19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उद्‍घोषक

कथा हिमाल लिम्बु August 23, 2026, 6:55 pm
हिमाल लिम्बु
हिमाल लिम्बु

विद्यालयको छब्बिसौँ वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम हुँदै थियो । नौ कक्षामा पढ्ने दुईजना विद्यार्थीहरू सुम्निमा र सत्यम मञ्‍चमा चढेर माइक्रोफोन समाउनासाथ अभिवादन गरे ।
सुम्निमा- सेवा ।
सत्यम- जय श्री कृष्ण ।
सुम्निमा- सत्यम तिम्लाई मारूनी नाँचको बारेमा केही थाहा छ ?
सत्यम- थाहा छ नि । किन थाह न हुनु रे ! नेपाली संस्कृति भाषा, पहिरन आखिर यो एकाइसौँ शताब्दीमा पनि हिमाल, पहाड र तराईलाई जोडेर राख्‍ने काम तो हाम्रा यिनै संस्कृतिले गरेका छन् ।
सुम्निमा- अब हाम्रा यिनै सांस्कृतिक यादहरूलाई तरौँताजा गर्न आफ्‍नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ २०७९ का आइडल ओजन शाक्य र गीतको बोल रहेको छ "देउराली भन्ज्याङ्" । जोडदार तालिका साथ उहाँलाई स्वागत गर्नु हुन अनुरोध गर्दछौँ ।

सुम्निमाको बोल्ने लवज राई किराती भाषाको जस्तो सुनिन्थ्यो । उनको उद्‍घोषक मित्र सत्यमको मैथिली भाषाको प्रभावमा परेको प्रस्ट सुनिन्थ्यो ।

उद्‍घोषकले कार्यक्रम र दर्शक श्रोताहरूलाई जोड्ने कार्य गर्दछ । प्रस्तुत गरिसकेको र हुनै लागेको प्रस्तुतिको जानकारी दिँदै बिचको अन्तरालमा दर्शकलाई ध्यानाकर्षण गराई राख्ने काम उद्‍घोषकले गर्दछ ।कार्यक्रमको संपूर्ण संचालनको भार उद्‍घोषकमा भएकाले नै अङ्ग्रेजीमा Master of Ceremony (MC) भनिएको हो । त्यसैले राम्रो कला, गला र आत्मविश्वास भएका विद्यार्थीहरूलाई उद्‍घोषकका रूपमा छान्ने गरिन्छ । यही उत्तरदायित्व दिइएको थियो यलम सरलाई ।

"म अर्को कार्यक्रम चलाउँदिनँ सर ।" सुम्निमाले आँखाभरि आँसु पारेर यलम सरलाई भनिन् । सांस्कृतिक कार्यक्रम चल्दै गरेको बेला जिम्मेवार उद्‍घोषकले खुट्टा झिक्ने कुराले यलम सर अकमक्‍क पर्नुभयो । हतास मनस्थितिले सोध्नुभयो, "किन ? के भो र सुम्निमा ?"
"मेरो नेपाली उच्चारण शुद्ध भएन रे । मैले बोलेको टोन मिलेन रे । मेरो उद्‍घोषण राम्रो छैन रे ।" सुम्निमाले एकै स्वरमा बेलीविस्तार सुनाइन् । यलम सरले सान्त्वना दिँदै भन्नुभयो, "दुनियाँको कुरा सुन्नुहुँदैन नानी । आफ्नो काममा बेस्ट दिन कोसिस गर्ने हो । कुरा काट्नेहरूको कुरा सुन्यो भने घाँटी काट्न मन लाग्छ- तिनारको र आफ्नै पनि । तर यस्तो नेगेटिभ र भाओलेन्स कुरा गर्नु हुँदैन र सोच्नु समेत हुँदैन ल नानी !" यलम सरको कुराले सुम्निमा खिसिक्‍क हाँसिन् । यलम सरलाई थाहा थियो आलोचना गर्नेहरूको कमी हुँदैन तर नौ कक्षामा पढ्ने बालिका सुम्निमालाई के थाहा र द्वेषले भरिएका मानिसहरूले बिनाकारण नै अर्काको खेदो खन्छन् । निन्दा गर्छन् । गरेको काममा बाँधा हाल्छन् । यलम सरले सबै कुरा बुझेपछि सुम्निमालाई बुझाउनुभयो । जसोतसो सम्झाईबुझाई गरेपछि उनले अर्को प्रस्तुतिमा उद्‍घोषण गरिन् । उनको उद्‍घोषण गर्ने शैली उनकै प्रकारको थियो । किराती भेषमा राई भाषाको टोनमा बोल्दा ठेट गाउँले पाराको लाग्थ्यो । रेडियो नेपालको औपचारिक कार्यक्रममा प्रयोग गरिने जस्ता भाषा, शैली र प्रस्तुति प्रयोग गर्न उनलाई आउँदैनथ्यो । त्यही अपेक्षा गर्नेहरूले उनको बोल्ने ढङ्‍गलाई उपेक्षा गरेका थिए ।

