नवीन पिपल चौतारामा बसिरहेका थिए । केही परिचित अनि केही अपरिचित अनुहार सामन्नेमा आए ।
उनले परिचय भएका व्यक्तिलाई नमस्कार गरे अनि उनको साथमा रहेका व्यक्तिहरूलाई पनि अभिवादन गरे । आफूभन्दा बढी उमेरका मानिसप्रति आदरभाव प्रकट गर्नु उनको स्वभाव भनौं या बानी रहेको छ ।
त्यहाँ आएका मानिस आफ्नै कुराकानीमा व्यस्त रहे । उनीहरूको कुरा चलिरहेको थियो । एक जना मानिसले परिचय माग्दा उनको वाक्य फूट्यो, “म नवीन पौडेल, यहीँ पल्लो घरमा डेरा गरेर बस्छु ।”
नवीनले ठानेका थिए, परिचय यतिकैमा सकिन्छ होला, उनलाई प्रश्न गर्ने मानिस यतिकैमा रोकिने वाला थिएनन् । उनको के, कहाँ, कहिले शब्दले निरन्तरता पाइरहेको थियो । यसै क्रममा एक प्रश्न नवीनतर्फ तेर्सियो, “तपाईँको पहाड घर कता ?”
नवीले जवाफ दिए, “गुल्मी ।”
उनको यो उत्तरसँगै त्यहाँ भएका सबै मानिस चुप लागे । यसपछि कसैले पनि उनीसँग कुनै प्रश्न गरेनन् ।
अघिपछि धेरै जानकारी लिन चाहने मानिस पहाड घरको प्रसंग आउने बित्तिकै किन चुप लागे होलान ? उनले यस प्रश्नको उत्तर भेटाउन सकेनन् ।
उनी जागीरको सिलसिलामा सुदूरपश्चिमको तराईको जिल्लामा पुगेका छन् । नयाँ ठाउँ, नयाँ मानिससँग भेट्ने, सम्पर्क गर्ने अनि नयाँ संस्कृति बुझ्ने रहर अझै बाँकी छ ।
उनी कार्यालयमा हाजिर भए । कर्मचारी मित्रहरू सँग चिनजान, भेटघाट भयो । उनी आफ्नै काममा व्यस्त रहे ।
दिउँसोको समय खाजा खाने समय । उनी पनि नजिकको खाजा खाने ठाउँमा पसे । पसले स्थानीय नै थियो । त्यहाँ खाजा खान गएका कर्मचारी स्थानीय भाषामा कुरा गरिरहेका थिए । होटलवाला सँग पनि उनीहरू आफ्नै भाषामा कुरा गरिरहेका थिए ।
उनले आफूलाई चाहिने खाजा मगाए । खाजा खाए । खाजाको बिल तिर्न होटलको काउन्टरमा पुगे ।
“तपाईँ शिक्षा कार्यालयमा काम गर्नुहुन्छ के हो ?” पसलेले जान्न खोज्यो ।
“हो ।”
“अनि पहाड घर कता पर्यो ।”
“गुल्मी ।”
होटलवाला यति कुरा सुन्ने बित्तिकै चुप लाग्यो । उसले फटाफट आफ्नो रकम लियो ।
नवीन त्यहाँबाट हिँडे । उनलाई लाग्यो, “यहाँ पहाड घरको उत्तर सुनेपछि मानिस किन मौन बस्दछन् ।”
नयाँ ठाउँको नयाँ चलन उनलाई कस्तोकस्तो लाग्यो ।
केही दिनमा सुदूरपश्चिकै अर्को तराईको जिल्लामा जागीर भएको मध्य तराईवासी साथी गणेश उनीकहाँ आए ।
नवीनले गणेशलाई सोधे, “तपाईँ यहाँ सुदूरपश्चिम आउनुभएको कति भयो ?”
