19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अधुरो प्रेमको परिधि

कविता विमल लामिछाने August 29, 2026, 5:10 am
विमल लामिछाने
विमल लामिछाने

मैले ठानेको थिएँ, उनै हुन् मेरो संसार ।
वर्षौँ बित्यो, प्रेमका मीठा पलहरूसँगै,
विश्वासको एउटा दियो बालेर,
म बाँचिरहेँ सधैँ उनकै भरोसामा ।

मैले दिएको त्यो उपहार फुट्दा पनि रोएकी थिइन्,
म अरूसँग बोल्दा पनि तड्पिएकी थिइन् ।
तर धोकाको खेल कस्तो अचम्मको हुँदो रहेछ,
उनी त पहिले नै अर्कैकी भइसकेकी रहिछन् !

आज टिकटकको भित्ताले देखायो त्यो तीतो यथार्थ,
उनी त अर्कैसँग घरबार बसाएर मुस्कुराइरहेकी रहिछन् ।
जसका लागि मैले आफ्नो सबथोक त्यागेँ,
उसैले मलाई सधैँका लागि अन्धकारमा धकेलिदिइन् ।

जब लुकाइएको सत्य उजागर भयो,
लाग्यो, मेरै सिंगो संसार उजाडियो ।
त्यो क्षण प्रेम मात्र होइन, विश्वास फुटेको थियो,
ममाथि त छल र विश्वासघात भएको रहेछ ।

मैले त पुरुष भएर अर्काको घर भत्काउन सकिनँ,
आफ्नै मुटुमाथि ढुंगा राखेर उनलाई उतै छाडिदिएँ ।
समाज र प्रतिष्ठाको डरले उनले मेरो हात छोडिन्,
तर, म मरेतुल्य हुँदा पनि उनकै खुसीको प्रार्थना गरिरहेँछु ।

अझै पनि मेरो मनमा उनकै प्रतिबिम्ब छ,
सास रहेसम्म उनलाई म कसरी बिर्सनु र ?
सँगै जिउने बाचा त यो जुनीमा अधुरै रह्यो,
तर, हृदयमा छाया बनी उनी अझै सजिएकै छिन् ।

यदि हुन्छ भने अर्को जुनी, हे मेरी प्रिय !
त्यतिबेला बीचमा अरू कोही नआओस्,
तिमी केवल मेरी भएर आउनू,
यो अधुरो प्रेमको कथालाई पूर्णता दिन आउनू !

० दमक, झापा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।