14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मूल्य निर्माण

कथा डा. कविताराम श्रेष्ठ December 29, 2008, 12:39 am

हे पाठकगण! विसं २५४८ को कुरो हो, मान्छेहरू विज्ञानका प्रगतिबाट उन्मत्त थिए। उन्मादबाटै उनीहरूबाट ठूलै गल्ति भयो र पृथ्वीमा ठूलो आाणविक दुर्घटना भयो। रेडियोधर्मीले पृथ्वीका चराचर मर्ने मरे नमर्नेहरूका जीन र क्रमोजोमलाई पूर्णतः विकृत गरिदिए। पृथ्वीका चराचरका नश्ल नै विगे्रर गयो। पशुपन्छि, कीराफटेंग्रा, मान्छे तथा वनस्पति अब त्यही नश्लमा उत्पादित हुन छाडे।

हे पाठकगण! मान्छे जन्मदै मान्छे रहेन। त्यो पूर्ववत स्वरूप रहेन। कसैका पखेटा भए, कसैका पुच्छर त कसैका सिंग वा सुँड। कसैका ढाडमा गोहीका जस्तै काँडा भए ता कसैका शरीरभरी कत्ला वा प्वाँख वा भुत्ला। कसैका पंजा चराको जस्तै त कसैका भ्यागुताका जस्ता अनि कसैका चाहिं बाघभालुका जस्ता। कसैका टाउको मान्छेका जस्तै रहे त शरीर भने सपर्, वा चरा वा झुसिलकिरा वा भ्यागुता वा बाघभालुका जस्ता। कसैका भने शरीर चाहिं मान्छेका तर टाउको भने माछा वा सर्प वा भ्यागुता वा कीरा फटेंग्रा वा बाघभालु, भैंसी वा घोंडाका भए।

हे पाठक गण! यो जातिले पृथ्वीलाई ५०० वर्षसम्म राज्य गरे। त्यसपछि ३०४८ सालसम्म आउँदा उनीहरूले गुमाएका मानव सभ्यतालाई फेरि हत्याए। तर अव उनीहरूले चेत पाइसकेका थिए। फेरि त्यही गल्ति उनीहरू चाहँदैनथे। बरु नामेट भएको मान्छेजातिको मौलिक स्वरूपलाई उनीहरूले स्थापना गर्न चाहे। हे पाठकगण! त्यसको लागि उनीहरूलाई मान्छेको मौलिक नश्ल चाहिएथ्यो जो उनीहरूको समयमा उपलव्ध थिएन। उनीहरूले एक हजार वर्ष पुरानो समय विसं २०४८ मा समयभ्रमण गरी एकजोडी मानव नश्ल समातेर ल्याए। तर प्रेमीप्रमिका भनेर ल्याइएका ती जोडी नातेदार भित्रका परेछन् र उनीहरू वीच यौनसमागम हुन सकेन। समस्या पर्‍यो।

हे पाठकगण! विसं ३०४८ सालमा समाज कुनै राजा वा राष्ट्रपतिबाट नियन्त्रित थिएन। सुपरकम्प्यूटर नियन्त्रक थिए त्यसबखत। अपहरित जोडी कबहादुर र खकुमारीबाट मानवजातिको नश्ल प्राप्त गर्न नियन्त्रक आकाश पाताल जोड्छन्। त्यही वार्तालापको प्रत्यक्षदर्शन यहाँ निम्नानुसार गराइन्छ।

