पृष्ठभूमि
नारायण मरासिनी (वि.सं. २०२९) ले कविता, कथा, समालोचना, निबन्ध–नियात्रा लगायतका साहित्यिक विधामा कलम चलाएका छन् । २०४६ सालको जनआन्दोलनपछिको सापेक्ष खुला परिवेशमा कविता लेख्ने क्रम सुरु गरेका मरासिनीका पुस्तकाकार रूपमा ‘तीजको कोसेली’ (गीतहरूको सँगालो– २०५०), ‘समयका धब्बाहरू’ (मुक्तक सङ्ग्रह– २०५१), ‘साने’ (खण्डकाव्य– २०५६), ‘रणभूमिबाट’ (कविता सङ्ग्रह– २०६३), ‘हेडसरका कथाहरू’ (लघुकथा सङ्ग्रह– २०७१), ‘बिहेको निम्तो’ (कथा सङ्ग्रह– २०७८), ‘घैँटीको मूल्य’ (कथा सङ्ग्रह– २०८१) लगायतका कृतिहरू प्रकाशित छन् । त्यसै गरी विभिन्न साहित्यिक पत्रिका एवम् पुस्तकहरूको सम्पादन\सह–सम्पादनमा पनि मरासिनीको भूमिका महत्वपूर्ण देखिन्छ । आफ्ना काव्यकृतिहरूमा समसामयिक तथा युगीन परिवेशका विम्बहरू टिप्ने प्रयास गरेका मरासिनी सरल एवम् बौद्धिक कवि प्रतिभाका धनी व्यक्ति हुन् ।
शोषित–पीडित, श्रमिक तथा सर्वहारा वर्गको हितलाई केन्द्रमा राखेर सामाजिक रुपान्तरणका लागि सिर्जना गरिने साहित्य प्रगतिवादी साहित्य हो । प्रगतिवादी साहित्यको सैद्धान्तिक धरातल मार्क्सवाद हो । प्रगतिवादी साहित्यलाई मार्क्सवादी साहित्य पनि भनिन्छ । मार्क्सवादी चिन्तनका आधारमा वर्गीय विभेद, शोषण, रुढिवाद अन्धविश्वास एवम् असमानताका विरुद्ध सङ्घर्ष गर्ने साहित्यिक वाद नै प्रगतिवाद हो । मरासिनीका कवितामा सामन्तवादको विरोध, श्रमिकहरूको पक्षमा वकालत, असमानताको विरोध, वर्ग सङ्घर्ष जस्ता विषयवस्तु छन् । यस्तै उनका कवितामा आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक संचेतना पाइन्छ । शोषण तथा अन्यायको विरोध र साहित्यका माध्यमबाट समाजलाई परिवर्तनका दिशामा अग्रसर गराउने उनको ‘रणभूमिबाट’ कविता सङ्ग्रहमा सङ्कलित कविताहरूलाई प्रगतिवादी सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गर्नु यस लेखको मुख्य विषय रहेको छ । निम्न उपशीर्षकमा यस कविता सङ्ग्रहभित्रका कविताको विश्लेषण गरिएको छः
१ यथार्थवादी दृष्टिकोण
मार्क्सवादले अपनाएको वस्तुवादी भौतिकवादी दृष्टिकोणलाई प्रगतिवादी यथार्थ दृष्टिकोणको रूपमा चर्चा गरिन्छ । यथार्थवादी दृष्टिकोण भन्नाले जुन वस्तु जस्तो छ त्यस्तै चित्रण गर्नु हो । समाजमा देखिएका विसङ्गत पक्षलाई जस्ताको त्यस्तै साहित्यिक रूपमा प्रस्तुत गर्ने भएकाले साहित्यमा यथार्थवादी दृष्टिकोण निकै लोकप्रिय भएको छ । यद्यपि प्रगतिवादी साहित्यमा यथार्थको प्रस्तुति समाजको रुपान्तरणका लागि हुनुपर्छ । मानिसले जीवन यापनका क्रममा गर्ने विविध सङ्घर्ष, आफ्ना मनमा उत्पन्न हुने उत्साह, आशा, इच्छाहरूलाई बलियो पारी भावना र कल्पनामा सौन्दर्य थप्दै समाजमा व्याप्त शोषण, दमन, अत्याचार, अन्याय, सामाजिक÷राजनैतिक विसङ्गतिका विरुद्ध आवाज बुलन्द पार्ने काम यथार्थवादी साहित्यले गर्दछ । साहित्यकार जुन समाजमा जन्मेहुर्केको हुन्छ स्वाभाविक रूपमा त्यस समाजको प्रभाव साहित्यकारमा परेको हुन्छ र त्यसको आधारमा साहित्य सिर्जना हुने गर्छ । सिर्जनाका सन्दर्भमा वर्तमान यथार्थलाई प्रस्तुत गर्दै नयाँ यथार्थको खोजी गर्नु अर्थात् समाजलाई बदल्नु प्रमुख कुरा हो । मरासिनी खास गरी आफ्नो परिवेशको गहन अध्ययन गरेर यथार्थवादमा आधारित कविता सिर्जना गर्ने सर्जक भएकाले उनका कवितामा यथार्थवादी दृष्टिकोण प्राप्त गर्न सकिन्छ ः
कोदालो हँसिया लिएर सबले कान्ला खनेका थियौँ
चर्को घाम चुहाइ तप्प पसिना थोपा गनेका थियौँ
हातेसार गरेर सर्वजनमा माया छरेका थियौँ
मेलापात सबै हराइ अब ता कुर्सीपियारा भयौँ ।
आफ्नो मात्र नहेरि स्वार्थ–सुविधा साझा जिएका थियौँ
सेवा–भाव लिएर त्यो समयमा पीडा पिएका थियौँ
गावैंमा रहँदा समान रूपले भोटो कसेका थियौँ
बिर्सेछौँ फरिया, कछाड अब ता कुर्सीपियारा भयौँ । (कुर्सीपियारा भयौँ, पृ.५)
