19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मातापिताप्रति सम्मान र पारिवारिक विखण्डनका विरुद्धमा ‘जन्मदाता’

कृति/समीक्षा नारायण मरासिनी August 23, 2026, 6:52 pm
नारायण मरासिनी
नारायण मरासिनी

कास्की जिल्लाको घार्मीमा वि.सं. २००१ मा जन्मेका कवि पोषराज पौडेलको ‘जन्मदाता’ स्मृतिकाव्य अर्थात् शोककाव्य (२०७८) पीडादायी घडीमा सिर्जित कृति हो । आफ्ना मातापिताको सम्झनामा उनले यो स्मृतिकाव्य तयार पारेका हुन् । यो काव्य आफ्ना मातापिताप्रतिको उनको श्रद्धाभाव हो । उनले आफ्नी मातालाई २०४४ सालमा गुमाएका थिए भने पितालाई २०७८ सालमा गुमाउन पुगेका छन् । शास्त्रीय छन्दको उपयोग गरिएको यस काव्यमा पाँचवटा उपशीर्षक वा खण्ड रहेका छन् । पहिलो खण्ड उनले मूलतः आफ्नी आमाको सम्झनामा तयार पारेका छन् भने बाँकी चारवटा खण्डमा पिताप्रतिको श्रद्धाभाव संयोजन गरेका छन् । काव्यमा उनले आफ्ना मातापिताप्रतिको सम्मानका साथै पारिवारिक बेमेल तथा विखण्डनको विरोध गरेका छन् । यहाँ तिनै पाँचवटा खण्ड तथा उपशीर्षकअनुसार काव्यको विश्लेषण गरिएको छ–
१. आमा बादलको देशमा
यस काव्यको पहिलो उपशीर्षक अर्थात् खण्ड ‘आमा बादलको देशमा’ रहेको छ । यस उपशीर्षकमा आरम्भको एक र अन्तिमको एक गरी दुई श्लोकबाहेक अन्य सबै श्लोक अनुष्टुप् छन्दमा सङ्कलित छन् । यहाँ आमा भनेर कविले आफूलाई जन्म दिने आमा धनसरा पौडेलका साथै पालनपोषण गर्ने नेपाल आमालाई पनि प्रतीकात्मक रुपमा सम्बोधन गरेका छन् । यस पहिलो उपशीर्षकका श्लोकहरूमा विषयगतका साथै भावगत विविधता पनि भेटिन्छ । कविले यसमा प्रकृतिको वर्णन गरेका छन् । विशेष गरी पहाडी र हिमाली सौन्दर्यको मनोहर वर्णन छ । हिमशृङ्खलाको मनोहारिता, हराभरा देखिने पाखापर्वत एवम् पहाडी परिवेशमा देखिने छहराछाँगाहरूको गौरवगान छ ।
कविले यस खण्डमा शोकभावका साथै प्रगतिशील विचार पक्षलाई जोड दिएका छन् । उनले हाम्रो समाजमा मौलाएको भ्रष्टाचारको विरोध गरेका छन् र आफू जन्मेको देशलाई सर्वोपरि राखेका छन् । मूलतः कविमा निहित विद्रोही चेतना यस खण्डमा प्रस्फुटित छ, प्रतिबिम्बित छः
म सधैं देशका निम्ति मेरो जीवन अर्पिऊँ
शत्रुका सामुमा पर्दा छाती थापूँ नतर्सिऊँ
भ्रष्टाचारीहरूमाथि जाइ लागूँ निरन्तर
मनमा भावना यस्तै मेरा उठ्छन् बराबर । (पृ. १)
सानो उमेर अर्थात् बाल्यकालमा आमाको काखमा रमाएको, आमाको साथमा रहन पाउँदा दुःखपीडाहरू बिर्सेको अतीतलाई कविले स्मृतिमा ल्याएका छन् । आमा बितेपछि आफू जीवनको कच्चा चालक बन्न पुगेको महसुस गरेका छन् । आमालाई महान ठानेका छन् । आमालाई सम्मान नगर्ने छोराहरू, मायाममता नदिने छोराहरू खलातीजस्ता हुन् जसले सास फेरेका हुन्छन् तर त्यसमा जीवन हुँदैन भनेका छन्ः
जननीको अहो ! माया कसरी भुल्न सक्छु म ?
आमालाई भुली ‘छोरो’ कसरी बन्न सक्छु म ?
कृतघ्न पुत्र जो बन्छ त्यस्को जीवन व्यर्थ छ
खलातीतुल्य भै त्यस्ले मात्र त्यो सास फेर्दछ । (पृ. ३)
कविले यस उपशीर्षकमा पहाडी प्राकृतिक सौन्दर्य मात्र नभई देशप्रेमको भावना पनि व्यक्त गरेका छन् । उनले आकाशका बादल यताउति मडारिएको देख्दा ‘बर्साएर यहीँ पानी, पारौं नेपाल सुन्दर’ (पृ. ४) भन्दै नेपाल अन्नबालीमा भरिपूर्ण भएको देख्न चाहेका छन् । यसै गरी उनले आमाप्रतिको समवेदनालाई मन छुने तरिकाले प्रस्तुत गरेका छन् । आमालाई पृथ्वीको संज्ञा दिँदै उनले आमाको महिमागान यसरी गरेका छन्ः
रिसायौ कि कसो आमा ! पर्खिन्नौ किन लौ भन ?
पृथ्वी हौ तिमी आमा ! ममतायुक्त त्यो मन
आमाको दुधको भारा कसरी तिर्न सक्छु म ?
