19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्यानभासमा कोरिएको मच्छिन्द्र शाक्यको जीवन

व्यक्तित्व / कृतित्व सागर तमु ‘प्राञ्जल’ September 3, 2026, 12:20 am

परिवेश ;

नेपाली चित्राकाशका एक उज्ज्वल नक्षत्र मच्छिन्द्र शाक्य ललितकला, पेन्टिङ, वालपेन्टिङ लगायत थुप्रै बिधामा आफनो कलालाई अगाडी बढाउदै गए ।बुवा पदम प्रसाद शाक्य र आमा सूर्य लक्ष्मी शाक्यको कोखबाट विक्रम संवत् २०२३ साल असार २० गतेका दिन बागलुङमा जन्म भएको थियो। मच्छिन्द्र शाक्यको जीवन परिवेश संघर्ष, सिर्जना र कलाप्रतिको गहिरो समर्पणले भरिएको छ। उहाँ सानैदेखि कला र सिर्जनात्मक कार्यप्रति रुचि राख्नुहुन्थ्यो। बाल्यकालदेखि नै साथीभाइसँगको आत्मीय सम्बन्ध, पारिवारिक वातावरण र विशेषगरी बुबाबाट प्राप्त प्रेरणाले उहाँको कलायात्रालाई अगाडि बढाउन ठूलो भूमिका खेल्यो।

बागलुङको सामाजिक तथा सांस्कृतिक परिवेशमा हुर्कनुभएका शाक्यले त्यहीँको जनजीवन, परम्परा र वातावरणलाई आफ्नो कलाको आधार बनाउनुभयो। सानैदेखि चित्र कोर्ने रुचि र सिर्जनशील सोचका कारण उहाँले विभिन्न माध्यमबाट आफ्नो प्रतिभालाई निखार्दै जानुभयो। उहाँले बुबाबाट सिकेका कला सम्बन्धी सीप र संस्कारलाई आत्मसात् गर्दै चित्रकलालाई आफ्नो जीवनको मुख्य कर्म बनाउनुभयो। सानै उमेरदेखि नै चित्रकलाप्रति विशेष रुचि रहेको थियो। घरमा बुबाले बाँसको कलमको टुप्पोलाई मसीमा चोप्दै अक्षरहरू लेख्ने तथा विभिन्न चित्रहरू कोर्ने गर्नुहुन्थ्यो। उहाँको यही सिर्जनात्मक अभ्यास र प्रेरणाले गर्दा मलाई पनि चित्रकला सिक्न र त्यसप्रति रुचि बढाउन धेरै सहजता भयो।

वि.सं. २०४७ सालतिर काठमाडौं प्रवेश गरेपछि उहाँले नयाँ परिवेश, प्रतिस्पर्धा र संघर्षको सामना गर्नुपर्‍यो। अध्ययनसँगै जीविकोपार्जनका लागि विभिन्न काम गर्नुपर्ने अवस्था आए पनि उहाँले आफ्नो कलाप्रतिको लगावलाई कहिल्यै छोड्नुभएन। कठिन परिस्थितिहरूलाई अवसरका रूपमा लिँदै उहाँ निरन्तर सिर्जनामा लागिरहनुभयो।

बागलुङदेखि काठमाडौंसम्मको यात्रा, पारिवारिक प्रेरणा, सामाजिक सम्बन्ध र संघर्षपूर्ण अनुभवहरूले शाक्यको व्यक्तित्व र कलालाई अझ परिपक्व बनायो। यही परिवेशबाट उहाँले RANTAL ARTS जस्तो पहिचान निर्माण गर्दै नेपाली ललितकलाको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल हुनुभयो।

