19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आह्वान

कविता अनिता विश्वकर्मा August 20, 2026, 5:11 pm
अनिता विश्वकर्मा
अनिता विश्वकर्मा

उतारी फ्याँकिदेउ अब,
रात्रि को यो भारि र कालो पछ्यौरी,
तिम्रो तेजिलो प्रकाश खोज्न,
चाहिँदैन अँध्यारो को छहारी।
सारा जग निदाएपनि,
तिम्रो अंतरआत्मामा ब्युँझिएको छ,
त्यो अटल दृढ संकल्प,
जो कहिले झुक्दैन, न त टुट्दछ।
मनका यी संकुचित गोरेटोहरूभन्दा माथि आफ्ना पाइला बढाउ,
विगतका यी धुमिल छायाहरूलाई,
धेरैपछि छोडि जाउ,
तिम्रो अस्तित्वको वास्तविक खोजी, तिम्रै अन्तस्करणमा छ
त्यसलाई पाउ।

किनारमा उभिएर हेरिरहन देउ ती अनगिन्तीअनुहारहरूलाई,
तिनले कहिले छेक्न सक्नेछैनन्,
तिम्रो आत्मिक प्रखरतालाई।
तिनका कुटिल चाल त मात्र
तिनकै खोक्रो भयको प्रतिबिम्ब हुन्,
किनकि तिम्रो जाज्वल्यमान स्वरूप देखेर तिनीहरू अत्तालिएका हुन्।
तिमी हिडेको यस निष्ठाको मार्गलाई तिनले कहिल्यै धमिलो पार्न सक्ने छैनन्।
अविचलित अघि बढिरहौ,
हेर अब यो अज्ञानको रात ढल्दै जानेछ।

कुनैपनि पर्खालले तिम्रा अभिलाषाहरूलाई रोक्न सक्नेछैन,
तिम्रो भव्य गन्तव्य तिम्रै पुरुषार्थले लेखिनेछ।
गौरव गर तिमी सृष्टिकी छोरी हौ, अर्धाङ्गिनी हौ, वात्सल्यमयी आमा हौ,
यी त जीवनका केही अध्याय र भूमिका मात्र हुन्।
किनकि तिमी कुनै एउटा सीमित परिधि वा संज्ञाभन्दा
धेरै माथि छौ,
तिम्रो ह्रदय भित्र त अनन्त सम्भावनाको एउटा विशाल सागर छ,
अघि बढ र आफ्ना सर्वोच्च लक्ष्यहरूलाई चुम्बन गर,
दिव्य सुरूवात तिम्रै भित्र छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।