भदौको महिना । बाहिर चराचुरुङ्गीहरूको चिरबिर आवाज, हल्का बादल र सिमसिमे वर्षा । देवकोटा माध्यमिक विद्यालयको कक्षा १२ ‘ए’, छैटौँ घण्टी सुरु भइसकेको थियो । यो घण्टी व्यावहारिक लेखन र नेपाली व्याकरणका लागि छुट्याइएको थियो । कक्षामा प्रवेश गर्नुभयो– सबैका आदरणीय एवम् निष्ठावान् शिक्षक वेदानन्द गुरु ।घ
सेतो फुलेको कपाल, नाकको टुप्पामा अडिएको बाक्लो सिसाको चस्मा, काँधमा झुण्ड्याएको पुरानो झोला, हातमा ल्यापटप र पेनड्राइभ बोकेर कक्षामा प्रवेश गर्ने गुरुको बानी । उहाँ नियम र अनुशासनका अनुयायी हुनुहुन्थ्यो । नेपाली भाषा, व्याकरण र व्यावहारिक लेखनमा उहाँको छुट्टै पकड थियो । नियमभन्दा एक इन्च पनि दायाँबायाँ हुनु उहाँका लागि असह्य हुन्थ्यो । उहाँको मान्यता थियो– भाषा शुद्ध भएन भने मानिसको विचार र व्यावहारिक व्यवहार पनि अनुशासित हुन सक्दैन ।
कक्षामा छिर्ने बित्तिकै गुरुले प्रोजेक्टर अन गर्नुभयो । सेतो डिजिटल स्क्रिनमा प्रोजेक्टरको निलो उज्यालो छरियो । कक्षा सुरु गर्दै गुरुले भन्नुभयो – “ल विद्यार्थीहरू, सबैजना आआफ्नो स्थानमा बसौँ । आज हामी व्यावहारिक लेखनको अति महत्त्वपूर्ण पाटो सिक्दैछौँ ।”
स्लाइडमा थियो – भरपाईको परिचय, लेख्ने ढाँचा र नमुना । “हेर विद्यार्थीहरू,” गुरुले चस्मालाई अलिकति माथि सार्दै र औँलो ठाडो पार्दै भन्नुभयो, “व्यावहारिक लेखन भनेको परीक्षामा अङ्क ल्याउनका लागि लेखिने शब्दहरूको सँगालो वा औपचारिकता मात्र होइन । यो त हाम्रो संस्कृति, परम्परा, सामाजिक शिष्टाचार र कानुनी प्रक्रियाको ऐना हो । हामीले लेख्ने पत्र वा कानुनी कागजातको अन्त्य कसरी गरिन्छ भन्ने कुराले लेख्ने मानिसको गम्भीरता र संस्कार दर्साउँछ । त्यसैले, कुनै पनि औपचारिक वा व्यावहारिक लेखनको समापन गर्दा मितिसँगै सम्पूर्ण समाजको मङ्लकामनाका लागि ‘शुभम्’ लेख्ने प्राचीन र प्रामाणिक परम्परा छ ।”
प्रोजेक्टरको स्क्रिनमा एकपछि अर्को गर्दै आकर्षक स्लाइडहरू प्रस्तुत हुन थाले । स्लाइडमा थिए– निवेदन, सम्झौतापत्र, तमसुक, व्यावसायिक पत्र र भरपाई लेखनका विविध ढाँचाहरू । उहाँले रिमोटको बटन थिच्दै अन्तिम स्लाइड स्क्रिनमा ल्याउनुभयो र भरपाईको नमुना लेख्न लगाउनुभयो ।
भरपाई दादै सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुरद्वारा ‘शिक्षणसिकाइमा नवीनतम प्रविधिको उपयोग’ शीर्षकमा सञ्चालित तीन दिने तालिमको प्रशिक्षकका रूपमा काम गरी त्यसबापत दैनिक रु. २५००।–का दरले हुन आउने जम्मा रकम रु. ७५००।– (अक्षरेपिः सात हजार पाँच सय मात्र) बुझिलिई त्यसको भरपाई गरिदिएको छु । इति सम्वत् २०८२ भाद्र २० गते रोज ६ शुभम् ।
हस्ताक्षर.........
