१. विषयप्रवेश
भाषा परिवर्तनशील वस्तु हो। यो कहिल्यै एकनाश र एकरूप रहँदैन। समयको अन्तराल, स्थानगत भिन्नता, सामाजिक तथा सांस्कृतिक परिवर्तन र भाषिक सम्पर्कजस्ता विविध कारणले भाषा निरन्तर परिवर्तन भइरहेको हुन्छ। भाषाका वर्णव्यवस्था, उच्चारणविधान, व्याकरणिक संरचना, शब्दभण्डार तथा वर्तनी आदिमा पनि समयअनुसार परिवर्तन हुँदै जान्छ। त्यसैले भाषा कहिल्यै पूर्णतः स्थिर रहँदैन।
नेपाली भाषा पनि यसै परिवर्तनशील प्रक्रियाबाट गुज्रिरहेको छ। यसका वर्ण, शब्द, व्याकरण र वर्तनीसम्बन्धी कतिपय व्यवस्था अझै पूर्ण रूपमा स्थिरीकृत भइसकेका छैनन्। यस विषयमा समय–समयमा छलफल, परिचर्चा, गोष्ठी तथा कार्यशाला हुँदै आएका छन्। वास्तवमा भाषाका सम्बन्धमा भइरहने यस्ता विमर्श, मतभेद र वादविवाद नै भाषाको जीवन्तता र गतिशीलताका सङ्केत हुन्। भाषामाथि प्रश्न उठ्नु, त्यसको स्वरूप र प्रयोगबारे बहस हुनु र नयाँ सम्भावनाको खोजी गरिनु स्वाभाविक भाषिक प्रक्रिया हो।
२. भारतमा आयोजित भाषागोष्ठीहरू
नेपालमा जस्तै भारतमा पनि नेपाली भाषाका वर्ण, वर्तनी र लेखनशैलीसम्बन्धी विषयमा विभिन्न समयमा सङ्गोष्ठी, कार्यशाला तथा परिचर्चाहरू आयोजना भएका छन्। यस्ता कार्यक्रममा भाषाविज्ञ, साहित्यकार, अध्येता तथा भाषासेवीहरूलाई सहभागी गराई नेपाली भाषाको मानक स्वरूप, वर्णप्रयोग र लेखनशैलीका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरिएका छन्। यस्ता केही प्रमुख कार्यक्रमहरूको अध्ययन गर्दा मूलतः दुईवटा धारणा स्पष्ट रूपमा देखिन्छन्। एउटा पक्षले नेपाली भाषामा परम्परादेखि प्रयोग हुँदै आएका वर्णहरूलाई यथावत् संरक्षण र प्रयोग गर्नुपर्छ भन्ने मत राखेको पाइन्छ भने अर्को पक्षले भाषावैज्ञानिक आधारमा केही वर्णको प्रयोग सीमित वा हटाइनुपर्ने तर्क अघि सारेको देखिन्छ।
२.१ नेपाली लेखनशैलीसम्बन्धी परिचर्चा, गान्तोक
भारतीय भाषा संस्थान, मैसूरले विभिन्न भारतीय भाषाका लागि लेखनशैली अथवा स्टाइल म्यानुअल तयार गर्ने शृङ्खला सुरु गरेको थियो। त्यसै क्रममा नेपाली भाषाका लागि सिक्किम अकादमीसँगको संयुक्त तत्त्वावधानमा गान्तोकमा नेपाली लेखनशैलीसम्बन्धी चारदिने कार्यक्रम आयोजना गरिएको थियो। यसमा आधुनिक शिकागो म्यानुअल अफ स्टाइल को अनुरूप नेपाली लेखनशैली, शोधलेखन विधि, वर्णविन्यास, व्याकरणिक प्रयोग तथा प्रभावकारी लेखनका विविध पक्षमा छलफल गरिएको थियो।
