१. बिहेको सात दिन
कुरा अछामको मंगलसेन नजिकैको जनालीकोट गाउँको हो। त्यो साल असारभरि दिनरात नरोकिकन पानी परिरहेको थियो, र गाउँका गोरेटाहरू हिलाम्य भइसकेका थिए। त्यही असारे पानीको बीचमा, सुमन खत्रीको जिन्दगी सधैंलाई बदलिदिने एउटा दिन आइपुग्यो।
सुमन त्यतिबेला तेइस वर्षको थियो। तीन वर्ष लगातार उसले शहर गएर साइबर क्याफेबाट अमेरिकी डाइभर्सिटी भिसा (DV) कार्यक्रमको लागि अनलाइन फारम भरेको थियो। पहिलो वर्ष केही भएन, दोस्रो वर्ष पनि केही भएन। तेस्रो वर्ष असार महिनाको एक बिहान, साइबर क्याफेकै कम्प्युटरमा नतिजा हेर्न बस्दा, स्क्रिनमा त्यो लाइन देखा पर्यो — "बधाई छ, तपाईं अमेरिकी डाइभर्सिटी भिसा (DV) कार्यक्रमको लागि छनोटमा पर्नुभएको छ।" सुमनको हात काँप्न थाल्यो।
त्यसपछि काठमाडौंको अमेरिकी दूतावासतिर दौडधुप सुरु भयो — स्वास्थ्य परीक्षण, प्रहरी रिपोर्ट, अन्तर्वार्ताको तयारी। र त्यो सबैको लागि पैसा चाहिन्थ्यो — भिसा दस्तुर, स्वास्थ्य जाँच, हवाई टिकट, र सुरुमा अमेरिकामा बाँच्न चाहिने केही डलर। बुबाले खेतको एक टुक्रा बन्धकी राख्नुभयो, आमाले आफ्नो एक जोर सुनको मारवाडी बेच्नुभयो, र गाउँकै साहुबाट छत्तीस प्रतिशत ब्याजमा ऋण काढियो।
त्यही बेला बुबाले अर्को कुरा निकाल्नुभयो। अलिकति अलमलिँदै उहाँले भन्नुभयो, 'छोरा, एउटा कुरा भन्नु थियो... जानुअघि हामी एउटा काम गरौं भन्छु म। घरमा बुहारी ल्याइदियर जान्छौ त?
सुमन झस्क्यो। "बुबा, म अब केहिदिनमा जाँदैछु। बिहे किन?"
"त्यही त," बुबाले भन्नुभयो, "मान्छे विदेश गएपछि बिग्रन्छ भन्छन्। घरमा कोही आफ्नो छ भन्ने भयो भने मन बाँधिन्छ। अनि हामी बूढाबूढी पनि छौं, तिम्रा बहिनीहरू पनि छन् — घरमा एउटा हात थपियो भने सजिलो हुन्छ।"
त्यो तर्कमा माया कम, हिसाब बढी थियो। तर सुमनले विरोध गरेन। गाउँमा छोराले बुबाको अगाडि तर्क गर्ने चलन थिएन, र त्यसमाथि ऋणको भारीले उसको मेरुदण्ड पहिल्यै झुकाइसकेको थियो।
बाह्र दिनपछि, तल्लो गाउँकी संस्कारी र मायालु स्वभावकी बीस वर्षकी सुनिता पौडेलसँग उसको बिहे भयो — न प्रेम, न परिचय, केवल एउटा रीति। जन्तीमा गाउँका पचास जना गए, भोजमा एउटा बोका काटियो, र मण्डपमा पण्डितले संस्कृतका श्लोक पढ्दा सुमनले एक अक्षर पनि बुझेन।
सिन्दूर हाल्ने बेला उसले पहिलोपटक सुनिताको अनुहार ठीकसँग हेर्यो। उनी ऊभन्दा बढी डराएकी जस्तो देखिन्थिन्, तर उनको आँखामा एउटा अजीब स्थिरता थियो — मानौं उनी आफ्नो भाग्यलाई पहिल्यै पढिसकेकी छिन्, र त्यसमा गुनासो गर्न चाहँदिनन्।
बिहेपछिका ती सात दिन सुमनको जीवनका सबैभन्दा अप्ठ्यारा दिन थिए। दिनभरि भिसाको कागजपत्र, बैंकको लाइन, साहुसँगको हिसाब। रातभरि एउटी अपरिचित स्त्रीसँग एउटै कोठा, जहाँ दुवैलाई के बोल्ने थाहा हुँदैनथ्यो।
छैटौं रात, सुनिताले पहिलोपटक आफैं कुरा सुरु गरिन्।
"तपाईंलाई डर लाग्दैन? त्यत्रो टाढा, एक्लै।"
"लाग्छ," उसले भन्यो। धेरै दिनपछि उसले कसैलाई साँचो जवाफ दिएको थियो।
"मलाई पनि लाग्छ," उनले भनिन्। "तर फरक एत्ति छ तपाईं जानुहुन्छ, म बस्छु। जानेलाई नयाँ ठाउँ हुन्छ। बस्नेलाई त उही घर, उही आँगन, अनि पर्खाइ मात्र हुन्छ।"
सुमनले जवाफ दिन सकेन। ऊ त्यतिबेला बुझ्दैनथ्यो — पर्खाइ पनि एक किसिमको मृत्यु हो।
सातौं दिनको बिहान ऊ काठमाडौं हिड्न लाग्यो। सुनिता ढोकासम्म आइन्, टीका लगाइदिइन्, र केही भनिनन्। गाडी गुड्न लाग्दा उसले पछाडि फर्केर हेर्यो — उनी अझै त्यहीँ उभिएकी थिइन्, दुई हात जोडेर, नहल्लीकन।
त्यो दृश्य उसले पछि सयौं पटक सम्झ्यो।
२. न्युयोर्कको गर्मी
जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लंदा साँझको सात बजेको थियो, र बाहिर गर्मी याममा हुने त्यही बाफिलो, आर्द्र हावा थियो — काठमाडौंको असारभन्दा फरक किसिमको, तर उत्तिकै असजिलो।