प्रमोद प्रधान
“रोज ६” अर्थात् शुक्रबार । गुरुले स्लाइडमा प्रस्तुत मिति, रोज र मङ्गल शब्दको महत्त्व सम्झाउँदै सबैलाई आआफ्नो अभ्यासपुस्तिकामा उतार्न निर्देशन दिनुभयो । कक्षाका सबै विद्यार्थीहरू हतार–हतार गुरुले प्रोजेक्टरमा देखाउनुभएको नमुना आफ्ना कापीमा कलम दौडाउँदै उतार्न थाले । कोठाभित्र कलम र कापीको सरसराहट तथा प्रोजेक्टरको पङ्खाको हल्का आवाजबाहेक अन्य केही थिएन ।
तर, चौथो बेन्चको झ्यालनिर बसेकी समीक्षाको हात भने एकाएक रोकियो । उनले हातमा समातेको निलो डटपेन कापीको पानामा टक्क अडियो । उनले प्रोजेक्टरको स्क्रिनमा चम्किरहेको अन्तिम शब्द पढिन्— ‘शुभम्’ । त्यो शब्द देख्ने बित्तिकै उनको मनमा विगतका कैयौँ घटनाहरू एकाएक घुम्न थाले ।
समीक्षा विद्यालयकी मेधावी, सिर्जनशील र मिहिनेती छात्रा थिइन् । तर उनलाई सधैँ एउटा कुराले भित्रभित्रै पोलिरहन्थ्यो । विद्यालयमा उनको क्षमताको सम्मान त हुन्थ्यो, तर उनको नामभन्दा सधैँ अगाडि आउने एउटा नाम थियो— शुभम ।
खेलकुद प्रतियोगितामा प्रथम पुरस्कार जित्ने पनि शुभम, हाजिरीजवाफमा पहिलो हुने पनि शुभम्, वक्तृत्वकलामा उत्कृष्ट भाषण गर्ने पनि शुभम, विद्यालयमा हुने कार्यक्रमको तालिका बनाउनेदेखि कार्यक्रम सञ्चालनमा भाग लिने शुभम, नाटक मञ्चन हुँदा प्रमुख पात्र पनि शुभम र शिक्षकहरूले कक्षामा कुनै उदाहरण दिँदा सम्झिने नाम पनि शुभम । यहाँसम्म कि विद्यालयको अतिरिक्त क्रियाकलापको संयोजकसमेत शुभम नै थियो ।
समीक्षालाई लाग्थ्यो, “जताततै शुभम ! के यो विद्यालयमा अरू कोही प्रतिभाशाली विद्यार्थी नै छैनन् ? हरेक सफलताको श्रेय र लेखनमा समेत शुभमकै नाम किन हुनुपर्ने ?”
आज व्यावहारिक लेखनको अन्तिम भाग सिकाउँदा, सिद्धान्त र डिजिटल स्लाइडको समापन हुँदै थियो, त्यहाँ पनि स्क्रिनको अन्त्यमा ठूला अक्षरमा ‘शुभम्’ नै देखेपछि समीक्षाको धैर्यको बाँध टुट्यो । उनलाई लाग्यो कि यो भाषाको नियम मात्र होइन, यो त अरू विद्यार्थीको पहिचानमाथिको निरन्तरको छाया हो ।
उनले एकपटक अगाडिको बेन्चमा बसेको शुभम्लाई हेरिन् । शुभम् निकै सोझो, अनुशासित र एकाग्र भएर कापीमा स्लाइडको नमुना उतार्दै थियो । उसलाई त केही थाहै थिएन कि पछाडि समीक्षाको मनमा कस्तो भुइँचालो गइरहेको छ । समीक्षाले लामो सास फेरिन्, आफ्ना ओठ टोकिन् र दृढ सङ्कल्पका साथ कापीमा अन्तिम शब्द ‘शुभम्’ को ठाउँमा आफ्नो नाम ‘समीक्षा’ लेखेर पूर्णविराम लगाइदिइन् ।
उनको कापीको अन्तिम लाइनमा लेखियो— इति संवत् २०८२ भाद्र २० रोज ६ समीक्षा !
