डुलुवा मन मान्छेको तर विगत तीन वर्षदेखि कोरोनाको विश्वव्यापी महामारीले कुँजिएको र कुँडिएको छ यो मन । देशमा राजनैतिक अस्थिरताको परिदृश्य छ । संवैधानिक जटिलताले गर्दा स्थानीय सरकार बनाउने चुनावको अर्को दृश्य । वैशाख ३० गते, २०७९ शुव्रmबार आमचुनावको दिन । सवारी साधनमा प्रतिबन्ध । चुनावमा भोट दिनु थिएन । बसोबास विराटनगरको – त्यहीँ मतदाता सूची आफ्नो । काठमाण्डू अस्थायी । ३१ गते शनिबार । जेठ एक गते आइतबार पनि सार्वजनिक बिदा दिने सरकारी निर्णय तर यो टिक्नेवाला थिएन । जेठ दुई गते वैशाखे पूर्णिमा, बुद्धजयन्ती । लगातारको तीनदिने बिदा भएपछि चरीकोट, जिरी र तामाकोसीको भ्रमण गरौँ भन्ने ज्वाइँ कृष्णको प्रस्ताव । ज्वाइँछोरी रोजमेली र हामी बूढाबूढीको सहमति । चार जनाको टोली बन्यो ।
बिहान पाहुनाले गर्दा सबेरै निक्लन सकिएन भन्दै ज्वाइँ दसबजेतिर आइपुग्नु भयो । राजमार्गमा आफ्नो निजी गाडी गुडाउने ज्वाइँ नै । शङ्खमूलबाट कोटेश्वर, भक्तपुर हुँदै घण्टाभरमै साँखुका महादेवको विशाल मूर्ति सँगैको झोलुङ्गे पुल हेर्दै वनेपा निक्लिसकेका छौँ । सडकमा त्यति भीड छैन । चुनावको प्रभाव होला । साँखु वरपर डाँडै काटेर घडेरी प्लटिङको दृश्यले मन पोल्छ । वन मासिएको छ । प्रकृतिमाथिको खेलवाड । पैसाको पछि दगुर्ने मन । विरक्त हुन्छ मन । यही विरक्तिसँगै धुलिखेल उक्लिसकेका छौँ । धुलिखेलले पुरानो स्मृतिलाई ताजा बनाउन खोज्छ । देशभरका व्यापारिक केन्द्र र सदरमुकामहरूमा धुलिखेले साहुहरू नपुगेका ठाउँ नै थिएन । हाम्रै दिङ्लामा पनि दास साहु, विश्व अमृत, सुन्दर, गुणराज, सूर्य र वंशी साहुहरू थिए । यस्तै भोजपुर बजारमा नरम र उत्तर साहुहरू । उनीहरू जहाँ पुगे, त्यहाँ आफ्ना जात्रा र संस्कृतिहरू पनि पु¥याए । कालान्तरमा तिनीहरू कोही यतै फर्के । अहिले पनि यतै हुँदा हुन् । गुणराज र रामप्यारी दिदी हाम्रो अत्यन्तै नजिकका मान्छे थिए । तिनीहरू दिङ्लाबाट दोलालघाट सरे । अहिले गुणराज बिते पनि दिदी काठमाण्डूमै छिन् । यदाकदा उनी र उनका छोरीहरूसँग भेटघाट भै रहन्छ ।
धुलिखेलले आफ्नो व्यापारिक केन्द्रबिन्दुलाई छोडेको छैन । यो काभ्रे जिल्लाको सदरमुकाम । पर्यटकहरू लोभ्याउने रिसोर्टहरू खुलेकै छन् । हिमाल र सूर्योदयको दृश्य देखाउने होटलहरू प्रशस्त छन् । त्यसमाथि वि.पि. र अरनिको दुई राजमार्गहरूको सन्धिखर्क भएको छ धुलिखेल । एउटा पाटोबाट झरिन्छ सिन्धुलीतिर अर्को पाटोबाट झरिन्छ– दोलालघाट ।
