19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डुवर्सेली नेपाली कथा साहित्यको विकास यात्रा : एक विहङ्गम दृष्टि

विचार गोपालसिंह विश्व September 9, 2026, 10:51 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

आजभन्दा लगभग 49 वर्षअघि ‘नेपाली कथा साहित्यको सन्दर्भमा डुवर्स’ शीर्षकमा यस पङ्क्तिकारको एउटा लेख नेहरु सङ्घ तथा पुस्तकालय, बाग्राकोटबाट प्रकाशित ‘प्रयास’ पत्रिकाको वर्ष 4 अङ्क 4 अक्टुबर-दिसम्बर सन् 1977 मा प्रकाशमा आएको थियो। पछि सन् 1984 तिर यही लेख नेपालबाट भवानी घिमिरेको सम्पादनमा निस्किने पत्रिका ‘भानु डुवर्स विशेषाङ्क’-मा पनि प्रकाशित भयो। त्यसबेलासम्म डुवर्सका केही अग्रज कथाकारहरूका फुटकर कथाहरू डुवर्स र डुवर्सबाहिरका विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भए तापनि व्यक्तिगत रुपमा पुस्तक आकारमा कसैको कथा-कृति प्रकाशमा आउन सकेको थिएन। सन् 1975 मा तरुण पुस्तकालय प्रकाशन, दुम्सिपाड़ा, डुवर्सबाट सामुहिक सङ्कलनका रुपमा प्रकाशित भएको प्रथम कथासङ्ग्रह ‘साहित्य पुष्प’-मा डुवर्सका 12 जना कथाकारका 12 वटा कथाहरू सङ्कलित थिए। ती हुन् – मायादेवी योञ्जनको ‘मन्दा’, मणिकुमार थापाको ‘कमान बन्द छ’, चन्द्रवीर प्रधानको ‘नयाँ घर’, विष्णु प्रसाद गौतमको ‘नयाँ सारी’, जगदीश खरेलको ‘फुटेका चुरा’, कितापसिंह राईको ‘भाइटीकाको दिन’, कृष्णभक्त खड्काको ‘पर्खाल’, सागर राई देवानको ‘फुटेको ऐना’, दिनानाथ शर्माको ‘बन्द’, श्रीनारायण प्रधानको ‘रित्तिएको सिँउदो’, राज के. श्रेष्ठको ‘चिठ्ठीको कल्पना’ र मनुकुमार प्रधानको ‘कति नादान थियो मेरो उ’। यसका सम्पादक थिए – सी.बी.प्रधान र जगदीश खरेल। यी बाह्र कथाकारहरूका अतिरिक्त विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित कथाहरूका आधारमा त्यसभन्दा धेरै अघि नै डुवर्समा बद्रीनारायण प्रधान, विष्णु शर्मा अधिकारी, एस.एन.छेत्री, तारानारायण श्रेष्ठ, जे.एम.सुब्बा, गङ्गाप्रसाद प्रधान, नरेन्द्र खड्का, आदिको पनि कथा लेखन क्षेत्रमा पदार्पण भइसकेको थियो। तर तिनका कथाहरू कतिपय कारणवश यस सङ्कलनमा पर्न सकेनन्। त्यसपछि सन् 1983 मा अर्को कथा सङ्ग्रह ‘पञ्चामृत’ डुवर्सका तीनजना कथाकार तारानारायण श्रेष्ठ, चन्द्रवीर प्रधान र मणिकुमार थापाका पाँचवटा कथाहरूको सङ्कलन प्रकाशमा आयो। यसमा तारानारायण श्रेष्ठको एउटा कथा ‘बाँसुरी’, (सन् 1960 मा शिलाङबाट निस्कने ‘फिलिङ्गो’ पत्रिकामा प्रकाशित), चन्द्रवीर प्रधानको दुईवटा कथा ‘चालसाको उकालो’ (गोर्खा वर्ष 10 किरण 10 सन् 1954) र ‘कीलकोटको सैन्य थर्पु : श्यामसिंहको चिहान’ अनि मणिकुमार थापाको दुईवटा कथा ‘पीङ थापेको दिन’ (‘टिस्टा सुनकोश’ वर्ष 1 भँगालो 2) र ‘मुजरा’ सङ्कलित थियो। ती कथाहरूमध्ये तुलनात्मक दृष्टीमा चन्द्रवीर प्रधानको ऐतिहासिक कथा ‘कीलकोटको सैन्य थर्पु : श्यामसिंहको चिहान’ उत्कृष्ट मानिएको छ। त्यसबेलादेखि अहिलेसम्म डुवर्सले कथा साहित्यको विकासमा निकै लामो यात्रा तय गरिसकेको छ।

यसप्रकारले अहिलेसम्म उपलब्ध पत्र-पत्रिका र पुस्तकहरूमा प्रकाशित कथाहरूका आधारमा डुवर्सका पहिलो पिँढ़ीका कथाकारहरू बद्रीनारायण प्रधान, मायादेवी योञ्जन, चन्द्रवीर प्रधान. मणिकुमार थापा, एस.एन.छेत्री, तारानारायण श्रेष्ठ, जे.एम.सुब्बा, विष्णुप्रसाद गौतम, जगदीश खरेल आदिलाई मानिएको छ भने दोस्रो पिँढ़ीका कथाकारहरू कितापसिंह राई, विष्णु शर्मा अधिकारी, कृष्णभक्त खड्का, राज के.श्रेष्ठ, लोकनाथ प्रधान, इन्द्रबहादुर गुरुङ, दीनानाथ शर्मा, कृष्ण योञ्जन ‘गड़बड़े’, सागर राई देवान, सुखमन मोक्तान, एन.के.प्रधान, केशर खवास आदि देखा परे अनि तेस्रो पिढीका कथाकारहरूमध्ये गङ्गाप्रसाद प्रधान, श्रीनारायण प्रधान, नरेन्द्र खड्का, कमला खप्तावली, मनुकुमार प्रधान, आशिक मोक्तान, मदन खड्का, अशोक रोका, शङ्कर प्रधान, अशोक विश्व, श्रीमती लीला छेत्री, अबिर खालिङ, डी.बी.राई, प्रभात थापा ‘उदय’, नन्दकिशोर मोक्तान, कुमार थुलुङ, इन्द्र भुजेल, मनोज योञ्जन, रविन खवास, वेगवसन्त थापा, सविन थापा, अनन्त श्रेष्ठ, उमेश प्रधान, किरण उपाध्याय, दुर्गा चामलिङ आदिको नाम लिन सकिन्छ। परवर्तीकालमा केही कथाकारहरूका दुई-चारवटा कथाहरू पढ्न पाइए तापनि एउटा सफल कथाकारमा हुनपर्ने गुण र लक्षण देखिन अझै समयको प्रतिक्षा गर्नुपर्ने देखिन्छ। साहित्य लेखनमा धेरै अभ्यास, प्रयत्न र लगनशीलताबाट खारिएर निस्कनु सहज कार्य अवश्य होइन। यसरी एक दुई वटा कथा प्रकाशित गराएर कथा लेख्नै छाड्नेहरूको सङ्ख्या पनि निकै होला। ती सबैको लेखाजोखा गर्न यहाँ सम्भव छैन। तर पनि यहाँ केही नामहरू उल्लेख गर्ने क्रममा कोही नछुटुन भन्ने प्रयास गरिन्छ।

