बेलुकीको घाम झ्यालको सिसामा अडिएर बिस्तारै फिक्का हुँदै थियो। अवकाशपछि प्रदीपका दिनहरू पनि विस्तारै एकनासे बन्दै गएका थिए। बिहानको चिया, पत्रिका, केही बेर पढाइ र दिउँसो पुराना कागजपत्र मिलाउने—दिनहरू प्रायः यही क्रमले बित्थे।
त्यो दिन उनी माथिल्लो कोठाको पुरानो दराज मिलाउँदै थिए। सरकारी सेवाका प्रमाणपत्र, नियुक्तिपत्र, केही फाइल र वर्षौँदेखि नछोएका डायरीहरू एकपछि अर्को गर्दै बाहिर निस्किए।
त्यही बेला आस्था कोठामा आइन्।
“बुबा, यी सबै के हो?”
“पुराना कुरा हुन्। मिलाउँदै छु।”
आस्थाले बाक्लो डायरी उठाइन्। गाढा निलो खोलमा धुलो जमेको थियो। उनले डायरीलाई हलुका टकटक्याएर धुलो झारिन् र पाना पल्टाउन थालिन्। केही पानामा मिति थिए, केहीमा छोटा वाक्य। कतै दुई–चार हरफ लेखिएर कुरा अधुरै छोडिएको थियो।
डायरीको बीचतिर पुग्दा एउटा पुरानो फोटो भुइँमा खस्यो।
आस्थाले झुकेर फोटो उठाइन्।
फोटोमा एउटी युवती थिइन्। साधारण पहिरन, ओठमा हल्का मुस्कान र आँखामा क्यामेरातिर हेर्दै गरेको स्थिर उज्यालो। समयले फोटोको रङ केही फिक्का बनाइसकेको थियो, तर ती आँखामा अडिएको भाव भने अझै स्पष्ट थियो।
“बुबा... उहाँ को हो?”
प्रदीपले फोटो हेरे।
केही क्षण उनको नजर फोटोमै अडिरह्यो।
झ्यालबाहिर साँझको हावा चलिरहेको थियो। रूखका पातहरू बिस्तारै हल्लिरहेका थिए। दिनभरि तातेको आँगनमाथि चिसो हावा झर्दै थियो। एउटा सुकेको पात हावाले उडाएर झ्यालको चौकोसमा ल्यायो र केही बेर त्यहीँ अडिएपछि चुपचाप तल खस्यो।
“पुरानो चिनजान हो,” उनले भने।
आस्थाले बाबाको अनुहार हेरिरहिन्।
“चिनजान मात्र?”
प्रदीप मुस्कुराउन खोजे। मुस्कान पूरा भएन।
उनले डायरी बन्द गरे।
तर फोटो आस्थाकै हातमा रहिरह्यो।
अट्ठाइस वर्षअघि प्रदीप सत्ताइस वर्षका थिए। मास्टर्सको पढाइका लागि उनी सहर आएका थिए। घर लामो बाटोमा थियो, त्यसैले पढाइको समय उनी प्रायः क्याम्पसकै वरिपरि बिताउँथे। बिहानको कक्षा, पुस्तकालय र साँझ कोठामा फर्किने क्रम चलिरहन्थ्यो।
त्यही कक्षामा सरिता पढ्थिन्।
सरिता अरूहरूसँग सहजै बोल्थिन्। कक्षामा कुनै विषय उठ्दा उनी आफ्ना कुरा स्पष्टसँग राख्थिन्। प्रदीप भने बोल्नुपर्ने बेला पनि पहिले शब्द खोज्थे, त्यसपछि वाक्य। कतै एउटा शब्द गलत पर्यो भने? कतै उनले आफूलाई गलत बुझिन् भने? यस्तै प्रश्नहरू मनमा उठ्थे।
सरिता कहिलेकाहीँ उनीसँगै बस्न खोज्थिन्।
“आजको नोट छ?”