यस कवितामा कविले गाउँको परिवेशबाट उठेर नेता भएपछि स्वार्थी बनेको, सेवाको भावना हराएको, गाउँमा श्रम गरेको बिर्सेर कुर्चीको लागि मात्र दौडधूप गरेको सामाजिक यथार्थलाई दर्शाएका छन् । गाउँमा सबै जनासँग मिलेर बसेको, मायाममता साटासाट गरेको, भोटो र कछाडमा जीवन चलाएको आफ्नो धरातल बिर्सेको वास्तविकतालाई कविले उजागर गरेका छन् । नेपाली ग्रामीण जनजीवनको चित्रण गरिएको यस कवितामा जनताको र हालका नेताहरूको अवस्थाका बिच तुलनात्मक रूपमा विचार प्रस्तुत गरिएको छ । गाउँप्रति अगाध आस्था प्रकट गरिएको यस कवितामा गाउँबस्तीबाट उठेर गएका नेताहरूप्रति व्यङ्ग्य गरिएको छ । नेताहरू जब कुर्चीमा पुग्दछन् र कुर्चीको मोह हुन्छ तब उनीहरूले ग्रामीण बस्तीमा रहेर श्रम बगाइरहेका, दुःख पाइरहेका जनताप्रति कुनै वास्ता नगर्ने प्रचलनको व्यङ्ग्यात्मक शैलीमा विरोध गरेका छन् । आफ्नो धरातल बिर्सने नेताहरूले जनताको हितमा काम नगर्ने सन्देश यस कवितामा दिइएको छ ।
खोक्रो आस दिएर यो मुलुकको सत्ता लिएका थियौँ
भत्ता, कार बढाइ धेर सुविधा सट्टा महङ्गी दियौँ
सोझा यी जनता छलेर कति पो टिक्ला र यस्तो पन
भोको पेट भरिन्न भाषण सुनी पाएर आश्वासन । (आत्मालोचना, पृ.३)
‘आत्मालोचना’ कवितामा नेपाल एकीकरणको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै वीर पुर्खाहरूको महान् बलिदान एवम् त्यागलाई सम्मान गरिएको छ । कवितामा व्यक्तिगत स्वार्थमा लिप्त भएर राष्ट्रलाई धोका दिई नेपालीहरू एकआपसमा फुटेको र घर टुक्राटुक्रा भएकामा दुःख व्यक्त गरिएको छ । राष्ट्रवादको नाममा खोक्रा आश्वासन दिएर सत्तामा बसेका व्यक्तिहरूले आफ्नो स्वार्थका निम्ति जनमतको कदर नगरेको, साम्राज्यवादको पछाडि लागेर राष्ट्रिय स्वार्थलाई गौण बनाउने देशका शासकहरूलाई खबरदारी गरिएको छ । जनताको सेवा र सुविधातर्फ ध्यान नदिई आफूले मात्र सुविधा उपभोग गर्ने, जनतालाई सुविधा दिनुको सट्टा महङ्गी थोपर्ने, मोजमस्तीका साथ चिल्ला कारमा सयर गर्ने नेताहरूको शासन भोको पेट भएका जनताले धेरै दिन सहेर नबस्ने चेतावनी यस कवितामा दिइएको छ ।
‘पैसा विषालु हुने’ कवितामा पुँजीवादी चिन्तन व्यवस्थाले क्षतविक्षत बनेको वर्तमान समाजप्रति व्यङ्ग्य गरिएको छ । पैसाकै कारणबाट मानव समुदाय विकृत बन्दै गएको यथार्थ यहाँ प्रकट छ । पैसा कमाउन मानिस जतिसुकै तल गिर्न पनि पछि नपरेको, पैसा कमाउन मानिसले मानवीय व्यवहार परित्याग गरेको, हत्या, हिंसा, लुटपाट, काटमार गरेको, श्रमशोषणमा लागेको जस्ता मानवीय कुरूप पक्षको चित्रण मर्मस्पर्शी ढङ्गले यस कवितामा प्रस्तुत गरिएको छ । मानवतालाई बिर्संदा वर्तमानमा पैसाले विषालु रूप धारण गरेको छ । जताततै बिगार्ने, उन्माद मच्चाउने, फोस्रो धाक जमाउने, आफन्त लत्याउने जस्ता कुकृत्य पैसाको आडमा मानवले गर्दै आएको वर्तमान अवस्थालाई कवितामा यसरी झल्काइएको छ ः
बाँच्ने साधन मात्र हो अरु बढी पैसा विषालु हुने
यै हो यो जगतै बिगार्न कसिने उन्माद मच्चाउने
फोस्रो धाक जमाउने धन हुने चिल्ला कुरा गाउने
आफ्नै मात्र दुनो सिधा गरिलिने आफन्त लत्याउने । (पैसा विषालु हुने, पृ.८)
२. भविष्यप्रतिको आशा
प्रगतिवादको मान्यताअनुरूप सामन्तवादको अन्त्यपछि एउटा सुन्दर भविष्यको निर्माण हुँदै छ र समाजवादको विकास हुनेछ भन्ने भविष्यको आशा बोकेको कविता ‘छैन हाम्रो निराशा’ मा समाजमा देखिएको सामन्तवादको चपेटामा परी जीवन जिउन बाध्य भएका गरीबनिमुखा जनताको जीवन धरापमा परेको व्यथालाई दर्शाइएको छ । सामन्तवादको अन्त्यका लागि संघर्षरत नेताहरू जेलमा रहेको र सामन्तहरू मञ्चमा विराजमान भएको तीतो यथार्थलाई प्रस्तुत गरिएको छ । मानिसका विविध सपनाहरू पूरा गर्नको लागि सङ्घर्षरत व्यक्तिको पथमा हिँड्ने, मानिसहरू थपिँदै जाने र संख्या बढ्नाले क्रान्ति थप पेचिलो बन्नेतर्फ सङ्केत गरिएको छ । यसका लागि हतोत्साही नभई प्रगतिपथमा लम्कँदा ज्यानको बलि चढाउन पनि पछि नपर्ने र यसबाट सामन्तवादको अन्त्य हुने आशा यसरी व्यक्त गरिएको छः
मर्नैपर्ने नियम छ यहाँ ती गराला झिकेर
मार्ने चाहा दनुजहरूको रुद्रघण्टी थिचेर
पायौँ धोखा तर पनि अझै नित्य नौलो छ आशा
बाँकी ज्यानै पनि बलि चढौँ छैन हाम्रो निराशा । (छैन हाम्रो निराशा, पृ. २२)