घुम्ती पाटाहरूको जङ्गललाई छिचोल्दै पाँचखालको मैदानी भागमा पुग्दा त्यहाँको बस्ती र बारीमा फुलेका तोरीको दृश्यले मन लोभ्याउँछ । सम्झन्छौँ साङराङकी कान्छी छोरी राजश्रीलाई । उनी यहीँको सरकारी कार्यालयमा जागिर खान्छिन् । लोकन्थली, भक्तपुरबाट धाएर जागिर खाँदा तलवजति सवारीसाधनको इन्धन र ड्राइवरको तनाखामा नै सकिदो हो । बस्तीमुनिको जङ्गलको हरियालीका पाटाहरूमा, घुम्तीहरूमा चाकाचुली खेल्दै तल खोलामा झरिसकेका छौँ । दोलालघाट इन्द्रावती र सुनकोसीको सङ्गमस्थल । व्यापारिक केन्द्र । पुलबाटै बजारको क्षेत्र झुलुक्क हेछौँ ।
नदी किनारै किनारका बस्तीहरू फुत्त–फुत्त आउँदै, जाँदै गर्थे । चेहरे, सुकुटे, बलेफी, कोठे, अँधेरीका साइनबोर्डहरू । स–स्याना चिया चमेना खाने पसलहरू । आँखा नबिझाउने हरियाली दृश्य । हामीसँग यो ठाउँ र दृश्यमा रमाउने, सुस्ताउने समय थिएन । गाडीको इञ्जिन ताती रह्यो । स्टेयरिङ घुमाएर कत्ति पनि थकान महसुस नगर्ने ज्वाइँ सोध्दै हुनुहुन्थ्यो, “अप्ठ्यारो त भएको छैन ।” बाटो अझै लामै थियो । यहीँ थाकेको अनुभूति देखाए उहाँलाई खल्लो लाग्ला भनेर भन्थ्यौँ, “ठिकै छ ।” अर्को दुई नदीको सङ्गम खानी खोला पुग्दा झिलिमिली चाइनिज बजारको दृश्य देखियो । मेरी श्रीमती भने नदी किनारमा फैलिएको बस्ती देखेर अत्तालिदै भन्दै थिइन्, “वर्खामा यिनीहरूलाई बाढीले बगाउँदैन ?” आफूलाई नपरेसम्म थाहा नपाउने हामी । दुई नदीको बीचको पहाड, त्यहीँ झुरुप्प बस्ती । जोखिम मोलेरै बस्ने हाम्रो बानी । यसैले त यदाकदा वर्षादमा बस्ती नै पहिरोमा परेको दृश्यले मन भतभती पोल्छ । चाइनिज सामानले झकीझकाउ पसलहरू देखेर छोरी लोभिदै भन्दै थिइन्, “ब्ल्याङ्केटहरू किन्नु थियो ।” उनको इच्छालाई फर्कदा हेर्ने भनेर हामी अगाडि बढी रह्यौँ । तातोपानीतिर जाने बाटो यहीँबाट छुट्टिदो रहेछ ।
खोलाको किनारको तेर्सै–तेर्सो बाटो छाडेर हामी पहाडका उकाला घुम्तीहरूमा र कतै ओरालोमा फनफनी घुमिरहेका थियौँ । गाउँका बस्तीहरूमा चुनावको मत गणना हुँदै गरेका ठाउँहरू पनि भेटिए । त्यहाँ पार्टीका झण्डा, उम्मेदवारका पोस्टर अनि मानिसका झुण्ड–झुण्ड । ती स्थानीय आफ्ना आफन्तहरूको विजयको खबर सुन्न आतुर हुनुपर्छ । अहिलेको केन्द्रको फोहोरी खेल राजनीतिको । सिद्धान्त र विचार एकातिर कार्यशैली अर्कै । जे भए पनि मानिसहरूको चासोको विषयचाहिँ यही हुने । देश र जनताको भलो गर्ने भनाइ तर आफ्नै र आफन्तकै भुँडी भर्ने खेलले फोहोरी देखिएको राजनीति । कहिलेसम्म यस्तो खेल चलिरहने हो, टुङ्गो छैन तर जनता भने सधैँ भेडाबाख्राजस्तो यस्तै झुण्डमा झुण्डिरहने ।