“छ।”
“मलाई पनि हेर्न दिनुहुन्छ?”
“हुन्छ।”
प्रदीपले कापी अगाडि सार्थे। त्यसपछि उनीहरूबीच फेरि केही बेर चुपचाप हुन्थ्यो।
सरिताले सायद त्यो चुपचापलाई असहज मान्दिनथिन्। बरु कहिलेकाहीँ उनको आँखामा हल्का मुस्कान देखिन्थ्यो। प्रदीप भने त्यही मुस्कानको अर्थ खोज्दै साँझसम्म सोचिरहन्थे।
एक दिन कक्षा सकिएपछि सरिता ढोकानजिकै उभिइन्।
“आज कहाँ जानुहुन्छ?”
प्रदीपले एकछिन उनलाई हेरे। मनमा आएको पहिलो उत्तर—‘तपाईंसँगै हिँड्न पाए हुन्थ्यो’—ओठसम्म आएर रोकियो।
“कोठातिर।”
“म पनि त्यतैतिर जान्छु।”
दुवै सँगै बाहिरिए।
क्याम्पसको बाटोमा साँझ ओर्लिँदै थियो। पश्चिमतिरको आकाशमा घामको अन्तिम उज्यालो बाँकी थियो। रूखका फुस्रा पातहरूमा दिनभरि जमेको धुलो हावासँगै बिस्तारै उडिरहेको थियो। बाटोछेउको घाँसमाथि साँझको चिस्यान बस्न थालेको थियो। उनीहरूका छायाहरू केही बेर एउटै दिशामा लम्बिए, अनि बाटो छुट्टिएसँगै अलग भए।
त्यो दिन उनीहरूले धेरै कुरा गरेका थिएनन्।
तर कोठामा फर्किएपछि प्रदीपलाई लाग्यो—आज केही बदलिएको छ।
त्यसपछि प्रदीप र सरिताबीचको दूरी पहिले जस्तो रहेन। उनीहरू भेट्दा केही बढी बोल्न थाले। कहिलेकाहीँ कक्षापछि केही बेर सँगै हिँड्थे। कुरा पढाइबाट सुरु हुन्थ्यो र बाटोको कुनै सामान्य विषयमा पुगेर टुंगिन्थ्यो। उनीहरू दुवैले आफूभित्र के भइरहेको छ भन्ने स्पष्ट रूपमा भनेका थिएनन्। तर केही कुरा नबोली पनि बुझिन थालेको थियो।
एक बिहान घरबाट खबर आयो—प्रदीपका बाबाको स्वास्थ्य अचानक बिग्रिएको थियो।
फोन राखेपछि उनी केही बेर कक्षाकोठाको झ्यालतिर हेरिरहे। बाहिर विद्यार्थीहरू आफ्नै हतारमा हिँडिरहेका थिए। तर उनलाई वरिपरिको कुनै आवाजले छोएन।
सरिता नजिक आइन्।
“के भयो?”
“बाबा बिरामी हुनुहुन्छ। घर जानुपर्छ।”
सरिताको अनुहार एकाएक गम्भीर भयो।
“कहिले फर्किनुहुन्छ?”
