बूढाबूढी व्यस्त सहरको चोकबाट पारितिर जाँदै थिए । उनीहरूको दृष्टि एउटा भिडमा पर्यो । त्यहाँ भर्खरै एउटा मोटरसाइकल ट्रकसित ठोक्किएको कुरा मानिसहरू गर्दै थिए । बूढीले भनी, “यस्सो हेरौं न, को ठोक्किएछ त्यहाँ ।”
बूढीको कुरालाई बेवास्ता गर्दै बूढाले भन्यो, “हुन्दे, कुन चाइनी केटो होला आँखा नहेरी मोटरसाइकल कुदाउनी । आजकाल आँखा खल्तीमा राखेर मोटरसाइकल कुदाउँछन् । आफ्नो काल आफै खोज्नेलाई के गर्न सकिन्छ र ।”
“तै पनि हेरौँ न त । कसैनकसैको त सन्तान हो नि ।” बूढीले कर गरी ।
“ल हिँड हेरौँ त्यसो भए ।” बूढो सहमत भयो ।
बूढाबूढी एकैछिनमा दुर्घटनास्थलमा पुगे । त्यहाँ भिड झन् ठूलो भइसकेको थियो । बूढालाई पछि छोडेर बूढी भिडलाई चिर्दै केन्द्रतिर गई । ऊ झन् झन् अघि बढी । त्यहाँ उसले के देखी कुन्नि, एक्कासि चिच्याई – “बाबु !”