पहाडमाथि फैलिएको कुहिरो बिस्तारै पातलिँदै थियो। सूर्यको पहिलो किरणले गाउँका ढुङ्गे घरहरूलाई छुँदै तल झरिरहेको थियो। रातभरि ओसले भिजेका सागका पातहरूमा अडिएका थोपाहरू चम्किरहेका थिए। प्रकृतिमा नयाँ बिहान थियो, तर अर्जुनको मनमा भने पुरानो चिन्ताले फेरि आँखा खोलेको थियो।
उसले आँगनबाट घरतिर हेर्यो। भित्ताको माटो उप्किएको थियो, छानो चुहिन थालेको थियो। भित्र बुबाको खोकी सुनिन्थ्यो। आमा चुल्होमा आगो सल्काउँदै थिइन्। पाँच वर्षकी आश्मी नाङ्गै खुट्टाले आँगनमा दौडिँदै बाबुको काख खोजिरहेकी थिई।
"बाबा, आज पनि बजार जानुहुन्छ?"
अर्जुनले छोरीलाई उचालेर निधारमा चुम्बन गर्यो।
"अलि टाढा जानुपर्छ, बाबु।"
"मेरो लागि के ल्याइदिनुहुन्छ?"
"तिमीले जे माग्छ्यौ, त्यही।"
आश्मी खुसीले हाँसी। अर्जुन पनि मुस्कुरायो, तर त्यो मुस्कानभित्रको पीडा कसैले देखेन।
त्यो वर्षको बर्खाले खेत उजाड बनाएको थियो। मकै आधा सुक्यो, धानले साथ दिएन। गाउँमा गरेको ज्यालामजदुरीले बिहान–बेलुकाको जोहो त हुन्थ्यो, तर बुबाको औषधि, भाइ नयनको पढाइ र छोरीको भविष्य धान्न सक्दैनथ्यो।
त्यसैले उसले विदेश जाने निर्णय गर्यो।
बेलुका खाना खाँदै गर्दा मायाले बिस्तारै सोधी, "साँच्चै जाने निर्णय गर्नुभयो?"
"यहीँ बसेर अब केही हुने देखिनँ। केही वर्ष दुःख गरौँला। घरको अवस्था फेरौँला।"
कोठाभित्र एकाएक सन्नाटा छायो।
बुढी आमाले भनेको एउटा वाक्य भने अर्जुनको मनमा गहिरो गरी बस्यो।
"पैसा कमाएर फर्किनू, तर आफूलाई हराएर नआउनू।"
...
दुई महिनापछि विमानले आकाश चिर्दै नेपाल छाड्यो। झ्यालबाट तल हेर्दा पहाडहरू बादलभित्र हराइरहेका थिए। अर्जुनले मनमनै घर सम्झियो।
रोजगारी दिलाउने कम्पनीले उसलाई एउटा मेडिकल कलेजको क्यान्टिनमा काम दियो।
हरेक बिहान भान्साबाट नास्ताका पोका गन्ने, सूचीअनुसार कक्षामा पुर्याउने, भाँडा फिर्ता ल्याउने र भोलिको तयारी गर्ने।
पहिलो दिन व्यवस्थापकले कडा स्वरमा भने,
"जति विद्यार्थी, उति पोका। एउटा पनि बढी वा कम हुनु हुँदैन।"
अर्जुनले छोटो उत्तर दियो,
"हुन्छ, सर।"
दिनहरू एउटै लयमा बग्न थाले। बिहान काम, बेलुका कोठा, अनि नेपालमा फोन। आश्मीको एउटै प्रश्न हुन्थ्यो—
"बाबा, कहिले आउनुहुन्छ?"
हरेकपटक उसको उत्तर पनि उही हुन्थ्यो—
"चाँडै।"
तर त्यो "चाँडै" कति टाढा थियो, उसलाई आफैँ थाहा थिएन।
एक बिहान नास्ता बाँड्दै गर्दा एउटा अग्लो, हँसिलो विद्यार्थी उसको अगाडि रोकियो।
"दाइ... एउटा कुरा भनूँ?"
"भन्नुस्।"
"मलाई अर्को एउटा नास्ताको पोका दिन मिल्छ?"
