ऊ पास/फेलको झन्झटमा खासै अल्झेन; सिधै राजनीतितिर लाग्यो । पहिलो चुनाव हार्यो; अनि पिए भयो । पिए भएर त उसलाई घुस/कमिसन कत्ति! कत्ति!! त्यही पैसा दिएर मनोनित भो' । अनि मन्त्री भयो ।
हामी ओल्लो टेबुलमा थियौं; ऊ पल्लो टेबुलमा।
धेरै खाएछ। टेबुलमै लम्पसार भयो।
हामीले भन्यौं— “घरमा खबर गरौं?"
होटल साहुजीले टाउको हल्लायो— “घर लिलाम भइसक्यो; अस्ति नै।"
“अनि परिवार ?"
“घरेलु हिंसा सहन नसकेर श्रीमती हिँडिन् अरे, अर्कैसँग।"
तेस्रो टेबुलबाट अर्थशास्त्रको प्राध्यापक जुरुक्क उठ्यो— “बुझ्नुभएन, उसले जीवनभर जोड्यो मात्र।"
हामीले ऊतिर हेर्यौं।
प्राध्यापकले भन्यो— "पुँजीकरण गर्न भने चुकेछ।”