सुमनले जीवनमा पहिलोपटक महसुस गर्यो — टाढापन भनेको केवल दूरी होइन, त्यो एक किसिमको सजाय पनि हुने रहेछ।
गाउँकै टाढाको एक नातेदार दाइ, जो पहिल्यै जर्सी सिटीमा बस्नुहुन्थ्यो, उसलाई विमानस्थलबाट लिन आउनुभएको थियो। पहिलो रात उहाँकै एक कोठाको एपार्टमेन्टमा भुइँमा सुत्यो। सानो पंखाले जति गुन्जिए पनि कोठाको गर्मी कम भएन। बाहिरको नौलो सहर, गाडीहरूको लगातार आवाज, र मनभित्रको हलचलले धेरै बेरसम्म आँखामा निद्रा परेन।
एक हप्तापछि उहाँकै सिफारिसमा सुमनले जर्सी सिटीको एउटा वेयरहाउसमा काम पायो — "गार्डेन स्टेट डिस्ट्रिब्युसन सेन्टर", जहाँ अनलाइन पसलहरूको सामान प्याक गरेर पठाइन्थ्यो। बिहान सात बजेदेखि साँझ सात बजेसम्म ड्युटी, ओभरटाइम गरे राति दस-एघार बज्थ्यो। दिनभरि मेसिनको आवाज सुन्दा-सुन्दा कान यसरी बानी परिसकेको थियो कि रातमा सुत्दा पनि त्यही गुञ्जन कानभित्रै बजिरहन्थ्यो।
पहिलो तीन महिना उसले कसैसँग खुलेर कुरा गरेन। अंग्रेजी आउँदैनथ्यो, र नआएको भाषामा मान्छे आफैलाई सानो महसुस गर्छ। सुपरभाइजरले छिटो-छिटो अंग्रेजीमा केही भन्थ्यो, ऊ टाउको हल्लाउँथ्यो, अनि रातभरि सोच्थ्यो — के भनेको थियो होला?
पहिलो तलब हातमा परेको दिन ऊ एटीएम अगाडि पाँच मिनेट उभियो। स्क्रिनमा देखिएको अंक उसले नेपाली रुपैयाँमा बदल्दा, त्यो उसको बुबाले वर्षभरि खेतबाट कमाउने रकमभन्दा बढी थियो। त्यो रात ऊ शौचालयमा गएर बल्ल रोयो — खुशीले हो कि थकानले, उसैलाई थाहा भएन।
घरमा फोन गर्ने दिन ऊ आइतबार तोक्थ्यो।
पहिले बुबासँग कुरा हुन्थ्यो — ऋणको ब्याज, खेतको कुरा, गाउँका समाचार। अनि आमासँग — खाना खायौ, ओछ्यान न्यानो छ कि छैन। अनि अन्तमा, फोन सुनितालाई दिइन्थ्यो।
"नमस्कार।"
"नमस्कार। सञ्चै छौ?"
"छु। तपाईं?"
"म पनि सन्चै छु।"
अनि दुई-तीन सेकेन्डको मौनता।
"पैसा पुग्यो?"
"पुग्यो।"
"अनि... केही चाहियो भने भन्नू।"
"हुन्छ।"
फोन सकिन्थ्यो। बढीमा चालीस सेकेन्ड।
कहिलेकाहीँ उसलाई लाग्थ्यो, उनको आवाज पहिलेभन्दा अलि फरक सुनिन्छ — अलि कलिलो, अलि हतारिएको। तर गाउँको नेटवर्क यस्तै थियो; आवाज टुक्रिन्थ्यो, बीचैमा काटिन्थ्यो। भिडियो कल त कहिल्यै लाग्दैनथ्यो — मंगलसेन बजारमा टावर एउटै थियो, र त्यो पनि आधा समय बन्द हुन्थ्यो; घरसम्म सिग्नल आउन निकै गाह्रो हुन्थ्यो।
उसले कहिल्यै जोड गरेन। साँचो कुरा भन्नुपर्दा, उसलाई सुनिताको अनुहार सम्झन पनि गाह्रो हुन थालिसकेको थियो।
दसौं महिना लाग्दा घरबाट खबर आयो — सुनिताले छोरा जन्माइन्। नाम राखियो अनिश।
सुमनले त्यो खबर सुनेर के महसुस गर्ने भन्ने पनि थाहा पाएन। ऊ बाबु भएको थियो, तर उसले न त्यो बच्चा देखेको थियो, न उसकी आमालाई राम्ररी चिनेको थियो। उसले त्यो रात एउटा अतिरिक्त सिफ्ट गर्यो, र त्यसपछिको महिनादेखि घर पठाउने रकम पचास डलरले बढाइदियो।
माया पठाउन नसक्ने मान्छेले पैसा पठाउँछ। सुमनले पनि त्यही गर्यो।
३. पसलको भेट
जर्सी सिटीको जर्नल स्क्वायरमा "सगरमाथा स्टोर" नामको एउटा नेपाली पसल थियो। दालचामल, चिउरा, तितौरा, टिमुर, चटपटेको मसला — पस्नेबित्तिकै गाउँघरको सम्झना दिलाउने ठाउँ।
एक आइतबार, काममा लागेको धेरै महिनापछि पहिलोपटक पूरा दिन छुट्टी पाएको दिन, सुमन त्यहाँ पुग्यो। ऊ गुन्द्रुकको प्याकेट हातमा लिएर मूल्य हेर्दै थियो, त्यत्तिकैमा पछाडिबाट आवाज आयो —
" त्यो नलिनुहोस्। धेरै दिन भइसक्यो राखेको। पछाडि ताजा राखिएको छ, त्यही लानुहोस्।"
उसले फर्केर हेर्यो। हल्का कालो ब्लेज़र लगाएकी, कपाल पछाडि बाँधेकी, करिब सत्ताइस-अठ्ठाइस वर्षकी एउटी सुन्दर युवती।
"धन्यवाद," उसले भन्यो।
"नयाँ आउनुभएको हो?"