स्वार्नामा, थुम पाखर, ठूलो पोखर, शिल ढुङ्गा, शैलेङ्गेश्वर, ‘माथि माथि शैलुङ्गेमा चौरी चराउनेलाई ...’ गीतको सम्झना गराउने ठाउँ । यी ठाउँ र बस्तीका पाटाहरू छिचोल्दै हामी उकालिदै थियौँ । मुडे पुगेपछि हामीले हिले, वसन्तपुर माथिको मुडेलाई सम्झियौँ । एउटै नामका कति ठाउँहरू । यस्तै निगाले बजारले लेकमा पाइने निगालो जातको बाँसको झ्याङको सम्झना आयो । अनि आहाले डाँडाले लेकमा बस्तुभाउको निम्ति बनाइएको आहालको झझल्को आयो । यहाँ आहाल त थिएन तर सम्म ठाउँ भेटेर हामीले गाडी रोक्यौँ । बाहिर निक्लियौँ । तलैदेखि हामीलाई पाकेको ऐँसेलुका दानाहरूले लोभ्याइरहेका थिए । झाडीतिर ऐँसेलु टिप्ता जुकाले टोकेछ – ज्वाइँलाई । यो सामान्य मान्दै हुनुहुन्थ्यो वहाँ । हामी भने प्लास्टिकको गिलासमा ऐँसेलु भरेर तिनकै दानामा रमाउँदै थियौँ । शहरमा कहाँ देख्न र चाख्न पाउनु ? यस्ता मीठा प्राकृतिक फल । सानामा लुगा कोतर्दै ऐँसेलुका झ्याङमा झुत्ती खेलेको सम्झना भैरह्यो । धन्य रह्यो आहाले डाँडा । सिन्धुपाल्चोक जिल्ला छाडेर दोलखा छुँदै थियौँ कि ? खरिढुङ्गा यो पहाडको उचाइको नागीजस्तो देखिन्थ्यो । यी नागीहरूमा चियाको खेती गरे हुन्थ्यो होला भन्ने मेरो जिज्ञासामा ज्वाइँ भन्दै हुनुहुन्थ्यो, “यसको भित्री भागमा ढुङ्गै–ढुङ्गा छ । त्यसैले चिया फस्टाउँदैन ।”
बाटो नागीमा घुमाउरो । ओरालिदै थियो । डोबाटे, मकैबारी, पुवाँले हुँदै चरीकोट दोलखा जिल्लाको सदरमुकाम । डाँडैभरि फैलिएका ठूलठूला घर, होटल, पसल । सबै पहाडमा सदरमुकामहरूको एउटैजस्तो दृश्य । सरकारी कार्यालयहरूका साइनबोर्डहरू । यहाँ भोलि हामीलाई कालीन्चोक भगवतीको दर्शन गराउन लाने बैङ्कका ड्राइवरको खोजी त गरियो तर उनको मोवायल स्वीचअफ । हामी झन्डै चार कि.मि. तल रहेको दोलखा बजार झ¥यौँ । एउटा चमेनागृहमा पसेर चना, चिउराको अर्डर ग¥यौँ । दोलखामा भीमसेनको मन्दिर १५ मिनट तल पर्ने रहेछ । हिँडेरै त्यता जाने मन ग¥यौँ । बाटो काटेर जान मन लागेन । भीमसेनलाई पसिना आउँदा राष्ट्रप्रमुखले नै क्षमापूजा गर्ने प्रचलन छँदैछ । हिँडेर जाँदा छिटपुट पानी प¥यो । यसलाई शुभलक्षण मान्दै हामी छिटो–छिटो ओरालो झ¥यौँ । ठाडै ओरालो झर्ने मुखैमा राम्रो पार्क रहेछ । इन्द्रदेवको सालिक । उनी चाँदीको मुद्रा चलाउने मल्लकालीन राजा रे । झुप्पा–झुप्पा गुलाफका फूलहरू । नजिकै मत गणना हुँदै रहेछ । भीडभाड देखिन्थ्यो । पोस्टरहरू यत्रतत्र टाँगिएका । पार्क घुमेर आनन्द लिने समय हामीसँग थिएन ।
भीमसेन मन्दिर