सांस्कृतिक कार्यक्रमलाई दर्शकहरूको तालीले साथ दिइरहेका थिए । गायन, नृत्य, योग, तेक्वान्दो, बि-बोइङ र नाटक प्रस्तुतिले वार्षिकोत्सव कार्यक्रमलाई हर्षोल्लासले भरिपूर्ण बनाइरहेको थियो । स्टेज व्यवस्थापन, सांस्कृतिक प्रदर्शन, अनुशासन, मेकअप तथा उद्‍घोषण समितिहरूका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले जोडतोडकासाथ कार्यक्रमलाई सफल पार्न योगदान दिइरहेका थिए । त्यसै बिचमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सांसद शिक्षा मन्त्रीको आगमन भयो । प्रमुख अतिथिको मन्तव्य दिने पालो आएपछि उद्‍घोषण समितिका संयोजक यलम सरले बोल्नुपर्ने कार्यतालिका थियो । त्यसैअनुसार प्रदेश सांसद शिक्षा मन्त्रीको छोटो परिचय दिनलाई यलम सर मञ्‍चमा गएर बोल्न थाल्नुभयो ।

"आज मिति २०८० साल चैत २६ गते आइतबारका दिन यस समारोहमा पाल्नुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू तथा संपूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै आजको यस समारोहमा मन्तव्य प्रस्तुत गरिदिनुहुन यस विद्यालयका संरक्षक तथा सञ्‍चालक समितिका पूर्व-अध्यक्ष एवम् यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु । यहाँहरूलाई अवगत भैसकेको छ आजका कार्यक्रमका प्रमुख अतिथि 'मुन्धुम-सेवा' प्रदेशका माननीय शिक्षा मन्त्री बखतबहादुर दारुण हुनुहुन्छ । बखतबहादुर दारुण यस्तो नाम हो जुन परिचय दिइरहनु पर्दैन । यस विद्यालयको स्थापनादेखि ‍यस प्रदेशको प्रख्यात विश्वविद्यालयको स्थापनासम्मका लागि नेताज्यूको योगदान रहेको छ । यसै वर्ष राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुहुने महानुभावहरूमा माननीय मन्त्रीज्यू पनि रहनुभएको यहाँहरूसमक्ष जानकारी गराउँदछु । विगत पन्ध्रवर्षदेखि राजनीतिलाई धर्म मानेर जनताको सेवामा लागिरहनुभएका माननीय प्रदेश सांसद शिक्षामन्त्री बखतबहादुर दारुणज्यूलाई हार्दिक अनुरोध गर्दछु ।"