आमाको प्रेमको धारा कसरी भुल्न सक्छु म । (पृ. ४)
आमाहरूले नै आफ्नो शरीर रित्याएर वा सुकाएर शिशुहरूलाई दूध चुसाउँछन् । सानै उमेरमा तोते बोली बोल्न सिकाउँछन्; ‘नाना, चिची, पापा’ यी शब्दहरू आमाहरूले नै सिकाएका हुन्छन् । मातृभाषा बोल्न सिकाउँछन् । आमाको मर्म आफूले सानो उमेरको छँदा बुझ्न नसकेकाप्रति कविले चिन्ता व्यक्त गरेका छन् । आफूले आमालाई गाली गरेको वा दुःख दिएको सन्दर्भलाई पनि यहाँ सङ्केत गरेका छन् । कविले आमालाई सम्बोधन गर्दै जनपक्षीय विचार व्यक्त गरेका छन् । उनी आमाहरूले नै नयाँ युग जन्माउँछन् भन्नेमा विश्वस्त छन् । कविका अनुसार आमाहरूमा ज्ञानको भण्डार हुन्छ । आमालाई ज्ञानको मन्दिर ठान्दै आमाकै ज्ञानको मन्दिर वा भण्डारबाट शिशु अर्थात् सन्तानले शिक्षादीक्षा पाउँछन् भन्दै उनले लेखेका छन्ः ‘आमा हौ सृष्टि सौन्दर्य आमा हौ ज्ञान मन्दिर / आमाकै स्नेह पाएर हट्छन् अज्ञान जन्जिर ।’ (पृ. ५)
जनताको नयाँ युग सुरु भयो भन्छन् तर कतै पनि नयाँपन, नौलोपना नदेखिएकामा कविले चिन्ता व्यक्त गरेका छन् । जताततै दुर्गति मात्रै छ, बेथिति मात्रै बढिरहेको छ । मानवतामा खाल्टाखुल्टीहरू छन् । आम मान्छेहरू निसास्सिएका छन् । तस्कर, दलाल र माफियाहरूसँग नेताहरूको उठबस छ । श्रमिक–मजदुरहरूले नेतृत्वमा पु¥याएका नेताहरूले पनि श्रमिक–मजदुरहरूको भलाई गर्न सकेका छैनन् । अहिले यस व्यवस्थालाई जनताका लागि सुदिन ल्याउने उज्यालो व्यवस्था भनिए पनि अथवा गणतान्त्रिक व्यवस्था भनिए पनि धुपौरेहरू मात्रै फाइदामा देखिएका छन् । हनुमानहरू मात्रै सम्मानित, पुरस्कृत भएका छन् । हनुमानहरूका मात्रै सुदिन आएका छन् । जो लगनशीलहरू छन् तिनीहरूको कुनै कदर छैन, मूल्य छैन । राष्ट्रघातीहरू सम्मानित छन् तर देशको उज्वल भविष्यका खातिर रगत बगाएका सहिदहरू अपमानित छन् । सिंहदरबारमा शकुनीहरूले राज गरिरहेका छन् तर चिन्ता नलिनुस् आमा पक्कै पनि सुदिन झुल्किनेछन् भन्दै कविले आमालाई सम्झाउने हेतुमा दृढ विश्वासका साथ लेखेका छन्ः
देशको दुर्दशा देखी दुःखमा नडुबे तिमी
नझार्नू क्रोधका आँसु खिन्नता नलिनू तिमी
तिमी रोयौ भने धर्ती बन्न सक्छ चिराचिरा
तिमी हाँस्यौ भने फुट्छन् धर्तीमा नव आँकुरा । (पृ. ७)
कविले क्रान्तिप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । उनी विना क्रान्ति शान्ति नआउनेमा विश्वस्त छन् । जसरी वर्षाको बाढीले भौगोलिक परिवेशका फोहरमैला बगाएर प्रकृतिलाई सुन्दर बनाउँछ त्यसरी नै क्रान्तिको बाढीले बस्तीका खराबीहरू बगाएर समाजलाई सुन्दर बनाओस् भन्ने कविको चाहना छ । उनले आमालाई वर्षा बनेर देशको सारा मैलो बढार्न अनुरोध गरेका छन्ः ‘तिमी वर्षा बनी झर्नू मनको शान्त मेलले / सारा यो देशको मैलो बढारोस् क्रान्ति भेलले ।’ (पृ. ७)
मान्छेको मनमा कालो हुनुहुँदैन । कालो मन भएकाहरूले देश र जनताको भलाइमा आफूलाई समर्पण गर्न सक्दैनन् । मन स्वच्छ भएन भने देश उँभो लाग्दैन । सुशासनका लागि पनि व्यक्ति स्वयंमा स्वच्छ हुनुपर्छ, सफा हुनुपर्छ अर्थात् उदार हृदयको हुनुपर्छ भन्दै कविले मानवीय गुणले सम्पन्न हुनका लागि आम मान्छेहरूलाई आग्रह गरेका छन् । सफा र उदार हृदय भएकाहरूले नै आमाप्रति सम्मानभाव दर्साउन सक्छन् । आमाकै महिमा बखान गर्ने क्रममा उनले ‘आमा हौ जिन्दगी हाम्रो बासना हौ फूलकी तिमी / काँडाका बीचमा फुल्ने ज्योत्स्ना हौ जूनकी तिमी’ (पृ. ८) भन्दै धर्तीका कुपुत्रहरू जो आमाको दुर्दशामा हाँस्छन् तिनीहरूलाई दुराचारीको संज्ञा दिएका छन् । उनी सुनौलो भविष्यको आशा गर्दागर्दै आमाको जिन्दगी बित्न पुगेको कुरालाई स्मृतिमा ल्याउँछन् । सत्यको सपना अर्थात् जनताको चाहना पूरा भएको देख्न नपाउँदै आमाको जीवन बितेकामा कवि चिन्तित छन् । आमाले चाहेको परिवार अर्थात् आमाले चाहेको समाज निर्माण हुन नसकेकामा कविले चिन्ता व्यक्त गरेका छन् । यस्तै उनले यस उपशीर्षकको अन्तिमतिर पिता र पुत्रका बिचको संवाद प्रस्तुत गरेका छन् । उनले आफ्ना पितासँग आमाले कस्तो व्यवहार देखाउनुहुन्थ्यो ? के के भन्नुभएको थियो ? उहाँ के चाहनुहुन्थ्यो ? भनेर सोधेका छन् । पुत्रले गरेका यी प्रश्नहरूको सवालमा पिताले पारिवारिक विखण्डनका विरुद्धमा स्वर दिएका छन् । पिताको जबाफ यस्तो रहेको छः ‘म देख्दै छु भयो हाम्रो परिवार विखण्डन / न्यायाधीश बनी पार्नू तिनको मन पावन । (पृ. ११)
पिता पारिवारिक विखण्डन नहोस् भन्ने चाहन्छन् । पितामा परिवार सुन्दर बनोस् भन्ने चाहना छ । अर्थात् पारिवारिक विखण्डन नहोस् परिवारमा मेल होस् भन्ने सचेतता पितामा छ र उनले पुत्रलाई परिवारमा मेलमिलाप कायम गरी अगाडि बढ्नका सुझाव दिएका छन् । पिताले पुत्रलाई आशीर्वाद दिने क्रममा छोराहरू अर्थात् सन्तानहरू राष्ट्राध्यक्ष वा प्रधानमन्त्री बने पनि अथवा ठूलोठूलो अहोदामा पुगे पनि तिनीहरू जन्मदाताका अघिल्तिर नतमस्तक हुनै पर्छ, जन्मदाताका सामु झुक्नै पर्छ, जन्मदातालाई सम्मान गर्नै पर्छ भन्ने कुरा सुझाएका छन् । ती वास्तवमै असल सन्तान होइनन् जसले धनको लोभमा बाबुआमालाई तिरस्कार गरेका हुन्छन् । धन पनि सही बाटाबाट कमाउनुपर्छ अन्यथा धन कमाउनुको कुनै अर्थ हुँदैन । यहाँ सहिदहरूप्रति पनि पिताको चिन्ता छ । उनले नेपालको निर्माणका खातिर हाम्रा सुपुत्रहरू सहिद बने । रातो रगत बग्यो, तातो रगत बग्यो । त्यो रगतको भेलका कारण मेरो मन भतभती पोलिरहेछ भन्दै पिताले आज गणतान्त्रिक व्यवस्थामा पनि यही देशमा काम नपाएर अरबका खाडीमा दुःख झेल्न पुग्ने र थोरै मान्छे मात्रै त्यही उनीहरूले बगाएको रगतमा होली खेल्ने प्रवृत्तिका प्रति पनि व्यङ्ग्य गरेका छन् । पहिलेको शासन व्यवस्था र अहिलेको यो शासन व्यवस्थामा भिन्न अवस्था त्यति बढी देख्न नपाइएकामा पिताले चिन्ता व्यक्त गरेका छन् । उनले कामको सट्टा कुराको खेती गर्ने नेताहरूप्रति व्यङ्ग्य गर्दै देशभक्तिको अभिव्यक्ति दिएका छन् । यस सन्दर्भमा कविले लेखेका छन्ः
बिना बादल बर्सिन्न चिउरा भिज्दैन बातले
दिनको गर्छ सङ्केत झुल्कँदैमा प्रभातले
कर्कला–पातको पानी मोती बन्दैन टल्किई
उठ्ने छ मात्र यो देश देशभक्ति उचालिई ।
के बाँड्छौ सपना मात्रै सपना त्यो पुरा गर
नगरी सपना पूरा बाँडेर मात्र हुन्छ र ?
