डुवर्समा कविता साहित्यको थालनी सन् 1942 मा प्रकाशित ‘धामीको सवाई’ नामक सवाई पुस्तिकाबाट भएको हो। यस पुस्तिकाको पठन पछिका प्रजन्महरूका निम्ति पनि उपलब्ध हुन सकोस् भन्ने उदेश्य लिएर यसको दोस्रो संस्करणको प्रकाशन सन् 1950 मा गरिएको थियो। त्यसबेला पुस्तिकामा प्रकाशित नाम अनुसार पाठकहरूले यसका रचयिता दिलबहादुर सरदार हुन् भन्ने जानकारी पाएका थिए। दिलबहादुर सरदार बुखिमबारी, कालचिनीका निवासी थिए। उनी सन् 1959/60 तिर बिते। त्यसपछि डुवर्स नेपाली साहित्य विकास समितिले सन् 1984 मा धामीको सवाईको तेस्रो संस्करण प्रकाशित गरेको थियो। यसमा पनि रचनाकारको नाम स्व.दिलबहादुर सरदार लेखिएको छ। यस पुस्तिकाको अन्तिम पङ्क्तिमा यस्तो लेखिएको पाइन्छ –
पहिल्ये पटक छापिएको बिक्री भयो सब।
दोस्रा पटक छपाउँछु फेरि पनि अब ।।
दोस्रो पटक छापिएको साल सम्वत् सुन।
उन्नाइसौ पचास भारतको सन्।।
नाउँ मेरो दिलबहादुर घर बुखिमबारी।
झाँक्रीको सवाई दिएँ तयार पारी।।
यो सवाई बनाई पठाइ दिएँ काशी।
विचार गरी पण्डितजीले दिनुभो छापी।।
यहाँ पछिल्लो खोजिनीधिअनुसार ज्ञात हुन सकेको यस सवाईका मूल रचानाकार गङ्गाप्रसाद वैदारको नाम कहीँ पनि उल्लेख गरेको पाइँदैन। पछि यस सन्दर्भमा सागर राई देवानको सम्पादन र इन्द्रबहादुर गुरुङको प्रकाशनमा कालचिनी, डुवर्सबाट निस्किने पत्रिका ‘टिस्टा सुनकोश’-को डुवर्स विशेषाङ्क (सन् 1981)-मा प्रकाशित जीवन नामदुंगको लेख ‘डुवर्सको प्रथम पुस्तिका धामीको सवाई’ बाट हामीले जानकारी पाउन सक्यौं कि यस सवाईका मूल रचयिता गङ्गाप्रसाद बैदार रहेछन्। त्यसबेला जीवन नामदुंग डुवर्सको सामसिङ उच्च माध्यमिक विद्यालयमा शिक्षक थिए। सम्भवत: उनले कहीँबाट यस्तो जानकारी पाएका थिए कि ‘धामीको सवाई’-का दुई रचनाकारमध्ये एकजना गङ्गाप्रसाद वैदार हाँसीमाराको निकट साताली बस्तीमा अझै जीवित छन्। अत: 23 जुलाई सन् 1979 को दिन साहित्यकार जीवन नामदुंग डुवर्सका अन्य तीन जना साथीहरू गणेश तिम्सिना, ललित न्यासुर र प्रेम मोक्तानलाई लिएर दुईटा साइकिलमा दुई दुई जना चढ़ेर पानीझरीमा रुज्दैभिज्दै गंगाप्रसाद बैदारलाई भेट्न साताली बस्ती पुगेछन्। उनीसित भेटवार्ता गरी धामीको सवाईबारे थप जानकारी लिएर टिस्टा सुनकोशका निम्ति लेख तयार गरेछन्। त्यस समय 42 वर्षअघि रचना गरेको स्मृतिलाई दोहोर्याउँदै पुस्तिकाकै सवाईको लयमा गंगाप्रसाद वैदारले मुखाग्र यसो भनेका रहेछन् –
पहिला प्रथम बनाउने गंगाप्रसाद भयो
ठाउँ ठाउँ अशुद्ध र खण्डित बहुत थियो
अशुद्धमा रस भर्ने दिलबहादुर सरदार
यो सवाई 10 तारिखमा पारेको तयार
दिन थियो शुक्रबार महीना भयो जुन
साल संवत् बुझिलिनु 37 सन् ।