चित्रकलाप्रति उहाँ सानैदेखि आफ्नो बुवा श्री पदम प्रसाद शाक्यबाट प्रेरित हुनुभयो। उहाँले कागजका टुक्राहरूलाई विभिन्न आकार दिँदै सिर्जनात्मक अभ्यास गर्न थाल्नुभयो। विवाह, व्रतबन्ध तथा विद्यालयका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै उहाँले कला सिर्जनाका लागि थप प्रेरणा प्राप्त गर्नुभयो।बुबाले राजा महेन्द्र वीर विक्रम शाह देवको पालादेखि नै कागजी कला गर्ने गर्नुहुन्थ्यो। कागजलाई विभिन्न आकारमा काटेर विद्यालयको प्रवेशद्वारमा ‘स्वागतम्’ लगायत विभिन्न सन्देश र सजावटी अक्षरहरू तयार गर्ने उहाँको विशेष सीप थियो। बुबाको यही सिर्जनात्मक कला र मेहनतबाट उहाँ निकै प्रेरित हुनुभएको थियो। उहाँको प्रेरणाको स्तम्भ नै उहाँका बुबा हुनुहुन्छ, जसले आज चित्रकलाको धरोहर स्थापना गर्न उहाँलाई निकै सजिलो भयो।

RANTAL को शाब्दिक इतिहास :

ललितकला भनेको सौन्दर्य, सिर्जनशीलता र भावनाको अभिव्यक्ति गर्ने कला हो। यसले मानिसका विचार, अनुभूति र कल्पनालाई सुन्दर रूपमा प्रस्तुत गर्छ। "RANTAL" शब्द आफैँमा कुनै सामान्य शब्दको अर्थ बोकेको नभई उहाँका आत्मीय पाँच जना साथीहरूको नामसँग जोडिएको सिर्जनात्मक नाम हो। सानैदेखि सँगै खेल्ने, घुम्ने अनि एकआपसमा मनका कुरा साटासाट गर्ने साथीहरू विक्रम संवत् २०३९ सालको एसएलसी परीक्षासम्म साथ रहेको नाताले पनि उहाँले "RANTAL FAMILY" नाम राख्ने निर्णय लिनुभयो। अब रोचक कुरा यो छ कि "RANTAL" नाम केबाट र कसरी स्थापना भयो। उहाँले "RANTAL" नाम आफ्ना पाँच जना मिल्ने साथीहरूको नामको अन्तिम अक्षरबाट निर्माण गरिएको हो।

यसरी आफ्ना आत्मीय साथीहरूको नामसँग जोडिएको अक्षरहरूलाई समेटेर उहाँले “RANTAL FAMILY” नाम स्थापना गर्नुभएको हो।हामीले उहाँका हरेक चित्रकलाको मुनि त्यही "RANTAL" नाम पाउँछौँ। उहाँसँग जो कोहीले पनि त्यसको बारेमा जिज्ञासा राख्दा उहाँले गर्वका साथ खुलेर बताउनुहुन्छ। विक्रम संवत् २०४२ सालतिर आफ्ना प्रिय साथी रञ्जित मलेपतिसँग मिलेर बागलुङ बजारको नारायण चोकमा "RANTAL ART" पसल खोल्नुभयो। त्यसपछि २०४९ सालपछि उहाँले आफ्नो एकल कला व्यवसायलाई पुनः थालनी गर्नुभयो। र अहिलेसम्म पनि उहाँले आफ्नो कलालाई निरन्तरता दिनुभएको छ। विक्रम संवत् २०४६ सालमा कला विधामा अर्थशास्त्र र इतिहासबाट स्नातक तह उत्तीर्ण भएपछि उहाँसँग अन्य पेशा गर्ने ठूलो अवसर पनि थियो। त्यो समयमा स्नातक तहको पढाइलाई निकै ठूलो मान्यता दिइन्थ्यो। जस्तै, सरकारी जागिरमा पनि नाम खुलाउन धेरै कठिनाइहरू सामना गर्नुपर्‍यो। तर पनि आफूमा भएको कलाको ऊर्जाका कारण उहाँले चित्रकलालाई नै विशेष महत्त्व दिनुभयो। विक्रम संवत् २०४५ सालमा उहाँले बागलुङ नगरपालिका स्थित मालिका मा.वि.मा करिब २ वर्षसम्म शिक्षण गर्नुभयो। त्यसपछि उहाँ आफ्नो सपना पूरा गर्ने उद्देश्यले काठमाडौं लाग्नुभयो।

चित्रकलाको सुरुवात र थालनी :