नियन्त्रक : हे पूर्वज महोदय! मान्छेहरूले निक्कै छोटो समयमा आफ्ना दुराग्रह, दम्भ, ढोंग र घमडहरूका कारण निक्कै नै पाठहरू सिके। हे महान पूर्वज! मान्छेहरूले अनेकन वेअर्थी मूल्यहरू सृजना गर्दै आदर्शताको नाममा आफूलाई धेरैचोटि बलिदान गराए। प्रत्येकचोटी पूर्वमूल्यलाई दुराग्रह भन्दै नयाँ स्वाभाविक मूल्यको नाममा अर्को ढोंग र दम्भहरूका शिकार भए। अव आएर मान्छेले मान्छेजातिको भावुक हुने गुण नै आफ्ना दुर्दशाका मूल कारण मानेर आफ्नै भावनाहरूलाई नियन्त्रण गर्न र विषयवस्तुलाई बढी वस्तुपरक गराउन यन्त्र र गणितहरूको सहारा लिन लागे। हे महोदय! यन्त्रहरू पनि त मानव भावनाकै अनुरूप काम गर्छन्। यसलाई कार्यरत गराउन तथ्यांक प्रदान गर्ने त आखिर मान्छे स्वयं नै हो। मान्छेहरूले यन्त्रलाई त्यस्तै दुराग्रहले तथ्याऒ्ढहरू खुवाउन छोड्दैनन् भने यन्त्रले पनि गलत निर्क्यौल र त्यसै अनुरूप गलत निर्देशन त दिन्छ नै। जसले गर्दा त्यस दुराग्रहको शिकार अन्ततः मान्छे नै हुन जान्छ। हे महोदय, यस्तै नयाँ दिव्य दृष्टिकोणबाट निर्देशित मान्छेहरूले अर्कै नयाँ वस्तुपरक संस्कृतिको विकास गरे र आजको स्थितिसम्म मान्छेलाई सम्हाल्दै ल्याएको छ। महोदय, तपाईंले आजको स्थिति देख्नुभएकै छ। मान्छेहरूले अव चेत पाइसकेका छन्। अव मान्छेजातिमा त्यो उदडता र त्यो उछृंखलता छैन। ..... आगे तपाईंको जो मर्जी।

कबहादुर : यो चेताईको पनि के अर्थ भयो? सम्पूर्ण मानवीय इतिहास नै ध्वस्त भयो। मान्छेजातिको वंशवीर्य नै नामेट भयो।

नियन्त्रक : नामेट भएको छैन। पुनर्स्थापना गर्न सकिन्छ। त्यसै क्रममा तपाईंहरूलाई ल्याएका छौं।

कबहादुर : माफ गर्नुहोला, यस मशिनी युगको भूलका शिकार हामी बन्न चाहदैनौं। तपाईंहरू हामीलाई बच्चाबचेरा काढ्ने पाल्तु जनावरसरह व्यवहार गर्दै हुनुहुन्छ। हामी जनावर होइनौं।

नियन्त्रक : मानववंश श्रृंखलाका लागि तपाईंले यति सुकर्म गर्नैपर्‍यो।

कबहादुर : नियन्त्रक महोदय, तपाईं र हामी बीच युगौंयुगका मूल्यहरू व्यवधान भएका छन्। तपाईंहरू जुन कर्मलाई सुकर्म भन्दै हुनुहुन्छ हामीलाई त्यो कुकर्म हुन जान्छ। हामी नातेदार हौं। हामीमा शारीरिक सम्बन्ध हुनै सक्तैन। तपाईंहरू फेरि कुनै पनि समयमा फर्केर किन अरू जोडी ल्याउने प्रयत्न गर्नुहुन्न?

नियन्त्रक : महोदय, कुनै पनि युगका जोडी ल्याएपनि त्यस युगका मान्छेहरूले आफ्ना संस्कार त फुकालेर आएका हुन्नन्। उनीहरूका संस्कारमा व्याप्त मूल्यहरू हामीलाई व्यवधान भइहाल्छन्। ... हामीले यी कुरा पहिले नै बुझेका छौं र हाम्रै भूगोलका सबभन्दा उपयुक्त जोडी तपार्इंहरूलाई मानेर ल्याएका छौं। हे महामहिम, हामीले यसै हचपचमा तपाईंहरूलाई छानेका होइनौं। लामै समयसम्म तपाईंहरूका शारीरिक स्वस्थता लगायत तपाईंहरूका प्रेमप्रतिका निष्ठाका पनि अध्ययन गरेका छौं। हामीले तपाईंहरूबाट सबभन्दा कम व्यवधानका आशा गरेका थियौं। ... हामीले यो बुझेका छैनौं कि तपाईंहरूका प्रेमव्यवहारका नियमलाई हेर्दा तपाईंहरूबीच सजिलै शारीरिक सम्बन्ध हुनुपर्ने हो, तर तपाईंहरू भन्नुहुन्छ – हुन सक्तैन। ... हे महामहिम, यहाँ जसलाई ल्याएपनि एउटा मूल्यबाट हामी छुटकारा पाउँछौं भने अर्कोबाट अवश्य मार खान्छौं। मूल्य कहाँ एउटा मात्र छ र? ... तपाईंहरू यहाँसम्म आइपुग्दा नै कतिपवटा मूल्यगत व्यवधान पार गरिसकिएको छ। हे महामहिम, हामी अझै तपाईंहरूबाटै यो कार्य सिद्ध गर्न धृष्टता लिंदैछौं। ... यस क्रममा म विश्वास दिलाउन चाहन्छु हामी जबर्जस्ती चाहिं कुनै हालतमा पनि गर्दैनौं।