प्रदीपसँग त्यसको उत्तर थिएन।
त्यस साँझ उनी बसपार्क पुगे। झोलाभित्र केही कपडा र किताब थिए। मनभित्र भने एउटा अधुरो कुरा थियो, जसलाई उनले बाटो लाग्नुअघि पनि शब्द दिन सकेनन्।
बस छुट्यो।
सहरका बत्तीहरू पछाडि सर्दै गए। झ्यालबाहिर अँध्यारो फैलिँदै थियो। कतैकतै घरका उज्याला झ्यालहरू देखिन्थे र फेरि हराउँथे। प्रदीपले टाउको सिसामा अड्याए। सरिताको मुस्कान सम्झिए। उनले अन्तिमपटक फर्केर केही भन्न सक्ने सम्भावना सम्झिए। तर त्यो सम्भावना पनि अँध्यारो सडकजस्तै पछाडि छुट्दै गयो।
घरमा बाबाको अवस्था गम्भीर थियो। उपचार, आफन्त र अस्पतालका दिनहरूबीच क्याम्पस र सरितासँगको सम्पर्क बिस्तारै टाढिँदै गयो।
केही महिनापछि प्रदीप सहर फर्किए।
क्याम्पसको उही बाटो थियो। उही भवन, उही कक्षाकोठा।
तर सरिता थिइनन्।
साथीसँग सोध्दा सहजै उत्तर आयो—
“सरिताको त विवाह भइसक्यो।”
प्रदीप केही बोलेनन्।
उनले खाली बेन्चतिर हेरे।
त्यहाँ धुलोको पातलो तह जमेको थियो।
◌ ◌
अर्को बिहान आस्थाले त्यो फोटो फेरि निकालिन्। रातभरि उनलाई एउटै कुरा सम्झनामा आइरह्यो—बाबाले फोटो देख्दा किन केही क्षण बोल्न सकेका थिएनन्?
आस्थाले डायरी फेरि खोलिन्। अघिल्लो साँझ बन्द गरेको पानाबाट अगाडि बढ्दै उनी बिस्तारै पढ्न थालिन्। धेरैजसो कुरा सामान्य थिए—क्याम्पसका दिन, पढाइ, घर जाने योजना, खर्चको हिसाब। तर केही ठाउँमा वाक्य अचानक छोटिएका थिए। कुनै कुरा लेख्न खोजेर रोकिएजस्तो।
उनले बाबालाई केही सोधिनन्।
बरु फोन उठाइन्।
फोटो पुरानो थियो। अनुहार पनि त्यति स्पष्ट थिएन। तर अहिलेको प्रविधिका लागि त्यो पर्याप्त थियो। उनले नाम, पुरानो क्याम्पस र सम्भावित ठाउँका आधारमा खोज्न थालिन्।
बाहिर बिहानको उज्यालो आँगनभरि फैलिँदै थियो। रातको चिस्यानले भिजेका पातहरूमा घामका साना टुक्रा चम्किरहेका थिए। एउटा परेवा झ्यालको डिलमा आएर केही बेर रोकियो। उसको पछाडि दुईवटा बच्चा पखेटा फरफराउँदै थिए। आस्थाले केही क्षण उनीहरूलाई हेरिन् र फेरि मोबाइलको स्क्रिनतिर फर्किइन्।
पहिलो खोजीमा केही भेटिएन।
दोस्रोमा पनि उस्तै।
तेस्रोपटक एउटा पुरानो सामाजिक सञ्जालको तस्बिर उनको आँखामा अडियो।
अनुहार बदलिएको थियो।
कपालमा उमेरको रङ मिसिएको थियो।
तर आँखाको त्यो भाव...
आस्थाको औँला स्क्रिनमै रोकियो।
उनले फेरि बाबाको डायरीतिर हेरिन्।
त्यसपछि स्क्रिनतिर।
“यही हुनुपर्छ,” उनले बिस्तारै भनिन्।
उनीसँग अब एउटा नाम थियो।
सरिता।
आस्थाले खोजी कार्य जारी नै राखिरहिन्।
सरिता अहिले त्यही सहरमा थिइनन्। केही वर्षअघि श्रीमान्को निधन भएपछि उनी छोरासँग बस्दै आएकी रहिछन्। आस्थाले भेट्टाएका तस्बिरहरूमा सरिताको अनुहार बदलिएको थियो। कपालमा सेतोपन देखिन्थ्यो, तर आँखाको भावमा उनले बाबाको डायरीमा सुरक्षित रहेको पुरानो फोटोसँग कुनै न कुनै सम्बन्ध भेट्टाइरहिन्।
आस्थाले मोबाइल बन्द गरिन्।
केही बेर उनी त्यहीँ बसिरहिन्। बाबाको जीवनको एउटा यस्तो पाना उनले पढिरहेकी थिइन्, जसको बारेमा घरमा कहिल्यै कुरा भएको थिएन।
साँझ सविता कोठामा आइन्।
“के हेर्दै छौ?”
