19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तीज महिलाअधिकारको चाड हो

विचार भीम रानाभाट September 16, 2026, 5:27 pm
भीम रानाभाट
भीम रानाभाट

“रम र झम तीजै र आयो
यो मन मेरो रमायो”
नेपाली समाजमा प्रत्येक वर्ष भदौको महिनामा मनाइने पर्व हरितालिका हो । यसलाई भदौरे चाड पनि भनिन्छ । महिलाहरुको हक अधिकार र स्वतन्त्रतासँग यसको सम्बन्ध रहेको छ । गाउँघरतिर यसलाई तीज पर्व पनि भनिन्छ । यो पर्वमा नवविवाहित महिलाहरुले नयाँ घरको अवस्थाका बारेमा वर्णन गरेर गीत बनाएर गाउने चलन छ । ढाँटेर विवाह गरेको, बुहारीलाई हेलाँ गरेको, खानलाउन नदिएको, घरकाले कोखेवचन लगाएर हिंसा मच्चाएको, बालाधिकारको हनन भएको, नयाँ दुलहीलाई खरिद गरेर ल्याएको दासझैं व्यवहार गर्ने लगायतका विषयमा लामालामा गीत कथेर माइतीमा गएर सबैलाई सुनाउने गरिन्छ । मूलतः यो वर्षभरिको समाचार पनि बन्छ । विभिन्न जिल्ला अञ्चल र प्रदेश अनि विदेशका समेत नयाँ र अनौंठा कुराहरु समाचारको रुपमा तीजगीत बनेर हाम्रा घर आँगनमा गायनसंँगै नाचिन्छ । यो विशेष गरेर नेपाली छोरी चेलीले मनाउने चाड हो । हिन्दु धर्मावलम्बीले यो पर्वलाई भाद्र कृष्ण तृतीया तिथिमा मनाउने गर्दछन । यस चाडलाई अनेक धर्मिक रङले पोते पनि यसको सामाजिक मूल्य र मान्यता गहिरो छ ।
नेपालीहरु यो चाडमा चेलीबेटी बोलाएर मीठामीठा परिकार बनाएर खुवाउने, रमाइलो गर्ने र घरको कामले थाकेका बिरामी परेका आफ्ना सन्तानलाई आरामसँग बस्न दिने गर्दछन् । यस अर्थमा नेपाली समाजमा महिनैपिच्छे एउटा न एउटा चाड थकाइ मार्ने चौतारीका रुपमा आइरहन्छ । सायद संसारमा यस्तो कुनै देश छैन यसरी पर्व मनाएर मनोरञ्जन गर्ने । हाम्रा हरेक चाडका आफ्नै विशेषता छन् । फरकफरक चाडमा फरकफरक खानाका परिकारहरु बनेका हुन्छन् । दहीच्युरा, सेलरोटी, फुरौला, तरुल, सक्खर, घिउ, चाम्रे लट्टे, तिलका लड्डु, खीर आदि यसका उदाहरण हुन् । तीज पर्वमा विषेश गरेर दरखाने चलन छ । दरिलो खाद्य परिकारलाई दर भन्ने गरिन्छ । यसरी श्रमसँग जोडिएको विषयलाई छट्टु सामन्तीहरुले धर्मको जलप लगाएर राम्रो पति पाउन व्रत बस्ने र पतिको लामो आयुको कामनामा भोकभोकै बस्नुपर्ने नियम बनाएर विभेद खडा गरेका छन् । महिलाहरु पतिको दीर्घायु र सुस्वास्थ्यका लागि व्रत बस्छन् तर पुरुषहरु पत्नीको दीर्घायु र सुस्वास्थ्यका लागि भनेर कहिल्यै पनि र कुनै पनि चाडमा व्रत बस्ने चलन छैन । यो भनेको लैङ्गिक विभेद हो ।
कस्तो अन्याय पतिले व्रत बस्नु नपर्ने ! पत्नीको आयु लामो बनाउन पतिले पूजा गर्नु नपर्ने । पत्नीले भने पञ्चमीमा पूजा लगाएर पुरोहितलाई दान गर्नु पर्ने । कस्तो विभेद र शोषण ? नेपाली समाजमा धर्मले संस्कृतिमाथि घोडा चढेको छ । भ्रष्टाचार थुपारेको छ । विकृतिको जालो फैलाएको छ । समग्रमा अन्याय अत्याचार र शोषण गरेको छ । त्यसैले धर्ममा पाखण्ड छ किनकि यो स्वतन्त्र रहनै सक्दैन । तर संस्कृति आफै बाँँच्न सक्छ । समाजमा धर्मले धेरैभन्दा धेरै विकृति थुपारेर विकास र समृद्धिमा बाधा अड्चन गरिरहेको छ । तीजका गीतमा पाइने विभिन्न विषयहरु केही गीतका फाँकीबाट हरौं । सतीप्रथाको विरोधमा अवला चेलीको यो स्वरः
१) शिफूल लाएर ढलिकने दिनमा
रोएर बसन पर्‍यो बरीलै !
सँगै सती जाम् त भने काखै चेलो सानु छ
काखैचेलो हुर्काएर आम्ला बरिलै !
काखैचेलो हुर्काउन बाह्रै वर्ष लाग्नेछ
कसरी धानु मैले लाली जोवन !
यसरी पुरानो यो गीतले नारीलाई जिउँदै जलाउने कुप्रथाको इतिहास लेखेको छ । चेलीलाई माइती लिन नआउँदा कस्तो हुन्छ ? उनीहरू गीतैमा रिसाउँछन्ः
२) आँगनीको डिल बसी कालीकौवा का का
केको पो समिचार ल्यायौ बरीलै !
एकुमा समिचार चिठीको चपेटो
दोसरी समिचार माइत जाऊ अरे !
हाम्रो माया हुँदो हो त दाजु लिन आउँदा हुन
चिठीको चपेटामा जान्न बरिलै !
अर्को दासजस्तै जीवन भोगेकी चेली भन्छिन्ः
३) पैतालुका छाला गए बेंसी जाने बाटाले
हिर्दयमा तागत छैन काँचो आँटाले
लैनो भैंसी दुहेर होटलमा लानु छ
अमिलाका चानासित आँटो खानु ।
महिलाले भोगेको जस्तो कसले भोगेको छ ? त्यो पनि गीतमा सुन्ने हो भने सबैको मन कटक्क खान्छः
४) सातै भाइ छोरा पनि यही घरमा अटाउने
म एउटी छोरीलाई डाँडा कटाउने
दिनभरि काम गर्यो त्यै बारीको कोल्टामा
भात खाएर सुत्ने बेलाँ मकै पोल्टामा ।
यस्ता बेदनाका गीत नेपाली चेलीका कति छन कति । अब अरु खालक विकास विकृति र समृद्धिका पनि गीत छन्ः
५) पहिले त खैरेनी गाईभैंसीको चरन
आइपुग्यो जरिपन मकै छरन
पहिले भने खैरेनी धयेँरो घारी
अहिले त सुख्खा टार बन्यो फूलबारी ।

