19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फर्किने बाटो

कथा तेजराज दाहाल August 20, 2026, 5:13 pm
तेजराज दाहाल
तेजराज दाहाल

भर्खर बिहानको चार बज्दै थियो।

पुर्वी नेपालको पहाडी गाउँ मझूवा अझै निदाइरहेको थियो। रामबहादुरले झ्यालबाट छिरेको मिर्मिरेको उज्यालोमा बाहिर हेर्यो।

पूर्वतिरको जिर्मले र सलकपुर डाँडामाथि रातको कालो पर्दा बिस्तारै पातलिँदै थियो। गाउँमा कतै भाले बासेको आवाज सुनिन्थ्यो, कतै गोठमा बाँधिएका गाईका घाँटीमा झुन्डिएका घण्टीहरू हल्लिँदा आएका आवाज।

आज रामबहादुर हतारमा थिएन, उसकी श्रीमती माइली पनि निद्रामैं थिइन्। ऊ पनि आफुले ओढेको च्यादरले अनुहार छोपेर फेरि सुत्यो। बिहानीपखको चिसो र शान्त समय ऊ भुसुक्कै निदायो।

मिर्रमिरे हुनु भन्दा अघि नै रामबहादुर खेतको डिलमा टोल्हाएर उभिएको थियो।

हातमा पुरानो टर्च थियो। वरिपरि बाक्लो अँध्यारो। उसले टर्च बालेर खेततिर हेर्यो।

एक समय यही खेतमा धानका बाला हावासँगै लहराउँथे। बर्खामा हिलो र चिसो माटोको सुगन्धले वरिपरि भरिन्थ्यो। अहिले खेतको आधाभन्दा बढी भागमा झार उम्रिएको थियो। कतै बडहर, कूँयल, कुटमिरो र सिमलका साना बिरुवा उम्रिएका थिए, कतै गाईवस्तुले चरेका डोबहरू थिए।

“खेत पनि बूढो भएछ,” उसले मनमनै भन्यो।

त्यही बेला पछाडिबाट आवाज आयो।

“बा!”

रामबहादुर झस्कियो।

उसले टर्च पछाडि फर्कायो।

अँध्यारोमा काँधमा झोला बोकेको एउटा मानिस उभिएको थियो।

“को हो?”

“म हुँ बा! सुरेश।”

आवाज परिचित थियो।

तर आठ वर्षदेखि त्यो आवाज उसले फोनमा मात्र सुन्दै आएको थियो।

रामबहादुरको हातबाट टर्च झण्डै खस्यो।

“सुरेश!”

सुरेशले झोला भुइँमा राख्यो र झुकेर बुबाको खुट्टा ढोग्यो।

“अचानक आएँ बा।”

रामबहादुर केही क्षण उसलाई हेरिरह्यो। त्यसपछि केही नबोली छोरालाई अँगालो हाल्यो।

घरभित्रबाट आमाको निद्रालु आवाज आयो,

“कोसँग बोल्दैछौ?”

रामबहादुरको गला भरियो।

“माइली, उठ् त! हाम्रो छोरो आयो।”

भित्र केही क्षण मौनता छायो।

त्यसपछि आमाको आवाज आयो,

“कुन छोरो?”

रामबहादुर हाँस्यो र भन्यो,

“जुन छोरो आठ वर्षदेखि फोनमा मात्रै आउँथ्यो!”

सुरेश तेइस वर्षको उमेरमा विदेश गएको थियो।

गाउँमा काम थिएन। पाँच रोपनी जग्गाले परिवार धान्न मुस्किल थियो। बहिनीको बिहे गर्न बाँकी थियो। बुबाको पुरानो घरायसी ऋण थियो। आमाको औषधि चलिरहेको थियो।

विदेश जाने कुरा गर्दा रामबहादुरले सुरेशलाई धेरै सम्झाएको थियो।

“छोरा, विदेश गएर दुःख पाउँछस्। यहीँ केही गरौँला।”

सुरेश खिस्स हाँसेको थियो।

“यहाँ के गर्ने बा? खेतको उब्जनीले वर्षभरि खान पुग्दैन।”

रामबहादुरसँग उत्तर थिएन।

उसले पुरानो बाकसबाट वर्षौँदेखि बचाएर राखेको पैसा निकाल्यो र छोरालाई दिंदै भन्यो,

“यो लैजा।”

“कति छ?”