‘छाताको कथा’ कवितामा देशका शासकहरू बेइमान, आफ्नो मात्र दुनो सोझ्याउने स्वार्थी, जनताको मर्म नबुझ्ने हुँदा यस्ता शासकहरूबाट समाज परिवर्तन हुन नसक्ने विचार प्रकट गरिएको छ । आदर्शका कुरा गर्ने, जनताका सपनाहरूको बेवास्ता गर्ने दलहरूबाट नेपाली समाज दिक्क भएको छ । वर्तमानमा सत्तामा पुगेका दलहरूले जनताका हितमा काम गर्न नसकेकाप्रति चिन्ता व्यक्त गरिएको छ । समाजमा व्याप्त बेथिति तथा विकृतिहरू हटाउन हालका दलहरू असफल भएको र यसको विकल्पमा नयाँ शक्तिको उदय हुन आवश्यक महशुस गरिएको छ । पुराना दलहरू प्वाल परेको छाता जस्ता ओत दिन नसक्ने बनेका र झरीको समयमा यस्ता छाताको काम नभए जस्तै यी दलहरूबाट जनताले परिवर्तनको अपेक्षा गर्नु भुल हुने भाव प्रकट गर्दै अब नयाँ विचार सहितको नयाँ दलमा आबद्ध हुन आह्वान गरिएको छ । नयाँ विचारसहितको जनताले गौरव गर्नलायक दल निर्माण हुनु पर्ने र परिवर्तनको हुटहुटी बोकर आएको नयाँ दलमा सबै जनता आबद्ध हुन सकून् र सबैका समस्याहरू हल हुने वातावरण समेत बनोस् भन्ने आग्रह गर्दै कविको भावना यसरी प्रकट भएको छः
राम्रो एक बनाइँदै छ अहिले आयो यहाँ सुन्नमा
हाम्रै गौरव हो नवीन रूपको छाता उही किन्नमा
साराको हितमा बनोस् अदबको मैला पुराना हटून्
प्यारा मानिस गाउँ औ सहरका आई बसून् ओतियून् । (छाताको कथा, पृ. १४)
कवि मरासिनीले ‘यात्रारम्भ’ कवितामा मानिसलाई देउताको रूपमा लिएर उनै मानिसको सेवा गर्ने, सहयोग गर्ने र पूजा गर्ने भावना जागृत गराएका छन् । यस कवितामा देवता भनेका नै असल मानिस हुन् भन्ने कविको धारणा छ । मानिसलाई सचेत गराउँदै मानिसकै भलो हुने कर्म गर्दा नै आनन्दानुभूति हुने कुरा उल्लेख गरिएको छ । यसका लागि मानिसमा संवेदना ल्याउनका लागि आफ्नो कवितालाई केन्द्रित गर्ने योजना बनाएका छन् । उनले मानिसको हितका लागि काव्यले सहयोग पुर्याउने छ भन्ने आशा समेत प्रकट गरेका छन् । उनले आफू मानवकै हितमा काव्य सिर्जना गर्न चाहेको बताएका छन् । स्वच्छ समाजको निर्माण गर्न समाजमा देखिएका विकृतिहरूको एकापसमा छलफल गरी निष्कर्ष निकाल्न सकिएको अवस्थामा नयाँ समाजको निर्माण हुने आशा व्यक्त गर्दै भनेका छन्ः
आओस् वास मिठो र काव्यपथमा नौलो बनोस् सिर्जना
यौटा स्वच्छ समाजको गठन होस् मेरो छ यै तिर्सना
इच्छा पूर्ण बनाउने मन लिई गर्दै छु यो गन्थन
पक्कै फिर्छ छिटै नयाँ दिन यहाँ गर्दा कडा मन्थन । (यात्रारम्भ, पृ.१२)
३. वैचारिक प्रतिबद्धता
प्रगतिवादी कला–साहित्यलाई नियाल्ने प्रमुख प्रवृत्ति वैचारिक प्रतिबद्धता हो । वैचारिक प्रतिबद्धता भनेको लेखकले जीवन र जगतलाई हेर्ने दृष्टिकोण हो । यसलाई विश्व दृष्टिकोणका रूपमा लिइन्छ । लेखकले समाजलाई मार्क्सवादी सौन्दर्यका कोणबाट हेर्नु प्रगतिवादी वैचारिक प्रतिबद्धता हो । जसमा कला साहित्य सधैँ सङ्घर्षशील तथा उत्पीडित जनताका पक्षमा प्रतिबद्ध रहन्छ । कला साहित्यमा प्रयोग भएका विचारहरूले सामन्तवादी सत्ता र सामाजिक कुरीतिप्रति बुलन्द आवाज प्रवाह गर्दछन् । कवि वा सर्जकहरू सधैँ आफ्नो लेखनलाई उत्पीडित जनताप्रति समर्पित गरेका हुन्छन् जसबाट समाजमा रहेको शोषण, उत्पीडन हटाउनको लागि सहयोग पुग्ने अपेक्षा गरिन्छ । यस्तै परिवेशलाई अवलम्वन गरी ‘कविता’ शीर्षकको कवितामा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नका लागि कविताको भूमिका रहने कुरालाई कविले यसरी प्रकट गरेका छन् र साहित्य परिवर्तनको माध्यम हुन सक्ने मान्यता प्रस्तुत गरेका छन्ः
युद्ध हो कविता मेरो पलायन नभै कतै
आगो हो कविता मेरो दन्की ज्वाला जताततै ।
पतेरा झुसिला किरा पोल्ने मेरो विचार छ
पूँजीको नमिठो गन्ध दौलतमा विकार छ ।
उज्यालो बस्तीमा छर्दै अन्धकार भगाउने
मदोन्मत्त भए साँढे नत्थडोरी लगाउने । (कविता, पृ. २९)
‘कविता’ कवितामा कवि मरासिनीले आफ्नो काव्य मान्यता प्रस्तुत गरेका छन् । कवि वास्तविक जीवनको मर्म छुने, यथार्थ धरातलमा उभिएको ग्रामीण जनजीवनसँग नजिक रहेको गहिरो अनुभूतिको सुन्दर अभिव्यक्ति नै कविता मान्दछन् । जनजीवनका समस्याहरू समाधान गर्नको लागि काव्यले सहयोग पुग्नुपर्ने भाव अभिव्यक्त भएको छ यस कवितामा । सामाजिक कुरीति, यथास्थितिवाद भित्र श्रमिकहरूको चेतना जगाउने उद्देश्य यस कवितामा राखिएको छ । समाजमा देखिएका विसङ्गति विरुद्ध आवाज उठाउन कविले आम जनमानसमा अपिल गरेका छन् । पुँजीवादको विरोध गर्दै धनदौलत बेकार छ, शोषक, सामन्त समाजका किरा हुन् । यस्ता किरालाई पोल्नको लागि यस कवितामा शोषित, पीडितहरूलाई आह्वान गरिएको छ ।
लिएर आँसु आँखामा पिलन्धरे बन्यौँ किन ?
