नेपाली साहित्यको इतिहास र यसको निरन्तर विकासक्रममा यात्रा-साहित्य अर्थात् नियात्राले एउटा अत्यन्तै महत्त्वपूर्ण, लोकप्रिय र समृद्ध स्थान ओगटेको छ।
विगतमा यात्रा वृत्तान्तलाई नयाँ स्थानको भ्रमण, दर्शनीय स्थलको बाह्य हुबहु विवरण वा मनोरञ्जनात्मक टिपोटमा मात्र सीमित राखिने परिपाटी थियो। आधुनिक साहित्यको मोडमा आइपुग्दा नियात्राको त्यो साँगुरो दायरा पूर्णतः भत्किएको छ।
आजको नियात्रा केवल भूगोलको नक्साङ्कनमा सीमित नरही आञ्चलिक चेतना, सामाजिक यथार्थ, राजनीतिक विसङ्गतिप्रतिको विद्रोह, सांस्कृतिक अध्ययन, पर्यावरण र उच्च जीवनदर्शनको जीवन्त सङ्गम बनेको छ।
यसै समकालीन साहित्यिक फाँटमा भेषराज रिजाल एक अत्यन्तै सशक्त, मौलिक, प्रखर र निष्ठावान् हस्ताक्षरका रूपमा स्थापित भइसकेका छन्। रिजालको लेखनमा पाठकलाई काठमाडौँका साघुरा कोठाबाट सिधै सुदूर क्षेत्रको काखमा पुर्याउने अद्भुत सामर्थ्य छ।
यात्रालाई मानवशास्त्र, समाजशास्त्र र दार्शनिक चिन्तनसँग जोडेर प्रस्तुत गर्ने आधुनिक परिपाटीलाई उनले नयाँ उँचाइ प्रदान गरेका छन्। उनका रचनामा बाह्य दृश्यको मनोरम वर्णन मात्र हुँदैनस त्यहाँ त यात्राका क्रममा भेटिएका आम भुइँमान्छेका आन्तरिक पीडा, सुदूर बस्तीको कहालीलाग्दो यथार्थ, राज्यको विभेदकारी नीतिप्रतिको आक्रोश र गहिरो मानवीय संवेदना पोखिएको हुन्छ।
भेषराज रिजालको कृति ‘भेरीका छालहरू’ नेपाली नियात्रा साहित्यको क्षेत्रमा एउटा जीवन्त र अनुकरणीय साक्ष्य हो। पश्चिम नेपालका अप्ठ्यारा कन्दराहरू, भेरी नदीको अविरल सुसाहट, कर्णालीको विकट परिवेश र त्यहाँका बासिन्दाको कष्टकर जीवनगाथा सजीव रूपमा प्रस्तुत गर्ने यो कृतिले आधुनिक नेपाली यात्रालेखनलाई निकै परिपक्व र विचारोत्तेजक बनाएको छ।
डिजिटल समाचार माध्यम एवं प्रतिष्ठित साहित्यिक पोर्टलहरूमा शृङ्खलाबद्ध रूपमा प्रकाशित भई अपार पाठकको मन जित्न सफल यी रचनाहरू पुस्तकाकार रूपमा सङ्ग्रहित भएपछि झन् गहिरो र समन्वयात्मक बनेका छन्।
नियात्राकार रिजालले प्रत्येक पाइलामा भेटिने स्थानीय मानिसका आँसु र मुस्कान, तिनको सांस्कृतिक वैभव र राज्यको मूलधारबाट किनारा पारिएका सीमान्तकृत समुदायको दबेको आवाजलाई आफ्ना शब्दमा आत्मीयताका साथ गाँसेका छन्।
यस पुस्तकको मूल शीर्षक र केन्द्रीय संवेदना भेरी तथा कर्णाली नदीको सेरोफेरोमा आधारित रहे तापनि यसभित्रका निबन्धहरू नेपालका पूर्व-पश्चिम क्षितिजदेखि लिएर अन्तर्राष्ट्रिय धरातलसम्मै फैलिएका छन्। यसले के स्पष्ट पार्छ भने नियात्राकारको नजर कुनै एउटा साँगुरो परिधिमा मात्र कैद छैनस उनी जहाँ पुग्छन्, त्यहीँको धड्कन र जनजीवनलाई आफ्नो लेखनको विषय बनाउँछन्।
यी नियात्राकारको मुख्य संवेगात्मक झुकाव भने विकासका दृष्टिले ओझेलमा पारिएको भेरी-कर्णाली क्षेत्रतर्फ नै बढी देखिन्छ। उनका यात्रावृत्तान्तले पाठकलाई देशका विभिन्न डाँडाकाँडा, भन्ज्याङ र दूरदराजका बस्तीहरूसम्म पुर्याउँछ।