“एक लाख पैंतीस हजार।”

“यतिले पुग्छ?”

“पुग्छ कि पुग्दैन थाहा छैन। तर त्यसभन्दा बढी मेरो आशीर्वाद पनि छ।”

गाउँकै एकजना दाइको काठमाडौँमा भएको मेनपावर कम्पनीमार्फत केही महिनापछि सुरेश मलेसिया गयो।

त्यसपछि दिन, महिना, वर्षहरू बित्दै गए।

उसले पैसा पठायो।

घरको छानो फेरियो।

बहिनीको बिहे भयो।

ऋण तिरियो।

आँगनमा धारो बन्यो।

गाउँलेहरू भन्न थाले,

“रामबहादुरको छोरो त विदेश गएर कमालै गर्‍यो।”

रामबहादुर मुस्कुराउँथ्यो।

तर उसको मनमा एउटा कुरा सधैँ चस्की रहन्थ्यो,

“पैसा घर आएको थियो, छोरो आएको थिएन।”

सुरेश मलेसियामा राम्रो निर्माण कम्पनीमा काम गर्थ्यो।

बिहानदेखि रातिसम्म काम।

घामले शरीर पोल्थ्यो। जाडोमा हात सुन्निन्थे। महिनाको अन्त्यमा तलब आउँथ्यो, अनि त्यो तलबको ठूलो हिस्सा नेपालतिर पठाउँथ्यो।

पहिलो दुई वर्ष उसलाई लाग्यो - अलिकति दुःख गरेपछि जीवन बदलिन्छ।

तेस्रो वर्षसम्म उसले बुझ्यो - दुःख बदलिँदैन रहेछ। 
मान्छे मात्र थाक्दै जाने रहेछ।

त्यही क्रममा विदेशमा सँगै र नजिकै काम गरिरहेका उसका साथीहरू पनि बिस्तारै यताउता हुन थाले।

महेन्द्र दस वर्षपछि फर्कियो। उसले बुबाको उपचार गर्न केहि पैसा बचाएको थियो, तर घर फर्किंदा बुबा नै थिएनन्।

कृष्णलाई काम गर्ने क्रममा हातमा ठूलो चोट लाग्यो। उपचारको क्रममा हात काट्नुपर्‍यो। कम्पनीले केही रकम दिएर घर फर्कायो।

नवराजले आठ वर्षमा दुईपटक मात्र आफ्नी सानी छोरीको अनुहार प्रत्यक्ष देखेको थियो।

रमेशकी श्रीमती बच्चाहरू हुर्काउँदै गाउँमै बसेकी थिइन्। उनीहरूबीचको दूरी पैसा पठाउने मोबाइल बैंकिङभन्दा पनि ठूलो भइसकेको थियो। बच्चाहरूले बाबुको अनुहार बिर्सन थालेका थिए।

एक दिन सुरेशसँग काम गर्ने एक बांग्लादेशी युवक मेसिनमा परेर गम्भीर घाइते भयो। कम्पनीले बिमा नभएको कारण उपचार गर्न मानेन। साथीभाइले अलिअलि सहयोग गरेर उसलाई देश फर्काउनुपर्‍यो।

त्यो घटनापछि सुरेशलाई धेरै रात निद्रा लागेन।

विदेश बस्न उसको मन मर्दै गयो।

एक बेलुका उसले आमालाई फोन गर्न खोज्यो।

फोन लागेन।

बुबालाई फोन गर्‍यो।

बुबाले उठाएनन्।

गाउँका छिमेकीलाई फोन गर्‍यो।

“बा कहाँ हुनुहुन्छ?”

“खेतमा होलान्।”

सुरेशले घडी हेर्‍यो। नेपालमा बेलुकाको नौ बजिसकेको थियो।

“यति राति?”

“उहाँलाई निद्रा कम लाग्छ अचेल।”

सुरेश धेरैबेर चुप लागिरह्यो।

त्यो रात उसले पहिलोपटक आफैँलाई सोध्यो,

“मैले घरका लागि पैसा त पठाएँ, तर घरलाई मेरो के चाहिएको थियो?”

उत्तरमा उसले बुबाको अनुहार देख्यो।

आमाको खोकी सुन्यो।

र बाल्यकालको त्यो खेत र बारी सम्झियो।

सुरेश फर्किएको केही दिनसम्म गाउँमा उसको चर्चामात्र भयो।

“किन फर्कियो?”

