19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रेसुङ्गा यात्रा : तीन फरक अनुभूतिहरू

नियात्रा काशीनाथ मिश्रित August 24, 2026, 3:50 pm
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

म जम्मा तीन पटक मात्र रेसुङ्गा पहाड चढ्न पाएको छु अहिलेसम्म । भविष्यमा त फेरि पनि त्यहाँ जाने मौका आउला । भविष्य अनिश्चित हुने भएकाले यसै भन्न सकिने कुरा भएन । त्यसैले विगतका अनुभूतिहरूलाई कोट्याउँ भनेर । पहिलो पटक २०५० सालको साउन महिनामा, दोस्रो पटक २०५१ सालको असोज महिनामा र तेस्रो पटक २०६८ सालको बैशाख महिनामा मैले त्यो गुल्मेली कञ्चन्जङ्घाको चुचुरो चुम्न पुगेको थिएँ । तर म सबैभन्दा बढी उचाइमा पुगेको भने पछिल्लो यात्रामा हो किनकि त्यतिबेला त्यहाँ एउटा भ्यु टाबर बनेको थियो । मलाई यो संस्मरण लेख्दा बडो दुख्ख लागिरहेछ किनभने पहिलो रेसुङ्गा यात्राको संस्मरण लेखेको पाण्डुलिपि हराएको छ । पुनः लेख्दा समय पनि धेरै बितिसकेको र यात्राक्रम तेस्रिएकोले कुन यात्रा हो आफैलाई पनि भ्रम भए जस्तो लागिरहेछ । जेहोस् सबै यात्राको मिश्रित रुप बनाएर खिचडी पकाउने रहरले अहिले कोर्न बसेँ । पुरानो पाण्डुलिपि नभए पनि मस्तिष्कमा सम्झनाका झिल्का त जीवितै छन् । पुराना झिल्काहरूलाई कम महत्त्व दिँदै पछिल्लो यात्राकै सिलसिला यस संस्मरणमा ताजा भएर आइरहेछ ।

पहिलो र तेस्रो जस्तो रमाइलो यात्रा दोस्रो भएको थिएन भन्ने मलाई पूरा याद छ । पहिलो रमाइलो हुनु स्वाभाविकै हो । तेस्रो चाहिँ साहित्यिक विशेष थियो त्यसैले स्वतः रमाइलो मानियो । दोस्रो यात्रा सहपाठी साथीहरूसँग भएको भए तापनि हतारहतारको र धेरै विस्मृतिमा परेको रहेछ । त्यस यात्राका धेरै घटनाहरू याद हुन सकेनन् । दोस्रो यात्राको सधै सम्झिरहने एउटा कुरा छ । हामी चढ्दा र ओर्लँदा फरक फरक बाटो भएर हिँडेका थियौं । रेसुङ्गाको दक्षिणी मोहोडामा रहेको टेलिफोन टावर हेर्दै झरेका थियौं हामी । त्यो टावर जापानको सहयोगमा बनेको रहेछ । हाम्रा अङ्ग्रेजी शिक्षक यमबहादुर थापा पनि हाम्रो यात्रामा हुनुहुन्थ्यो । उहाँ तमघासकै स्थानीय वासिन्दा भएकाले उहाले रेसुङ्गाका बारेका धेरै कुरा बताउनुभएको थियो त्यतिबेला । उहाँले त्यहाँ रहेको सोलार सिस्टमका बारेमा सबैलाई जानकारी गराउनुभएको थियो । नौलो कुरा देख्न पाएर हामी मख्ख परेका थियौँ । अहिले लाग्छ विदेशीले नदिई हामी चल्न सकेका रहेनछौँ पहिलेदेखि नै । यो हाम्रो परनिर्भरता कहिलेसम्म रहने हो कुन्नि !