विकास अनि समृद्धि जन–इच्छा छ हरदम
नसके अब सन्यासी भई हिँड्नै छ उत्तम । (पृ. १२)
यसरी पिताले अब सन्तानहरू बिउँझनु आवश्यक छ भनेका छन् । उनले परिवार र राष्ट्रकै समृद्धिका लागि सन्तानहरूलाई अगाडि बढ भन्दै आशिष दिएका छन् । उनले वास्तवमा जननी अर्थात् मातृभूमिलाई सम्मान गर्नु सन्तानको कर्तव्य हो भनेका छन् । पुत्रको साहित्यप्रतिको मोह थाहा पाएपछि साहित्यले मानिसलाई चेतना दिन्छ भन्दै साहित्य लेख्न र श्लोकहरू गुञ्जाउनका लागि पुत्रलाई आशीर्वाद दिएका छन् । यहीँनेर पहिलो खण्ड समाप्त हुन्छ ।
२. पिताका आशीर्वचन
काव्यको दोस्रो उपशीर्षक ‘पिताका आशीर्वचन’ भन्ने रहेको छ । यस उपशीर्षकमा पिता र पुत्रका बीचमा संवाद छ । सुरुमा पुत्रले पिता को हुन् र पिताले आफ्ना सन्तानप्रति के कस्तो जिम्मेवारी निर्वाह गरेका हुन्छन् ? के कस्ता कर्तव्य पूरा गरेका हुन्छन् ? भन्ने सन्दर्भको व्याख्या छ । पिता को हुन् भन्ने सन्दर्भमा कविले लेखेका छन्ः ‘आफ्ना सन्तानका निम्ति पिता हुन् भावना चुली / फुल्ने हृदयमा न्याना सूर्यका बिम्बझैँ खुली ।’ (पृ. १४) यसरी कविले पिताजीलाई सूर्यले जस्तै उज्यालो दिने बिम्बका रूपमा सङ्केत गरेका छन् ।
यहाँ पुत्रले आफूले कविता लेख्ने गरेको तर गहन कविता लेख्न नसकेको पीडा पिताका सामु बताएका छन् । जनताको मन छुने कविता अर्थात् मुक्तिका कविता वा क्रान्तिधर्मी सुन्दर कविताहरू पस्कन नसकेकामा पुत्ररुपी कविले चिन्ता व्यक्त गरेका छन् । उनले आफूले कलाको मर्म गहिराइमा पुगेर बुझ्न नसकेकामा पिताप्रति गुनासो गरेका छन् । यसमा पिताका माध्यमबाट कविले कविताको उद्देश्य यसरी बताएका छन्ः
बनी प्रकाशका ज्वाला कविता उठ्नुपर्दछ
तानी चुम्बकले जस्तै अनिदा जुट्नुपर्दछ
कविता भोकको हुन्छ, कविता बन्छ जीवन
कविता श्रमको हुन्छ, हुँदैन सुखसाधन । (पृ. १६)
पिताजीले कविताको व्यापकतालाई अथ्र्याएका छन् र पुत्रले पनि आफूले स्वान्त सुखायका लागि नभई रुपान्तरणकारी भूमिका निर्वाह गर्नका लागि लेख्ने गरेको छु भनेका छन् । उनले आफू वर्गीय मुक्तिको चाहनामा कविता लेखनको बाटो हिँडेको बताएका छन् । पिताले पनि सन्तानले राम्रा कर्महरू गर्नुपर्छ भन्दै सुकर्मले नै सन्तानको भविष्य राम्रो हुन्छ भनी कवि पुत्रलाई लेखनका निम्ति हौसला प्रदान गरेका छन् । पिताजीले छोराहरू पुरुषार्थी बन्नुपर्छ भन्नेमा जोड दिएका छन् । जन्मेको सार भनेकै पिताको आदर्श पछ्याउँदै ज्ञान आर्जन गर्नुपर्छ भन्ने अभिव्यक्ति पिताबाट आएको छ । यसरी नै पिताजीले कवितालाई अथ्र्याउने सन्दर्भमा कवितालाई जीवन सम्झेका छन् र उनले पुत्रलाई पनि जीवनवादी गीतकविता सिर्जना गर्नुपर्छ भन्ने आशिष दिएका छन् । उनी कवितामा जीवनको सुगन्ध होस् भन्ने चाहन्छन् अर्थात् पिताजीका अनुसार कवितालाई यसरी परिचित गराइएको छः ‘जिन्दगी कविता जस्तै कविता जिन्दगी बनोस् / गन्धे झार उखेलेर कविता बागमा फुलोस् ।’ (पृ. १८)
कविहरूले आगोरुपी कविता लेख्नुपर्छ । कविताले उज्यालो दिनुपर्छ । कविताले गर्जन छोड्नुपर्छ । यसरी नै मान्छेमा पनि देशभक्तिको भावना प्रबल हुनुपर्छ । मान्छे इमान्दार बन्नुपर्छ । त्याग र सद्भाव भएमा मात्रै मान्छेका दुर्गुणहरू नासिन्छन् । दुष्ट–दुर्जनहरूले विश्वासघात गर्छन् । उनीहरू आफ्नो झुट अर्थात् दोष लुकाउन अन्य थुप्रै झुटका कृत्यहरू गर्दछन् । इमान्दार सोझा मान्छेलाई दोष दिएर ठालुहरू पानीमाथिको ओभानो हुने गर्छन् तर सत्यको सधैँ विजय हुन्छ । सत्यको पक्षमा कविता लेख्नुपर्छ । जस्तोसुकै कष्ट आइपरे पनि सत्य र न्यायको बाटो छोड्नु हुँदैन भन्दै पिताजीले पुत्रलाई जीवनसापेक्ष सुन्दर कविता सिर्जना गर्न सल्लाह दिएका छन् । उद्देश्यमूलक कविताहरू जसले समाजको हितमा काम गरोस्; जुन कविताले उज्यालाको गीत गाओस्; यस किसिमका कविता सिर्जना गर्नका लागि उनले पुत्रलाई सुझाव दिएका छन्ः
सत्यको कविता लेख सत्यको गर कीर्तन
सक्दैन सूर्यको कान्ति अँध्याराले दबाउन
पहाड पनि सम्मिन्छ तिमी लागिरह्यौ भने
छायाले पनि खेद्नेछ तिमी भागी गयौ भने । (पृ. १९)
पुत्रले असल मानिसका गुणहरू अर्थात् असल छोराछोरीका सद्गुणहरू के के हुन् भनेर पितासँग प्रश्न गर्दा पिताले त्यागको भावना राख्ने, मातापितालाई खुसी राख्ने, मातापितालाई सधैं हँसाउने, सेवामै समर्पित हुने, राष्ट्रको घात नगर्ने सन्तानहरू नै वास्तवमा असल तथा सद्गुणी सन्तान हुन् भनेका छन् । त्यस्तै, आफ्नो स्वार्थका लागि मातापितालाई रुवाउने, छोराबुहारीहरू मिलेर वृद्धावस्थाका मातापितालाई घरबाट निकाल्ने, उनैको धनसम्पत्तिमा रमाउँदै उनीहरूलाई नै दुःख दिने जुन सन्तान छन् तिनीहरू सन्तान नभएर कुसन्तान हुन् । तिनीहरू खलातीजस्तै सास फेर्ने निर्जीव वस्तु हुन् । पलासका फूलजस्तै सुगन्ध नदिने फोस्रा सन्तान हुन् । यस्ता दुष्ट सन्तान त नजन्मेकै राम्रो भन्दै पिताले कुनै पनि बहानामा आफ्ना जन्मदातालाई रुवाउने सन्तानहरू कहिल्यै ज्ञानी, बुद्धिमानी र विद्वान हुन सक्दैनन्; ती त स्वार्थी, दम्भी, अटेरी र अगतिला सन्तान हुन् भनेका छन् ।