अर्जुन झस्कियो। व्यवस्थापकको चेतावनी उसको कानमा गुञ्जियो। तर विद्यार्थीको थकित अनुहार र भोकले गलेको स्वरले उसको मन पगाल्यो।
"बिहान चार बजेदेखि उठेको हुँ," विद्यार्थीले लजाउँदै भन्यो, "यो एउटाले पेट मान्दैन।"
अर्जुनले केही क्षण केही बोलेन। त्यसपछि चुपचाप अर्को पोका उसको हातमा राखिदियो।
"धन्यवाद, दाइ।"
त्यो एउटा शब्दले अर्जुनको मन अनौठो गरी छोयो।
बेलुका हिसाब मिलाउँदा अतिरिक्त नास्ताको पैसा उसको तलबबाट काटियो। कोठामा फर्केर खर्चको कापीमा उसले एउटा नयाँ हरफ थप्यो—
'थप नास्ता – कटौती।'
रकम ठूलो थिएन, तर पसिनाले कमाएको पैसाको मूल्य उसलाई राम्ररी थाहा थियो।
भोलिपल्ट उही विद्यार्थी फेरि आयो।
"दाइ... आज पनि धेरै भोक लागेको छ।"
अर्जुन मुस्कुरायो। फेरि अर्को पोका दियो।
"तपाईंको पैसा काटिन्छ होला नि?"
"त्यो मेरो चिन्ता हो।"
विद्यार्थी केही बेर चुप रह्यो।
"दाइ, तपाईंको नाम?"
"अर्जुन।"
"म आदित्य।"
त्यही दिनदेखि एउटा अनौठो सम्बन्ध सुरु भयो।
हरेक बिहान आदित्यले अतिरिक्त नास्ता माग्थ्यो। अर्जुनले दिन्थ्यो। बेलुका पैसा तलबबाट काटिन्थ्यो। तर अर्जुनले त्यसलाई कहिल्यै घाटा ठानेन।
एक दिन आदित्यले अतिरिक्त नास्ताको पैसा भएको खाम अगाडि बढायो।
"यो राख्नुस्।"
अर्जुनले टाउको हल्लायो।
"मैले बेचेको होइन, दिएको हुँ।"
"तर तपाईंलाई घाटा भइरहेको छ।"
अर्जुनले उसको काँधमा हात राख्दै भन्यो,
"गाउँमा मेरो पनि तिमी जत्तिकै उमेरको भाइ छ। तिमीलाई देख्दा उसैको सम्झना आउँछ। भाइलाई मायाले दिएको वस्तुको मूल्य लिने हो भने त्यो मायाको अर्थ नै के रह्यो र?"
○ ○
बिहानको पहिलो सूर्यको किरणले सिसाले ढाकिएका अग्ला भवनहरूमा सुनौलो आभा छरिरहेको थियो। अस्पतालको मुख्य भवनअगाडि एम्बुलेन्सहरू एकपछि अर्को आइरहेका थिए। सेता पोसाकमा चिकित्सकहरू हतारिँदै आफ्ना विभागतिर लागिरहेका थिए। जीवन र मृत्युबीचको दूरी यहाँ कहिलेकाहीँ केही मिनेटमै नापिन्थ्यो।
अर्जुन फेरि विदेशमै थियो।
दुई वर्षअघि सम्झौता सकिएपछि ऊ गाउँ फर्किएको थियो। बुबाको उपचार, आश्मीको पढाइ र घरको ऋण तिर्दातिर्दै जम्मा गरेको रकम सकियो। गाउँमा ज्यालामजदुरी गरेर घर चलाइरहन सम्भव नभएपछि उसले फेरि विदेश रोज्नुपर्यो। यसपटक भने काम मेडिकल कलेजको क्यान्टिनमा होइन, एउटा ठूलो अस्पतालमा सरसफाइ कर्मचारीको थियो।
बिहानदेखि बेलुकासम्म वार्ड, गल्ली र प्रतीक्षालय सफा गर्नु उसको जिम्मेवारी थियो। काम कठिन थियो, तर उसले कहिल्यै गुनासो गरेन। उसको बानी उस्तै थियो—जुन काम गरे पनि मन लगाएर गर्ने।
समय बिस्तारै बित्दै गयो।
अस्पतालका धेरै कर्मचारीहरूले अर्जुनलाई नामले नचिने पनि उसको व्यवहारले चिन्थे। भेटिएका हरेकलाई ऊ नम्रतापूर्वक अभिवादन गर्थ्यो। एक दिन एउटा बिरामीको आफन्तले हराएको बटुवा उसैले सुरक्षित राखेर फिर्ता गरिदियो। प्रशंसा सुन्दा पनि ऊ केवल मुस्कुराएर भन्थ्यो,
"यो त मैले गर्नुपर्ने काम मात्रै हो।"
...