त्यो यात्राका मेरा साथीहरू कोको थिए सबैलाई सम्झन्न । हामी कक्षा बाह्रको जाँच दिन पाण्डे होटलमा बसेका थियौँ त्यतिबेला । ताराबहादुर थापा, माधव ज्ञवाली र ईश्वरी ज्ञवाली अर्को कोठामा बस्ने साथीहरू हुनुहुन्थ्यो । म भने मुसिडाँडाका दधिराम ज्ञवालीसित बसेको थिएँ । यी चार जनाबाहेक अरु यात्री साथीहरू बिर्सिएछन् । दधिरामसित नागरिकता बनाउन पनि म गएको थिएँ जि.प्र.का.मा परीक्षा दिने क्रममा तमघास बस्दा नै । अर्को पटक त्यही कामका लागि तमघास पुग्नु पनि कठिनै थियो त्यो समयमा ।

कुहिरो लागेको बेला केही टाढाबाट देखिएको वस्तु जस्तो धमिलो सम्झना छ पहिलो यात्रा । शायद यात्राक्रम पनि कुहिरो लागेकै समयमा भएर हो कि ? सिमसिम पानी परेको थियो । कुहिरो व्याप्त थियो धरतीमा । महिना साउनको हो । गते याद भएन । चौध जनाको यात्रा टोली थियो हाम्रो । तीन कक्षाको बालकदेखि क्याम्पस पढाउने लेक्चररसम्म यात्रामा सहभागी थिए । भुवन दाइ, पुष्कर दाइ, विजय भाइ, दीन पन्थी सर र दीन सरका जेठानबाहेक अरुको त्यति याद हुन सकेन । सकोस् पनि कसरी ! १९ वर्ष वितेपछि स्मरण गर्दै छु यो कुरा । चिप्लो बाटो लड्दैपोड्दै उकालो चढ्दा बडो रमाइलो भएको थियो । गोरु जुरे भन्ने ठाउँमा पुग्दा एउटा हान्ने गोरुको चर्चा भएको सम्झन्छु । त्यो गोरु त्यहीँ कतै हुन पनि सक्ने र भेट्यो भने भागाभाग हुनुपर्ने कुराले म साह्रै डराएको थिएँ तर गोरु भने भेटिएन । कुहिरो डम्म लागेकोले कतै केही देखिन्नथ्यो । पानी पनि परेको थियो भन्ने कताकता कुहिरोको काग जस्तो स्मृति हुन्छ, किनभने फोटो खिचिएको थियो र त्यो फोटो छाता ओढेकै समयको थियो । मलाई पनि एक प्रति फोटो भुवन दाइले दिनुभएको हो । केही पहिलेसम्म त एलबममा सुरक्षित थियो । आजभोलि त्यस्ता पुराना फोटाहरू कसले कता लगिदिएछन् पत्तै भएन । त्यो फोटामा म दीन पन्थी सरसितै उभिएको थिएँ ।

गोरु जुरेबाट निकै बेर हिँडेपछि रेसुङ्गाको पोखरी आउँदो रहेछ । पोहोर जाँदा त्यो पोखरी पक्की थियो । त्यतिखेर भने कच्ची भए पनी टनाटन पानी थियो । पानी परेको भए पनि दीन सर, भुवन दाइ लगायतका धेरै जना मान्छे पौडी खेले । म भने पौवामा बसेँ पौडनेहरूका कपडा कुरेर । नुहाएर आएपछि दीन सरले त्यो पोखरीको बारेका धेरै कुरा बताउनुभएको थियो तर के के बताउनुभएको हो भन्ने सम्झना चाहिँ रहेन । साउन महिनामा पोखरीमा नुहाउनुको कारण नदीहरूलाई रजस्वला भएको मानिने भएर हो भनेको भने याद छ ।

पोखरी आएपछि रेसुङ्गा आयो होला भन्ठानेको थिएँ मैले । तर अझै उकालो चढ्न बाँकी रहेछ । जुका स्याउँस्याउँती लाग्दा रहेछन् तैपनि जुका फाल्दै हामी उकालो चढ्न थाल्यौं रेसुङ्गाले हामीलाई कुरिरहेको होला भनेर । दीन सरले विभिन्न जडीबुटीको नाम बताउँदै जानुभएको थियो तर मैले अहिले एउटाको पनि नाम सम्झन सक्दिन । दीन सरका जेठान पनि यात्राका सहभागी हुनुहुन्थ्यो । उहाँले विभिन्न बौद्धिक प्रश्नहरू सोधेर यात्रा सरस र सरल बनाउनुभएको थियो । सम्झेसम्म ती प्रश्न मेरो डायरीमा कैद गरेको छु । त्यस यात्रामा मभन्दा बढी पढेका धेरै व्यक्तिहरू थिए तर एउटा प्रश्नको भने मैले पहिले उत्तर दिन सकेको थिएँ । टिपिएका ती प्रश्नहरूको उत्तर भने लेखेको छैन । कसैले हेर्नुभएमा प्रश्नमात्र पाउनुहुनेछ ।