कविले आफू पुत्र बनेर यहाँ सुशासन कसरी कायम गर्ने ? राज्यसत्ता र जनताबीचको सम्बन्धलाई कसरी हेर्ने ? राज्य ठूलो हो कि जनता ठूला हुन् ? राज्यले जनतालाई कुन रुपमा हेरविचार गर्नुपर्छ अर्थात् कसरी हेर्नुपर्छ भनेर प्रश्न गरेका छन् । यी प्रश्नहरूको जबाफमा पिताले जनताले नै देशको निर्माण गर्ने हुन् र राज्यसत्ताका लागि पनि देश आवश्यक छ, सन्तानका निम्ति जन्मदाता प्रणम्य भएजस्तै नेता वा राज्यका निम्ति पनि जनता उच्च छन् यसर्थ नेताले जनतालाई शिरमा राख्नुपर्छ, जनतालाई नै मालिक ठानेर सेवामा जुट्नुपर्छ, शासक वा राष्ट्राध्यक्षहरू बनाउने भनेकै जनताले हो त्यसैले प्रमुख शक्ति भनेकै जनता हुन् भनी बताएका छन् । कतिपय भ्रष्टाचारी, शोषक, अन्यायी तथा घातीहरू सत्तामा पुगे भने छद्मभेषी रूप लिएर जनताको पक्ष लिएको नाटक रच्दै तिनीहरूले चोर बिरालाले झैँ दुध सबै सिध्याउँछन् अर्थात् राज्यको ढुकुटी सिध्याउँछन् भन्ने कुरा पिताले गरेका छन् । यस किसिमका शासकहरूले न्यायपूर्ण राज्य तथा समतामूलक समाजको निर्माण गर्न सक्दैनन् । राज्यले सबैलाई समान रुपमा व्यवहार गर्नुपर्छ । समभाव हुनुपर्छ उत्पादित वस्तुमा सबैको अधिकार समान रुपमा हुनुपर्छ भन्ने वैचारिक भाव पिताद्वारा व्यक्त भएको छ ।
पुत्रले राजनीति र प्रेममा भिन्नता के छ भनेर पितालाई सोधेका छन् । यस सन्दर्भमा पिताले भनेका छन्– खराब राजनीति जहाँ हुन्छ त्यहाँ प्रेम हुँदैन । आफ्नै रक्तनाताबाट पाएको पीडा सबैभन्दा दर्दनाक पीडा हो । सन्तानले कुलको रक्षा गर्नुपर्छ । पितृऋण तिर्नका लागि पुत्रले मातापिताको सेवा गर्नुपर्छ । देशवासीहरू देशभक्त हुनुपर्छ । इमान्दार हुनुपर्छ भन्दै पिताले पुत्रलाई सम्झाएका छन् । यहाँ पुत्रलाई पिताले अज्ञानबाट बिउँझाएको चेत प्राप्त भएको छ । पिता र पुत्रबीचको यस संवादलाई कविले सपनामा देखेको सन्दर्भ मिलाएका छन् ।
३. प्रातस्मरणीय पिता
यस काव्यको तेस्रो उपशीर्षक रहेको छ– प्रातस्मरणीय पिता । यसमा कविले पितापुर्खाहरू सृष्टिका मुहान हुन् भनेका छन् । उनले पितालाई बत्तीको प्रकाश र आकाशको सूर्यसँग तुलना गरेका छन् । जसरी सूर्यले धरतीको अन्धकारलाई हटाउँछ त्यसरी नै पिताहरूले परिवारमा उज्यालो दिन्छन्, खुसियाली ल्याउँछन् । पिताहरू आफू मैनबत्ती झैँ जल्छन्, आफू खिइएर पनि सन्तानलाई उज्यालो दिन्छन् । सन्तानलाई तोते बोली सिकाउँछन्; क, क, न, न सिकाउँछन् । थिरी–थिरी वा ताते–ताते गर्दै हिँड्न सिकाउँछन् । काँधमा बोकेर यत्रतत्र डुलाउँछन् । पिताहरूले प्यार दिएर सन्तानलाई काखमा लिँदा वा कुत्कुत्याउँदा शिशुको मुहार हँसिलो बन्छ । उनीहरू सन्तानका छहारी हुन् । आडभरोसा हुन् । पिताहरू गुरु हुन् जसले जिन्दगीका पाठ पढाउँछन् । पिताहरू मौरीले जस्तै मेहनत गर्छन्; नाच्न सिकाउँछन्; अनुशासनको पाठ सिकाउँछन् । उनीहरूले सन्तानलाई शिष्टाचार र मर्यादा सिकाउँछन् भन्दै कविले पितापुर्खाहरूकै मायाका कारण कोपिलारूपी सन्तानहरू फक्रन्छन्, फुल्छन् भनेका छन्ः
पिता आकाश हुन् नित्य धर्तीमा बिज छर्दछन्
पिता हुन् सूर्यका बिम्ब अँध्यारो सब हर्दछन्
मैनबत्ती पिता पग्ली प्रकाशपुञ्ज बन्दछन्
जलेर रित्तिँदै आफू ती सन्तान बचाउँछन् । (पृ. २४)
कवि पिताहरूकै त्यागले सन्तानको जीवन सार्थक बन्छ भन्ने ठान्दछन् । धर्मभीरु वा आध्यात्मिकहरूले सृष्टिकर्ता छुट्टै छ भन्छन् तर सृष्टिकर्ता वास्तवमा हाम्रा पितापुर्खाहरू नै हुन् भन्ने कविको धारणा छ । यस्ता सृष्टिकर्ताहरूप्रति कवि कृतघ्न हुन सक्दैनन् । उनले यहाँ आफ्ना पितापुर्खाहरूप्रति श्रद्धाभाव व्यक्त गरेका छन्ः ‘पिताकै ममता पाई सूक्ष्म जीवन फुल्दछन् / पिता दुष्ट हुँदै हुन्नन् स्नेहका नेत्र खुल्दछन् ।’ (पृ. २६) यस श्लोकमा विचारणीय पक्ष के छ भने पिताहरू दुष्ट हुँदै हुन्नन् भन्नु कविको अतिशय भावुकता हो । कतिपय पिताहरू बेइमान पनि हुन्छन् । पिताहरू घाती पनि हुन सक्छन् । सन्तानका लागि त्याग गर्न नसक्ने पनि हुन सक्छन् । कतिका पिताहरू त जँड्याहा हुन्छन् । बहुविवाह गरेर दुष्ट्याइँ गर्ने हुन्छन् । पिता अर्थात् बाहरू अम्मली हुन सक्छन् । चुरोट पिउन सक्छन् । खराब हुन सक्छन् । बाहरूले जनतालाई न्यानो माया नदिन पनि सक्छन् । आफ्नै सन्तान पनि कुनैलाई काखा र कुनैलाई पाखा गर्न सक्छन् । होचीअर्घेल्याइँ गर्न सक्छन् । पिताहरू सबै राम्रै हुन्छन्, दुष्ट हुँदैनन् भन्ने छैन । सन्तानले जसलाई पिता अथवा बा भनेर सम्मान गर्छन् तिनै बाहरूले शक्तिको उन्मादमा सन्तानहरू पनि मास्न सक्छन् । कवि पिताहरूले आफ्नो छोरो महान बनोस् भन्ने चाहना राखेका हुन्छन् भन्छन् । उनीहरू आफ्नी छोरी गार्गी समान होस् भन्ने चाहन्छन् । पिताहरूले सन्तानप्रति सद्भाव राख्छन् भन्ने कुरा कविले गरेका छन् । उनले पितालाई कल्याणका मूर्ति ठानेका छन् । उनी आफ्ना पिता दोषरहित थिए भन्न पनि चाहँदैनन्ः