मन्दिर त पुग्यौँ तर पानीको अभाव । हातखुट्टा धुन पनि बोतलको पानी किन्नु प¥यो । दुई लाख बलि दिइएकाले ‘दोलखा’ नाम रहेको कुरा कतै पढेको थिएँ । पानी परेकोले रगतको दाग मन्दिरको ढोका वरपर देख्ता आलोजस्तो लागेर दिङ दिङ लागिरह्यो । वरपरका गाउँहरूको दृश्य नदी किनारको बेँसी भने सुन्दर तर मन्दिरको हाता तथा मूर्तिहरू अबिर र रङ्गले घुस्रोफुस्रो देखिए । मूल मन्दिर यो समय बन्द रहँदो रहेछ । बाहिरबाटै यसो पूजाका अक्षताहरू र रङ अबिर छरेर सन्तोषको सास फे¥यौँ । भीमसेनको दर्शन भोलि गरौँला भन्दै बाटो ततायौँ ।
चिया–चमेना पसलमा हिजोको चुनावको चर्चा हुँदै थियो । धेरैलाई खाजा खुवाएर सन्तुष्ट भएकी साहुनीले आफ्नो बिव्रmीको चर्चा गरिन् । नेताको चरित्र, भोटरहरूको मनस्थिति, खानपान, भोटको कुरा सुन्दा हाँसो नउठ्ने कुरै थिएन । हामी दोलखा छाडेर तामाकोसी खोला भेट्न सिङ्गटीतिर झर्दै थियौँ । एउटी सानी बालिकासहितकी आमाले गाडी रोक्न हात हल्लाउँदै थिइन् । भन्दै थिइन्, “सिङ्गटी लगि दिनुस् न ।” सिट नभएको बहाना बताएर हामी भाग्दै थियौँ । त्योभन्दा पनि बढी समय भड्किदा हामी तामाकोसी पुग्ने हतारोमा थियौँ । उनी यहाँ मत गणना स्थलमा आएकीजस्तो देखिन्थिन् । गाउँतिर गाडी देख्नासाथ कसैले लगी देला कि ? भनेर आशा राख्ने धेरै हुँदा रहेछन् । सिङ्गटीसम्म पक्की बाटो– गाडी सलल बगिरह्यो । सिङ्गटी सानो खोला । खोला किनारमा सानो बस्ती । यहाँबाट ग्राभेल बाटो । तल तामाकोसीको सुसेलीको तरङ्ग माथि किनारै किनारको बाटो । हामीले त एउटा दुई कुइनेटा भएको अक्कर अरुण नदीमा सङ्खुवासभामा देखेको । यहाँ त यस्ता सातवटाभन्दा बढी अक्करहरू रहेछन् । एउटा डाँडा कट्यो – अक्कर अर्को फेरि ठिक्क उस्तै । आङ् सिरिङ्ग हुने । डर मानेर के गर्नु ? यस्ता अक्करे भीरहरू तरेर तामाकोसी आफैँ पुग्न खोज्ने ज्वाइँको साहस देखेर हामी बूढाबूढी डराइरह्यौँ । छोरीको अनुहार पनि फुस्रो ।
तामाकोसीको किनारै–किनार । ठाउँ–ठाउँमा एकाध घर । कतै स–स्याना खेत, बारीका पाटा । स–स्याना गाउँ । चित्रे, सुरी दोभान, मन्थली, जगते हुँदै हामी फराकिलो व्याँसी घोघरमा पुग्यौँ । खोलातिर हेर्दा रिङ्गटा चल्ने । एक डेढ घण्टापछि बल्ल पावर हाउसका घरहरू देखिए घोघरमा । सेनाले धेरै वर नै ढाट तेस्र्याएर गस्ती गरिरहेको । आफ्नो परिचय र उद्देश्य बताएपछि ढाट खोलिदिए । देशको सम्पत्ति मानिएको विद्युत गृहको
सुरक्षा सेनाले गर्नु अत्यन्तै राम्रो । हामीले विद्रोहको नाममा यस्ता सम्पत्तिहरू नष्ट भएको देखेका पनि छौँ ।
माथि वारिपारि नै अग्ला पहाडहरू । तल ब्याँसीजस्तो ठाउँमा सुन्दर घरहरू– अग्ला । गेटमा रहेका पालेले ढोका खोलिदिए । भित्र पस्नासाथ इन्जिनियर पवन पोखरेल स्वागतमा तयार । उहाँले दुइटा गाडी तयार अवस्थामा