यात्राका क्रममा उनी एक संवेदनशील सामाजिक पर्यवेक्षक, सांस्कृतिक अध्येता, पर्यावरणविद् र दार्शनिक चिन्तकका रूपमा उभिएका छन्। बाटोमा भेटिएका भारिया, स्थानीय चियापसले, गाउँका बूढापाका, दुखिया महिला र साना बालबालिकाहरूसँगका उनका जीवन्त संवादले वास्तविक जनजीवनको तस्बिर स्पष्टसँग कोर्छन्।
यस सङ्ग्रहमा सुन्दर ढङ्गले बुनिएका २३ वटा नियात्राहरू छन्। सङ्ग्रहभित्रका प्रत्येक अध्याय विचार, विषयवस्तु र शिल्पका दृष्टिले निकै सुललित, गम्भीर र समृद्ध छन्।
यस कृतिभित्र सङ्ग्रहित ‘मेथालिका’ नियात्रा केवल वैदेशिक भूगोलको भ्रमण विवरणमा सीमित नरहेर आत्मनिरीक्षण र वैश्विक परिवेशको तुलनात्मक अध्ययनका रूपमा प्रस्तुत भएको छ।
नियात्राकारले बाह्य भूगोल वा अत्याधुनिक विदेशी सहरको भ्रमण गर्दा त्यहाँको भौतिक विकास, सुसज्जित जनजीवन र प्रविधिलाई आफ्नै मातृभूमिको सुदूर यथार्थसँग दाँजेका छन्। रिजालमा प्रकृति दोहन र मानवीय स्वार्थी प्रवृत्तिका प्रति गहिरो चिन्ता पनि छ।
मानिसले आधुनिकताका नाममा प्राकृतिक स्रोतमाथि गरेको निर्दयी अतिक्रमण, वनजङ्गलको विनाश र मानिसको दोहोरो चरित्रलाई नियाल्दै उनी कडा शब्दमा लेख्छन् “भुइँकुहिरो पातलिँदा वा उडिजाँदा त देखिहालिन्छ मान्छेको कालो मन र उजाडिएको वन!”
यस पङ्क्तिले मानिसको बाह्य ढोंग र भित्री स्वार्थी मनसायलाई भुइँकुहिरोको बिम्बमार्फत बडो चोटिलो ढङ्गले उजागर गरेको छ। प्रकृतिको स्वच्छता हराउँदै जाँदा मानवीय नैतिकता पनि कसरी खस्किँदै गएको छ भन्ने कुरालाई नियात्राकारले यहाँ सटिक रूपमा औँल्याएका छन्।
त्यस्तै, ‘सोतखोलाको सुसेली’ अध्यायमा स्थानीय सोतखोला र त्यसवरपरको प्राकृतिक छटासँगै गाउँले जीवनको शुद्ध सुवास पोखिएको छ।
नियात्राकार रिजालले स्थानीय मानिसको सादा जीवन, निश्चल मन र आञ्चलिक बोलीको मिठासलाई उत्तिकै आत्मीयताका साथ नियालेका छन्।
सोतखोलाको बगरमा गाउँले महिलाहरूसँगको सहज संवादलाई व्यक्त गर्दै उनी लेख्छन्, “सोतखोलाको ढुङ्गेनी बगरमा आइपुग्दा भेटिए नाउली गाउँबाट झरिरहेका केही महिलाहरू। मैले तिनीहरूको नाम राखिदिएँ नाउलीका नौलीहरू। बोको डोर्याएकी चाहिँलाई सोधेँ मैले- ‘बोको बेच्ने हो र?’ प्रतिउत्तरमा हो भन्ने आशय बुझिने गरी मुन्टो मात्र हल्लाइन् उनले। ‘कति हो त यसको मूल्य?’ किनौँलाझैँ गर्दै जीवन अघि सर्नुहुन्छ। ‘खोई मलाई थाहा छैन?’ उनी लजाउँदै र पन्छिँदै बोलिन्।
उनको लज्जामिश्रित मुस्कानलाई हामीले पनि साथ दियौँ हाँसेर। वास्तवमा पहाड उक्लन हिँडिरहेका हामीलाई बोको चाहिएकै थिएन, चाहिएको थियो त केवल नौलीको मुस्कान! हेर्नुथियो सरल गाउँले जनजीवनको सुन्दरता र सुन्नुथियो सुन्दर गाउँले लवजको मधुरता!”