कबहादुर : तपाईं निसन्देह जबर्जस्ती गर्दैहुनुहुन्छ। निकै जबर्जस्तीका साथ हामीलाई यहाँसम्म ल्याउनुभएको छ। हामीले पाइलापाइलामा यो अनुभव गर्दै आएका छौं। नियन्त्रकज्यू, तपाईंले हाम्रा प्रेमका निष्ठालाई तर्कको विषय बनाउनुभयो। तपाईंलाई भनिदिउँ हाम्रो प्रेम सच्चा थियो र त्यो प्रेमनियमले यौनसम्बन्ध कुनै अनैतिक मानिने थिएन। तर पछि आएर हामीलाई थाहा भो हामी नातेदार रहेछौं, जहाँ हाम्रो प्रेम नै अनैतिक हुन गयो। ... हामी त्यही संक्रमणकालमा भएकै बेला तपाईंहरूले हामीलाई अपहरण गरेर ल्याउनुभयो। हामी धन्य छौं हामीले यौनसम्बन्ध राख्न अगावै हाम्रा बीच नातेदारी सम्बन्धको ज्ञान भयो।

नियन्त्रक, म बुदछु तपाईंहरूलाई यी मूल्यहरूको कुनै अर्थ छैन। तर, बुनुहोस्, जसरी तपाईंहरू प्राप्त तथ्यांकका आधारमा कार्यरत हुनुहुन्छ, त्यसरी हामी पनि प्राप्त संस्कारका आधारमा कार्यरत हुन्छौं। जसरी तपाईंहरू प्राप्त तथ्यांकका विश्लेषणबाट नियमहरू बनाउनुहुन्छ, त्यसरी नै हामी पनि संस्कारका मन्थनबाट मूल्यहरू बनाउँछौं। फरक यति हो तपाईंहरू प्रोग्राम बदल्नासाथ व्यवहार बदल्न सक्नुहुन्छ। हामीलाई त्यसरी तत्काल मूल्य बदल्न संभव छैन।

नियन्त्रक : हे महोदय, जतिवटा प्रोग्राम बदले पनि हामी तथ्यांकका आधारमै कार्यरत छौं। हाम्रा नियम साश्वत हुने गर्छन्।

कबहादुर : बुझें। तर हामी अंकहरू खाएर कार्यरत हुँदैनांैं। मान्छे भएकोले हामीमा मानवीय आत्मपरक भावनाहरू हुन्छन्, जो निश्चित अंकको दायरामा पर्दैनन्। त्यसैले हाम्रा व्यवहारले अंकको व्यवहार जस्तो त गर्दैन तैपनि ती कहिल्यै निराधार भने हुँदैनन् र नियमहीन पनि हुँदैनन्। ती सवै समाजबाट अभिमत प्राप्त मूल्यहरूसंग नियमित हुन्छन्। समाजको अभिमत नै हाम्रो मूल्यको मुख्य आधार हो। नियमको आधार हो। त्यसै नियमको आधारमा हामी नातेदारहरूबीच शारीरिक सम्बन्ध हुन सक्तैन।