डुवर्सका केही सफल र सशक्त कथाकारका रुपमा दह्रिरिएका र आफ्ना कथाकृतिहरू समेत प्रकाशमा ल्याइसकेका सर्जकहरूको उल्लेख गर्नुपर्दा सबैभन्दा पहिले बद्रीनारायण प्रधान (1927-2010)-को नाम अघि आउँछ। उनको पहिलो कथा ‘जानिएको थिएन’ दार्जीलिङबाट कमलकुमार शर्माको सम्पादनमा निस्कने कथा प्रधान पत्रिका ‘हाम्रो कथा’-मा जुलाई 1949 मा प्रकाशित भएको तथ्य ज्ञात हुँदछ। यसलाई डुवर्सको कथाकारले लेखेको पहिलो प्रकाशित कथा मान्न सकिन्छ। यसअघि उनले विद्यार्थीकालमै 14 वर्षको उमेरमा नै कालेबुङबाट कथा विधामा कलम चलाउन थालिसकेका थिए भन्ने कुरा सन् 1941 मा रामकृष्ण शिक्षा परिषद, दार्जीलिङको तत्वाधानमा भएको संक्षिप्त कथाहरूको प्रतियोगितामा उनले पठाएको कथा ‘विष्णुमति’ लाई यसको प्रमाणस्वरूप लिन सकिन्छ। दियालो वर्ष 35 हाँगो 122-123 मई 1993 मा प्रकाशित स्व. इन्द्र सुन्दासको लेख ‘नेपाली कथाका विकासको इतिहासमा एउटा महत्वपूर्ण अध्याय’ –मा यसको उल्लेख गरिएको छ। जीवनी, अनुवाद र लेख-निबन्ध विधामा 1946-47 देखि नै निरन्तर कलम चलाईरहे तापनि कतिपय सामाजिक, राजनैतिक र शिक्षण कार्यहरूमा व्यस्त रहनु परेको हुनाले उनले निकै लामो अवधिसम्म आख्यान रचनातिर समय दिन सकेनन्। सन् 1981 मा उनको बालमनोविज्ञानमाथि आधारित कथा ‘सङ्गत’ टिस्टा सुनकोशको डुवर्स विशेषाङ्कमा प्रकाशित भएको पाइन्छ। सन् 1976 मा म्याक्सिम गोर्कीको ‘मदर’ उपन्यासको अनुवाद ‘आमा’ अनि सन् 1981 मा ‘महर्षि कार्ल मार्क्स’ जस्तो जीवनी पुस्तक रुपमा प्रकाशित गरिसकेका भए तापनि शिक्षण पेशाबाट अवकाश ग्रहण गरेपश्चात् सन् 1990 देखि यता उनका कथाहरू सुनचरी, आजभोलि, सगरमाथा, अब, हिमालय दर्पण, छाल, पश्चिम बङ्गाल आदि पत्र-पत्रिकाहरूमा प्रकाशित हुनथाले। सन् 2002 मा उनको कथासङ्ग्रह ‘सङ्गत’ 11 वटा कथाहरूको सङ्कलन निर्माण प्रकाशन, नाम्ची, सिक्किमबाट प्रकाशित भयो। यसबाहेक उनका लगभग 13-14 वटा कथा र 49 वटा जति बाल कथाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन् जो पुस्तक आकारमा प्रकाशित हुन बाँकी नै रहेको छ। प्रगतिवादी तथा मार्क्सवादी चिन्तनधाराका लेखकका रुपमा ख्याति पाएका बद्रीनारायण प्रधानका दुइवटा उपन्यास ‘मौली’ (सन् 1993) र ‘भुमरी’ (सन् 2002) पनि प्रकाशित छन्। जीवनी, संस्मरण, कथा, उपन्यास र अनुवाद विधाका उनका कुल 11 वटा कृतिहरू प्रकाशित भइसकेका छन् र निकट भविष्यमा उनका अन्य अप्रकाशित कृतिहरू पनि शिघ्र प्रकाशमा ल्याउने कार्यहरू भइरहेको थाह पाइएको छ।

चन्द्रवीर प्रधान (1931-1987)-को प्रथम कथा ‘दिदी’ अगस्त सन् 1951 मा कलकत्ताबाट लैनसिंह बाङ्देलको सम्पादनमा निस्कने पत्रिका ‘प्रभात’-मा प्रकाशित भएको पाइन्छ। उनका लगभग दुई दर्जन भन्दा अधिक कथाहरू नेपाल र भारतका विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्। उनले कविता, कथा, निबन्ध र उपन्यास विधामा कलम चलाए। डुवर्सको प्रथम हस्तलिखित पत्रिका ‘जागृति’ –का सम्पादक र डुवर्स नेपाली साहित्य विकास समितिका संस्थापक सचिव रहेका चन्द्रवीर प्रधान जीवित रहुञ्जेल स्वतन्त्र र व्यक्तिगत रुपमा उनका कुनै कृति प्रकाशमा आउन नसके तापनि उनको मृत्युपछि उनका एक दर्जन कथाहरूको सङ्ग्रह ‘चन्द्रवीर प्रधानका कथाहरू’ सन् 2003 मा सामसिङबाट मननारायण प्रधानको सम्पादनमा प्रकाशित भएको थियो। उनका कथाहरू कथ्य र शिल्पका दृष्टिमा बेजोडका छन्। विभिन्न पत्र-पत्रिकामा छरिएका उनका कथाहरू सङ्कलन गरी अझै एउटा कथा-कृति प्रकाशमा ल्याउन सकिन्छ।

मणिकुमार थापा (1931-2016)-को प्रथम कथा ‘दिवा स्वप्नको विस्मृति’ हाम्रो कथा’ वर्ष 2 किरण 10, 1951 मा प्रकाशित भएको थियो। त्यसपछि उनका अन्य कथाहरू ‘अवसान’ (हाम्रो कथा’), कमान बन्द छ (साहित्य पुष्प), वासु (टेवा), तरङ्ग (स्मारिका, डु.ने.सा.वि.स.), पीङ थापेको दिन र मुजरा (पञ्चामृत) सहित मोठ 7 वटा कथाहरू प्रकाशित भए। ‘डुवर्स’ (गीति काव्य -1993) जस्तो अमर कृतिका सर्जक मणिकुमार थापाको देहावसान भएको सात वर्षपछि डा. जीवन नामदुंगको सम्पादन र सङ्कलनमा सन् 2023 मा ‘साहित्यकार मणिकुमार थापा’ प्रकाशित भएको छ। यस पुस्तकमा थापाका जीवन परिचय सहित 6 वटा कथा, 7 वटा लेख र 6 वटा कविताहरू सङ्कलित छन्। उनले थोरै कथा लेखे तापनि शिल्प तथा शैलीका दृष्टिमा ती उत्कृष्ट रहेका छन्।

मायादेवी योञ्जन (1931 – 2021)-को प्रथम कथा ‘मन्दा’ दुम्सीपाड़ा, डुवर्सबाट चन्द्रवीर प्रधानको सम्पादनमा निस्कने हस्तलिखित पत्रिका ‘जागृति’ वर्ष 1 अङ्क 2, 1950 मा प्रकाशित भएको जानकारी पाइन्छ। पछि त्यही कथा ‘साहित्य-पुष्प’-मा पनि प्रकाशित भएको थियो। उनको प्रथम कथा कृति ‘मन्दा’ सन् 1992 मा प्रकाशमा आएको हो। यस कथा सङ्ग्रहमा उनका सातवटा कथाहरू मन्दा, जीवन, यात्रामा, अशोकको प्रयास, रमा, अनौठो मिलन र ममताको नाता सङ्कलित छन्। उनको दोस्रो कथा सङ्ग्रह ‘परिवर्तन’ आफ्नो छोरा मनोज योञ्जनसित मिलेर संयुक्त रुपमा 11 वटा कथाहरूको सङ्कलन सन् 2001 मा प्रकाशित भएको थियो। यी 11 वटा कथाहरूमध्ये मनोज योञ्जनक 5 वटा कथा घर, अधुरो सपना, सहयात्री, अभिन्न मित्र र अतृप्त इच्छा सङ्कलित छन् भने मायादेवी योञ्जनका नयाँ तीन वटा कथाहरू सुमी, देवदण्ड र परिवर्तन सहित पहिलो कथा सङ्ग्रह ‘मन्दा’-बाट तीन वटा कथा रमा, ममताको नाता र अशोकको प्रयास समावेश गरिएका छन्। दुई कथा सङ्ग्रहमा उनका कुल 10 वटा कथाहरू प्रकाशित भएको पाइन्छ। उनका प्राय:कथाहरूमा नारीका विविध समस्याहरूलाई आदर्शोंमुख यथार्थवादी दृष्टिकोणबाट हेर्ने प्रयास गरिएको पाइन्छ सामाजिक सरोकार एवं नारी-मनोविश्लेषणमाथि आधारित रहेको पाइन्छ। उनले थोरै कथा लेखिन् तर डुवर्सको नारी कथाकारको रुपमा उनको स्थान उच्च रहेको छ।