राख्नु भएको रहेछ । भन्दै हुनुहुन्थ्यो, “चुनावको बेला भएकोले धेरै कर्मचारी मित्रहरू घर जानु भएको छ, हामी सीमित प्राविधिकहरू मात्र छौँ । आजै पावर हाउस हेरौँ, भोलि बिहान लामा बगर गएर ड्याम साइट हेरौँला ।” हामी गलेका थियौँ तर यो अवसरले उत्साहित भयौँ ।
पोखरेल सरले हाम्रो स्वागत गर्नुको कारण के थियो भने ज्वाइँ कृष्ण यो प्रोजेक्टका लागि लगानी गर्ने वित्तीय संस्थाका उच्च पदस्थ कर्मचारी हुनुहुन्थ्यो । हाम्रो दानापानीको व्यवस्था नै हजुरहरूको हातमा छ भनेर स्वयं पोखरेल सर नै बताउँदै हुनुहुन्थ्यो । फलामको टोप लगाउनु नै पर्ने रहेछ । साँझ परेकोले मोबाइल फोन चाहिँ लान छुट छ भने पालेले । केही बगरका केही कच्ची सडक छिचोलेर सुरुङ मार्ग भित्र छि¥यो – प्रोजेक्टको गाडी । साढे तीन कि.मि. सुरुङ मार्ग छ भन्दैथे । सुरुङभित्र नै रहेछ – पावर हाउस । नेपालको आफ्नै लगानीमा तयार भएको साढे चारसय किलोवाट भन्दा बढी विद्युत उत्पादन हुँदै आएको तामाकोसी विद्युत गृह ।
चारतलाको घर नै सुरुङभित्र रहेछ – पावर हाउस । सबैभन्दा तल छ वटा टर्वाइनहरू घुमिरहेका । माग र आवश्यकताअनुसार ती टर्वाइनहरू चलाइदा रहेछन् । छ वटै एकैपटक घुम्न सक्ने क्षमता रहेछ । पानी घुमेपछि पुनः सुरुङबाटै छलल्ल नहरमा बग्दै नदीसम्म पु¥याइएको । दोस्रो तलामा कम्प्युटर, फोनसहित कर्मचारीहरू । माग अनुसार टर्वाइन घुमाएर विद्युत उत्पादन गर्न तैनाथ । ठूलठूला बाकस । सबैभन्दा माथिल्लो तलामा पोखरी रहेछ । कतै आगलागी भए निभाउने यन्त्रसहितको सुरक्षाको व्यवस्था । यो विद्युत पावर केन्द्रको छानो, गारो आरसिसी ढलान गरिएको हो रे । कोट्याएर देखाउँदै पवन सर ।
हेर्नैपर्ने रहेछ – यो योजना स्थल । झन्डै एक डेढ घण्टा यही सुरुङभित्रको झिलिमिलीमा हामी हराइ रह्यौँ । एउटा कुनामा यसो फोटो खिच्न मिल्ने रहेछ । पवन सरले नै फोटो खिचिदिनुभयो । मनले त मानेको थिएन तर ... छाड्नै पर्ने बाध्यता । साँझ त्यहाँको मेसमा बनाइएको दालभात खाएर आनन्दले पाहुना घरमा सुत्यौँ । पाहुनाको खातिर गर्ने हाम्रो संस्कृति त्यसमाथि पढे–लेखेका प्राविधिकहरूको आतिथ्य अत्यन्तै प्रशंसनीय ।
भोलि बिहानै छ बजे नै विद्युत गृहका ड्राइवर आइपुगे । फर्किदा चिया, नास्ताका लागि रोटी अर्डर गरेर हामी लाग्यौँ – नदी किनारै किनार । आठ कि.मि. टाढा छ रे लामा बगर । सुरुङ मार्ग भने तीन कि.