यसबाट स्पष्ट बुझिन्छ कि धामीको सवाईका मूल रचनाकार गंगाप्रसाद वैदार हुन् र त्रुटीहरूमा सुधार गर्ने र त्यसमा रस भर्ने काम दिलबहादुर सरदारले गरेका रहेछन् अनि यो सवाई जून महिनाको 10 तारिख सन् 1937 मा प्रकाशनमा ल्याउन तयार भइसकेको रहेछ। यसरी साहित्यकार जीवन नामदुंगको खोजबाट नै हामीले यो जानकारी प्राप्त गर्न सक्यौं अनि त्यसबेलादेखि हामीले धामीको सवाईका रचनाकार गंगाप्रसाद वैदार र दिलबहादुर सरदार दुवैलाई मान्यता दिन थालेका हौँ। त्यसबेलाको समाजमा चलेको अपचलन धामी झाँक्रीको विरोधमा व्यङ्ग्य कस्दै समाज सुधारको आवश्यकता रहेको सन्देश दिनु नै यस सवाईको उदेश्य रहेको थियो।
सन् 1937 देखि 1947 एक दशकसम्म डुवर्समा अन्य कुनै कवि उदाएको देखिँदैन जब कि डुवर्सबाट हामी सन् 1929 तिर नै हैकमसिंह राई जस्ता निबन्धकार अनि डा. इन्द्रमान राई जस्ता नाटककारको उदय भएको पाउँछौं। सन् 1948 देखि सन् 1965 सम्म पनि डुवर्सेली साहित्यको कविता विधा मरुभूमि तुल्य शुष्क प्राय: रह्यो। यस अवधिमा डुवर्स बाहिरका उत्थान, गोर्खा, उदय, आमा, दीपक आदि पत्र-पत्रिकाहरूमा डुवर्सबाट एकाध फुटकर कविताहरू प्रकाशित गराउने कविहरूमध्ये मणिकुमार थापा, गंगादेवी घिसिंग, मोति थापा, विष्णु शर्मा अधिकारी,, एस.एन.छेत्री, डी.बी.घिसिंग, मणि प्रधान, कीर्तिमान प्रधान, नरबहादुर श्रेष्ठ, जगदीश खरेल आदिको नाम डा. जीवन नामदुंगको शोध ग्रन्थ ‘डुवर्स : एक अध्ययन’-मा उल्लेख गरेको पाइन्छ। त्यसपछि कितापसिंह राईको प्रथम कविता ‘जन्मभूमि’ सन् 1966 मा ‘उदय’-मा पकाशित भएको थियो। त्यही वर्ष सन् 1966 मा लोकनाथ प्रधानको 22 वटा कविताहरूको सङ्कलन ‘बिरुवा’ डुवर्सको प्रथम कविताकृतिको रुपमा प्रकाशित हुन्छ अनि त्यसको अझै 9 वर्षपछि सन् 1975 मा सामसिङका पदम भुजेलको ‘भक्कानोहरू’ (गीत र कविता सङ्ग्रह) प्रकाशमा आउँछ। तर पछि लोकनाथ प्रधान र पदम भुजेल दुवै कविता लेखनमा त्यति सक्रिय रहन सकेनन्।
डुवर्समा नेपाली भाषी पाठकहरूका निम्ति अथवा शोध-अध्ययनमा चासो राख्ने व्यक्तिहरूका निम्ति आजसम्म पनि नेपाली भाषा-साहित्यको एउटा गतिलो पुस्तकालय नहुनु अनि यहाँको मिश्रित जनसङ्ख्यामाझ रहेको प्रतिकुल परिस्थिति, मातृभाषामा शिक्षालाभको अभाव एवं अनेकौं राजनैतिक, आर्थिक समस्याहरू झेल्दै अघि बढिरहेको हाम्रो समाजमा हिन्दी भाषी वा बङ्गला भाषीहरूको तुलनामा पठन संस्कृतिको विकास हुन नसक्नु आदि कारणहरूले पनि हामी साहित्यको विकासको दौड़मा पछि परेका हौँ। साहित्यको विकासको निम्ति स्थानीय पत्र-पत्रिकाहरूको पनि ठुलो भूमिका रहेको हुन्छ। डुवर्समा पत्र-पत्रिकाको प्रकाशनतिर नजर दौड़ाउँदा सन् 1949 देखि 1966 सम्म तीनवटा हस्तलिखित र तीनवटा लिथोमा प्रकाशित पत्रिकाका केही अङ्कहरू जागृति, डुवर्सवाणी, ज्योति, ध्वनि, उषा र वशन्त पाउँछौं। आजभन्दा 70-75 वर्षअघि