एस.एन.छेत्री (1920-1985)-जन्म थलो खरसाङको छेउ घैयाबारी कर्मथलो डुवर्सको चिलाउने चियाकमान प्राथमिक पाठशालाका प्रधानाध्यापक रहेका एस.एन.छेत्रीको प्रथम कथा ‘कारगाड़ी’ सन् 1963 मा सिक्किमबाट निस्कने पत्रिका ‘कञ्चनजङ्घा’ वर्ष 4 सङ्ख्या 8 मा प्रकाशित भएको थियो। उनका अनेकौं लेख-निबन्ध र लगभग 39 वटा कथाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन्। सन् 1984 मा प्रकाशित “गाड़धन’ (19 वटा कथाहरूको सङ्ग्रह) उनको प्रथम कथा-कृति हो। मरणोप्रान्त उनका दुईवटा कृति प्रकाशित भए ‘दार्जीलिङको रेल’ (निबन्ध सङ्ग्रह -1998) र ‘एस.एन.छेत्रीका रचनाहरू’ (विविध विधागत रचनाहरूको सङ्ग्रह – 2003) जसमा 20 वटा कथाहरू सङ्कलित छन्। ‘डुवर्स : एक अध्ययन’-मा डा.जीवन नामदुंग लेख्नुहुन्छ – ‘पौराणिक कथा र लोक कथाको कड़ीलाई आफ्नो कथा रचनाको पूर्वाधार राख्न चाहने स्व. छेत्रीका कथामा सामाजिक कुसंस्कार र आदर्शवादी विचारधाराकै प्राचुर्य यत्रतत्र विद्यमान छन्। शिक्षा-दीक्षाले हीन डुवर्सको नेपाली समाजमा शिक्षक वृति सन् 1953 देखि सन् 1985 सम्ममा जति व्यतीत गर्नुभयो, ती सबैको अनुभूति उनका कथाको मूलस्वर हो। “

विष्णुप्रसाद गौतम (1932) – वर्तमान 94 वर्ष पुगिसकेका उनी डुवर्सका एक अग्रज साहित्यकार हुन्। उनले कविता, कथा, नाटक, एकाङ्की, संस्मरण र निबन्ध विधामा कलम चलाएका छन्। उनको पहिलो कथा ‘मेरो जीवनदाता’ सन् 1963 मा ‘आमा’ पत्रिकामा प्रकाशित भएको थियो जब कि उनको प्रथम कविता ‘किसान र सिनेप्रेमी’ सन् 1953 मा दुम्सीपाडा, डुवर्सबाट चन्द्रवीर प्रधानको सम्पादनमा निस्कने हस्तलिखित पत्रिका ‘जागृति’—मा प्रकाशित भएको पाउछौं। उनका रचनाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित हुँदै आए तापनि यतिका दिनसम्म पुस्तकरुपमा उनको कुनै कृति प्रकाशित हुन सकेको थिएन। सन् 2024 मा उनको प्रथम कथा-कृति ‘ढुङ्गाको देवता’ (आठवटा कथाहरूको सङ्ग्रह) प्रकाशित भएको छ।

जगदीश खरेल (1937-2002)-को प्रथम कथा ‘मास्टर दाज्यु’ डुवर्सबाट मुद्रित रुपमा प्रकाशित प्रथम नेपाली पत्रिका ‘हाम्रो ध्वनि’-मा सन् 1967 मा प्रकाशित भएको थियो। उनी यस पत्रिकाका प्रधान सम्पादक थिए। यसबाहेक उनका अन्य 6 वटा कथाहरू प्रकाशित भएको पाइन्छ। ती हुन् 1) फुटेको चुरा (दियालो वर्ष 12 हाँगो 53, 1972 र साहित्य-पुष्प 1975), 2) मुर्झाएका भोलिका फूलहरू (स्मारिका, डुवर्स नेपाली साहित्य विकास समिति, 1980), 3) वचन (इन्द्रधनु अङ्क 4), 4) नाटक (स्रष्टा डुवर्स विशेषाङ्क वर्ष 16 अङ्क 35), 5) एक विवशता (भानु डुवर्स विशेषाङ्क वर्ष 21 किरण 33 वैशाख वि.स.2041) र मेरो नाति (डुवर्स ज्योति प्रवेशाङ्क, अगस्त, 2007)। उनको प्रथम कविता ‘तड़्पिरहुँला’ सन् 1960 मा ‘पश्चिम बङ्गाल’ पत्रिकामा प्रकाशित भएको थियो। उनले साहित्य पुष्प, हाम्रो ध्वनि, रूञ्चे र पसिना जस्ता पुस्तक र पत्र-पत्रिकाहरूको सम्पादन गरेका थिए। तर उनको आफ्नो कुनै कृति पुस्तक रुपमा प्रकाशित हुन सकेन।

कृष्णभक्त खड्का (1944-2021)-को प्रथम कथा ‘पर्खाल’ वाराणसीबाट काशीबहादुर श्रेष्ठको सम्पादनमा निस्कने साहित्यिक पत्रिका ‘उदय’ –को वर्ष 28 किरण 5-8, दिसम्बर 1965 मा प्रकाशित भएको थियो। त्यसपछि उनको दोस्रो कथा ‘हत्यारा’ हाम्रो ध्वनि वर्ष 1 अंक 1 - 1967 मा प्रकशित भएको पाइन्छ। सन् 1967 मा उनको तेस्रो कथा ‘के त्यो कलङ्किनी हों ?’ ‘उदय’-मा प्रकाशित भएको हो। उनका अन्य कथाहरू ‘मेरी तिलोत्तमा’ हाम्रो संकेत वर्ष 2 अंक 7 (1970)-मा, ‘महिनाको अन्त र विवशताका क्षणहरू’ बाडुली वर्ष 3 अंक 7 (1970)-मा, ‘प्रमाण-पत्र’ दियालो वर्ष 11 हाँगो 38 (जनवरी 1971)-मा, ‘मुजनाई चियाकमान’ डुवर्स-ज्योति वर्ष 3 अङ्क 3 (2009)-मा र ‘बङ्गोपाली’ डुवर्स र गोरुबथानका कथाहरू (२०१२)-मा प्रकाशित भएका छन्। उनले कुल आठवटा कथा लेखेको पाइन्छ। कथा बाहेक उनले नाटक,एकाङ्की, निबन्ध र अनुवाद विधामा पनि कलम चलाएका छन्। उनका लगभग दुई दर्जन एकाङ्कीहरू आकाशवाणी खरसाङबाट प्रसारित भएका छन् । जीवित छँदै उनका कुनै कृति पुस्तक रुपमा प्रकाशमा आउन सकेन। मरणोप्रान्त गोपालसिंह विश्वको सम्पादनमा उनका आठवटा कथाहरूको सङ्कलन “कृष्णभक्त खड्काका कथाहरू’ जनवरी, सन् 2022 मा प्रकाशित भएको छ। उनका कतिपय कथाहरू व्यङ्गात्मक शैलीमा लेखिएका छन् भने कतिपय कथाहरूमा समाजको यथार्थ चित्रण पाइन्छ।