ठूलो यज्ञशाला रहेछ तामाका पाताको छानो भएको । त्यस यज्ञशालामा कहिल्यै पनि आगो निभ्दो रहेनछ । श्रृङ्गेश्वर तपोभूमिको भन्दा त कैयौँ गुना ठुलो थियो त्यो यज्ञशाला । त्यहाँ पहिले पहिले विभिन्न सन्तहरू तपस्या गरेर बस्ने गरेको कुरा पनि दीन सरले बताउनुभएको थियो । आगो कहिल्यै ननिभ्ने कुरा सुन्दा र लुम्बिनीको बत्ती पनि कहिल्यै ननिभ्ने कुरा अनुभव गर्दा यी दुइटाको रहस्य जान्न मन त लागेको हो तर रहस्य थाहा पाउन सकिएन । मेरो सम्झनामा पोखरीबाट उकालो चढेपछि पहिले त्यही यज्ञशालामा पुगिएको जस्तो लाग्छ ।

ठूलो होमखाडीभएको उक्त यज्ञशालाभन्दा केही माथितिर निस्केपछि सिद्धबाबाको मन्दिर पुगिँदोरहेछ । हामीले त्यस मन्दिरको परिक्रमा गरेर त्यहाका बारेका धेरै कुरा सुनेर त्यसभन्दा पनि अझै माथि उकालिएका थियौँ । मैले त रेसुङ्गाको टुप्पो त्यही होला भन्ठानेको थिएँ तर रहेनछ । यहाँबाट उत्तरपट्टि गौशाला छ, डेढ सयभन्दा धेरै गाई छन् त्यहाँ भनेर कुरा गरेको त्यहीँ पुग्दा हो जस्तो सम्झेको छु ।

रेसुङ्गा शिखरमा पुगेर हामीले खीर खाएका थियौं । विष्णुपादुका र शिवपादुका दुई मन्दिर भएको ठाउँ नजिकै एउटा छाप्रो रहेछ । त्यहीँ ओत लागेर बस्यौँ । खयरका बोक्राको चिया बनाएर खायौं । ग्यालेनमा दुध बोकेर जानुभएको थियो सरहरूले । त्यही छाप्रोमा खीर पकाएको पनि याद छ । त्यो खीर खाँदा ससाना भुसुना जस्ता कीरा परे भनेर केही सहयात्रीहरू बाहिरतिर दगुरेको पनि सम्झन्छु । त्यहाँ रहेका विस्नुपादुका र शिव पादुका चाहिँ स्वामी शशिधर र स्वामी लक्ष्मीनारायणका समाधीस्थल हुन् भन्ने कुरा दीन सरले बताएको पनि भुलेको छैन । भोज, भ्रमण र तीर्थ यात्रा सबै सम्पन्न भए । फर्केर ओरालोमा चिप्लिँदै र लड्दै झरेको ताजा याद छ । मलाई सानो भाइ विजयले हिँडालेका थिए । आइसकेपछि भिनाजु त लड्दैपड्दै आउनुभयो भनेका थिए । यात्रालाई मनोरञ्जक बनाउन बुद्धि खियाउने प्रश्नहरू भने अहिलेसम्म याद छन् । आफूलाई कुन कुरामा रुची हुन्छ त्यो बिर्सिँदैन भन्ने यो एउटा प्रमाण पनि हो । रेसुङ्गाबाट गोरखपुरसम्म देखिन्छ भन्ने कुरा बाले भन्नुभएको थियो तर बादल लागेकाले नजिकैको कुरा पनि देखिएको थिएन अझ गोरखपुर !!