" चौध महिना भयो।"
"अनि अझै यहाँको गर्मी सहन सक्नुभएको छैन, होइन?" उनले हाँस्दै भनिन्। "अनुहार हेर्दै थाहा हुन्छ।"
सुमन पनि हाँस्यो। धेरै महिनापछि ऊ हाँसेको थियो।
"निशा अधिकारी," उनले हात अगाडि बढाइन्। "चितवन।"
"सुमन। अछाम।"
"थाहा छ," उनले भनिन्, अनि तुरुन्तै थपिन्, "मतलब, अछामतिरको बोली सुनेर अन्दाज गरेकी। मेरो आमाको माइती पनि त्यतै हो।"
निशा तिन वर्षअघिदेखि अमेरिकामा थिइन्, नजिकैको एउटा नर्सिङ होममा प्रमाणित नर्सिङ सहायक (CNA) को काम गर्थिन्। अंग्रेजी राम्ररी बोल्थिन्, कागजपत्रका झन्झट आफैं मिलाउँथिन्, र नयाँ आउनेहरूलाई बैंक खाता खोल्न, सामाजिक सुरक्षा नम्बर बनाउन, र स्वास्थ्य बीमाको फारम भर्न सघाउँथिन्।
त्यो दिन उनले सुमनलाई पसलबाहिरको सानो रेस्टुरेन्टमा चिया खुवाइन्।
"यहाँ बाँच्ने एउटै उपाय छ," उनले भनिन्। "अंग्रेजी सिक्नुहोस्। नत्र तपाईं जीवनभर कसैको हातको औंला हेरेर काम गर्नुहुनेछ, र भाषा नआएसम्म यहाँ कसैले तपाईंलाई मान दिँदैन।"
त्यसपछिका महिनाहरूमा उनीहरू बारम्बार भेटिन थाले — कहिले पसलमा, कहिले नेपाली समाजको दसैं भेलामा, कहिले जर्सी सिटीको पुस्तकालयमा चल्ने साँझको निःशुल्क ESL (अंग्रेजी) कक्षामा।
निशाले आफ्नो कथा पनि बिस्तारै सुनाइन्। बुबालाई मिर्गौलाको रोग लागेको थियो, डायलिसिसको खर्चले घर सक्कियो, र त्यही ऋण तिर्न उनी विदेशिइन्। बुबा चार वर्षअघि बित्नुभयो। अब आमा र एउटा भाइ छन्, भाइ पोखरामा पढ्दैछ।
"अनि तपाईं?" उनले एक दिन सोधिन्। "घरमा को-को हुनुहुन्छ?"
"बुबा, आमा, दुई बहिनी," सुमनले भन्यो।
निशाले टाउको हल्लाइन् र चियाको सुर्को लिइन्। उनले थप केही सोधिनन्।
सुमनले पछि धेरै पटक त्यो क्षण सम्झ्यो — किनभने त्यो दिनपछि निशाले उसको घरपरिवारबारे कहिल्यै एक शब्द पनि सोधिनन्।
त्यतिबेला उसले सोच्यो — कति भद्र स्त्री, अरूको व्यक्तिगत कुरामा नछिर्ने।
४. एउटै कोठा
तेस्को केहि समयपछि सुमनका नातेदार दाइ आफ्नो परिवारसहित पेन्सिलभेनियातिर सर्नुभयो, र सुमनले एक्लै त्यो महँगो एपार्टमेन्टको भाडा तिर्न नसक्ने भयो। ठीक त्यही बेला, निशाकी रुममेट पनि राम्रो तलबको काम पाएर ओहायोतिर सरिन्।
निर्णय दुवैले सँगै लिए, तर कसैले पनि खुलेर भनेनन् कि त्यो निर्णयको आधा कारण पैसा थियो र आधा कारण एक्लोपन।
जर्नल स्क्वायर नजिकैको एउटा पुरानो भवनको तेस्रो तलामा एउटा कोठा — एउटा भान्सा, एउटा सुत्ने ठाउँ, र एउटा सानो झ्याल जसबाट अर्को भवनको इँटाको पर्खाल मात्र देखिन्थ्यो।
तर त्यो साँघुरो कोठाभित्र, सुमनको जीवनमा पहिलोपटक "घर" भन्ने शब्दले अर्थ पायो।
बिहान निशा उठेर भात बसाल्थिन्, सुमन तरकारी काट्थ्यो। साँझ फर्केपछि दुवैले सँगै चिया खान्थे। गर्मीको रात, पंखाको अगाडि बसेर उनीहरू नारायण गोपालका गीतहरू सुन्थे — कहिले 'म त लालीगुराँस भएछु', कहिले 'यो मुटुलाई कसरी सम्झाइबुझाउँ', त कहिले 'मलाई नसोध कहाँ दुख्छ घाउ'। त्यही अन्तिम गीत सुन्दा एक साँझ निशाले भनिन् — "यो गीत सुन्दा मलाई हरेकपटक लाग्छ, कहिलेकाहीँ मान्छेले आफ्नै घाउ लुकाएरै बाँच्नुपर्छ — र त्यही लुकाइले नै उसलाई सबैभन्दा बलियो बनाउँछ।
निशाले उसलाई अंग्रेजी सिकाइन्। एक वर्षभित्र सुमनले सुपरभाइजरसँग आफैं कुरा गर्न सक्ने भयो, र त्यसको केही महिनापछि उसको तलबमा वृद्धि भयो।
निशाले उसलाई बचत गर्न सिकाइन्। "पैसा पठाउने कुरामा पुरुषहरू भावुक हुन्छन," उनी भन्थिन्। "घरबाट पैसा माग्यो, पठाइदियो। पाँच वर्षपछि हात रित्तै। यसपालि नियम बनाऔं — साठी प्रतिशत घर, चालीस प्रतिशत हाम्रो खातामा। नेपाल फर्केपछि केही गर्नुपर्छ नि।"
"हाम्रो खाता" भन्ने शब्दले सुमनको मुटु न्यानो भयो।
उनीहरूले सपना पनि सँगै बुन्न थाले — केही वर्ष अमेरिकामा काम गरेर, पैसा जोगाएर, नेपाल फर्कि आफ्नै व्यापार खोल्ने। अमेरिकाबाट सामान ल्याएर नेपालमा बेच्ने — पूरक स्वास्थ्य उत्पादन, इलेक्ट्रोनिक्सका सामान। निशासँग भाषा र सम्पर्क थियो, सुमनसँग मिहिनेत र धैर्यता ।
एक रात, बत्ती निभाइसकेपछि, अँध्यारोमा निशाले सोधिन् —
"सुमन, तिमी कहिलेकाहीँ आफूलाई माफ गर्न सक्दैनौ जस्तो लाग्छ। किन?"
