आज शनिबार पाँच दिनको कामपछि आउने एउटा यस्तो दिन जसलाई म आफ्नो थकानसँग अलिकति आरामका लागि जोगाएर राखेकी हुन्छु। हप्ताभरि अरूको समयसँग बाँधिएर हिँडेपछि शनिबार आइपुग्दा लाग्छ आज चाहिँ आफ्नै समय हो। केही नगरी बसूँ, शरीरलाई विश्राम दिऊँ, मनलाई पनि केहीबेर चुपचाप रहन दिऊँ।
तर आज शनिबारलाई त्यस्तो कुनै योजना रहेनछ।
बिहानदेखि आकाशको मुहार फेरिएको थियो। कालो बादलहरू कतैबाट आएर आकाशमा जम्मा भएका थिए। पानी परिरहेको थियो। बेला-बेला आकाश यति जोडले झिलिक्क हुन्थ्यो कि लाग्थ्यो, बाहिरको त्यो चमकले झ्यालको सिसा छिचोलेर सिधै मेरो कोठाभित्र बत्ती बालिदिएको छ। एकछिन उज्यालो, फेरि अँध्यारो। फेरि झिलिक्क। अनि केहीबेरपछि गड्याङ गुडुङ गरेर आकाश गर्जिन्थ्यो।
म चुपचाप कोठाभित्र बसिरहेकी थिएँ। बाहिर पानी आफ्नै गतिमा परिरहेको थियो, तर मेरो मन भने पानीसँगै शान्त हुन सकिरहेको थिएन। बरु प्रत्येक गर्जनसँगै मनभित्र एउटा सानो डर आएर बसिरहेको थियो।
मलाई पानीसँग डर लाग्दैन। बरु पानी झमझम परोस् जस्तो लाग्छ। गर्मीको यो मौसममा झ्यालबाहिर पानीका थोपा खसिरहून्, चिसो हावा चलोस्, कोठाभरि वर्षाको आवाज भरियोस्। तर त्यो चट्याङ नपरोस्। त्यो झिलिक्क नहोस्। त्यो आकाशले यसरी अचानक गर्जेर मेरो मुटु नझस्काओस्।
कहिलेकाहीँ डर पनि कति अनौठो हुँदो रहेछ। आफूलाई थाहा हुन्छ म घरभित्र छु, छानोमुनि छु, ढोका छ। तर मनले तर्क मान्दैन। बाहिर चट्याङ चम्किँदा मनले सोचिहाल्छ यदि घरभित्रै चट्याङ पर्यो भने? यदि मलाई नै पर्यो भने?
चट्याङले मान्छे मारेका खबरहरू सुनेकी छु। कतै कसैलाई परेको, कतै कसैको ज्यान गएको कुरा सम्झनामा आउँछ। अनि त्यही सुनेका कुराहरू चट्याङ चम्किने प्रत्येकपटक फेरि मनभित्र खेल्न थाल्छन यदि यहीँ पर्यो भने? यदि मलाई नै पर्यो भने? यदि अर्को झिल्कासँगै सबै कुरा सकियो भने?
डरले कहिलेकाहीँ यति सानो सम्भावनालाई पनि यति ठूलो बनाइदिँदो रहेछ कि त्यसबेला सत्य र कल्पनाबीचको दूरी नै हराउँदो रहेछ।
मसँग भाग्ने ठाउँ पनि कहाँ छ र?
यो कोठा छोडेर अर्को कोठामा जाऊँ त्यहाँ पनि म नै छु। अर्को कोठामा लुकूँ लुक्ने ठाउँ कहाँ छ? ढोकाबाट टाढा बसूँ, झ्यालबाट टाढा बसूँ तर आकाशबाट कसरी टाढा बसूँ? बाहिरको आकाश त सबैतिर छ।
त्यसैले डर लाग्दा पनि कहाँ जाऊँ? कहाँ लुकूँ?
सायद डरको सबैभन्दा ठूलो रूप यही हो भाग्न खोज्दा पनि जाने ठाउँ नदेखिनु।
अघिल्लो शनिबार पनि म डराएकी थिएँ, आज पनि डराइरहेकी छु। अघिल्लो शनिबार पनि आराम गर्न खोजेकी थिएँ, आज पनि। तर दुवै शनिबार आकाशले आफ्नो आवाज लिएर आयो र मेरो आरामलाई मभन्दा पर धकेलिदियो। एकछिन त लाग्यो {आकाशलाई पनि तिहार लागेको हो कि क्या हो}...
आज आकाश झिलिमिली हुँदा अनायासै तिहार पो सम्झिएँ। तिहारमा पनि त जताततै बत्तीहरू झिलिमिली हुन्छन घरहरू उज्याला हुन्छन्, आँगन उज्यालो हुन्छ, बाटाहरू उज्याला हुन्छन्। तर तिहारको त्यो झिलिमिली र आज आकाशमा चम्किरहेको झिलिमिली एउटै भएर पनि कति फरक रहेछ! तिहारको उज्यालोले मनमा खुसी भर्छ, तर आज आकाशको झिलिमिलीले मेरो मनमा उज्यालो होइन, अँध्यारो फैलाइरहेको थियो।
अनि सोचिरहेँ ....मान्छे आखिर केसँग डराउँछ?
चट्याङसँग? मृत्युसँग? कि आफूले नियन्त्रण गर्न नसक्ने कुरासँग?
मानिस जन्मिँदै जीवन मात्र लिएर आउँदैन, मृत्यु पनि सँगै लिएर आउँछ। कसको मृत्यु कहिले, कहाँ र कसरी हुन्छ हामीमध्ये कसैलाई थाहा हुँदैन। मानिसहरू भन्छन्, जीवन र मृत्युको समय भाग्यमा लेखिएको हुन्छ।
यदि त्यसो हो भने, यदि मेरो भागमा चट्याङले मर्नु लेखिएको छ भने म कहाँ भाग्न सक्छु?
अर्को कोठामा गएर? ढोका बन्द गरेर? झ्यालबाट टाढा बसेर?
तर फेरि मनले अर्को प्रश्न गर्छ यदि सबै कुरा लेखिएको छ भने मानिस डराउँछ नै किन?
सायद मानिस मृत्युबाट मात्र डराउँदैन। सायद मानिसलाई आफूले केही गर्न नसक्ने सत्यले डराउँछ। सायद हामीलाई अन्त्यभन्दा पनि अन्त्य आउन सक्ने सम्भावनाले बढी डराउँछ।
बाहिर आकाश गर्जिरहेको छ, भित्र भने मेरो मन डराइरहेको छ र म एउटै प्रश्न बोकेर बसिरहेकी छु आखिर डर आकाशमा परेको चट्याङसँग हो कि आफ्नै मृत्युसँग?
सायद केहीबेरपछि चट्याङ हराउला। बाहिरको आकाश आफ्नो गर्जन बिर्सिएर शान्त होला। पानी भने परिरहोस्। म चाहन्छु, पानी अझै परोस्, झमझम परोस्। गर्मी लागेको यो मौसमलाई केहीबेर भिजाओस्, यो कोठाको तातोपनलाई केहीबेर चिस्याओस्। तर आकाशको यो गर्जन चाहिँ रोकियोस्। यो झिलिमिली, यो झिलिक्क चम्किने उज्यालो केहीबेर नआओस्।
मनमनै भगवान सङ यत्ति मात्र प्रार्थना गरिरहेकी छु हे आकाश, तिमी केहीबेर शान्त भइदेऊ। मेरो यो डर र त्रास पनि तिम्रो कुनै एउटा झिल्कोसँगै लिएर जाऊ।