तेस्रो यात्रामा ऐतिहासिक पर्वत रेसुङ्गाले निकै कोल्टे फेरेछ । आफूलाई विकसित बनाएछ । २०५१ सालको मधुपर्क विबन्ध विशेषाङ्कमा सिद्धिनाथ ज्ञवाली र कमल श्रेष्ठको लेख पढ्न पाउँदा फेरि अर्को पल्ट रेसुङ्गा गएको भान परेको हो । त्यसपछि ‘रेसुङ्गा’ नामक पुस्तक आयो सिद्धिनाथ ज्ञवालीको र त्यसले पनि पुनः यात्रालाई पुनर्ताजकीकरण गराइदिएको थियो । प्रत्यक्ष जान भने मौका परेको थिएन । निकै समयको अन्तरालमा २०६८ साल बैशाख ९ गते बिहान फेरि त्यहाँ पुग्ने अवसर जुटाइदियो प्रथम गुल्मी महोत्सवका उपलक्ष्यमा आयोजित पश्चिमाञ्चल क्षेत्रस्तरीय साहित्यिक गोष्ठीले । लगानी उद्योग वाणिज्य संघको भए पनि आयोजना गर्ने जिम्मेवारी भने किरण पुस्तकालयले पाएको थियो । मलाई साहित्यिक गोष्ठी हुँदै छ भनेर नारद सरले थाहा दिनुभएको थियो । सबै कार्यक्रम सम्बन्धी पूरा जानकारी नपाएर मैले गुल्मी सम्बन्धी कविता लेख्ने कोशिस गरेको थिएँ तर पछि भुवन दाइसित बुझ्दा कविता प्रतियोगिता नै रहेछ । शुरुमा त उहाँले पनि सबै बताउनुभएन । ६ गतेतिर ‘जित्ने हिसाबले आउनुहोला ।’ भन्ने कुरा फोनमा भएपछि मात्र कडा प्रतिस्पर्धा हुने सङ्केत पाएँ मैले । साथै नारद सरले भनेझैँ गुल्मी सम्बन्धी नै लेख्नुपर्ने पनि रहेनछ । खुल्ला कविता प्रतियोगिता रहेछ । ८ गते छन्द दिवस परेकाले छन्दोबद्ध कविताहरू सुनाउने कार्यक्रम पनि रहेछ । यी सबै सूचना भुवन दाइमार्फत थाहा भयो र सोहीअनुसार मैले नारद सरलाई पनि जानकारी गराएँ ।

“खास कार्यक्रम ९ गतेको हो क्यारे! म त्यसै दिन बिहानै आउँछु ।“ भनेर नारद सरले भन्नुभएकाले म ८ गते नै हिँडे तमघासतिर । मलाई अरुभन्दा पनि ऋषिराम कँडेलसित भेट हुने चाहना थियो । फोनमा कुराकानी भए पनि साक्षात्कार भएका थिएनौं हामी । ६ गते नै मैले ‘यम–क–हाँ’ शीर्षकको कविता प्रतिस्पर्धी बनाउने सोँच बनाएको थिएँ । जित्ने हिसावले आउनुहोला भन्ने भनाइ मनमा गडीरहेको थियो त्यसैले तत्कालै लेख्ने समय भएन । केही पुरानो भए पनि सजिलो र आलङ्कारिक भएकाले उक्त कविता रोजेँ । ७ गते मकै छर्ने क्रममा एउटा श्लोक रचेँ र जम्मा ६ श्लोके द्रुतबिलम्बित छन्दको कविता सुरेशलाई कम्प्युटर गर्न दिएँ । रेसुङ्गा भ्रमण लैजाने कुरा त मैले ९गते बिहान मात्र थाहा पाएँ । नारद सर छुट्नुभयो भन्ने मनमा लागिरह्यो । अघिल्लो दिनको छन्द दिवसमा पनि छुट्नुभएको थियो । हामी रेसुङ्गाबाट फर्कँदा भने बालमन्दिरको चोकमा आउनुभएको रहेछ ।

म सरासर भुवन दाइको घर पुगेर कविता देखाएँ । नाम भने नारद सरले फोनबाटै टिपाइसक्नुभएको थियो । ‘आज र भोलि दुबै दिनको लागि सबै व्यवस्था उतै छ तपाईँहरूलाई , जाउँ अब उतै , हामी पनि आयोजक नै हौं क्यारे फाट्टफुट्ट भेट भैहाल्छ ।’ भुवन दाइले यति भनेर मलाई लिई हिँड्नुभयो किरण पुस्तकालयतिर ।

किरण पुस्तकालयमा साहित्यकारहरूको जमघट हुँदै रहेछ । पश्चिमाञ्चल क्षेत्रस्तरीय साहित्यिक कार्यक्रम हुनाले धेरै टाढाका साहित्यकारहरूलाई पनि निमन्त्रणा गरिएको थियो । किरणमा पुग्नुअघि नै ऋषिराम कँडेलजीले फोन गर्नुभएको थियो—‘म सापकोटामा आएर खाना खाँदै छु सर, हजुर आउँदै हुनुहुन्छ कि ?’ मैले किरण पुस्तकालयतिर जाँदै गरेको कुरा उहाँलाई बताएँ । त्यहाँ एउटा बुढा मान्छेसँग भेट भयो । परिचय गर्दा उहाँले भन्नुभयो — ‘म सदानन्द अभागी, नवलपरासीबाट ।’ छेवैमा अर्का व्यक्ति पनि रहेको आभास मैले पाएँ । उहाँ हुनुहुँदो रहेछ नमोनारायण पन्थी । नाम सुन्नासाथ कहिलेकाही रेडियो रेसुङ्गाबाट प्रसारण हुने उहाँका कविता सम्झेँ । उहाँको छन्द सबैकोभन्दा अलग्गै छ । तमघासकै वासिन्दा भन्ने त थाहा थियो । तर मेरो परिचय पाएपछि उहाँले थप्नुभयो—‘मेरो मामाघर पनि उहीँ हो । ठाडाखर्क, चिन्नुहुन्छ ?” यसैक्रममा जानकी बहिनीसँग भेट भयो । उनीसित हामी जनबोधमा पढ्दा सँगै अन्ताक्षरी खेल्थ्यौँ । उनकै साइनो लगाएर शङ्कर सरसित जिविसबाट धेरै काम गरिएको थियो हामीले नेत्रहीन संघको । उनी पनि त्यस कार्यक्रमको आयोजक समूहमै थिइन् । ल दाइ पनि आउनुभएछ भनेर खुशी प्रकट गरिन् ।

पाहुनाहरूको आगमन बढ्दै थियो । शशी पन्थी (अध्यक्ष किरण पुस्तकालय)सरले मलाई प्रतियोगितामा भाग लिनैपर्ने कर गर्नुभयो । ‘तपाईँ गुल्मीको स्रष्टा भएका नाताले पनि भाग लिनुपर्छ, नत्र गुल्मीकै सहभागिता कम देखिन्छ । आजको लागि छन्द दिवस छन्दोबद्ध कविता वाचन गरेर मनाउने कार्यक्रम छ, राम्रो कविता सुनाउने तयारी गर्नुहोला ।’ यति भनेर शशी सर पनि कता हराउनु भयो कुन्नि । केही बेरमा ऋषिराम कँडेल आइपुग्नुभयो । हामी किरण पुस्तकालयभित्र थियौं । उहाँले मसँग परिचय हुनासाथ बाहिर बस्ने प्रस्ताव राख्नुभयो । फोनमा थुप्रै कुराहरू हुन्थे तर मैले आफू दृष्टिविहीन छु भनेको थिएन । ‘मैले त तपाईँ सामान्य व्यक्ति हुनुहुन्छ होला भन्ने सोँचेको थिएँ ।’ ऋषि सरको प्रतिक्रिया थियो यो । म ऋषिराम कँडेलसितै साँझको बसाइ बस्ने कुरा पनि निश्चित भयो । हामी कुरा गरिरहेकै बेला अगाडिबाट दुई जना आएर ‘ मलाई चिन्नुहोस् ।’ भनेर अत्याउन थाले एक जना त नबोलीकनै उभिनुभएको थियो , तर अर्का एक जनाले भने र्‍याख्र्‍यख्ती पारिराख्नुभयो मलाई । मेरो दिमाग फनफन्ती घुम्न थाल्यो तर जति घुमाए पनि पत्ता लगाउन भने सकेन ।‘चिन्नै पर्छ तपाइँले, लौ बोलीका आधारमा चिन्नुहोस् , म यतिका बोलीसकेँ खै चिन्नुभएन ? तपार्इँ र म धेरै ठाउँमा भेट भएका छौं ।’ मैले राम्ररी ठम्याएर यही नै हो भन्न सकिन अनि आफै उहाँले म हिरण्यलाल ज्ञवाली भन्नुभयो । समय पनि ढिप्किनै आँटेकाले आगन्तुक साहित्यकारहरूको चाप बढ्दै थियो । ऋषिराम र म कुरा गर्दै थियौं । गङ्गानाथ कोइराला, कृष्णप्रसाद कोइराला लगायतका पाल्पाली साहित्यकारहरू पनि आउनुभयो । घुइँचो बढ्दै जान थाल्यो कोही पूर्व परिचित त कोही अपरिचित थिए । साहित्यकारहरूको अभूतपूर्व उपस्थितिले तमघास नै साहित्यमय बन्यो ।