मि. । बाटो उकालियो । आम्मै नि ! भीर नै भीर पो रहेछ । अति दक्ष चालक नभए त कतै भीरमै पो ज्यानको जोखिम । यस्तो बाटोमा पनि बस गुड्छ रे । एउटै योजनाले कत्रो परिवर्तन ल्याउन सक्दो रहेछ । यहाँ बाटोको कल्पना अघिल्ला पुस्ताकाले सपनामा पनि देखेका थिएनन् होला । पवन सर यहाँका स–स्याना खोलाबाट अरू जल विद्युत निकालेर यही मूल योजनामा जोडिदै गरेको खबर दिँदै हुनुहुन्थ्यो । रोल्वालिङ नदीबाट २५ किलोवाटको योजना वहाँ आफैँ हेर्दै हुनुहुँदो रहेछ । भीरैभीर करिब एक घण्टाभन्दा बढी समय लगाएर हाम्रो गाडी लामा बगर पुग्यो । चिसो हावा बहँदै थियो । ठूल–ठूला दुई पोखरीको ड्याम । यहीँ चाइनिजहरूले निर्माण गरेको अर्को योजनास्थल पनि रहेछ – त्यहाँ हाम्रै छोरी राजश्रीका श्रीमान् काम गर्नुहुन्थ्यो । यस्तो विकट स्थलमा विदेशीसँग उहाँले गरेका कामको स्मरण गर्दै थियौँ – हामी । चाइनिज भाषाको राम्रो ज्ञान भएका र उतै पढेका इन्जिनियर ज्वाइँले हामीलाई यहाँ आउन उत्प्रेरित गर्नु भएको पनि हो ।
हेर्ने, फोटो खिच्ने, घुम्ने अझ नदी किनारका ढुङ्गा, चट्टानहरू नियाल्ने काम ग¥यौँ । जाडोको अनुभूति भयो । हावा द्रुत गतिमा चल्दो रहेछ – पोखरीमा पानीको तरङ्ग । त्यै तरङ्गमा झुलिरहेको हाम्रो मन । सुरुङभित्र बगेको पानी जस्तै । धन्य तामाकोसी, जसले यहाँको जन जीवनलाई त सरल बनायो, बनायो । देशकै काँचुली फेर्न कम्मर कस्यो । यस्तै योजनाहरू अरू बन्न सके
..... के के हुँदो हो ?
पारिपट्टिको सिमीगाउँ । रङ्गीन जस्ता पाता टल्केका । धेरै सिमी फल्ने भएकाले त्यै नाम पाएको । अहिले धेरैजसो त्यो
गाउँका युवाहरू युरोपमा छन् रे । पर्यटक रुट भएकाले तिनीहरूकै आकर्षणमा उतै छिरेका रे । युवा नरहे देश कसरी बन्ला ? यो राष्ट्रिय सङ्कटको विषय हो ।
ड्याम साइटबाट फर्केर आयौँ । पावर–हाउस नजिकै ड्राइवरकै घरमा आलुको तरकारी र कराइमा पकाइएका बाक्ला गहुँका रोटीले तृप्त भयौँ । त्यसमाथि एकथाल पाकेका काफल पनि बुत्यायौँ । चरीकोट पुगेर गाडी बदल्दै कालीन्चोक भगवतीको दर्शन गर्नु थियो । दसबजे आइपुग्ने भने पनि हामी समयमा फर्कन सकेनौँ । बाटामा गाडी रोक्न खोज्ने हातहरू उठिरहने । सिट छैन भन्नै पर्ने । हिजोकै अक्करे भीर, सिङ्गटी खोला हुँदै दोलखा बजार आइ पुग्दा एघार बजिहाल्यो । भीमसेनको दर्शन थाती नै थियो । दौडेर पुग्यौँ । लाइनमा बसेकालाई समस्या बतायौँ । ढोकामै पुगेकाले हाम्रो अर्जी सुनिदिए । सरक्कै भित्र पस्न दिए । मूर्तिकै अगाडि टाउको निहु¥याएर टीका लगायौँ । आनन्दको अनुभूति भयो । ईश्वर छन्, छैनन् बहसको विषय हो तर आत्मसन्तुष्टि लिन सक्नु सुखानुभूति हो ।
