‘काठमाडौँ फेसन विक’ को अन्तिम र मुख्य रात थियो त्यो । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको भव्य हल बेहुली झै सिँगारिएको थियो । झिलिमिली बत्तीको राप, क्यामेराको अनवरत ‘फ्ल्यास’ र दर्शकदीर्घाबाट गुञ्जिरहेको तालीका बीच स्नेहा रनवेमा ओर्लिइन् ।
साडी र आधुनिक फ्युजन पहिरनमा आफ्ना अग्ला हिल टेक्दै जब उनी अघि बढ्थिन्, लाग्थ्यो हलभित्रको सिंगो हावा नै उनको इसारामा अडिएको छ । टिकटक, इन्स्टाग्राम र म्यागजिनका कभरहरूमा छाउने स्नेहा आजको पुस्ताकी ‘स्टायल आइकन’ थिइन् । तर, मानिसहरूले उनीभित्रको विवेक र गहिरो सोचलाई कहिल्यै हेर्न चाहेनन् । उनी केवल एउटा आकर्षक ‘शो–पिस’ मा सीमित थिइन्, र यही कुराले उनलाई भित्रभित्रै पोलिरहन्थ्यो ।
हलको पछिल्लो लहरमा, मुख्य प्राविधिक नियन्त्रण कक्षका स्क्रिनहरूअगाडि दृष्टि बसिरहेकी थिइन् । ललितपुरको एउटा चिनिएको आईटी रिसर्च ल्याबकी नेतृत्वकर्ता दृष्टि – तिखो दिमाग, गम्भीर आँखा र सादा कर्पोरेट कुर्थामा सजिएकी थिइन् । कम्प्युटरका जटिल कोड, साइबर सुरक्षा र डाटा प्रणालीलाई औँलाको इशारामा नचाउन सक्ने क्षमता भएकी दृष्टि कर्पोरेट बैठकहरूमा आफ्ना पुरुष सहकर्मीहरूका कटाक्ष र बाहिरी सादगीमाथि गरिने व्यंग्य सहेरै यहाँसम्म पुगेकी थिइन् ।
त्यस रात प्रज्ञा भवनमा ‘नेपाल डिजिटल कनेक्ट’ को ठूलो घोषणा हुँदै थियो । तर, स्नेहा रनवेको मञ्चमा पुग्दा नपुग्दै अचानक पर्दाका विशाल स्क्रिनहरू राता भए । हलका बत्तीहरू धिप्धिपाउन थाले । सहरका प्रमुख बैंकिङ एप र क्युआर प्रणालीमाथि एउटा अत्याधुनिक साइबर हमला सुरु भइसकेको थियो । स्क्रिनमा सर्वसाधारणको खाताबाट पैसा गायब भइरहेको काउन्टडाउन नाच्न थाल्यो ।
हलभित्र भागदौडको स्थिति बन्यो । ‘सिस्टम पाँच मिनेटभित्र कोल्याप्स हुँदैछ !’ दृष्टिको स्वरमा दृढता त थियो, तर ह्याकरहरूले बनाएको बहुस्तरीय डिजिटलाइजिट पर्खाल तोड्न उनको हात एक्लैले किबोर्डमा भ्याइरहेको थिएन ।
ठिक त्यही क्षण, मञ्चबाट स्नेहाको नजर नियन्त्रण कक्षमा अत्तालिएकी दृष्टिसँग जुध्यो । स्नेहाले परिस्थिति बुझिन् । उनी दौडिएर मुख्य मञ्चमा गइन्, जहाँ राष्ट्रिय टेलिभिजन र सामाजिक सञ्जालका ‘लाइभ’ क्यामेराहरू खुला थिए । उनले आफ्नो बाहिरी सौन्दर्य, ओझिलो आवाज र सम्मोहनयुक्त सञ्चार कलाको प्रयोग गर्दै सोझै साइबर आक्रमणकारी र त्रसित सर्वसाधारणलाई सम्बोधन गर्न थालिन् । उनको त्यो अप्रत्याशित, प्रखर र सनसनीपूर्ण वक्तव्यले लाखौँ मानिस र आक्रमणकारी समूहको ध्यान केही मिनेटका लागि छक्क पार्दै विकेन्द्रित गरिदियो ।
त्यो केही मिनेट दृष्टिका लागि स्वर्णिम सिद्ध भयो । स्नेहाले चलाएको सञ्चारको सम्मोहनका बीच दृष्टिले द्रुत गतिमा ‘काउन्टर–अट्याक कोड’ हानिन् । अन्तिम पाँच सेकेन्ड बाँकी छँदा देशको वित्तीय प्रणाली सुरक्षित भयो ।
त्यस रातको सनसनीपूर्ण जितले स्नेहा र दृष्टिलाई एउटै बिन्दुमा ल्याएर उभ्याइदियो । तर, त्यो त केवल एउटा ठूलो षड्यन्त्रको सुरुआत मात्र थियो ।