यस प्रसङ्गले सहरी कृत्रिमता र व्यापारिक छलकपटभन्दा धेरै टाढा रहेको पहाडी जनजीवनको सरलता र निश्चल आत्मीयता पाठकसमक्ष बडो सुन्दर ढङ्गले पस्केको छ।
अर्कोतर्फ, ‘सलहेशको फूलबारी’ ले पहाडी भूगोलभन्दा बाहिर निस्केर मधेस प्रदेशको सिरहास्थित ऐतिहासिक तथा सांस्कृतिक धरोहर सलहेश फूलबारीको सेरोफेरो समेटेको छ।
यस नियात्रामा तराईको प्राकृतिक र धार्मिक भ्रमण मात्र छैन, मधेसका भूमिहीन, दलित र मुसहर समुदायले भोगिरहेको दुःखी जीवनप्रतिको गहिरो सामाजिक चेत पनि छ।
युरोपको भौतिक समृद्धि र लहानका दलित बालबालिकाको दयनीय अवस्थालाई दाँज्दै नियात्राकारले राज्यका ठूला नारामाथि कडा व्यङ्ग्य हानेका छन्, “उताका म्यानाकम्पी बेहिसाब समृद्धिको पिसाब गरिरहेछन्। यताका म्यानाकम्पीहरू दलित बस्तीका गरिबीसँग गुडुल्किएर अभाव, रोग, भोक र कुपोषण मुतिरहेछन्। समाजको उत्थान नभई नाराबाट मात्र कहाँ आउँछ र समृद्धि?”
यहाँ नियात्राकारको राज्यसत्ताप्रतिको तिखो असन्तोष पोखिएको छ। मधेसका भूमिहीन र दलित समुदायको दयनीय स्थिति सुधार्न नसक्ने तर चुनावका बेला आश्वासन मात्र बाँड्ने राजनीतिक संयन्त्रलाई उनले नाङ्गो ढङ्गले ऐना देखाइदिएका छन्।
कृतिको अर्को मुख्य अध्याय ‘जहाँ ढुङ्गाढुङ्गा बास छ’ कर्णाली र भेरी क्षेत्रका अत्यन्तै विकट, भिरपहारा र पूर्वाधारविहीन दूरदराजका बस्तीहरूको कष्टकर यात्रावृत्तान्त हो।
यो नियात्रा रचना धार्मिक तीर्थस्थल पाथिभरा वा दुर्गम थानहरूको साधारण भ्रमणमा मात्र सीमित छैन। यहाँ धर्म, बलिप्रथा, अन्धविश्वास र ईश्वरको वास्तविक बासस्थानबारे अभूतपूर्व दार्शनिक चिन्तन प्रस्तुत गरिएको छ।
मन्दिरका निर्जीव ढुङ्गा वा मूर्तिमा देवता खोज्ने परम्परागत सोचभन्दा माथि उठेर भारी बोकेर पसिना बगाउने सोझा, इमानदार र कर्मठ भुइँमान्छेभित्रै ईश्वरको रूप देख्ने नियात्राकारको उच्च मानवीय चेत यसरी पोखिन्छ, “पाथिभरा दर्शनले भावविभोर हुँदै कान्छीदेवी थाननेर गुन्गुनाइरहेथेँ म– ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ।’ ‘हेर्न सके मान्छेका शरीरमा पनि छन् देवता!’ दाउराको भारी टेकाएर थकाइ मारिरहेका तिनका काया र कर्म म पुगेका सबै तीर्थस्थल जत्तिकै पवित्र छन्।”
यो पङ्क्ति रिजालको समग्र जीवन(दर्शनको एउटा उत्कृष्ट शिखर हो। मन्दिरका निर्जीव मूर्तिमा भन्दा मानिसको इमानदार श्रम, पसिना र भावनाभित्र साँचो देवत्व खोज्नुले नियात्राकारलाई उच्च मानवतावादी विचारकका रूपमा उभ्याउँछ।
त्यसैगरी, ‘मानुङकोट’ नियात्रा तनहुँको एउटा चर्चित पहाडी थुम्काको भ्रमण विवरण मात्र नभई आधुनिकताका नाममा मौलिकता र संस्कृति गुमाउँदै गएको समाजप्रतिको गहिरो चिन्तन पनि हो।