यलम सरले प्रमुख अतिथि दारुणलाई बोल्नका लागि आग्रह गरेपछि दर्शक दीर्घामा केही हलचल सुरु भयो । नेताको भाषण भनेपछि जनतालाई दिक्‍क लाग्न थालिसकेको थियो । कसैलाई भने घर जान हतार थियो । कुनै कुनै दर्शक चाहिँ सांस्कृतिक कार्यक्रममा मात्र चाख लिएर आएका थिए होलान् । त्यही कारणले नेता बोल्ने भनेपछि भेडे कार्यकर्ताको मात्र भिड हुने र सर्वसाधरणको चासो नहुने प्रवृत्ति सामान्य नै हो । यो देशमा बोलेर भएका गफाडी नेता न परे ! हिमल्यान्डको एक्लो हिममानव स्वयं नेता भए जसरी सडक वा सोसल मिडियामा गफ जोतेर नेता बनेका माननीयहरूको पनि कमी छैन । त्यही भएर होला नेताको भाषण भनेपछि धेरैलाई एलर्जी हुन थालेको । तैपनि नेता हो बोल्नै पर्‍यो ! आफ्नो मिडिया, च्यानलको भ्यु, लाइक, कमेन्ट र सब्स्क्राइब बढाउन पनि केही अन्ट न सन्ट बोल्नै पर्‍यो ! फ्यान फलोवरहरूले घरैमा बसीबसी लाइव र रेकर्डेड प्रसारण सुन्छन्, हेर्छन् भन्ठानेर पनि दमदार भाषण ठोक्ने प्रयास गर्नै पर्‍यो ! नेता न हो ! मन्त्री भएपछि भाषणको मोलतोल झनै कडक हुने ! त्यसैले सुन्ने स्रोता हुन् कि नहुन्, हेर्ने दर्शक रहुन् कि नरहुन्, नेता हो बोल्ने ए.आइ. रोबोट (AI Robot)। यही परिदृश्यका बिचमा माननीय मन्त्री बखतबहादुर दारुण मञ्‍चमा जानुभयो । फूलमालाले सजिएको पोडियममा ठडिएको माइक्रोफोन च्याप्प समाएर संबोधन गर्न थाल्नुभयो ।

"यस कार्यक्रमका सभापतिज्यू, आदरणीय अतिथिज्यूहरू, गन्नेमान्ने महानुभावहरू, शिक्षक तथा विद्यार्थीहरू । सर्वप्रथम धन्यवाद उद्‍घोषक यलम सरलाई । वहाँलाई एउटा सानो अनुरोधबाट मेरो मन्तव्य राख्न चाहन्छु । उद्‍घोषक भएपछि कतिपय डेटाहरू ख्याल राख्नुपर्ने हुन्छ । म समाजसेवामा आजीवन लागेको सेवक हुँ । राजनीतिमा सक्रिय भएर लागेको पनि कम्तिमा पच्चिस वर्षभन्दा धेरै भैसक्यो । तर उद्‍घोषकले मात्र पन्ध्र वर्ष भनिदिँदा सत्य तथ्यमाथि प्रश्न खडा हुन्छ । गलत डाटा भन्नुभन्दा चुप लाग्नु नै बेस हो । उद्‍घोषकले वक्ताहरूको परिचय दिन पनि कन्जुस्याइँ गर्नु हुँदैन जस्तो मलाई लाग्दछ । म को हुँ, मैले के गरेको छु, मेरो पावर र पहुँच कस्तो छ भन्ने कुरा जनताले देखेकै छन् । मैले यहाँ आफ्नै मपाइँ गर्नु हुँदैन । तर तपाईँहरूले म जस्तो मन्त्रीलाई चिन्नु भएमा काम लाग्छ भनेर म केही भन्दैछु है । म भनेको शिक्षा मन्त्री हो । म ............म ..............म .......... ।"

नेता बखतबहादुरले जति पटक म- म- म भन्दै गए त्यति नै त्यहाँबाट जनताहरू दुर दुर दुर हुँदै थिए । उनको भाषण 'म' अर्थात उनी आफैँमा केन्द्रित थियो । आत्म-वृतान्त, आत्म-प्रशंसाले भरिएको उनको भाषणमा कुनै वक्तृत्व कलाको सौन्दर्य थिएन । कुनै साहित्यिक सौन्दर्यको आकर्षण थिएन । न कुनै जनतालाई काम लाग्ने तथ्य र विकासको भिजन । उनी आफू बाहेक कुनै कुरा गरिहाले अरुमाथि शब्दवाणले प्रहार गर्ने । अरूलाई आलोचना गरेर शिक्षामन्त्रीले प्रमुख अतिथिको रूपमा मन्तव्य राख्‍नुभयो । त्यो सँगसँगै त्यस दिनको कार्यक्रम सकियो ।