भोका सबै मिले मात्रै आउँछन् सुनौला दिन ।
रोएर अब क्यै हुन्न खोसेर खानुपर्दछ
तोडौँ गोदामका ताल्चा भोकाको दर्द टर्दछ । (भोक लागेपछि, पृ. ३१)
यस कवितामा कविले शोषक, सामन्तीहरूको दमनबाट निराश भएर बस्ने होइन । यसका लागि भोकानाङ्गा, उत्पीडित जनता बिचमा एकता हुनु पर्ने र आफ्नो भोक टार्नका लागि साहु महाजन एवं सामन्ती शोषक वर्गको भण्डारमा लगाएको ताला फोडी भोक मेट्नुपर्दछ वा शोषक सामन्तको अन्त्य गर्नको लागि चुप लागेर नबसी विद्रोह गर्नुपर्दछ भन्ने सशक्त अभिव्यक्ति प्रस्तुत गरेका छन् । यहाँ उत्पीडित जनता आफ्नो अधिकार प्राप्तिका लागि अन्याय र अत्याचार सहन गर्ने होइन कि उनीहरूका विरुद्ध सशक्त क्रान्तिको आवश्यकता रहने र त्यसको लागि तयार रहनु पर्दछ भन्ने प्रगतिवादी विचार प्रकट भएको छ ।
मेरो धर्म यहीँ रहेर सबमा संवेदना ल्याउने
मेरो कर्म फूलाउने नव–लता संसार ब्यूँझाउने
हामी सुन्दर फूल हौँ मखमली माला यहाँ उन्दछु
यौटा क्रान्ति उठाउने मन लिई अच्छेर यी बुन्दछु । (यात्रारम्भ, पृ. ११)
यस कवितामा कवि मान्छेका पीडा र मुलुकको व्यथा बुझेर जनताको सेवा गर्नु नै महान् धर्म ठानेका छन् । कवि आफू जनताकै सेवक बन्न चाहेका छन् । यसै सन्दर्भमा मान्छेका समस्याहरू हटाउन मानवलाई ब्युँझाउन पर्ने र यसका लागि आफ्ना अक्षर सार्थक होऊन् भन्ने भाव व्यक्त गरेका छन् । यसका लागि यिनै शव्दहरूले क्रान्तिको रूप धारण गरी समाजमा विद्यमान वर्गीय असमानता हटाउन सकियोस् भन्ने कामना गरेका छन् । क्रान्ति सम्पन्न होस् र वर्गविहीन समाज बनोस् भन्ने कविको चाहना छ । यस कवितामा कविले शब्दको माध्यमबाट क्रान्तिको उद्घोष गरेका छन् ।
४. सामन्तवादविरोधी स्वर
शक्तिको आडमा सर्वसाधरणलाई शोषण गर्ने सामन्तवाद र पूँजीलाई नै सर्वोपरि मान्ने पुँजीवादको विरोध गर्नु प्रगतिवादको प्रमुख प्रवृत्तिको रूपमा रहेको छ । सामन्ती वर्गले सधैं श्रमिक र गरिव जनताको पसिनामा रमेर उनीहरूको उपेक्षा गर्ने गरेको र यसैबाट वर्ग विभाजन सहित वर्ग संघर्षको सुरुवात हुने हुँदा प्रगतिवादको यही मान्यता अनुरूप मरासिनीले ‘बाघ आतङ्क’ कवितामा सामन्तवादको विषयवस्तुलाई यसरी प्रस्तुत गरेका छन्ः
पशु अन्य नमारेर मान्छे मात्रै चपाउने
गाउँका बिचरा ! सोझा मान्छे मात्रै सताउने ।
भत्कन्छ सृष्टि नै भोलि यस्तै चाल बढ्यो भने
फैलँदो बाघ आतङ्क कसो गरी हटाउने ? (बाघ आतङ्क, पृ. १५)
यस कवितामा मरासिनीद्वारा तत्कालीन द्वन्द्वकालीन समाजमा राज्यसत्ताबाट गाउँका जनताहरूलाई दिइएको सास्तीको विरोध गरिएको छ । तत्कालीन राज्यसत्तालाई बाघको उपमा दिएर प्रस्तुत गरिएको यस कवितामा मानव नै बाघजस्तो हिंस्रक जन्तु बनेर सोझासाझा जनतालाई आफ्नो आहारा बनाउन उद्दत सामन्तवादको विरुद्धमा बाघ आतङ्क हटाउन प्रयास गरिनु पर्ने धारणा व्यक्त गरिएको छ । बाघ आतङ्क हटाउन उनले सबै दाजुभाइ, दिदीबहिनीहरू अब लाठी, मुङ्ग्रा उचालेर सङ्घर्षको मैदानमा उत्रनुपर्ने बताउँदै यसो भनेका छन्ः
भन्दा प्यारा दिदी, दाजु, भाइ, बैनीहरू अब
लाठीमुङ्ग्रा उचालेर बाघ लखेट्नु पर्दछ । (बाघ आतङ्क, पृ.१६)
यस्तै उनले ‘साँढे’ कवितामा पनि सामन्तवाद विरोधी स्वरलाई यसरी उजागर गरेका छन्ः
गाडा तान्न जुरो हुँदैन त्यसको भारी न त्यो बोक्दछ
मान्छेलाइ सताउने दिनदिनै ईष्र्या बढी पोख्दछ
गल्ली, चोक जताततै सहरमा बाटो उही छेक्दछ
गाडी गुड्न दिँदैन हे सडकमा पल्टेर त्यै रोक्दछ । (साँढे, पृ. २५)
‘साँढे’ कविता तत्कालीन सामन्ती राज्य व्यवस्थाको बारेका प्रतीकात्मक शैलीमा लेखिएको कविता हो । कविद्वारा विद्रोही चेतलाई मुखरित गर्दै समाज अनि राष्ट्रको कुभलो गर्ने सामन्तवादको प्रमुख खम्बाको रूपमा रहेको विद्यमान राज्यसत्तालाई उन्मत्त साँढेको रूपमा चित्रण गरिएको छ । गौ प्राणी जस्ता सोझा जनताको काँधमा चढेर मोजमस्ती गर्ने, बलमिच्याइँ गर्ने, बदमास, उपयोगहीन साँढेको अन्त्य हुनु पर्ने विचार यस कवितामा मुखरित छ । बलमिचाइ वा पुरातन सोचले अब नयाँ विचारको सम्मान नहुने र नयाँ विचारको उदय नहुँदासम्म देशमा परिवर्तन नहुने कुराको सङ्केत गर्दै साँढेको अन्त्य नभएसम्म वा साँढेलाई खाडलमा नपुरेसम्म देशमा नयाँ युगको शुरुवात नहुने विचार कविले यसरी व्यक्त गरेका छन्ः
होक्काँ गर्छ उधिन्छ कोमलपना खेल्दै सिँगौरी बढी
बाँच्ने पो कसरी भनौँ न अब लौ मर्मान्तको यो घडी
हालौँ खाडलमा लगेर सबले ऐश्वर्य निम्त्याउन
थान्कामा नपुगी सकिन्न अब ता सङ्क्रान्ति भित्र्याउन । (साँढे, पृ. २६)