नियन्त्रक : यस्ता भावनात्मक नियमको कुनै ठोस रूप हुँदैन। त्यसैले त्यहाँ ठोस र एकनिष्ठ व्यवहार हुँदैन। तैपनि भावनाहरूलाई स्वभावसम्मत बनाउन सक्नुभयो भने ती तपाईंका व्यवहार पनि अंकले प्रायोजित गरेका नियमका नजिक हुन सक्छन्। अतः हे महामहिम, स्वभावसम्मत हुनुहोस्। स्वभाव सधैं एउटा ठोस आधारमा प्रवाहित हुन्छ। भूईंमा खन्याएको पानीका गतिको नियम नै स्वाभाविक नियम हो। पानीको गति जस्तै स्वाभाविक हुनुहोस्। मान्छेका गतिका नियम सधैं उनका आवश्यकताको आधारमा प्रवाहित छन्। हे महामहिम, आजको आवश्यकता मानववंशको रक्षा हो। ... तपाईं जुन मानवीय भावको रक्षा गर्न चाहनुहुन्छ त्यही मानवीयताको रक्षाकै खातिर पनि मानववंशको रक्षा हुन अति आवश्यक छ। तपाईंबाट मानववंशको श्रृंखलालाई निरन्तरता प्रदान हुनु भनेको मानवीयताको रक्षा हुनु हो। हे महामहिम, तपाईं धन्य हुनुहुनेछ। ...

कबहादुर : नियन्त्रक महोदय, तपाईं हाम्रो मस्तिष्कलाई धुलाई गर्ने प्रयत्नमा हुनुहुन्छ।

नियन्त्रक : धृष्टता क्षमा रहोस् महान पूर्वज, हामी आफ्ना कुरा बुझाउने प्रयत्नमा मात्र छौं। मस्तिष्कको धुलाई जस्ता अमानुषिक कार्य गर्दैनौं। यो आजको समाजमा वर्जित छ।

कबहादुर : तपाईं हामीलाई विवश गराएर आफ्नो कार्यसिद्ध गराउने क्रममा हुनुहुन्छ। हामी बाँधिएका पशुसरह विवश छौं। हाम्रा आफ्नै पारामा बाँच्ने स्वतन्त्रताको तपाईं हनन गर्दै हुनुहुन्छ। यो निश्चय नै अमानुषिक व्यवहार हो। मानवीयताका कुरा गर्नहुन्छ भने हामीलाई ससम्मान फिर्ता लानोस् फिर्ता।

नियन्त्रक : महोदय, अवश्यै लान्छौं। नत्र हाम्रा प्राचीन युगका मानवीय प्रयत्नहरू यसै टुहुरा भएका हुनेछन्। तपाइंले आफ्ना समयमा ती कार्यहरू पूरा गर्नुभएका हुनेछन् र हामीलाई हज्जार वर्ष पछाडिका यी प्रविधि हासिल भएका हुनेछन्। हाम्रै जगका ती खुड्किला हामी विगार्न चाहन्नौं। ... तपाईं जब कि यहाँ आइनै सक्नुभयो कृपया आफ्नो भविष्यत पिंढीको लागि एउटा वरदान दिएर फर्कनुहोस्। तपाईंका योगदान मान्छेको इतिहासमा सुनौला अक्षरले लेखिने छ।

धेरै वेरसम्म चुप रहेकी खकुमारी अब बोल्न लाग्छिन्।

खकुमारी : क, के तिमीले यो सोचेका छौ कि हामी हाम्रा समयमा फर्केर हामीले कल्पेका साझा जिन्दगी बिताउनु सक्तैनौं।

कबहादुर : ख, के यो तिमी नै बोल्दै छौ? तिमी त म भन्दा पनि पुरातनपन्थी थियौ। ज्यान जावस् आफ्ना संस्कारलाई बदल्नेवाला थिइनौ। के भयो तिमीलाई? तिमी कसरी लोभियौ? के तिमी आफ्ना स्वार्थका लागि यसै युगमा बस्न चाहन्छ्यौ?