आस्थाले मोबाइल आमातिर बढाइन्।
“उहाँलाई भेट्टाएँ।”
सविताले स्क्रिन हेरिन्। फोटोमा उमेरले बदलिएको एउटी महिला थिइन्। उनले केही क्षण फोटोमै नजर राखिन्।
“यिनै हुन्?”
“बुबाको डायरीमा भएको फोटोकी महिला।”
सविताले मोबाइल फिर्ता गरिन्। अनुहारमा कुनै कठोरता आएन, तर मनभित्र एउटा सानो तरंग उठ्यो। विवाह भएको यति धेरै वर्षपछि पहिलोपटक उनले श्रीमान्को जीवनको आफूभन्दा अघिको एउटा अध्यायलाई यति नजिकबाट देखेकी थिइन्।
“बुबाले कहिल्यै भन्नुभएको थियो?” उनले सोधिन्।
“कहिल्यै केही भन्नुभएन।”
सविता केही बेर चुप रहिन्।
उनलाई लाग्यो, मानिसको जीवनमा केही कुरा यस्ता पनि हुँदारहेछन्, जुन विवाहपछि पनि मेटिँदैनन्। मेटिनु र सम्झनामा रहनु एउटै कुरा होइन भन्ने कुरा उनले त्यही क्षण आफूभित्र महसुस गरिन्।
आस्थाले आमाको अनुहार हेरिन्।
“आमा, बुबालाई एकपटक उहाँसँग भेटाउनुपर्छ कि?”
सविताले तुरुन्तै उत्तर दिइनन्।
“भेट्नु र फेरि पुरानो कुरा सुरु गर्नु एउटै होइन,” उनले बिस्तारै भनिन्।
सविताले मोबाइल फेरि एकपटक हेरिन्। फोटोमा देखिएकी महिलाको अनुहारमा उनले आफ्नोभन्दा फरक कुनै कुरा खोजिनन्। उमेरले अनुहारमा कोरेका रेखाहरू, आँखाको थकान र ओठको हल्का मुस्कान—यी सबै आफ्नै जीवनसँग अपरिचित थिएनन्।
केवल एउटा कुरा फरक थियो। यो महिलाको जीवनमा उनका श्रीमान्सँग जोडिएको कुनै पुरानो समय थियो।
सविताले केही बेर झ्यालतिर हेरिरहिन्।
“आमा, तपाईंलाई नराम्रो लाग्यो?”
आस्थाको प्रश्नले उनी झसङ्ग भइन्।
“नराम्रो किन लाग्नु?”
“बुबाको पुरानो कुरा भएकाले।”
सविताले हल्का मुस्कुराइन्।
“विवाहअघि उहाँको जीवनमा कोही हुनु र विवाहपछि उहाँले मलाई दिएको माया र सम्मानले यो कुरालाई ओझेलमा पारिसकेको छ। उहाँको त्यो जीवन र यो जीवन फरक कुरा हुन्, आस्था।”
आस्था चुप लागिन्।
◌◌◌
बाहिर साँझ झर्दै थियो। आँगनको कुनामा रहेको चमेलीको बोटमा केही फूल अझै फुलेका थिए। दिनको उज्यालो घट्दै जाँदा तिनको सेतोपन झन् स्पष्ट देखिन्थ्यो। हावाको हल्का स्पर्शसँगै केही फूलका पातहरू हल्लिए, एउटा फूल चुपचाप भुइँमा खस्यो। सविताको नजर त्यतै गयो। उनलाई लाग्यो—केही कुरा झरेर पनि मानिसको जीवनबाट हराउँदा रहेनछन्, केवल आफ्नो ठाउँ बदल्दा रहेछन्।
आस्थाले बिस्तारै भनिन्, “बुबालाई उहाँसँग एकपटक भेट्न लगौँ?”
