अनन्त विरोधले भरिएको छ जीवन । अनन्त विरोधाभासमा जकडिएको छ जीवन । यही विरोध र विरोधाभासमा त छ प्राण । यसैमा त चलिरहेको छ जीवनको ढुकढुकी र घ्राण । विरोधमा जीवनको अगम ऊर्जाको प्रकम्पन छ । कसैप्रति परालम्वित नभै आफैँ आफ्नो खुट्टामा ठिङ्ग उभ्भिने चेतनाको स्वावलम्वन छ ।
जुनदिन आमाका पेटको गर्भ–सुखलाई लात हानेर शिशु बाहिर निस्क्यो, त्यो दिनबाट उसले विरोध बोल्न जान्यो । विरोध बाँच्न जान्यो । विरोधमा आफ्नो अस्तित्व आरेखित गर्न सिक्यो । मातृगर्भमा उसलाई के चिजको नपुग्दो थियो र ! भ्रुणका निम्ति अति अनुकूल त्यो गर्भगृहमा पींडा र परेशानीको कुनै गुन्जाइस थिएन । तर, आमाको पेटमा अवस्थित त्योे सुख–साम्राज्य त्यागेको दिनबाट शिशुले विरोधमा बाँच्न जान्यो । अनन्त असुबिधा र हण्डर खप्न जान्यो ।
उसले अति दुष्कर प्रतिकूलतामा जीवनको अनुकूलन खोज्यो । अर्थात् यसो भनूँ– हर प्रतिकूल परिस्थितिसित लड्ने, झगड्ने र आफ्नो हितमा त्यसलाई बदल्ने कला जान्यो । उसले धर्ती ओर्लेर मुखबाट निकालेको पहिलो च्याँहार ध्वनि नै विरोधको एक गर्जना थियो । यसलाई मानव मुखबाट निस्केको विरोधको प्रथम स्वर मान्न सकिन्छ या जीवनका विरोधाभासप्रति अस्वीकृतिको एक अनमोल आवाज ठान्न सकिन्छ । अथवा त्यो रोदन मानव विरोधको पहिलो पाइला थियो । यही आवाजको सम्बल टेकेर उसले अस्वीकार र प्रतिरोधका नूतन आवाजहरू सृर्जन पुनःर्सृजन गर्दै गयो ।
विरोध र प्रतिरोधले मनुष्य आत्मामा जीवनका लागि भीमकाय युद्ध लड्ने तागत भ¥यो । जुन दिन चारखुट्टा टेकेर वामे सरिरहेको बच्चा दुईखुट्टा टेकेरे थिगरिन सक्ने भयो, त्यो दिनबाट अरुको सहाराको टेको खुस्काउन जान्यो । शुरुमा त उसले आमाकै हातको सहाराले ताते गरेको हो, जुनघडी उसको आत्मामा आफैँ उभ्भिन सक्छु भन्ने आत्मविश्वास पलायो त्यसघडी आमाका हात खुस्काएर आफैँ टुकुटुकु पाइला चाल्ने भयो, यो उसको जीवनको दोस्रो विरोधको पाइला थियो ।
आमाको हाते सहारालाई बहिष्कार बोल्नु विरोधको सानो कदम होइन । यसबाटै विमति र अस्वीकारका शृङ्खलाहरू एकपछि अर्कोरुपमा थपिँदै गए । यसरी जीवनका हरेक मोडमा अस्वीकृतिको अखेटा कप्तै मानिस आफ्नो यात्रा आफैँ तय गर्नसक्ने भयो । जीवनको आफ्नै सरगम सुनाउने भयो । आफ्नै धुन गुनगुनाउने र लय रच्नसक्ने भयो ।
बच्चाले बुझ्यो– आमाको हाते–टेको खुस्काएपछि मात्र मेरा पाउहरू सबल बन्दछन्, आमाको हाते भरोसामै ताते गरिरहेँ भने मेरा गोडा साङ्ग बन्ने छैनन् । अनि त उसले आमाका हात खुस्काउने चेष्टा ग¥यो । जीवनमा जति ऊध्र्वतलमा उक्लिने अप्ठ्यारा घडी आउँछन्, मानिस सजिलो बाटो परित्याग गर्छ र कठिन बाटोको यात्रा रोज्दछ । उसले सुखको सजिलो बाटोमा अल्मलिनु भन्दा दुःखको कण्टकमय पथ छिचोल्नुमा आनन्द देख्छ । यही संघर्षको दुरुह पथले सृजन र निर्माणमा नव जुहार थपिएका छन् । पृथ्विमा खोज र आविष्कारका अनन्त शृङ्खलाहरू कोरिएका छन् ।