उनीहरूलाई रोक्न नसकेपछि त्यो अदृश्य साइबर सञ्जालले स्नेहामाथि नै प्रहार ग¥यो । केही दिनमै स्नेहाको अनुहार र स्वरलाई एआई डीपफेक प्रविधिमार्फत हुबहु नक्कल गरी एउटा वित्तीय घोटाला र अश्लील भिडियो भाइरल बनाइयो । टिकटक र फेसबुकमा नयाँ पुस्ताले त्यसलाई सत्य मानेर स्नेहामाथि ‘ट्रोल’ र ‘साइबर बुलिङ’ को वर्षाबाण शुरु गरे ।
मानिसहरू बाहिरी चमक र स्क्रिनको भ्रममा कति सजिलै अन्धो हुन्छन् भन्ने यो नग्न उदाहरण थियो । त्यतिबेला दृष्टि स्नेहाको ढाल बनेर उभिइन् । दृष्टिले आफ्नो डिजिटल फोरेन्सिक बुद्धि प्रयोग गरी भिडियोको एआई–पिक्सेल त्रुटि वैज्ञानिक रूपमा प्रमाणित गरिदिइन् । अनि स्नेहाले आफ्नै प्रखर अभिव्यक्ति शैलीमा ‘लाइभ’ आएर त्यो प्राविधिक सत्य यसरी खोलिन् कि भाइरलको पछाडि कुद्ने नयाँ पुस्ताले बुझ्यो, ‘तथ्य नबुझी स्क्रिनमा देखिएका सबै चमक सत्य हुँदैनन् ।’
यस घटनाले दुवैलाई महसुस गरायो । प्रविधिको यो हुरीले युवा पुस्तालाई मात्र होइन, समाजका हरेक तहलाई खण्डित गरिरहेको छ ।
दृष्टिका वृद्ध बुबा, जो जीवनभर झापाको गाउँमा ढड्डा र कागजी हिसाबमा रमाइरहेका थिए, उनी घरमा नाति–नातिनाले मोबाइल पल्टाएर क्युआर र अनलाइन भुक्तानी गरेको देखेर आफू विस्थापित भएको महसुस मनमनै गर्थे । पुरानो पुस्ता प्रविधिदेखि त्रसित थियो, नयाँ पुस्ता उनीहरूलाई ‘आउटडेटेड’ भनेर हेप्थ्यो ।
यो पुस्तान्तरणको खाडल पुर्न दृष्टि र स्नेहाले एउटा नयाँ अभियान सुरु गरे । दृष्टिले नेपाली भाषा र स्थानीय बोली बुझ्ने सरल इन्टरफेस तयार गरिन्, भने स्नेहाले गाउँ–गाउँ पुगेर पुराना आमा–बुबाहरूलाई आत्मीयताका साथ त्यो सफ्टवेर चलाउन सिकाइन् । ‘प्रविधि युवाको पेवा होइन, पुस्ता जोड्ने पुल हो ।’ भन्ने सत्य गाउँ–शहरभरि स्थापित भयो ।
तर, प्रविधिको यो विस्तारसँगै कर्पोरेट क्षेत्रको निर्दयी अनुहार झन् नाङ्गो हुँदै गयो । सहरको एउटा ठूलो वित्तीय संस्थाले साधारण कर्मचारीहरूलाई एकाएक हटाएर पूर्ण रूपमा ‘स्वचालित एआई सिस्टम’ राख्ने निर्णय ग¥यो । वर्षौँदेखि पसिना बगाएका सयौँ नेपाली दाजुभाइ–दिदीबहिनीको रोजीरोटी खोसियो । कोही नारा जुलुस लगाउन थाले त कोही अनसनदेखि तोडफोड गर्नसमेत भ्याए ।
कर्मचारीहरू सडकमा ओर्लिए । मेशिनसँग तर्क त थियो, तर मानिसको चुलो निभ्दाको पीडा बुझ्ने मुटु थिएन । त्यस संकटमा दृष्टि र स्नेहा पुनः एउटै मञ्चमा उभिए । दृष्टिले एआई सिस्टमका प्राविधिक सीमा र त्रुटिहरू उजागर गरिदिइन् भने स्नेहाले आफ्ना शब्द र मानवीय संवेदनाको वजनले सञ्चालकहरूको मन पगालिदिइन् । उनीहरूले प्रमाणित गरिदिए, प्रविधि जतिसुकै आधुनिक भए पनि मानिसको विवेक, दया र संवेदनाभन्दा ठूलो कहिल्यै हुन सक्दैन ।
प्रविधिको यो तिब्रतम विकासक्रमले नयाँ पुस्तालाई बिस्तारै ‘डिजिटल कोमा’ तिर धकेल्दै थियो । दिनभर स्क्रिनमा लाइक र भ्युजको पछाडि कुदाउँथ्यो र युवाहरू भित्रभित्रै एकांकी, डिप्रेसन र सामाजिक अलगावको सिकार भइरहेका थिए । भौतिक उपस्थिति, साथीभाइसँगको जिउँदो गफ र माटोको सुवास हराउँदै गएको थियो ।