“कम्पनी बन्द भयो रे?”

“कामबाट निकालिएछ कि?”

“पैसा कमाउन नसकेर आएको होला।”

सुरेशले कसैलाई उत्तर दिएन। उत्तर दिइरहनु जरूरी पनि ठानेन।

बिहान बुबासँग खेतमा जान्थ्यो।

दिउँसो गाउँ डुल्थ्यो।

एक दिन उसले बुबालाई सोध्यो,

“बा, हाम्रो कति खेत बाँझो छ?”

रामबहादुरले छोरातिर हेर्‍यो।

“किन?”

“भन्नुस् न।”

“तीन रोपनीजति।”

“तरकारी खेती लगाऊँ?”

रामबहादुर हाँस्यो।

“तँलाई खेती गर्न आउँछ?”

“आउँदैन। सिक्छु।”

“विदेशमा के सिकिस्?”

सुरेश केही क्षण चुप रह्यो।

“पैसा कमाउन सिकेँ।”

“अनि?”

“पैसा मात्रै कमाएर जीवन कमाउन नसकिने रहेछ भन्ने पनि सिकेँ।”

रामबहादुरले केही बोलेन।

सुरेश खेत सफा गर्न थाल्यो।

पहिलो दिन ऊ एक्लै थियो।

दोस्रो दिन महेन्द्र आयो।

“के गर्दैछस्?”

“खेत सफा गर्दै।”

“खेती गर्ने?”

“हो।”

महेन्द्र केहीबेर हाँस्यो।

“हामी विदेश गएर मजदुर भयौँ। अब गाउँमा आएर पनि मजदुर हुने?”

सुरेशले कोदालो रोकेन।

“त्यहाँ अरूको भवन बनायौँ। यहाँ आफ्नै जीवन बनाउँला।”

महेन्द्र केहीबेर चुप लाग्यो र बिस्तारै बोल्यो,

“आज बेलुकी विदेशबाट फर्केका अरू साथीहरू पनि लिएर आउँछु। बसेर सल्लाह गरौँ।”

त्यो साँझ महेन्द्र, कृष्ण, रमेश र नवराज सुरेशको घरमा भेला भए।

उनीहरूले सामूहिक तरकारी खेती सुरु गर्ने निधो गरे।

भोलिपल्टदेखि महेन्द्र पनि कोदालो लिएर आयो।

त्यसपछि कृष्ण।

त्यसपछि नवराज।

रमेश पनि आयो।

पाँच जना फर्किएका युवाहरू एउटै खेतमा समूहमा काम गर्न थाले।

गाउँलेहरू उनीहरूलाई हेर्थे।

कोही हाँस्थे।

कसैले प्रशंसा गर्थे।

धेरैले भन्थे, “दुई महिनामा थाकेर फेरि विदेश जान्छन्।”

सुरेश त्यस्ता कुरा सुनेर केवल मुस्कुराउँथ्यो।

उसलाई थाहा थियो, “खेतभन्दा पहिले मानिसको सोच जोत्नुपर्छ।”

तीन महिनापछि खेत हरियो भयो।

तरकारी फल्न थाल्यो। उत्पादन बजार जान थाल्यो।

पहिलोपटक किसानहरूले उत्पादनको मूल्य मोबाइलमा हेरेर बजारका व्यापारीसँग कुरा गर्न थाले।

महेन्द्रले लेखापढी हेर्न थाल्यो।

कृष्णले सिँचाइको व्यवस्था मिलायो।

नवराजले बजार खोज्यो।

सुरेशले सबैलाई जोड्यो।

एक दिन गाउँकी माया दिदी उनीहरूको खेतको छेउमा उभिइरहेकी थिइन्।

माया पचास वर्षकी थिइन्।

श्रीमान् बिरामी थिए। दुई छोरामध्ये जेठो विदेशमा थियो, कान्छो काठमाडौँमा ज्याला मजदुरी गर्थ्यो। घरमा आम्दानीको स्थायी स्रोत थिएन।

“के हेर्नुभएको?” सुरेशले सोध्यो।

मायाले हिच्किचाउँदै भनिन्,

“तिमीहरूले लगाएको तरकारी राम्रो फलेछ।”

“तपाईं पनि लगाउनुहोस् न।”

माया हाँसिन्।

“हामीसँग पैसा कहाँ छ?”

