बिहान अझै राम्ररी खुलिसकेको थिएन। रातको शीत आँगनको माटोमा बसेको थियो। पञ्चायनका रातो र सेता फूलहरूमा स-साना शीतका थोपा टल्किरहेका थिए। हावाको हल्का झोक्का चल्दा फूलका बोटहरू बिस्तारै हल्लिन्थे, र कुनै फूलको पातबाट शीतको थोपा चिप्लिँदै भुइँमा खस्थ्यो। पूर्वतिरको आकाश उज्यालिँदै गए पनि घामले घरको छानो छोइसकेको थिएन।
आशमायाले आँगनको बीचमा कुर्सी तानेर राखेकी थिइन्। काँधमा पुरानो ऊनीको सल थियो। काखमा मोबाइल राखेर उनी कहिले पञ्चायनतिर हेर्थिन्, कहिले मूलढोकातिर। बिहानैदेखि उनको नजर त्यही मोबाइलमा फर्किरहन्थ्यो।
भित्रबाट भाँडाकुँडा राखेको आवाज आयो। केहीबेरपछि जमुना हातमा कुचो लिएर आँगनमा निस्किइन्।
“आमा, चिया ल्याइदिऊँ?”
“ल्याइदेऊ न।”
जमुना भित्र गइन्। चिया लिएर फर्कंदा आशमायाले सोधिन्,
“बुबा उठ्नुभयो?”
“अझै उठ्नुभएको छैन।”
“राति रेडियो सुन्नुभएको होला।”
“हुन सक्छ।”
जमुना आँगन बढार्न थालिन्। पञ्चायनका बोटमुनि झरेका फूलसम्म पुग्दा उनको हात रोकियो। उनले कुचो एकातिर राखिन्, भुइँमा झरेका रातो र सेता फूल टिपेर बोटको फेदमा राखिदिइन्।
भित्रबाट निर्भयको खोकाइ सुनियो।
“बुबा उठ्नुभयो,” जमुनाले भनिन्।
केहीबेरपछि निर्भय ढोकाबाट बाहिर निस्किए। सेतो कुर्तामाथि खैरो स्वेटर थियो। उनले आशमायाको छेउमा अर्को कुर्सी तानेर राखे।
“आज चिसो छ,” उनले भने।
“घाम लागिहाल्छ।”
जमुनाले बुबाको चिया राखिदिइन्।
“आज बाबुको फोन आउने हो?” उनले सोधिन्।
आशमायाले मोबाइलतिर हेरिन्।
“आउँछ होला।”
त्यसपछि बिहान आफ्नै चालमा अघि बढ्यो। घाम आँगनमा आयो। जमुना भान्साको काममा लागिन्। निर्भय कहिले रेडियो सुन्थे, कहिले आँगनतिर हेर्थे। आशमाया भने मोबाइल कहिले काखमा राख्थिन्, कहिले कुर्सीको हत्थामा। आफूलाई थाहा नपाई उनी पटक-पटक मोबाइलतिर हात लैजान्थिन्। पर्दा हेर्थिन्। केही नभएपछि फेरि काखमा राख्थिन्। केहीबेरपछि हात फेरि त्यहीँ पुग्थ्यो।
दिउँसोको घाम भित्ताबाट सर्दै गयो। चिया पिउने काम सकियो। खाना पाक्यो। जमुनाले भाँडा माझिन्। निर्भय केहीबेर आँगनको डिलमा बसेर बाटोतिर हेर्दै रहे। आशमायाको मोबाइल भने कुर्सीको हत्थामै रह्यो।
दिउँसो ढल्दै जाँदा घरको उज्यालो घट्न थाल्यो। बाहिरबाट घर फर्किरहेका मानिसहरूको आवाज सुनिन्थ्यो। छिमेकीको आँगनमा केटाकेटी खेलिरहेका थिए। पञ्चायनका फूलहरू साँझको हावासँगै फेरि हल्लिए। फोन अझै आएको थिएन।
आशमायाले मोबाइल उठाएर समय हेरिन्। त्यसपछि फेरि त्यही ठाउँमा राखिन्।
अँध्यारो बाक्लिँदै जाँदा निर्भयले सोधे,
“आज ढिलो होला कि?”