भोलिपल्ट 'मुन्धुम-सेवा' प्रदेशका माननीय मन्त्री बखतबहादुर दारुण सोसल मिडियामा भाइरल हुनुभयो । यलम सर र उनका उद्‍घोषक विद्यार्थीहरूको फोटो त के नाम समेत आएन । कलाको होइन तमासाको, श्रमको होइन चाकडीको, शाश्वत सत्यको होइन अतिरञ्‍जित तथ्यको कदर गर्ने नेतृत्वले जनतालाई कता डोर्‍याउला ? माननीय प्रदेश मन्त्रीको भाइरल भिडियो हेर्दै बसेको बेला यलम सरको मोबाइलमा फोन आयो । अननोन नम्बरबाट आएको फोन कल भए पनि यलम सरले रिसिव गर्नुभयो ।
"हेलो यलम सर ।"
"हेलो हजुर को बोल्नुभयो ?" महिलाको स्वरमा आएको कललाई जवाफ दिँदै यलम सरले सोध्नुभयो ।
"म सुपर हिट एफ.एम.की स्टेसन म्यानेजर दुर्गा बोल्दै छु ।" उताबाट फोनमा रिप्लाइ आयो ।
"ए दुर्गाजी । मलाई फोन गर्नुभकोमा खुसी लाग्यो ।"
"धन्यवाद सर । म तपाईको उद्‍घोषण कलाको ग्रेट फ्यान हुँ लिटरल्ली र आज फोन गर्नुको कारण चाहिँ तपाईँसँग सहकार्य गर्नलाई हो यलम सर ।" रेडियोकर्मी दुर्गाले यलम सरलाई फोन गर्नुको आशय बताउनुभयो । यलम सरलाई कुरा प्रस्ट पार्दै दुर्गाले भन्नुभयो, "हाम्रो रेडियोले एउटा नयाँ कार्यक्रम लन्च गर्दै छ । त्यसमा तपाईँले आर.जे. भनौँ रेडियो जोकी तथा रेडियो कार्यक्रम प्रस्तोताको काम गर्दिनु पर्‍यो लिटरल्ली । तपाईँको समय र योजना के छ यलम सर ?"
"धन्यवाद दुर्गाजी । पहिलो धन्यवाद मेरो उद्‍घोषणको प्रशंसक हुनुभकोमा, दोस्रो धन्यवाद मलाई रेडियो कार्यक्रममा अवसर दिनुभएकोमा ।" यलम सरले कृतज्ञता व्यक्त गर्नुभयो ।
"कार्यक्रम सरकै पेसासँग सम्बन्धित छ । कार्यक्रमको प्रस्तावित नाम 'घर घरमा शिक्षा मन्त्रालय' रहेको छ ।"
कार्यक्रमको नाम सुनेर यलम सर हाँस्नुभयो । "ओहो गज्जब हुने भएछ नयाँ नेपालमा । अब नेपाली जनताको घर घरमा मन्त्रालय पुग्ने भएछ । होइन त दुर्गाजी ?"
"घर घरमा रेडियो हुन्छ र रेडियोमार्फत यो कार्यक्रम घर घरमा सजिलै पुग्ने भएकाले यो नाम प्रस्तावत गरिएको छ यलम सर ।"
"पहिले शिक्षा मन्त्रालय पुगेपछि बिस्तारै स्वास्थ्य, गृह, अर्थमन्त्रालय हरेक नेपालीको घर दैलोमा पुग्यो भने जनतालाई अब के नै चाहिने भयो र बा !" यलम सरले ठट्यौली गफ गर्नुभयो ।
"जोक नगर्नु न यलम सर । कार्यक्रम सञ्‍चालन गर्ने कि नगर्ने कन्फर्मेसन दिनुस् न ।"
"दुर्गाजीले भनेपछि कार्यक्रम चलाउँछु नै तर कार्यक्रमको टाइटलमा पुनःर्विचार गर्नुपर्ला ।" यलम सरले संशोधनको प्रस्ताव राख्‍नुभयो ।
"हुन्छ सर । खासमा यो कार्यक्रम विद्यालयका बालबालिकाको लागि हो । यसमा विद्यार्थीहरूलाई सहभागी गराई पब्लिक स्पिकिङ स्किल सिकाइने छ । त्यसको लागि कार्यक्रमको टाइटल के राख्दा उचित होला ?" दुर्गाजीले यलम सरलाई सोध्नुभयो ।
"विद्यार्थीको कार्यक्रम हो भने 'विद्यार्थीसँग शिक्षा मन्त्रालय' भनेर नाम राखौँ ।" यलम सरले कार्यक्रमको टाइटल अलिकति सुधारेर प्रस्ताव गर्नुभयो ।
"यो नाम राम्रो लाग्यो । म कार्यक्रम फाइनाइन्सरलाई यो सुधारिएको टाइटल सुनाउने छु । मलाई लाग्छ यो नाम वहाँले अनुमोदन गर्नुहुने छ ।"
"हवस् ।" यलम सरले सहमति जनाउनुभयो ।
"यलम सर कार्यक्रमको ढाँचा तयार गर्न र स्क्रिप्ट अभ्यास गर्नुपर्छ । त्यसको लागि भोलि सुपरहिट एफ.एम.को स्टेसनमा आउनुस् है त ।"
"ए हुन्छ दुर्गाजी । यो कार्यक्रमको फाइनाइन्सर र स्पोन्सर चाहिँ कुन कम्पनी वा को हो दुर्गाजी ?" यलम सर बोल्दाबोल्दै फोनमा अड्किँदै आएको कर्कश आवाज सुनियो । क्यारक्यार ध्वनिले फोनमा बोलेको प्रष्ट सुनिँदैन । त्यसैबेला फोन डिस्कनेक्ट भयो ।