यसै प्रक्रियाको परिणामस्वरूप नेपाली लेखन शैली (२०११) नामक पुस्तक प्रकाशित भएको छ। पुस्तकमा वर्णविन्यास, व्याकरण, प्रभावकारी लेखन तथा शोधलेखनका नियम आदिबारे आवश्यक दिशा–निर्देशन प्रस्तुत गरिएको छ। तर उक्त पुस्तक प्रकाशित भएपछि नेपाली भाषाको वर्ण र व्याकरणसम्बन्धी केही प्रस्तावनालाई लिएर विवाद पनि उत्पन्न भयो। दार्जिलिङका शिवराज शर्माले त्यसमा प्रस्तावित कतिपय बुँदाको खण्डन गर्दै भाषावैज्ञानिक परिचय– नेपाली वर्णमालाका वर्णहरू र मेरा अन्य लेख (२००९) प्रकाशित गरेका छन्। उक्त पुस्तकमा नेपाली वर्णमालाबाट तलथोप्ली ड़, ढ़ हटाउने प्रस्ताव, नपुंसक लिङ्गलाई छुट्टै लिङ्गका रूपमा नराखी स्त्रीलिङ्गेतरभित्र समेट्ने व्यवस्था, सात कारकको निर्धारण, संयुक्त क्रियाको पदयोगलगायत विषयमा आलोचनात्मक चर्चा गरिएको छ।
२.२ कालेबुङ प्रस्तावना
नेपाली भाषाको नयाँ वर्णव्यवस्था र वर्तनीलाई प्रयोगमा ल्याउने उद्देश्यले उपमा प्रकाशन, कालिम्पोङ र कालिम्पोङ विज्ञान केन्द्रको संयुक्त पहलमा २१ अगस्ट २०१६ मा नेपाली वर्णविन्यास : प्रस्तावना र प्रयोग नामक कार्यक्रम आयोजना गरिएको थियो। नेपाली लेखनमा यसअघि प्रस्तुत हुँदै आएका विभिन्न प्रस्तावनाको वैज्ञानिकतामाथि छलफल गरी एउटा मानक रूपको स्थापना र प्रयोग गर्ने उद्देश्य उक्त कार्यक्रमको रहेको थियो।
प्रा. घनश्याम नेपालको नेतृत्वमा सम्पन्न उक्त सङ्गोष्ठीबाट विभिन्न भाषिक प्रस्तावना अघि सारिएका थिए। यसको मुख्य उद्देश्य नयाँ वर्तनीअनुरूप तलथोप्ली ड़, ढ़ लाई नेपाली वर्णमालाबाट हटाउने तथा क्ष, त्र, ज्ञ र तत्सम शब्दबाहेक अन्य शब्दमा पञ्चम वर्ण ञ, ण को प्रयोग नगर्ने, पदादि र पदमध्यमा प्रयोग भएका कतिपय दीर्घ स्वरलाई ह्रस्वमा रूपान्तरण गर्नेजस्ता प्रस्ताव अघि सार्नु थियो।
उक्त कार्यक्रममा ञ, ण, श, ष, ऋ, ड़, ढ़, क्ष, त्र, ज्ञ जस्ता वर्ण नेपाली भाषाका मौलिक वर्ण होइनन् भन्ने धारणा पनि प्रस्तुत गरिएको थियो। यस सङ्गोष्ठीका प्रस्ताव र आधारलाई पछि कालेबुङ प्रस्तावना र यसका आधारहरू (२०१७) मा प्रकाशित गरिएको छ।
यस प्रस्तावनाले कतिपय भाषिक प्रयोगलाई सरल र सहज बनाउने उद्देश्य राखेको देखिन्छ। तथापि यसमा परम्परागत नेपाली वर्णमालाको संरचनामै परिवर्तन गर्ने प्रयास गरिएको देखिन्छ। तत्सम शब्दमा आवश्यक पर्ने वर्णहरूको प्रयोगलाई समेत विचार गर्दा भारतमा लामो समयदेखि अध्ययन–अध्यापन हुँदै आएको नेपाली वर्णमालालाई एकैपटक परिवर्तन गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। यसरी नेपालीका लागि दुई प्रकारका वर्णमाला निर्माण गर्ने सम्भावना उत्पन्न हुनु भाषाको एकरूपता र मानकीकरणका दृष्टिले पनि विचारणीय विषय हो।
२.३ भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण, २९–३० अप्रिल २०१७
नेपाली साहित्य सम्मेलन, दार्जिलिङ र साहित्य अकादेमी, नयाँ दिल्लीको संयुक्त आयोजनामा २९–३० अप्रिल २०१७ मा भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण विषयक दुईदिने सङ्गोष्ठी आयोजना भएको थियो। यसमा दार्जिलिङ, सिक्किम, आसामलगायत विभिन्न क्षेत्रका नेपाली साहित्यकार तथा भाषासम्बद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