ऊ केही क्षण चुप बस्यो।
"थाहा छैन," उसले झुट बोल्यो।
निशाले पनि थप केही सोधिनन्। उनले उसको कपाल सुम्सुम्याइन् र भनिन् —"सत्य आफैमा गलत हुँदैन, तर कहिलेकाहीँ त्यो आइपुग्ने समय गलत हुन्छ र गलत समयमा आएको सत्यले मान्छेलाई जोगाउँदैन, बरु भित्रैबाट भत्काइदिन्छ।“
सुमनलाई त्यो वाक्य असाध्यै गहिरो लाग्यो।
उसलाई थाहा थिएन, त्यो वाक्य दर्शन थिएन — त्यो स्वीकारोक्ति थियो।
त्यो रात सुमन निदाइसकेपछि, निशा धेरैबेरसम्म आँखा चिम्लिन सकिनन्।
अँध्यारोमा उनले आफैलाई सोधिन् — म के गर्दैछु?
५. समाजको आँखा
जर्सी सिटीको नेपाली समुदाय ठूलो थियो, र ठूलो समुदायमा त झन् कुरा हावाभन्दा छिटो दौडन्छ।
"बिहे नगरी सँगै बसेको?"
"केटी त उमेर पनि ठूली रे।"
"आजभोलिका केटीहरू..."
दसैंको भेलामा एक जना दिदीले निशालाई सोधिन् — "तिमीहरूको त बिहे भइसक्यो कि छैन?"
निशाले मुस्कुराउँदै जवाफ दिइन् — " छैन दिदी, अहिलेसम्म त भएको छैन। तर बिहे भएकै भरमा मानिस सुखी र खुसि हुने भए त संसारमा कोही दुःखी नै हुन्थियेनन होला नि। तपाईंको पनि त बिहे भएको तीस वर्ष भयो, हजुर सुखी हुनुहुन्छ?"
दिदीको अनुहार रातो भयो। त्यसपछि कसैले निशालाई त्यो प्रश्न सोध्ने आँट गरेनन्।
तर कुरा त्यत्तिकैमा रोकिएन, बरु कानेखुसीमा बढ्दै गयो। मन्दिरमा भेट हुँदा कसैले नमस्कारसमेत फर्काउँदैनथे। एक पटक फेसबुकको एउटा नेपाली समूहमा कसैले नाम नलेखी (anonymous) यस्तो पोस्ट पनि हाल्यो — "जर्सी सिटीमा घरमा श्रीमती छोडेर यहाँ अर्कै राखेर बस्नेहरूको संख्या बढ्दै छ।“
सुमनले त्यो पोस्ट पढ्दा उसको हात काँप्यो। तीन दिनसम्म ऊ ठीकसँग सुतेन।
निशाले त्यो पोस्ट देखिन् कि देखिनन्, उसले सोध्ने आँट गरेन। तर त्यो हप्ता उनी असामान्य रूपमा शान्त थिइन्। एक रात उनले भनिन् —
"मान्छेहरू के भन्छन्, त्यसले मलाई फरक पर्दैन, सुमन। मलाई फरक त्यतिबेला पर्छ जब मैले ऐनामा आफ्नै आँखा हेर्न नसक्ने हुन्छु।"
तिमीले किन ऐनामा आफ्नो आँखा हेर्न नसक्ने? तिमीले त केही गल्ती गरेकी छैनौ। गल्ती त..."