विरोधले मान्छेलाई संघर्षको अनुगामी बनाउँछ । मानव सभ्यताको आरम्भिक विन्दुदेखि नै मान्छे सतत् संघर्षशील मुद्रामा एकातिर प्रकृतिसित लड्दै आयो । अर्कोतिर परिस्थितिसित बाघेपञ्जा लडाउँदै आयो । आफ्नै विरोधाभासी मनस्थितिसित पनि मुकाविला गर्दै अगाडि बढ्यो । आफ्नो अग्रगामी यात्रामा अवरोध पैदा गर्ने अनेकन् तत्वसित पौँठाजोरी खेल्नुमा मानवचरीलाई मजा आउँछ । आफ्नो अस्तित्व र व्यक्तित्व स्थापित गर्न उसले आदिम कालदेखि नै भगिरथ प्रयत्न गरिआएको छ । अनन्त विरोधमा बाँच्न सक्ने प्राणी हो मान्छे । विरोधमा उसले जीवनको स्वत्व देख्छ । यसमै ऊभित्रको वीरत्व जागृत भएर उठ्छ ।
जीवन–ज्योति चहकिलो भै चम्किन जिन्दगीमा संघर्षको सतत् सिलसिला जारी रहनुपर्छ । जीवन संघर्षदेखि विमुख बन्यो भने यसबाट अलिकति पनि उज्यालो निस्किँदैन । संघर्षका लागि अविराम विरोधको गीत गाइरहनुपर्छ । प्रतिरोधको झण्डा उठाइरहनुपर्छ । अस्वीकृतिको दर्शन बाँचिरहनुपर्छ । त्यो आवाज र गीत सत्को आवाज हो, जुन असत्को विरुद्धमा उठेको हुन्छ । त्यो दर्शन उज्यालोको दर्शन हो, जुन अँधेरी रातको बिरुद्ध रचिएको हुन्छ । त्यो ध्वजापताका न्यायको ध्वजापतका हो, जुन असत्य र अन्यायको बर्खिलापमा ठडिएको हुन्छ ।
बिरोधको सिलसिला हेर्न काहीँ जानुपर्दैन प्रकृतिमै छ विरोध । अस्तिसम्म ग्रीष्म ऋतुको भुपट्ट खडेरी थियो, अहिले वर्षाऋतुले मृदुल वर्षात् छरिरहेको छ । अहिले यतिखेर म दिउँसोको उज्यालोमा छु, केही घण्टामा अँध्यारो रातले धर्ती लपेट्ने छ । ग्रीष्म र वर्षाको, दिन र रातको, जाडो र गर्मीको, शिशिर वसन्तको द्वन्द्व जारी छ । एकको विरोधमा अर्को पक्ष डटेर उभ्भिएका छन् । प्रकृति नै अगणित द्वन्द्व र विरोधले भरिएको छ । यो द्वन्द्व विपरित तत्वका बीच बढी मुखर भएर देखिन्छ । त्यसैले दर्शन शास्त्रले भन्छ– विपरित तत्वको एकता र संघर्षमा जीवनको फूल फुल्छ । यसले नै प्रकृति र जीवनमा गति पैदा गर्छ ।
जीवन विरोधाभासमा छ र त यो सुन्दर छ । मनमोहक र सुगन्धित छ । जीवनका अनन्त विरोधले जीवनलाई बहुरङ्गी बनाएको छ । बहुरुपी बनाएको छ । एकरङ्गा निरस पथबाट जीवनलाई माथि उठाउने तत्व यसभित्रको द्वन्द्वविधानमा छ । प्रकृतिमा विन्यस्त विपरित तत्वको एकत्व र संघर्षणको शृङ्खला जस्तै मानव जीवनमा पनि तत्व र तरङ्गको द्वन्द्व छ । यो कहिले मित्रतापूर्ण एकतामा प्रकट हुन्छ, कहिले शत्रुतापूर्ण संघर्षमा मुखरित हुन्छ ।