पिताका गुण छन् धेरै दोष देखौँ म के गरी
दबिन्छन् रश्मिले दाग चन्द्रमाका दबेसरी
पिताका दोष खोजेर दुष्ट सन्तान बन्दिन
पिताको मन भत्काई पुरुषार्थी ठहर्दिन । (पृ. २६)
उपर्युक्त श्लोकमा कविले लेखनाथ पौडेलले ‘नैतिक दुष्टान्त’मा भनेजस्तै अर्थात् चन्द्रमामा सामान्य दाग देखिए पनि त्यो दागलाई उसको रश्मिले छोपेजस्तै कवि आफ्ना पिताका पनि केही दोष हुन सक्छन् अर्थात् दोष छन् तर दोषका तुलनामा गुण बढी भएको हुनाले म पिताजीको दोष खोजेर उहाँको मन भत्काउन अर्थात् आफू पुरुषार्थी बन्न चाहन्न भनेका छन् । यहाँनेर मननीय कुरा– कास्की जिल्लाको ग्रामीण त्यो ब्राह्मण समाज जहाँ कवि जन्मे, हुर्के त्यहाँ त्यस समयमा पुरुष सत्ता हावी थियो । पितृसत्तात्मक हैकम चल्थ्यो । त्यस समयमा कतिपय ब्राह्मण जातिका लोग्ने मानिसहरूले आफ्ना श्रीमतीलाई पैतालाको धुलो सम्झन्थे । पैताला पखालेर पानी खुवाउन लगाउँथे । भनेको नटेर्दा वा अह्राएको काम नगर्दा श्रीमतीलाई कुट्थे । आफ्नी आमाले आफ्नै श्रीमतीको कुरा लगाएकामा उनीहरू सही थाप्थे । आमा अर्थात् सासू र श्रीमान् मिलेर नै श्रीमती कुट्ने प्रवृत्ति कतिपय बाहुनहरूको समाजमा थियो । पिताजीले त्यस्तो गर्नुभयो वा गर्नुभएन यहाँ उल्लेख छैन यद्यपि त्यस किसिमको देश, काल, परिस्थितिअनुरुप कविले आफ्ना पितामा दोष देख्नुभन्दा पनि गुण नै बढी भएको हुनाले पिताजी सम्मानित हुनुहुन्छ भनेर पिताजीका सद्गुणहरूको बखान नै गरेका छन् ।
४. पिताजीसँग प्रत्यक्ष भेट
काव्यमा चौथो उपशीर्षक ‘पिताजीसँग प्रत्यक्ष भेट’ रहेको छ । यसमा कविले पिताजी वृद्धावस्थामा पुग्दा आफू पिताजीबाट टाढिएकामा चिन्ता व्यक्त गरेका छन् । पिताजीलाई भेट्न मन लागेकाले उनी पिताजीलाई भेट्न चितवन आएका छन् । पिताजीको सञ्चोबिसञ्चो तथा स्वास्थ्य लगायतका विविध सन्दर्भहरू जोड्दै कविले पिताजीका इच्छाहरूका बारेमा जिज्ञासा राखेका छन् । यस उपशीर्षकमा पनि पिता र पुत्रकै संवाद छ । पुत्रले पितासँग जीवन र जगत्लाई सुन्दर बनाउनका लागि के–कस्ता कामहरू गर्नुपर्छ ? पारिवारिक मेललाई कसरी प्रगाढ पार्न सकिन्छ ? लगायतका प्रश्न गरेका छन् ।
यी जिज्ञासाहरू शमनका लागि पिताजीले पुत्रलाई ज्ञान तथा अर्तीउपदेशहरू दिएका छन् । उनले आफूले बिताएको बाल्यकाल एवम् आजसम्म भोगेको आफ्नो जिन्दगीका आरोह–अवरोहहरूलाई पुत्रका सामु राखेका छन् । नब्बेभन्दा बढी बसन्त पार गरिसकेका पिताजीले पुत्रसामु आफ्नो जीवनको इतिहास बताएका छन् । विभिन्न किसिमका सङ्घर्षहरू झेल्दै तथा खेप्दै लामो जीवन बाँच्नुपरेकामा दिक्दारी व्यक्त गरेका छन् । विगतका दिनहरू सम्झँदा अहिले पनि कहाली लागेर आउँछ । अब त म वृद्ध भइसकेँ । घरले जा जा र वनले आइज आइज भन्ने बेलामा पनि बाँचिरहनुपर्दा साह्रै दिक्क लागेको छ । त्यो मोरो काल किन मलाई लिन नआएको होला भनेर पिताजीले पुत्रसँग गथासो पोखेका छन् ।
पुत्रले आफू पिताजीबाट टाढिनुपरेकामा दुखेसो पोखेका छन् । उनले आयुको डोरो सधैं रहँदैन, एक न एक दिन चुँडेर जान्छ भनेर पिताजीलाई सान्त्वना दिएका छन् । कसैको पनि जिन्दगी अजरामर छैन भन्दै उनले पिताजीका सामु पिताजीकै बालककाल र आफ्ना पुर्खाहरूका सन्दर्भमा जिज्ञासा राखेका छन् । यस जिज्ञासामा पिताजीले आफ्ना पिता (कविका हजुरबुबा) पैँतिस वर्षकै उमेरमा बितेकाले बाल्यकालदेखि नै दुःखको भुमरीमा परेको सङ्केत गरेका छन् । शिक्षादीक्षा लिन नपाएको कुरा गरेका छन् । आफ्नो जीवनमा सानै उमेरदेखि तुषारापात परेको सन्दर्भ कोट्याएका छन् । आमाले निकै दुःखसँग आफूलगायत अन्य सन्तानलाई हुर्काएको कुरा गरेका छन् । वरिपरिका फटाहाहरूले भर्खरकी अर्थात् लाऊँ लाऊँ र खाऊँ खाऊँ उमेरकी विधवा आमालाई सताउँथे । समाजका ठालुहरूले सिनामा गिद्धले झैँ हाम्रो धनसम्पत्तिमा आँखा लगाउँथे भन्ने कुरा बताएका छन् । समाजमा सबै मानिस असल छैनन्, कतिपय खराब मानिसहरू पनि छन् । खराब नियतका मानिसहरूले अरुले गरिखाएको देखिसहँदैनन् । यहीँनेर कविले केही श्लोकहरू मार्फत सोझासिधा मानिसहरूलाई सताउने फटाहाहरूप्रति विद्रोह बोलेका छन् ।