“यस्तै दुई वर्ष पुग्न लाग्यो ।” गणेश बोले ।
“तपाईँलाई यहाँको कुन कुरा मन प¥यो ?” नवीनले उनको अनुभव जान्न चाहे ।
“चाडपर्व मनाउँदा सामुहिक भावना देखियो । समाजमा पनि कतैकतै धेरै पुस्ता एकै ठाउँमा बसेको पनि देखियो । शहरबजारमा भने क्रमशः एकल परिवार पनि बन्दै गएका छन् ।” गणेश बोले ।
“अनि त्यसपछि ।”
“राज्यले हामीमाथि विभेद गरेको छ भन्ने चेतना छ । केही गरौं भन्ने भावना पनि छ ।” गणेशले आफ्नो कुरा थप पुष्टि गर्न खोजे ।
“यति हुँदाहुँदै पनि हुन नसकेको कुरा के होला ?”
“गुनासो मात्र भएर हुँदैन नी । आफूलाई सार्थक स्तरको कार्यका माध्यमबाट साबित गर्न सक्ने जनशक्तिको विकास हुनु जरुरी छ ।” गणेशको भनाइसँगै नवीनले यस क्षेत्रको बारेमा जान्ने अवसर पाए ।
नवीनले आफूले नजानेका विषयमा जानकारी पाए ।
उनलाई लाग्यो, “स्थानीय मानिससँग सोध्दा अतिशयोक्ति पनि हुन सक्छ । यस क्षेत्रमा नआएका मानिसले यस ठाउँको बारेमा पत्रिका, रेडियो, टेलिभिजन, समाचारपत्रका साथसाथै सामाजिक सञ्जालले बनाएको चित्र वास्तविक नहुन सक्छ । तर यहीँ बसेर, जागीर खाएका मानिसको धारणा धेरै हदसम्म सही हुनसक्छ ।”
स्थानीय स्तरमा रहेका साथीभाइ एवं बाहिर रहेका कर्मचारी मित्र त्यसका साथै अन्य मानिससँग पनि उनको सम्पर्क नियमित रह्यो ।
उनी साहित्यप्रेमी थिए । साहित्यमा चाख भएकोले स्थानीय पुस्तकालय एवं साहित्यिक संस्थाका गतिविधिमा पनि भाग लिन लागे ।
उनका मनमा अनेक भाव आउन थाल्छन्, “यहाँका मानिसमा जोश छ, जाँगर छ । परिणाममा पनि काम भइरहेको छ तर निरन्तर साधना गर्ने मानिसको कमी छ । समय अनुकुलको देशविदेशको साहित्य, कला, संस्कृतिसँग जोडिनु आवश्यक छ । हरेक ठाउँको स्थानीय रङ हुन्छ । स्थानीय रङले मात्र पहिचानको समग्र प्रतिनिधित्व गर्न नसक्ला कि ?”