उचित संसाधनहरूको अभावलाई झेल्दै डुवर्समा साहित्य सृजना गर्ने वातावरण तयार गराउने क्रममा ती पत्रिकाहरूको योगदानलाई पनि हामीले भुल्न हुँदैन। अवश्य ती पतिकाहरूमा पनि डुवर्सका केही कविहरूका कविता पकाशित भएका थिए होलान्। तर संरक्षण र रेखदेखको अभावले आज ती पतिकाहरू प्राय: उपलब्ध छैनन्। डुवर्सको पत्र-पत्रिकाको इतिहासमा सन् 1967 मा बानरहाटबाट प्रथम मुद्रित पत्रिका ‘हाम्रो ध्वनि’ जगदीश खरेलको सम्पादन र कृष्णभक्त खड्काको प्रकाशनमा देखापर्छ। त्यसपछि बाग्राकोट उच्च माध्यमिक विद्यालयबाट सन् 1972 मा हिमाल फेदी, बाग्राकोटबाटै सन् 1973 मा प्रयास, नायक र सन् 1974 मा शिरिष, आशाबारीबाट सन् 1973 मा ‘इन्द्रधनु” सँगसँगै त्यही अवधिमा हेमिल्टनगञ्जबाट ‘डुवर्स बुलेटिन’, दुम्सीपाडाबाट ‘कोपिला’, ‘नव जागृति, सामसिङबाट ‘दीपमालिका’, कालचिनीबाट ,मुना’, मदारीहाटबाट ‘पसीना’, हेमिल्टनगञ्जबाट ‘जगटे’ आदि पत्रिकाहरू मुद्रित रुपमा प्रकाशमा आए र ती पत्रिकाका सम्पादकगण एवं त्यहाँका प्रतिनिधिहरू भेला भइ सन् 1974 मा डुवर्स नेपाली साहित्य विकास समितिको स्थापना गरिएको थियो। यस समितिले केही पुस्तकहरूको प्रकाशन गर्नका साथै सामाजिक, शैक्षिक, साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा सेवा पुर्याउने डुवर्सका विशिष्ट व्यतित्वहरूलाई पुरस्कारहरू प्रदान गरी सम्मान गर्दै आएको छ अनि केही वर्षअघिदेखि वार्षिक रुपमा नै भए तापनि एउटा साहित्यिक पत्रिका ‘अवलोकन’-को प्रकाशन पनि गरिरहेको छ। यसरी यस समितिले डुवर्समा साहित्यिक परिवेशको निर्माण र यसको विकासको गतिलाई अघि बढाउँदै आज 50 वर्ष अर्थात् स्वर्ण जयन्तीसम्मको यात्रा तय गरिसकेको छ। आज डुवर्स नेपाली साहित्य विकास समिति एउटा माउ संस्थाको रुपमा उभिएको छ। यसबाहेक वर्तमान डुवर्समा अन्य धेरै साहित्यिक सांस्कृतिक सङ्घ-संस्थाहरूको पनि केही वर्षदेखि सञ्चालन भइरहेको छ। सबैले आ-आफ्नै ढङ्गले कामहरू गरिरहेका छन्। ती सबैको उल्लेख गर्न यहाँ सम्भव छैन। तर पनि डुवर्समा आजसम्म कुनै पत्र-पत्रिकाले स्थायी निरन्तरता दिन नसके तापनि लगभग एक सयभन्दा अधिक पत्र-पत्रिकाहरूको प्रकाशन भने भइसकेको छ र पाँच दर्जनभन्दा अधिक कविता विधाका कृतिहरू पनि प्रकाशित भइसकेका छन्।
डुवर्समा मुद्रित पत्र-पत्रिकाहरूको प्रकाशन सँगसँगै साहित्य लेखनमा अभ्यासरत यहाँका साहित्यकारहरूको लेखनको शिल्प तथा गुणवत्तामा केही प्रगति हुँदै गएको देखिए तापनि बीसौं शताब्दीको अन्तसम्म कविता कृतिको प्रकाशनमा हामी कछुवाकै गतिमा अघि बढिरहेका थियौं। ‘बिरुवा’ र ‘भक्कानोहरू’ पछि सन् 1977 मा बाग्राकोटका नरेन्द्र खड्का र टीका पराजुलीका ‘फूलहरू : काँढ़ाहरू, सन् 1980 मा कितापसिंह राईको ‘जीवन फूल’, सन् 1981 