आशमायाले उत्तर दिइनन्। उनको नजर मोबाइलमै थियो।
त्यही बेला मोबाइल बज्यो। मोबाइलको घन्टीले आँगनमा फैलिएको साँझको सुनसानलाई एकछिन भङ्ग गरिदियो। आशमायाले हतारिएर मोबाइल उठाइन्। पर्दामा नवराजको नाम देखियो। उनको औँला केहीबेर त्यहीँ रोकियो, अनि उनले भिडियो कल उठाइन्।
“हेलो, बाबु।”
“आमा, के गर्दै हुनुहुन्छ?”
"तिम्रो फोन पर्खेर बसिरहेकी थिएँ।"
आशमायाको स्वरमा खुसी झल्किरहेको थियो भने मुहारमा बिहानदेखिको थकानलाई उछिनेर हर्षित मुद्रा छरिएको थियो।
“बुबा खोइ?”
“यहीँ हुनुहुन्छ।”
निर्भयले नजिकैबाट सोधे,
“को हो?”
“तिम्रो छोरा।”
निर्भय कुर्सी अलि नजिक सारेर बसे।
“नवराज?”
उताबाट हाँसेको आवाज आयो।
“हो, बुबा। सन्चै हुनुहुन्छ?”
“ठीकै छु। तिमीहरूलाई कस्तो छ?”
“हामीलाई पनि ठीकै छ।”
केहीबेरपछि सन्ध्याको आवाज सुनियो,
“आमालाई म पनि हेरौँ न, मलाई दिनु न।”
आशमायाले मोबाइल समातेर अनुहार अलि माथि उठाइन्।
“नानी, तिमी पनि थियौ?”
“थिएँ नि, आमा। खाना खानुभयो?”
“खाएँ। तिमीले खायौ?”
“हामीले पनि खायौँ।”
“कामबाट भर्खरै आएको?”
आशमायाले सोधिन्।
“हो। आज अलि ढिलो भयो।”
सन्ध्याको अनुहार पर्दामा आयो। पछाडितिर उज्यालो बत्ती थियो। उनी थाकेकी जस्ती देखिए पनि मुस्कुराइरहेकी थिइन्।
“बुबालाई देखाउनुहोस् न,” उनले भनिन्।
आशमायाले मोबाइल निर्भयतिर फर्काइन्।
“के छ, नवराज र तिम्रो खबर?” निर्भयले सोधे।
“सबै ठीक छ, बुबा। तपाईंले औषधि खाइसक्नुभयो?”
छोरा–बुहारीको संयुक्त स्वर सुनियो।
“खाएँ।”
“नियमित खानु है।”
यसपालि नवराजको मात्र स्वर सुनियो।
“तिमी आफ्नो काम हेर।”
नवराज फेरि हाँस्यो।
“तपाईंहरूलाई चाहिने केही छ भने भन्नुहोला।”
निर्भयले हात हल्लाए।
“हामीलाई के चाहिन्छ र?”
आशमायाले पनि त्यही कुरा दोहोर्याइन्,
“हामीलाई केही चाहिँदैन, बाबु।”
त्यतिबेला जमुना भान्साको ढोकामा देखिइन्। उनले इसाराले खाना तताउनुपर्ने बताइन्।
“आमा, तपाईं खाना खानुहोस्,” सन्ध्याले भनिन्।
“खान्छु नानी।”
“बुबालाई पनि समयमै खुवाउनु।”
“हुन्छ।”
फोन राख्ने बेलासम्म आशमायाले एकछिन मोबाइल आफ्नो अगाडिबाट हटाउन सकिनन्।
“बाबु...”