जीवनमा कहिले उज्यालो छाउँछ, त्यो कुरा अँध्यारोलाई मन परिराखेको हुँदैन । फेरि उज्यालोको विरोधमा चारैतिर घनघटा कालोरात छाउँछ । दिनलाई रातले लखेट्छ, रातलाई दिनले । कुनैको सत्ता पनि चिरायू छैन, अँध्यारो पछि उज्यालो, उज्यालो पछि अँध्यारो । अँध्यारो र उज्यालो एकअर्काको विरोधमा सृष्टिको प्रथम दिनबाटै उभ्भिई आएका छन् । यी दुईको द्वन्द्वमा जीवन गतिशील छ ।
जीवनमा जय पनि छ । पराजय पनि छ । यो जय र पराजयको खेलमा पनि भीषण द्वन्द्व छ । लाभ–हानी, सफलता–असफला, घात–प्रतिघात, भाव–अभाव, उन्नति–अवनति, क्रोध–करुणा, उत्कर्ष–अपकर्ष, होश–बेहोश, उत्थान–पतनको विरोध र द्वन्द्वमा जीवन विकसित बनिरहेको हुन्छ । यी विरोधाभासी तत्वको संघर्षणले जीवनलाई गति दिइरहेको हुन्छ ।
जीवनमा द्वन्द्व नहुँदो हो त जीवन यति गतिशील र चलायमान हुने थिएन होला । तत्व र तरङ्गको परस्परमा टकराव नहुँदो हो त मान्छेले मृदुल सुखको अनुभव सँगाल्न पनि सक्तैनथ्यो होला । किन मान्छेले संघर्षको सुखलाई प्रिय ठान्छ ? किन मान्छेले उत्कर्षको यात्रालाई मन पराउँछ ? सायद दुःखबाटै निःसृत सुखको नौनीले मान्छेलाई लोभ्याएको हुनुपर्छ ।
जीवन अनन्त विरोधले नभरिएको हुँदो हो त जीवनको विराट सौन्दर्य खुल्दैन पो थियो कि ! जीवन यति मृदुल मनोहर हुनुमा यसको भित्री राज पो छ कि ! सनातन रीति कुरीतिका विरुद्ध नयाँ रीति बागी बनेर उभिन्छ । समाजमा चलिआएको पुरातन परिपाटी र प्रणालीको विरोधमा नयाँ प्रणालीले आफ्नो औचित्य पुष्टि गर्दछ । समाजको रुढ चेतनालाई नूतन चेतनाले विस्थापित गरेन भने हाम्रो यात्रा कसरी ऊध्र्वगामी हुन्छ र ! मानव सभ्यताको आरम्भिक युगदेखि एउटा व्यवस्था र प्रणाली अर्को उन्नत अग्रगामी प्रणालीतर्फ फड्को हानेर अगाडि बढेको इतिहास छ ।
हिजो भुइँमा घस्रने गोरुगाढाको युगबाट वाष्प इन्जिन हुँदै अहिले सुपरसोनिक रकेट युगमा उड्ने भयो मानिस । काठे चक्काको विरोधमा अर्को परिष्कृत चक्का आयो । अझ आधुनिक अझ उन्नत चक्काको विकासले आज यातायातलाई कहाँदेखि कहाँ पु¥याइसक्यो । विज्ञान प्रविधिका क्षेत्रमा एकपछि अर्को उन्नत आविष्कारले अघिल्लो प्रविधि र उपकरणलाई सुस्त, पङ्गु बेकामे बनाउँदै छ । एकको विरोधमा अर्को खोज, एकको विरोधमा अर्को आविष्कार नहुँदो हो त संसार यति उन्नत, आधुनिक र विकसित बन्ने थिएन होला ।
सामाजिक व्यवस्था र शासक वर्गका काला कर्तुतका विषयमा पहिलोचोटि विरोधको झण्डा सायद सोक्रेटसले उठाए क्यार ! आततायी निरङ्कुशतन्त्रको खिलापमा आवाज गुञ्जाउने चाहे एथेन्स नगरका सोक्रेटस हुन् या हाम्रा शुक्रराज हुन्, उनीहरूले विरोधको विरासतलाई कतै पनि धुमिल हुन दिएनन् । उनीहरूले विरोधको मूल्यलाई काहीँ कतै सौदावाजीको विषय बनाएनन् । बरु विरोधको गरिमा कायम राख्न हाँसीहाँसी जीवनको बलिदान गरे ।