सुरुवातमा जस्ता पाताहरूमा चित्र बनाउँदै जानुभयो। त्यसपछि कपडा लगायत अन्य वस्तुहरूमा पनि पेन्टिङ गर्दै अगाडि बढ्नुभयो। आज पनि हामीले पुराना गाउँघरका भित्ते चित्र (Wall Painting) हरू पाउँछौँ। घरका जस्ता पाताहरूमा पनि विभिन्न ब्रान्डहरूका चित्रहरू भेट्टाउँछौँ। ती पेन्टिङहरू अझै जस्ताको तस्तै छन्, जुन घाम, पानी वा कुनै पनि मौसमले रत्तिभर बिगारेको छैन। उहाँले त्यस्ता खालका पेन्टिङहरू पनि धेरै गर्नुभएको छ। नेपाली ब्रान्डहरू जस्तै चाउचाउ, चुरोट, ब्याट्री, बिस्कुट, मिठाई लगायत अन्य विज्ञापनका भित्ते चित्रहरू पनि उहाँले बनाउनुभएको छ। आज यी ब्रान्डहरू लोप हुँदै गए पनि अझै ती भित्ते चित्रहरू यथावत् नै छन्। धेरै चासो राख्ने व्यक्तिहरूले आफ्नो पालाको स्मरण पनि गर्छन्। र, कुनै–कुनै पुराना घरहरू, जुनमा ती भित्ते चित्रहरू थिए, अहिले भत्काएर नयाँ आर.सी.सी. घरहरू बनाइएका छन्। वि.सं. २०४९ सालदेखि उहाँले व्यावसायिक चित्रकलाको यात्रा तय गर्नुभयो। आफ्ना बुबाबाट सिकेका चाल, कदम र सीपहरूलाई आत्मसात् गर्दै शाक्यले सुरुमै स्वर्गीय राजा महेन्द्र शाहको चित्र उतार्नुभयो। उहाँले त्यससँगै धेरैबाट हौसला पाएर चित्रकलामा नयाँ कदम उठाउनुभयो।

हरेक सफल मानिसको पछाडि कुनै न कुनै व्यक्तित्वको हात हुन्छ। त्यसरी नै शाक्यका लागि पनि आफ्ना बुबा नै ठूलो प्रेरणाको स्रोत बन्नुभयो। अनि त्यसरी नै उहाँ लेखन र चित्रकलाको क्षेत्रमा उन्नति गर्दै जानुभयो। चित्रकलासँगसँगै साइनबोर्ड लेखन, ब्यानर लेखनलाई पनि उत्तिकै प्रभावकारी रूपमा अगाडि बढाउनुभयो। अनि त्यसरी नै उहाँ लेखन र चित्रकलाको क्षेत्रमा उन्नति गर्दै जानुभयो। चित्रकलासँगसँगै साइनबोर्ड लेखन, ब्यानर लेखनलाई पनि उत्तिकै प्रभावकारी रूपमा अगाडि बढाउनुभयो। दुई अति मिल्ने साथीहरू रञ्जित मलेपति र कविन्द्रमान शाक्यसँगै बसेर पेन्सिलको आधारमा विभिन्न चित्रहरू बनाउने गर्नुहुन्थ्यो। उहाँहरूकै साथ, प्रेरणा र प्रोत्साहनबाट चित्रकलाको नयाँ यात्रा सुरु भएको कुरा उहाँ खुलेर बताउनुहुन्छ।

आज यही ललितकलाद्वारा नै मच्छिन्द्र शाक्यको नाम नेपाल अधिराज्यमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि बहुचर्चित हुन पुगेको छ। अहिले पनि देश–विदेशमा कला प्रदर्शनी “ART EXHIBITION” आयोजना हुँदा उहाँलाई विशेष रूपमा आमन्त्रण गर्ने गरिन्छ। तुलनात्मक हिसाबले हेर्नुपर्दा पनि अन्य देशको तुलनामा नेपाल चित्रकलाको सन्दर्भमा निकै पछाडि छ। त्यसका बाबजुद पनि आफूलाई त्यति ठूलो प्लेटफर्ममा आमन्त्रण गर्दा उहाँ आफूलाई निकै भाग्यशाली ठान्नुहुन्छ। एउटा पेन्टिङ ब्रस र विभिन्न रङहरूको मिश्रण, रङ परिवर्तन गर्दा पानीको धुवाइ अनि फेरि चित्रमा निरन्तरताका साथ लाग्दा आफ्नो समय कसरी बितेको पत्तै नहुने बताउनुहुन्छ।

चुनौती तथा संघर्षहरू :