लोकनाथ प्रधान (1946-2025) – कविता, कथा, संस्मरण, निबन्ध र अनुवाद विधामा कलम चलाउनु हुने लोकनाथ प्रधानको पहिलो कविता सङ्ग्रह ‘बिरुवा’ सन् 1966 मा प्रकाशित भएको हो। उनका केही संस्मरण, कथा र् निबन्धहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन्। कविता कृति बाहेक उनको बङ्गला भाषाबाट अनुवादित एउटा पुस्तक ‘समय सङ्कट अनि उत्तरण’ (सन् 2011) र एउटा विविध रचना सङ्ग्रह ‘मायाको मोल’ (सन् 2017) प्रकाशित छन्। यस सङ्ग्रहमा उनका संस्मरण/जीवनी/निबन्धहरू 9 वटा र कथाहरू 6 वटा समावेश गरिएका छन्। ती कथाहरू हुन् – सिन्दूर, अझै हाँस उठ्छ, जालो, मायाको मोल, सोनाम डोल्मा र रक्त कोकिला। समालोचक डा.जीवन नामदुंगका अनुसार ‘ऐतिहासिक कथा लेखनमा मायाको मोल र रक्त कोकिला शिर्षकका कथामा कथाकारको इतिहास चेत र कथाकारिता निकै माझिएको छ। सामाजिक कथा ‘सिन्दूर’मा लेखक हेमन्त, कुसुम र विधवा भाउज्यू माझको अन्तर्द्वन्द्वलाई नारी मनोवैज्ञानिक दृष्टिकोणबाट लेखिएको राम्रो कथा मान्न सकिन्छ। सोनाम डोल्मा अर्को यस्तै एउटा सस्पेन्स कथा खुबै सरल शैलीमा प्रस्तुत गरेर परशुराम रोका, अगमसिंह गिरी र आई.के.सिंहको सस्पेन्स कथा लेखनको हेक्का दिएका छन्। लेखकले कथाकै गणनामा राखे तापनि ‘अझै हाँस उठ्छ’ लाई कथाभन्दा पनि संस्मरण भन्न सकिन्छ।

कितापसिंह राई (1947- 2016)- सन् 1962 मा आठौँ श्रेणीमा पढ्दा स्कुल म्यागेजिनमा हिन्दी र अंग्रेजीमा लेखिएका उनका रचनाहरू प्रकाशित भएका थिए। त्यसपछि सन् 1965 मा ‘स्वर्गमा देवकोटा जयन्ती’ शीर्षकमा हास्य व्यङ्ग्य एकाङ्की ‘उदय’ वर्ष 28 किरण 5-8 मा प्रकाशित भएको पाइन्छ। सम्भवत: उनको पहिलो कथा ‘भाइ टीकाको दिन’ उदय वर्ष 29-31 अङ्क 1-6 (अक्टोबर सन् 1967 मा प्रकाशित भएको थियो। उनका कथाहरू उदय, दियालो, सुमन, हिमालोक, समकालीन साहित्य, हिमालचुली तथा अन्य पत्र-पत्रिकाहरूमा प्रकाशित भएका थिए । सन् 1985 मा उनको एउटा मात्र कथा-कृति ‘पँहेलो गुलाबको फूल’ प्रकाशित छ। यसमा 11 वटा कथाहरू भाइ टीकाको दिन, तीनवटा अटोग्राफ, पँहेलो गुलाबको फूल, क्षितिजतिर, बन्द कोठा, व्यक्त : अव्यक्त, कसरी भनूँ म दुखित छु, मलायाको चिठ्ठी, मध्ये रात अनि ड्रपसिन, एकली माइठेबा मात्र दु:ख बक्न बाँचेकी छे र मोहब्बत गल्ली सङ्कलित छन्। सन् 2007 मा साझा प्रकाशन, नेपालबाट अविनाश श्रेष्ठको सम्पादनमा प्रकाशित ‘आधुनिक भारतीय नेपाली कथा’-मा डुवर्सका प्रतिनिधि कथाकारका रुपमा कितापसिंह राईको कथा ‘पहेलो गुलाबको फूल’ लाई समावेश गरिएको छ। यसबाहेक मरणोप्रान्त प्रकाशित उनको एउटा ऐतिहासिक यथार्थवादी कथा ‘एक अभिनव प्रेम-प्रतीक : नयाँ साइँली’ (कितापसिंह राई स्मृति ग्रन्थ) पनि एउटा उत्कृष्ट कथा हो। अंग्रेजी र नेपाली भाषामा उनका 10 वटा कृतिहरू प्रकाशित छन्।

विष्णु शर्मा अधिकारी (1947-2023)- तीनवटा उपन्यास, दुइवटा कथा सङ्ग्रह, एउटा अनुवाद पुस्तक र केही पाठ्य पुस्तकहरूका लेखक विष्णु शर्मा अधिकारी डुवर्सका आख्यानकारका रुपमा परिचित छन्। उनको प्रथम कथा ‘किशोरको टमी’ सन् 1967 मा दियालो पत्रिकामा प्रकाशित भएको थियो। उनको प्रथम कथाकृति ‘असिनाले झारेका फूलहरू’ (सत्रवटा कथाहरूको सङ्कलन) सन् 1996 मा प्रकाशित भएको थियो भने दोस्रो कथासङ्ग्रह ‘मानस-पुत्र (अठाह्र वटा कथाहरूको सङ्कलन) सन् 2022 मा प्रकाशित छ। दलसिंहपाड़ा, डुवर्सबाट त्रिवेणी पुरस्कारले पुरस्कृत कथा ‘झुम्के बुलाकी’ र मनोविज्ञानमाथि आधारित कथा ‘भ्रम’ उनका उत्कृष्ट कथाहरू हुन् ।

इन्द्रबहादुर गुरुङ (1945-2020) – कथा, कविता, संस्मरण, एकाङ्की, लेख-निबन्ध आदि विधामा कलम चलाउने इन्द्रबहादुर गुरुङको प्रथम कथा ‘धनवीर साइँला’ सन् 1970-71 तिर थर्बु चियाबारीबाट निस्कने ‘हाम्रो चियाबारी’ पत्रिकामा प्रकाशित भएको थियो। उनका तीनवटा कविता-सङ्ग्रह, एउटा एकाङ्की सङ्ग्रह, एउटा संस्मरण र लेख-सङ्ग्रह अनि एउटा कथा-सङ्ग्रह प्रकाशित छ। सन् 1993 मा प्रकाशित उनको कथा-कृति ‘बुखिमबारीका कथाहरू’-मा उनका सातवटा कथाहरू राम्री, गोठाले मगर, धनवीर साहिँला, झाँक्री गुरुङ, च्याङ्बा, बाटुली र गौरी सङ्कलित थिए भने यसको दोस्रो संस्करण (2017)-मा अझै तींनवटा कथा धनमान, विछोडको पीड़ा र गङ्गा थपिएर दशवटा कथा सङ्कलित भएका छन्। उनका कथाहरूमा स्थानीय बुखिमबारीका वरिपरि चियाबारीका जनजीवनमा आधारित घटनाहरूमाथि केन्द्रित सामाजिक कुरीतिहरूप्रति व्यङ्ग्य र विरोधको स्वर देख्न पाइन्छ भने राम्री, बाटुली, गौरी र गङ्गा जस्ता कथाहरूमा नारी चरित्र चित्रण गर्नमा उनी निकै अनुभवी रहेको बुझिन्छ।