हिजोकै चमेनागृहमा थोरै चिया–नास्ता खायौँ । ड्राइवर तैनाथ थिए । अफिसकै गाडी । मकैबारीदेखि बाटो उकालो । ६ कि.मि. जति पक्की सडक रहेछ । त्यसपछिको कच्ची बाटो मर्मत हुँदै रहेछ । जम्मै बाटो १५ कि.मि. भए पनि कच्ची । त्यसमाथि आधा बाटो पार नहुँदै पानी बर्सियो । जान त यात्रीहरू मोटरसाइकलमा जाँदै थिए । ती सडकको किनारातिर छेउ लागे । हिले सडकमा हाम्रो गाडी फस्यो । ज्वाइँले जुत्ता फुकालेर हिलोमा ढुङ्गा हाल्न थाल्नुभयो । ड्राइवर कच्चै रहेछन् । फर्कदै गरेका अन्य ड्राइवरले उनलाई सिकाउँदै थिए । केही अन्य गाडीका यात्रुहरूले हाम्रो गाडीलाई ठेलेर हिलोबाट निकाल्न मद्दत गरे । ड्राइवर आत्तिदै भन्दै थिए, “यो गाडी जाँदैन, फर्केर अर्को गाडी खोज्नुस् ।” ज्वाइँको साहस, अन्य सह–यात्रीहरूको सदाशयताले अरू एकदुई ठाउँमा गाडी फसे पनि ढुङ्गा हाल्दै, निकाल्दै कठिन बाटोको यात्रा सहज बन्यो ।
जङ्गलमा पानी सुसाएको र निथ्रुक्क भिजेरै खाली खुला गाडीमा बलेरोमा हिँडिरहेका यात्रीहरूको दुर्दशा हाम्रोभन्दा बढी बिजोगको देखिन्थ्यो । एकजना मोटर साइकलमा हिँडिरहेकी बहिनीले हाम्रो गाडीमा लगिदिन अनुरोध गरिन् । बसिन् । गुराँसका फूलहरू पानीमा भिजेर भुइँमा झरेका देखिन्थे । ग्राभेल रोड भेटियो । हामी खुशी भयौँ । अग्लो डाँडामुनि जब कुरिन बस्ती भेटियो तब हामी फुलेल भयौँ । अहा ! यस्तो विकट ठाउँमा पनि आधुनिक होटलहरू । काठका घर तर रङ्गीन जस्तापातामा चम्किएका । केवलकार यहीँबाट आउँदै जाँदै । पानीको भने यहाँ अभाव रहेछ । परेको वर्सादको पानी सञ्चय गर्नु पर्दो रहेछ । खुट्टा बोतलको पानीले धुनुप¥यो । केवलकारबाट मिलिक्कै कालीन्चोक भगवती रहेको भुम्कीमुनि पुगियो – सरर्र । बाहिरी दृश्य, हिमाल देख्न सकिएन । शौचालय आधुनिक पाराको भेटियो । थुम्की उक्लन केही सिँढी चढ्नु पर्ने रहेछ । चाँडो–चाँडो चढ्न नसकिने । लेक लाग्दो रहेछ । बिस्तारै एक–अर्काको हात समाएर उक्लियौँ । ठाडो उकालो चढ्न नसके घुम्ती बाटो पनि रहेछ । त्यतै लागियो ।
गणेशको ढुङ्गे मूर्तिमा घरैबाट लगिएको फूल, दुबो चढाइयो – फलसहित । थुम्कीमा ढुङ्गे तथा धातुको देवीको मूर्ति खुला ठाउँमा । कपडा, ध्वजा पताकाले बेरिएको स्थल । त्रिशूल, घण्टाहरू बेरा लगाएर कति चढाएका हुन्, भक्तहरूले हेर्न लायक । एउटा बेरिएको सानो कुण्ड रहेछ । त्यहीँ कुण्डको दर्शन गर्नेहरूमध्ये एउटी महिला काम्दै लम्पसार परिन् । उनकी साथी हामीलाई उनलाई नछुन आग्रह गर्दै थिइन् । सायद धमिनी होलिन् । यहाँ आइपुग्दा उनको आङका देवता खुशी भएका होलान् । धूपबत्ती बालेर अक्षता, अबिर छर्कदै त्यही थुम्कीकी देवी कालीन्चोक माताको परिव्रmमा गर्दै रह्यौँ । सिमसिमे बर्सादले हामीलाई स्वागत गरे पनि जाडोको अनुभूति भैरहेकै थियो । बाटोको कठिन यात्रालाई बिर्सियौँ । माताकै कृपाले आउन सकेकोमा आफूलाई धन्य सम्झियौँ । आस्था र विश्वास आफ्ना ठाउँमा । ३८४२ मिटरको उचाइमा रहेको भगवती थान २५ मिटर चौडाइ, ७० मिटर लम्बाइ भएको टाकुराको थुम्की । कौशिक ऋषिले ध्यान गरेको ठाउँ । पञ्चपाण्डवले गुप्तबास बसेको स्थल । यहाँको कुण्डको पानी भीमेश्वर मन्दिरमा भित्रभित्रै पुग्ने जन विश्वास । यतै माथितिर च्छोरोल्पा ताल पनि छ भनेको सुनेको छु तर जान सक्ने अवस्थामा हामी छैनौँ ।
वरिपरिको प्राकृतिक दृश्य मनमोहक भए पनि टाढाको दृश्य देख्न नपाएकोमा खल्लो लागिरह्यो । गौरीशङ्कर, गणेश, लामटाङ, नुम्बुर हिमालको दृश्य देख्न पाइएन । तल पाखा बारी तथा सुनकोसी र तामाकोसीले बनाएको बेँसीहरू, फाँटहरू देखिएन । अघि बाटामा हामीलाई मद्दत गर्ने यात्रीहरू पनि भेटिए । हामीसँग तिनीहरूले पनि जडिबुटी र छुर्पी किने । आधा घण्टा त्यहाँ रमाएर फर्कियौँ । बौद्धको सानो स्तुप र ढुङ्गा थुपारेर बनाएको ढिस्को हेर्दै पुनः केवल कारबाटै फर्कियौँ । कुरिनमा खाएको चनाको तरकारी मुखमा अझै झुन्डिएको छ । चिया जाडोमा उस्तै मीठो । कुरिन जाँदा जति उज्यालो देखिन्थ्यो आउँदा कुइरोले ढपक्क ढाकेकोले अँध्यारो भएको थियो ।
मिलिक्कै आधा घण्टामै मकैबारी झरियो । अझै उक्लिरहेका गाडी देखेर ड्राइवर भन्दै थिए, “यसको चुरीफुरी अलिक माथि उक्लेपछि सकिन्छ ।” उनी अघिको हाम्रो दुःखद यात्रा सम्झेर झस्किरहेका थिए । यतिबेला उक्लनेहरू उतै कुरिनमा बास बसेर बिहान कालीन्चोक पुग्ने हुन् ।
दुई दिनको लगातारको यात्राले हामी थाकिसकेका थियौँ । एकदिन घरमै थकाइ मारेर अर्कोदिन अफिस जान ज्वाइँलाई सजिलो होला भन्ने ठान्यौँ । त्यसैले जिरी जाने र त्यहाँ चिज फ्याक्टरी हेर्ने हाम्रो इच्छालाई अर्कोपटकका लागि थाती राख्दै जुन बाटो आइएको हो त्यहीँ बाटो फर्कनु नै श्रेयस्कर हुने ठान्यौँ । मकैबारीमा हाम्रो गाडी सडकमै साइडमा थियो । अफिसका ड्राइवरलाई बिदा गर्दै सन्ध्याकालको रिमरिमेमा हामी उकालियौँ । झिलिमिलीमा टल्केका साइनबोर्ड, घर बस्ती, जङ्गल काटेर पुनः नदीको किनारै किनार हराउँदै, निक्लदै गरिरह्यौँ । खानी खोलामा सामान किन्ने छोरीको इच्छामा तुषारापात भयो । यस्तै खाजा खाने समय पनि भड्कियो ।
साँझको खाना बाहिरै खान पनि मिलेन । रातको दस बजे घरमै पुगेर गुन्द्रुक भातसँगै रमाएर सुत्ने योजना मनमा तुन्दै राजमार्गको बाटोमा कहिले हाँस्तै कहिले सुस्ताउँदै घर पुग्यौँ ।
तामाकोसीको तरङ्ग र कालीन्चोककी भगवतीले जुटाएको यो संयोगलाई मनमा मात्र होइन तनमा पनि छाएको उमङ्ग तथा उत्साहले अर्कै ऊर्जा थपेको सहसुस भएको छ ।