पिताले आफ्नो बाल्यकाल ग्रामीण परिवेशमा बितेको बताएका छन् । बाल्यकालमा आफूले सहनुपरेका अपमानहरू बताउने क्रममा वरिपरिका ठुलाठालु छिमेकीहरूले टुहुरो भनेर हेप्थे भन्दै आमालाई पनि सताउँथे भनेका छन् । त्यस समयमा कति छाक त नखाएर भोकै पनि बस्नुपर्‍यो; नीला ओठ बनाएर दुःख सहनुपर्‍यो भन्ने कुरा पुत्रलाई सुनाएका छन् । त्यतिबेला सामन्तीहरूको जगजगी थियो । उनीहरूले हामी गरिबनिमुखाहरूलाई धम्क्याउँथे । दिनहरू निकै सङ्कटपूर्ण थिए; सम्झँदा अहिले पनि कहाली लाग्छ भन्दै पिताजीले आफू यतिका लामो आयु बाँच्नुपरेकामा ईश्वरसित प्रश्न गरेका छन्ः ‘आमाले पनि छाडेर जानुभो म बचेँ किन ? / लामो आयु मलाई यो दियो ईश्वरले किन ?’ (पृ. ३१) यहाँ पिताले आफू नौ वर्षको हुँदा पिता (कविका हजुरबुबा)ले ३५ वर्षकै उमेरमा संसार छाडेको; भाइहरू साना भएकाले आफ्नो टाउकामा जिम्मेवारीको नाम्लो बेरिएको बताएका छन् । कसैले पनि यस्तो हेपिएर र टुहुरो भएर बाँच्न नपरोस् भन्ने कुरा गरेका छन् । पिताले कवि पुत्रलाई समाजमा हामीलाई राम्रो दृष्टिले कसैले हेरेनन्; सबैले बलेकै आगो ताप्ने रहेछन्; टुहुराको पनि दिन आउँछ भन्ने कसैले सोचेनन्; फल दिने बिरुवा हुर्केपछि फल लाग्छ भन्ने सोच तत्कालीन समयमा कसैमा देखिएन भन्ने बताएका छन् ।
यसपछि पुत्रले पिताले गरेको दुखलाई लिपिबद्ध गरेका छन् । खोरिया फाँडेर कोदो–मकै उब्जाएको, शिरमा ऋणको बोझ बोकेर धैर्यका साथ काम गरेको, भारतीय भूमिमा पुगेर काम गरी जहानपरिवार पालेको, दुखजिलो गरी छोराहरूलाई पढ्नका लागि प्रेरित गरेकामा कवि पिताप्रति कृतघ्न बनेका छन् । पिताले मधेसको झाडी फाँडेर बसोबासको व्यवस्था गरेको विगतलाई कविले आफ्नो स्मृतिमा ल्याएका छन् । पिताले गर्मीमा भोटो र कछाड बेरेर हातमा ठेला उठाउँदै रातोदिन कोदालो खनेको पनि सम्झेका छन् । पिताजी जसले सन्तानका लागि श्रमका बाला झुलाउँदै राँडो (?) जीवन बाँच्नु परेकाप्रति चिन्ता व्यक्त गरेका छन् । यसमा कविले पिताका सन्दर्भमा जुन ‘राँडो’ शब्द प्रयोग गरेका छन् त्यसका विकल्पमा अन्य कुनै उपयुक्त शब्द प्रयोग गरेका भए पनि श्लोकको आशय चाहिँ स्पष्ट हुन्थ्यो नै ।
यस खण्डमा पिताले पुत्रस्नेहलाई जगाउँदै विविध अर्तीउपदेशहरू दिएका छन् । अरुमा दोष थुपार्नेहरू वास्तवमै मूर्ख हुन् । जसले आफूभित्रका कमजोरीलाई स्वीकार गर्दछ ती असल हुन्, प्रबुद्ध हुन् भन्ने कुरा पिताजीले गरेका छन् । यसै गरी पिताजीले घमण्डीपनले यशकीर्ति गुम्छ भनेका छन् । रिस अर्थात् ईष्र्या मात्रै गर्ने हो भने सत्य ओझेलमा पर्छ । अचेल मानिस पशुभन्दा तल गिर्न थालेको छ । पशु बरु उदार छन्, मान्छे निकै सङ्कीर्ण भएको छ । मान्छे धुन्धकारी बनेको छ, उसले पशुले जति पनि विवेक गर्न छाडेको छ । मान्छे मान्छेका बिचमा शिष्टता घट्दै गएको छ, विवेक हराउँदै गएको छ । सभ्यताका नाममा मान्छे झन् असभ्य बन्दै गएको छ । सन्तानले वृद्धवृद्धाहरूलाई रुवाउन थालेका छन् । सम्पन्न परिवारका व्यक्तिहरूले पनि वृद्धाश्रममा लगेर आफ्ना मातापितालाई छोड्न थालेका छन् भन्ने गुनासो सहितको अर्ती पिताजीले पुत्रलाई दिएका छन् ।
यसपछि पुत्रले पिताका सामु आफूमा ज्ञान कम रहेको र ज्ञानको भोकले छटपटाएको कुरा गरेका छन् । उनले रातमा पनि चिन्ता बढेर छटपटी हुन थालेको छ, त्यसैले चिन्ताबाट मुक्ति अर्थात् शान्ति कसरी प्राप्त गर्न सकिन्छ भनेर आफ्ना पितासँग जिज्ञासा राखेका छन् ।
पिताले गौतम बुद्ध, माक्र्स, गान्धी आदिको उदाहरण दिँदै व्यक्तिगत सङ्कीर्णताभन्दा वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अरुको भलाइका लागि जीवन समर्पण गर्नु वास्तवमा ज्ञानी बन्नु हो भनेर सम्झाएका छन् । हार–जित, नाफा–नोक्सान, हाँसो–आँसु, सुख–दुख यी जीवनका अभिन्न अङ्ग हुन् । यिनै आरोह–अवरोहहरूबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ भन्ने कुरा पिताले गरेका छन् ।
पिता उमेरले चौरानब्बे वर्षका भएका छन् । उनले विधुर जीवन बाँचेका छन् । यसै सिलसिलामा पुत्रले पुनः विभिन्न जिज्ञासा राखेका छन् । सद्भाव एवम् सेवाको भावलाई कसरी अगाडि बढाउने भन्ने पुत्रको जिज्ञासा छ । यस जिज्ञासामा पिताले भनेका छन्– पितृसेवा ठूलो कुरा हो । सेवाको भावनाबाट नै सच्चा मानवीय भाव झल्कन्छ । जब मान्छे सेवाबाट विमुख हुन्छ तब ऊ कुभावमा लाग्छ । कुभावमा लाग्नेहरू जिउँदै मरेतुल्य हुन् । ‘प्रिय वाक्य प्रदानेन सर्वे तुस्यन्ती जन्तवः ।’
पुत्रले अर्थात् कविले पनि पिताजीको भनाइमा सहमति जनाउँदै सेवाको भावनाकै कारण योगमाया प्रसिद्ध बनेकी हुन्; मार्क्स विश्वविख्यात बनेका हुन् भन्ने कुरा गरेका छन् । यसरी नै पिता र पुत्रका बिच संवाद हुँदै जाँदा पिताजीले पुत्रलाई सम्झाउँदै विभिन्न दार्शनिक तथा समाजसेवीहरू आआफ्ना सत्कर्मले महान बनेका हुन् भन्ने कुरा गरेका छन् । राज्य, समाज र परिवारमा पनि गुणको कदर हुँदैन, गुणीको सम्मान हुँदैन भने त्यो राज्य, समाज र परिवार मानवहित अनुकूलको समाज वा परिवार होइन । त्यस्तो समाज वा परिवारलाई सभ्य समाज तथा सभ्य परिवार भन्न मिल्दैन । यसर्थ सज्जनको कल्याणमा लाग्नुपर्छ, मातापिताको सेवामा जुट्पर्छ भन्ने कुरा पिताजीले गरेका छन् । उनले सेवालाई परम धर्म ठानेका छन्ः ‘सेवाही परमो धर्म सेवा गर्नु सधैंभर / देशभक्त बने नित्य मरेर लानु के छ र ?’ (पृ. ३८) यसरी सेवा देशका लागि हुनुपर्छ भन्ने पुत्ररुपी कविको आशय पिताजीमार्फत व्यक्त भएको छ । सेवा समाजका लागि, सेवा गरिब–निमुखाका लागि अर्थात् यहाँ सेवा भनेर कविको आशय गरिबीबाट मुक्तिका लागि भन्ने बुझ्न सकिन्छ । कविले पिताजीमार्फत श्रमिक–मजदुरहरूको सेवा गर्नुपर्छ भन्ने आशय व्यक्त गर्न लगाउनुको अर्थ कविले श्रमिक–मजदुरहरूलाई न्याय दिलाउन चाहनु हो, सर्वहारा वर्गलाई मुक्ति दिलाउन चाहनु हो ।