ऐले ल्या’की कान्छीलाई रक्सी पार्न सिकाइदेऊ
विकासी कुखुराको भाले झिकाइदेऊ !

संविधानका धारामा हकाधिकार बराबर
छोरै चाहियो भनेर किन कराकर ?

सासु र बुहारीका भान्सा छुट्टै भैराछन्
तर पनि आमाहरु छोरै चाहिराछन् !
यसरी नेपाली चेलीहरु भदौरे तीज अथवा हरितालीका पर्वमा वर्षभरिका सुखदुःखका गीत बनाएर समाजमा रहेका बेथिति, अन्याय अत्याचार र शोषण दोहनका गाउने गर्दछन । विकास निर्माण र नयाँ प्रविधिको आगमनमा पनि सुरिलो भकामा आफ्ना स्वर उराल्ने गर्दछन् । समाजमा रहेका हरेक तह र तप्का सबै वर्गका हकअधिकारका बारेमा चेतना फैलाउने सिर्जना मुक्तकण्ठले गाइरहन्छन् । यो चाड महत्त्वपूर्ण छ । महिलाहरुको यो पर्वलाई बिकृति पार्न उपभोक्तावाद कम्मरकसेर लागि परेको छ। अहिले महिना दिनसम्म दर खुवाउने कार्यक्रम राखेर यसलाई बोझिलो पारिएको छ । तारे होटलका महङ्गा परिकार र रक्सी वियर समावेश गरेर नेपाली सरल सहज संस्कृतिलाई भ्रष्टीकरण गरेर भद्धा बनाइएको छ । यसमा सबै सचेत बनौँ । यस वर्ष वाढी पहिरोमा परेर देश रोइरहेको छ । बाढीले बगाएका सबैप्रति हार्दिक श्रद्धासुमन ! सबै पीडितलाई समवेदना छ । यसको पनि नेपाली चेलीले गीत बनाएर सुनाउने छन् । देशमा सरकारले जनताको भलाइमा काम गरोस् भनेर सबै नागरिकको अपेक्षा छ । संस्कृतिलाई बिकृति नबनाऔँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।