ऊ त्यहीँ रोकियो — आफैलाई देखाउन लागेको औंला बीचमै रोकेर।
गल्ती त मेरो हो — यो वाक्य उसले सधैं ओठसम्म ल्यायो, तर कहिल्यै भन्न सकेन।
६. मेसिन र चोट
काम थालेको ठ्याक्कै डेढ वर्षपछि दुर्घटना भयो।
प्याकिङ लाइनको सुरक्षा सेन्सर बिग्रिएको थियो — हात नजिक पर्नेबित्तिकै रोकिनुपर्ने मेसिन समयमै रोकिएन, र सुमन आफ्नो दाहिने हात बेल्टबाट फुत्काउन ठ्याक्कै दुई सेकेन्ड ढिलो भयो। दुई औंलाको हड्डी ठाउँठाउँमा भाँचियो, र हातको नसामा समेत गम्भीर क्षति पुग्यो।
अस्पतालमा उसलाई होस आउँदा सबैभन्दा पहिले उसले निशाको अनुहार देख्यो। उनी रातभरि नसुतीकन कुर्सीमा बसेकी थिइन्।
"कम्पनीको इन्स्योरेन्सले पहिले त क्लेम अस्वीकार गर्यो," उनले भनिन्, "किनभने तिनीहरूले भने — मेसिन ठीकसँग नचलाएको हो। मैले वकिल राखेकी छु, अहिले अपिल गर्ने प्रक्रियामा छौं। तर त्यो नटुंगिँदासम्म उपचारको खर्च त हामीले नै तिर्नुपर्छ।"
पहिलो शल्यक्रिया भयो। केहि समय काम गर्न सकेन। इन्स्योरेन्सको विवाद पनि लगभग त्यत्तिकै समय तानियो — ऊ फेरि काममा फर्कने बेलासम्म पनि त्यो टुंगिएको थिएन।
"निशाले आफ्नो बचतबाट छ हजार डलर खर्च गरिन् — गुल्मीको एक वर्षको खेतीबाट कमाइने रकमभन्दा धेरै गुणा बढी।
सुमनले त्यो अंक सुन्नेबित्तिकै टाउको निहुरायो। उसको अनुहारमा टिलिक्क टल्केको चिन्ता पढेरै होला, निशाले भनिन् —
"फिर्ता गर्नुपर्दैन।"
"निशा, यो हाम्रो व्यापारको लागि जोगाएको पैसा थियो।"
"व्यापार पछि पनि हुन्छ। हात महत्वपुर्ण हो।"
दोस्रो शल्यक्रियाको दिन, उनी करिब एक घण्टा हराइन्। फर्केर आउँदा उनको आँखा रातो थियो।
"कहाँ गएकी थियौ?"
"औषधि किन्न।"
"एक घण्टा?"
"फोन गर्नुपर्ने थियो। नेपाल।"
"घरमा सबै ठीक छ?"
"छ," उनले भनिन्, र झ्यालबाहिर हेरिन्।
सुमन बिरामी थियो, थकित थियो, र औषधिको असरले निदाइहाल्यो।
उसले सोधेन — नेपालमा को छ जसलाई तिमीले मेरो शल्यक्रियाको दिन फोन गर्नुपर्यो?
७. दुई किनारा
चोटबाट निको भएपछि जीवन फेरि गति लियो, तर पहिलेजस्तो रहेन।
निशाको आमाबाट बारम्बार फोन आउन थाल्यो। भाइको पढाइ सकिँदै थियो, आमा एक्लै थिइन्, र गाउँमा प्रश्न उठ्न थालेको थियो — "छोरी तीस कट्न लागी, अझै विदेशमै…?"
एक साँझ, फोन सकेर निशा धेरैबेर बरन्डामा उभिइरहिन्।
"आमाले भन्नुभयो," उनले भित्र आएर भनिन्, "एक पटक घर आऊ रे। मान्छे हेर्ने कुरा चलेको छ रे।"
सुमनको मुटु फुट्ला जस्तो भयो ।
"तिमीले के भन्यौ?"
"मैले भनें — मेरो मान्छे छ।"
कोठामा सन्नाटा छायो।
"अनि?"
"अनि आमाले सोध्नुभयो — के नाम हो, कहाँको हो, घरमा को-को छन्, कहिले भेट्न आउँछ।" निशा उसको अगाडि उभिइन्। "म एउटै प्रश्नको पनि जवाफ दिन सकिनँ, सुमन।"
"निशा..."
"तीन वर्ष भयो। तीन वर्षमा मैले तिम्रो घरको एउटा फोटो देखेकी छैन। तिम्रो आमासँग एक पटक बोलेकी छैन। तिमीले आइतबार फोन गर्दा म कोठाबाट बाहिर निस्किन्छु — किन? किनभने तिमीले चाहेको त्यही हो।"
"त्यस्तो होइन।"
"अनि कस्तो हो?" उनको आवाज पहिलोपटक उकालो लाग्यो। "म तिमीलाई कर गर्दिनँ। तर मलाई भन — म कहिलेसम्म तिम्रो परिवारका लागि नचिनिएकी मान्छे भएर बस्नुपर्छ, न प्रेमिका, न पत्नी, कोही पनि नभई?"
त्यो रात दुवै फरक-फरक कोल्टे फर्केर सुते।
र त्यही रात, पहिलोपटक, सुमनले साँच्चै निर्णय गर्यो — अब भन्नैपर्छ।
८. सत्यको भार
तीन दिनपछि, एक शनिबारको साँझ, सुमनले चिया बनायो, बत्ती मधुरो पार्यो, र निशालाई अगाडि बसाल्यो।
"निशा, मैले तिमीलाई एउटा कुरा भन्नुछ। सुनेपछि तिमी जे निर्णय गर्छ्यौ, मलाई स्वीकार छ।"
उनले चियाको कप दुवै हातले समातिन् र टाउको हल्लाइन्।
"मेरो बिहे भइसकेको छ।"
कोठामा केवल पंखाको आवाज मात्र गुन्जियो।
"अमेरिका आउनुभन्दा सात दिनअघि, गाउँमा। बुबाआमाले मिलाएको। मैले न त्यो केटीलाई चिनेको थिएँ, न मन पराएको थिएँ। सात दिन सँगै बसें, अनि उड़ें।" ऊ रोकियो। "र मेरो एउटा छोरा पनि छ। एता आएको दसौं महिनामा जन्मियो। मैले उसलाई कहिल्यै देखेको छैन।"
निशाले चियाको कप बिस्तारै टेबलमा राखिन्।
"किन भनेनौ?"
"किनभने मलाई डर लाग्यो। पहिले लाग्यो — भनें भने तिमी जान्छ्यौ। पछि लाग्यो — अब त धेरै ढिलो भइसक्यो, अब भनें भने झन् ठूलो अन्याय हुन्छ। अनि हरेक दिन ढिलो हुँदै गयो।"
निशाको आँखाबाट आँसु झर्यो। तर उनी चिच्याइनन्, केही फुटाइनन्, कोठाबाट निस्किइनन्।
उनी केवल रोइन् — मौन, लामो, थाकेको रुवाइ।
र सुमनले एउटा कुरा याद गरेन।
उनले एक पटक पनि सोधिनन् — "उनको नाम के हो?" "छोरा कति वर्षको भयो?" "तिम्रो गाउँ कहाँ हो?"