कविले आफ्ना कवितामा समाजमा व्याप्त सामन्ती संस्कारको खुलेर विरोध गरेका छन् । समाजमा रहेका ठूलाठालुले गरिव, निमुखा, श्रमिकहरूलाई हेप्ने, दुःख दिने जस्ता कार्यले समाज विकृत बनेको छ । यस्तो विकृत समाजको अन्त्य हुन जरुरी छ । प्रगतिवादले सामन्तवादको विरोध गर्ने भएकाले कवि मरासिनीका कवितामा सामन्तवाद विरोधी प्रवृत्ति पाइन्छ । यसर्थ उनका कवितामा प्रगतिवादी चिन्तन छ ।
५. मानवीय मूल्य र सौन्दर्यप्रति आस्था
मार्क्सवादी दृष्टिकोण राजनीतिक क्षेत्रमा साम्यवाद, दर्शनका क्षेत्रमा द्वन्द्वात्मक भौतिकवाद र साहित्यका क्षेत्रमा प्रगतिवादको रूपमा परिचित छ । मार्क्सवादले मानवीय मूल्य र सौन्दर्यप्रति आस्था प्रकट गर्दछ । यही मान्यता अनुरूप कविले आफ्ना कवितामा यसरी भाव प्रकट गरेका छन्ः
बेँसी, टार जता पुगे पनि उही एक्लो निराशीपना
मान्छेकै हितमा नलेखिकन के–कस्तो गरुँ सिर्जना ? (प्रकृतिमा रमाउन सकिन, पृ.३५)
‘प्रकृतिमा रमाउन सकिन’ कवितामा कवि आफू प्रकृतिका विभिन्न क्षेत्रमा पुगेर पनि रमाउन नसकेको निराश अनुभूति प्रस्तुत गरेका छन् । तत्कालीन समयमा देशमा भएको सशस्त्र द्वन्द्वमा भएको हत्या हिंसाले डरको महसुस गरिएको र शान्त वातावरणमा रहेको देशमा अराजकता बढ्दै गई मनमा अशान्ति महसुस भएको भाव व्यक्त गरेका छन् । कवि खोला, नदीका तट, पाखा पखेरा लगायतका रमणीय ठाउँहरूमा पनि मन बहलाउने वातावरण नभएको एवं वनमा मिठो गीत गाउने चराहरू पनि कठिन परिस्थितिबाट गुज्रिएको महसुस गर्दै अब यस्तो सन्त्रासमय वातावरणबाट बाहिर निस्किएर मानिसहरूकै समाजमा बसी मानिसकै हितका लागि आफ्ना कविता, काव्य सिर्जना गरी समुन्नत राष्ट्रको विकासमा योगदान गर्ने निर्णयमा पुगेका छन् । उनी प्राकृतिक सौन्दर्यमा लहसिनुभन्दा मानवहितका लागि मानव समुदायमै सक्रिय रहनुलाई आफ्नो कर्तव्य ठान्दछन् ।
भट्टी होटलमा बसी दिनदिनै रक्सी पिई आउने
साँढे भै घरमा पसेर झगडा बेफ्वाँक मच्चाउने
भोकै छन् घरका जहान विचरा ! खानेकुराको कमी
नाङ्गै छन् बचरा मुहार कलिला बेहाल बढ्दै छ नि ! (जँड्याहाप्रति, पृ.३४)
‘जँड्याहाप्रति’ कवितामा कविले समाजमा देखिएका विकृतिविसङ्गतिलाई उधृत गरेका छन् । समाजमा देखिएका विकृतिमध्येको एक मद्यपान सेवनले मानिसको विचारमा आएको विचलनलाई जस्ताको जस्तै चित्रण गरिएको छ । घरमा जहानपरिवारले खान लगाउन नपाउँदा, कलिला बालबालिकामा देखापर्ने उदासीपनलाई उधृत गर्दै जाँड खाएर आफ्नो श्रीसम्पत्ति सक्ने विकृतिका विरुद्धमा यस्ता कार्यहरू बन्द गर्नुपर्ने आग्रह गरिएको छ । घरपरिवारको आवश्यकता पूरा गर्न नसक्ने घरको मियो ढल्ने अवस्था भयो भने त्यसले बालबालिकाको कोमल दिमाखमा समेत नराम्रो असर पुर्याउने हुनाले स्वस्थ, सृजनशील र अनुशासित नागरिक तयार गर्न र समाजमा सौहार्दपूर्ण वातावरण तयार गर्न यस्ता विकृतिहरू रोक्नु पर्ने सन्देश प्रवाह गरिएको छ ।
मान्छेकै हितमा मान्छे हिँड्नुपर्छ सधैँभरि
अर्काको पसिना प्यूँदा मोटाइन्न कसै गरी
घाँस खाने भए मान्छे पशु बरु उदार छन्
सेवाको मेचमा बस्ने धेरै नै अनुदार छन् । (पशु बरु उदार छन्, पृ.३२)
‘पशु बरु उदार छन्’ कवितामा मान्छेमा मानवता हराउँदै गएको, मानिसमा आफ्नो मात्र हितका लागि काम गर्ने र गरीब जनताको उत्थानको साटो उल्टै उनीहरूको शोषण गरी मानवीय मूल्यको बेवास्ता गर्ने भ्रष्ट आचरणका विरुद्धमा आवाज उठाएका छन् । उच्च ओहदामा रहेकाहरू आफ्नो स्वार्थ पूर्तिको लागि मात्र काम गर्ने, देशमा रहेको गरीबी हटाउने भन्दा पनि उनै गरीवको पसिनाको शोषण गरी भौतिक सुविधा प्राप्त गर्न उद्यत हुने कर्मचारीतन्त्र नैतिकताबाट गिरेको, पशुभन्दा पनि तल्लो स्तरको अनुदार रहेको दुःखद् पक्षलाई उजागर गरेका छन् । भौतिक सुखसुविधामा रमेका शासक एवम् कर्मचारीहरू जजसले गरीबको पसिना चुसेर आफ्नो आवश्यकता पूरा गरेका छन् त्यो पशुको भन्दा पनि तल्लो वा नीच कर्म हो; यसले शासकको समेत भलो गर्दैन भन्ने धारणा व्यक्त गरिएको छ ।
६. वर्ग सङ्घर्ष र वर्गीय प्रेममा विश्वास
समाज आर्थिक संरचनाबाट प्रभावित हुन्छ । समाज आर्थिक संरचनाका आधारमा निम्न वर्ग र उच्च वर्गमा विभाजित छ अर्थात् समाज वर्गीय हुन्छ । उच्च वर्ग र निम्न वर्गमा सधै स्ववर्ग प्रेम हुन्छ भने यी दुई वर्गका बीचमा निरन्तर सङ्घर्ष भई नै रहन्छ । वर्गीय विभेदको अन्त्य गर्नको लागि केही कविताहरूले हुने खाने वर्गका विरुद्ध हुँदा खाने वर्गको सङ्घर्ष र श्रमजीवी वर्गको पक्षमा आवाज उठाएका छन् । समाजमा रहेका बेथितिहरूलाई सुधार गरी मानव जीवनको सुरक्षा र विकास गर्नुपर्दछ । शासक र शासित, शोषक र शोषित, पुँजीपति र सर्वहारा वर्गका बिचमा निरन्तर संघर्ष चलिरहन्छ र संघर्षमा शोषित तथा सर्वहारा वर्गको जित हुनुपर्दछ भन्ने मान्यता कविले आफ्नो सिर्जनामा कलात्मक रूपमा यसरी चित्रण गरेका छन्ः
थिचिई श्रमका पोल्टा बन्दछन् दरबार यी
किचिई पसिनादाना उठ्दछन् घरबार यी ।
