19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तीनवटा कप

कथा बद्री अधिकारी September 3, 2026, 12:22 am
बद्री अधिकारी
बद्री अधिकारी

बिहानको चहलपहल बिस्तारै घरबाट बाहिरिइसकेको थियो। रोहन र निशा आ–आफ्नो अफिसतिर लागेका थिए। निरवले झोला भिरेर स्कूलको बस समातेको धेरै बेर भइसकेको थियो। भान्साको काम मिलाएर सहयोगी महिला पनि ढोका बन्द गर्दै बाहिरिइन्। त्यसपछि त्यो घरमा बाँकी रहे केवल हेमराज।

घरभित्र अब कसैको बोलाइ सुनिँदैनथ्यो। भित्तामा झुन्डिएको घडीले आफ्नै तालमा समय गनिरहेको थियो। झ्यालबाहिर भने सहर उस्तै व्यस्त थियो। गाडीहरू एकपछि अर्को गर्दै सडक चिर्दै गुडिरहेका थिए। मानिसहरू आफ्नै गन्तव्यतिर छिटोछिटो पाइला चालिरहेका थिए। कसैसँग एकछिन अडिएर आकाश हेर्ने फुर्सद थिएन।

झ्यालपारि रातिको वर्षाले पखालिएका बिरुवा र फूलका पातहरू घाम लाग्दै जाँदा झन् चम्किन थालेका थिए। टाढाको डाँडामाथि बादलको पातलो घुम्टो विस्तारै सरिरहेको थियो। आँगनको कुनामा फुलेको चमेलीबाट हल्का सुवास फैलिएको थियो। एउटा चरी रेलिङमा आएर केही क्षण बस्यो, वरिपरि नियाल्यो र फेरि खुला आकाशतिर उड्यो। प्रकृतिले प्रत्येक बिहानलाई नयाँ बनाइरहेकी थिई, तर हेमराजको मन भने उही पुरानो दिनको सेरोफेरोमै घुमिरहेको थियो।

अवकाशप्राप्त सुब्बाको दिन अब कार्यालयको घण्टीसँग होइन, घडीको सुईसँग बित्थ्यो। उनी बिस्तारै सयनकक्षतिर लागे। झ्यालछेउको सानो टि–टेबलमा दुईवटा कप राखिएका थिए। एउटाबाट तातो चियाको बाफ मन्दमन्द माथि उठिरहेको थियो। अर्को कप खाली थियो।

हेमराजको हात खाली कपतिर बढ्यो। औँलाले कपको किनार छोए।

“माया... तिम्रो कपमा धुलो बस्न थालेछ। म पनि कस्तो भएँ, ध्यानै दिन सकिनँ।”

उनले आफ्नै रुमाल निकालेर कपको किनार बिस्तारै पुछे। केही बेर कपलाई हेरे। त्यसपछि राखिएको ठाउँमा जस्ताको तस्तै गरी राखिदिए।


उनले आफ्नै कप उठाए। एउटा सानो चुस्की लिए। चिया मनग्यै तातो थियो, तर स्वाद कतै हराएको जस्तो लाग्यो। एक समय यस्तो पनि थियो, माया चिया ल्याउँदा उनी जिस्कँदै भन्थे, “चिनी त फेरि बढाइछौ।” माया हाँस्दै जवाफ दिन्थिन्, “तपाईंको बोली मीठो भए चिनी आफैँ घटिहाल्छ।”

हेमराजका ओठमा मुस्कानको हल्का रेखा कोरियो। त्यो मुस्कान धेरै बेर टिकेन। कोठाभित्र कसैले केही नबोले पनि मायाको हाँसो भने उनका कानमा अझै कताकता बाँचेको थियो।

उनी उठेर पुस्तक राखिएको सानो दराजतिर गए। माथिल्लो खण्डमा एउटा पुरानो डायरी, केही सरकारी कागजात र छेउमै बाक्लो फोटो एल्बम राखिएको थियो। उनले एल्बम झिके, तर खोलेनन्। औँलाले त्यसको गाढा निलो गाता बिस्तारै सुम्सुम्याए। केही सम्झनाहरू हेर्नुभन्दा महसुस गर्न कठिन हुन्छ भन्ने कुरा उनी राम्ररी जान्दथे।