फेरि मालिक वर्गको अन्याय र उत्पीडनका विरुद्ध पहिलोचोटि पद–दलित दासहरूलाई संगठित गर्ने र न्यायका लागि विद्रोहमा उतार्ने काम प्राचीन रोममा स्पार्टाकसले गरेका थिए । मानवीय स्वाभिमान र स्वत्वको लडाइँमा विद्रोहको झण्डा उठाउने पहिलो बागी पुरुष थिए उनी । त्यसपछि यी आदिविद्रोहीको पदचिन्हलाई पछ्याउँदै संसारभरिका उत्पीडितहरूले नारकीय उत्पीडनका विरोधमा विद्रोहको बाटो पक्रिन सिके । प्रतिरोध र संघर्षमा जीवन छ, मुक्ति छ भन्ने कुरा जाने । भलै स्पार्टाकसले रोमनका शासकहरूसित लड्दालड्दै बत्तीस वर्षको उमेरमा मृत्युको तख्तामा टाँगिनु प¥यो । तमाम् विद्रोहीको मनोबल गिराउन छ हजार दासलाई एकैचोटि क्रुसमा टाँगियो । तर, त्यतिले विरोधको राजनीति दुनियाँबाट कहाँ सेलायो र ! त्यसपछि त झनझन प्रखर वेगमा अन्याय र अत्याचारका विरुद्धमा क्रान्ति र विद्रोहका चक्रावातहरू उठिरहे । अनेक अनाचार र पापाचारको विरोधमा संघर्षका सिलसिला उठिरहे । स्पार्टाकसको ओजमा आविर्भाव भएको विरोधको झण्डा न निस्तेज भएको छ, न मलिन भएको छ ।
अंग्रेज साम्राज्यको विरुद्धमा हिन्दुस्तानमा तेइस वर्षका भगतसिंहले उठाएको विरोधको झण्डा होस् नेपालमा राणशाहीका विरुद्ध गंगालालले उठाएको विप्लवी ध्वजा होस् यी दुवैमा अकल्पनीय वीरत्वका गाथा लुकेका छन् । ओजस्वी पराक्रम र शुरत्वका मानक खडा गरेका छन् । सिर्फ तेइसवर्षको उमेरमा हाँसीहाँसी फाँसीको माला गला भिर्ने भगतसिंहको हुङ्कारले भारत स्वाधिन भएको थियो । बाइस वर्षको लक्का जवान गंगालालले रक्ततर्पण दिएको कारण राणाशाहीको समाप्ति भएको थियो । र नेपालमा प्रजातन्त्रको सुकिलो घाम लागेको थियो । त्यसपछि मुलुकमा उठेका आन्दोलन र क्रान्ति गंगालालले सिकाएको विरोधको विरासतमा उभिएका छन् ।
विरोधको विधि रचना गर्ने पनि कुनै आदिपुरुष हुनुपर्दोरहेछ । विरोध र विद्रोहका आदिपुरुषहरू खोजी गर्ने सिलसिलामा म हमेसा हर्कुलससामु पुग्दछु । र उनको असिम साहसको वन्दना गाउँछु । हुन त उनी प्राचीन ग्रीसका मिथकीय पात्र थिए । तरपनि मिथकीय पात्रका महागाथाबाट सत्य र न्यायको बाटोमा हिँड्न धर्तीको मनुवाले असीम प्रेरणा सँगालेको छ ।
हर्कुलस ग्रिकपुराणमा वर्णित एक मानवीय पात्र हो, जसले राक्षसी अत्याचार र आतंकका विरुद्ध जुझ्न र मानव संसारलाई जोगाउन अदम्य साहस देखायो । सर्वसाधारण किसानका गाईबाख्रा खाइदिने नेमियन सिहंलाई दिउँसै पछारेर त्यसको छाला काढ्यो र वस्त्र–आभूषण बनायो । हर्कुलसको साहस र पराक्रम देखेर अत्याचारी डरछेरुवा राजासमेत पित्ले भाँडोमा लुकिबसेको कथा कम्ति रोचक छैन । स्टाइफल्स ताल वरिपरि मान्छेको मासु लुछ्ने खतरनाक नरघाती गिद्धहरू छन् । ती गिद्धहरु उपर पहिलोचोटि हर्कुलसले नै वाण चलाएको हो । अहिले पनि मनुवा भेषमा मनुवाको रगत मासु भक्षण गर्ने गिद्धहरू छन् । बाज, बेसारा, बौँडाई र हुच्चिलहरु जीवित छन् । तिनले मान्छेको टाउको ठुँगिरहेका छन् । मान्छेको मुटु कलेजो लुछिरहेका छन् । चल्लाहरूको जीवन रक्षार्थ अझ पनि एकथान हर्कुलसको आवश्यकता खड्किरहेको छ ।