जीवन समयसँगै यहाँको समाजसँग भिज्दै जान्छन् । उनको मानसपटलमा यहाँको जनजीवन अनि संस्कृतिको छाप परिसकेको छ । पहाडी मूलका मानिसको संस्कृति मात्र नभएर तराईका थारु जातिको संस्कृतिलाई पनि बुझ्ने मौका मिलेको छ ।
यहाँ त तराई भनेर के भन्नु ? देशका विभिन्न भेगबाट आएका मानिसको बसोबास रहेछ । उनमा पश्चिम भनेको यसै क्षेत्रका मानिस मात्र होलान् भन्ने भ्रम थियो । देशका विभिन्न ठाउँबाट आएका मानिसको बसोबास रहेछ । नेपाल मात्र नभएर भारतबाट आएर वर्षौंदेखि बसेको मानिसको बसोबास रहेछ ।
“यो नयाँ मुलुक हो ।” एक दिन कार्यालयको एक सहकर्मीले भने ।
“भारतमा स्वतन्त्रता संग्रामको बेला अंग्रेज शासकलाई सहयोग गरे बापत जंगबहादुर राणाले फिर्ता ल्याएको भूमि हो यो ।” अर्का सहकर्मी बोले ।
“त्यसैले त यहाँ बाहिरबाट आएर बसोबास गर्ने प्रचलन बढेको होला हैन सर ।” नवीन जिज्ञासु बने ।
“हो, यहाँ केही यतैका, केही नजिकका जिल्लाका अनि विभिन्न जिल्लाबाट आएका मानिसको बसोबास छ ।” सहकर्मी प्रकाश बोले ।
साहित्यिक संस्थाको निर्वाचन नजिक आयो । मानिसहरू विभिन्न किसिमले मत प्रभावित गर्न लागे । साहित्यिक, असाहित्यिक मानिसको तीव्र चासो छ । राजनीतिक संगठनको चासो त हुने नै भयो । संस्थाको आजीवन सदस्यको हिसाबले उनी पनि त्यहाँ सम्मिलित भए ।
एक जना मित्रले नवीनलाई उत्साहित बनाउन खोजे, “तपाईँ त साहित्य सर्जक पनि हुनुहुन्छ । संस्थाका्े कमिटीमा निर्वाचन लड्दा हुन्छ ।”
”आफ्नो क्षमता सिर्जनामा देखाउने हो । संस्था, पद भन्ने कुरा क्षणिक हो । फेरि हामी बाहिरबाट जागीरका सिलसिलामा आएका मानिसले धेरै लोभ गर्नुहुँदैन ।” उनले त्यहाँको स्थानीय माहौल बुझेर यो कुरा भनेका थिए ।
अर्काको उस्काहटमा लागेर काम गर्नु उपयुक्त होइन । निर्वाचनमा विजयी भए त राम्रै हो तर...। चुनावमा हार्न पुगे अप्रिय अनुभव हुन्छ ।
उनी निर्वाचनको कार्यक्रम हेरिरहे । निर्वाचन भन्नु के थियो, पहिलेबाट बनेको योजनाको अनुमोदन थियो । संस्थाको नेतृत्व सम्हालेका मानिसको चयनलाई साधारण सभाले अनुमोदन गरेको थियो ।
निर्वाचन सकियो । एक जना परिचित साहित्यकारले गुनासो गरे, “राजनीतिको प्रभाव त जहाँतहीँ हुन्छ तर यहाँ अर्कै किसिमको राजनीतिको प्रभाव चल्छ ।”
“कस्तो प्रभाव ?” नवीनले बुझ्न खोजे ।
“यहाँ भेगीयताको जर्बजस्त प्रभाव छ । केही नयाँ पुस्ताले यसलाई तोड्न प्रयास त गरेका छन् तर परिणाम सन्तोषप्रद छैन ।” उनै साहित्यकार मित्रको कटु यथार्थ दर्शाए ।
“ओहो ! अब म कुरा बुझ्दैछु । म शुरुमा यहाँ आउँदा ‘पहाड घर कहाँ ?’ भनेर सोध्नेहरू धेरै थिए । त्यसैको प्रभाव यहाँ पनि परेको होला । आफ्नो मूलघर नजिक भए प्रिय ठानेर व्यवहार गर्ने । टाढाको भए बिरानो व्यवहार गर्ने ।” नवीन बोले ।
