19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाढीको कहर

कविता काशीनाथ मिश्रित August 29, 2026, 6:17 pm
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

(इन्दिरा छन्द)
छ रसुवागढी आज शोकमा
खटन के गरिस् मर्त्य लोकमा?
सहर नै हठात् भेलमा पुरी
विपत यो दिइस् दैव निष्ठुरी

कति लछारिए गाडिए कति!
कति पछारिए छाडिए कति!!
कति डुबी मरे तीब्र भेलमा
कसुर क्यै नभै हाय! जेलमा ।

जल गयो विनासूचना घरै
नयन आँसुले पग्लिए बरै!
सब बिछोडिए आफना प्रिया!
हृदय चर्कियो भो छियाछिया

नगर त्यो थियो दिव्य भर्खर
बगर भैगयो रुग्ण जर्जर!!
असुर भैदियो आज त्रिशुली
निलिदियो सबै पेटमा हुली!!

असल भावना कामना मरे!
सकल चाहना चेतना मरे!!
सफल सिर्जना सभ्यता मरे!
फगत साथमा वेदना छ रे!!

सकस भो दशा बिग्रिएपछि
समयले गर्‍यो त्रासदी क्षति!
मनुजले गरेको भए यति
समर चल्दथ्यो बाझ्दथे कति ।

मनन यो गरौँ मृत्यु निश्चय
सकल देह यो हो अनिश्चय!
अब घमण्डले हुन्न मात्तिन
विनय यो गरेँ है त सज्जन!

गर सके भलो सोच है सखे!
नगर हानि लौ फाइदा छ के??
विपतमा कहाँ पर्छ को कता?
सब अथाह हो हुन्छ के पता?
हिमचुली फुटी गर्छ ताण्डव
गडगडाउँदै त्यो उपद्रव!
तर अचम्मको रैछ मानव
सकसमाझमा लुट्छ दानव!!

जलप्रवाहका ती सिलिन्डर
शरम क्यै नभै तान्नु के छ र?
कति गर्‍यो गर्‍यो बाढले खति
तर नसुध्रने दुष्टको मति

कनकका अलङ्कार कानका
शवसमेतको तोड्छ मानव!
प्रलय जो भयो सो भयो भयो
तर मनुष्यता खै कता गयो?

कालीगण्डकी ५, गुल्मी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।