एउटी स्त्री, जसले भर्खरै आफ्नो तीन वर्षको जीवन भत्केको सुनेकी छ, तर त्यस्तो बेला जो कोहीले पनि सोध्ने प्रश्नहरूमध्ये उनले एउटा पनि सोधिनन्।
दुई दिनपछि उनले भनिन् — "मलाई अस्पतालले भर्जिनियाको एउटा तालिममा पठाउँदैछ। म एक महिना जानुपर्ने भयो।"
ऊ त्यही दिन बस स्टेसनसम्म पुर्याउन गयो। जाँदा उनले पछाडि फर्केर एक पटक हेरिन्, अनि भिडमा हराइन्।
९. फर्केर आएकी निशा
निशा छब्बीस दिनपछि फर्किन्।
अनुहार अलि दुब्लाएको थियो, आँखामुनि कालो घेरा थियो, तर उनको आँखामा एउटा नयाँ किसिमको स्थिरता थियो — निर्णय गरिसकेको मान्छेको स्थिरता।
उनले झोला भुइँमा राखिन्, जुत्ता खोलिन्, र भनिन् —
"बस, सुमन। कुरा गरौं।"
ऊ बस्यो।
"मैले धेरै सोचें," उनले भनिन्। "म तिमीलाई घृणा गर्न सक्दिनँ। तर म यसरी बाँच्न पनि सक्दिनँ — जहाँ एउटी स्त्री गाउँमा तिम्रो नाममा बसेकी छिन्, र म यहाँ तिम्रो नाम पनि लिन नपाई बसेकी छु। यो उनको लागि पनि अन्याय हो, मेरो लागि पनि।"
"त तिमी के चाहन्छ्यौ?"
"म चाहन्छु तिमी नेपाल जाऊ।"
सुमनले टाउको उठायो।
"लुकेर होइन, भागेर होइन। घर जाऊ। आफ्नो छोरालाई भेट। आफ्नी श्रीमतीसँग बस, कुरा गर, अनुहार हेरेर सत्य भन। यदि उनले तिमीलाई माफ गर्दै छाड्न तयार भइन् भने — कानुनी रूपमा सबै मिलाएर, इज्जतका साथ, उनको भविष्यको व्यवस्था गरेर फर्किनू। र यदि उनले भनिन् कि उनी तिमीसँगै बाँच्न चाहन्छिन् — भने..." उनको स्वर काँप्यो, "...भने मलाई फोन नगर्नू। म बुझ्नेछु।"
सुमन घुँडा टेकेर उनको काखमा अनुहार लुकायो र रोयो।
"तिमी किन यति असल छ्यौ, निशा?"
उनले उसको कपाल सुम्सुम्याइन्। धेरैबेरसम्म केही भनिनन्।
अनि बिस्तारै भनिन् — "किनभने मलाई थाहा छ, नबोलेको सत्यले मान्छेलाई भित्रैबाट खान्छ। र मैले त्यो देखेकी छु।"
टिकट काटियो — केहि महिनापछिको, दसैंको मुखमा। काममा तीन हप्ताको बिदा मिल्यो।
जाने अघिल्लो रात, निशाले उसको झोलामा एउटा प्याकेट राखिदिइन्।
"यो के हो?"
"बच्चाको लागि। जुत्ता। नाप थाहा थिएन, अलि ठूलो लिएकी छु — बच्चा त बढ्छन् नि।"
सुमनले त्यो प्याकेट हातमा लियो र निशातिर हेर्यो।
"तिमीले त उसको उमेर सोधेकी पनि थिइनौ।"
"अनुमान गरें," उनले भनिन्, र भान्सातिर फर्किन्।
१०. जनालीकोट
न्युयोर्कबाट काठमाडौं हुँदै, काठमाडौंबाट नेपालगन्ज, नेपालगन्जबाट मंगलसेन, र मंगलसेनबाट जनालीकोटसम्म तीन घण्टाको उकालो।
सुमन गाउँको मोडमा पुग्दा दिउँसोको दुई बजेको थियो। साढे तीन वर्षमा गाउँमा धेरै कुरा बदलिएको थियो — पक्की बाटो आएको थियो, दुई-तीन नयाँ घर बनेका थिए, र बिजुलीका पोलहरू ठडिएका थिए।
तर आफ्नो घरको आँगनमा पाइला टेक्नेबित्तिकै उसलाई केही अनौठो लाग्यो।
आँगन सफा थियो, तर घरको मूल ढोकामा सधैं झुण्डिने मकैको झुत्ता थिएन। भित्तामा दसैंको रङ लगाइएको थिएन। र घरमा एउटा अस्वाभाविक शान्ति थियो।
आमा भान्साबाट निस्किनुभयो। उहाँले सुमनलाई देख्नुभयो, र एक क्षण त्यहीँ स्तब्ध उभिनुभयो।
अनि उहाँ भुइँमा बस्नुभयो र डाँको छाडेर रुन थाल्नुभयो।
"आमा! के भयो? आमा!"
बुबा बाहिरबाट दौडँदै आउनुभयो। उहाँको अनुहार सेतो थियो।
र त्यही बेला, ढोकाको पछाडिबाट, एउटा सानो केटो निस्कियो। करिब तीन वर्षको। धुलोमा खेलेर लुगा फोहोर पारेको, नाकबाट सिँगान बगिरहेको।
ऊ आफ्ना ठूला-ठूला आँखाले सुमनलाई नियाल्दै उभियो — नचिनेको मान्छेलाई हेरे जसरी।
सुमनले घुँडा टेक्यो। "अनिश?"
केटोले टाउको हल्लायो।
"तिम्री आमा कहाँ छिन्?"
