आखिर फूल न हुन जहाँ फुलेपनि भीरमा फुलेपनि पीरमा फुलेपनि। कोठेबारी फरक भएर के हुन्छ र न चहक फरक हुन्छ, न महक नै।
साहित्यकार भारती गौतमका अहिलेसम्म प्रकाशित कृतिहरू मलाई सबै मन पर्छन जहाँ आमा मन घुलिएर उता र यतालाई जोडिरहेको हुन्छन् । अमेरिका रहँदा बस्दाका धेरै अनुभूती आइसके अब के आउला, कताको आउला भन्दै थिए। केही त म आफैलेपनि अनुभूत गरिसकेकी छुपनि भन्दै थिएँ तर कथा पल्टाउदै जाँदा पो थाहा पाएँ आफूले त उक्काउन मात्र भ्याएको रहेछु भनेर ।
“फरक फूल” कथा सङग्रह हात परेको धेरै भयो । फूलका बासनाहरू नाकमा ठोकिएकोपनि धेरै भयो तर वहाँका फूलहरूले ममा कस्तो सुगन्ध छरे, भन्न थियो। बल्लबल्ल समय निकालेर आज त्यसको मेलो पसेँ।
१६ वटा भिन्दा भिन्दै रङ्मा फुलेका फूलहरूले भिन्दाभिन्दै कथा बोकेका छन् । जुन कथाहरू पढदा आश्चर्यले बेरिरहन्छ पाठकलाई ।
कथा सङ्ग्रहको शुरूवात नै “ठुली फुपू रुथ उस्तै” बाट गरिएको छ जुन कथामा दुइ सँस्कारलाई राम्रा नराम्रा दुबै पक्षलाई कथाले उतारेको छ। परदेशका शुरूवातका बसाइमा कसैले अलि धेरै माया गर्यो भने आमा जस्तो लाग्नु, फूपूजस्तो लाग्नु र दिदीजस्तो लाग्नु कुनै अनौठो कुरा हैन रहेछ। किनकी हरेक छोराछोरी लामो समयसम्म आफन्तहरू नभेट्दा घर सम्झेर निस्ताएको हुँदारहेछन र कसैले माया गर्यो भने त्यो मान्छे कतिखेर आफ्नो हुन्छ थाहै नहुने रहेछ। मलाईपनि यस्ता कुराहरू ठोकिरहन्छन् बेलाबेला तर एकपटक बिवाह भैसकेका आमा, दिदीबैनीको केही कारणले फेरी बिबाह हुनु भनेको कुनैबेला हाम्रो समाजमा सुन्दा मात्रपनि पाप लाग्ने कुरा हो । समय फेरिएको कहाँ धेरै भएको छ र ? जतिसुकै शिक्षित परिवार भएपनि छोरी जन्मनु भनेको बाउआमाको इज्जत, मान, प्रतिष्ठा जोगाउनेसँग जोडिन्थ्यो र छोरीलाई एउटा घरमा काम गर्ने मेसिनजस्तो पारेर हुर्काइन्थ्यो। जब घरको काम सबै जान्ने मेसिनजस्ती छोरी आफ्नो काम गर्ने तरिका बदल्न खोज्थी त्यसपछि परिवारमा पर्लय जान्थ्यो तर त्यसको ठीक उल्टो छोराहरू जतिनै बिग्रेका भएपनि उनिहरू गतिलै हुन्थे, किनकी बा आमाले दान दिने बस्तु थिइ छोरी। दान लिनेले जसरी राखेपनि भयो। सही मान्छेको साथ पाइ भने उ जीवनसाथी हुन्थी, घरको सौन्दर्यपनि हुन्थी भने गलत मान्छेमा परे घरपालुवा जनावर, अथवा घरमा काम गर्ने मान्छेको दर्जामा हुन सक्थी । त्यही कुरालाई पत्याइरहेको आँखाले विदेशमा आफनो खुशीमा बाच्ने महिला देख्दा कथाकि पात्र रूपालाई रूथ देखेर अचम्म लाग्नु कुनै अनौठो कुरा भएन।
रूथलाई आफ्नी ठूली फूपूजस्तै लागेपनि उनि त अमेरिकामा जन्मिएर हुर्किएकी, आफनो जीवनको फैसला आफै गर्न सक्ने साँच्चै साहिसिली महिला जसका ५ वटा छोराछोरी र तीनपटक डिभोर्स भइसकेरपनि चित्तबुझ्दो मान्छे खोजिरहेकी सुन्दा ठाउँ पो कस्तो ? भन्ने लाग्छ। तैँले माया गरिस भने मात्र मपनि माया गर्छु भन्ने समाजलाई मारे पाप र पाले पुन्यका कुरा के थाहा र ! कसरी तुलना गर्न सकिन्छ र ! एकातिर दुइजनाको सम्बन्धको सम्झौता विग्रिने बित्तिकै अलगिने परिपाटीमा हुर्केकी महिला छे भने अर्कातिर यस्ती महिला छ जो ७ वर्षमा ८ वर्षको मान्छेसँग बिबाह भएर ९ वर्षमा विधुवा भएर माइत बस्दै आएकी ठूली फूपू छिन।