यसपछि पिताजीले पुत्र भौगोलिक रुपबाट केही टाढा रहेकामा चिन्ता व्यक्त गरेका छन् । मेरो परिवारको जेठोबाठो छोरो किन टाढा भयौ भन्दै पुत्रसँग भेट्न नपाउँदा मनमा शान्ति नभएकाले सँगै बस्न पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेका छन् । पिताजीले घरव्यवहारमा कहिलेकाहीँ तलमाथि हुन सक्छ अर्थात् परिवारमा तलवितल पर्न सक्छ तर आफ्नो कर्तव्य भुल्नु हुँदैन भन्दै पुत्रलाई सम्झाएका छन् । आफ्नो इज्जत बेचेर क्षणिक सुखमा रमाउनु किमार्थ राम्रो होइन भन्दै पिताजीले त्यागका सम्बन्धमा स्वामी रामकृष्ण, महामानव गौतम बुद्ध, क्राइष्ट, मोहम्मद, मार्क्स, लेनिन, माओ, गान्धी आदिको नाम उल्लेख गरेका छन् । उनी आफ्नो पुत्रसँग परिवारमा केही बेमेल हुन सक्छ, अनमेल परिस्थिति आउन सक्छ, सम्पत्तिका नाममा झगडा नै पनि हुन सक्छ । यस्तो अवस्थामा पारिवारिक सदस्यहरूका बिच एक–आपसमा सद्भाव कायम गर्नुपर्छ । परिवारलाई विखण्डनतर्फ धकेल्नुको सट्टा एकताबद्ध हुनु राम्रो हुन्छ । म वृद्ध अवस्थामा पुगिसकेको छु । पारिवारिक मेलमिलाप कायम गरी सँगै बसौँ । पिताजीले सहकार्यबाट नै हामीले जीवनलाई अगाडि बढाउन सक्छौं भन्दै भौगोलिक रुपमा टाढिएका छोरालाई आफू समीप बोलाएका छन् र उनले भनेका छन्ः ‘पिता हुन् ज्ञान भण्डार ज्ञानी सम्मान गर्दछन् / पिताका आडले गर्दा समस्या सब टर्दछन् ।’ (पृ. ४०) यसरी पितापुत्र मिलेर सहकार्य तथा छलफलबाट नै विघ्नबाधाहरू हटाउन सकिन्छ, विखण्डनबाट जोगिएर पारिवारिक मेल र सद्भावलाई कायम गर्न सकिन्छ भन्ने आशय पिताजीबाट व्यक्त भएको छ । यहाँ पिता र पुत्रको मिलनमा पिताजीका आँखाबाट आँसु खसेको छ । त्यो आँसु मिलनको आँसु हो, खुसीको आँसु हो, सँगै बस्न पाऊँ भन्ने चाहना व्यक्त भएर बगेको आँसु हो ।
‘मेल हो शान्तिको मूल मेलले सत्य खुल्दछ / समृद्धि मेलमै हुन्छ गृह शान्ति उदाउँछ’ (पृ. ४१) भन्दै पिताले घरझगडाबाट कसैको पनि भलाई हुँदैन, उल्टै सद्भाव खलबलिन्छ त्यसैले घरपरिवारको समृद्धिका लागि, गृहशान्तिका लागि पारिवारिक मेलमिलाप हुनैपर्छ भन्ने कुरामा जोड दिएका छन् । यसैगरी पिताले यदि कुनै सदस्यले निजी स्वार्थको पक्षपोषण गर्छ भने परिवारमा व्यक्तिस्वार्थ हावी हुन्छ, पक्षपात झ्याङ्गिन्छ त्यसैले घरमा शान्तिको ध्वजा फहराउनका लागि निजी स्वार्थलाई तिलाञ्जली दिनुपर्छ भन्ने विचार व्यक्त गरेका छन् । उनले मूर्खलाई अर्ती दिन गाह्रो छ भन्दै आफू वृद्धावस्थामा रहेको र अब शारीरिक रुपमा पनि कमजोर हुँदै गएको बताएका छन् । आफू जीवन र मरणको दोसाँधमा आइपुगिसकेकाले परिवारमा सबैको मेल भएको देख्न पाऊँ भन्ने उनको चाहना छ । उनले पुत्रका सामु परिवारमा सबै साथै रहेको अवस्थामा मेरो अन्तिम सास फेर्ने धोको छ भन्ने कुरा गरेका छन् । परिवारमा मेल भएर सबै सँगै एउटै विचारमा अगाडि बढ्न थालेमा वास्तवमा पिताजीको अन्तिम इच्छा पूरा हुनेछ । पिताजीको अन्तिम इच्छा सबै मिलेको देखेर परिवारमा सौहार्द वातावरण कायम गरी छोरानाती, बुहारी, नातिनीहरू आदिको काखमा मर्न पाऊँ भन्ने रहेको छ । उनी आफ्नो जीवनको अन्तिम घडीसम्म पनि परिवारमा विखण्डन नआओस् भन्ने चाहन्छन् ।
कवि अर्थात् पुत्रले पितासँग आफूलाई पनि धनसम्पत्ति केही नचाहिएको; आफू एकान्तमा रहेर काव्यसाधना गर्न चाहेको हुँदा टाढिएको थिएँ भनेका छन् । यद्यपि कविले पिताजीसँग सँगै बस्न नपाउँदा म पनि चिन्तित छु; मेरो मनमा पनि खुसी छैन भन्दै पिताप्रति श्रद्धाको भाव प्रकट गरेका छन् ।
पिताजीले जीवनमा प्रत्येक व्यक्तिमा श्रद्धाको भावना हुनुपर्छ; विवेक नै सबैभन्दा गुण हो भनेका छन् । विवेक नभएको मान्छे मान्छे ठहरिँदैन । भौतिक सम्पत्ति आर्जन गर्दैमा कोही पनि घमण्डी बन्नु हुँदैन । मान्छेको जिन्दगी नै क्षणिक छ– कर्कलाको पातमा परेको पानीजस्तो । यति क्षणिक जिन्दगीमा पनि एक आपसमा वैरभाव वा घमण्ड पाल्नु राम्रो होइन । हाम्रो घर राम्रो बनोस् भन्दै उनले आफ्नो अन्तिम इच्छा यसरी व्यक्त गरेका छन्ः
मेरा सन्तानमा माया ममताको विकास होस्
डाहा, ईष्र्या अहंकार यी सबैको विनाश होस्
वरिपरि सबै देखी मेरा सन्तान गौरव
मर्न पाऊँ छ यो आशा पु¥याऊ अब ईश्वर ! (पृ. ४२)
पिताजीले आफ्नो अन्तिम इच्छा सुनाएपछि पुत्रले मैले तपाइँलाई भेटेँ, अब फर्कने बेला भयो भन्दै पिताजीसँग बिदा मागेका छन् । पिताजीले पुत्रलाई वात्सल्य भावमा फेरि छिटै आऊ है भन्दै दुवै आँखामा आँसु छचल्काएका छन् । यहीँनेर ‘पिताजीसँग प्रत्यक्ष भेट’ उपशीर्षकको खण्ड समाप्त भएको छ ।
५. बाबा कहाँ पाऊँ म ?