“हजुर, आमा।”
“समय मिल्यो भने आउनू है।”
उताबाट केही क्षण आवाज आएन।
“आउँछौँ, आमा। समय मिलाएर आउँछौँ।”
“नानीलाई पनि लिएर आउनू। नाति खेलाउने साह्रै रहर जागेको छ।”
सन्ध्याको आवाज आयो,
“अवश्य आउँछौँ, आमा।”
उताबाट भिडियो कल बन्द भयो।
आँगन फेरि उस्तै भयो। निर्भयले कुर्सीको हत्थामा हात राखे। जमुना खाना निकाल्न भित्र पसिन्। आशमायाले भने मोबाइलको पर्दा केहीबेर हेरिरहिन्। केही बेरअघि देखिएका दुई अनुहार अब त्यहाँ थिएनन्। उनले मोबाइल बिस्तारै काखमा राखिन्।
“आउँछौँ भनेको छ,” उनले निर्भयतिर हेरेर भनिन्।
निर्भयले बाहिरको अँध्यारोतिर हेरे।
“आउलान्।”
श्रीमानको विश्वासले आशमायाको आशाको धागो मजबुत बनाइदियो। समयलाई कसले रोक्न सक्छ? उ त सदा आफ्नै अदृश्य पाराले चिप्लिरहेको थियो।
पञ्चायनको बोटबाट एउटा सेतो फूल खस्यो। जमुनाले निहुरिएर त्यो खसेको फूल टिपिन् र आँगनको छेउमा राखिएको सानो थालमा जम्मा भएका अरू फूलसँगै मिसाइदिइन्। भान्साबाट तरकारीमा झानेको जिराको बास्ना आइरहेको थियो। साँझ चिसिँदै थियो। आकाशको उज्यालो बिस्तारै पातलो हुँदै जाँदा छिमेकका घरहरूमा एकपछि अर्को बत्ती बल्न थाले।
“आमा, खाना निकालूँ?” जमुनाले सोधिन्।
“निकालिदेऊ।”
निर्भयले कुर्सीबाट उठ्दै भने,
“आज दाल अलि पातलो बनाउनु पर्थ्यो।”
जमुना हाँसिन्।
“दाल मैले होइन, आमाले पकाउनुभएको हो।”
“त्यसो भए त झन् केही भन्नु भएन।”
आशमाया पनि मुस्कुराइन्।
खाना खाइसकेपछि जमुना भाँडा समेट्न थालिन्। त्यही बेला मूलढोकाबाट मञ्जरी आइन्। हातमा कपडाको सानो झोला थियो।
“मञ्जरी, आज तिमी बजार गएकी थियौ?”
“गएँ। तपाईंहरूलाई फलफूल ल्याइदिऊँ भनेर।”
उनले झोला टेबुलमा राखिन्।
“तपाईंहरूलाई अरु केही चाहिएको छ?”
निर्भयले टाउको हल्लाए।
“हामीलाई के चाहिन्छ र?”
मञ्जरीले आमातिर हेरिन्। आशमाया भने मोबाइल हातमा लिएर बसिरहेकी थिइन्।
“दाजुको फोन आयो?”
“आयो।”
“के भन्नुभयो?”
“सबै ठीक छ रे।”
मञ्जरीले आमाको अनुहार हेरिन्। केही सोधिनन्।
केही बेरपछि माधवी पनि आइन्। उनले ढोकैबाट भनिन्,
“आमा, भोलि म बिहानै आउँछु है।”
“किन?”
“तपाईंलाई लिएर मन्दिर जाने विचार छ।”
“तिमी आफ्नो काम गर। मन्दिर जान के हतार छ र?”
“हतार त छैन। तपाईंले घरि-घरि बाहिर निकाल्नुपर्छ, यसरी धुमधुमती घरमा मात्र बसिरहनु हुन्न।”
आशमायाले केवल मुस्कुराउँदै छोरीलाई हेरिन्।
छोरीहरू नजिकै थिए। कहिले बिहानै आइपुग्थे, कहिले साँझमा। औषधि र अन्य कुराको खबर राख्थे, बजारबाट चाहिएको सामान ल्याइदिन्थे। घरमा कामका लागि जमुना थिइन्। पैसाको अभाव पनि थिएन। नवराजले महिनाको खर्च छुट्टै पठाइदिइरहन्थ्यो।
तर आशमायाले मोबाइल फेरि हातमा लिइन्। पर्दा उज्यालो भयो। उनले स्क्रिनमा समय हेरिन्। त्यसपछि फेरि मोबाइल काखमा राखिन्।
“आमा, किन मोबाइल हेर्नुभएको?” मञ्जरीले सोधिन्।
“खोइ! मलाई नै थाहा छैन।”
“अनि?”