सविताले केही क्षण उत्तर दिइनन्।
“तिम्रो बुबाले चाहनुभएको छ कि छैन, त्यो पहिले बुझ्नुपर्छ।”
त्यही साँझ प्रदीप बैठकको कुर्सीमा बसेर पुरानो पत्रिका पल्टाइरहेका थिए। आस्थाले केही बेर बाबालाई हेरिन्, अनि फोटोको कुरा निकालिन्।
“बुबा, सरितालाई मैले भेट्टाएँ।”
प्रदीपको औँला पत्रिकाको पानामै रोकियो।
“तिमीले किन खोज्यौ?”
“तपाईंको पुरानो कुरा भएकाले।”
प्रदीपले पत्रिका बन्द गरे।
आस्थाले केही बेर उनलाई हेरिन्।
“एकपटक भेट्न जाँदा के हुन्छ?”
प्रदीपले टाउको उठाए। केही भन्न खोजे, तर शब्द आएनन्। केही क्षणपछि शब्दहरू फुटे।
“अब त्यसको आवश्यकता छैन,” प्रदीपले बिस्तारै भने।
आस्था केही बेर बाबालाई हेरिरहिन्। उनलाई थाहा थियो, त्यो उत्तर सरितालाई नभेट्ने निर्णय मात्र थिएन। त्यसको पछाडि धेरै वर्षदेखि नखोलिएको एउटा डर थियो।
“किन, बुबा?”
प्रदीपले तुरुन्तै उत्तर दिएनन्। उनले टेबलमा राखिएको पुरानो डायरीतिर हेरे। गाढा निलो खोलभित्र एउटा समय बन्द थियो, जुन उनले कहिल्यै कसैसँग खोलेर कुरा गरेका थिएनन्।
“केही भेटहरू ढिलो हुन्छन्, आस्था,” उनले भने। “ढिलो भएको भेटले पुरानो कुरा फर्काउँछ भन्ने हुँदैन।”
सविता नजिकै बसेर उनीहरूको कुरा सुनिरहेकी थिइन्। उनले प्रदीपतिर हेरिन्।
“तर भेट्दैमा पुरानो कुरा फर्किन्छ भन्ने पनि त छैन।”
प्रदीपले श्रीमतीतिर हेरे। सविताको अनुहारमा न प्रश्न थियो, न आरोप। केवल एउटा शान्त स्वीकार थियो।
“तिमीलाई नराम्रो लाग्दैन?”
“किन लाग्नु?”
“मेरो विगतको मान्छेसँग भेट्न जाँदा।”
सविता केही बेर चुप रहिन्।
“तपाईंको विगत तपाईंको हो, प्रदीप। त्यसलाई मेटेर मात्र हाम्रो वर्तमान सुरक्षित हुन्छ भन्ने मलाई लाग्दैन।”
प्रदीपले नजर झुकाए।
आस्थाले बिस्तारै भनिन्, “बुबा, म तपाईंलाई उहाँसँग फेरि केही सुरु गराउन खोजेकी होइन। तपाईंको जीवनको एउटा अधुरो पाना तपाईं आफैँले एकपटक हेर्न सक्नुहोस् भन्ने मात्र हो।”
बाहिर आकाशमा बादल पातलिँदै थियो। साँझको उज्यालो झ्यालबाट भित्र पस्दै टेबलमाथिको डायरीमा परेको थियो। वर्षौँदेखि बन्द रहेको त्यो किताबको निलो खोलमा उज्यालोको एउटा सानो टुक्रा अडिएको थियो।
प्रदीपले डायरीमाथि हात राखे।
“मलाई डर लागेको रहेछ,” उनले पहिलोपटक स्वीकारे।
आस्थाले केही भनिनन्।
“सरितालाई भेटेर के भन्ने भन्ने डर होइन,” प्रदीपले बिस्तारै भने, “आफूले यति वर्षसम्म नबोलेको कुरा आफ्नै आँखाअगाडि फेरि उभिएला भन्ने डर।”
सविताले उनको हातमाथि आफ्नो हात राखिन्।
“त्यसलाई एकपटक उभिन दिनुहोस्,” उनले भनिन्। “सायद त्यसपछि मात्रै तपाईं त्यसलाई बिदा गर्न सक्नुहुन्छ।”
प्रदीपले श्रीमती र छोरीतिर हेरे।
यसपटक उनले केही भनेनन्।