झ्यालबाहिर हल्का हावा चलेको थियो। आँगनको कुनामा मायाले वर्षौँअघि रोपेकी चमेलीका हाँगाहरू मन्दमन्द हल्लिरहेका थिए। दुई–चारवटा सेता फूल भुइँमा झरेका थिए। हेमराजले ती फूलतिर केही बेर हेरिरहे। चमेलीको बोट पहिलेभन्दा निकै फैलिएको थियो। हेमराजका कपाल भने त्यही बोट रोपिएको वर्षदेखि बिस्तारै सेतिँदै आएका थिए। उनले एल्बम फेरि दराजमै राखिदिए। आज पनि त्यसलाई खोल्ने आँट जुटेन।


हेमराज केही बेर त्यहीँ उभिरहे।

झ्यालबाट छिरेको घामको एउटा पातलो धर्सो कोठाको भुइँ हुँदै एल्बमतिर पुगेर अडिएको थियो। उनले एक पटक फेरि त्यसतिर हेरे, तर हात बढाएनन्। केही पाना यस्ता पनि हुन्छन्, जसलाई पल्टाउनुभन्दा बन्द राख्न नै बढी साहस चाहिन्छ।

उनी बिस्तारै बैठक कोठातिर लागे। भित्तामा टाँसिएको पात्रोमा आजको मिति रातो मसीले घेरिएको थियो। त्यो घेरा कसले कोरेको थियो, उनलाई सम्झना थिएन। उमेर बढ्दै जाँदा स्मृतिले अनौठो खेल खेल्दो रहेछ। धेरै वर्षअघिका साना घटना झन् स्पष्ट भएर आउँछन्, तर हिजोका केही कुरा धुम्मिँदै जान्छन्।

बैठकको झ्यालबाट बाहिर हेर्दा आकाश अझै निर्मल थियो। परेवाहरू छानोमाथि ओर्लेर फेरि उडिरहेका थिए। हावाले चमेलीका केही फूल फेरि भुइँमा झारिदियो। ती फूल झर्दा कुनै आवाज आएन। तर त्यो क्षणले हेमराजको मनलाई भने चुपचाप छोएर गयो।

उनी सोफामा बसे। टेबुलमाथि राखिएको एउटा सानो फोटो फ्रेमतिर दृष्टि पुग्यो। फ्रेमको सिसामा झ्यालबाट आएको घाम परेर चम्किरहेको थियो। त्यो चमकका कारण तस्वीरभित्रको अनुहार प्रस्ट देखिएन। उनले फ्रेम उठाएनन्। केवल टाढैबाट केही बेर नियालिरहे।

घरभरि फेरि घडीको टिक–टिक मात्र बाँकी रह्यो।

दिउँसोको समय अझै धेरै बाँकी थियो।

★★


घडीको सुईले एघार बजेको सङ्केत गरिसकेको थियो। बिहानको चहलपहल धेरैअघि नै सहरले आफ्नो गर्भमा लुकाइसकेको थियो। घर भने उस्तै स्थिर थियो। झ्यालबाहिर गाडीहरू निरन्तर दौडिरहेका थिए। कसैका लागि समय कम थियो, कसैका लागि धेरै। हेमराजका लागि भने समय अघि बढेको होइन, फैलिएको जस्तो लाग्थ्यो।

उनी सोफाबाट उठे। बैठकको झ्याल खोले। बाहिरबाट हल्का बताससँगै चमेलीको सुवास फेरि कोठाभित्र पस्यो। टाढाको आकाश नीलो थियो। केही सेता बादल बिस्तारै बगिरहेका थिए। छिमेकीको आँगनमा एउटा परेवा आफ्ना बच्चाहरूसँग दाना टिप्दै थियो। आमाको वरिपरि घुमिरहेका ती साना परेवाका बच्चाहरूलाई हेर्दा हेमराजका आँखामा क्षणभर उज्यालो झल्कियो। अर्को क्षण त्यो उज्यालो आफैँ हरायो।

उनको दृष्टि फेरि आफ्नै आँगनतिर फर्कियो। चमेलीको बोटमा नयाँ कोपिलाहरू देखिन थालेका थिए। माया हुँदा हरेक नयाँ कोपिला देखेर उनी बालिकाजस्तै खुसी हुन्थिन्। “फूल फुल्नु भनेको घर हाँस्नु हो,” उनी भन्थिन्। त्यतिबेला हेमराज हाँसेर टार्थे। आज ती शब्दहरू सम्झँदा उनलाई लाग्यो, घर त साँच्चै मानिसले होइन, उसभित्रका आवाजहरूले हँसाउँदो रहेछ।

उनी बिस्तारै पुस्तक राखिएको दराजनजिक पुगे। यसपालि एल्बमतिर हात बढेन। बरु छेउमा राखिएको पुरानो डायरी उठाए। पहिलो पाना खोले। अक्षरहरू आफ्नै थिए, तर लेखेको समय भने अर्कै थियो। पहिलो हरफमा केवल एउटा मिति थियो। त्यसको तल दुईवटा शब्द मात्र लेखिएका थिए—

“आज माया...”