अर्को दिन अपरान्ह चार बजे सुपरहिट एफ.एम.को स्टेसनमा यलम सर पुग्नुभयो । "बखते !" यलम सरले एक्‍कासि जिब्रो फड्कार्नुभयो । रेडियोको अफिसभित्र छिर्नै लाग्दा त्यो नेतालाई देखेर उनी झस्किनुभयो । त्यहाँ पुगेर मात्र उनलाई अवगत भयो त्यो 'घर घरमा शिक्षा मन्त्रालय' भन्ने कार्यक्रमको नाम जुराउने व्यक्ति प्रदेशका शिक्षा मन्त्री बखतबहादुर दारुण थिए । त्यो कार्यक्रमलाई आवश्यक अर्थ व्यवस्थाको स्पोन्सर गरेका थिए उनै मन्त्रीले । यलम सरले संपादन गरेको कार्यक्रमको टाइटल थियो 'विद्यार्थीसँग शिक्षा मन्त्रालय' । त्यो टाइटललाई पनि शिक्षामन्त्री दारुणले थोरै परिवर्तन गरेका थिए 'विद्यार्थीसँग शिक्षामन्त्री' । यलम सरले त्यसलाई अझ काव्यात्मक बनाएर लानुभएको थियो । त्यस कार्यक्रमको प्रस्तावित टाइटल थियो 'विद्यालय विद्यार्थी मैत्री, घर घरमा शिक्षा मन्त्री' । त्यहाँ एकाध समय छलफल गरेपछि यलम सरले शिक्षामन्त्री दारुणसँग हात मिलाउनुभयो । स्टेसन म्यानेजर दुर्गाजीलाई धन्यवाद दिँदै त्यहाँबाट निस्किनुभयो ।

केही दिनपछि यलम सर रेडियो सुन्दै हुनुहुन्थ्यो । स्टेसन सर्च गर्दै जाँदा सुपरहिट एफ.एम.को वेभब्यान्ड कनेक्ट भयो । त्यस रेडियोमा प्रसारण भैरहेको कार्यक्रम थियो 'विद्यालय विद्यार्थी मैत्री, घर घरमा शिक्षामन्त्री' । त्यस कार्यक्रमको उद्‍घोषक को थियो यलम सर जानकार थिएनन् । तर अध्ययन, अनुभव र अध्यात्मले परिपूर्ण उनको अन्तस्करणले यति बुझेको थियो कि उद्‍घोषण व्यक्तित्व हो भने भाषण नेतृत्व हो; स्वच्छ व्यक्तित्व र नेतृत्वले नै वक्तृत्व सत्यम् शिवम् र सुन्दरम् हुन्छ । त्यसैले यलम सर आत्मविश्वासपूर्वक भन्ने गर्थे "म हुँ एक समर्पित शिक्षक र एक जिम्मेवार उद्‍घोषक ।"

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।