गाउँलेहरूले आफ्नै मौलिक संस्कार, अर्गानिक खानपान र स्वावलम्बन बिर्सँदै गएको र बजारीकरणमा भुलेको दृश्यप्रति टिप्पणी गर्दै नियात्राकार भन्छन्, “सपना धमिलिँदा भविष्यको तस्वीर झन् धुमिल हुँदै जाँदोरहेछ।”
भानुभक्तको इतिहास, हिमश्रृङ्खलाको सुन्दरता र प्रकृतिको काखमा पुग्दा उहाँको मनभित्र आत्मिक उज्यालो छाउँछ। जीवनको सुख बाह्य चमकधमकमा होइन, अन्तरमनको शान्तिमा हुन्छ भन्ने निष्कर्ष निकाल्दै नियात्राकार लेख्छन्, “मनमा घाम लाग्नु जत्तिको सन्तोष केही हुँदैन जिन्दगीमा।”
प्रकृतिको सामीप्यमा पाइने यो आत्मिक सन्तोष नै पाठकका लागि पनि एक ठूलो प्रेरणाको स्रोत बन्न पुग्छ।
पुस्तकको शीर्षक नियात्रा ‘भेरीका छालहरू’ सिङ्गो सङ्ग्रहकै मुटुका रूपमा रहेको छ। सुर्खेतको वीरेन्द्रनगरदेखि बड्डीचौर, पञ्चपुरी, नार्सीगाउँ, घाटगाउँ हुँदै भेरी र कर्णालीको दोभान (जामुकुइने) सम्मको चुनौतीपूर्ण यात्रामा आधारित यो निबन्धले पाठकको मनमस्तिष्कलाई बेस्सरी झस्काउँछ।
यस नियात्रामा नियात्राकारले सोझा गाउँलेहरूलाई गैरसरकारी संस्थाहरू र भ्रष्ट बिचौलियाहरूले कसरी मासुभात र तालिमु को नक्कली बिल बनाएर अनुदान लुटे र ठगे भन्ने दारुण कथा प्रस्तुत गरेका छन्।
इमानदार मानिसहरू यसरी ठगिएको दर्दनाक दृश्य देखेर नियात्राकार दुःखी हुँदै लेख्छन्, “छट्टुको बथानमा इमान्दारी पनि अभिशाप पो हुँदोरहेछ।”
यति धेरै बेथिति र अन्धकारका बाबजुद नियात्राकार कतै पनि निराश वा पलायन हुँदैनन्।
भेरी नदीको अविरल बहाव र सङ्घर्षशील छालहरूबाट प्रेरणा लिँदै उनी जीवनको गहिरो सत्य र साहसको सौन्दर्य प्रकट गर्दै लेख्छन्, “दुर्गमलाई पाइलामुन्तिर पारेर भेट्टाउनु छ दूर क्षितिजको सुगम, तब सिस्नु समातेर खस्न जोगिएका भीर र काँडाघारी टेकेर उभिएका पाइलाको शक्ति अनुभूत हुने छ। साहसको सौन्दर्यले उज्यालिने छ हृदय।”
यो हरफले निबन्धलाई यात्रावृत्तमा सीमित नराखी हरेक पाठकको मनमा आशा, सङ्घर्ष र आत्मबल जगाउने उच्च दार्शनिक उचाइ प्रदान गरेको छ।
‘भेरीका छालहरू’ पुस्तकको अर्को महत्त्वपूर्ण आयाम भनेको यसले उजागर गरेको सामाजिक र आर्थिक यथार्थ हो। कर्णाली क्षेत्र लामो समयदेखि आधारभूत पूर्वाधार, पिउने पानी, स्वास्थ्य, शिक्षा र सडकको न्यूनतम पहुँचबाट वञ्चित रहँदै आएको छ।
नियात्राकारले यी गम्भीर विषयहरूलाई कुनै नीरस प्रतिवेदनको शैलीमा होइन, नियात्रात्मक भावुकता र स्थानीय अनुभवमार्फत उजागर गरेका छन्।
बिरामी बोकेर घण्टौँसम्म भिरपहारामा हिँड्नुपर्ने बाध्यता, सामान्य सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने अवस्था र रोजगारीको खोजीमा कलिलो उमेरमै मुग्लान वा कालापहाड भासिनुपर्ने युवाहरूको नियतिलाई नियात्राकारले करुणाका साथ प्रस्तुत गरेका छन्।
केन्द्रमा बसेर समृद्धिु को नारा घन्काउने शासकहरूले सुदूरको माटो र मान्छेलाई कसरी बिर्सिएका छन् भन्ने कुरालाई रिजालले आफ्ना तीक्ष्ण शब्दमार्फत निर्भीक रूपमा उजागर गरेका छन्।