त्यसभन्दा तलको भाग खाली थियो।

हेमराजले लामो सास फेरे। डायरी बन्द गरे। केही वाक्यहरू जीवनभर पूरा हुँदैनन् भन्ने कुरा सायद यही पानाले सबैभन्दा राम्रोसँग जोगाएर राखेको थियो।

डायरी टेबुलमै राखेर उनी बिस्तारै झ्यालनजिकको कुर्सीमा बसे। बाहिरको घाम अब अलि चर्किन थालेको थियो। सडक किनारका रुखहरूबाट पातहरू बिस्तारै हल्लिरहेका थिए। टाढा कतै स्कुल छुटेको सङ्केत दिने घण्टी बज्यो। केही बालबालिकाको हाँसो हावासँगै उड्दै आयो र क्षणभरमै फेरि हरायो। त्यो हाँसो घरभित्र पस्न नपाउँदै बाहिरै कतै अल्झिएजस्तो लाग्यो।


अवकाशप्राप्त सुब्बाको दृष्टि भित्तामा झुन्डिएको घडीतिर पुग्यो। सुईहरू आफ्नै गतिमा अघि बढिरहेका थिए, तर उनलाई भने समय त्यहीँ अडिएको जस्तो लाग्थ्यो। कार्यालयमा हुँदा दिन कहिले सकिन्थ्यो, पत्तै हुँदैनथ्यो। एउटा फाइल सकिन नपाउँदै अर्को आइपुग्थ्यो। सेवाग्राहीका जिज्ञासा, सहकर्मीका कुराकानी, चियाको छोटो विश्राम, कार्यालयको घण्टी... दिनहरू टुक्रा–टुक्रा भएर अगाडि बढिरहन्थे। अहिले भने पूरा दिन एउटा लामो धागोजस्तै देखिन्थ्यो, जसको अन्त्य साँझ पाँच बजेतिर मात्र हुन्थ्यो।


उनी फेरि बिस्तारै सोफामा आएर बसे। दिउँसोको सुनसान स्थिति अब घरभरि फैलिइसकेको थियो। घाम झ्यालबाट सरिसकेर भित्ताको अर्को कुनातिर पुगेको थियो। बाहिरको हावा केही शान्त थियो। आकाशमा बादलका पातला रेखाहरू विस्तारै तैरिरहेका थिए। चमेलीका फूलको सुवास अझै मन्दमन्द फैलिरहेको थियो। समय आफ्नै गतिमा बगिरहेको थियो, तर त्यो घरभित्र भने समय नै सुस्ताइरहेको जस्तो लाग्थ्यो।

अवकाशप्राप्त सुब्बाको दृष्टि टेबुलमाथि राखिएको फोटो फ्रेमतिर पुग्यो। यसपालि उनले फ्रेम हातमा उठाए। सिसाभित्र माया मुस्कुराइरहेकी थिइन्। उनी केही बोलेनन्। केवल तस्वीरतिर हेरिरहे। त्यसपछि बिस्तारै भने, “आज पनि तिमीलाई भन्नुपर्ने धेरै कुरा थिए।”

शब्द त्यत्तिमै रोकिए।

कोठाभित्र कसैले उत्तर दिएन।

तर उनलाई लाग्यो, जीवनमा सबैभन्दा धेरै कुराकानी शब्दले होइन, उपस्थितिले हुने रहेछ। माया हुँदा घरमा धेरै कुरा नबोलिए पनि दिन पूरा हुन्थ्यो। अहिले भने पूरा दिन बित्थ्यो, तर एउटा वाक्य पनि कतै पुग्दैनथ्यो।

उनले टेबुलमाथि राखिएको मोबाइल हातमा लिए। स्क्रिन उज्यालियो। केही समाचारका सूचना आएका थिए। एउटा बैंकको सन्देश थियो। अर्को कुनै कम्पनीको विज्ञापन। छोराले अघिल्लो साँझ पठाएको एउटा सानो सन्देश पनि त्यहीँ थियो—“बुबा, औषधि खान नभुल्नुहोला।”