एउटा मन नपरेपछि अर्कोसँग बिबाह गर्न खोजेकी रूथलाई न उसको निर्णयमा छोराछोरी बाधक बन्छन, न परिवार न त समाज नै। त्यही भएर होला आफनी विधवा फूपूको बाचुन्जेलको जीवन सम्झेर आँखामा समाज बिझाउदा अर्कै सन्सारमा ठमठमी हिडेकी रूथमा समानता भनेकै दुबै महिला हुनु हो जस्तो लागेको होला रूपालाई। एकातिर त्यही महिला जो आफनो जीवनसाथी रोज्नकालागि आँफै पखेटा हाल्न सक्छे । अर्कातिर त्यही महिला जसका पखेटा घर र समाजले भाँचिदिएर उडनै नसक्ने बनाएको हुन्छ। जब रूपाले रूथको बिहे हुने कुरा थाहा पाउँछिन त्यसपछि “रूपालाई अचानक रुथको अनुहारमा देखिने ठुली फुपूको तस्बिर विस्तारै धमिलो हुँदै जान थाल्छ । उनको मनमा दिवङ्गत ठुली फुपूको माया मडारिन थाल्छ ।” सायद त्यतिबेला रूपाले बिधवा भएपछिको ठूलीफूपू अबस्था सम्झिइन होला।
‘जीवन उत्सब’ कथामा पसेदेखिनै मन भारी हुन्छ । पात्रकै शब्दमा यसरी सुन्दा अनौठोपनि लाग्छ उत्तिकै।
“चर्च यसै पनि नमिल्ने साथीको घर जस्तो, त्यसमाथि ‘शोकसभा’ । मलाई पहिले कहिल्यै नदेखेको सहरभित्र छिरे जस्तो लागिरहेको थियो।”
मन्दिर गइरहेका खुट्टा चर्चभित्र छिर्दा साच्चै नजाने बाटो डर लाग्दै हिड्नु जस्तो पक्कै भयो होला।
“सभा हलभित्र ठुलो रुवाबासीको कोलाहल छ कि सुँक्क सुँक्कको सन्नाटा छ अनुमान गर्न सकेको थिइन । यन्त्रवत् हामी चुपचाप बस्यौँ । नबोलाएको समारोहमा झुक्किएर पुगे जस्तै वरपर हेर्न थाल्यौँ । जीवनलाई हेर्ने अर्कै सफा र नयाँ चस्मा लिएर हामी घर फर्कयौ।”
घरदेखि धेरै परका बिबाहपनि अर्कै आफना खुशीका देख्दा यदाकदा आफ्नो खुशीमा बिबाह गरेपनि धेरैजसो बाबुआमाको खुशीमा बिबाह गरेका मान्छेमा तुलना गर्न पुग्छ मन ।
सँयोग भनौ कि वियोग जस्को मृत्यूमा जाँदै थिइन कथाकी पात्र उसको बिहेमा पनि पुगेकीले बिहेको सम्झना आउनु स्वभाबिक नै हो। क्यानसरको बिरामी कृसको आयु ४ महिना मात्र छ भन्दाभन्दैपनि कृसले बिबाह गरेर परिवार बसाउन खोज्नु । कृसको सबैकुरा थाहा पाएरपनि जेनी उसँग बिबाह गर्न मन्जुर हुनु नै अनौठो कुरा लाग्छ। ४ महिनापछि छुट्टिनु नै छ भन्ने जान्दाजान्दैपनि राजिखुशीसाथ बिबाह गर्नु, बिबाहपछिका हरेक पल रमाइला बनाउनु आफैमा कथामाथिको कथा हो कि ! अथवा सत्य घट्ना होइन कि नभएको होइन तर जब कृसको मृत्यू हुन्छ त्यसपछि गरिने मृत्यू सँस्कारलाई हेर्दा यथार्थ कथा लाग्छ। मृत्यू सँस्कारलाई अर्कै तरिकाले मान्नु, मृतक क्रिस र उसकै श्रीमती जेनीका घुमघामको रमाइला फोटाहरू एकपछि अर्को सिनेमाका पात्रझै आउनु, कुनै सिनेमा हलमा छिरेझैँ लाग्नु स्वभाबिक हो जहाँ रोइ कराइको साटो मृतकका राम्रा कामको बर्णन देखाइन्छ।
कथामा दुइ भिन्न सँस्कारमा हुर्किएका नारीहरूको लोग्नेको मृत्यूपछिको अबस्थालाई चित्रण गरिएको छ जहाँ एकातिर त्यही नारी जो लोग्ने बितेपछि उसको अधिकार परिवार र समाजले लिएको हुन्छ भने अर्कातिर त्यही नारी हो जसको लोग्ने गएपछिपनि आफनो अधिकार आफैसँग हुन्छ। उ आफ्नै मर्जीमा बाँकी जीवनका उठबस गर्न सक्छे। म आफैलेपनि दुई भिन्न सँस्कारका चलनलाई मनमनै तौलिएकी थिएँ। यही आश्चर्यलाई “जीवन उत्सब” कथाले बोलेको छ।