केही बेरमा वेदानन्द गुरु विद्यार्थीहरूले स्लाइडबाट सारेको ढाँचा सही छ कि छैन, कसैले गल्ती त गरेका छैनन् भनेर जाँच्न कक्षाकोठामा घुम्न थाल्नुभयो । उहाँ प्रत्येक विद्यार्थीको बेन्चमा अडिँदै, चस्मा तल–माथि गर्दै कापी हेर्दै र सन्तोषको सासमा टाउको हल्लाउँदै अगाडि बढ्दै हुनुहुन्थ्यो । घुम्दाघुम्दै गुरु समीक्षाको डेस्कनजिकै पुग्नुभयो ।
गुरुले समीक्षाको कापीमा नजर गाड्नुभयो । उहाँको आँखा एक्कासि टक्क अडियो । उहाँले चस्मालाई अलिकति तल झारेर आँखा ठूला बनाउनुभयो । प्रोजेक्टरको स्क्रिनमा स्पष्टसँग ‘शुभम्’ चम्किरहेको थियो, तर समीक्षाको कापीमा भने स्लाइडको भन्दा भिन्न थियो ।
गुरुले अचम्म मान्दै, चस्माको सिसाभित्रबाट हेर्दै र अलिकति गम्भीर स्वरमा सोध्नुभयो, “समीक्षा, व्याकरण र व्यावहारिक लेखनको सर्वमान्य नियमअनुसार यहाँ ‘शुभम्’ हुनुपर्ने हो । मैले स्लाइडमा पनि स्पष्ट लेखेको छु । तिमीले नियम नै बदलेर यहाँ आफ्नै नाम किन लेखेकी ?”
गुरुको प्रश्नवाचक स्वर सुनेर कक्षाका सबै विद्यार्थीहरू फर्किएर समीक्षातिर हेर्न थाले । अगाडि बसेको शुभम् पनि जिज्ञासापूर्वक पछाडि फर्कियो । कक्षामा एकाएक पूर्ण शान्ति छाउन पुग्यो ।
समीक्षाले आफ्नो कलम टेबलमा राखिन् । उनी न डराइन्, न त अत्तालिइन् । उनले आफ्ना आँखा सिधा गुरुको आँखामा मिलाइन् र आफ्नो अनुहारमा अलिकति असन्तोष, अलिकति चञ्चलता र अलिकति ठट्टा मिसाउँदै भनिन्, “गुरु, जहिले पनि शुभम् नै ! खेलकुद प्रतियोगितामा प्रथम पुरस्कार शुभमलाई, वक्तृत्वकलामा पनि शुभम, अतिरिक्त क्रियाकलापको संयोजक पनि शुभम । विद्यालयका हरेक क्रियाकलापमा शुभमकै नाम आउँछ । अब त हद नै भयो गुरु ! व्यावहारिक लेखनका हरेक नमुनामा संवत् लेख्दा पनि शुभम नै ?”