यो गम्भीर सामाजिक संकटलाई चिर्न स्नेहा र दृष्टिले एउटा राष्ट्रिय ‘डिजिटल डिटक्स र ह्युमन कनेक्ट’ (कम्प्युटर र सामाजिक सञ्जाल जस्ता डिजिटल उपकरणको प्रयोगबाट केही समयका लागि टाढा रहनु वा बन्द गर्नु हो । यसले मानसिक शान्ति दिन्छ र वास्तविक जीवनमा मानिसहरूसँगको भावनात्मक सम्बन्ध (ह्युमन कनेक्ट) लाई बलियो बनाउन मद्दत गर्छ ।) अभियानको थालनी गरे ।
कथाको अन्तिम मोडमा, उनीहरू पुनः त्यही कमलादीको प्रज्ञा भवनको मञ्चमा आइपुगे, जहाँबाट उनीहरूको यात्रा सुरु भएको थियो । तर यसपालि, त्यो मञ्च कुनै रनवे वा टेक–ल्यान्चका लागि थिएन । मञ्चमा स्नेहा र दृष्टि सँगै उभिएका थिए ।
दृष्टिले प्राविधिक तर्क दिँदै भनिन्, ‘प्रविधि मानिसको क्षमता बढाउने हतियार हो, मानिसलाई नै निल्ने राक्षस होइन । एल्गोरिदमले तपाईंलाई तथ्यांक दिन सक्छ, तर सोच र चेतना दिन सक्दैन ।’
अनि स्नेहाले आफ्ना सम्मोहक आँखा चारैतिर घुमाइन् र ओझिलो स्वरमा सिंगो युवा पुस्तालाई सम्बोधन गर्दै थपिन्, ‘अल्गोरिदमको पर्दा पछाडि लुकेको बाहिरी चमक पछाडि नदौडिनुहोस् । साँचो ‘ब्युटी’ त्यो हो जसले मानिसको आत्म सम्झाउँछ, र साँचो ‘ब्रेन’ त्यो हो जसले प्रविधिलाई मानवताको सेवामा मोड्न जान्दछ ।’
त्यस रात प्रज्ञा भवनका बत्तीहरू फेरि पहिलेकै जसरी झिलिमिली र रापिला भएर बले, तर यसपालि साइबर आक्रमणको रातो त्रास थिएन । त्यहाँ एउटा नयाँ चेतनाको उज्यालो थियो । सिंगो हल र नयाँ पुस्ताले बुझ्यो कि, ‘ब्रेन’ (विवेक) र ‘ब्युटी’ (सौन्दर्य) दुई अलग किनार होइनन् । जब दृष्टिको बौद्धिक चेत र स्नेहाको आत्मीय सौन्दर्य एकै ठाउँमा मिसिन्छन्, तब मात्रै यो यान्त्रिक युगमा हराउन लागेको मानव जातिले सही बाटो पाउँछ ।
कमलादीको त्यस अनौठो रातपछि स्नेहा र दृष्टि अलग–अलग अस्तित्व रहेनन्, उनीहरू आधुनिकताको दोबाटोमा भेटिएका तर्क र अनुभूतिका दुई पूरक आयाम बने ।
दृष्टिको बौद्धिकता—जसले यन्त्र, कोड र तथ्यांकभित्रको सूक्ष्म सत्य पहिल्याउँथ्यो, त्यो यस युगको ‘ब्रेन’ थियो । स्नेहाको सम्मोहक आत्मीयता, जसले सत्यलाई चेतना, कला र जीवन्त स्पर्शमा ढाल्ने सामथ्र्य राख्थ्यो, त्यो यस युगको ‘ब्युटी’ थियो ।
एक रात, कार्यकक्षको एकान्तमा स्क्रीनको नीलो प्रकाशबीच दृष्टिले थकित आँखा माड्दै भनिन्, ‘स्नेहा, मेरो यो बुद्धिमत्ता केवल एउटा सुख्खा यन्त्र मात्रै हो, जसमा तर्क त छ, तर कुनै धड्कन छैन । तिम्रो उपस्थिति बिना यो केवल शब्दहीन सत्य मात्र हो ।’
स्नेहाले दृष्टिको हात सुस्तरी आफ्ना हत्केलामा थाम्दै सुस्केरा हालिन्, ‘अनि तिम्रो त्यो अभेद्य जग र विवेक नभइदिएको भए दृष्टि, मेरो यो सौन्दर्य र अभिव्यक्ति केवल क्षणिक बाहिरी चमक मात्रै हुन्थ्यो । तिमी मेरो अर्थ हौ, म तिम्रो प्राण ।’
त्यही विन्दुमा यी दुई अस्तित्व एकाकार भए । ‘ब्रेन’ र ‘ब्युटी’ केवल रूप र बुद्धिको वर्गीकरण थिएनन् । त्यो त प्रविधि र मानवता, मस्तिष्क र हृदयबीचको एउटा प्रेमिल, यथार्थपरक र अनिवार्य सन्तुलन थियो, जहाँ एउटाको अनुपस्थितिमा अर्को सर्वथा अधुरो रहन्थ्यो । (यस कथाका पात्र र स्टेज काल्पनिक हुन् ।)
दमक, झापा ।