समयले कसैलाई पर्खेको थिएन । हामीले भने सबै जम्मा नहुन्जेल पर्ख्यौं । यता किरण पुस्तकालय भिन्नै रौनकमा थियो, उता महेन्द्र मा.वि.को चौर व्यापारिक स्टल र रङ्गकर्मीहरूको साङ्गितिक प्रस्तुतिले छुट्टै उमङ्गमा थियो । महोत्सवकै स्टेजमा छन्द दिवस मनाउने कार्यक्रम राख्दा ठिकै हुने भन्ने तय भएछ तर साहित्यकारको समूह त्यहाँ पुग्दा दर्शकहरू बस्ने बेला गुज्रिसकेको हुनाले आवाजमात्र गुञ्जियो, हेर्ने कोही भएन । उपस्थित भएका कविहरूले छन्दोबद्ध कविता वाचन गरी छन्द दिवस मनाउने कार्यक्रम भएकाले पालैपालो छन्दोबद्ध कविता वाचन शुरु भयो । सञ्चालन भुवन अर्यालले गर्नभयो । नमोनारायण पन्थीपछि मेरो पालो परेछ दोस्रो नम्बरमै । मैले पनि त्यसै वर्ष वाटिकामा प्रकाशित ‘दुर्दिन फेरिएला’ शीर्षकको कविता सुनाएँ । मपछिको क्रममा भेषबहादुर कुँवर ‘प्रयासी’लाई बोलाइयो । उहाँले मेरो प्रशंसा गर्दै आफ्नो कविता सुनाउनुभयो । सबैले फटाफट सम्बोधन नगरिकनै कविता वाचन गर्दा पनि समय निकै लाग्यो । रातको साढे दश बजे कार्यक्रम सकेर हामी होटलतिर लाग्यौं । ऋषिराम कँडेल र म मात्र एउटा कोठामा सुत्यौं ।

राती अबेरसम्मै कुरा गरिएछ । म झुल्न थालेपछि ऋषि सरले आफ्नो कुरा बिट मार्नुभएको थियो । ६ बजेतिर उठ्यौं होला हामी । “अरु साथीहरू कताकता बस्नुभयो, एक पटक भेटघाट त गर्नुपर्ला । जाउँ बाहिरतिर ।“ ऋषि सरको प्रस्तावलाई समर्थन गर्दै दुवै जना कोठाबाट बाहिरियौं । बजारतिर निस्कँदा नास्ता खाएर रेसुङ्गा भ्रमणमा लैजाने र फर्केपछि खाना खाएर गोष्ठी/प्रतियोगिता गर्ने कार्यक्रम तय भएको थाहा लाग्यो । नयाँ बजारको एउटा नास्ता पसलमा दुई साहित्यकार बन्धुहरू कृष्णप्रसाद कोइराला र गङ्गानाथ कोइरालासँग भलाकुसारी गर्ने अवसर मिल्यो बल्ल । दुई वर्षअघि मलाई पोखराथोक साहित्य सङ्गमले आमन्त्रण गरी सम्मान गरेको थियो । त्यही अवसरमा ऋषिराम कँडेलसित सम्पर्क गराउनुभएको थियो गङ्गानाथ दाइले । सङ्गमका अध्यक्ष हुनुहुन्थ्यो गङ्गानाथ दाइ । वाटिकाका प्रधान सम्पादक हुनुहुन्थ्यो कृष्णप्रसाद कोइराला । जेरी पुरी भोजन गरेर लाँकुरी मञ्चमा जम्मा भयौं र जिप चढेर रेसुङ्गा शिखरतिर उचालियौं ।

