उज्यालो र अँध्यारोको बक्र छायाँमुनी एउटा लेउ लागेको अजंगको कुवा थियो, जसलाई शासक भ्यागुत्ताहरूले सम्पूर्ण देश ठानेका थिए । गन्हाउने धमिलो पानी र ओसिलो भित्ता नै उनीहरूको साम्राज्यको सीमा थियो । मन्त्री–भ्यागुतो पेट फुलाएर टर..टर.. गर्दै विहान बेलुकै कासनसहित घोषणा गथ्र्यो, ‘यो कुवाभन्दा बाहिर केही छैन, सीमा नाघ्नु भनेको देशद्रोह र विनाश निम्त्याउनु हो ।’ रैती भ्यागुत्ताहरू पनि अन्धकारमै रमाउँदै यसैलाई परम सत्य मान्थे र ताली पिट्थे ।
तर, कुवाको फेदमा बस्ने एउटा जिद्दी भ्यागुतोलाई बाहिरी दुनियाँ देख्ने हुटहुटी चल्यो । अनेकौं पटक चिप्लियो, थलियो, तर हार मानेन । अन्त्यमा, ऊ कुवाको डिल पार गर्दै बाहिरको संसारमा निस्कियो । बाहिर अनन्त आकाश, हरियाली फाँट र निर्मल नदी थियो । उसले पहिलोपटक विशाल उज्यालो त भेट्टायो, तर वर्षौंदेखि अन्धकारमा बानी परेका उसका आँखाहरू पोले । न त उसलाई चिन्ने कोही थियो, न अपनत्व दिने नै । उसलाई यति एक्लो महसुस भयो कि न ऊ कुवाको रह्यो, न बाहिरको ! ऊ बीचैमा झुन्डिएको त्रिशंकुजस्तो बन्न पुग्यो ।
उता कुवाभित्र, विद्रोही भ्यागुतो हराएको खबर फैलिनासाथ मन्त्री–भ्यागुतोले फेरि रैतीहरूलाई भेला गरेर गदगद हुँदै भाषण ठोझ्यो, ‘देखेउ त साथीहरू ? प्रश्न गर्नु र घेरा तोड्नुको परिणाम यही शून्यपन हो ।’
कुवाका भ्यागुत्ताहरूले खुसीले फेरि टर..टर.. गर्दै ताली पिटे । उनीहरूले तुरुन्तै पुरानै लेउ लागेको ओसिलो भित्ता समाते र मख्ख पर्दै मुस्कुराए । उनीहरूका लागि अज्ञानताको चैन नै सबैभन्दा सुरक्षित कवच थियो, किनकि उनीहरूले बुझेको यतिमात्रै थियो– अनन्त आकाशको तीखो उज्यालोमा छट्पटिनुभन्दा आफ्नै कुवाको न्यानो अन्धकारमा शासकको रैती बनेर मोज गर्नु नै बुद्धिमानी हो ।