तर उनको नजरमा पहिलोपटक अस्वीकारभन्दा फरक केही देखिन्थ्यो।
तीन दिनपछि प्रदीप, सविता र आस्था सरिताको घर पुगे। बाटोभरि प्रदीप धेरै बोलेनन्। आस्थाले पनि बाबालाई अनावश्यक प्रश्न गरिनन्। सविता भने बीच–बीचमा सामान्य कुरा गर्दै वातावरणलाई सहज बनाइरहेकी थिइन्।
ढोका सरिताले नै खोलिन्।
प्रदीपलाई देखेर उनी केही क्षण रोकिइन्। त्यसपछि सविता र आस्थातिर हेरिन्।
“आउनुस्,” उनले मुस्कुराउँदै भनिन्।
घरभित्र सबै बसेपछि केही बेर सामान्य कुराकानी भयो। सौरभ पनि त्यहीँ आएर आमाको छेउमा बसे। सरिताले उनको परिचय गराइन्।
“उहाँ प्रदीप। उहाँ सविता। अनि उहाँ आस्था।”
सौरभले सबैलाई नमस्कार गरे।
“म सौरभ।”
प्रदीपले उनलाई हेरे। अनुहारमा अपरिचितपन थियो, तर आँखाको गहिराइमा सरिताको केही अंश देखेजस्तो लाग्यो।
कुरा गर्दै जाँदा पुरानो समय आफैँ खुल्न थाल्यो।
“हामी एउटै कक्षामा पढ्थ्यौँ,” प्रदीपले भने।
सरिता मुस्कुराइन्।
“कक्षामा एउटै बेन्चमा होइन,” उनले थपिन्, “तर उहाँ सधैँ मबाट अलि टाढै बस्नुहुन्थ्यो।”
आस्थाले बाबातिर हेरिन्।
“किन?”
प्रदीप हाँसे।
“बोल्न डर लाग्थ्यो।”
सविता पनि मुस्कुराइन्।
“तपाईंलाई?”
“हो। एउटा शब्द तलमाथि भयो भने उहाँले के सोच्नुहोला भन्ने डर लाग्थ्यो।”
सरिताले पहिलोपटक खुलेर हाँसिन्।
“तर मलाई उहाँले घमण्ड गर्नुभएको जस्तो लाग्थ्यो।”
कोठामा हल्का हाँसो फैलियो।
त्यसपछि सरिताको स्वर विस्तारै गम्भीर भयो।
“हामीबीच केही सुरु हुँदै थियो। तर त्यसलाई नाम दिने समय नै आएन।”
प्रदीपले टाउको हल्लाए।
“बाबा साह्रै बिरामी हुनुभयो। म घर फर्किनुपर्यो।”
“उहाँ फर्केर आउँदा,” सरिताले भनिन्, “मेरो विवाह भइसकेको थियो।”
केही क्षण कोठामा चुप्पी छायो।
सविताले सरितातिर हेरिन्। उनको आँखामा कुनै प्रश्न थिएन।
सरिताले पनि सवितातिर हेरेर भनिन्, “त्यो समय कठिन थियो। तर जीवन त्यहीँ रोकिएन।”
प्रदीपले बिस्तारै भने, “मलाई भने स्वीकार गर्न समय लाग्यो।”
सविताले प्रदीपको हाततिर हेरेर भनिन्, “सायद त्यसैले तपाईंले त्यो फोटो यति वर्ष जोगाएर राख्नुभयो।”
प्रदीपले केही उत्तर दिएनन्।
सरिताले हल्का मुस्कुराउँदै भनिन्, “फोटो जोगाउनु र सम्बन्ध जोगाइराख्नु एउटै कुरा होइन।”
प्रदीपले उनको अनुहारतिर हेरे।
“आज आएर त्यो कुरा बुझ्दै छु।”
बाहिर साँझ पर्न थालेको थियो। आँगनमा परेको घाम विस्तारै सरिरहेको थियो। रूखका हाँगाबीचबाट छिरेको उज्यालो भुइँमा टुक्राटुक्रा परेको थियो। हावाले ती पातहरू हल्लाउँदा उज्यालो पनि सँगसँगै सर्दै थियो। बितेको समयजस्तै—समात्न खोज्दा हातमा नआउने, तर आफ्नो छाया भने छोडिरहने।
सौरभले पहिलोपटक बोल्दै भने, “आमा, तपाईंले उहाँलाई कहिल्यै नराम्रो सम्झनुभएन?”