खकुमारी : म लोभिएको छैन, क। स्वाभाविक भएर स्वाभावकै धर्ममा आफूलाई खन्याएर हेर्दा मैले स्वभाविक धर्मदर्शन पाएँ। त्यही स्वभावका धर्मबाट स्वभाविक अभिव्यक्ति दिएकी हुँ। मानव जातिको अस्तित्वको लागि प्रस्तुत भएको हुँ। अन्यथा नसोच।

कबहादुर : तिम्रो मस्तिष्क पुरै मेटिइसकेछ। तिम्रा मस्तिष्कलाई यस युगका विषालु मूल्यहरूले डसिसकेछन्। म एक्लो हुँदैछु।

खकुमारी : क, के तिमी सहमत छैनौ कि हामी समस्त मानवजाति एउटै बीजबाट झांगियौं। के यस हिसावमा हामी समस्त मानव जाति एउटै नातेदारी भित्र पर्दैनौं? तिम्रा समस्त मूल्य र मान्यताका स्रोत धर्मदर्शनले नै भनेको छ, मानवजाति एकै पिता मनुका सन्तान हुन्। अरू धर्मग्रन्थले पनि यसै भन्छन् यद्यपि तिनले पिताका नामहरू फरक भन्ने गर्छन्। हामीले पनि मानिसकेका छौं कि मान्छे बाँदरका सन्तान हुन् र तिमीलाई थाहा छ बाँदरहरू भित्र नातेदारी बन्देज छैन।

कबहादुर : मान्छेहरू संस्कार आर्जन्छन्। संस्कारले मान्छेलाई निर्देशन गर्छ र उनका लागि पथ्य अपथ्य र पच्य अपच्य कुराहरू हुन्छन्। मैले आर्जेका संस्कारहरूले कति कुराहरू अपच्य गराएका छन्। अपच्य कुरा म खान सक्तिंन। व्यवहारमा ल्याउँन सक्तिंन। न त म बाँदर हुँ न त मेशिन नै। ख, तिम्रा यस परिवर्तनले मलाई तिमीबाट टाढा हुत्याउँदै छ। तिमी र मेरो बीचको दुरी बढ्दै छ। यसै दूरीले पनि मलाई स्वनिर्णय लिने बल प्राप्त भइरहेछ कि हामी नातेदारहरू बीच वैवाहिक सम्बन्ध कदापि हुनेछैन।

खकुमारी : यो बुझ, मैले वैवाहिक सम्बन्धको कुरा गरिरहेको होइन। म आफ्ना वैयक्तिक स्वार्थको लागि होइन सम्पूर्ण मानवजातिको कल्याणको लागि सोच्दैछु। नारी हुँ। जन्मजात जननी।

कबहादुर : म किरिया खाएर भन्दैछु, मैले तिमीसंग यसै क्षणबाट सम्बन्ध विच्छेद गरें।

खकुमारी : मलाई केही फरक परेको छैन। तिमी आफ्ना संस्कारबाट फुत्कन नसकेर उहीले नै मबाट सम्बन्ध विच्छेद गर्दै थियौं। अहिले मात्र तिमीलाई यो आभाष भएको छ। यो नसोच कि म प्रेमान्ध भएर यो निर्णय लिइरहेछु।

कबहादुर : के तिमीलाई हाम्रा विच्छेद हुने नियतिप्रति कत्ति पनि दुःख लागेको छैन।

खकुमारी : तिमी फेरि प्रेमकै दुहाई दिन लाग्दैछौ। कति कमजोर? यो दोधारेपन किन? के तिमीलाई दुःख लागेकै छ त?

कबहादुर : म निसहाय छु, निरीह छु ख, म तिमीलाई गुमाउन चाहन्न। वैवाहिक सम्बन्ध नसही यस्तै कुनै भावनात्मक सम्बन्ध म चाहन्छु। ... ख, म मर्न सक्छु तिमीबाट असम्वद्ध रहन सक्तिनँ।

खकुमारी : केटाकेटी नहोउ क, वस्ति स्थितिलाई हेर, आवश्यकतालाई हेर। जसरी तिमी हाम्रा सम्बन्धलाई कायम राख्न अर्को बाटोको खाजीमा छौ, त्यस्तै कुनै बाटो हुनसक्छ, जसको कारण यो युगले मानववंशको बीज प्राप्त गर्नेछ र हाम्रा मूल्य र मान्याको पनि निरादर हुनेछैन। सोच, यस्तै अप्ठ्याराहरूमा मान्छेले बीचबचाउका बाटो अर्थात् मूल्यहरू सिर्जना गर्ने गर्छन्।

कबहादुर : मेरो भन्नु यत्ति हो कि मेरा मन र मस्तिष्कले तिमीसंग समागम गर्ने कुरा सोच्नै सक्तैन।

खकुमारी : के तिमी मलाई नछोइकनै आफ्ना वीर्यदान गर्न तयार छौ?