“मिसेस स्मिथ, सारी पिन र हजुरआमा” कथामा अमेरिकामा चिनेकी मिसेस स्मिथ र आफनी हजुरआमाको तुलनात्मक बर्णन भेट्न सकिन्छ। कहाँ पश्चिमा शहरको झिलिमिलीमा हुर्केकी मिसेस स्मिथको कथा कहाँ टुकीको उज्यालो, दाउराघाँस, खेतालो, गोठालोमा हुर्किएकी आफनी हजुरआमाको कथा। उमेरले हो या हजुरआमाको मायाले हो कथाकि पात्रले उनलाई देख्दा हजुरआमाको याद आउँछ। त्यही भएर स्टेट सेलमा एउटा टल्किने साडीपीन हेरिरहेको पात्र उतिखेरै नेपाल पुगेर स्वर्गवासी हजुरआमा भए ठाउँमा पुग्छ। बिहे के हो, घर के हो र लोग्ने के हो भन्ने कुरा नजानीकनै बालबिबाह भएकी हजुरआमा र आफ्नै मर्जीको उडान भर्ने मिसेस स्मिथ उस्तै नलागेपनि दुबै महिलाचाहि हुन भनेर तुलना गरिएको भान हुन्छ ।
मैले त गराज सेल र मुभिङ सेलमा सामान किनेकी थिएँ।अब यो स्टेटसेल के होला भनेर कथाभित्र पस्तै गएँ।अनि पो थाहा पाएँ मिसेस स्मिथ बिरामी भएर नर्सिङ होममा बस्न थालेपछि उनको हेरचाहको खर्च उठाउन उनकै सहमतिमा सरकारले हिजोसम्म चलाइरहेका उनका सामानहरू सस्तोमा बेच्ने चलनलाई स्टेसेल भनेको कुरा।
“तपाईँ ले लगाइराखेको बाईँ किन मलाई दिनुभएको ?” “पछिसम्मको लागि तँलाई मेरो चीनु होस् भनेर नि नानी !” हजुरआमाको अनुहारमा अलिकति दियो बल्यो ।” चिनुको रूपमा हजुरआमाले दिएको बाईँ आफूलाई आत्मिय लागेपनि स्टेट सेलमा किनेको सारीपिनको कुरा सबले गर्ने तर हजुरआमाले चिनुको रूपमा दिएको बाईँको कुरा कसैले नगर्ने मान्छेहरू देख्दा आफै हजुरआमाको सम्झनामा हराएझै लाग्छ र पात्र यसरी बोल्छिन्-
“पहिले कहिल्यै नदेखेको अनि आफनो उमेरलाई दुईले गुना गर्नु पर्ने उमेरको व्यक्तिको फेर समातेर बाह्रै वर्षमा मेरी हजुरआमाले जस्तो कल्पनाकी मिसेस स्मिथले अरुण नाघ्नु परेन होला । मेरो मन तुलनाको तराजु उचाल्न थाल्छ।”
बालबिबाह गरेका दिनदेखि बुहार्तन खप्न शुरू गरेकी हजुरआमालाई मिसेस स्मिथसँग तुलना गर्नु सायद कथाकि पात्रले पक्कै पनि हजुरआमाको उमेर तिनिसँग मिल्न गएरै हो कि भनेझैँ लाग्छ। जातलेमात्र महिला तर चालचलन, उठबस सबै लोग्नेमान्छेको जस्तो भएकी मिसेस स्मिथ देखेर हजुरआमाका सामाजिक हतकडीहरू कथाले बारम्बार सम्झाउने गर्छ। स्टेटसेलमा किनेको पाँच डलरको सारिपिनसँग हजुरआमाले दिएको चाँदीको बाँइ कतै तुलना हुन नसक्ने सत्य हुँदाहुँदैपनि पात्र घरीघरी आफनो बाल्यकालमा पुगिरहन्छ ।
“इच्छापत्र नभएको या हकदार नभएकाको सम्पत्ति उनीहरूको निधनपछि सरकारले ‘स्टेटसेल’ गरेर कर उठाउँछ, अनि जीवितै भएपनि आफन्त कोही नभए समाजसेवी संस्थाहरूले ‘स्टेटसेल’ गरेर ती अशक्त वृद्धहरूलाई चाहिने खर्च उठाइदिन्छन्” ।
हुर्केका छोराहरू बिहे गर्ने बित्तिकै मेरो अँश देउ, म छुट्टिएर बस्छु भन्ने समाजमा हुर्केकी पात्रलाई आफू अशक्त हुँदा आफ्नो सम्पति स्वविवेकले जसलाई मनपर्छ त्यसलाई दिन सक्ने स्वतन्त्रता थाहा पाउँदा छक्क पर्नु स्वभाबिक हो भन्ने कुरा “मिसेस स्मिथ, सारी पिन र हजुरआमा” भन्ने कथाबाट थाहा पाउन सकिन्छ।