सरिता केही क्षण छोरातिर हेरिन्।
“नराम्रो सम्झनुपर्ने कारण नै थिएन। केही सम्बन्ध पूरा नभए पनि खराब हुँदैनन्।”
प्रदीपले त्यो कुरा सुनेर टाउको झुकाए।
त्यो दिन उनीहरूबीच पुरानो प्रेम फर्किएन।
बरु धेरै वर्षदेखि मनमा अड्किएको एउटा अधुरो कुरा पहिलोपटक सबैको अगाडि आफ्नो ठाउँमा बसेको थियो।
त्यो भेटपछि प्रदीपको मन केही हलुका भएको थियो। घर फर्किएपछि पनि सरितासँग भएका कुराहरू उनको सम्झनामा आइरहे। अट्ठाइस वर्षअघि भन्न नसकेको कुरा आज आएर भन्न सक्नु नै सायद त्यस भेटको सबैभन्दा ठूलो अर्थ थियो।
राति खाना खाइसकेपछि आस्था बाबाको छेउमा आएर बसिन्।
“बुबा, आज तपाईंलाई कस्तो लाग्यो?”
प्रदीपले केही बेर सोचेर भने, “जस्तो लागेको थियो, त्यस्तो भएन।”
“कस्तो होला भन्ने लागेको थियो?”
“पुरानो समय फेरि अगाडि आएर उभिएला जस्तो लागेको थियो। तर त्यहाँ पुग्दा थाहा भयो—समयले हामीलाई धेरै टाढा ल्याइसकेको रहेछ।”
सविता पनि त्यहीँ आइन्।
“तर त्यो समय हराएको रहेनछ,” उनले भनिन्।
प्रदीपले श्रीमतीतिर हेरे।
“हो। त्यो क्षण सम्मानका साथ दुवैको सम्झनामा रहेछ। तर हरेक सम्झनालाई वर्तमान बनाइराख्नुपर्छ भन्ने रहेनछ।”
आस्था चुपचाप सुनिरहिन्।
केही बेरपछि उनले भनिन्, “बुबा, म तपाईंलाई एउटा कुरा भन्न चाहन्छु। मेरो जीवनको निर्णय तपाईंहरूले गरिदिनु पर्दैन।”
प्रदीपले छोरीतिर हेरे।
“हामीले कहिल्यै गरिदिन खोजेका छैनौँ।”
सविताले मुस्कुराउँदै थपिन्, “तिमीले आफ्नो जीवनमा कसलाई रोज्ने भन्ने कुरा तिमीले नै तय गर्ने हो। हामीले त तिमीलाई खुसी देख्न चाहेको मात्र हो।”
आस्थाले सरिताको घरमा भएको भेट सम्झिइन्। सौरभको सरल व्यवहार, आमाप्रतिको सम्मान र कुराकानी गर्ने उसको ढङ्ग उनको मनमा आइरह्यो। कहिले त्यो सम्झना मनमा छाइरह्यो, कहिले सताइरह्यो, कहिले भने मनभित्रको कुनै कठोरता पगालीरह्यो।
एक दिन आस्था आमाको छेउमा गएर बसिन्।
“आमा,” उनले बिस्तारै भनिन्, “सरिता जस्ती सासु पाउनु त मेरो भाग्यकै कुरा होला। उहाँलाई सम्धिनीका रूपमा पाउनु तपाईंका लागि पनि सम्बन्ध मात्र होइन, एउटा असल साथी पाउनुजस्तै हुनेछ।”
सविताले छोरीको अनुहार हेरिन्।
“त्यो निर्णय पनि तिम्रै हुनुपर्छ।”
उता सरिताले पनि सौरभसँग त्यही कुरा गरिरहेकी थिइन्।
“तिमीले कुनै निर्णय गर्न हतार गर्नु पर्दैन,” उनले भनिन्। “तिम्रो जीवन हो। तिमीले सोचेर निर्णय गर्नुपर्छ।”
सौरभले आमातिर हेरे।
“तपाईंलाई ठीक लाग्छ?”