हेमराजले त्यो सन्देश फेरि एकपटक पढे। अनुहारमा हल्का मुस्कान आयो। छोरोले आफ्नो कर्तव्य बिर्सेको थिएन। बुहारीले पनि बिहान निस्कँदा खाना तताएर मात्रै खानुहोला भनेर सम्झाएकी थिई। उनले कसैप्रति गुनासो गरेनन्।

गुनासो थियो भने केवल समयसँग। मानिसहरू टाढिएका थिएनन्, उनीहरू सबै आफ्ना जिम्मेवारीभित्र बाँधिएका थिए। तर जिम्मेवारीले भरिएको संसारमा पनि एउटा वृद्ध मन दिनको बीचभागमा कसैको दुई मिनेटको साथ खोजिरहँदो रहेछ भन्ने कुरा कसैले देख्दैनथ्यो।


उनले मोबाइल फेरि टेबुलमै राखिदिए। कोठाभित्र घडीको टिक–टिक फेरि स्पष्ट सुनिन थाल्यो। उनी उठे, झ्यालबाहिर एकटक हेरे। भीड उस्तै थियो, सडक उस्तै थियो, सहर उस्तै थियो। बदलिएको थियो त केवल एउटा कुरा—त्यो भीडभित्र उनलाई खोज्ने मायाको नजर अब कतै थिएन। केही क्षणपछि उनको दृष्टि फेरि टेबुलमाथिको फोटो फ्रेमतिर पुग्यो। झ्यालबाहिर एउटा हावाको झोक्का आयो।...

चमेलीका केही फूल फेरि भुइँमा झरे। उनले ती फूलतिर एकटक हेरे। अचानक उनलाई बिहान निरवले हाँस्दै भनेको कुरा सम्झना आयो—“हजुरबुबा, बेलुका चेस खेलौँला है।”

हेमराजका ओठमा यसपालि अलिकति लामो मुस्कान देखापर्‍यो।

सायद दिन अझै सकिएको थिएन।

सायद साँझले आज केही फरक लिएर आउने तयारी गरिरहेको थियो।

★★★


बिहान दिउँसो हुँदै समय बिस्तारै ओरालो लाग्न थालेको थियो। झ्यालबाट भित्र पसिरहेको घाम अब पहिलेको ठाउँमा थिएन। भित्तामा सरिरहेको उज्यालो विस्तारै कोठाको अर्को कुनातिर पुगेको थियो। घडीको सुईले चार बज्न अझै केही समय बाँकी रहेको देखाइरहेको थियो।

हेमराज फेरि सोफामै बसे। बिहानदेखि उनका हातले चलाएका सुमसुम्याएका पुस्तक, डायरी र मोबाइल सबै आफ्नै ठाउँमा फर्किसकेका थिए। अब उनीसँग गर्नुपर्ने कुनै काम थिएन। मायाले चिया पिउने कपले टि टेबलबाट आफूलाई हेरिरहेझैँ उनलाई भान भइरहेको थियो।

उनले नजर झ्याल बाहिरतिर मोडे। सडकमा स्कुलबाट फर्किने बालबालिकाको चहलपहल बिस्तारै बढ्न थालेको थियो। कसैको काँधमा भारी झोला थियो, कोही साथीहरूसँग हाँस्दै हिँडिरहेका थिए। एउटा बालकले सडकछेउबाट सानो ढुङ्गा लातले हानेर अगाडि बढायो। त्यो देख्दा हेमराजलाई क्षणभर सानै उमेरको रोहन सम्झना आयो। विद्यालयबाट फर्कंदा ऊ पनि यस्तै गरी बाटोभरि ढुङ्गा हान्दै घर आइपुग्थ्यो। माया ढोकामै उभिएर भन्ने गर्थिन्, “पहिला हातमुख धोऊ, अनि मात्र खेल्न जाऊ।”

त्यो सम्झनाले उनका ओठमा हल्का मुस्कान ल्यायो। मुस्कानसँगै आँखामा एकछिन पुराना दिनहरू पनि झल्किए।

त्यत्तिकैमा बाहिरबाट एउटा स्कुल बसको परिचित आवाज सुनियो। बस केही क्षण रोकियो र फेरि अघि बढ्यो। उनी उठेर झ्यालनजिक आए।