पूर्णरुपले मानवीय संसार सिर्जना नहुन्जेल हर्कुलसको बागी चेतना जीवित रहनु पर्छ । क्रेटनको साँढे समात्ने हर्कुलस अझै आवश्यक छ । केर्वरसको कुकुर बाँध्न आँट गर्ने हर्कुलस हामीलाई पनि चाहिएको छ । हर्कुलस दुनियाँका असत् दानवीय शक्तिको विरोधमा उभिएको प्रतीकात्मक पात्र हो । यसले अहिले पनि सत्य र न्यायका निम्ति संघर्ष गर्न मानव दिलमा साहसको सञ्चार गर्दछ । कथाले भन्छ– हर्कुलस आफ्नो सुकर्मले मृत्युपछि देउता बन्यो अरे । उसले माउन्ट ओलम्पसमा सम्मानित स्थान पायो अरे ।
मिथकीय पात्रकै कुरा गर्दा प्रमिथसले पहिलोचोटि देवताको अधिनमा रहेको आगो चोर्ने चेष्टा ग¥यो । सायद सभ्यताको आदिमकालको कुरा थियो होला । आगो आफैँमा अमूल्य सम्पत्तिको रुपमा रहेको युग हुनुपर्छ । सायद आगो सर्वसाधारण मनुष्यका निम्ति वर्जित थियो होला । जाडो र भोकले मान्छे मरिरहेको दृश्य प्रमिथसले देख्यो होला । स्वर्गको आगो चोरेर गरीबं दुःखी मनुवालाई जाडो र भोकबाट मुक्ति दियो । देउताका राजा जिउसको अवज्ञा गरेको थियो उसले । मान्छेलाई विद्रोह र ज्ञानको बाटो देखाएको थियो उसले । स्वतन्त्रता र मुक्तिको सूत्र सिकाएको थियो उसले । त्यसैले त स्वर्गको आगो चोरेर धर्तीको जाडो भगाएको अभियोगमा उसलाई राजा जिउसले बडेमानको पत्थरमा साङ्लाले टनटनी कसेर चिलहरूलाई मुटु कलेजो ठुङ्गाउने काम गरे । यो उसलाई दिएको अमानवीय दण्ड थियो । दिनभरि चिलले लुछेर झुत्रो पारेको कलेजो रातभरिमा पलाएर पुष्ट भैसक्थ्यो । उसको विद्रोही चेतनालाई कसैगर्दा पनि जिउसले गलाउन सकेन ।
आज तिनै प्रमिथस प्रेरणाको अजम्मरी विम्ब बनेर सर्जकका रचनामा आरेखित पात्र बनेका छन् । विरोध र विद्रोहको धीरोदात्त नायक बनेर काव्यकुञ्जहरूमा पुनःर्सिजित भैरहेका छन् । यस्ता पात्रले मानव जगतलाई विरोध बोल्न सिकाए । बिरोध लेख्न र विरोध बाँच्न सिकाए । कंशका विरोधमा कृष्ण नउभ्भिएका भए न्यायको युद्ध द्वापरमै अड्किबस्थ्यो कि ! त्यसैले विरोध हमेसा ध्वंसात्मक परिणति दिनेमात्र हुन्न, विरोधबाट सृजनको नवक्षितिज पनि निर्माण हुन्छ । विरोधमा रुग्ण रुक्षता मात्र हुन्न, यसले शान्तिको शालीन स्थिति अवतरण गराउँछ । तर, विरोध रचनात्मक ध्येयबाट उठेको हुनुपर्छ । विरोध अरुलाई दुखाउन होइन, बरु दुखेको आत्मामा मलमपट्टी गर्ने हेतुबाट सिर्जित हुनुपर्छ ।