वि.सं. २०४४ सालमा उहाँले लोक सेवा आयोगअन्तर्गत खरिदार पदका लागि लिखित परीक्षामा सफलता हासिल गर्नुभयो। तर अन्तर्वार्तामा भने उहाँ सफल हुन सक्नुभएन। त्यस समयमा उहाँका बुबालाई “रु. ६,०००/- दिएमा काम गराइदिन्छौँ” भनेर भनिएको रहेछ। तर घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण उहाँका बुबाले उक्त रकम जुटाउन सक्नुभएन। केही समयपछि मात्र उहाँलाई उक्त घटनाबारे जानकारी भयो। त्यस प्रकारको घुस माग्ने प्रवृत्तिले उहाँको मन निकै दुख्यो। त्यसपछि उहाँले जीवनभर लोक सेवा आयोगको आवेदन नदिने निर्णय गर्दै आफ्नै संघर्ष, मेहनत र सिर्जनात्मक यात्रामा अगाडि बढ्ने संकल्प गर्नुभयो।

वि.सं. २०४५ सालमा उहाँले श्री मालिका माध्यमिक विद्यालय, मालिका, बागलुङमा करिब १८ महिनासम्म शिक्षण पेसासमेत गर्नुभयो। तर उहाँको यात्रा यत्तिमै सीमित रहेन। उहाँले पुनः आफ्नै कला साधनालाई पुनर्स्थापना गर्दै सिर्जनाको बाटोमा अघि बढ्नुभयो। जीवनमा धेरै हन्डर र कठिनाइहरू पार गरेपछि नयाँ बाटो खुल्छ भन्ने भनाइ उहाँको जीवनमा पनि सत्य सावित भएको छ।

त्यस्तै सत्यवाणी आज शाक्यको जीवनमा मेल खाएको देखिन्छ। अनेकौँ असफलता र चुनौतीहरूका बाबजुद निरन्तर संघर्ष गर्दै अघि बढ्ने हो भने एक दिन सफलताको ढोका अवश्य खुल्छ भन्ने उदाहरण उहाँको जीवन यात्राले प्रस्तुत गरेको छ।

वि.सं. २०४७ सालतिर काठमाडौं प्रवेश लगत्तै त्यहाँको वातावरणमा अभ्यस्त हुन निकै असहज नै थियो। जुन सपना बोकेर उहाँ काठमाडौं प्रवेश गर्नुभएको थियो, त्यस्तै थुप्रै विघ्न–बाधा तथा अनेक चुनौतीहरूको पनि त्यत्तिकै सामना गर्नुपर्‍यो।घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण उहाँले उच्च शिक्षा हासिल गर्न सक्नुभएन। यद्यपि, उहाँले आफ्नो लगन, संघर्ष र सिर्जनात्मक क्षमताका माध्यमबाट चित्रकलाको क्षेत्रमा निरन्तर अगाडि बढ्ने प्रयास गर्नुभयो। राजधानीमा पढ्दै आफ्नो जीविका धान्नका लागि धेरै आर्थिक संकट अनि अवरोधहरू सहनुपर्‍यो।विभिन्न गल्ली र चोकहरूमा साहुको चाइनिज टेरिकटन कपडा बेच्ने, ठेलागाडामा सामान राखेर अन्य साहुका पसलहरूमा सामान पुर्‍याउने काम पनि उहाँले गर्नुभयो। कहिलेकाहीँ ठेलागाडा आफैँले ठेलेर सामान लैजाने जिम्मेवारी पनि निर्वाह गर्नुभयो।

यसरी जीवनका अनेकौँ चुनौतीहरू पार गर्दै वि.सं. २०४८ सालमा उहाँले धरहराको गल्लीमा कलाकार श्री मधु रायमाझीको कला पसलमा काम गर्ने तथा कला सिक्ने अवसर प्राप्त गर्नुभयो। उहाँले त्यहाँ करिब दुई–तीन महिना काम गर्दै चित्रकलाका आधारभूत सीपहरू सिक्नुभयो। त्यसपछि भने उहाँ आफ्नै घर फर्कनुभयो।