मान्छे सालिकजस्तै छन् शहरिया भनाउने
हटहट गरी मान्छेलाई घोडा बनाउने । (खातेको पीडा, पृ. २)
यस कवितामा स्रोत र साधनको असमान वितरणका कारण संरक्षक विहीन बालबालिकाका जीवनमा आइपरेका समस्याहरू मुखरित भएका छन् । पुँजीवादी समाजको विकृत पक्षलाई यहाँ देखाउन खोजिएको छ । यस कवितामा श्रमिक वर्गप्रतिको दयाहीन प्रवृत्तिलाई देखाउन खोजिएको छ । शासक वर्गबाट श्रमिक वर्गको उत्थानका लागि आश्वासन प्राप्त भए पनि श्रमिक वर्गको समस्या हल नभएको र उनीहरूले शासक वर्गप्रति अविश्वास गरी आफ्नै वर्गका बीच एकता कायम (वर्गीय प्रेम) गरेको एवं यिनै श्रमिक वर्गको श्रमबाट पुँजीपतिहरूका लागि महलहरू खडा गरिए पनि श्रमिकरूको कुनै मूल्य नभएको तत्कालीन सामाजिक परिवेशलाई देखाउने प्रयास गरिएको छ । पुँजीवादको उच्चतम प्राप्ति शहरिया समाजमा मानवीय संवेदना नभएको र शहरिया मानिसहरू पत्थरको सालिक जस्तै कठोर भई श्रमजीवीहरूलाई घोडा बनाएको तीतो यथार्थलाई प्रकट गरिएको छ ।
विवेकी आस्थाको मउपर कहीँ छैन ममता
दुईखाले मान्छेहरू बिच कहीँ छैन समता
धनीले निर्धाको कसिकन गलो रेट्छ अहिले
भएँ खाते माग्ने प्रकृति सबले मैकन चिले । (सडक बालक, पृ. ४)
‘सडक बालक’ शीर्षकको यस कवितामा कविले बेवारिसे, आकासको छानामुनि रहेका सडक बालकको पीडा व्यक्त गरेका छन् । शासकहरूले गरिबी घटाउन भनेर विभिन्न देश र एन.जी.ओ, आइ.एन.जी.ओ. आदिबाट सहयोग लिएर आफ्नो गोजी भर्ने गरेको तथा गरिव जनता अभावमा नै बाँच्नुपरेकाप्रति व्यङ्ग्य गरेका छन् । कुनै परिचय विना सडकमा रहेका वर्गहरूको उत्थानमा नलागी उनै वर्गलाई देखाएर सहयोग लिने र त्यसको दुरूपयोग गरी सहरमा मोजमस्ती गर्ने परम्पराप्रति तीखो व्यङ्ग्य गरिएको छ । सहरमा हुनेखानेको अगाडि सडक बालकको जीवन नरक सरी बनेको अवस्थामा पनि अझै बाँच्ने रहर व्यक्त गरिएकाले बाँच्नका लागि संघर्ष गर्नु पर्दछ भन्ने आशय समेत व्यक्त गरिएको छ । यस्ता सडक बालकहरू नेताहरूका लागि मागी खाने भाँडो बनेको विकृत र विसङ्गत पक्षको चित्रण यस कवितामा गरिएको छ ।
७. परिवर्तनको चाहना
प्रगतिवादमा द्वन्द्वात्मक भौतिकवादले द्वन्द्व र गतिशीलताका कारण पदार्थमा परिवर्तन ल्याउँछ भन्ने मान्यता अनुसार समाज परिवर्तनको लागि निरन्तर लागि रहनुपर्दछ । समाजमा देखिएका विकृति, विसङ्गति विरुद्ध हुनेखाने र हुँदाखाने बिच निरन्तर सङ्घर्ष हुनु आवश्यक छ । यसै मान्यताका आधारमा 'छोरो हराएको सूचना !' कवितामा समाजमा देखिएको असमानता र विसङ्गतिविरुद्ध लड्नका लागि छोराले घर छाडेको प्रसङ्ग आएको छ । जनयुद्धको समयमा परिवर्तनको चाहना लिएर हिँडेको युवा हराउनु, गाउँमा सामन्तीहरूको चलखेल हुनुले युवा सामन्तीहरूको चङ्गुलमा फसेको र परिवर्तन भएको महसुश हुन नपाउँदै युवालाई बाघ रूपधारी सामन्ती राज्य व्यवस्थाले युवालाई नियन्त्रणमा लिएर युवाको इच्छा पूरा हुन नदिएको, युवालाई विविध यातना दिई निर्मम हत्या गरिएको प्रसङ्गले युवाको समाज परिवर्तन गर्ने इच्छामा पूर्णविराम लागेको छ । त्यस्तै कवितामा समाज परिवर्तनका लागि आफ्नो ज्यानको आहुति दिन परेपनि पछि पर्नुहुन्न, यही सही मूल बाटो हो र सधैं अमर रहने बाटो पनि यही हो भन्दै युवालाई परिवर्तनको पथमा लाग्नका लागि प्रोत्साहन गरिएको छ ।
खालान् केही अवयवहरू बाघ–व्वाँसा मिलेर
छाला तार्लान् दनुजहरूले दुःख–पीडा दिएर
मर्ने चोला अमर रहने चाह उस्को यही हो
हिँड्ने यौटै सकल जनले मूल बाटो सही हो । (छोरो हराएको सूचना, पृ. १७)
‘युद्धघोष’ कवितामा खरायो र सिंहको लोककथालाई मिथकको रूपमा लिएर समाजमा देखापरेका सामन्तवादी विचारकहरूको विरुद्धमा युद्ध गर्नुपर्ने घोषणा गरिएको छ । यस कवितामा तत्कालीन राज्यसत्ताको सामन्तवादी विचार, सामन्त र शोषकको नाइकेलाई दुष्ट आततायीको रूपमा चित्रण गरिएको छ । नेपाली समाजमा आतङ्क फैलाउने, जनहत्या गर्ने, पुरानो विचारको पक्षपोषण गर्ने, आफ्नै वंशको समेत विनास गर्ने सामन्तवादी प्रवृत्तिको चित्रण गरिएको छ । कवितामा समाज परिवर्तनका लागि पुरानो विचारलाई छोडी समयसापेक्ष नयाँ विचारको सम्मान गर्नु पर्ने, समाजमा रहेका हरेक वर्गका नागरिकको सम्मान हुनु पर्ने, यदि त्यसो नभए शोषित, पीडित नागरिकले यस्ता सामन्ती संस्कारयुक्त राज्यसत्ताको विरुद्धमा कुनै न कुनै रूपमा युद्धको घोषणा गर्ने छन् र अन्ततः सामन्तवादको अन्त्य हुनेछ भन्ने भाव यसरी प्रकट भएको छः
अत्त्याचार बढी भयो अब भने सम्पूर्ण प्राणी मिली
बढ्दै छन् नडराउँदै नजिकमा मार्लान् तिनैले चिली
आफ्नो ज्यान बचाउने मन भए चाँडो बसाईं सर
अर्कै जङ्गलको गुफातिर उता जाऊ बनाऊ घर । (युद्धघोष, पृ. ३३)
८. सामाजिक, आर्थिक, राजनैतिक विषमताको विरोध