कृष्ण योञ्जन ‘गड़बड़े’ (1950-2025)-को सन् 2019 मा एउटा मात्र कथा-कृति ‘टिस्टा सुनकोशका व्यथा वेदनाहरू’ (बाह्रवटा कथाहरूको सङ्कलन) प्रकाशित छ। उनले सत्तरको दशकदेखि कथा विधामा कलम चलाउन थालेका हुन्। उनको पुस्तकको भूमिकामा दार्जीलिङका वरिष्ठ कथाकार गुप्त प्रधान लेख्नुहुन्छ – ‘कतिपय कथाहरूमा ठाउँ ठाउँमा प्रेम-प्रीतिले फेरो मार्ने गरेको भेट्टाइए तापनि त्यस्ता माया-प्रीति समेत त्यहीँको अपव्यवस्था र गरिब अवस्थाको कारणले बिथोलिँदै गएर लक्ष्यमा पुग्न असफल भएका पाइन्छन्। रुप्पी चरोमाथि केन्द्रित कथा ‘फुटेको कर्म’ सिवाय अन्य सबै कथाहरू चियाकमानका जीवनहरूले भोग्नुपर्ने विविध जटिलता, समस्या, शोषण, गरिबी, दिशाहीनता, लाचारीत्व, आदि दर्शाउन्मा व्यस्त छन्। कथा ‘अमरनाथ’-को एउटा भेट’ र ‘एउटा अविष्मरणीय कुरा’ एउटै कथा दुई भागमा लेखिएको पाइन्छ भने ‘कथा-यात्रा’-लाई कथाको सट्टा यात्रा-संस्मरण भन्नु सुहाउँछ।

गङ्गाप्रसाद प्रधान (1951) उनको प्रथम कथा ‘सयपत्री-मखमली’ सन् 1971 मा दार्जीलिङको ‘दियालो’ पत्रिकामा प्रकाशित भएको थियो। उनी कथा, कविता, लेख-निबन्ध र अनुवाद विधामा कलम चलाउँछन्। उनका कथा, कविताहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन्। सन् 2022 मा उनको एउटा कथा-कृति ‘अलौटा सपनाहरू’ (18 वटा कथाहरूको सङ्ग्रह) प्रकाशित छ। उनको एउटा कविता-कृति ‘तप्कना’ र एउटा अनुवाद कृति निकोलाई अस्त्रोवास्कीको “How the Steel was tempered’-को नेपाली अनुवाद ‘क्रान्ति योद्धा’ प्रकाशित छ। उनी डुवर्सका प्रगतिवादी लेखकका रुपमा परिचित छन्।

श्रीनारायण प्रधान (1956-2022)- को प्रथम कथा ‘नौकण्ठ’ सन् 1974 मा सामसिङबाट निस्कने पत्रिका ‘दिपमालिका’-को प्रथम अङ्कमा प्रकाशित भएको थियो। उनको पहिलो कथा-कृति सन् 1988 मा प्रकाशित ‘विरोध बोल्न नसकेका बिहानहरू’ (तेह्रवटा कथाहरूको सङ्ग्रह) हो। उनको दोस्रो कथासङ्ग्रह सन् 2004 मा प्रकाशित ‘गल्लीदेखि राजमार्गसम्म’ –मा 21 वटा कथाहरू सङ्कलित छन् अनि सन् 2013 मा प्रकाशित तेस्रो कथासङ्ग्रह ‘निमित्तहरू’-मा 13 वटा कथाहरू सङ्कलित छन्। मरणोप्रान्त, सन् 2022 मा उनको चौथो कथासङ्ग्रह ‘नि:शब्द’ डुवर्स नेपाली साहित्य विकास समितिको प्रकाशनमा प्रकाशित भएको छ। यसमा उनका दशवटा कथाहरू सङ्कलित छन्। यसरी उनका कुल 57 वटा कथाहरू चारवटा कथा-कृतिहरूमा समेटिएका छन्। डा. जीवन नामदुंगका अनुसार सामाजिक विकृति र विसङ्गतिलाई व्यङ्ग्यको माध्यमले विद्रोहात्मक शैलीमा कथा लेख्नु श्रीनारायण प्रधानको विशेषता देखिएको छ।

सामसिङ, डुवर्समा जन्मिएकी हुर्केकी कमला खप्तावलीको सन् 1983 मा एउटा कथा-कृति ‘क्रमश: एउटा दिन जन्मन्छ’ (10 वटा कथाहरूको सङ्ग्रह) प्रकाशित भएको थियो। एउटै कथा-कृतिबाट धेरै चर्चित हुन पुगेकी कमला खप्तावली डुवर्सको सशक्त नारी कथाकारको रुपमा परिचित हुन सके तापनि वैवाहिक कारणले उनले डुवर्स छोडेर विदेश जानुपर्यो। त्यसरी नै बीरपाड़ाबाट डी.बी.राई (जन्म-1975)-को सन् 2003 मा एउटा कथा सङ्ग्रह ‘नफुटेको सपना’ (सत्रवटा कथाहरूको सङ्कलन) प्रकाशित छ। यस पुस्तकमा सङ्कलित कथाहरूमध्ये ‘एतुवा उरावँ’ लाई उनको उत्कृष्ट कथा मानिएको छ। उनी प्रगतिवादी कथाकारको रुपमा परिचित छन्। सन् 2021 मा उनको अङ्ग्रेजीमा लेखिएको 20 वटा कथाहरूको सङ्ग्रह ‘The Midnight Men’ प्रकाशित छ। यसबाहेक उनका अझै 15 वटा जति नेपाली कथाहरू साहित्य पोस्ट र अन्य विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन्। तर उनी पनि रोजगारीको समस्याले डुवर्सबाट बाहिरिएर सिक्किममा धेरै वर्षदेखि आफ्नो जीवन धान्दै आइरहेका छन्। यसरी नै डुवर्सका पुराना कथाकारहरूमध्ये एक वरिष्ठ साहित्यकार राज के.श्रेष्ठ (जन्म सन् 1942) धेरै वर्षदेखि सिक्किममा नै स्थायी रुपमा रहँदै आएका छन्। उनका केही कथा र बाल-कथाहरू पढ्न पाइएको छ। सन् 2017 मा प्रकाशित ‘कालीको दिवा सपना’ –मा उनका 8 वटा बालकथा र 24 वटा बालकविताहरू सङ्कलित छन्। उनका 16 वटा कथाहरूको सङ्कलन पुस्तक रुपमा प्रकाशमा आउन प्रतीक्षारत रहेको जानकारीमा छ। उनका एक दर्जनभन्दा बढी गैर-आख्यान विधाका कृतिहरू प्रकाशित छन्। चिलाउने चियाकमान, डुवर्सका अर्का लेखक गङ्गा प्रधान (जन्म सन् 1947) हाल सालुगढ़ामा स्थायी रुपले बसोबास गर्दै अवकाश प्राप्त जीवन बिताइरहेका छन्। उनका एउटा उपन्याससहित पाँचवटा कृति प्रकाशित छन् र एउटा कथा सङ्ग्रह प्रकाशोन्मुख रहेको छ। चिलाउने, डुवर्सकै प्रकाशमणि प्रधान र आकाश थापाका पनि केही कथाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन् तर वर्तमान दुवैले आ-आफ्नो परिस्थितिको कारण डुवर्स छाड्नु परेको अवस्था छ। यस्तै प्रकारले सामसिङकी चेली श्रीमती लीला छेत्री केही वर्ष सिक्किममा रहेर हालमा सिलगढ़ी निवासी बनेकी छन् । उनको एउटा निबन्ध सङ्ग्रह प्रकाशित छ अनि एउटा कथा-सङ्ग्रह प्रकाशाधीन रहेको छ। दुम्सीपाडा,डुवर्स जन्मथलो हाल कालेबुङ निवासी मनोज योञ्जनको ‘परिवर्तन’ मा प्रकाशित 5 वटा कथा घर, अधुरो सपना, सहयात्री, अभिन्न मित्र र अतृप्त इच्छा बाहेक अंग्रेजी भाषामा लेखिएको 30 वटा कथाहरूको सङ्कलन ‘Sometimes When We Touch and Other Short Stories’ (2003) प्रकाशित छ।