“समाजिक जीवनका हर क्षेत्रमा जातीय, क्षेत्रीय अनि भेगीय चिन्तन हावी हुने भने योग्यता अनि दक्षता दबेर जान्छ । यो रोग हटाउन सकिएन भने ठाउँको विकास हुँदैन ।” अर्का मित्रको भनाइ सुनियो ।
“त्यही त, एकातिर राज्यले हेरेन भन्ने अर्कोतिर आफैमा विभाजनको बिउ रोप्ने हो भने समाजको विकास अघि बढ्दैन ।” पहिलेकै साहित्यकार साथी बोले ।
निर्वाचन सकियो । जित्नेले जिते । नजित्ने घर लागे ।
केही दिनपछि पोखराबाट बसाइ सरेर बसेका एक मित्रसँग भेट भयो ।
“सुदूरपश्चिम बाहिरबाट आएर यहाँ बसोबास गर्नुभएको छ । कतिको सहजता छ यहाँ बस्न ?” नवीनले जिज्ञासा राखे ।
“सामान्यतया आफ्नो दैनिक जीवन चलाउन, व्यापार व्यवसाय गर्नमा कुनै असहजता छैन । तर सामाजिक जीवनमा प्रवेश गर्ने हो भने परम्परागत चेतना भएका मानिसको हुलले लखेटछ । हामी वर्षौंसम्म यहाँ बसोबास गरेता पनि यहाँका संकीर्णहरूले बाहरियाको बिल्ला लगाउँछन् अनि पहाड घरको नाममा पनि राजनीति चल्छ ।” मित्रले दुखेसो पोखे ।
“यो अवस्था कसरी परिवर्तन होला जस्तो लाग्छ ?” नवीन बोले ।
“परिवर्तन त हुन्छ तर समय लाग्ला । नयाँ पुस्तामा विभेदको चेतना हट्दै गएको छ । सामाजिक अन्तर्घुलन बढ्दै जाने क्रममा नयाँ सोच एवं व्यवहार आउन सक्छ तर अहिले भने केही असहजता छन् ।” साथीले आफ्नो पीडा पोखे ।
आम निर्वाचनको बेला आयो । राजनीतिक नेता र संगठन चुनावमा लागे । जनतालाई प्रभावित गर्न अनेक उपायहरू हुन थाले ।
नवीन भएका घरमालिकसँग भोट माग्ने क्रममा एक उम्मेदवार बोले, “तपाईँको र मेरो पहाड घर एकै ठाउँ हो । मलाई मत दिनुहोला ।”
नवीनलाई उम्मेदवारको यो भोट माग्ने शैली मन परेन । आफूलाई जनपक्षीय उम्मेदवार मान्ने मानिस मत प्रभावित गर्न क्षेत्रीय कुरा गरिरहेका छन् ।
उनले यस विषयमा आफ्नो कार्यालयका सहकर्मीसँग कुरा पनि गरे ।
एक जना सहकर्मीले भने, “चुनावका बेला सबको आदर्शको मुखौटा उत्रिन्छ । कतिले जातका कुरा गर्छन, कतिले भेगका कुरा गर्छन्, कतिले लिङ्गका कुरा गर्छन । सिंगो समाजलाई जोड्ने, समाजलाई सम्मुन्नतितर्फ डो¥याउने विचार सम्प्रेषण भएन भने समाजको विकास कसरी अघि बढ्ला ?”
”ठिक भन्नुभयो । राजनीतिक नेतृत्व गर्ने व्यक्तिमा कलुषितता जबसम्म हट्दैन, तबसम्म देश अनि समाजले सही बाटो पहिल्याउन सक्दैन ।”
चुनावको केही समयपछि नवीनको मोरङ सरुवा भयो । उनले सरुवा भएर जानु अघि आफ्नो स्थानीय मित्रलाई सम्बोधन गरेर पत्र पठाए ।
पत्रमा लेखिएको थियो, “सुदूरपश्चिमको चार वर्ष लामो बसाइले यहाँको जनजीवन बुझ्ने मौका पाइयो । यहाँको समाजका असल पक्षबाट मैले जीवनमा शिक्षा ग्रहण गरेको छु । आफैभित्रका समस्या पहिचान गरेर सुन्दर सुदूरपश्चिम वास्तवमै नमुना प्रदेश बन्न सकोस् । मेरा जीवनका अमूल्य दिन यस क्षेत्रमा बितेको छ । म यस क्षेत्रका असल प्रतिभाको पक्षमा सदैव सहयोगी रहनेछु ।”