प्रगतिवादमा सामाजिक, आर्थिक, राजनैतिक विकृति र विषमताको अन्त्य गरी सभ्य र समृद्ध समाजको निर्माण गर्नुपर्छ भन्ने मान्यताअनुसार मरासिनीका कविताहरूमा सामाजिक यथार्थ प्रस्तुत गर्दै राजनैतिक विषमताको खुलेर विरोध गरिएको छ ।
आओस् बुद्धि–विवेक, सार्थकपना हामी हितैषी बनी
हाम्रो शान गिराउने मनुजका ताकेर माथै पनि
लड्नैपर्छ भने अझै पनि यहाँ बाँकी रहेका जति
लड्छौँ यै रितले समस्त जनता नेपालका सन्तति । (नेपालीहरूप्रति, पृ. १९)
यस कवितामा कविले देशप्रेमलाई उजागर गरेका छन् । कविले देशको उन्नति र नेपालीको स्वाभिमान बचाउनको लागि पश्चिमी राष्ट्रले गरेको हस्तक्षेपका विरुद्धमा नेपाली जनता जुर्मुराएर उठ्नुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् । सम्पूर्ण नेपाली जनता यही मुलुकको मुहार फेर्न बुद्धि र विवेकको प्रयोग गर्दै नेपालीको शान र गौरवलाई अक्षुण्ण राख्न हाम्रा सम्पूर्ण बाधाहरूलाई एकएक गरी हटाउनुपर्छ । यसका लागि नेपालका सन्तति युद्धभूमिमा नै जान परे पनि पछाडि पर्नु हुँदैन भन्ने सन्देश यस कवितामा पाइन्छ । आफ्नो देश बनाउनका लागि मन मिलाउँदै र मिल्ने मन बढाउँदै विदेशीको हस्तक्षेपलाई निस्तेज पार्नुपर्छ तथा यसका लागि मर्नै परे पनि पछाडि हट्नु हुँदैन भन्ने क्रान्तिकारी भाव प्रकट गरेका छन् । आपसमा मिलेर देशमा व्याप्त अन्याय र अत्याचारको विरुद्धमा लडौं । नयाँ नेपाल निर्माणके लागि अरुको पिछलग्गु बनेर होइन आफ्नो बुद्धि र विवेकको प्रयोग गरौँ भन्ने मूल सन्देश यस कवितामा पाइन्छ ।
ख्वाउँदा दूधको थोपा विष ओकल्दछन् भने
पाल्नु नै किन पो साथी त्यस्तो फणा फुलाउने ।
दुलो प्वाल नटालेर बस्नुहुन्न कहीँ कतै
अभियान चलाऔँ है सर्प मार्न जताततै ।
खोजी गरौँ सपेराको ढुङ्गामुढा म खोज्दछु
भयमुक्त बसोबास आज यही म रोज्दछु । (सर्प पाल्नुहुन्न, पृ.२०)
यस कवितामा कविले देशका शोषक र सान्तवर्गलाई विषालु सर्पको उपमा दिँदै यस्ता शोषक र सामन्त वर्गलाई पाल्दा समाज र देशको खतिमात्र हुने भाव प्रकट भएको छ । यस्ता शोषक र सामन्त वर्गहरू समाजमा नौलो रूप धारण गरेर जनतालाई दुःख दिने, शान्त बस्ती पनि विगार्ने काम गरेका छन् । मिलेर बसेको समाजलाई पनि खण्डखण्डमा विभाजन गरी आफ्नो स्वार्थ पूर्तिको लागि लागेका छन् यस्ता सर्पहरूलाई निर्मुल पार्नुपर्दछ र विषालु सर्पबाट बच्न सर्प (सामन्ती) आउने प्रत्येक बाटाहरू बन्द गर्नुपर्दछ भन्ने सन्देश यस कविताले दिन खोजेको छ । समाजमा रहेका सामन्तीहरूलाई समाप्त गर्न सबै मिलेर यसको विरुद्धमा लड्न पनि तयार रहन आह्वान गरिएको छ । जबसम्म यस्ता विषालु सर्पहरू समाजमा रहन्छन् तबसम्म जनताले सुख, शान्तिको अनभूति गर्न पाउँदैनन् भन्दै सर्प विनासका लागि लाग्न सबैमा अपिल गरिएको छ ।
खतरा नजिकै बस्दा ढलेर थिच्न सक्दछ
वरिपरि टुसाएका बिरुवा मिच्न सक्दछ ।
छैनन् हाँगाविँगा राम्रा न त बस्छन् त्यहाँ चरा
मिल्काऔँ अब खोल्सामा उक्काई यसका जरा । (बूढो धयेँरो, पृ. ३८)
बूढो धयेँरो एक प्रतीकात्मक कविता हो । यस कवितामा सामन्ती राज्यसत्तालाई बूढो धयेँरोको रूपमा चित्रण गरिएको छ । यहाँ बूँढो धयेँरोलाई मानवीकरण गरिएको छ । हरियाली विनाको कुरूप, दाँत झरेको बृद्ध, आफ्नो वरिपरिका स–साना बिरुवाहरूलाई ओसेप गराउने र बढ्न नदिने सामन्ती विचारको जसका आफ्ना समर्थकहरू विना एक्लै ठडिएको कुनै शोभा नदिने एवं उपयोग गर्न नमिल्ने मक्किएको रुखको रूपमा रहेको छ । यस्ता रुखबाट कुनै उपयोगी वस्तु निर्माण गर्न नसकिने, शीतलता प्राप्त नहुने, कुनै सुवास छर्न नसक्ने वा असल विचार विनाको अजीव प्राणी जस्तो राज्यसत्तालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । यस्तो शासन व्यवस्थाले जनतामा सुख, शान्ति ल्याउने होइन कि त्यसै मक्किएको रुखमा आश्रय लिने विषालु जीवले जनतालाई अझै डस्ने, युवाहरूमा हुर्कंदै गएका नयाँ विचारहरूलाई कुल्चिई बढ्न नदिने सामन्त राज्यसत्ताको जरै उखेलेर फ्याँक्नु पर्ने सन्देश प्रवाह गरिएको छ ।
९. राष्ट्रप्रेम
मरासिनीले आफ्ना कवितामा राष्ट्रप्रति अगाध प्रेम प्रकट गरेका छन् । उनका कविताको एउटा सुन्दर पक्ष भनेको कवितामा निहित देशभक्तिको भावना पनि हो । विभिन्न समयमा राज्यका शासकहरूले देशको विकासका नाममा आफ्नो स्वार्थ पूर्तिको लागि देशका खोलानाला बेचिएको र यसले राष्ट्रलाई पारेको नराम्रो असरलाई पानी बेच्नुहँदैन कवितामा उजागर गरिएको छ । देशमा रहेका नदीनाला विदेशी शक्तिको इसारामा बेच्दा नेपालमा कहीँ सिँचाइको लागि पनि पानीको व्यवस्था नभएको त कतै देश डुवानमा परेको, जनजीवन कष्टकर बनेको अवस्थालाई यसरी उल्लेख गरेका छन् ः
यता हाम्रो घरै डुब्छ उता ऐश्वर्य फुल्दछ
पेटमा छैन क्यै अन्न खेतमा काँस झुल्दछ !