मा इन्द्रबहादुर गुरुङको ‘आगोहरू अनि फूलहरू’ सन् 1993 मा मणिकुमार थापाको डुवर्स (गीति काव्य) जस्ता कृतिहरू तत्कालीन डुवर्सका उल्लेखनीय उपलब्धी रहेका छन्। मणिकुमार थापा (जन्म 1931 – मृत्यु 2016)-कों ‘डुवर्स’ गीति काव्यलाई उनको उत्कृष्ट कृति मानिन्छ। समीक्षक मननारायण प्रधान र डा. जीवन नामदुंगले यस कृतिको अलग अलग ढङ्गमा विस्तृत समीक्षात्मक विश्लेषण गरेका छन्। सन् 2023 मा डा. जीवन नामदुंगले विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित थापाका कविता, कथा र लेख-निबन्धहरू सङ्कलन गरी उनको जीवन परिचयसहित ‘साहित्यकार मणिकुमार थापा’ पुस्तक प्रकाशित गराएका छन्। यस पुस्तकमा उनलाई कवि, कथाकार र निबन्धकारको रुपमा मूल्यांङ्न पनि गरिएको छ। यसै क्रममा अन्य कविहरूका कृतिहरूमध्ये मदन मोक्तानको ‘सम्झनाका लहरहरू’ (1991), विधान नौबागको ‘अनन्त यात्रा’ (1994) र स्वतन्त्रताको घाम (2009), किशोर मोक्तानको ‘युगको तीन फब्लेटा’ (1998) आदि प्रकाशमा आएको पाइन्छ। एक्याइसौं शताब्दी लागेपश्चात् पुराना कविहरूमध्ये जो बितेर गए कितापसिंह राईको अक्षरानुभूति (2014), इन्द्रबहादुर गुरुङको ‘बेदुइन’ (2008) र ‘यात्रा’(2018) अनि नरेन्द्र खड्काको ‘ज्योति, ज्वाला, ज्योत्सना’ (2023) जस्ता थप कृतिहरू प्रकाशमा आएको पाइन्छ।
डुवर्समा जन्म गहण गरी परिस्थितिवश डुवर्सबाहिर रहेर साहित्यको सेवा गर्ने साहित्यकारहरूमध्ये राज.के.श्रेष्ठ (जन्म-1942 चिलाउने, हाल सिक्किम)-का कविता कृतिहरू 1) हामी दुईका मुक्तक (भुपेन्द्र अधिकारी र उनका मुक्तक सङ्ग्रह – 1985), 2) यात्राक्रम (कविता सङ्ग्रह – 1998), 3) अन्तहीन अन्त (2015), 4) कालीको दिवासपना (बाल कथा र कविता सङ्ग्रह – 2017), 5) मुर्दालाई मात्र दुख्दैन (2019) आदि पकाशित छन्। भानुप्रकाश मार्मिक (जन्म 1953, सामसिङ, हाल खोलाचन्द फाप्री, बौकुण्ठपुर्)-को संघात तीन दिलहरूका (1977) सिक्किममा छँदा अन्य दुईजना कवि उदय सुब्बा वियोगी र एन.एस.लेप्चासँग मिलेर प्रकाशित गरेको कविता संगाह हो। यसमा मार्मिकका सातवटा कविता सङ्कलित छन्। जीवन राणा (जन्म 1964, दलसिंहपाड़ा हाल सिलगढ़ी)–का 1) मेरा प्रारम्भिक कविताहरू (1997), 2) जीवनका मुक्तकहरू (2000), 3) मोनिका (बाल कविता सङ्ग्रह – 2010), 4) त्रिसुल (तीन हरफे कविता सङ्ग्रह- 2018), 5) अन्तर्लय (2020), दिलमान राई ‘चोट’ (जन्म 1954, जयगाउँ हाल हैदराबाद, तेलाङ्गाना)-का 1) कसैको प्रतिक्षामा (कविता सङ्ग्रह -2004), 2) शीत विन्दु (गीति काव्य – 2005), 3) गजल अञ्जली (400 वटा गजलहरूको सङ्ग्रह – 2016), सीताराम काफ्ले (जन्म 1962, बाग्राकोट हाल कालेबुङ)-का समयको अवसान (2012), पवित्रा लामा (जन्म 1976, कालचिनी हाल दार्जीलिङ) सभ्यताका पेण्डुलमहरू (2015) र म देह रातो रङ्गिन्छु (2019) अनि प्रदीप लोहागुण (जन्म 1981, दुम्सीपाड़ा हाल कालेबुङ)-को सनकी समय (2014) पकाशित छन्।