धेरैजसो व्यक्तित्वहरूले आफ्नो सफल जीवन पछाडि भोगेका उतार–चढाव, दुःख, कष्ट, बाधा र अवरोधहरूलाई कोट्याउन चाहँदैनन्। तर शाक्यले आफ्नो जीवनमा जति पनि झेलेका बाधा–अड्चनहरू छन्, ती सबै कुरा खुलेर बताउनुहुन्छ। ताकि आफूले गरेका कर्महरूबाट सबैले केही न केही पाठ सिकून् भन्ने उहाँको मूल धारणा हो।

उहाँसँग आफ्नो जीवनको बारेमा सोध्दा निकै खुलेर बताउनुहुन्छ। उहाँको सीप र कला मात्र नभई आफूले खेपेका हरेक चुनौतीलाई जीवनको पाठ अनि सफलताको बाटो हो भन्ने अमूल्य सोच राख्नुहुन्छ। काठमाडौंमा पढाइसँगसँगै आफ्नो जीविकोपार्जन गर्न निकै धौ–धौ भएपछि उहाँ एक्सपोर्ट कम्पनीमा काम गर्न थाल्नुभयो। त्यो बेलामा गृहत्याग र अनेकौँ चुनौतीहरूले घेरेको समय थियो भनेर उहाँ सुनाउनुहुन्छ। आफूले ठेलागाडामा समेत काम गरेको दुःखद अनुभव रहेको बताउनुहुन्छ। त्यसको केही वर्षपछि आफ्नै गृह जिल्ला बागलुङ फर्किएर लेखन कार्य लगायत चित्रकला व्यवसायलाई पुनः सञ्चालनमा ल्याउनुभयो। उहाँले एकल रूपमा नै पहिले साथीहरूको नामद्वारा राखिएको "RANTAL ARTS" भनेर नै नामकरण गर्नुभयो।

सफलता :

आफ्नो गृह जिल्ला बागलुङ फर्किएपछि पनि उहाँको यात्रा त्यति सहज थिएन। तर उहाँको निरन्तर मेहनत, लगन र अथक प्रयासका कारण बन्द भइसकेको रेन्टल आर्ट पुनः स्थापना गर्न सफल हुनुभयो। उहाँ भन्नुहुन्छ, “मैले केवल नौ सय रुपैयाँबाट "RANTAL ARTS"को सुरुवात गरेको हुँ।”

अब प्रश्न उठ्छ—त्यो नौ सय रुपैयाँबाट उहाँले के–के गर्नुभयो त? उहाँका बुबाले त्यही रकमबाट एउटा बेन्च र टेबलको व्यवस्था गरिदिनुभयो। त्यही साधारण बेन्च र टेबलबाट सुरु भएको व्यवसाय आज कला क्षेत्रको एउटा महत्वपूर्ण धरोहरका रूपमा स्थापित भइसकेको छ।

उहाँले जागिर र व्यवसायबीचको भिन्नतालाई पनि आफ्नै अनुभवबाट तुलना गर्नुभएको छ। उहाँका अनुसार जागिरमा एउटा निश्चित दायरा हुन्छ भने व्यवसायले आफ्नै रुचि, सिर्जना र निर्णयअनुसार काम गर्ने स्वतन्त्रता दिन्छ, जसले उहाँलाई धेरै सन्तुष्टि प्रदान गरेको छ।अहिले पनि उहाँ आफ्नै कला साधनामा निकै व्यस्त रहनुहुन्छ। कहिले साइन बोर्डको माग, कहिले चित्रकला, त कहिले पोर्ट्रेट आर्टका कामहरू निरन्तर आइरहन्छन्।

वि.सं. २०७५ सालतिर उहाँले प्लान नेपालअन्तर्गत सञ्चालन गरिएको शैक्षिक भित्तेलेखन कार्यक्रमका क्रममा बागलुङ जिल्लाका १० वटा विद्यालयमा करिब ४० दिनसम्म निरन्तर रूपमा एक्लैले भित्तेलेखन कार्य सम्पन्न गर्नुभएको थियो। यस अनुभवलाई उहाँ आफ्नो कलायात्राको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा स्मरण गर्नुहुन्छ। अहिले पनि यस्तै प्रकारका भित्तेलेखनका कामहरू प्याकेजका रूपमा आएमा उहाँ पूर्ण उत्साहका साथ जिम्मेवारी वहन गर्न तत्पर हुनुहुन्छ।

