मेरो कोशी कल–कल बगी दिव्य झन्कार दिन्छ
मेरो रोशी पल–पल नयाँ भव्य सौन्दर्य छर्छ
मेरो होशी मन मगजमा सभ्यता बास बस्छ
कोशी–होशी गमन गहिरो जीवनी धन्य बन्छ ।
मेरो प्यारो हिमचुचुरिमा घाम सिन्दुर छर्छन्
मेरो आफ्नो हरित वनले रम्य शोभा कहन्छन्
मेरो रातो मुटु ढुकढुकी जून छाँया नियाल्छन्
मेरो माटो श्रम र सिपको दृष्टि बर्साद खोज्छन् ।
नाच्छे आफैं वनचरि यहीँ पङ्ख–इन्द्रेनि खोजी
हाँस्छे आफैं मनसुन झरी ताल–बेताल रोजी
दिन्छे झर्ना झर–झर गरी गीत सङ्गीत बोली
हुन्छे मख्खै प्रकृति कसरी ? रागको भाव खोली ।
पुर्खा मेरा विगत धनको रक्तको मूल्य खोज्छन्
गिर्ला भन्दै सुमन जनको स्वाभिमानै उचाल्छन्
मेरो खुट्टा धरमर भए बाँध फुटी भँगालो
मेरो बाटो लडखड भए साँघमा जाग्छ खाँडो ।
लोभी आँखा नजर ननिको नियतै साफ राख
उम्लेला है ! रगत पसिना, भेलले पुर्छ शाख
माटो आफ्नो धुर–धुर कता ? कोशीले पुर्नसक्छ
मै हूँ कोशी ! कपट–कपटी दुख्खमै डुब्न सक्छ ।
ढिक्का–ढिक्का शतत शदियौं जम्न सक्ने पहाड
लक्का–झक्का कुहुनु किन हो ? जोड्न खोज्छौ बहाड
चट्टानैको तह–तह रहमा गाँस्सिएको मुहान
कोशी मेरो सलल जलमा स्वप्न द्रष्टा समान ।
यो फाँटैमा ऋषिमुनि अघि कौशिकी नित्य जप्थे
यो यामैमा हर–हर हरी, साधनामा झुमिन्थे
छाँया धर्ती प्रियजन सखा वासनामा बहन्थे
काया कोशी कविवर कठै ! शब्दको नाद चोर्थे ।
(मन्दाक्रान्ता छन्द)