एक बिहान विशेष उपचार विभाग सफा गर्ने जिम्मेवारी उसैलाई पर्यो।
गल्लीको अर्को छेउबाट केही वरिष्ठ चिकित्सकहरू बिरामीबारे छलफल गर्दै आइरहेका थिए। अर्जुनले आफ्नो ट्रली छेउमा सारेर बाटो खाली गरिदियो।
चिकित्सकहरूको समूह अगाडि बढ्नै लागेको थियो। तर तीमध्ये एक जना अचानक रोकिए।
उनको दृष्टि अर्जुनको अनुहारमै अडियो।
केही क्षण उनी स्थिर उभिए।
त्यसपछि अनुहारभरि मुस्कान फैलियो।
"ओहो दाइ, तपाईँ!"
अर्जुन झस्कियो।
त्यो स्वर कतै सुनेको जस्तो लाग्यो।
उसले ध्यान दिएर चिकित्सकतिर हेर्यो।
परिपक्व अनुहार।
घाँटीमा परिचयपत्र।
सेतो कोट।
तर त्यो मुस्कान...
एकाएक उसको स्मृतिको ढोका खुल्यो।
"आ... आदित्य?"
"हो दाइ!"
दुवैले केही क्षण एकअर्कालाई हेरिरहे।
अर्जुनका आँखामा अचम्म र खुसी एकैसाथ झल्किए।
"तिमी त साँच्चै डाक्टर बनेछौ!"
आदित्यले अगाडि बढेर आदरपूर्वक उसका दुवै हात समात्यो।
"दाइ, तपाईंलाई फेरि भेट्छु भन्ने कल्पना पनि गरेको थिइनँ।"
वरिपरिका चिकित्सकहरू छक्क परेर हेर्दै थिए। उनीहरूले पहिलोपटक आफ्ना वरिष्ठ विशेषज्ञलाई सरसफाइ कर्मचारीसँग यति आत्मीयतापूर्वक कुरा गरेको देखेका थिए।
आदित्य मुस्कुराउँदै सहकर्मीहरूतिर फर्कियो।
"उहाँ मेरो जीवनका सबैभन्दा सम्मानित व्यक्ति हुनुहुन्छ।"
अर्जुन संकोचले केही बोल्न सकेन।
...
दिउँसोको विश्राममा आदित्यले अर्जुनलाई कफी कक्षमा बोलायो।
"घरमा सबै सन्चै छन्, दाइ?"
"ठीकै छन्। जिम्मेवारीले फेरि विदेश ल्यायो।"
अर्जुनले छोटकरीमा आफ्नो अवस्था सुनायो। आदित्य चुपचाप सुनिरह्यो।
उसको मनमा भने वर्षौँअघिका ती बिहानहरू घुमिरहेका थिए।
चिकित्सा शिक्षाको कठिन यात्रामा कति बिहान उसले हतारहतार नास्ता सकाएको थियो, त्यसको हिसाब थिएन। तर हरेकपटक अतिरिक्त नास्ताको पोका हातमा पर्दा अर्जुनको मुस्कान र आत्मीयता भने उसको मनमा उस्तै ताजै रहन्थ्यो।
अतिरिक्त नास्ताको पोका...
तलबबाट काटिएको रकम...
र मुस्कुराउँदै भन्ने अर्जुन—
"गाउँमा मेरो पनि तिमी जत्तिकै उमेरको भाइ छ। तिमीलाई देख्दा उसैको सम्झना आउँछ। भाइलाई मायाले दिएको वस्तुको मूल्य लिने हो भने मायाको अर्थ के रह्यो र?"
त्यो वाक्य आज पनि आदित्यको मनमा उस्तै ताजै थियो।
केहीबेरपछि उसले शान्त स्वरमा सोध्यो,
"दाइ, अहिले पनि यही काम गर्नुहुन्छ?"