यस सङ्गोष्ठीमा जम्मा आठवटा कार्यपत्र प्रस्तुत भएका थिए। केही कार्यपत्रमा विशेषतः तलथोप्ली ड़, ढ़ को प्रयोगलाई निरन्तरता दिनुपर्ने विषयमा जोड दिइएको थियो। कार्यक्रमका अध्यक्षले पनि कालेबुङ प्रस्तावना का कतिपय धारणाको आलोचना गर्दै नेपाली वर्णमालालाई परम्परागत स्वरूपमै कायम राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। ड़, ढ़, क्ष, त्र, ज्ञ लगायत वर्णलाई यथास्थानमा राखी यथोचित प्रयोग गर्नुपर्ने तथा पञ्चम वर्णको प्रयोग पनि आवश्यकताअनुसार निरन्तर राख्नुपर्ने विचार प्रस्तुत गरिएको थियो।
यस सन्दर्भमा डा. गोकुल सिन्हा, असीत राई, मिलन बान्तवा तथा डा. खेमराज नेपालका सङ्गोष्ठीपत्रहरू तर्कपूर्ण देखिन्छन्। ती लेखहरूमा तलथोप्ली ड़, ढ़ लगायत परम्परागत वर्णहरूलाई यथावत् राख्नुपर्ने पक्षमा विचार प्रस्तुत गरिएको छ।
यस सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्र तथा अन्य सम्बन्धित लेखहरूलाई सङ्कलन गरी नेपाली साहित्य सम्मेलन, दार्जिलिङले भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण नामक पुस्तक सन् २०२२ मा प्रकाशित गरेको छ। नेपाली भाषाको वर्ण तथा वर्तनीसम्बन्धी बहसलाई बुझ्न यो पुस्तक उपयोगी र महत्त्वपूर्ण सामग्रीका रूपमा लिन सकिन्छ।
२.४ नेपाली लेखनशैलीको दोस्रो संस्करणका निम्ति बसेको कार्यशाला, २०२१
६ देखि ८ डिसेम्बर २०२१ मा सिलगढीस्थित देवकोटा सङ्घमा पूर्वोत्तर क्षेत्रीय भाषा केन्द्र, गुवाहाटी र सिलगढी देवकोटा सङ्घको संयुक्त आयोजनामा नेसनल वर्कसप अन रिभिजन अफ नेपाली स्टाइल म्यानुअल नामक कार्यशाला सम्पन्न भएको थियो। डा. खगेन शर्माको संयोजकत्वमा सम्पन्न उक्त कार्यशालाले यसअघि तयार भएको नेपाली लेखन शैली लाई आधार बनाउँदै नेपाली लेखनशैलीका विभिन्न पक्षमा पुनर्विचार गरेको थियो।
कार्यशालामा नेपाली भाषाका ड़, ढ़, क्ष, त्र, ज्ञ लगायत वर्णलाई वैकल्पिक रूपमा प्रयोग गर्न सकिने धारणा पनि अघि सारिएको थियो। अघिल्लो नेपाली लेखन शैली का व्याकरणिक पक्षका साथै केही नयाँ विषयमा समेत छलफल गरिएको थियो। यस दृष्टिले उक्त कार्यशालाले नेपाली वर्ण र वर्तनीसम्बन्धी विवादमा एउटा मध्यमार्ग अपनाउने प्रयास गरेको देखिन्छ।
यीबाहेक अन्य स्थानमा पनि नेपाली भाषा र लेखनशैलीसम्बन्धी स्थानीय तथा आन्तरिक तहका विभिन्न गोष्ठी, परिचर्चा र कार्यशाला सम्पन्न भएका छन्। तिनको विस्तृत चर्चा यहाँ गरिएको छैन।
माथि उल्लिखित सङ्गोष्ठी तथा कार्यशालाहरूको अध्ययन गर्दा नेपाली भाषासम्बन्धी वर्तमान विवादलाई मूलतः दुईवटा तहमा हेर्न सकिन्छ—वर्णप्रयोगसम्बन्धी विवाद र वर्तनीप्रयोगसम्बन्धी विवाद।