सुरेशले सोध्यो,

“जग्गा छ?”

“अलिकति छ।”

“पानी?”

“नजिकै बर्षैभरि नसुक्ने पानीको मूल छ।”

“काम गर्ने?”

मायाले आफ्ना दुई हात देखाइन्।

“यी दुई हात छन्।”

सुरेश मुस्कुरायो।

“त्यसो भए पैसा मात्र किन चाहियो?”

माया केही बोलिनन्।

त्यो दिन माया दिदी पहिलोपटक उनीहरूको समूहको बैठकमा बसिन्।

माया मात्र होइन।

गाउँका धेरै महिलाहरूको एउटै कथा थियो।

घर उनीहरूले धानेका थिए।

तर निर्णय अरूले गर्थे।

उनीहरू दिनभरि काम गर्थे।

तर आफ्नै आम्दानी थिएन।

सुरेशले गाउँका महिलाहरूका लागि छुट्टै बैठक राख्यो।

पहिलो दिन पाँच जना आए।

दोस्रोपटक नौ जना।

एक महिनापछि बीस जना।

माइलीआमाले भनिन्,

“महिलाले पनि केही गर्न सक्छन् भनेर देखाउनुपर्छ।”

महिलाहरूले अचार बनाउन थाले।

गुन्द्रुक, सिन्की, तिलको अचार, खुर्सानीको धुलो, कोदोको पिठो।

सुरेशले बजार खोजिदियो। हर्कटे, कन्याम, फिक्कलका स्थानिय बजारमा नै प्रशस्त खपत हुने देखियो।

महेन्द्रले हिसाब राखिदियो।

कृष्णले प्याकिङको व्यवस्था मिलाइदियो।

तर निर्णय महिलाहरूले नै गर्न थाले।

पहिलोपटक माया दिदीले आफ्नो हातमा तीन हजार पाँच सय रुपैयाँको नाफा समातिन्।

उनले पैसा धेरैबेरसम्म हेरिरहिन्।

“के भयो दिदी?” सुरेशले सोध्यो।

मायाको आँखामा आँसु आयो।

“जीवनमा पहिलोपटक आफ्नै कमाइको पैसा हातमा परेको हो।”

त्यो पैसा उनले घरको खर्चमा लगाइनन्।

छोरीको नाममा हर्कटेमा बैंक खाता खोलिन्।

गाउँको सबैभन्दा पछाडि परेको तल्लो बस्तीमा कमला बस्थिन्।

उनको परिवारसँग जग्गा थिएन। घरछेउको सानो टुक्रामा साग रोप्थिन्। श्रीमान् ज्याला मजदुरी गर्थे।

कमलालाई बैठकमा बोलाउँदा उनी आउन मानिनन्।

“हामीलाई के काम?”

माया दिदी आफैँ उनको घरमा गइन्।

“काम खोज्ने होइन, काम बाँड्ने बैठक हो।”

कमला आइन्।

सुरेशले उनलाई कुनै भाषण दिएन।

उसले केवल सोध्यो,

“तपाईंलाई के गर्न आउँछ?”

कमलाले भनिन्,

“बाख्रा पाल्न आउँछ।”

“त्यसो भए त्यही गरौँ।”

समूहले उनलाई एउटा बाख्रा किनिदियो।

कमलाले त्यसलाई हुर्काइन्।

एक वर्षमा एउटा बाख्रा चार भयो।

चार आठ भए।

कमलाले पहिलोपटक बैंकमा खाता खोलिन्। आफ्नै नाममा बचत गर्न थालिन्।

एक दिन उनले सुरेशलाई भनिन्,

“बाबु, पहिले हामीलाई सहयोग चाहिन्छ जस्तो लाग्थ्यो। अहिले त अवसर चाहिने रहेछ भन्ने बुझें।”

सुरेश चुप रह्यो।

त्यो वाक्य उसलाई धेरै दिनसम्म सम्झना भइरह्यो।

समूहको काम अब खेतमा मात्र सीमित रहेन।

मझुवा गाउँको विद्यालयमा विद्यार्थी घटिरहेका थिए। विदेशमा भएका अभिभावकले पैसा पठाउँथे, तर परिवारमा बालबालिकाको शिक्षामा ध्यान दिने सदस्य, समय र साथ घट्दै गएको थियो।

