गाउँसम्म चिल्लो कालोपत्रे बाटो त पुग्यो, तर त्यो बाटो भएर घर फर्किने खुसीका पाइलाहरू कता हराए कता ! पेटीका लिउनहरु भत्किएपनि छाना उस्तै छन्, तर भान्साको धुवाँ गुमनाम छ । मान्छेको स्पर्श हराएको आँगनले केवल एक्लोपनको भारी बोकेर कोही आउने सुसेली पर्खिरहेको छ ।
त्यही सुनसान पिँढीमा थचक्क थिइन् – आमा ।
जीर्ण शरीरलाई रोगले गिजोलिरहेको थियो । खल्तीमा महिनाको औषधि किन्ने पैसा थिएन, मन भारी थियो । डाक्टरको पर्चा हेर्दै उनले आधा चक्की मात्र मुखमा हालिन्, आधा चक्की विहानलाई साँचिन् र सासको ढुकढुकी सम्हाल्दै मोबाइलतिर हेरिन् ।
मरुभूमिको रापिलो बालुवा र उकुस–मुकुस कोठाबाट छोरा प्रभातको भिडियो कलको भाइब्रेसन बज्यो ।
प्रभातले पर्दामा अनुहार लुकाउँदै कृत्रिम हाँसो छायो । तातो घामले पोलेर फोका परेको, कामिरहेको आफ्नो हत्केलो क्यामेराको तल लुकाउँदै भन्यो, ‘आमा, यहाँ मलाई कुनै दुःख छैन, म सुखमै छु ।’
आमाले पनि आफ्नो छातीभित्रको पीडा र खोकीको बेगलाई बलपूर्वक दबाउँदै भनिन्,– ‘म पनि सन्चै छु बाबु, तँ आफ्नो ख्याल राख्नु ।’
आमाको घरखेत बाँझो कक्रिरहेको छ, उता विमानस्थलमा युवाहरूले भरिएका प्लेनहरू अनवरत उडिरहेका छन् । नेताहरू मञ्चमा उभिएर युवालाई ‘देशको मेरुदण्ड’ भन्दै चर्का भाषण ठोक्दैथिए । मास्टर साहेब पढाउँदै थिए, ‘तिमीहरू नै देशका कर्णधार हौ !’
विद्यार्थीले सोध्छ,–‘मास्टर साहेब, ! मेरो भविष्य साँच्चै यो नेपालको नक्साभित्रै कैद छ ?’ मास्टर साहेबसँग कुनै उत्तर हुँदैन ।
अस्पतालको इमर्जेन्सी पुग्दा बिरामीले बेड पाउनुअघि नै उपचारको महँगो बिल टेबलमा तेर्सिन्छ ।
महाशय, तपाई भन्नुहुन्छ – अझै क्रान्ति बाँकी नै छ । हामीलाई चाहिएको त कसैसँग नझुक्ने इमान हो ।
साँझ झमक्क पर्दै गर्दा, आमाले बिस्तारै घरको ढोका अझै अलिकति उघारेर बाटोतिर हेरिन् । उनको धमिलिँदै गएको आँखामा एउटै मात्र अटल विश्वास थियो– ‘एक दिन छोरा परदेशवाट अवश्य फर्किनेछ र आधा डोज औषधि पूरा गरिदिनेछ..।’
दमक, झापा