मदन खड्का (सन् 1955)-को प्रथम कथा-कृति ‘उल्टा चमड़ाको जुत्ता’ (22 वटा कथाहरूको सङ्कलन) सन् 2012 मा प्रकाशित छ। उनको दोस्रो कथा-कृति ‘चिल्लो पात’ (25 वटा कथाहरूको सङ्कलन) सन् 2022 मा प्रकाशित भएको हो। ‘ डुवर्स : एक अध्ययन’-मा डा. जीवन नामदुंग लेख्नुहुन्छ – ‘कथाकारको कथाकारिता भनेको कथ्यलाई प्रस्तुत गर्ने उसको कारिगरी अथवा शिल्प चातुर्य हो। कथानक, कथा विन्यास सामान्य रहँदारहँदै पनि त्यसलाई कलात्मकतासहित प्रस्तुत गर्ने कलामा मदन खड्काको खूबी विशेष र विलक्षण देखिन्छ।‘

अशोक रोका (सन् 1959)- यिनको प्रथम प्रकाशित कथा ‘पैसा’ चौध वर्षको उमेरमा आठौँ श्रेणीमा पढ्दा सन् 1972 मा बाग्राकोट हाई स्कुलको पत्रिका ‘हिमालफेदी’-मा प्रकाशित भएको थियो। त्यसपछि सन् 1997 मा उनको पहिलो कथा-कृति ‘विसर्जन’ (10 वटा कथाहरूको सङ्कलन) प्रकाशित भएको हो। यस पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै डा. जीवन नामदुंग लेख्नु हुन्छ – ‘समाजको अन्तर्धाराभित्र पसेर खटिखाने श्रमजीवी श्रेणीको दिनचर्या र अव्यक्त समस्याहरूलाई कथामा ढाल्न यिनी दक्ष रहेको प्रमाण ‘जीवन एक पर्यायवाची’, ‘बिसर्जन’ र ‘हाट अझै लाग्छ’ जस्ता कथाहरूमा पाइन्छ।‘ सिक्किममा लगभग 40 वर्ष शिक्षण पेशामा रहेर अवकाश ग्रहण गरेपश्चात् सन् 2020 मा उनको दोस्रो कथा-कृति ‘सुनयना’ (12 वटा कथाहरूको सङ्कलन) अनि सन् 2022 मा तेस्रो कथा-कृति ‘छोड़ी जाने माया सम्झि रहने मन’ (14 वटा कथाहरूको सङ्कलन) प्रकाशित भएका छन्। यी कथाहरूबाट उनी कथा लेखन शिल्प र शैलीका दृष्टिकोणमा निकै माझिएका प्रतीत हुन्छन्। अवकाश ग्रहणपश्चात् दुई वर्षको अन्तरालमा दुईवटा कथाकृति र एउटा कविता कृति प्रकाशित गरेर उनी थोरै समयमा कवि हुनुको साथै एक चर्चित र सशक्त कथाकारका रुपमा आफुलाई चिनाउन सफल भएका छन्। वर्तमान भारतीय नेपाली कथा-क्षेत्रमा उनी डुवर्सका एक सशक्त प्रतिनिधि कथाकारको रुपमा परिचित छन्।

शङ्कर प्रधान (सन् 1962)-को पहिलो कथासङ्ग्रह ‘अवस्था’ (15 वटा कथाहरूको सङ्कलन) सन् 2005 मा अनि दोस्रो कथासङ्ग्रह ‘मनस्थिति’ (12 वटा कथाहरूको सङ्कलन) सन् 2010 मा प्रकाशित भएको हो। दुई वटा उपन्याससहित विभिन्न विधामा लेखिएका यिनका लगभग डेढ दर्जनभन्दा अधिक कृतिहरू प्रकाशित छन्। आफ्नै पूँजीको लागतमा यतिका कृतिहरू प्रकाशित गर्न सक्ने यिनको जाँगर र उत्साहलाई हामी सबैले मान्नुपर्छ। डुवर्समा यसरी कृतिको सङ्ख्यामा बाजी मारे तापनि अब उनले गुणस्तरमा पनि ध्यान केन्द्रित गर्नुपर्ने समय आएको दखिन्छ।

अशोक विश्व (सन् 1964) – सन् 2021 मा यिनको एउटा बाल कथा-सङ्ग्रह ‘बाँसुरीवाला’ प्रकाशित छ। दुइवटा कविता सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, एउटा गीत-गजल सङ्ग्रह, एउटा गीति-काव्य र एउटा भाषा विषयक लामो लेख (पुस्तिका) प्रकाशित गरिसकेका यिनी डुवर्सका एक स्थापित कवि हुन्। यिनको एउटा कथा-सङ्ग्रह ‘यहाँ यस्तै हुन्छ’ र ‘बाघ अनि मान्छे’ बाल कथासङ्ग्रह प्रकाशोन्मुख रहेको जानकारी पाइएको छ। यिनको सम्पादनमा दलित चेतनामाथि आधारित एउटा पुस्तक ‘दलित आवाज’ (लेख सङ्ग्रह) पनि प्रकाशित छ।

अबीर खालिङ (सन् 1966)- जन्मथलो गोक, कर्मटार, बिजनबारी,दार्जीलिङ सन् 2005 देखि कालचिनी, डुवर्सको शङ्कर नेपाली उच्चतर माध्यमिक विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहेका अबीर खालिंङ डुवर्स मात्र होइन तर भारतीय नेपाली साहित्यमा नै एक दह्रिलो उपस्थिति दिन सफल बनिसकेका छन्। उनका प्रकाशित कृतिहरू हाम्रासामु प्रमाणस्वरूप छन्। एउटा बालोपन्यास, तीन वटा कविता सङ्ग्रह र तीनवटा कथासङ्ग्रह प्रकाशित गरिसकेका खालिङका कथा-कृतिहरू हुन् – बालुवाको पहाड़ (12 वटा कथाहरूको सङ्कलन, सन् 1987), दार्जीलिङ :मेटामर्फोसिस (13 वटा कथाहरूको सङ्कलन, सन् 2019) र विस्थापन (10 वटा कथाहरूको सङ्कलन, सन् 2024)। उनको दार्जीलिङ :मेटामर्फोसिस कथा-सङ्ग्रह हिन्दी भाषामा सिक्किमका सुवास दीपकद्वारा अनुवाद भएर सन् 2024 मा रश्मि प्रकाशन, लखनउबाट प्रकाशित भएको छ।

सविन थापा डुवर्सका एक युवा कथाकार हुन्। सन् 2023 मा यिनको एउटा कथा-सङ्ग्रह ‘धारणा’ प्रकाशित छ। यसमा उनका 20 वटा कथाहरू सङ्कलित छन्। यस कथा सङ्ग्रहको भूमिकामा डुवर्सका समालोचक मननारायण प्रधान लेख्छन् –‘सबिन थापाका कथाहरूले समाजका सामान्य घटनाहरूलाई आत्मसात गरेका छन्। आफूले देखेका र भोगेका सामाजिक जीवनका आर्थिक विषमतालाई उद्घाटन गर्न उनी सक्षम भएका छन्। उनका कथाहरूमा युगचेतना, कोरोनाकालीन स्थितिको सुक्ष्म चित्रण तथा हास्य व्यङ्ग्य पाइन्छ भने कतै विद्रोहको झल्को पाइन्छ।‘