भाँडा हाम्रा भए रित्ता प्यासा भए जहान यी
नेताका भरमा पर्दा बेचिएछन् मुहान यी ! (पानी बेच्नुहुँदैन, पृ. ९)
‘के भो यस्तो !’ कवितामा कविले नेपालको ऐतिहासिक पृष्ठमूमि प्रस्तुत गर्दै जलसम्पदामा धनी देश सिँचाइको अभावमा बगर बनेको र उत्पादनमा ह्रास आएपछि नेपालीको जीवन कष्टकर बनेको यथार्थलाई प्रस्तुत गरेका छन् । यस कवितामा पनि राष्ट्रप्रेमको भाव प्रबल देखिन्छ । नेपालमा बग्ने नदी बेचिँदा तराईको भू–भाग खण्डहर बनेको र विदेशीले नेपालको कर्णालीमा आँखा लगाउँदा ज्यादै दुःखी बनेको कुरा प्रकट गरेका छन् । कालापानी क्षेत्रमा नेपालीको जीवन नरहेको यथार्थ प्रकट गर्दै विदेशी हस्तक्षेपका विरुद्ध आवाज उठाउँदै तलका कविभाव व्यक्त भएका छन्ः
नालापानीवर छ पहिरो झर्छ तातो जवानी
कालापानीवरपर कतै छैन यो जिन्दगानी
टिष्टा किल्ला सबतिर दशा लाइलाग्यो समान
के भो यस्तो ! हिमशिखरमा सुक्न थाले मुहान ! (के भो यस्तो ! पृ. १३)
नेपाल विविध संस्कृतिहरूको एकताको प्रतीक हो । नेपाल सांस्कृतिक दृष्टिमा सम्पन्न तथा समृद्ध देश पनि हो । यहाँ विविध जातजातिका आ–आफ्नै संस्कृति, रीतिरिवाज, परम्परा छन् । यो संस्कृतिको संरक्षण गर्नका लागि विदेशीको हस्तक्षेपलाई स्वीकार गर्न नहुने तर्क कविभावमा आएको छ । यहाँको सुन्दर संस्कृतिको वर्णन गर्ने क्रममा ‘नेपालीपन’ कवितामा कविभाव यसरी प्रकट भएको छः
सोरठी, देउसी, भैली, ख्याली हाम्रो परम्परा
संस्कृति यतिको राम्रो अन्यत्र पो कहाँ छ र ! (नेपालीपन, पृ. ७)
आफ्नो देश बचाउनका लागि यहाँको संस्कार र संस्कृतिको पनि संरक्षण र सम्वद्र्धन गर्नु पर्ने र राष्ट्रिय एकतामा जोड दिनुपर्ने कुरामा कवि मरासिनीले जोड दिएका छन् । सचेत युवाहरूले नै राष्ट्रको निर्माण गर्न सक्छन् । कविले यी कवितामार्फत इतिहासको समीक्षा गरेका छन् । परिवर्तनको आवश्यकता महसुस गरेका छन् । स्वतन्त्रता र शान्तिका लागि नै क्रान्तिको आवश्यकता परेको भाव व्यक्त गरेका छन् । समग्रमा प्रगतिवादी आशावादी चिन्तन व्यक्त गरेका छन् ।
उपसंहार
नारायण मरासिनीको ‘रणभूमिबाट’ कविता सङ्ग्रहका कविताहरूमा तत्कालीन समयका समसामयिक विषयवस्तुका साथमा देशप्रेम र राजनैतिक एवं सामाजिक विषयवस्तु पाइन्छन् । सामाजिक रूपमा उत्पन्न विषम परिस्थितिका केही विषयलाई पनि कवितामा स्थान दिइएको छ जसलाई मरासिनीले देखेभोगेको परिवेश मान्न सकिन्छ । यसका अलावा मरासिनीले आफू जन्मेहुर्केको र खाइखेलेको समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, कुसंस्कार र विकृति विसङ्गतिलाई नजिकैबाट देखेका, भोगेका र जीवन सङ्घर्षका क्रममा अनुभव गरेका प्रवृत्तिहरूप्रति विरोध र विद्रोह गरेका छन् । परिवर्तनको चाहना र मानवीय मूल्यको खोजीमा दत्तचित्त मरासिनीले सामन्तवादी, पुँजीवादी प्रवृत्तिप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन् । उनका रचनामा आडम्बर, शोषण, दमन र अत्याचारको विरोध छ । देशमा व्याप्त भ्रष्टाचारको जालो मेटाएर समतामूलक समाज निर्माण गर्न खोज्ने उनले गरिब एवं सर्वहारा वर्गप्रति हुने शोषण दमनलाई मन पराएका छैनन् र यस्ता प्रवृत्तिप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । उनका कविताहरूमा हाम्रै वरपरको यथार्थ चित्र भेटिन्छ । उनले आफ्नै सामाजिक परिवेशका विम्बहरूको संयोजन गरेर कविताहरू सिर्जना गरेका छन् । गरिब जनताको कित्तामा उभिन चाहने मरासिनी समतामूलक सुन्दर समाज निर्माणका लागि आशावादी रहेका छन् । उनले त्यस प्रकारको समाज निर्माणका लागि सम्पूर्ण मानिसहरू एकजुट भएर सङ्घर्ष गर्नका लागि अगाडि बढ्न आह्वान गरेका छन् । श्रमजीवी, निमुखा, गरिब, उपेक्षित, उत्पीडित किसान, मजदुर र समाजमा पछि पारिएका सर्वहारा वर्गप्रति सहानुभूतिको भाव व्यक्त गर्ने र वर्गीय प्रेम दर्साउने मरासिनीका कविताहरूमा प्रगतिवादका मूलभूत मान्यताहरू पाइने भएकाले मरासिनी प्रगतिवादी धाराका कवि हुन् र उनको यस सङ्ग्रहका कविताहरूलाई प्रगतिवादी सैद्धान्तिक अवधारणाका दृष्टिले सुन्दर कविताहरूका रूपमा लिन सकिन्छ ।
आँधीखोला– ४, स्याङ्जा