यता,
गाउँमा फेरि बाढीको भेषमा
रौद्ररूपको बिपद आयो,
ताथबास र हजारौँलाई बगायो,
निमेषमै बस्ती उजाड बनायो,
परिवारका सपना चुँडायो,
क्षतिसँगै हजारौँ भविष्य उडायो।
घर, खेतबारी, विकास बगायो,
बाबुको हलो, कुटो-कोदालो,
सँगै बगे पसिनाका सपना,
छोराछोरीका पुस्तक-झोला,
झोलाभित्र भविष्यका उज्याला।
छोराको नयाँ लुगा बगायो,
छोरीको घाँघर-चोली,
सँगै बगे बालापनका खुसी,
भाँडाकुँडा, अन्न र चुलो,
आमाको काखमै हरायो बोली।
बग्यो सबै-अब अर्काकै आस,
आफ्नो केही रहेन, भयो बेहालको बास।
उता,
सहरमा बाढी बन्छ रमिता र समाचार,
दुःखका तस्बिरले सजिन्छ सञ्जाल र सञ्चार।
विपत्तिमा पलाउँछ क्षणिक दया-माया,
मायाकै नाममा खुल्छ दाताको छाया।
भेला हुन्छन् जडौरीका ठूला खात,
कतै म्याद गुज्रिएका अन्न र खाजा,
कतै अबीर, खादा, माला र गाडी
राहतभन्दा ठूलो हुन्छ तामझामको सवारी।
लाग्छ घुइँचो राहत लिनेको,
फोटो खिचिन्छ पोका दिनेको।
खादा-मालाले नेता सजिन्छन्,
दुःखमाथि उभिएर मुस्कान छर्छन्।
भाषण गुञ्जिन्छ देश-विकासको,
मौन रहन्छ प्रश्न - स्थायी निकासको।
कसको हातमा पुग्यो राहत,
कसले गन्यो हिसाब?
पीडितको पेटभन्दा ठूलो
किन प्रचारको किताब?
चलिरहन्छ क्रम - दिने र लिनेको,
बिपदपछि मात्र जुर्छ नाम र प्रचार हुनेको।
तर,
समयचक्र चलिरहन्छ,
बिपद ओझेलमा पर्न शुरु हुन्छ,
समाचारको भीड पनि हट्छ,
दाता, समाज, राष्ट्रको चासो घट्छ,
पिडितका घाउहरू भग्नावशेष मैं बस्छन्,
आँसु सुक्छन्, अभाव बढ्छ।
बिपदले छोडेका पीडा स्मृति बनेर होइन,
भोक, ऋण र विस्थापन बनेर बाँच्छ।
बिपद फेरि बिनाश बोकेर आउँछ,
फेरि बादल मडारिन्छ,
फेरि नदीनाला उर्लिन्छन्,
फेरि मान्छे, घर, खेत र सपनाहरू
पहिरो, बाढि र भेलसँगै बग्छन् भने
र हामी राहतका पोका गन्छौँ भने,
त्यस्तो नियति फेरि नहोस्!
राहतको प्रतीक्षामा होइन,
पूर्वसूचना, सुरक्षित बास र तयारीमा
मानिसको भरोसा जागोस्।
बिपद आएपछि मात्र उद्धार होइन,
बिपद अघि जोखिम घटाउने पनि
राज्यको जिम्मेवारी जागोस्।
नदी थुनेर गरिने विकास विकास होइन,
जोखिममाथि बस्ती बसाल्नु समृद्धि होइन।
नदीका बहाव, प्रकृतिका संकेत
र आकाशको चेतावनी बुझौँ;
तटबन्ध, निकास र सुरक्षित आवास
कागजमा होइन - जमिनमै बनाऔँ।
राहतका पोका मात्र बाँडेर
जवाफदेहिता पूरा हुँदैन;
कारण नसुधारेसम्म
भाषणले पीडा कहिल्यै धुँदैन।
मानव जीवनलाई पहिलो ठानौँ,
विपदलाई भाग्य होइन - जिम्मेवारी मानौँ।
हरेक वर्ष, यही पीडा दोहोरिनु हुँदैन,
हरेक वर्ष, यस्तै कविता लेखिनु हुँदैन।
अब फेरि आउन सक्ने बिपदमा
बिनाश र बितण्डाका समाचार होइन,
बिपदबाट जोगिएका कथा सुनियोस्
सुरक्षित घरका उज्याला झ्यालहरू देखिउन्।
राहतको फोटोहरु मात्र होइन,
पूर्वतयारीको परिणाम देखियोस्।
बिपद हाम्रो नियति होइन,
हामीले बदल्न सक्ने भविष्य बनोस्।
कोटेश्वर, काठमाडौँ