म पहिलो पल्ट चढ्दा गोरु जुरे भन्ने ठाउँमा विश्राम गरी फोटोसमेत खिचेका थियौं तर अहिले भने सवारी साधनमा सुइकिदा यात्रा नै निरस लाग्यो । रेसुङ्गा पोखरीसम्मै मोटरबाटो बनाइएको रहेछ । पोखरी पनि सिमेन्टेड भएछ, साँच्चै भन्ने हो भने काँचुली फेरेछ रेसुङ्गा पोखरीले । केही बेर त्यहीँ घुम्यौं । एक जना वाहुनले पोखरीको डिलमा बसेर गीता पाठ गर्दै थिए । दुवै जिप आइपुगेपछि हाम्रो यात्रा पैदलै हुनु बाध्यता थियो किनभने त्यहाँभन्दा माथि मोटरबाटो थिएन । तराइबाट आएका दुईतीन जना त माथि चढेनन् पनि । लेक लाग्छ भन्ने डरले हो वा पैदल हिँड्ने आँट नभएर हो मैले बुझिन । म, ऋषि सर, गङ्गानाथ दाइ, कृष्णप्रसाद लगायतका धेरैजसो माथि हिड्यौं । मौसमले साथ दिएको थियो । रेसुङ्गामा धेरैजसो कुहिरोले छोड्ने गर्दैन । बैशाकको महिना हुनाले र प्रातकाल भएकाले चारैतिर हेर्न सकिन्थ्यो । यज्ञशाला, सिद्धस्थान हुँदै भ्यु टावरमा पुग्यौँ । शिवपादुका र विस्नुपादुकाका नजिकै भ्यु टावर ठड्याइएको रहेछ । प्राकृतिक रूपमै त्यति उच्च शिखरमा भ्यु टावर बनाउनुको औचित्य भने मैले देखिन । यो त प्राकृतिक सम्पदामाथिको हमला जस्तो लाग्यो मलाई । भ्यु टावरमा चढ्दा धरहरा चढेको याद भने आयो । एम.ए. पढ्दा सोमप्रसाद दाहाल र म भएर धरहरा चढेका थियौं २०६५ सालमा । धरहरामा २३० ओटा सिँढी गनेको थिएँ मैले । यो रेसुङ्गाको भ्यु टावरमा भने जम्मा ६० ओटा सिँढी रहेछन्, ती पनि धरहराकाभन्दा होँचा ।

डेढ वर्ष पछिको सम्झाइ कति पूर्ण होला र ? सबै सहभागीहरूको नाम याद भएन । तल पोखरीमा आउँदा उकालो चढ्न नसकेर बसेका साथीहरू गफ गर्दै थिए । सबै जुटेर जिप चढी ओरालीयौं तमघासतिर । खाना खाएर बालमन्दिरको हलमा जम्मा हुनुपर्ने थियो कार्यक्रमका लागि । यो पटकका मेरा सहयात्री ऋषिराम कँडेल नै हुनुभयो भन्दा फरक नपर्ला किनभने बालमन्दिरको आँगनमा पुग्दा बल्ल नारद सर देखिनुभयो । राती पनि उहाँसँग सँगै भइएन । मुख्य कार्यक्रम शुरु हुनु अगावै हिजो दिउसो जस्तो जमघट देखियो । कवि रामप्रसाद ज्ञवाली पनि आउनुभएको रहेछ । मलाई देखेपछि उहाँले भन्नुभयो —‘तपार्इँको महाकाव्य पनि मेरो थेसिसभित्र परेको छ । अरुलेझै नाम मात्र लेख्ने गरिन । पाएका सबै महाकाव्यको संक्षिप्त समीक्षा पनि छ । पुस्तक बाहिर आएपछि हेर्नुहोला ।’