यसबाहेक आफ्ना कथाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित गरिसकेका तर कतिपय कारणवश अहिलेसम्म पुस्तक रुपमा कथा-कृति प्रकाशमा ल्याउन नसकेका कथाकारहरू पनि यहाँ कम छैनन्। तीमध्ये दीनानाथ शर्मा, इन्द्र भुजेल, रविन खवास, प्रभात थापा ’उदय’, वेगवसन्त थापा, प्रदीप पतझड़, नन्दकिशोर मोक्तान, श्रीमती लीला छेत्री, अनन्त श्रेष्ठ, किरण उपाध्याय, उमेश प्रधान, दुर्गा चामलिङ आदिका कथा-कृतिहरू निकट भविष्यमा एक-दुई वर्षभित्र नै प्रकाशमा आउने सम्भावना रहेको जानकारीमा छ।

हुन त राम्रो कथा लेख्न सक्नु सहज कुरा अवश्य होइन। धेरै अध्ययन, मनन, चिन्तन, अनुभव र अभ्यासबाट नै एक सफल र सशक्त कथाकार बन्न सक्ने सम्भावना हुन्छ। यसै त हिजआज कथा कसरी लेख्ने भन्ने विषयमा गुगलमा अनेकौं सुझावहरू पनि पढ्न पाइन्छ। यस्तै एउटा सुझाव स्वरूप साहित्य पोस्टमा प्रकाशित ‘कथा कसरी सशक्त बनाउने ?’ शीर्षक लेखमा नेपालका विजयराज आचार्य लेख्छन् – ‘कथामा विचार र शिल्प गरी दुई पक्ष हुन्छन्। कथाको विषय, रुपरेखा, कथानक, घटना, समस्या, द्वन्द्व आदि विचारअन्तर्गत पर्दछन्। कथा लेख्ने-सुनाउने भाषा,शैली, संवाद, वाक्य आदि शिल्प अन्तर्गत पर्दछन्। विचार कथाको आत्मा हो। शिल्प शरीर, लुगा र गरगहनाजस्तै हो। कथा स्तरीय बन्नका लागि विचार र शिल्पको समान भूमिका हुन्छ। राम्रो कथाकारले यी दुवै पक्षलाई राम्रोसँग संयोजन गर्न जान्नुपर्छ।‘ विशेष कथाका तीनवटा भाग - सुरु, मध्य र अन्त कसरी प्रभावशाली र आकर्षक बनाउने त्यसबारे उनले विशद चर्चा गरेका छन्। उनका मतानुसार कथा मनोरञ्जन प्राप्त गर्न, कलात्मक तरिकाले आफ्नो विचार अभिव्यक्त गर्न, कलाको विकास गर्न, कल्पना शक्ति बढाउन, स्पष्ट सोच्न सक्ने बन्नका लागि र पढ्ने-लेख्ने कला विकासका लागि लेखिन्छ। कथामा सातवटा तत्व हुन्छन् – विचार (थिम), पात्र, कथानक (प्लट), परिवेश, संवाद, वर्णन, भाषाशैली। कथालाई रोचक बनाउन सहायक तत्वको रुपमा द्वन्द्वको सशक्त प्रयोग गरिन्छ।

वर्तमान डुवर्सका कथाकारहरूले यी कुराहरू अवश्य बुझेका होलान्। प्रारम्भमा रहर र लहड़बाजीमै कथा लेख्नेहरू पनि डुवर्समा नभएका होइनन्। कतिले एक-दुईवटा कथा लेखेर आफ्नो कलम बिसाएको पनि देखिन्छ। यस्ता पुराना साहित्य अनुरागीहरूमध्ये तुर्षा चियाकमानका स्व.जे.एम.सुब्बा, चिलाउने चियाकमानका स्व. तारानारायण श्रेष्ठ, बाग्राकोटका स्व. मोहन गोले, स्व. सुखमन मोक्तान, स्व. आशिक मोक्तान, आशाबारीका स्व. केशर खवास आदि बितेर गए। बाग्राकोटका स्व. नरेन्द्र खड्काका 6 वटा कथा, हन्टुपाड़ाका स्व. प्रकाश घिसिङको एउटा अप्रकाशित कथाकृति रहेको र सामसिङका स्व. नारायण कुमार प्रधानका 5 वटा कथा पत्र-पत्रिकाहरूमा प्रकाशित रहेको जानकारीमा छ। तर उनीहरू पनि आफ्ना कथा-कृति प्रकाशमा ल्याउन अघि नै बिते। यसबाहेक हेमिल्टनगञ्जका सागर राई देवान, बाग्राकोटका लाक्पा योञ्जन, नेत्र खड्का, केदार महत, ओद्लाबारीका कुमार थुलुङ, सामसिङका भानुप्रकाश ‘मार्मिक’ आदिले पनि एक दुइवटा कथा लेखेर लेख्न छाड़े। हुन त भारतीय नेपाली कथाको रुपमा प्रतिनिधित्व दिन सक्ने राम्रो कथा लेख्नु त्यति सहज छैन। यसको निम्ति यथेष्ट अभ्यास र समय चाहिन्छ। कथाको विषयवस्तु चुन्नु, समाजमा घट्ने यथार्थ घटनाहरू लिएर त्यसलाई आफ्नो कल्पना र बौद्धिक क्षमताले पाठकलाई आकर्षण गर्नसक्ने कथानक बुन्नु र एउटा सशक्त कथाको रुप दिनु अवश्य सहज कुरा होइन। राम्रो कथाकार बन्न विश्व प्रसिद्ध कथाकारहरूका कथाहरू पनि पढ्नुपर्छ। ओ.हेनरी, एड्गर एलन पो, काफ्का, टल्स्टय, गोर्की, चेखोभ, दोस्तोएभ्स्की, लूशुन, रवीन्द्रनाथ, बंकिमचन्द्र, शरतचन्द्र, ताराशङ्कर बन्दोपाध्याय, प्रेमचन्द, शहादत हसन मन्टो, यशपाल आदिका कथाकृतिहरू अंग्रेजी र हिन्दी भाषामा प्रशस्त पाइन्छ। आज लगभग एक शताब्दी पुग्न लागेको भारतीय नेपाली कथाको घडेरी बसाउने हाम्रा कथाकारहरू रुपनारायण सिन्हा, इन्द्र सुन्दास, शिवकुमार राई, हायमनदास राई ‘किरात’, देखि लिएर कथामा तेस्रो आयाम, लीला लेखन र उत्तराधुनिकताको प्रयोग गरी नेपाली कथालाई नयाँ उँचाईमा पुर्याउन समर्थ बनेका कथाकार इन्द्रबहादुर राईका कथाहरू सहित अनेकौं समकालीन भारतीय नेपाली कथाकारहरूका कथाहरू पनि डुवर्सका कथाकारहरूले पढेर आफ्नो लेखन क्षमतालाई सशक्त बनाउने र कथा विधालाई समृद्ध बनाउने दिशातिर अग्रसर हुँदै जानुपर्छ।