केटोले पछाडि फर्केर घरभित्र औंल्यायो।
सुमन उठ्यो र भित्र पस्यो।
भित्री कोठाको भित्तामा, फोटोको फ्रेममा, सुनिता थिइन् — त्यही बिहेको दिनको फोटो, जुन उसले कहिल्यै राम्ररी हेरेको थिएन।
फोटोमा गाँसिएको माला सुकिसकेको थियो।
फोटोमुनि, दियोको कालो दाग भित्तामै बसिसकेको थियो — वर्षौंको दागजस्तो।
सुमनको खुट्टा लर्बरायो। उसले भित्ता समात्यो।
"बुबा..." उसको स्वर आफ्नै लाग्दैनथ्यो। "यो... कहिले?"
बुबा ढोकामा उभिनुभएको थियो। उहाँ रुनुभएन। उहाँ केवल भुइँ हेरिरहनुभयो।
"दुई वर्ष चार महिना भयो, छोरा।"
११. दुई वर्ष चार महिनाको झुट
सुमन भुइँमा बस्यो।
दुई वर्ष चार महिना।
त्यसो भए यो दुई वर्ष चार महिनाभरि, हरेक आइतबार, फोनमा "नमस्कार, सञ्चै छु" भन्ने त्यो आवाज —
"बुबा, फोनमा को बोल्थ्यो?"
आमाले रुँदै जवाफ दिनुभयो। "बिमला।"
बिमला — उसकी कान्छी बहिनी। जुन बेला ऊ गाउँ छाड्यो, त्यो चौध वर्षकी थिई।
"किन?" सुमन चिच्यायो। "किन, बुबा? मेरी स्वास्नी मरिन्, मलाई खबर पनि गरेनौ? म मान्छे होइन?"
बुबा घुँडा टेकेर बस्नुभयो। साढे तीन वर्षमा उहाँ धेरै बूढो भइसक्नुभएको थियो।
"सुत्केरी भएको सत्र दिनपछि बिती," उहाँले भन्नुभयो। "रगत बग्न रोकिएन। मंगलसेन पुर्याउँदा-पुर्याउँदै बाटैमा..."
"अनि?"
"अनि हामीले सल्लाह गर्यौं। तँ त्यहाँ भर्खरै जागिरमा बसेको थिइस्। साहुको ऋण अझै बाँकी थियो। तँलाई भन्यो भने तँ छाडेर आउँछस्, अनि भिसा पनि जान्छ, सबै डुब्छ भन्ने डर भयो। भन्यौं — केही महिना जाओस्, अलि सम्हालिएपछि भनौंला।"
"केही महिना?" सुमन चिच्यायो। "दुई वर्ष चार महिना, बुबा!"
"पहिलो पटक ढिलो गरेपछि," बुबाले भन्नुभयो, "दोस्रो पटक भन्न झन् गाह्रो हुँदो रहेछ। अनि तेस्रो पटक असम्भव।"
सुमन भित्तामा टाउको अड्याएर बस्यो।
उसको भित्र केही भत्किरहेको थियो — तर त्यो केवल दुःख थिएन। त्यो लाज थियो।
किनभने सत्य यो थियो: उसले कहिल्यै थाहा पाउने कोसिस गरेन। दुई वर्ष चार महिनासम्म हरेक आइतबार, चालीस सेकेन्डको फोनमा, उसले आफ्नी श्रीमतीको आवाज चिन्न सकेन — किनभने उसले त्यो आवाजलाई कहिल्यै साँच्चै सुनेकै थिएन। ऊ सधैं फोन काट्ने हतारोमा हुन्थ्यो।
एउटी स्त्री दुई वर्षदेखि यो संसारमा थिइनन्, र उसलाई थाहा भएन — किनभने उसको जीवनमा उनको ठाउँ यति सानो थियो कि उनको अनुपस्थितिले पनि कुनै खाली ठाउँ बनाएन।
"तँलाई थाहा छ, छोरा," आमाले भन्नुभयो, "त्यो बिचरीले मर्नुभन्दा अघिल्लो हप्ता के भनेकी थिई थाहा छ? भनेकी थिई — 'आमा, उहाँलाई फोनमा नबताउनुहोला कि म बिरामी छु। उहाँ त्यहाँ एक्लै हुनुहुन्छ। चिन्ता गर्नुहुन्छ।"
सुमनले हातले अनुहार छोप्यो।
बाहिर आँगनमा, अनिश ढुंगा खेलाइरहेको थियो — एउटी आमाको छोरा, जसलाई आफ्नी आमा सम्झना पनि थिएन, र एउटा बाबुको छोरा, जसलाई आफ्नो बाबुले पनि चिन्दैनथ्यो।
१२. गेटमा उभिएकी स्त्री
त्यो रात सुमन सुतेन।
बिहान चार बजे, अझै अँध्यारो हुँदै, ऊ आँगनमा निस्कियो। हातमा फोन थियो। उसले निशाको नम्बर निकाल्यो, तर औंला स्क्रिनमै रोकियो।
के भन्ने?
"निशा, म विधुर रहेछु। दुई वर्ष चार महिनादेखि। मलाई थाहा थिएन।"
यो वाक्य बोल्न पनि लाज लाग्थ्यो।
र त्यही बेला, उसको मनमा एउटा प्रश्न आयो — त्यो प्रश्न जुन हिजो दिनभरिको दुःखमा दबिएको थियो।
ऊ भित्र पस्यो र आमालाई उठायो।
"आमा, एउटा कुरा सोध्छु। साँचो भन्नुहोस्। तपाईंहरूलाई यो सल्लाह कसले दियो?"
आमा अलमलिनुभयो।
"भन्नुहोस्, आमा।"
"हामी त गाउँका मूर्ख मान्छे, छोरा," उहाँले भन्नुभयो। "हामीलाई के थाहा विदेशको कानुन, विदेशको कम्पनी। सुनिता बितेको भोलिपल्ट हामी छिन्नभिन्न थियौं। कसैले भन्यो — अमेरिकामा मान्छे मरेको खबर सुनेर काम छाड्यो भने भिसा जान्छ, ऋण थपिन्छ, सबै डुब्छ।"
"कसले भन्यो?"