वर्णप्रयोगका सन्दर्भमा एउटा पक्षले परम्परादेखि प्रयोगमा रहेका तलथोप्ली ड़, ढ़, क्ष, त्र, ज्ञ लगायत वर्णलाई यथावत् संरक्षण गर्नुपर्ने र तिनको उचित प्रयोग गर्नुपर्ने तर्क प्रस्तुत गर्दछ। अर्को पक्षले भने ड़, ढ़, क्ष, त्र, ज्ञ जस्ता वर्ण नेपाली भाषाको मौलिक वर्णमालाका आवश्यक अङ्ग नभएको, कतिपय संयुक्त वा परिवर्तित वर्णका रूपमा रहेका कारण तिनको प्रयोग हटाउन वा सीमित गर्नुपर्ने तर्क अघि सार्छ। त्यसैगरी पञ्चम वर्ण ञ, ण को प्रयोगका विषयमा पनि मतभेद रहेको छ। एउटा पक्षले तत्सम शब्दमा मात्र नभई नेपालीका अन्य शब्दमा पनि यिनको प्रयोग हुन सक्ने मान्यता राख्छ भने अर्को पक्षले तत्सम शब्दमा मात्र यसको प्रयोग उपयुक्त हुने धारणा राख्छ।
पहिलो पक्षको जोड नेपालीभाषी समाजले लामो समयदेखि पढ्दै, लेख्दै र प्रयोग गर्दै आएको परम्परागत वर्तनी तथा वर्णव्यवस्थाको निरन्तरतामा देखिन्छ। उनीहरूको तर्कमा नेपाली भाषाको ऐतिहासिक विकासक्रम, परम्परा र प्रयोगको पक्ष महत्त्वपूर्ण छ। अर्कोतर्फ, दोस्रो पक्षको तर्क भाषाविज्ञानका सिद्धान्त, ध्वन्यात्मकता तथा भाषाको वैज्ञानिक संरचनासँग बढी सम्बन्धित देखिन्छ।
पहिलो पक्षको मूल धारणा हाम्रा परम्परागत वर्णहरूलाई यथोचित रूपमा प्रयोग गर्नुपर्छ, भएका वर्णलाई अनावश्यक रूपमा हटाउनु हुँदैन र भारतीय नेपाली भाषाको आफ्नै प्रयोगपरम्परा रहेको छ भन्ने हो। अर्कोतर्फ, अर्को पक्षले नेपाली भाषाको वर्णमाला भाषाको वास्तविक ध्वनिसंरचनाअनुरूप हुनुपर्ने र नेपालमा प्रचलित नेपाली लेखनमा प्रयोग नहुने वर्णलाई भारतीय नेपालीमा पनि अनिवार्य बनाउन आवश्यक नरहेको तर्क प्रस्तुत गर्दछ।
३. सिक्किम उच्च न्यायालयमा नेपाली भाषाका परम्परागत वर्णको संरक्षणसम्बन्धी मुद्दा
सिक्किमका धनसिंह गुरुङले नेपाली भाषामा परम्परादेखि प्रयोग हुँदै आएका ड़, ढ़ तथा केही पञ्चम वर्णलगायत वर्ण र वर्तनीको संरक्षणका लागि गान्तोकस्थित उच्च न्यायालयमा निवेदन दायर गरेका थिए। त्यससम्बन्धी सुनुवाइपछि सिक्किम उच्च न्यायालयले निवेदनको पक्षमा निर्णय सुनाउँदै सिक्किम विश्वविद्यालयमा हटाइएका ती वर्णहरूको पुनर्बहाली गर्नुपर्ने तथा पाठ्यक्रममा आवश्यक सुधार गर्नुपर्ने सम्बन्धमा निर्देशन दिएको उल्लेख पाइन्छ।
यस निर्णयपछि सिक्किम विश्वविद्यालयले पहिले हटाइएका ती वर्णहरूलाई पुनर्बहाली गर्ने नीति अवलम्बन गरेको छ। सिक्किमबाट प्रकाशित हुने अकादमिक प्रकृतिका पुस्तकहरूमा अब तलथोप्ली ड़, ढ़ तथा पञ्चम वर्णलगायत परम्परागत वर्णहरूको प्रयोगलाई यथावत् निरन्तरता दिने प्रयास भइरहेको देखिन्छ।
यस घटनाले भारतमा नेपाली भाषाको वर्ण र वर्तनीसम्बन्धी बहस केवल भाषिक वा साहित्यिक क्षेत्रमै सीमित नरही शैक्षिक तथा संस्थागत तहसम्म समेत पुगेको देखाउँछ। नेपाली भाषाको मानकीकरणका क्रममा परम्परा, प्रयोग, भाषावैज्ञानिक आधार र क्षेत्रगत आवश्यकताबीच कसरी सन्तुलन कायम गर्ने भन्ने प्रश्न अझै विचारणीय रहेको छ।
कालिम्पोङ