“मलाई ठीक लाग्नु र तिमीलाई ठीक लाग्नु फरक कुरा हो।”
सौरभ मुस्कुराए।
“त्यसो भए मलाई केही समय दिनुस्।”
“जति चाहिन्छ, लिन सक्छौ।”
दुवै घरमा त्यस रात कुनै निर्णय भएन।
केही दिनपछि परीक्षा सुरु भयो। पढाइका बीच आस्था र सौरभबीच कहिलेकाहीँ ह्वाट्सएपमा छोटा कुराकानी हुन थाले। उनीहरूले प्रेमका ठूला शब्द लेखेनन्। आफ्नो भविष्यबारे कुरा गरे। एकअर्काको विचार बुझे। अनि परीक्षा सकिएपछि निर्णय गर्ने सहमति गरे।
परीक्षाको अन्तिम दिन साँझ आस्थाको मोबाइलमा सौरभको भिडियो कल आयो।
आस्थाले केही क्षण स्क्रिन हेरिरहिन्। त्यसपछि कल उठाइन्।
स्क्रिनको अर्को छेउमा सौरभ मुस्कुराइरहेका थिए।
“परीक्षा सकियो?”
“सकियो।”
केही क्षण दुवै चुप रहे।
“अब कुरा गर्न सक्छौँ?” सौरभले सोधे।
आस्थाको अनुहारमा हल्का मुस्कान आयो।
“सक्छौँ।”
“तपाईंको निर्णय?”
आस्थाले केही क्षण उनलाई हेरिरहिन्।
“मेरो निर्णय स्पष्ट छ।”
सौरभ मुस्कुराए।
“मेरो पनि।”
कल त्यहीँ समाप्त भयो।
आस्थाले मोबाइल बिस्तारै टेबलमा राखिन्।
त्यही बेला झ्यालबाहिर हेर्दा केही क्षणअघिसम्म धमिलो देखिएको आकाशले अँध्यारोमा लुकाउन खोजेजस्तो आँगन बादल फाटेसँगै एकाएक खुल्यो। सूर्यका किरणहरू बादलको छेउबाट छरिएर पृथ्वीमा झरे। सूर्यको किरण पर्ना साथ आँगन अचानक उज्यालियो।
टेबलमाथि प्रदीपको पुरानो डायरी खुला थियो। त्यसको बीचमा राखिएको फिक्का फोटोमाथि सूर्यको एउटा किरण परेको थियो।
प्रदीपले फोटो उठाएनन्।
केवल डायरी बिस्तारै बन्द गरे।
अनि छोरीतिर हेरेर मुस्कुराए।
पुरानो भेटले कुनै पुरानो सम्बन्ध फर्काएन।
त्यो भेटले त एउटा नयाँ सम्बन्धका लागि बाटो खोलिदियो।