"एउटी नानीले फोन गरेकी थिई।"
सुमनको सास रोकियो।
"अमेरिकाबाटै। उसले भनी — 'म उहाँकै सहरमा काम गर्छु। यहाँको हालत मलाई थाहा छ। अहिले खबर दिनुभयो भने उहाँ छिया-छिया हुनुहुञ्छ। दुई-तीन महिना कुर्नुहोस्, मौका मिलाएर म आफैं यहाँ उहाँलाई बताउँछु।' अनि..." आमाको स्वर काँप्यो, "...अनि त्यो नानीले हरेक महिना फोन गरी, छोरा। हाम्रो हालखबर सोधी। अनिशको औषधिको लागि पैसा पनि पठाई — तीन पटक। हामीले भन्यौं नपठाऊ, तर मानिन।"
सुमन उभिएकै ठाउँमा जमेको थियो।
"उसको नाम भन्नुहोस्।"
आमाले भन्नुभयो।
र त्यही बेला, गेटमा एउटा गाडी रोकियो।
सुमन बाहिर निस्कियो।
बिहानको धमिलो उज्यालोमा, धुलोले भरिएको गेटको छेउमा, कालो ज्याकेट लगाएकी एउटी स्त्री उभिएकी थिइन्। थाकेकी, निदाउन नपाएकी, तर स्थिर।
निशा।
"तिमी..." सुमनको आवाज निस्केन। "तिमी यहाँ कसरी?"
"म तिम्रै जहाजमा आएकी थिएँ," उनले भनिन्। " आठ लाइन पछाडिको सिटमा भेस बदलेर। मलाई थाहा थियो, तिमीले यो खबर एक्लै सहन सक्दैनौ।"
"त्यसो भए तिमीलाई... तिमीलाई पहिलेदेखि नै थाहा थियो।"
"थाहा थियो, सुमन। पहिले देखि नै।"
उसले आँखा चिम्ल्यो। तीन वर्षका सयौं दृश्यहरू एकैचोटि उल्टो घुम्न थाले — उनको प्रश्न नसोध्ने बानी, शल्यक्रियाको दिनको त्यो एक घण्टा, बच्चाको जुत्ताको नाप, र त्यो वाक्य — "गलत समयमा आएको सत्यले मान्छेलाई जोगाउँदैन, बरु भित्रैबाट भत्काइदिन्छ।"
"किन?" उसले सोध्यो। "मलाई किन भनिनौ, निशा? तिमीले मलाई हरेक दिन हेर्यौ, हरेक दिन झुट बोल्यौ।"
"किनभने पहिलो दिन मैले सोचें, म छिट्टै भन्छु," उनले भनिन्, आँखा भिजेको तर आवाज नकाँपेको। "तर तेसपछी विभिन्न घटना क्रमहरु भए। हरेक पटक ‘आज भनौँला’ भनेर सोचेँ, तर फेरि कुनै न कुनै कारणले कुरा भन्न सकिनँ। यसरी दिनहरू बित्दै गए। जति ढिलो हुँदै गयो, त्यति नै यो कुरा तिमीलाई भन्न मलाई गाह्रो हुँदै गयो। अन्ततः एक दिन मलाई लाग्यो—अब तिमीलाई यो कुरा कसरी भनूँ? मैले यति धेरै दिनसम्म किन लुकाएँ भनेर तिमीले पक्कै सोध्नेछौ। अनि तिमीले सोध्ने पहिलो प्रश्न पनि त्यही हुन्थ्यो—"तिमीलाई कसरी थाहा भयो?
"तिमीलाई कसरी थाहा भयो त?"
निशा केही क्षण चुप बसिन्।
अनि उनले झोलाबाट एउटा पुरानो, चाउरिएको तस्बिर निकालिन् र उसको हातमा राखिदिइन्।
तस्बिरमा दुई जना केटी थिए। एउटी सुनिता — बिहेको दिनको लुगामा, टीका लगाएकी। र उनको काँधमा हात राखेर उभिएकी अर्की — निशा।
"तिम्रो बिहेको दिन," निशाले भनिन्। "म जन्तीमा थिइनँ। म बेहुलीको पक्षमा थिएँ।"
सुमनको हातबाट तस्बिर खस्न लाग्यो।
"सुनिता मेरी सानीआमाकी छोरी थिई, सुमन। मेरी बहिनी। म उसकै बिहेमा नेपाल आएकी थिएँ, र दुई हप्तापछि अमेरिका फर्केकी थिएँ। उसले भनेकी थिई — 'दिदी, उहाँ पनि त्यहीँ आउँदै हुनुहुन्छ। मिलेसम्म ख्याल गर्नुहोला है।"
"त्यसैले," निशाले भनिन्, र पहिलोपटक उनको आवाज भाँचियो, "त्यो पसलमा तिमीले गुन्द्रुक हातमा लिएर उभिएको दिन — त्यो संयोग थिएन, सुमन। म धेरै आइतबारदेखि त्यही पसलमा गएर तिमीलाई पर्खिरहेकी थिएँ। तिमीलाई मकहाँ पठाउने मान्छे अरू कोही थिइनन् — तिम्रै सुनिता थिइन्।"
बिहानको हावा चलेको थियो र गेटको फलामे पत्ता चिच्चाइरहेको थियो। सुमनले केही भन्न खोज्यो, तर शब्द आएनन्। बाहिर बिस्तारै घाम उक्लंदै थियो, र वर्षौंदेखि नभनिएको एउटा सत्य, अन्ततः, दुई जनाको बीचमा शान्तसँग ओर्लियो।
मर्सेड, क्यालिफोर्निया, अमेरिका