कसैको बच्चा हेरिदिन्छु भनेर राखिदिनु, राख्ने क्रममा एकदिन आधारातसम्म आमा आफ्नो बच्चा लिन नआउनु, आमाको साटो नचिनेको मान्छेको हातमा निन्द्राकि बच्चीलाई उठाएर दिनु, बच्ची कसैसँग गैसकेपछि उसकी आमाले मेरो बच्चा खोइ? भनेर फोन गर्नु, अनि ए यही सुतेकी रहिछ, ब्याङ्केटले छोपिएकि रहिछ भनेर अलि पछि फोन गर्नु आदि सुन्दा नै मात्रपनि बच्चा राखिदिनेको मनमा कति रेक्टरको भूइचालो गयो होला अनुमान गर्नपनि सकिदैन । उसको बच्चा हेरिदिने मान्छेको मनको घर कति क्षति भयो त्यसको लेखाजोखा नै के भयो होला र । तर यो डरले अरूका छोराछोरी पनि आफनाजस्तै ठानी सजिलै म राखिदिन्छु भनेर जिम्मा लिन हुनेरहेनछ भन्ने ठूलो पाठ सिकेको कुरा “डोरोथीको डेट“ कथामा पढन पाइन्छ।
यो कथामा धेरै अचम्मका कुरा सुन्न पाइन्छन् जसमा आफनै बिश्वासपनि कहिलेकाहि चिप्लिने त हैन भन्ने लाग्छ। पात्रकै भाषामा सुन्दा झन अचम्म लाग्छ-
“बिहे गरेका महिलाहरू अनि पुरुषहरू पनि अरूसँग डेटमा जाने गर्छन्, रमाइलोका लागि। डोरोथीको ओठबाट यो वाक्य जति सजिलै निस्कियो, मेरो कानसम्म पुग्दा त्यति नै गुजुल्टिएको धागोझै बन्यो” ।
कुन रमाइलो र कस्तो रमाइलो भनिरहनै पर्दैन ।
आश्चर्य लागेर हँ! भन्दा “ह्वाट डु यु मीन ? डन्ट यु गेट इट ? आइ गो टु डेट विथ डिफरेन्ट पिपुल ह्वेन डेभिड इज नट होम” ! मैले निकै पढिसकेँ ठानेको अमेरिकाको पुस्तकको अर्को च्याप्टर फेरि खुल्छ । “म्यान डु द्याट टु”!
डोर्थीले त सजिलै भनी तर उसको सजिलो भाषा कथाकी पात्रलाई फुकाउनै नसक्ने गाँठा पर्यो। सायद ति गाँठा अनुहारमा देखियो होला र त उसले आश्चर्य मान्दै के भनेकी तैले म त मेरो लोग्ने नभएको दिन अरू केटाहरूसँग रमाइलो गर्छु, अनि मेरो लोग्नेले नि त्यसै गर्छ हाँस्दै भनेकी होला। डोर्थीले यति भनिसक्दा आफनो बिश्वासको खाँबो हल्लिनु स्वभाबिक थियो । विश्वास र समर्पणले बलियो बनाएको सम्बन्ध डोर्थीका कुराले कतै कमजोर त हुदैन ? डोर्थीका कुरा पात्रलाई अन्तै कतैको कथाजस्तो लाग्नु नौलो कुरा हुदैन।
बिहा भएको मान्छे आफ्नो हुन नसक्दा, अरूले देख्दा भाग्यमानी देखेपनि त्यो भाग्य आफूलाई बिझाउदा, परचक्रीले गरेको मायाँ अध्यारोमा बलेको वत्ती हुने हुने कुरा “भाग्यमानी” कथाले भन्छ।
“डोनर नम्बर ४५” कथामा पढ्दै जाँदा फेरी मलाई आश्चर्यले बेर्यो। आफनो बच्चालाई केही समस्या भएर डाक्टरकहाँ पुर्याउदा उस्तै किसिमको समस्या भएका अरू बच्चा देख्दा जो कसैलाईपनि राहत हुन्छ नै। समस्या बाडन पाएर अलिकति हलुकापनि हुन्छ होला तर डाक्टरकहाँ ल्याउने क्रम बढदैजाँदा घाँटीको समस्या भएको अस्टिनसँग आफ्नी छोरी एन्जेलाको हुबहु बानी ब्यबहार मिल्नु, खेल्नपनि उनिहरू मात्र खोज्नुले डायनामा चिसो पस्तै जानु, दुबैका बाबुको परिचय सिर्फ दुइटा अङ्क हुनु, त्यो दुइटा अङ्क न्युयोर्कको क्रायो (CyroBank) स्पर्म बैङ्क हुनुले शँकाको निकै नजिक ल्याएको हुनुपर्छ डायनालाई। सँयोग या भवितब्य हो छुट्याउने नसकेको अबस्था भएकी डायना र “डोनर नम्बर पैतालिस” कथाले मलाई भित्रभित्रै हुडलिरहन्छ। अझ कथाकै पात्र को मुखबाट सुन्दा-
“डायनाको कथा म र मेरी साथी लक्ष्मीका लागि त पखेटा उम्रिएर घोडा नै आकाशमा उडे जस्तो भयो। हामीले पढेका र सुनेका उदेकमाथिका उदेकले जित्न नसक्ने डायना र एन्जेलाको कथा उहिले काकाले सुनाउने दन्त्यकथा भन्दा रोचक भयो।”
साँच्चै यो कथाले मलाइपनि उदेकमाथि उदेक थपेको भान भयो ।