समीक्षाको यो निष्कपट, अनौठो र बालसुलभ तर्क सुनेर सिङ्गो कक्षाकोठामा एकैपटक हाँसोको फोहोरा छुट्यो । साथीहरू एकापसमा हेराहेर गर्दै पेट मिचीमिची हाँस्न थाले । कुनामा बसेका केही साथीहरूले त टेबल नै ठोक्न थाले । अगाडि बेन्चमा बसेको शुभम् आफैँ पनि रातो–रातो भएर लजाउँदै मुस्कुराउन थाल्यो ।
वेदानन्द गुरु, सधैँ गम्भीर, कडा र अनुशासनका पक्का हुनुहुन्थ्यो, उहाँको अनुहारको कठोरता पनि सुस्तरी पग्लिन थाल्यो । उहाँको अनुहारमा एउटा स्नेही मुस्कान फैलियो । उहाँले आफ्नो सेतो दाह्री सुम्सुम्याउनुभयो र हातमा भएको पोइन्टरले टेबलमा हल्का ठटाउँदै कक्षालाई शान्त गराउनुभयो ।
“शान्त हुनुहोस्, सबैजना शान्त हुनुहोस् !” गुरुले भन्नुभयो ।
त्यसपछि गुरुले समीक्षालाई हेर्दै अत्यन्तै स्नेही र सम्झाउने स्वरमा भन्नुभयो, “समीक्षा, तिम्रो तर्क, असन्तोष र यो बालहठ साँच्चै नै रमाइलो र सिर्जनात्मक छ । तिमीलाई विद्यालयका हरेक गतिविधिमा शुभमको नाम देखेर अलिकति गुनासो हुनुलाई मानव स्वभाव मान्न सकिएला । तर, व्याकरण, कोश र संस्कृत साहित्यको दृष्टिकोणबाट हेर्ने हो भने, यहाँ स्लाइडमा लेखिएको ‘शुभम्’ तिम्रो सहपाठी शुभमको नाम होइन ।”
गुरुले प्रोजेक्टरको स्क्रिनतिर औँल्याउँदै अझ प्रस्ट पार्नुभयो, “शुभम्’ शब्द संस्कृतको ‘शुभ’ धातुबाट बनेको विशेष पद हो । यसको अर्थ हुन्छ– कल्याण, मङ्गल वा राम्रो होस् । प्राचीन कालमा जब विद्वान्, ऋषिमुनि वा प्रशासकहरूले कुनै ग्रन्थ, शासकीय पत्र वा कानुनी सम्झौता लेखेर टुङ्ग्याउँथे, तब उनीहरूले अन्त्यमा ‘इति शुभम्’ अर्थात् ‘यसरी सबैको भलो होस्’ वा ‘यो कार्य शुभ रहोस्’ भनी मङ्गल कामना गर्थे । यो कुनै व्यक्तिको नाम वा पहिचान नभई सम्पूर्ण समाज, देश र पाठकका लागि गरिएको एउटा असीम र पवित्र प्रार्थना हो ।”
गुरुको यो विस्तृत र गम्भीर व्याख्या सुनेपछि कक्षाका अन्य विद्यार्थीहरूले बुझेको सङ्केत गर्दै टाउको हल्लाए । तर समीक्षा सजिलै मान्ने र पछि हट्ने पक्षमा थिइनन् । उनले आफ्ना आँखा थोरै नचाउँदै र मुस्कुराउँदै थपिन्, “गुरु, ‘शुभम्’ को अर्थ मङ्गल वा कल्याण हो भन्ने कुरा त मलाई पनि थाहा छ । तर सोच्नुहोस् त, सधैँ कागजातको अन्त्यमा शुभम्कै मात्र कल्याण किन हुने ? आज यो व्यावहारिक लेखन मेरो कापीमा छ, यो मेरो मिहिनेत र अभ्यास हो । त्यसैले यसको अन्त्य मेरो नामबाटै हुनुपर्छ । आखिर मेरो पनि त कल्याण हुनुप¥यो नि गुरु ! मेरो नाम लेख्दा मेरो मङ्गल हुँदैन र ?”
समीक्षाको यो दोहोरो अर्थ लाग्ने, बौद्धिक र चञ्चल जवाफले कक्षामा फेरि दोस्रोपटक हाँसोको ठूलो लहर फैलियो । यसपटक त स्वयम् वेदानन्द गुरु पनि आफ्नो शास्त्रीय गम्भीरता कायम राख्न सक्नुभएन र उहाँको मुखबाट जोडको हाँसो निस्कियो ।
“स्याबास् समीक्षा !” गुरुले समीक्षाको बेन्चनजिक गएर उनको पीठ थप्थपाउँदै भन्नुभयो, “तिम्रो यो तर्कमा व्याकरण र कानुनी नियम त अलिकति पनि छैन, तर एउटा गहिरो आत्मसम्मान, आफ्नो अस्तित्वको खोजी र सिर्जनात्मक विद्रोह भने पक्कै छ । जीवनमा आफ्नो अस्तित्व र कल्याणको सोच राख्नु नराम्रो होइन । तर, हामीले मानक नियम भत्काउनु हुँदैन नि !”