डुवर्समा शिक्षण पेशासित संलग्न कवि अबीर खालिङ (जन्मथलो – कर्मटार /गोक, दार्जीलिङ र कर्मथलो – कालचिनी,डुवर्स)-का कविताकृतिहरू अबीरानुभूति (1995), अक्षर-उत्सव (2007) र डुवर्स क्लिपिङ्स (2023) प्रकाशित छन्। यसरी नै कविता विधामा आफ्ना कृतिहरू लिएर आउने अन्य कविहरूमध्ये शङ्कर प्रधानको ‘कविता कृति’ (2002) र ‘कवितै कविता’ (2007), वेगवशन्त थापाको ‘पाठशालाको पहिलो दिन’ (बाल कविता सङ्ग्रह- 2004), ‘म टिस्टा बगिरहेछु’ (कविता सङ्ग्रह-2007) अनि सन् 2021 मा उनका एकैचोटी तीनवटा कृतिहरू बाल कविता सङ्ग्रह ‘हराएका रोल नम्बरहरू’, ‘देश र फुच्चे’ र ‘हनुमानको अनुमान’ प्रकाशित भए। यी मध्ये ‘देश र फुच्चे’ बाल कविता सङ्ग्रहका निम्ति उनले सन् 2024 को बाल साहित्य अकादेमी पुरस्कार प्राप्त गरे। त्यसै गरी दलसिंहपाड़ाका कमल थुलुङको ‘डुवर्स बोल्छ’ (कविता सङ्ग्रह-2005) र ‘भाव-विम्ब’ (मुक्तक सङ्ग्रह -2010), अमृता राणाको ‘दलसिंहपाड़ाका मुक्ताहरू (2005), अनि मणिका राणाको ‘जीवनका पाइलाहरू’ प्रकाशित हुन्छ। त्यसपछि अशोक विश्वको ‘जीवन नदी’ (कविता संगाह – 2009), सन् 2021 मा यिनका तीनवटा कविता कृति ‘तिमी सपना : म विपना’ (कविता सङ्ग्रह), मुटुको व्यथा (गीत-गजल सङ्ग्रह), मनका पाटाहरू (मुक्तक सङ्ग्रह) पकाशित भए। यसरी नै गोपालसिंह विश्वको ‘युग र मान्छे’ (2013), गणेश गजमेरको ‘गाउँलाई भनेर’ (2013) अनि रुपेश विश्वको ‘स्वप्नबीज’ (2013) पकाशित भए। गणेश गजमेरका अन्य कविता कृतिहरू समय सम्बोधन (2017), आमा र कोठेबारी अनि मादल सम्हाल (2023) पनि प्रकाशित छन्। त्यसपछि किरण उपाध्यायको ‘डुवर्स तिमी’ (2014) र ‘घरहरू’(2021), निर्मल आग्रहको ‘आधा पहाड़’ (2016), गंगाप्रसाद प्रधानको ‘तप्कना’ (2018), राजीव विश्वकर्माको कृष्णचुडा (2019), बिलोक शर्माको समयाभास (2019), अशोक रोकाको नखोज्नु उसलाई सहरहरूमा (2019), सुखमन मोक्तानको एउटा घर बनाउने रहर (2021), ज्ञानलाल दर्नालको उन्मुक्त अक्षरहरू (2021), निगम बस्ताकोटीको सिमाना (2021), चन्दन भट्टराईको फेसबुके भित्ताहरू (2021) नारायण प्रधानको आर्तनाद (2021), दिनानाथ शर्मा घिमिरेका कवि सुकान्तका कविताहरू र दिनानाथ शर्माका कविताहरू (2022), अनन्त श्रेष्ठको सत्ता र समय (2023), प्रशान्ति राईको अन्तस्करणका आवाज (2023), शान्ति भुजेल (राई)-को ‘अङ्कुरण’ (2024) र दुर्गा राई चामलिङको मुर्दाको देश (2024) जस्ता कविताकृतिहरू प्रकाशमा आएका छन्। यसबाहेक गीतहरूको रचना गर्ने के.सी. रसाइलीको गीत सङ्ग्रह ‘नौलो रातको नौलो गीत’ (1983) र ‘कलियुग’ (1994) अनि मणिकुमार खवास र नरबहादुर विश्वको ‘भजनमाला’ (1982) पकाशित रहेको पाउँछौं।