“एक्लो एन्थोनी” कथाले मलाई फेरी एकपटक घर पुर्यायो र आमालाई लागेको अल्जाइमर रोग र त्यसले दिएको पिडाको सम्झना गरायो। आफ्नी जीवनसाथीलाई अल्जाइमरले गाल्दै गएपछि छोराछोरीले नर्सिङ होममा राख्नु तर आफूलाई भेटनै नदिनुको पिडा आँखाबाट बगाइरहेको देख्दा ननिको लाग्नु स्वभाबिक हो। आखिर माया भन्ने कुरा जहाँपनि उस्तै हुनेरहेछ भन्ने कुरा यो कथाले पुष्टी गरेको छ। एन्थोनी रोएको देख्दा कथाकि पात्रपनि आफ्नै आमाबिनाको बुवालाई सम्झन पुगेको यथार्थ पढदा मन कटक्क खान्छ।
“बिहेको निम्तो” कथामा हरेक कोणबाट हेर्दा मन नपरेको मान्छेको बिहे आफ्नै बहिनीसँग हुन सक्ने मनको कुनै कुनामाबाट नसम्झेपनि दुइतिरको निम्तोमा एउटै बेहुलाको नाम सुन्दै मनमा शँकाले घर जमाएको कुरा छ जुन कुरा नहोस भन्ने कामनाको अपिलपनि हो।
“अर्लको इच्छापत्र” कथा पढ्दा कफि किन्न आउने एउटा ग्राहक कसरी त्यति धेरै दानी हुन्छ होला जस्ले कानूनि रूपले नै इच्छापत्र बनाएर आफ्नो निधनपछि दिनु भनेर वकिललाई छोडेको हुन्छ।
हरेक ग्राहकलाई राम्रो बोलिचालीले सत्कार गर्नुपर्ने एक सामान्य अौपचारकताले बेचेको एक कफिमा कति धेरै मायाँ लुकेको हुनेरहेछ भन्ने कुरा अर्लको इच्छापत्र पढ्दा लाग्छ। जुन कुरा ग्राहकको मृ्त्यू भएपछि उसको छोरो बाउले छोडेको इच्छापत्र बेकेर अश्मितालाई काम गरिरहेको ठाउँमा भेट्न आएपछि मात्र थाहा हुन्छ। सधै आउने ग्राहकसँग अलिक नजिक भएर बोल्दैमा, ठट्टा गर्दैमा, दुख् गरेर पढदै गरेकी एक सामान्य परिवारबाट अमेरिका पढ्न आएकी अश्मिताले उपहार स्वरूप पैसा पाउँदा उसलाई डर लाग्नु, कुनै भयले खेद्नु असामान्य कहाँ हो र जुन कुरा उसले कहिल्यैपनि सोचेकी हुन्न।
अर्लले किन दियो होला अश्मितालाई आफनो सम्पत्ती, जिज्ञासा एकातिर छ भने अर्कातिर आफनो जायजेथा जसलाई दिनपनि पाइने स्वतन्त्रता भएको मुलुकमा दु:ख गरेर पढदै गरेकी अश्मिता र अश्मिताहरूलाई विना स्वार्थपनि माया गर्न सक्छन भन्ने एउटा नमुनापनि हो। स्टारबक्सको ग्राहक अर्ल र कर्मचारी अश्मिता दुबै सुखदुख साटने एक अर्काका छहारी भएर अर्ललाई आफ्नै बच्चा सरह माया लागेकोपनि हुन सक्छ। जसलाई अश्मिताले आफनो बुवा बितिसकेको कुरा सुनाइ सकेको हुन्छ। आफ्नो पिडा सुनाउने क्रममा आँखाको डिल भरिएर, गला अबरूद्द पार्दै मलाई माफ गर अर्ल! भनेकोपनि हुनसक्छ। ग्राहक अर्लले दिवङ्गत बाबुप्रति अस्मिताको माया देखेर होला उसले आफ्नो एउटै छोरो मार्कको टाढाको व्यवहार सम्झन पुगेको र यस्तैमा अर्लले तँ मेरी छोरी भएकी भए हुने थियो भनेको । अश्मितालाई अर्ल जिस्किए जस्तो लागेर “म तपाइकी छोरी हुन सक्छु नि मान्नु भयो भने” भनेको ठट्टा नै साँचो भएर आउनुमा सायद उमेर ढल्कदै गएपछि हरेक मान्छेलाई कोही मीठो बोलिदिने मान्छे छेउमा चाहिने रहेछ भनेझै लाग्छ।
“नोरा र नियति” कथामा एउटा सानो सिगारको बट्टामा आफ्नै साथीले लेखेको शब्दले दिएको पिडा र विरामी श्रीमानसँग टुटेको विश्वासमा परेर बिथोलिएकी नोराले वास्तबिकता थाहा पाएपछिको ग्लानीको वर्णन पाइन्छ।