डिजिटल युगमा फ्लेक्स आर्ट, प्रिन्टिङ तथा आधुनिक डिजाइनको प्रभाव बढ्दै गए पनि उहाँको कला र सिर्जनाप्रतिको विश्वासका कारण उहाँको पसलमा ग्राहकवर्गको आकर्षण अझै कायम रहेको छ। परम्परागत कला, सीप र मेहनतलाई निरन्तरता दिँदै उहाँले आफ्नो कला यात्रालाई आजसम्म अगाडि बढाइरहनुभएको छ। अहिलेसम्म पनि उहाँले पेन्ट ब्रस, पेन्ट कलर, बोर्ड, रुमाल तथा कागजमा मात्र आफ्नो कला सिर्जना गर्दै आउनुभएको छ। परम्परागत माध्यम र आफ्नै सीपमा आधारित रहेर उहाँले कलालाई निरन्तरता दिँदै आउनुभएको छ।

आज यही पेसाबाट नै शाक्यले आफ्ना दुई छोराहरूलाई उच्च शिक्षा प्रदान गर्न सफल हुनुभएको छ। जेठो छोरा अध्ययनको सिलसिलामा अस्ट्रेलियामा हुनुहुन्छ।पारिवारिक जीविकोपार्जनसँगै आफ्नो व्यवसायलाई थप व्यवस्थित र स्थायी स्थान दिनका लागि शाक्यले बागलुङ बजारको सिर्जना टोलमा पक्की घरसमेत निर्माण गर्नुभयो।

आज उहाँ आफ्ना विगतका संघर्ष र त्यसबाट प्राप्त सफलतालाई सम्झँदै निकै खुसी हुनुहुन्छ। निरन्तर मेहनत, धैर्य र कलाप्रतिको समर्पणले उहाँलाई जीवनमा एउटा सफल यात्राको अनुभव प्रदान गरेको छ। निरन्तर अथक प्रयासका कारण आज केवल ९०० रुपैयाँबाट सुरु गरिएको कला व्यवसायले वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ। अहिले उहाँकहाँ चित्रकला सिक्न, चित्र बनाउन तथा कला सम्बन्धी विभिन्न काम गराउन विद्यार्थीहरू नियमित रूपमा आउने गर्छन्। उहाँले धेरै विद्यार्थीलाई चित्रकलाको ज्ञान र सीप प्रदान गर्दै कला क्षेत्रमा प्रेरणादायी योगदान पनि दिइरहनुभएको छ।

डिजिटल युगमा हस्तकलामा परेको प्रभाव :

डिजिटल युगले हस्तकलाको क्षेत्रमा सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रभाव पारेको छ। एकातिर डिजिटल प्रविधिको प्रयोगले हस्तकलाका सामग्रीलाई सामाजिक सञ्जाल, वेबसाइट तथा अनलाइन बजारमार्फत विश्वभर प्रचार–प्रसार र बिक्री गर्न सहज बनाएको छ। यसले कलाकार तथा हस्तकला व्यवसायीलाई नयाँ ग्राहकसँग जोडिन, आफ्नो सीप प्रदर्शन गर्न र आम्दानी बढाउने अवसर प्रदान गरेको छ। साथै, नयाँ–नयाँ डिजाइन सिक्न, तालिम लिन र सिर्जनात्मक विचार आदान–प्रदान गर्न पनि डिजिटल माध्यम उपयोगी बनेको छ।अर्कोतिर, मेसिनबाट छिटो र सस्तो उत्पादन हुने वस्तुको बढ्दो प्रयोगले परम्परागत हस्तकलाको मागमा केही कमी आएको छ। डिजिटल प्रविधिबाट बनेका डिजाइन र उत्पादनसँग प्रतिस्पर्धा गर्न हस्तकला व्यवसायीलाई चुनौती थपिएको छ। विशेषगरी युवा पुस्ता परम्परागत सीप सिक्नभन्दा डिजिटल पेशातर्फ आकर्षित हुँदा हस्तकलाको मौलिकता र पुस्तान्तरणमा समेत असर पर्न सक्ने देखिन्छ।