फर्किएका युवाहरूले विद्यालयसँग मिलेर शनिबारको अतिरिक्त कक्षा सुरु गरे।

कृष्णले कम्प्युटर सिकायो।

नवराजले अंग्रेजी।

महेन्द्रले गणित।

सुरेशले इन्टरनेटबाट सिक्ने तरिका।

गाउँका केही युवतीहरूलाई अनलाइन कामको तालिम दिइयो।

एक वर्षभित्र दुई जना युवतीले गाउँमै बसेर आम्दानी गर्न थाले।

रामबहादुरले यो सबै देखेर एक दिन छोरालाई भन्यो,

“तँले त खेतभन्दा ठूलो कुरा रोपिस्।”

सुरेश हाँस्यो।

“के रोपेँ?”

“मान्छेको भरोसा।”

तर सबै कुरा सहज थिएन।

गाउँको पुरानो शक्तिशाली बिचौलियाहरूको समूहले उनीहरूको काम मन पराएन।

एक दिन चौतारोमा कसैले भन्यो,

“विदेशबाट आएर दुई वर्षमा गाउँ चलाउने रे!”

अर्कोले थप्यो,

“महिलालाई धेरै बोल्न सिकाए। अब घरमा श्रीमान्को कुरा कसले सुन्छ?”

कसैले समुह र सहकारीमा भ्रष्टाचार र रकम हिनामिना हुने हल्ला चलायो।

कसैले सुरेशले विदेशबाट आएको पैसा लुकाएको आरोप लगायो।

महेन्द्र रिसायो,

“सबै छोडिदिऊँ।”

सुरेशले शान्त स्वरमा भन्यो,

“हामीले गाउँ बदल्न खोजेका हौँ। त्यसैले यस्ता अनावश्यक हल्लाबाट डराएर भाग्ने होइन।”

उसले समूहको सबै आम्दानी-खर्च सार्वजनिक गर्‍यो।

महिलाहरूको समूहको आम्दानी पनि सार्वजनिक गरियो।

कुन परिवारलाई कति सहयोग भयो, कति फिर्ता आयो - सबै गाउँको बीचमा भएको सार्वजनिक चौतारोमा सबैले बुझ्ने भाषामा टाँसियो।

सुरेशले सवै गाउँलेहरूलाई एउटा कुरा मात्र भन्यो,

“हामीमाथि विश्वास नगर्नुहोस्। हिसाब हेर्नुहोस्।”

त्यो दिनपछि विरोध बिस्तारै घट्दै गयो।

किनकि पारदर्शितासँग बहस गर्न गाह्रो हुन्छ।

दुई वर्षपछि गाउँ उस्तै थिएन।

सबै युवा फर्किएका थिएनन्।

विदेश जाने क्रम रोकिएको पनि थिएन।

तर विदेश जानेहरू अब गाउँमा पैसा मात्र पठाउँदैनथे।

कसैले सहकारीमा लगानी गर्थ्यो।

कसैले विद्यालयका लागि कम्प्युटर पठाउँथ्यो।

कसैले सिँचाइका लागि सहयोग गर्थ्यो।

कसैले आफ्नो सीप बाँड्थ्यो।

गाउँका महिलाहरूको समूहले उत्पादन बढाएको थियो।

माया दिदीले छोरीलाई कलेज पठाउन थालिसकेकी थिइन्।

कमलाको घरमा जस्तापाताको छाना लागेको थियो।

विद्यालयमा विद्यार्थीको संख्या बढ्न थालेको थियो।

खेतमा फेरि धान झुल्न थालेको थियो।

र गाउँको चौतारोमा अब विदेशका दुःखका कथा मात्र सुनिँदैनथे।

गाउँमै गर्न सकिने कामका कुरा पनि हुन्थे।

एक साँझ रामबहादुर र सुरेश खेतको डिलमा बसेका थिए।

सूर्य अस्ताउँदै थियो।

हरियो धानको बाला हावामा बिस्तारै हल्लिरहेको थियो।

रामबहादुरले सोध्यो,

“सुरेश, फेरि विदेश जान्छस्?”

सुरेशले केहीबेर खेततिर हेर्‍यो।

“जान पनि सक्छु बा।”

रामबहादुरको अनुहारमा क्षणभर छाया पर्‍यो।

सुरेशले थप्यो,

“तर अब भागेर जान्नँ।”

“अर्थात्?”

“अवसरका लागि जान्छु। तर मेरो जरा यहीँ हुन्छ।”

रामबहादुरले माटो उठाएर हातमा लियो।

“जरा यहीँ भए रूख जहाँ गए पनि बाँच्दो रहेछ।”

दुवै केहीबेर चुप लागे।

तल गाउँमा बत्तीहरू बल्न थाले।

कुनै घरमा खाना पाक्दै थियो।

कुनै आँगनमा बच्चाहरू खेल्दै थिए।

माया दिदीको घरबाट हाँसो सुनिन्थ्यो।

कमलाको छोराले साइकल चलाउँदै बाटो काट्यो।

अलि पर महिलाहरूको समूह भोलिको बजारका लागि सामान प्याक गर्दै थियो।

रामबहादुरले ती दृश्यहरू हेर्‍यो।

“सुरेश!”

“हजुर।”

“गाउँ विकास भनेको बाटो, पुल र भवन बनाउनु मात्रै रहेनछ।”

“के रहेछ त?”

रामबहादुरले केही क्षण सोच्यो।

“मान्छेलाई आफ्नो खुट्टामा उभ्याउनु रहेछ।”

सुरेशले बुबातिर हेर्‍यो।

उसले केही भन्न खोज्यो, तर शब्द आएनन्।

रामबहादुरले फेरि खेततिर हेर्‍यो।

“पहिले तिमीहरू सबै गाउँ छोडेर गयौ। हामीले रोक्न सकेनौँ।”

“अहिले?”

“अहिले पनि जानेहरूलाई रोक्नु पर्दैन।”

सुरेशले आश्चर्यले बुबातिर हेर्‍यो।

रामबहादुर मुस्कुरायो।

“तर फर्किन चाहनेहरूका लागि बाटो खुला राख्नुपर्छ।”

त्यो वाक्य हावामा केहीबेर तैरिरह्यो।

रामबहादुरले छोराको हात समात्यो।

त्यही क्षण - उसलाई लाग्यो, सुरेशको अनुहार बिस्तारै धमिलो हुँदैछ।

धानका बाला हराउँदैछन्।

गाउँका बत्तीहरू एक-एक गर्दै निभ्दैछन्।

माया दिदीको हाँसो टाढा जाँदैछ।

कमलाको छोराको साइकलको आवाज पनि हराउँदैछ।

“सुरेश!”

रामबहादुरले छोरालाई समात्न खोज्यो।

“बा…”

आवाज निकै टाढाबाट आयो।

“सुरेश!”

उसले झसङ्ग आँखा खोल्यो।

कोठा अँध्यारै थियो।

बाहिर कतै बिहानी बोलाउँदै भाले बासिरहेको थियो।

भित्तामा झुन्डिएको घडीले साढे चार बजेको संकेत गरिरहेको थियो।

रामबहादुर केही क्षण निश्चल भएर ओछ्यानमै बसिरह्यो।

उसले वरिपरि हेर्‍यो।

सुरेश थिएन।

माइली पनि अझै निदाइरहेकी थिइन्।

घर उस्तै थियो।

उसले बिस्तारै आफ्नै निधारमा हात राख्यो।

सपना रहेछ।

उसले लामो सास फेर्‍यो।

तर अचम्म - उसलाई सपना टुटेकोमा दुःख लागेन।

बरु उसले भर्खरै देखेका दृश्यहरू फेरि सम्झिन थाल्यो।

हरियो खेत।

माया दिदीको हातमा आफ्नै कमाइ।

कमलाको बैंक खाता।

विद्यालयका बच्चाहरू।

चौतारोमा टाँसिएको हिसाब।

र सबैभन्दा अन्त्यमा - सुरेशको आवाज,

“तर फर्किन चाहनेहरूका लागि बाटो खुला राख्नुपर्छ।”

रामबहादुर उठ्यो।

ढोका खोलेर बाहिर आयो।

बिहान अझै भएको थिएन।

उसले खेततिर हेर्‍यो।

खेत उस्तै थियो।

झारले ढाकिएको।

बाँझो।

गाउँ पनि उस्तै थियो।

माया दिदीको घरमा अभाव उस्तै थियो।

कमलाको घरमा संघर्ष उस्तै थियो।

विद्यालयमा विद्यार्थी घटिरहेका थिए।

र सुरेश?