काव्यको अन्तिम खण्ड ‘बाबा कहाँ पाऊँ म ?’ शीर्षकमा रहेको छ । यस खण्डमा केही श्लोक अनुष्टुप्, केही शिखरिणी र केही शादूलविक्रीडित छन्दमा छन् । यसमा कवि अर्थात् पुत्र कोरोना महामारीका कारण पितालाई भेट्न नपाएकामा चिन्तित छन् । आफू चितवनभन्दा टाढा पोखरा सहरको कुनै पखेरामा कुटी बनाएर बसेको हुनाले र कोरोनाको महामारी फैलिएका कारण देशमा यताउता डुल्न पनि प्रतिबन्ध लगाइएकाले पितालाई भेट्न आउन नपाएको गुनासो गरेका छन् । फोनमार्फत कुराकानी हुँदा पिताले तिमी जेठो छोरो तिमी मबाट टाढा हुँदा म दुखी छु । म तिमीलाई देख्न आतुर छु । भेट्न आतुर छु । तिमीलाई नदेखी मर्छु कि जस्तो लाग्न थालेको छ भनेर गुनासो गर्दा पुत्रले भनेका छन्– तपाइँले मृत्युको चिन्ता नलिनुहोस् । तपाइँ सय वर्षसम्म बाँच्नुहुन्छ । हामी सबै सन्तान मिलेर तपाईंको शतक उत्सव मनाउनेछौं । पुत्रले अगाडि थपेका छन्– म पनि तपाईंलाई भेट्न उत्सुक छु । तपाईंको दर्शन नपाउँदा म पनि व्यथित छु, पीडित छु । यो कोरोनाको महामारी मत्थर भएपछि म तपाईंलाई भेट्न आउँछु भनेका छन् । फोनमा भएको वार्तालापकै क्रममा पिताले भनेका छन्– छिटै आऊ; छन् त यहाँ अरु दुई भाइ छोरा पनि छन् तर तिमी आडमा आएर बस्दा मलाई सन्तोष मिल्छ । मेरो आधा रोग निको हुन्छ । अचेल दिन त बरु सजिलै बित्छन् तर रात कटाउन मुस्किल छ । चिन्ता बढेर आकुलव्याकुल भएको छु ।
दिनहरू क्रमशः बित्दै जान्छन् । पिता चितवनमा र पुत्र पोखराकै कुटीमा रहेका हुन्छन् । मुलुकमा कोरोनाको सन्त्रास फैलिरहेकै हुन्छ । कोराना सङ्क्रमणका कारण जनमानसमा छटपटी बढिरहेको हुन्छ । घरबाट निस्केर बाहिरफेर हिँड्नका लागि वातावरण अनुकूल हुँदैन । यही समयमा एक रात पुत्रको मोबाइलमा घन्टी बज्छ । रातको दस बजेतिर मोबाइलमा उनले चितवनमा रहेका आफ्नै भाइको आवाज सुन्छन् । भाइले मलिन स्वरमा पिताजीले देहत्याग गर्नुभयो चाँडो आउनुहोस् भन्ने कुरा गर्छन् । कवि अस्ति भर्खर पितासँग मोबाइल मार्फत भएको कुराकानी सम्झन्छन् र आज यस्तो खबर सुन्नुपर्दा निकै व्यथित बन्न पुग्छन् । अब सबैतिर बन्दाबन्दी छ । चितवन कसरी जाने भनेर उनलाई चिन्ता परेको छ । उनी पोखराबाट चितवनका लागि अनुकूल साधनको खोजी गर्छन् । रातभरमै उनका एक जना साथी राजु भन्नेले आफ्नै प्राइभेट गाडीमा उनलाई चितवन लैजाने मेसो मिलाउँछन् । चितवन पुगेर पिताजीको शव भेट्छन् । शवका सामु उनले केही दिन पहिले पिताजीले आफूलाई छिटै भेट्न आऊ भनेको कुरा सम्झन्छन् ।
यसपछि किरियाकर्मको सुरुवात हुन्छ । काजकिरिया पनि कवि परम्परागत तरिकाले नभई नयाँ तरिकाले गर्न चाहन्छन् तर यसका लागि अनुकूल वातावरण पाउँदैनन् । उनी पिताका नाममा पैसा, गाई, शैयाादि दान गर्नुको सट्टा पिताजीकै स्मृतिमा अरु खालका दान अर्थात् गरिबनिमुखालाई सहयोग वा कलासाहित्यका क्षेत्रमा उपयोगी हुने काम गर्न चाहन्छन् । कोरामा बस्दा उनका मनमा अनेक तर्कनाहरू आउँछन् । मानसपटमा विगतका दिनहरू आउँछन् । उनकी आमा पहिल्यै बितेकी थिइन् । आमा बितेपछि बाबाले नै उनको हेरविचार गरेको, अहिले बाबा पनि बितेपछि उनले वास्तवमै आफू टुहुरो भएको अनुभव गरेका छन् । उनले घरको धुरीखामो नै ढलेको महसुस गरेका छन् । उमेरले वृद्ध भए पनि वा शारीरिक रुपमा अशक्त भए पनि बाबु हुँदा मानसिक रुपमा जसरी सबल भइन्थ्यो त्यो अब नहुने उनले ठानेका छन् । उनले आफूलाई बाबुले बनारसमा पढ्नका लागि लिएर गएको कुरा सम्झेका छन् । त्यसै गरी उनले आफ्नो कानमा केही दिनपहिले पिताजीले पोखराबाट छिटै आऊ, अब सबै छोराबुहारीहरू सँगै मिलेर बस भनेको वाणी गुन्जिएको महसुस गरेका छन् । पिताका अर्तीउपदेशहरू मनन गर्दै उनले अब म कुपात्र बन्नु हुँदैन, पिताजीको सम्मानका खातिर पनि मैले केही न केही त गर्नै पर्छ, मैले पिताजीको सम्झनामा आफूलाई देश र जनताप्रति समर्पित गर्नुपर्छ भनेका छन् । पिताको श्रद्धास्वरुप आफूले देशभक्तिको भावमा जनताकै गीत गाउनुपर्छ भन्ने आशय व्यक्त गरेका छन् । यहीँनेर काव्य समाप्त भएको छ ।
अन्त्यमा, कवि पोषराज पौडेलको यो काव्य जन्मदाताहरूप्रति श्रद्धाभाव व्यक्त गरिएको शोककाव्य हो । आफ्ना पिताजीको निधन हुँदाका बखतमा कविले भावविह्वल हुँदै रचना गरेको यस काव्यमा माताप्रति पनि उत्तिकै श्रद्धा–सम्मान छ । पिता र पुत्रको संवादमा संरचित यस काव्यमा प्रगतिवादी चिन्तन छ । कविले पिताजीमार्फत सुन्दर, सभ्य र समृद्ध समाजको परिकल्पना गरेका छन् । काव्यमा समतामूलक समाजको अभीष्ट छ । शोक भावका साथै काव्यमा क्रान्तिभाव छ, क्रान्तिबिम्बहरू छन् । काव्यमा परिवार एवम् समाज बेमेल वा विखण्डनतर्फ नधेकेलिई एकीकृत होस् भन्ने चाहनाको अभिव्यक्ति छ । समग्रमा यस काव्यमा मातापिताप्रतिको सम्मानभाव व्यक्त छ र पारिवारिक विखण्डनको विरोध छ ।
पोखरा, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।