डिजिटल प्रविधिको नयाँ आगमनसँगै हस्तकलाको क्षेत्रमा केही न केही प्रभाव परेको भए पनि अझै धेरै ग्राहकहरूले हस्तकलाप्रति विशेष रुचि र विश्वास राख्ने गरेको उहाँ बताउनुहुन्छ। उहाँको पसलमा हालसम्म कुनै पनि डिजिटल प्रविधि, फ्लेक्स प्रिन्ट वा कम्प्युटर डिजाइनिङको प्रयोग गरिएको छैन। आवश्यक पर्दा उहाँ भित्तेचित्र बनाउन तथा भित्ते लेखन गर्न गाउँ–गाउँसम्म पुग्नुहुन्छ।

यो सीप र व्यवसायले आफूलाई आर्थिक रूपमा मात्र नभई मानसिक रूपमा पनि निकै सन्तुष्टि र खुसी दिएको उहाँको भनाइ छ। कहिलेकाहीँ एकै दिनमा २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ भने कहिलेकाहीँ आम्दानी निकै कम पनि हुन्छ। तर आम्दानी कम भएको बेला पनि उहाँ निराश हुनुहुन्न। आफ्नो कला, मेहनत र सीपप्रतिको विश्वासले उहाँलाई निरन्तर काम गर्न प्रेरित गरिरहेको छ।

यस्तो डिजिटल युगमा पनि आफ्नो मौलिक कलालाई यथास्थानमा राख्दै त्यसैलाई आधार बनाएर चुनौतीहरूको सामना गर्ने र निरन्तर साहसका साथ अघि बढ्ने व्यक्तित्वहरू निकै कम भेटिन्छन्। त्यही दुर्लभ गुण शक्यममा रहेको देखिन्छ। उहाँले आफ्नो कला, लगन र आत्मविश्वासका बलमा परम्परागत हस्तकलाको संरक्षण गर्दै यसलाई सम्मानित र जीवन्त बनाइरहनुभएको छ।यस्तो डिजिटल युगमा पनि आफ्नो मौलिक कलालाई यथास्थानमा राख्दै त्यसैलाई आधार बनाएर चुनौतीहरूको सामना गर्ने र निरन्तर साहसका साथ अघि बढ्ने व्यक्तित्वहरू निकै कम भेटिन्छन्। त्यही दुर्लभ गुण शक्यममा रहेको देखिन्छ। उहाँले आफ्नो कला, लगन र आत्मविश्वासका बलमा परम्परागत हस्तकलाको संरक्षण गर्दै यसलाई सम्मानित र जीवन्त बनाइरहनुभएको छ।

आगामी सोच र सपना :

आगामी दिनहरूमा आफ्नो कलायात्रालाई अझ व्यापक, परिष्कृत र प्रभावकारी बनाउने उहाँको लक्ष्य रहेको छ। चित्रकलामार्फत नेपाली कला, संस्कृति, प्रकृति तथा मौलिक पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उहाँको सपना छ। नयाँ–नयाँ सिर्जनामा निरन्तर लागिरहने, कला प्रदर्शनीहरू आयोजना गर्ने तथा विभिन्न कला कार्यशालामार्फत नयाँ पुस्तालाई कला शिक्षामा प्रेरित गर्ने उहाँको चाहना छ।

यसका साथै, आफ्नो अनुभव र सीपलाई भावी पुस्तासम्म पुर्‍याउन कला प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा आर्थिक अवस्था कमजोर भए पनि कला सिक्न इच्छुक प्रतिभाहरूलाई प्रोत्साहन र सहयोग गर्ने योजना पनि उहाँले बनाउनुभएको छ। कला समाजलाई सकारात्मक दिशा दिने सशक्त माध्यम भएकाले जीवनभर कला साधनामा समर्पित रहने उहाँको दृढ अठोट छ।

भविष्यको योजना :

भविष्यमा बागलुङ जिल्लाका ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा बहुआयामिक विषयवस्तुलाई समेटेर चित्रहरूको श्रृङ्खला तयार गरी एकल कला प्रदर्शनी आयोजना गर्ने उहाँको सोच रहेको छ। स्थानीय सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई चित्रकलामार्फत संरक्षण र प्रवर्द्धन गर्ने उहाँको प्रमुख उद्देश्य हो। उहाँ आगामी पुस्तामा चित्रकलाप्रति रुचि, जिज्ञासा र सिर्जनशीलता अभिवृद्धि गर्न विभिन्न कला प्रदर्शनी, प्रशिक्षण तथा कार्यशालाहरू सञ्चालन गर्ने लक्ष्य राख्नुहुन्छ। साथै, नेपाली कला, संस्कृति, प्राकृतिक सम्पदा र मौलिक पहिचानलाई चित्रकलामार्फत जीवन्त रूपमा प्रस्तुत गर्दै नेपाली ललितकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउने उहाँको दृढ संकल्प रहेको छ।