कबहादुर : त्यसै स्खलित भएर जाने वीर्य मात्रले यस युगको भलो हुन्छ भने म तयार छु।

खकुमारी : उसो भए समस्या समाधान भयो। हे नियन्त्रक, कबाट वीर्य लिएर मभित्र कृत्रिम गर्भादान गराउनोस्। म तयार छु।

कबहादुर : हुन्न, हुन्न। मेरो वीर्य तिम्रो शरीरभित्र कल्पनासम्म गर्न सक्तिंन। यस शर्तमा म वीर्यदान गर्दिनँ।

खकुमारी : क, के तिम्रो वीर्य मेरो शरीरमा प्रयोग नभएमा तिमी वीर्यदानको लागि तयार छौ।

कबहादुर : मलाई केही सजिलो अनुभूत हुनेछ।

खकुमारी : उसो भए नियन्त्रक महोदय, हामी दुवैबाट वीर्य र डिम्बहरू दान लिनोस्। यिनलाई लगेर परीक्षण बोतलमा गर्भाधान गराउनोस्। ... युगको समस्या समाधान भयो। यो शुभकार्य शुरु गरिहाल्नोस्।

नियन्त्रक : साधुवाद, साधुवाद! धन्य हजुरको कृपाले मानववंशको परम्परा कायम रहने भयो। धन्य मातृस्वभाव, धन्य मातृभाव। युगौंयुगले मातृशक्तिलाई त्यसै पूजेको छैन। धन्य। हे युगमाता, हामी स्त्रीशरीरबाट महिनादिनमा बाह्रवटासम्म डिम्ब परिपक्व गर्नेगराउने प्रविधिमा पुगिसकेका छौं। वर्षदिन नपुग्दै तपाईंले हाम्रो युगलाई सयभन्दा बढी उत्तराधिकारी दिनुहुनेछ। यत्ति हो, तपाईंको शरीरमा विभिन्न प्रयोगहरू गर्नपर्ने हुन्छ। हे माता, एकैपल्ट मात्र तपाईंका शरीरलाई अनुकूलित गर्न पायौं भने तपाईं आफ्ना समयमा फर्कन सक्नुहुनेछ। हामी समयसमयमा डिम्बहरू लिन तपाईंकै समयमा आउनेछौं। माता तपाईंलाई कुनै कष्ट हुनेछैन। यस समयभ्रमणको तपाईंलाई संझनासम्म पनि हुनेछैन। तपाईंको कुमारीत्वको पनि रक्षा हुनेछ, जुन तपाईंको समयको एउटा महत्वपूर्ण मूल्य रहेको छ।

खकुमारी : हे नियन्त्रक, मानवजातिको त्यो जीवन्त भविष्यको लागि तपाईं मेरा शरीरलाई हज्जारौं टुक्रा गर्नुहोस् म तयार छु। मेरो कुमारीत्व भनेको गौण कुरा हो। नियन्त्रक महोदय, हाम्रो मूल्यप्रति तपाईंको यो सम्मानलाई म प्रशंसाको दृष्टिले हेर्छु। धन्यवाद।

कबहादुर : म अझै अन्यौलमा छु। के हुन गइरहेछ ख? ममा अझै संस्कारको खग्रास विद्यमान छ।

खकुमारी : तिमी भित्रका मृतप्रायः रुढीगत संस्कारले उठ्ने संघर्ष गरिरहेछ। एकैपल्ट मात्र दबाउन जरुरी छ, त्यसले फेरि उठ्ने कोशिस गर्ने छैन। जाउ र आफ्ना अमूल्य बीजाणु प्रदान गर। तिम्रो र मेरो समागम नभइकनै यो युगले उत्तराधिकारी पाउनेछ। हाम्रो पुरातन आदर्श नमरिकनै यो युगको लागि आदर्श नयाँ सिर्जना हुँदैछ। जाउ भविष्यका पिता यो पुय कामको थालनी गरिहाल।

समाप्त

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।