रामप्रसाद सरले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेछ । तर ३१ जना प्रतियोगी र अन्य सबै अप्रतियोगी कविता वाचन गर्दा नै समय अपुग भयो । मेरो कविताले कुनै स्थान पाउने आशा थियो तर सान्त्वनामा सीमित भयो । सान्त्वना नै भए पनि आर्थिक हिसाबले अरु प्रतियोगिताभन्दा यो लाभदायी नै भयो किनभने रु.३००० पुरस्कार थियो । वनमाली निराकारको संयोजकत्वमा मूल्याङ्कन समिति बनाइएको थियो । तर मूल्याङ्कन समितिले प्रतियोगिताका लागि शर्तहरू केही प्रस्तुत नगरेकाले मलाई स्वच्छ मूल्याङ्कन हुनेमा शङ्का थियो ।

साँझ होटलमा खाना खाँदा चितवनबाट आएका कवि कपिल अज्ञातले भन्नुभयो —‘तपाईँको कविता सान्त्वनामामात्र राख्नुपर्ने कविता होइन । म मूल्याङ्कनमा बसेको भए दोस्रोसम्म स्थान पाउँथ्यो । शील्प पक्षमा तपाईँको जत्तिको कविता अरुको आएन । त्यो पनि हेर्नु पर्थ्यो । तैपनि पुरस्कार राम्रै राखेका हुन् । एउटा प्रतियोगितामा प्रथम पुरस्कार दशहजार त धेरै हो ।’ उहाँले अरु थुप्रै कुरा पनि गर्नुभयो । ज्योतिष पढेको र सो पेशा पनि गर्ने कुरा गर्नुभयो । मूल पेशा भने प्राध्यापन रहेछ । वीरेन्द्र क्याम्पसमा एम.ए.लाई सिर्जनात्मक लेखन विषय पढाउनुहुँदोरहेछ । उहाँको कुरा सुनेपछि मलाई २०६० सालमा रेडियो मदनपोखराको छैठौँ वार्षिकोत्सवमा भाग लिएको कविता प्रतियोगिताको सम्झना भयो । त्यस प्रतियोगितामा निर्णायक मण्डलले सुरुमै मूल्याङ्कनका दायराहरू प्रस्तुत गरेका थिए । छन्दको लागि २५ अङ्क छुट्याइएकाले म त्यतिबेला प्रथम भएको थिएँ । दोस्रो हुनेको भन्दा १४ अङ्क मेरो बढी आएको थियो । यहा भने त्यस्तो दायरा निर्धारण नगरिकनै मूल्याङ्कन गरिएको थियो ।

कार्यक्रम धेरै व्यापक हुनाले सबै विवरण दिँदा भद्दा बन्ने हुन्छ जस्तो लाग्यो । जेहोस् यो कार्यक्रमको सिलसिलामा पनि एक पटक रेसुङ्गा चढ्न पाएको हुनाले रेसुङ्गा यात्रा र कार्यक्रम अलग्याउन नमिलेर मात्र उल्लेख गरेको हुँ । त्यो कार्यक्रमको विस्तृत वर्णन गर्दा छुट्टै संस्मरण तयार हुने भएकाले त्यसो गरिएन । अर्को दिन नारद सरसँगै फिर्ता भएँ । रातीको बसाई भने ऋषिरामसितै थियो । होटलको बसाइबारे बुझ्न र आतेजाते खर्च बुझाउनका लागि अध्यक्ष लगायतको आयोजक टोली प्रत्येक होटलमा पस्दै गरेको थियो । गुल्मी जिल्लाभन्दा बाहिरका सहभागीलाई त हजार नै रहेछ । मलाई पनि २००रुपैयाँ हातमा थमाउँदै शशि सरले भन्नुभयो - “जिल्लाभित्रकालाई २०० मात्र गरियो । दुखम्सुखम् गाह्रो नमान्नुहोला । होटलको बसाइ सुताइ के कस्तो भयो? ठिकै भयो नि!”

तीन पल्टको रेसुङ्गा भ्रमण निकै फरक उद्देश्य र अनुभवका साथ गरेँ मैले । हेरौं अझै नयाँ अनुभूतिकासाथ फेरि अर्को पटक पनि रेसुङ्गा पहाडमा चढिन्ट कि !

२०६९/०७/२८

लक्ष्मीपूजा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।