“इजबेलाको कथा“ ले मेरो आमा मनलाई धेरै धेरै छोए। छोरीलाई गर्ने बिभेद त मेरो समाजमा मात्र थियो भन्ने बुझेकी मैले अन्तपनि हुनेरहेछ भन्ने कुरा थाहा पाएँ। कथाकि पात्र सानै उमेरमा पोर्टोरिकोबाट अमेरिका आएपनि बाबुआमाले अनुसासनको दाम्लो छोरीलाईमात्रकस्नु, धेरैपटक आत्माहत्याको कुरा सोच्नु र अन्त्यमा बरू म पढेर मेरै बाउआमालाई पढाउने हुन्छु भनेर अरू विषय नछानेर काउनसिलिङ विषय छान्ने एक आँटिली केटी लाग्छे । आफूले छोराछोरीमा बिभेद नगरेपनि कतिपटकका स्लिपओभरमा अरूका घरमा छोराछोरी पठाउन नसकेको कुरा याद आयो। भिन्न सँस्कारबाट आउनेले सबै स्वतन्त्रता एकैचोटी लिइहाल्न सक्दैन, त्यो यथार्थ हो तर हामी आफूलेपनि बिस्तारै सिक्नुपर्छ जसले आफूलाई पनि केही सहज बनाओस सँगसँगै आफना छोराछोरी सहज होस भन्ने लाग्छ ।
हाइस्कुलमात्र सकेकी एउटी नानीले यति गहिरो कुरा गर्दा साच्चै कुनैपनि आमाले आफूले आफना छोराछोरीसँग गर्ने ब्यबहार सम्झन्छ र आफूलाई तौलिन्छ नै।
“अधुरो वाक्य” कथामा टाढाको साइनो त्योपनि साथीतिरको भएपनि नेपाली भएकोले कोही आफ्ना बा वितेर शोकमा बसेको बेला भेट्न जाँदा उस्तै अबस्थामा रहेकी आफ्नी साथीको याद आउछ जो आमा गुमाएर बसेकी थिइन ओक्लोहोमामा।हरेक घर छोडेका छोराछोरीले सहेका कथाको कथा हो यो कथा। आउछु भनेर पुग्न नसक्नु र पुग्दा जसलाई भेट्न गएको त्यसलाई कहिल्यै भेट्न नसक्ने यथार्थ पढ्दै जाँदा मलाई आफ्नै आमा सम्झेर गला अबरूद्द भयो ।
बालखैमा आमा बन्न लागेकी न्यान्सीको गर्भ रहयो भन्ने थाहा पाएपछि आफूले बिश्वास गरेको मान्छे पर्ल हराउनु, बाउ-आमाले आफ्नो इज्जत जाने डरले छोरीलाई अन्तै राखेर बच्चा जन्माउन लगाउनु, जन्मिएको बच्चालाई अर्कैलाई धर्मपुत्री बनाएर दिएको पढ्दै जाँदा आजभन्दा ३०,४० वर्ष अगाडिको अमेरिकी समाज कस्तो थियो अनुमान गर्न सकिन्छ। हुन त महिलाले भोट दिने अधिकार पाएकै कति भयो र अमेरिकामा!
न्यान्सीले मनमनै राखेको उसकी छोरीको नाम क्रिस्टल जो हिराहरूमा सबैभन्दा राम्रो र उज्यालो धातु भएर होला आफ्नो बच्चापनि यस्तै सम्झेर राखेको नाम तर त्यो नाम राखेर उसले बोलाउनै नपाउदै उबाट खोसिन्छ । जब त्यही सुन्दर बस्तुलाई आफूबाट चुडेर अरूले लगे, त्यसैबेला उसलाई आफ्नो मातृत्व मरेको आभाष भएको थियो होला। लानेहरूले क्रिस्टललाई कहाँ लगे, कसरी पाले, कसरी हुर्काए न्यान्सीलाई थाहा थिएन तर उसले बिर्सिनपनि सकेकी थिइन।
त्यही बच्चा मेगन नामले डेन्टल हाइजिनिस भएर आउनु र न्यान्सीलाई उपचार गर्ने क्रममा घनिष्ठ साथी हुनु, कुनै नाटक जस्तो लागेपनि मेरो आमा मनलाई चिमोटीरहयो। डेन्टिसकहाँ जाने क्रममा जब मेगनले कसैले पालेकी हुँ भनेर आफूलाई हुर्काउनेहरूको नाताको बर्को उघार्दै जान्छे तबदेखि न्यान्सीमा छोरी भेटाउने आशाको मधुरो बत्ती बल्न थाल्छ। जन्मेकै दिन कसैको हातमा राखिदिएकी आफनी छोरी क्रिस्टल त कतै मेगन हैन? न्यान्सीमा आश थपिदै जान्छ र उ खोज्न थाल्छे क्रिस्टललाई लाने मान्छे। जब मेगन मे १२ मा आफू जन्मिएको उही अस्पताल जाने कुरा न्यान्सीले थाहा पाउँछे जहाँ क्रिस्टल जन्मिएकी थिइ त्यसपछि चाहि न्यान्सीको आमा मन छताछुल्ल हुनखोज्छ।
कथाले भनेजस्तै तीन पटक बिहे गरेर तीनै पटक पारपाचुके गरिसके की न्यान्सीलाई ती असफल सम्बन्धबारे कुनै गुनासो र ग्लानि थिएन । राम्रोसँग अनुहार पनि देख्न नपाएकी छोरीकै खोजीमा उसको जीवन केन्द्रित हुनुले नै पुष्टी गर्छ उ कत्रो मानसिक पिडामा रहिछ भन्ने कुरा।
