19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुजन विश्वकर्मा September 16, 2026, 4:56 pm
सुजन विश्वकर्मा
सुजन विश्वकर्मा

तिम्रो नशा नशामा दौडिने खुन साह्रै भाग्यमानी ।
तिमी सँग प्रतिश्पर्धा गर्ने जुन साह्रै भाग्यमानी ।

सारा संसार तिम्रो मायामा दास हुन तयार छ तर,
आफ्नो इसारामा नचाउने धुन साह्रै भाग्यमानी ।

तिम्रो स्पर्श गर्न पाउने वस्तुहरु देखि जलन हुन्छ,
तिमीलाई भिजाउने त्यो मनसुन साह्रै भाग्यमानी ।

छाया बनेरै सही, मलाई सधैँ तिमी सँगै हुनु छ,
तिमीले चुम्ने चिनी होस् या नुन साह्रै भाग्यमानी ।

मैले तिमीलाई कुन स्वरुप बाट चैँ पाउन खोजिनँ,
तिम्रो ओठ बाट भरिने त्यो बेलुन साह्रै भाग्यमानी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।