भाषा, शैली र आञ्चलिकताका दृष्टिले भेषराज रिजालको लेखन अत्यन्तै काव्यिक, मर्मस्पर्शी र सशक्त छ। उनको लेखनमा एउटा अनौठो किसिमको मिठास र प्राकृतिक बहाव छ, जसले पाठकलाई पहिलो वाक्यदेखि नै आफूसँगै यात्रामा डोर्याउँछ।
उनले क्षेत्रीय बोलीचालीका शब्दहरू र स्थानीय शब्दावलीहरू जस्तै, अक्करे भीर, सुसेली, भुइँकुहिरो, थुम्को, जङ्घार, छाल, काँस, जामुकुइने, गोरुजुरे आदिको प्रयोग गरेर नियात्रालाई मौलिक सुवास प्रदान गरेका छन्।
रिजालको शब्द चयनमा उच्च काव्यात्मकता छ, जस्तै, “तामाको मुनाझैँ मनमा पलाएको माया”, “विषालु जङ्गली च्याउजस्तो घृणा”, र “धर्तीका रक्तवाहिनीझैँ बगेका सेती र मादी”।
यस्ता जीवन्त बिम्बहरूका कारण पाठकले अक्षरहरू पढ्दापढ्दै पहाडी बाटोका कठिनाइ र गाउँले बस्तीहरूको परिवेश प्रत्यक्ष महसुस गर्न सक्छन्।
सुसङ्गठित सम्पादन कौशलका कारण यी नियात्राहरूलाई पुस्तकाकार रूपमा निरन्तर पढ्दा एउटा सिङ्गो र पूर्ण महाकाव्यात्मक यात्राको आभास हुन्छ।
अनलाइन वा छापा माध्यममा छरिएर रहेका अध्यायहरूले पाउने क्षणिक प्रतिक्रियाभन्दा पुस्तकाकार रूपले पाउने स्थायित्व र व्यापकता धेरै बढी हुन्छ।
कृतिभित्रका विभिन्न प्रसङ्गहरूले नेपालको बहुसांस्कृतिक र बहुजातीय परिदृश्यलाई बडो सुन्दर ढङ्गले उजागर गर्छन्। त्यहाँका स्थानीय मेला–पर्व, देउडा संस्कृति, थारू र मुसहर समुदायको जनजीवन, मौलिक भेषभूषा, परम्परागत खानपान र धामी–झाँक्री परम्परा जस्ता सांस्कृतिक पक्षहरूलाई नियात्राकारले चासोका साथ समेटेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक र भौगोलिक विविधताले युक्त देश हो। ‘भेरीका छालहरू’ ले हिमाल, पहाड, तराई र मधेसका सांस्कृतिक धागोहरूलाई एउटै मालामा बुन्ने काम गरेको छ। यसले नेपाली समाजको बहुसांस्कृतिक बनोटलाई नजिकबाट बुझ्न, अन्तरसांस्कृतिक सद्भाव कायम गर्न र आन्तरिक पर्यटनलाई व्यापक रूपमा प्रवर्धन गर्न ठूलो साहित्यिक योगदान पुर्याउँछ।
‘भेरीका छालहरू’ नेपाली नियात्रा साहित्यको श्रीवृद्धिमा एउटा युगन्तकारी र कालजयी योगदान साबित भएको छ।
यस कृतिले शब्दका माध्यमबाट भूगोलको दूरीलाई घटाएको छ र सुगम क्षेत्रका पाठकलाई मनैदेखि कर्णाली, भेरी र मधेसको मुटुसम्म पुर्याएको छ।
प्रकृतिको मनोरम चित्र, मानवीय संवेदनाको आत्मीय स्पर्श, सामाजिक यथार्थको निर्भीक प्रस्तुति, दार्शनिक चेतना र मौलिक आञ्चलिक भाषाको प्रयोगले यो कृतिलाई अत्यन्तै पठनीय र मानक बनाएको छ।
भेरी नदीका छालहरूसँगै बगेका नियात्राकार रिजालका यी अनुभूतिहरूले नेपाली नियात्रा साहित्यको इतिहासमा लामो समयसम्म आफ्नो अमिट, उज्यालो र प्रेरणादायी छाप छोडिरहनेछन्।