"हो।"
"थकाइ लाग्दैन?"
अर्जुन मुस्कुरायो।
"कामसँग कहिल्यै थाकिँदैन भाइ, परिस्थितिसँग थाकिन्छ।"
त्यो उत्तर सुनेपछि आदित्य केही क्षण मौन रह्यो।
आदित्यको मनमा एउटा निर्णय परिपक्व हुँदै थियो। त्यसको परिणाम के हुने थियो, त्यो अझै कसैलाई थाहा थिएन।
○ ○ ○
अस्पतालको झ्यालबाट बिहानको घाम भित्र पस्दै थियो। गल्लीमा स्वास्थ्यकर्मीहरूको चहलपहल सुरु भइसकेको थियो। कतै स्ट्रेचर गुडिरहेको थियो, कतै नर्सहरू बिरामीको अवस्था टिपिरहेका थिए। यही व्यस्तताबीच आदित्य आफ्नो कार्यकक्षमा शान्त बसेर एउटा फाइल पल्टाइरहेका थिए।
फाइलमा अर्जुनको नाम थियो।
हिजोदेखि मनमा घुमिरहेको निर्णय आज उनले कार्यान्वयन गर्ने भएका थिए।
अर्जुनको इमानदारीबारे आदित्यले व्यवस्थापनसमक्ष धेरै उदाहरण राखेका थिए। हराएको बटुवा सुरक्षित फिर्ता गरेको घटना, कामप्रतिको अनुशासन र सबैसँगको नम्र व्यवहारले उसमाथि धेरैको विश्वास बसिसकेको थियो। त्यसैले आवश्यक छोटो तालिम दिएर नयाँ जिम्मेवारी सुम्पन व्यवस्थापन पनि सहमत भएको थियो।
अर्जुनलाई सरसफाइ विभागबाट अस्पतालको मेडिकल स्टोरमा सहयोगी कर्मचारीका रूपमा ल्याउने प्रस्ताव व्यवस्थापनले स्वीकृत गरिसकेको थियो। पद ठूलो थिएन, तर तलब राम्रो थियो। काम पनि उसको मेहनत र इमानदारी सुहाउने खालको थियो।
...
त्यही बिहान सुपरभाइजरले अर्जुनलाई भने,
"मेडिकल डाइरेक्टरको कार्यालयमा जानू रे।"
अर्जुन अचम्मित भयो।
उसले ढोका ढकढकायो।
"भित्र आउनुस्।"
भित्र आदित्य मुस्कुराइरहेका थिए।
"बस्नुस् दाइ।"
अर्जुन उभिएकै रह्यो।
"म यतै ठीक छु, भाइ।"
आदित्यले एउटा कागज अगाडि सार्दै भने,
"आजदेखि तपाईंको जिम्मेवारी फेरिएको छ।"
अर्जुनले कागज हेरे।
मेडिकल स्टोर सहयोगी।
उसले अविश्वासले आदित्यतिर हेर्यो।
"मबाट यो काम होला र?"
आदित्य मुस्कुराए।
"नास्ताको एउटा अतिरिक्त पोका दिन सक्ने मानिसले जिम्मेवारी पनि अतिरिक्त रूपमा लिन सक्छ। मलाई तपाईंमाथि विश्वास छ।"
अर्जुनका आँखामा पानी टिलपिलायो।
वर्षौँअघि दिएको एउटा सानो आत्मीयता आज शब्दभन्दा ठूलो उत्तर बनेर फर्किएको थियो।
...