सुरेश अझै मलेसियामै थियो।

रामबहादुर केहीबेर खेतको डिलमा उभिरह्यो।

उसले खल्तीबाट मोबाइल निकाल्यो।

सुरेशको नम्बर खोल्यो।

कल गर्ने कि नगर्ने भन्ने द्विविधामा केही क्षण औँला रोकियो।

अन्ततः उसले कल गर्‍यो।

केही बेरपछि उताबाट निद्रालु आवाज आयो,

“हेलो बा?”

रामबहादुरको गला अवरुद्ध भयो।

“सुरेश…”

“हजुर बा। सबै ठीक छ?”

“ठीक छ छोरा।”

केही क्षण मौनता भयो।

“एउटा कुरा भन्न फोन गरेको।”

“के कुरा बा?”

रामबहादुरले मुस्कुराउँदै भन्यो,

“आज तेरो सपना देखेँ।”

उताबाट हल्का हाँसो सुनियो।

“मेरो सपना?”

“हो।”

“कस्तो सपना?”

रामबहादुरले विस्तारै सम्पुर्ण सपना सुनाउन थाल्यो।

खेत।

सामूहिक तरकारी खेती।

महेन्द्र।

कृष्ण।

नवराज।

रमेश।

माया।

कमला।

महिलाहरू।

विद्यालय।

गाउँ।

र अन्त्यमा उनीहरू दुवै खेतको डिलमा बसेर गरेको कुराकानी।

सुरेश धेरैबेर चुप रह्यो।

“बा…”

“हजुर।”

“त्यो सपना मात्रै रहेछ भनेर किन दुःखी हुनुभयो?”

रामबहादुर केही बोलेन।

सुरेशले फेरि भन्यो,

“सपना देखिएको छ भने पूरा पनि त गर्न सकिन्छ नि।”

रामबहादुरको आँखामा आँसु आयो।

“तँ आउँछस्?”

उताबाट केही क्षण मौनता भयो।

“बा, म कहिले फर्किन्छु भनेर अहिले नै भन्न सक्दिनँ।”

रामबहादुरको अनुहार फेरि गम्भीर भयो।

सुरेशले थप्यो,

“तर फर्किने बाटो बनाउँदै छु।”

रामबहादुर मुस्कुरायो।

“कस्तो बाटो?”

“जहाँ गए पनि जरा यहीँ रहने बाटो।”

फोन काटिएपछि रामबहादुर धेरैबेर मोबाइल हातमै लिएर उभिरह्यो।

पूर्वतिर आकाशमा हल्का उज्यालो देखिन थालेको थियो।

उसले खेततिर हेर्‍यो।

खेत अझै बाँझै थियो।

तर आज उसलाई त्यो खेत पहिलेभन्दा फरक देखियो।

उसले बिस्तारै डिलबाट तल झर्‍यो।

झारले ढाकेको एउटा कुनामा गएर हातले झार उखेल्यो।

माटो नरम थियो।

उसले एक मुठी माटो हातमा उठायो।

हिजोसम्म यही माटोमा उसले आफ्नो र छोराको विगत मात्र देख्थ्यो। कहिल्यै नसकिने दुःखको यात्रा देख्थ्यो।

तर, आज उसले त्यही माटोमा सम्भावित भविष्य देख्यो।

उसले सम्झियो - गाउँ फर्किनु भनेको विदेश छोड्नु मात्र होइन।

आफ्नो माटोसँगको सम्बन्ध फर्काउनु हो।

आफ्नो श्रमको सम्मान फर्काउनु हो।

महिलाको आवाज र उनीहरूका लागि सम्मानजनक अवसर फर्काउनु हो।

विपन्नको आत्मविश्वास फर्काउनु हो।

र सबैभन्दा ठूलो कुरा - मानिसले आफ्नो भविष्य यहीँ पनि बनाउन सक्छ भन्ने विश्वास फर्काउनु हो।

पूर्वको आकाश रातो हुँदै गयो।

रामबहादुरले टर्च बाल्न खोज्यो।

फेरि रोकियो।

अब उज्यालो हुँदै थियो।

उसले टर्च खल्तीमा राख्यो।

खेततिर हेर्दै मुस्कुरायो।

खेत अझै बाँझै थियो।

तर रामबहादुरको सपना अब सपना मात्र थिएन।

त्यसले बिपनातर्फ फर्किने बाटो खोजिसकेको थियो।


कोटेश्वर, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।