कक्षाका विद्यार्थीहरूले समीक्षाको यो सानातिना ‘व्याकरणिक विद्रोह’ को समर्थनमा ताली बजाए ।
तर गुरुले लगत्तै आफ्नो औँलो ठाडो पार्दै चेतावनीको शैलीमा थप्नुभयो, “तर एउटा कुरा सम्झिराख समीक्षा ! हामीले भाषाका मानक नियम भत्कायौँ भने अनुशासन भत्किन्छ । भोलि राष्ट्रिय परीक्षा बोर्डको अन्तिम बोर्ड परीक्षामा व्यावहारिक लेखनको प्रश्न आउँदा पनि यदि तिमीले भावुक भएर ‘इति संवत्... समीक्षा !’ लेख्यौ भने, उत्तरपुस्तिका जाँच्ने परीक्षकले तिम्रो मङ्गल र कल्याण गर्नुको साटो प्राप्ताङ्कमा गोलो अण्डा उपहार दिनेछन् !”
गुरुको यो ठट्टापूर्ण चेतावनीले कक्षाको वातावरणलाई अझै हलुका, रमाइलो र आत्मीय बनाइदियो ।
घण्टी बज्यो— टिनटिनटिन ! छैटौँ घण्टी सकिएको र अर्को घण्टी सुरु भएको सूचना भयो ।
वेदानन्द गुरुले प्रोजेक्टर बन्द गर्नुभयो, ल्यापटप र पेनड्राइभ झोलाभित्र राख्नुभयो र मुस्कुराउँदै ढोकातिर लाग्नुभयो । जाँदाजाँदै उहाँले ढोकाबाट फर्केर भन्नुभयो, “ल त विद्यार्थीहरू, आजको कक्षा यही सकिन्छ । इति संवत् २०८२ भाद्र २० रोज ६ शुभम्... सबैको जय होस् !”
गुरु कक्षाबाट बाहिरिने बित्तिकै शुभम् आफ्नो ठाउँबाट उठेर समीक्षाको बेन्चनजिक आयो । उसले मुस्कुराउँदै भन्यो, “समीक्षा, आजसम्म मलाई मेरो नामको अर्थ ‘सबैको कल्याण’ मात्र हुन्छ भन्ने थाहा थियो । तर आज थाहा पाएँ, मेरो नाम त तिम्रो रिस र असन्तोषको कारण पनि रहेछ !”
समीक्षाले पनि आफ्नो कापी बन्द गर्दै मुस्कुराएर भनिन्, “कुरा नामको मात्र होइन शुभम्, कुरा त आफ्नो पहिचान र उपस्थिति दर्ज गराउने हो । व्याकरणले जेसुकै भनोस्, हाम्रो पनि त पहिचान हुनुप¥यो नि !”
त्यस दिनको व्यावहारिक लेखनको त्यो उराठलाग्दो, नीरस र नियमहरूले भरिएको घण्टी समीक्षाको सानो असन्तोष, उनको चञ्चल तर्क र वेदानन्द गुरुको सहृदयी एवम् लचिलो व्यवहारका कारण सधैँका लागि अविस्मरणीय बन्यो । डिजिटल स्लाइडका अक्षरहरू र व्याकरणका नियमहरू बिच पनि त्यस दिन कक्षा १२ ‘ए’ का विद्यार्थीहरूले एउटा नयाँ, रमाइलो, जीवन्त र आत्मीय पाठ सिकेका थिए ।
सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर