19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लभ एट फर्स्ट साइट

कविता विमल लामिछाने August 22, 2026, 12:52 am
विमल लामिछाने
विमल लामिछाने

हतास मन लिएर उभिएको थिएँ म बाटाको छेउ,
रोकीयो अचानक स्कुटर, खुल्यो हर्षको मौन भेउ ।
‘कहाँ जानुहुन्छ ?’ भनी सोध्ने उनको त्यो ममताको स्वर,
अपरिचित भएर पनि आफ्नै झैँ लाग्यो त्यो स्नेह र परोपकार ।।

सडक पार गर्दा ऐनाको कुनाबाट खसेको त्यो नजर,
मनले भन्यो– ‘लिफ्ट माग’, दिमागले भन्यो– ‘नबन अधैर्य !’
तर उनका नयनमा अचानक ठोक्किँदा मेरा आँखाहरू,
बोल्न खोज्दा घाँटीमै अड्किए मेरा शब्दका लहर ।।

अवसर पर्खेर बसेको मनले कोरिसकेको थियो यात्राको कथा,
तर यथार्थ जीवनका पाना पल्टिँदा सुरु भयो अर्को व्यथा ।
त्यही छोटो लिफ्टको यात्राले फेरियो भावनाका पानाहरू,
मनभरि छायो अनौठो शान्ति, र मेटिए सारा बहानाहरू ।।

सडकको छेउमै भत्किए कल्पित महलका सारा आधार,
जुन मुहारमा देखिन्थ्यो संसार, त्यही बन्यो मृगतृष्णाको हार ।
अन्तरमनले भन्यो– नमात्तिनू यी भ्रमका जालहरूमा,
सपना देख्न निषेध छैन यो जिन्दगीको भेलमा ।।

उनको कोमल साथले दिएको त्यो निःस्वार्थ सहारा,
अँध्यारो बाटामा चम्किरहेको थियो कुनै उज्यालो तारा ।
सहानुभूतिको स्पर्शले मनको सुक्खा बगर भिजाइन्,
अपरिचित भए पनि उनले मायाको मन्त्र सिकाइन् ।।

बिस्तारै ओछ्यानमा पल्टिँदा मनमा खेल्यो एउटा भ्रम,
स्मृतिपटलमा अझै नाचिरहेछ उनको मुहारको नरम आभा ।
स्क्रीनको चम्किलो उज्यालोमा उनीभित्रको अनुहार खोज्दै जाँदा,
अज्ञात आकर्षणले ब्युँझायो मनमा एउटा अनौठो तृष्णा ।।

सडकको त्यो धुलो र उनको त्यो अमिट मुस्कान,
जिन्दगी यात्राको पुस्तकमा लेखियो एक सुन्दर अभिज्ञान ।
अब त फेरि ती आँखाहरूको बाटो एक्लै हेरिरहन्छु,
अज्ञात प्रियसीले त्यो ममताको राग नमेटिने गरी छोडेर गइन् ।।

कति सुन्दर यात्रा, भनेथिन्– ‘लेट्स् मिट एगेन सुन्’
अनि, रिकरिङ भइरहन्छ, लाष्टको ‘थ्याङ्क यू’
आफैँसँग प्रश्न सोधिरहन्छु, र खोजीरहेछु
आज, कहाँ छिन् होला उ..नी ?
धेरै भयो नभेटेको
फेसबुक आइडी माग्न पनि बिर्सेछु नि ! !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।