उहाँको घर तथा "RANTAL ART" मा प्रवेश गर्नेबित्तिकै सामान्य घर वा पसलमा होइन, एउटा कला दीर्घा (आर्ट ग्यालरी) अथवा कला सङ्ग्रहालय (आर्ट म्युजियम) मा प्रवेश गरेको अनुभूति हुन्छ। घरका प्रायः सबै भित्ताहरूमा विभिन्न शैली र विषयका चित्रहरू सजिएका छन्। प्रत्येक चित्रले उहाँको दीर्घ कला, साधना, सिर्जनशीलता र कलाप्रतिको समर्पणलाई जीवन्त रूपमा अभिव्यक्त गर्छ।घरका हरेक भित्तामा ठूला–ठूला राजनीतिक व्यक्तित्वहरू, बलिउडका नायकहरू, प्राकृतिक सौन्दर्य, मठ–मन्दिर, पहाड, झरना तथा आफूले भ्रमण गरेका विभिन्न स्थानहरूको दृश्यलाई उहाँले उत्कृष्ट चित्रकलामार्फत जीवन्त रूपमा उतार्नुहुन्छ। त्यसैले उहाँको घर केवल बसोबास गर्ने स्थान नभई कला, सिर्जना र सौन्दर्यको अनुपम संसारका रूपमा परिचित छ।

नयाँ पुस्तालाई सन्देश :

कला केवल चित्र कोर्ने वा मूर्ति बनाउने माध्यम मात्र होइन, यो हाम्रो संस्कृति, पहिचान र सिर्जनशीलताको प्रतिबिम्ब हो। त्यसैले नयाँ पुस्ताले कलालाई रुचि, लगन र निरन्तर अभ्यासका साथ आत्मसात् गर्न आवश्यक छ। सफलताको कुनै छोटो बाटो हुँदैन; निरन्तर मेहनत, धैर्य र सिक्ने इच्छाशक्तिले मात्र उत्कृष्ट कलाकार बन्न सकिन्छ।

आधुनिक प्रविधिको उपयोग गर्दै आफ्ना मौलिक सिर्जनाहरूलाई जोगाउनुका साथै नेपाली कला, संस्कृति र परम्परालाई विश्वसामु चिनाउने प्रयास गर्नुपर्छ। कला समाज परिवर्तनको सशक्त माध्यम पनि भएकाले आफ्नो सीपलाई सकारात्मक र सिर्जनात्मक कार्यमा प्रयोग गर्नु आवश्यक छ।

अहिले आएर विगत दुई वर्षदेखि उहाँ निरन्तर रूपमा प्रत्येक शनिबार ‘लाइभ पेन्टिङ’ (प्रत्यक्ष चित्रकला) मा सहभागी हुँदै आउनुभएको छ। यस क्रममा विभिन्न खोला–नाला, पहाड, झरना, ऐतिहासिक मठमन्दिर तथा धार्मिक स्थलहरूमा पुगेर कलाकारहरूको समूहसँगै प्रत्यक्ष रूपमा प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदालाई क्यानभासमा उतार्ने कार्य गर्दै आउनुभएको छ। यसले उहाँको कलायात्रालाई अझ सशक्त, जीवन्त र अनुभवसमृद्ध बनाएको छ।

नेपालमा ललितकलाको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ। क्यानभासमा विभिन्न रङहरूको समिश्रणमार्फत नयाँ आयाम र भाव सिर्जना गर्नु प्रत्येक चित्रकारको मौलिक सोच र सिर्जनात्मकताको परिचायक हो। सफल चित्रकार शाक्यले पनि नेपाली ललितकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विशेष जोड दिँदै आउनुभएको छ। आगामी पुस्ताले यस विषयप्रति रुचि, जिज्ञासा र लगाव राखून् भन्ने उहाँको ठूलो सपना रहेको छ।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।