केही बेरपछि गेट खुल्ने आवाज आयो।

निरव झोला बोकेर भित्र पस्यो। उसले आँगनमै जुत्ता फुकाल्यो, एकछिन चमेलीको बोटतिर हेर्‍यो र भुइँमा झरेका एउटा–दुईटा सेता फूल टिपेर हातमा खेलाउँदै घरभित्र पस्न लाग्यो।

झ्यालबाट हेर्दै गरेका हेमराजका अनुहारमा यसपालि बिहानदेखिको भन्दा अलि फरक उज्यालो देखियो।


केही बेरमै ढोकाको घण्टी बज्यो। हेमराज ढोकातिर लाग्न खोज्दै थिए, तर ढोका बाहिरबाटै खुल्यो। निरव भित्र पस्यो। अनुहारमा दिनभरिको थकाइ थियो, तर आँखामा भने कुनै नयाँ कुरा लुकेको जस्तो चमक थियो।

“हजुरबुबा, म आएँ।”

“आइस् बाबु,” हेमराजले स्नेहपूर्वक भने।

निरवले झोला सोफाको छेउमा राख्यो। सामान्य दिनझैँ सीधै आफ्नो कोठातिर गएन। बरु केही क्षण त्यहीँ उभिएर हजुरबुवालाई हेरिरह्यो। हेमराजलाई त्यो नजर अलि फरक लाग्यो। त्यसमा हतार थिएन, केवल अपनत्व थियो।

“हजुरबुबा, तपाईंले खाना खानुभयो?”

अप्रत्याशित प्रश्न सुनेर हेमराज एकछिन मुस्कुराए।

“खाएँ बाबु।”

“औषधि पनि खानुभयो?”

“खाएँ।”

निरवले सन्तुष्ट हुँदै टाउको हल्लायो। त्यसपछि टि–टेबलतिर पुगेर केही क्षण दुईवटा कपलाई नियालिरह्यो। एउटा कप हजुरबुवाको थियो। अर्को कप सधैँझैँ सफा भएर पनि प्रयोगविहीन अवस्थामा राखिएको थियो।

उसले केही सोधेन।

केही दिनअघि विद्यालयमा साथीहरूले एउटा टेलिफिल्मबारे गरेको कुराकानी उसलाई फेरि सम्झना आयो। घरमा आएर उसले पनि त्यो टेलिफिल्म हेरेको थियो। त्यहाँ एउटा वृद्ध मानिस दिनभरि एक्लै कसैको प्रतीक्षा गरिरहेको दृश्यले उसको मन छोएको थियो। त्यस दिनदेखि उसले आफ्नै हजुरबुवालाई अलि फरक दृष्टिले हेर्न थालेको थियो। विद्यालय जाँदा, घर फर्कंदा र बेलुका सुत्नुअघि उनका अनुहारमा आउने साना परिवर्तनहरू उसले अब चुपचाप बुझ्न थालेको थियो।

उसले झ्यालबाहिर नजर लगायो। चमेलीका सेता फूल अझै भुइँभरि छरिएका थिए। हल्का हावाले केही फूल फेरि हल्लायो। उसलाई हजुरबुवाले ती फूलतिर एक्लै हेरिरहेको दृश्य अनायासै सम्झना आयो।

“हजुरबुबा,” उसले बिस्तारै भन्यो, “आज होमवर्क अलि पछि गर्छु है।”

हेमराजले आश्चर्यले उसको अनुहार हेरे।

“किन र?”

निरव मुस्कुरायो।

“पहिला हामी दुईजना चेस खेलौँ। बिहान भनेको कुरा आज पूरा गरौँ।”

हेमराजका आँखामा हल्का चमक फैलियो। उनले केही बोलेनन्। केवल टाउको हल्लाए। धेरै समयपछि कसैले उनको समयलाई आफ्नै समयसँग जोड्न खोजेको थियो।

निरव दौडेर आफ्नो कोठातिर गयो। केही क्षणमै पुरानो चेसबोर्ड बोकेर फर्कियो। उसले बोर्ड टि–टेबलको छेउमा सावधानीपूर्वक राख्यो। झ्यालबाट पसेको साँझको सुनौलो उज्यालो कालो–सेता घरहरूमा बिस्तारै फैलिन थाल्यो। त्यो उज्यालोमा हेमराजका अनुहारमा देखिएको सन्तोष शब्दभन्दा धेरै स्पष्ट देखिन्थ्यो।