केही सातामै अर्जुनले नयाँ काम सिक्यो। औषधिको अभिलेख मिलाउने, आवश्यक सामग्री सम्बन्धित विभागमा पुर्याउने र स्टोरको व्यवस्थापनमा सहयोग गर्ने काममा ऊ छिट्टै अभ्यस्त बन्यो। उसको इमानदारी यहाँ पनि उस्तै रह्यो।
एकपटक औषधिको हिसाब मिलाउँदा भएको सानो त्रुटि उसैले समयमै भेट्टायो। त्यसले आवश्यक औषधि गलत विभागमा पुग्नबाट जोगियो। जिम्मेवारीप्रतिको उसको सजगता देखेर सहकर्मीहरूले पनि खुलेर प्रशंसा गरेका थिए।
केही महिनापछि व्यवस्थापनले उसको कार्यसम्पादनको प्रशंसा गर्यो। तलब पनि बढ्यो। त्यसपछि वर्षहरू बिस्तारै बित्दै गए। दोस्रो पटक विदेश आएको पनि करिब आठ वर्ष पूरा हुन लागेको थियो। कमाइ पहिलेभन्दा राम्रो थियो। नेपाल पठाउने रकम पनि बढ्दै गयो।
फोनमा आश्मीको स्वर पहिलेभन्दा धेरै उज्यालो सुनिन्थ्यो।
"बाबा, अब म विज्ञान पढ्छु।"
अर्जुन मुस्कुराउँदै भन्थ्यो,
"पढ, छोरी। सपना सानो नबनाऊ।"
...
समय फेरि बित्दै गयो।
आश्मीले उच्च माध्यमिक शिक्षा उत्कृष्ट नतिजासहित पूरा गरिन्।
बुबाको स्वास्थ्य पनि पहिलेभन्दा स्थिर थियो।
घरको ऋण लगभग सकिएको थियो।
एक साँझ अर्जुन अस्पतालको आँगनमा उभिएर अस्ताउँदै गरेको घाम हेरिरहेको थियो।
आदित्य नजिक आए।
"के सोचिरहनुभएको, दाइ?"
अर्जुन मुस्कुरायो।
"अब घर फर्किने बेला भयो जस्तो लाग्यो।"
आदित्य केहीबेर मौन रहे।
त्यसपछि अगाडि बढेर अर्जुनलाई अंकमाल गरे।
"तपाईंले मलाई भोक लागेको बेला नास्ता दिनुभएको थियो। आज तपाईंले मलाई जीवनभर सम्झिने एउटा पाठ दिनुभयो—मानिसको उचाइ उसको पदले होइन, उसको मनले मापन हुन्छ।"
अर्जुनले हल्का मुस्कानसहित उत्तर दियो,
"र मैले तिमीबाट अर्को कुरा सिकेँ, भाइ। राम्रो कर्म कहिल्यै हराउँदैन रहेछ। ढिलो भए पनि एक दिन आफ्नै बाटो हुँदै फर्केर आउँदो रहेछ।"
...
केही दिनपछि विमानस्थलमा उभिँदा अर्जुनको झोला पहिलेभन्दा अलि भारी थियो।
तर त्यसमा कपडाभन्दा धेरै अनुभव थिए। त्यहाँ पसिनाको गन्ध थियो। संघर्षका वर्षहरू थिए। र एउटा अतिरिक्त नास्ताको पोकाबाट सुरु भएको आत्मीयताको अमूल्य सम्झना थियो।
बोर्डिङको घोषणा भयो।
अर्जुनले अन्तिमपटक विदेशको आकाशतिर हेर्यो। त्यसपछि उसको मन पहाडको त्यो सानो गाउँमा पुग्यो, जहाँ एउटी छोरी बाबुको बाटो कुरिरहेकी थिई, आमा आँगनमा आँखा बिछ्याएर बसेकी थिइन्, र बुढा बुबाले सायद आज पनि छोरो आउने दिन गनेर बसिरहेका थिए।
त्यही क्षण उसलाई आमाको पुरानो वाक्य फेरि सम्झना आयो—
"पैसा कमाएर फर्किनू, आफूलाई भने हराएर नआउनू।"
आज उसले महसुस गर्यो— ऊ पैसा मात्र कमाएर घर फर्किरहेको थिएन। उसले मानिसप्रतिको विश्वास, आत्मसम्मान र आफ्नै अस्तित्व पनि जोगाएर फर्किरहेको थियो।
विमान धावनमार्गतिर बिस्तारै अघि बढ्न थाल्यो।
अर्जुनले आँखाहरू बिस्तारै चिम्लियो। उसको ओठमा सानो मुस्कान थियो।
किनकि ऊ केवल स्वदेश एक्लै फर्किरहेको थिएन— यसपालि आफ्ना प्रियजनहरूलाई सुनाउने आफ्नो संघर्ष र इमानदारीको रोचक कथा पनि बोकेर घर फर्किरहेको थियो।