19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'खोसिएको बाल्यकाल' उपन्यासमा एक नजर

कृति/समीक्षा होम सुवेदी August 25, 2026, 12:28 am
होम सुवेदी
होम सुवेदी

मधुर, प्राञ्जल, सुकोमल एवम् ललित भाषामा सृजना गर्ने क्षमता जोकोहीलाई हुँदैन । तर कसैकसैलाई यो वैशिष्ट्य हासिल हुन्छ । यस्तै प्रकृतिको वा ललित र मनोहारी भाषाशैलीमा रचना गर्ने सर्जकहरूमा अहिले बेलायततिर बसिरहेका तर आफू जन्मिएको नेपालको जन्मस्थान कोशीको चैनपुर वा त्यही स्थानका आफ्ना गाउँघर, पाखापर्वत अनि वन जङ्गललाई माया गर्ने सर्जक विनोद न्यौपानेले नेपाली साहित्यलाई निकै कोसेली सुम्पिरहेका छन् र सकेसम्म गुन लगाइरहेका छन् । उनी कवि हुनुका साथै कविता र मुक्तकविधामा कलम चलेको स्रष्टा हुन् । स्रष्टा विनोद न्यौपानेको कलमलाई अब केही पहिलेदेखि नै हामीले उपन्यासकारका रूपमा पाएका हौँ र त्यसमा पनि बालउपन्यासको क्षेत्रमा पाउन थालेका हौँ । उल्लिखित क्षेत्रमा राम्रो सफलताका साथ कलम चलेका सर्जकको रुपमा अब नेपाली पाठकले उनलाई पाउन थालेको छ ।

विनोद न्यौपानेका आधा दर्जन भन्दा बढी कृतिहरूमा 'यतिको काखमा' भाग एक र दुई बाहेक बालपात्रलाई प्रमुख स्थान दिएर बालसाहित्यमा रचना गरिएको पछिल्लो उपन्यास हो 'खोसिएको बाल्यकाल' । अब यसै उपन्यासको परिधिमा रहेर औपन्यासिकता वा गुणवत्ताका बारेमा केही चर्चा गरिनेछ ।

उपन्यास भनेको जीवनका समग्र पक्षको चित्रण गर्ने सामर्थ्य बोकेको साहित्यको एक पछिल्लो र विकसित विधा हो भन्ने कुरा अब भनिरहनै पर्दैन । यसका पनि विविध पक्षहरू छन् । एक जीवनका समग्र पक्षको चित्रण गर्न सक्ने सामर्थ्य भएको भन्दैमा जन्मदेखि मृत्युपर्यन्त एकै उपन्यासमा चाहिन्छ नै भन्ने कुरा होइन क्षमता मात्रको कुरा हो त्यो । यसै उपन्यासको कुरा गर्ने हो भने यो भनाइ मिल्न सक्छ । बालक हरि पछि ह्यारिसको यहाँ चित्रित जीवनलाई नियाल्दा पनि यस भनाइको आशय पुष्टि हुन्छ । आकारगत रूपमा नियाल्दा यो उपन्यास मध्यम आकारको देखिन्छ । डिमाइ साइजमा मुद्रित यो कृति १२७ पृष्ठमा विस्तारित छ । जीवनसङ्ग्राममा पार पाउनु कठिन कुरा हो । अझ टुहुराले त्यस जीवन संग्रामको कठिन भन्दा पनि कठिन यात्रामा उत्रिएर कल्पनै गर्न पनि हम्मे हम्मे हुने काममा समेत सफल भएको एक टुहुरो बालक हरि वा ह्यारिको जीवनको अद्भुत तारतम्य छ यसमा । माओवादले खप्लकै निलेको नेपालको इतिहासको कालखण्डमा घटेको घटनाको रुपमा यस बाल उपन्यासको कथाको तारतम्य मिलाइएको छ ।

माओवादको भयानक त्रासदीमा नेपालको अवस्था कसरी गुज्रियो यो कुरा कि त तिनै भुक्तभोगीलाई थाहा छ कि त त्यस बेलाका आतङ्कबाट आहतहरुलाई नै थाहा छ । यसले नेपालको विकासलाई सय वर्ष पछि पारेको मात्र हैन हजारौँ बालबालिका युवायुवती आमाबाबुहरुलाई जिउँदै खरानी पारेको छ । त्यो जनयुद्ध गरेर नाक घोक्राउने फटाहाहरूलाई त जनताको सम्पत्ति लुटेर मोज गर्दै पुगिरहेको छ अहिलेसम्म पनि । अझ पुस्तौँ पुस्तालाई ती दुष्टहरूले जमा गरेकै छन् । यसै भयानक पीडाको आँखाकै सामु आफ्ना आफन्त र आफ्नो सम्पूर्ण सर्वस्व गुमाएको बालक हरिलाई यस बालउपन्यासले मूल पात्र बनाएर यसैको आरोह अवरोह यसका पीडा र यसको दिनदशा अनि यसको उन्नति र विकासको कथावस्तु हो यो 'खोसिएको बाल्यकाल' उपन्यास ।

भाग्यवश बाँचेको हरिका लागि परम्परागत शब्दमा भन्ने हो भने दैव दाहिना भएका छन् । चरम करुणात्मक अवस्थाबाट उपन्यास सुखद र आशावाद तथा विकासवादमा पुगेर टुङ्गिएको छ । दुःख पाएकोले नै जीवन बुझेको हुन्छ भन्ने कुरा उपन्यासले पुष्टि गरेको छ ।

पात्र, घटना, तारतम्य र संयोगहरूको व्यवस्थित रुपको मिलान आदिलाई स्वाभाविक रूपमा निर्वाह गरेकै छ उपन्यासले । पात्र मात्र बाल हो उपन्यास भने प्रौढ नै छ ।

मिठो र सललल बगेको लयात्मक कलात्मक भाषाको तृतीयपुरुषवाची दृष्टिबिन्दुमा रचित यो उपन्यासले हरिको खोसिएको बाल्यकाललाई चलचित्रवत् देखाएको छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित राम्रो बाहिरी गातामा र आवश्यक स्थानमा चित्रात्मकताले समेत उपन्यासको साजसज्जामा सहयोग गरेको छ । उपन्यासका बाँकी कुरा पढेका अवस्थामा पाठकले स्वयं नै पाउनु हुनेछ ।
झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।