चेसको खेल कहिले सुरु भयो र समय कहिले बित्यो, दुवैलाई थाहै भएन। कहिले निरवको हाँसो कोठाभरि फैलिन्थ्यो, कहिले हेमराजको अनुभवले एउटा गोटी बचाइदिन्थ्यो। हार–जितभन्दा पनि उनीहरूबीच फेरि जोडिँदै गएको समय धेरै मूल्यवान् थियो।

त्यत्तिकैमा बाहिर गाडी रोकिएको आवाज आयो। केही क्षणपछि ढोका खुल्यो। रोहन र निशा कार्यालयबाट फर्किएका थिए। बैठक कोठामा पाइला राख्नेबित्तिकै उनीहरूको दृष्टि चेसबोर्डतिर पुग्यो। हजुरबुबा र नाति खेलमा यति रमाएका थिए कि ढोका खुलेको समेत उनीहरूले थाहा पाएनन्।

रोहन र निशाले एकअर्कातिर हेरे। दुवैका अनुहारमा अनकनाउँदै मुस्कान फैलियो। केही दिनयता निरवमा आएको परिवर्तन उनीहरूले देखिरहेका थिए। ऊ पहिलेझैँ घर पस्नेबित्तिकै आफ्नो कोठामा हराउँदैनथ्यो। बरु हजुरबुवासँग केही समय बिताउन खोज्थ्यो। सुरुमा उनीहरूले त्यसलाई सामान्य बालसुलभ परिवर्तन ठानेका थिए। तर आज त्यो परिवर्तनले हेमराजको अनुहारमा फर्किएको उज्यालो उनीहरूका लागि सबैभन्दा ठूलो उत्तर थियो।

निशा बिस्तारै भान्सातिर लागिन्। केही बेरपछि उनले चियाको केतली लिएर फर्किइन्। टि–टेबलमा राखिएका दुईवटा कपतिर उनको दृष्टि पुग्यो। उनले कपहरूलाई केही क्षण हेरिन्। त्यसपछि भान्साबाट अर्को एउटा कप ल्याइन्।

निरवले उत्सुक हुँदै सोध्यो, “ममी, अर्को कप किन?”

निशाले मुस्कुराउँदै भनिन्, “आजदेखि बेलुकीको चिया सबैले सँगै पिउने।”

उनले तीनवटै कपमा चिया खन्याइन्।

एउटा कप हेमराजको अगाडि थियो।

अर्को कप निरवको अगाडि।

र अर्को कप टि–टेबलको बीचमा राखिएको थियो।


हेमराजको दृष्टि केही क्षण ती तीनवटा कपमै अडियो। उनका आँखामा अनेक सम्झनाहरू एकसाथ तरंगिए। जीवनले खोसेका कुरा फर्केर आउँदैनन् भन्ने कुरा उनी जान्दथे। तर जीवनले नयाँ साथ भने कहिलेकाहीँ नबोलाईकन पनि दिँदो रहेछ भन्ने अनुभूति आज पहिलोपटक यति गहिरोसँग भयो।


झ्यालबाहिर साँझ विस्तारै रातमा रूपान्तरण हुँदै थियो। चमेलीको बोटमा हल्का हावा चल्यो। एउटा नयाँ कोपिलाले साँझको उज्यालो समातेर चुपचाप टल्कियो।

घर उस्तै थियो।

भित्ताहरू उस्तै थिए।

घडीले अझै आफ्नै तालमा समय गनिरहेकै थियो।

तर आज त्यो घरमा घडीको टिक–टिकभन्दा मानिसहरूको साथको न्यानोपन बढी सुनिन्थ्यो।

टि–टेबलमा राखिएका तीनवटा कप अब केवल चिया पिउने भाँडा थिएनन्।

ती तीनवटा कप निर्जीव वस्तु मात्र थिएनन्। ती तीन पुस्तालाई एउटै टेबल वरिपरि जोड्ने जीवन्त सम्बन्धका प्रतीक बनेका थिए।

हेमराजले चियाको कप उठाए। हल्का मुस्कुराउँदै निरवतिर हेरे।

“अब त चेसको अर्को खेल पनि बाँकी छ नि, बाबु।”

“जति खेल भए पनि म खेल्न तयार छु, हजुरबा।” निरवले हाँस्दै भन्यो।

त्यो हाँसोसँगै घर पनि मुस्कुरायो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।