आज डुवर्सले साहित्य लेखनको फाँटमा निकै फड्को मारिसकेको छ। कविता क्षेत्रमा स्थापित डुवर्सका अग्रज व्यक्तित्वहरू मणिकुमार थापा, चन्द्रवीर प्रधान, कितापसिंह राई, इन्द्रबहादुर गुरुङ, सुखमन मोक्तान, नरेन्द्र खड्का आदि जो बितेर गए उनीहरूले खनेको बाटोलाई अझ विकसित र परिष्कृत पार्ने क्रममा आज 70-75 वर्ष पुगिसकेका दिनानाथ शर्मा, गोपालसिंह विश्व, गंगाप्रसाद पधान, भानुप्रकाश मार्मिक आदिले डुवर्समा अवकाश ग्रहणपछिको समयको सदुपयोग गर्दै अहिलेसम्म व्यतिक्रममै भए तापनि कविता लेख्न छाडेका छैनन्। त्यसपछिको पिढी जीवन राणा, कमल थुलुङ, सीताराम काफ्ले, शङ्कर प्रधान, अशोक विश्व, अशोक रोका, अबीर खालिङ, वेगवशन्त थापा,, गणेश गजमेर, अनन्त श्रेष्ठ, किरण उपाध्याय, विलोक शर्मा, पवित्रा लामा, राजीव विश्वकर्मा, रुपेश विश्व, प्रदीप लोहागण, निर्मल आग्रह, अनन्त श्रेष्ठ, ज्ञानलाल दर्नाल, मोनिका राणा, निगम बस्ताकोटी, चन्दन भट्टराई, नारायण प्रधान, प्रशान्ति राई, दुर्गा राई चामलिङ आदि जसका कविता कृतिहरू प्रकाशित भइसकेका छन्, उनीहरूबाट डुवर्सको कविता विधाले अग्रगति प्राप्त गर्न सक्ला भन्ने धेरै आशा गर्न सकिन्छ।
यति मात्र होइन आज डुवर्सको कविता लेखन क्षेत्रमा नयाँ पिढीका युवा भाई-बहिनीहरू पनि नयाँ जोश लिएर अघि बढिरहेको देखिन्छ। उनीहरूबाट हालसम्म पुस्तक रुपमा कुनै कविता कृति प्रकाशमा आउन नसके तापनि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित कविताहरूको आधारमा केही सफलोन्मुख कविहरूको नाम उल्लेखनीय रहेका छन्। ती हुन् – सुदर्शन तामाङ, सुर्य राई ‘राखाली’, प्रदीप ‘पतझड’. अमीर सुन्दास, अजय खड्का, नारायण काफ्ले, शङ्कर शर्मा, रोजन प्रधान, ज्योत्सना घतानी, उमेश प्रधान, हर्कु तामाङ, बिनु राई, दिलिप शर्मा घिमिरे, सबिन थापा, अजित कट्टेल भारद्वाज, अभिषेक दर्नाल आदि।
नेपाली कविता साहित्यको क्रमिक इतिहास पढ्दा थाह पाउन सकिन्छ, सन् 1743 मा पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियान अवधि उनका समकालीन सुवानन्द दास, रघुनाथ राई भाट, आदिद्वारा रचित वीरकालीन कविताबाट शुरूआत गर्दै भक्तिकाल, शृङ्गारकाल, नव्यकाल र आधुनिकालपछि तेस्रो आयाम हुँदै उत्तर-आधुनिककालसम्म आइपुग्दा युग र समयको परिवर्तनसँगसँगै कविता लेखनको प्रवृतिमा पनि परिवर्तन हुँदै आएको देखिन्छ। एकाध छन्दोबद्ध कविता वा काव्य कृतिबाहेक अब प्राय: गद्य कविता नै अधिक मात्रामा लेखिने गरिएको देखिन्छ। गद्य कवितामा प्रतीक र विम्बहरूको अधिक प्रयोगले साधारण पाठकहरूका निम्ति कहीँ दुर्बोध्य पनि हुन पुगेको पाइन्छ। वर्तमान भारतीय नेपाली कविहरूका लेखन प्रवृतिमा