“नभएर नभेटनुभन्दा भएको निश्चित हुँदा हुँदै पनि कहिल्यै भेटन नपाउनुको पीडा सायद तिम्रो अनुमानभित्र पनि नपर्ला”।
साँच्चै न्यान्सीको घाउ अनुमानमै नपर्ने हो। सबै आमालाई दुख्ने घाउ न्यान्सीले एक्लै त्यतिका वर्ष कसरी बोकी होला? अनुमान गर्नपनि नसक्ने कथा “न्यान्सी र क्रिसटल” ले कथामा देख्न पाइन्छ।
बिस्वासमा गएको पहिरोमा पर्ने सयौँ रमलाहरूको कथा “रमला कि रञ्जिता ?” लेखले बाचेको छ । आफनो विद्दोतालेपनि घुँडा टेक्छ, सक्षम भएरपनि असक्षम, निसाहाय बन्नु पर्दाको मानसिक अबस्था कस्तो हुन्छ यो कथा पढदा थाहा हुन्छ।
सन्सारमा सुन्दर जोडी नभएका कहाँ हुन र ! तर त्यही सुन्दर जोडीको सुन्दर सँसार भत्किएर भग्नावशेषमात्र बाँकी रहदापनि आँफैसँग सधै बसिरहने सम्झनाको सहारा लिएर बाँकी जीवन बाच्नुपर्ने नियतिको कथा “रातो पस्मिनामा” भेटिन्छ ।जुन पढदा गला अबरूद्द हुन्छ, थुक घाँटीमै अडकिन्छ । चिर निन्द्रामा निदाइसकेकी अन्जुको अन्तिम बिदाइका लागि लगाइदिने सारी खोज्न जाँदा दश वर्षको विवाह वर्ष गाठमा अन्जुलाई समिरले दिएको उपहार “रातो पस्मिना” अन्जुको आखिर जीवनको उपहार हुनु पुगेकोले पनि बढि दुखाउँछ पाठकलाई । यो घरदेशको कथा हो जहा पारिवारिक डुँगा डुबेपछिको विछिप्तताको चित्रण पाइन्छ। कथाकै भाषामा सुन्दा अझै पिडादायी लाग्छ।
“रोगले गलेको अन्जुको शरीर थाकेर लम्पसार चीर निद्रामा सुतिसकेको थियो । क्यान्सर जस्तो घातक शक्तिको सामु समीरको माया, अन्जुको आत्मबल, आधुनिक अनुसन्धानका ठेलीहरू अनि अत्याधुनिक औषधि सबै पराजित थिए । अरु वेलाको पहाडजस्तो दह्रो अन्जुको शरीर अचानक पहिरोले लडेको रूखजस्तो भएको थियो । आँगनमा रहेको अन्जुको चिसो शरीर अब समीरको अन्तिम बिदाइ पर्खिरहेको थियो। समीरको हातको आखिरी स्पर्शको प्रतीक्षा गरिरहेको थियो । वास्तवमा समीर अन्जुको अन्तिम यात्रामा उनलाई सजाउने लुगाको खोजीमा यस कोठामा पसेका थिए । थरथर कामिरहेका हात र भिजेका परेला बोकेर समीरका हात अन्जुका लुगा राखेको आलमारीमा पुगे। रातो साडीका सामु अडिए । अघिदेखि नै पस्मिनाको पोको त उनका हातबाट छुटेकै थिएन ।”
विश्वासघात गरेर भाग्ने सतिसहरू समाजमा बग्रेल्ती भेटिन्छन् र त्यसका शिकार हुने सुजाताहरूपनि उत्तिकै भेटिन्छन् ।आबेसका सहीहरू गलत सावित भएपछि त्यसको दोष महिलालाईमात्र थोपरिने समाजमा प्राकृतिक चाहना कसैले रोकेर रोकिदैन यसलाई समय अनुकुल लिनु पर्छ भन्ने कुरा जबसम्म बुझिदैन, तबसम्म सुजाताहरू वाध्य हुन्छन् टुकचाहरूको सरण लिन “मातृत्व कोसँग ? “ भन्ने कथामा पाइन्छ ।
“समाजलाई लत्याएर फक्रिन बाकी शिशुसँगै टुकुचामा लीन हुने साहस समेतले टाढा बसेर सुजाताप्रति व्यङ्ग्य हाँसिरहेको थियो । धिक्कारिरहेको थियो । टुकुचासँग प्रश्न गर्ने आट भने सुजातामा आज मात्र पलाएको थियो । सुजाताको हृदयभरि प्रश्नै प्रश्नको खहरे उर्लिन थालेको थियो। टुकुचासम्म नपुगी कल्पनाकै टुकुचा अगाडि प्रलाप गर्छे। “खै मेरो ममता ? खै मेरो मुटुको टुक्रा ? खै मेरो हृदयको ढुकढुकी ?” “टुकुचा ! मैले राख्न दिएको नासो ... अब म स्वीकार गर्छु, मलाई कृपया मेरो नासो फिर्ता देऊ !”