साहित्यको कुनै पनि विधाको विकासको निम्ति स्थानीय पत्र-पत्रिकाहरूको पनि ठुलो भूमिका रहेको हुन्छ। डुवर्समा सन् 1949 देखि 1966 सम्म हस्तलिखित र लिथोमा प्रकाशित पत्रिकाहरू जागृति, डुवर्सवाणी, ज्योति, ध्वनि, उषा र वशन्त पाउँछौं। तिनमा प्रारम्भकालीन डुवर्सका केही कथाहरू प्रकाशित भएका थिए। तर आज ती अप्राप्य भइसकेका छन्। डुवर्सको पत्र-पत्रिकाको इतिहासमा सन् 1967 मा बानरहाटबाट प्रथम मुद्रित पत्रिका ‘हाम्रो ध्वनि’ जगदीश खरेलको सम्पादन र कृष्णभक्त खड्काको प्रकाशनमा देखापर्छ। त्यसपछि बाग्राकोट उच्च माध्यमिक विद्यालयबाट सन् 1972 मा हिमाल फेदी, बाग्राकोटबाटै सन् 1973 मा प्रयास, नायक र सन् 1974 मा शिरिष, आशाबारीबाट सन् 1973 मा ‘इन्द्रधनु” सँगसँगै त्यही अवधिमा हेमिल्टनगञ्जबाट ‘डुवर्स बुलेटिन’, दुम्सीपाडाबाट ‘कोपिला’, ‘नव जागृति, सामसिङबाट ‘दीपमालिका’, कालचिनीबाट ‘मुना’, टिस्टा सुनकोश, मदारीहाटबाट ‘पसीना’, डुवर्स ज्योति, हेमिल्टनगञ्जबाट ‘जगटे’ आदि पत्रिकाहरू मुद्रित रुपमा प्रकाशमा आए। त्यसपछि डुवर्समा अहिलेसम्म लगभग एक सयभन्दा अधिक पत्र-पत्रिकाहरूको प्रकाशन भइसकेको छ। तर कुनै पत्र-पत्रिकाले स्थायी रुपमा निरन्तरता दिन सकेको छैन। तथापि डुवर्समा साहित्य सृजना गर्ने वातावरण तयार गराउने क्रममा ती सम्पूर्ण पत्र-पत्रिकाहरूको योगदानलाई हामीले भुल्न हुँदैन। डुवर्सको साहित्यिक गतिविधिलाई अग्रगति प्रदान गर्ने उदेश्यले चलाइएका अभियानहरूमा ‘भानु’ डुवर्स विशेषाङ्क, ‘स्रष्टा’ डुवर्स विशेषाङ्क, ‘उदय’ डुवर्स विशेषाङ्क, ‘टिस्टा-सुनकोश’ डुवर्स विशेषाङ्क, ‘नयाँ दृष्टि’ डुवर्स विशेषाङ्क, डुवर्स र गोरुबथानका कथाहरू, ‘सौगात’ कथाप्रधान पत्रिका आदिको महत्वपूर्ण भूमिका रहेको छ। वर्तमान डुवर्स नेपाली साहित्य विकास समितिबाट प्रकाशित हुने पत्रिका ‘अवलोकन’-ले डुवर्सका साहित्यकारहरूको प्रतिनिधित्व गरिरहेको छ। यसै क्रममा डु.ने.सा.वि. समितिको प्रकाशन र अबीर खालिङको सम्पादनमा आएको ‘अवलोकन’-को भारतीय नेपाली कथा विशेषाङ्क वर्ष 8 अङ्क 6 अगस्त, 2022 उल्लेखनीय रहेको छ। यस वर्ष ‘अवलोकन’-को डुवर्स विशेषाङ्क डु.ने.सा.वि.समितिका उपाध्यक्ष रुपेश शर्माको सम्पादनमा एउटा गहकिलो ऐतिहासिक ग्रन्थका रुपमा प्रकाशित भएको छ। यस बाहेक डुवर्स नेपाली साहित्य सभाका मूल सचिव, मदारीहाट निवासी किरण उपाध्यायको सम्पादनमा कथाप्रधान पत्रिका ‘यात्री’-को तीनवटा अङ्क र सम्पादकद्वय किरण उपाध्याय रा उमेश प्रधानको सम्पादंममा समसामयिक पत्रिका ‘कुञ्चिका’ –को दुई अङ्कको प्रकाशनले वर्तमान डुवर्सको नेपाली साहित्यलाई जुन गतिशीलता प्रदान गरिरहेको छ, त्यो सराहनीय छ।

हिमालय पर्वतशृङ्खलाको तलहटीमा अवस्थित पश्चिममा टिस्टादेखि पूर्वमा सुनकोश नदीसम्म फैलिएको विस्तृत भूमि यो डुवर्स क्षेत्रमा बसोबास गर्ने हामी नेपाली भाषी गोर्खाहरू पश्चिम बङ्गाल राज्यको जलपाईगढ़ी र अलिपुरद्वार दुई जिल्लामा बाँड़िएका छौं। अधिकतर चियाबगान र बन-बस्तीहरूले भरिएको यी दुवै जिल्लामा हामी कहिँ बाक्लो र कहिँ पातलो अवस्थामा अन्य भाषा-भाषीहरूसँग मिसिएर आ-आफ्नो जीवन धान्दै कुनै प्रकारले आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकास र सह-अस्तित्वको निम्ति युगौंदेखि सङ्घर्ष गर्दै आएका हौँ। वर्तमान चियाबगानहरूको खस्कँदो स्थिति, चारैतिर बेकारी समस्या, बढ्दो महँगाई, नोकरीको खोजमा युवापीढ़िको पलायन, नेपाली भाषी गोर्खाहरू प्रति प्रशासनको हेलचेक्र्याइँ र उदासीनता आदि अनेकौं समस्याहरूले ग्रस्त डुवर्सका गोर्खाहरू सिक्किम र दार्जीलिङको तुलनामा धेरै कमजोर अवस्थामा छन्। डुवर्सको यस्तो दयनीय अर्थ-सामाजिक परिवेश र विकट परिस्थितिहरूले यहाँको साहित्यलाई पनि अवश्य प्रभावित पारेको छ। तथापि डुवर्सबाट लेखिएका नेपाली कथा साहित्यमा आफ्नै परिवेश अनुसारका समस्याहरू, जातीय आस्तात्विक चेतना र सामाजिक संरचनामा देखिएका विकृति र विसङ्गति आदिको प्रतिविम्ब देख्न सकिन्छ। यसरी डुवर्सेली कथामा सामाजिक यथार्थवाद, प्रगतिवाद, भौगोलिक इतिहास, बाल मनोविज्ञान र नारी मनोविश्लेषण जस्ता प्रवृतिहरू प्रयाप्त देख्न पाइन्छ। डुवर्सका सिद्धहस्त तथा नवोदित कथाकारहरूले आ-आफ्नै ढङ्गमा आफ्नो विचार, विषयवस्तु, भाव, लेखन-शैली र शिल्पको प्रयोग गरी कथा लेख्ने गरेको पाइन्छ। डुवर्सका कथाकारहरूले अहिलेसम्म लगभग 30 – 32 वटा कथा-कृतिहरू प्रकाशित गरिसकेका छन् र आगामी दिनहरूमा यो सङ्ख्या अझ द्रूत गतिमा बढ्ने आशा गर्न सकिन्छ। अब हाम्रा कथाकारहरूले सामाजिक यथार्थवाद, प्रगतिवाद, अस्तित्वावाद, बालमनोविज्ञान, नारी यौन शोषण, यौन मनोवैज्ञानिक विश्लेषण, मानव संवेदनाका साथसाथै सामाजिक परिवर्तनको निम्ति वैज्ञानिक चेतनामाथि आधारित नयाँ सन्देश, नवीनतम खोजहरूमाथि आधारित विज्ञान आख्यान, इन्टरनेट अथवा सञ्चार क्रान्ति, पर्यावरण सचेतना, उत्तर-आधुनिकताको प्रयोग आदि विविध विषयहरूमाथि केन्द्र गरी कथा लेख्ने प्रयास गर्नु र अन्य भारतीय भाषाहरूको तुलनामा दाँजिन सक्ने कथाहरूको सृजना गर्न सक्नु वर्तमान समयको माग र हाम्रो आवश्यकता हो भन्ने मलाई लाग्छ।

बाग्राकोट, डुवर्स










लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।