देखा परेका विविध विषयहरूमध्ये चिन्हारी सङ्कट र जातीय अस्तित्वको निम्ति गरिने सङ्घर्ष गाथा, किनारीकरणको विरोधाभास अथवा युगौंदेखि धर्म-अधर्मको नाममा लादिएको अवैज्ञानिक अन्ध-परम्परा अनि कुसंस्कारमाथि आधारित जातीय उत्पीडन र विभेदको समाज व्यवस्थाबाट मुक्ति पाउन उठाइने आवाज, दलित चेतनामाथि आधारित कविता, वैज्ञानिक दृष्टिकोणको प्रबलता अथवा द्वन्द्वात्मक भौतिकवादको सोंचमाथि आधारित प्रगतिवादी चेतना आदि डुवर्सका कविहरूका कवितामा पनि देख्न पाइन्छ। डुवर्सका धेरै कविहरूमा चियाबारी समस्या र पुँजीपति मालिकवर्गबाट श्रमिकहरूको शोषण, उत्पीडन, अव्यवस्था, पक्षपात विरुद्ध उठाइने आवाज अनि साधारण खटिखाने मानिसहरूको दु:ख, कष्ट, वेदना र पीडाहरूप्रति सहानुभूति र समवेदनाको झलक पाइन्छ। कतिपय कविहरूका कवितामा दैनन्दिन जीवनका विविध पक्षहरूलाई केलाउँदै मानव मन-मस्तिष्क भित्रका कुण्ठा, अनास्था, असन्तुष्टी आदिको उच्छवास् जस्ता अभिव्यक्तिहरूको प्रतिविम्ब पनि तिनका प्रवृतिगत विशेषताका रुपमा देख्न पाइन्छ।
हुन त कविता सृजनमा शब्द संयोजनको भूमिका महत्वपूर्ण हुन्छ तर त्यसमा भाव अथवा एउटा विचारको सार, प्रतीक र विम्बहरूको उचित प्रयोग, आकर्षणीय शैली आदि पनि आवश्यक रहेको हुन्छ। वास्तवमा डुवर्सको अधिकतर क्षेत्र बनबस्ती र चियाबारीहरूले ढाकिएको र त्यहाँको मिश्रित जनसङ्ख्यामाझ रहँदै आएको नेपाली भाषी समुदायले मातृभाषामा माध्यमिक, उच्चतर माध्यमिक र कलेज स्तरसम्म नेपाली साहित्य विषय शिक्षा लाभ गर्ने सुविधाको व्यवस्था पनि धेरै पछि पाएको हो। यसैले डुवर्सेली नेपाली साहित्यले लामो समयसम्म फुल्ने-फल्ने सुअवसर प्राप्त गर्न सकेको थिएन। तर विलम्ब गरेर भए तापनि आज डुवर्स आफ्नो भाषा, साहित्य, शिक्षा, संस्कृति, गायन एवं सङ्गीत-कला, ललित कला जस्ता विभिन्न क्षेत्रमा निकै जागरुक बनिसकेको छ। गत: 27, 28 र 29 दिसम्बर 2024 मा डुवर्स नेपाली साहित्य विकास समितिले यसको स्थापनाको 50 वर्ष पुरा गरेको उपलक्ष्यमा भव्य रुपमा स्वर्ण जयन्ती समारोह मनाउनु र विगतका छोटो अवधिभित्र साहित्य अकादेमी, दिल्लीको सौजन्यमा डुवर्सका साहित्यिक विभूति बनिसकेका स्व. बद्रीनारायण प्रधान र स्व. कितापसिंह राईको मोनोग्राफ प्रकाशित गर्ने व्यवस्था हुनु र डा. जीवन राणा र शङ्कर प्रधानले साहित्य अकादेमीको अनुवाद पुरस्कार प्राप्त गर्नु अनि सन् 2024 मा वेगवशन्त थापाले साहित्य अकादेमीको बाल साहित्य पुरस्कार प्राप्त गर्नु आदिलाई डुवर्सले प्राप्त गरेका उपलब्धीहरू मान्नुपर्छ। डुवर्सका सम्पूर्ण नेपालीभाषी समुदाय उचित एवं सकारात्मक सोंच लिएर एकतावद्ध भइ अघाडी बढ्न सके यस क्षेत्रका नेपाली भाषीहरूको उन्नति र सफलतालाई कसैले रोकेर रोकिने छैन।
बाग्राकोट