“टुकुचा ! तिमी बुझ पचाएर मौन बगिरहन पाउँदैनौ ! त्यो बालक मेरो अवैध सन्तान हुँदैमा तिम्रो पनि हुन सक्तैन” सुजाता भन्दै जान्छे । बालकहरू अवैध हुँदैनन् ।”
कथैपिछ्छे घोचिरहने आफनै घरका र समाजका तिखा वचनबाट बच्न जति ढाट्न खोज्छन् सुजाताहरू त्यति नै घाउ बल्जिएर दुखिरह्नन्छ उनिहरूको मन। कथा पढदा पात्रहरू उठेर आएर जस्तो लाग्छ, आफनो अधिकार फिर्ता देउ भनेर धर्ना बसेझैँ लाग्छ।
डा. दयाराम श्रेष्ठले भन्नु भएजस्तै भारती गौतमले संयुक्त राज्य अमेरिका देखेकी हुनाले मात्र होइन, त्यस महादेशको अन्तर्यका सूक्ष्म रहस्यहरू समेत राम्ररी बुझेकी, पढेर जानेकी र भोगेकी हुँदा यस्ता बान्कीका कथाहरू लेखिन सम्भव भएको हो ।यी कथाहरू नेपाली मनलाई अमेरिका सँग जोड्ने सेतु बनेका छन् ।
हो! यि कथाहरू सस्तो प्रचारकालागि मात्र लेखिएका कथा हैनन् । भिन्न परिवेशहरू बसको यात्रामा होस या डेकेयरमा, स्टेटसेलमा होस या बेबीसिटिङमा हरेक नयाँ मान्छेसँग ठोकिदा झरेका उनिहरू ब्यथाहरू आफूलाईपनि उत्तिकै दुखेर लेखिएका हुन। मेरो बुझाइमा एउटा सफल लेखक त्यतिबेला हुन्छ जब पात्रभित्र छिर्छ उसका सारा दुःखहरू आफ्नैझैँ गरेर बाहिर निकालिदिन्छ। यसमा साहित्यकार भारती गौतम सफल हुनुहुन्छ जस्तो लाग्छ।
“फरक फूल” की श्रष्टा आफैले भनेझैँ रङ्गहरूको विविधतामा इन्द्रेणी रचिए जस्तो हृदयहरूको पनि इन्द्रेणी हुँदो रहेछ । बेग्लै हृदयहरूमा पनि उस्तै वेदना टल्किँदो रहेछ । साच्चै यि कथाहरू केवल सिर्जना होइनन ती अनुभूतिहरूका प्रतिबिम्ब पनि हुन् । ती प्रतिबिम्बहरू कहिले मनको ऐनामा देखिन्छन अनि आफैँ जस्ता लाग्छन अनि कहिले भने कथारूपी झ्यालबाट आफू भन्दा बेग्लै जीवन चिहाउन थाल्छन् । त्यस्तोमा आफू भन्दा बेग्लै नि आफैँ जस्तो लाग्छ ।
फरक सँस्कृतिमा फुलेका फूलहरू मा जब आफू डुब्दै र उत्रदै गर्न थालिन्छ त्यतिबेला ओ.. हो..! यहाँ मेरोजस्तै रङ नभएपनि मन भएका मान्छे रहेछन् भन्ने लाग्दोरहेछ।
साहित्यकार तथा “फरक फूल” का प्रकाशक कृष्ण बजगाई भनेजस्तै सङ्ग्रहका प्रायजसो कथाले नेपाली मनलाई अमेरिकी जीवनसँग जोड्ने काम गरेका छन।
फरक फूलहरूका आ-आफ्नै कथा ब्यथाले पाठकलाई कहिले हसाउँदै र कहिले रूवाउँदै सँगसँगै लिएर जान्छन्। आफूले देखेको समाज र त्यो समाजमा छोरी नामका फूलहरू कतै भीरमा छन् कतै पीरमा छन। वहाँकै भाषामा भन्दा जहाँ फुलेपनि फुल्ने रङ बदलेका छैनन, फुल्ने ढङ्ग बदलेका छैनन् । जस्तोसुकै परिस्थितिमापनि फुलेरै छोडेका छन् । जति कोट्यायो त्यति धेरै कथा बोकेका फरक फूलहरूलाई बधाई भन्दै यि फूलहरूलाई समाजले सजिलै स्विकारी दिए उनिहरूले जीवनका आधाभन्दा धेरैवर्ष चिन्तामा बिताउनु पर्ने थिएन कि ! यही कामना गर्दछु । दिदीलाई हार्दिक बधाई !!
अमेरिका