक्टर” एकाङ्कीमा बाबा आमा र छोरोको एकपाखे विचार र चाहनाले छोरीको चाहना र सोचलाई विचार नगरी पारिवारिक ढीठपनालाई दर्शाइदिएको छ । हास्यात्मक अनुक्रम सिर्जना गर्ने क्रममा छोरी भेरा भने आफ्ना जीवनसाथी कस्तो भएको मन पराउँछिन् सोबारे एकाङ्की केही अस्पष्ट भएको छ । हास्य व्यङ्ग्यात्मक लेखनमा सिद्धहस्त भएका सोलोम अलेखेमका कृतिहरूमा यहूदी समाजका तलमाथि विषयक चर्चा र चित्रण नै मुख्यत: रहेको देखिन्छ । एकजना मिमिक(mimic)
कलाकारका रूपमा पनि प्रख्यात भएका अलेखेमका लेखनी नाटक विधामा खुबै राम्ररी चलेको देखिन्छ ।उनको हास्य- व्यङ्ग्यात्मक लेखनशैली प्रभावकारी रहेको प्रतीत हुन्छ ।
जोशिलो स्वभावको शोलोम अलिखेम यहूदी भाषा र साहित्यका विस्तार र विकासका निम्ति अति महत्त्वाकाङ्क्षी थिए । उनले आफ्नो लेखनीद्वारा यहूदी भाषा र साहित्यलाई विश्व प्रसिद्ध बनाए । १५ वर्षको उमेरमा उनले प्रसिद्ध उपन्यास ‘रबिन्सन क्रूसो’-लाई यहूदी भाषामा रूपान्तरित गरे ।
ट्रिस्काइडेकाफोबिया अर्थात् अङ्क १३ को डरबाट धेरै मानिस ग्रसित हुने गर्दछन्।अङ्क १३ लाई धेरैले अशुभ मान्छन्। भनिन्छ- सोलोम अलेखेम पनि १३ अङ्कदेखि धेरै डराउँथे । उनले आफ्ना कृतिका पाण्डुलिपिहरूमा कहिल्यै १३ अङ्क लेखेनन् । १३ को सट्टामा १२ए लेख्ने गर्थे उनले ।यहूदी साहित्यमा सर्वव्यापी नाम भइसकेको सोलोम अलिखेमको देहान्त १३ मई १९१६ मा भयो । अङ्क १३ सित डराउने प्रख्यात साहित्यकारलाई १३ तारीखले नै सदाका लागि लग्यो । भनिन्छ उनको चिहानमा पनि उनको निधन भएको तारीख १३ मई १९१६ नलेखेर १२ ए लेखिएका छन् ।
यूक्रेनमा जन्मिएर अमेरिकाको न्यूवर्कमा बसोबासो गर्दै विश्वविख्यात बनेका येहूदी बुद्धिजीवी लेखक,नाटककार शोलोम अलिखेमको प्रारम्भिक जीवन कष्टकर भए तापनि उनले आफ्नो मेहनत र लेखनद्वारा आफूलाई विश्व साहित्यमा एकजना सबल-प्रबल यहूदी साहित्यकारका रूपमा अधिष्ठित गराए ।
डाउहिल,खरसाङ,भारत।