आशमायाले मोबाइल काखमा राखिन्।
“बाबुको आवाज सुनेपछि मन हलुका हुन्छ नि।”
मञ्जरीले केही भनिनन्। उनले आमाको काँधमा हात राखिन्।
बाहिर रात बाक्लिँदै थियो। आँगनमा झरेका पञ्चायनका फूलहरू चिसो माटोमा थपिँदै थिए।
◉ ◉
अमेरिकाको बिहान नेपालजस्तो बिस्तारै घरको आँगन हुँदै खुल्दैनथ्यो। अग्ला भवनका सिसामा घाम एकैपटक ठोक्किन्थ्यो। सडकमा गाडीहरू आफ्नै गतिमा बगिरहेका हुन्थे। फुटपाथमा मानिसहरू हातमा कफीका कप बोकेर हिँडिरहेका देखिन्थे। जाडोको मौसम थियो। पार्कको घाँसमाथि सेतो तुसारो बसेको थियो र रूखका पातहरू झरिसकेपछि हाँगाहरू आकाशतिर खाली फैलिएका थिए।
सन्ध्या भान्साको झ्यालबाट बाहिर हेर्दै उभिएकी थिइन्। काउन्टरमा नवराजको लन्चबक्स खुलै थियो। भित्रको कोठाबाट बच्चाको हल्का रुवाइ सुनियो। सन्ध्या तुरुन्तै भित्र गइन्। केही बेरपछि बच्चालाई काखमा लिएर फर्किइन्। सानो शरीरलाई ऊनीको कपडाले बेरेकी थिइन्। बच्चा आमाको छातीमा टाँसिएर फेरि निदाउन खोज्दै थियो। नवराज काममा निस्कन तयार हुँदै थिए।
“आज छिट्टै निस्कनुपर्छ,” उनले घडी हेर्दै भने।
“थाहा छ।”
सन्ध्याले लन्चबक्स बन्द गरिन्। बच्चाको निधारमा हात राखिन्।
“राति धेरै रोयो,” उनले भनिन्।
नवराजले बच्चातिर हेरे।
“अब बिस्तारै बानी पर्ला।”
सन्ध्याले बच्चालाई आफ्नो काँधमा राखिन्। झ्यालबाहिर तुसारोमाथि गाडीका पाङ्ग्राले बाटो बनाउँदै थिए। बिहानको उज्यालो बढ्दै जाँदा पार्कका खाली रूखहरू अझ स्पष्ट देखिन थाले।
“म हिँडेँ,” नवराजले भने।
“समयमै खानु।”
“तिमी पनि।”
ढोका बन्द भयो। बाहिर गाडीको आवाज बिस्तारै टाढिँदै गयो।
सन्ध्याले बच्चालाई लिएर फेरि कोठामा पसिन्। बच्चा निदाइसकेको थियो। उनले बिस्तारै ओछ्यानमा सुताइन्।। सिरानी मिलाइन्। केहीबेर छेउमै बसेर उसको अनुहार हेरिरहिन्। टेबलमा राखिएको मोबाइल बज्यो। स्क्रिनमा “आमा" थिइन्। सन्ध्याले तुरुन्तै फोन उठाइन्।
“आमा?”
उताबाट आशमायाको आवाज आयो।
“नानी, आदित्य उठ्यो?”
सन्ध्याले बच्चातिर हेरेर मुस्कुराइन्।
“भर्खरै निदाएको छ।”
“देखाऊ न।”
सन्ध्याले मोबाइल लिएर बच्चाको नजिक गइन्। क्यामेरा उसको सानो अनुहारतिर फर्काइन्। उताबाट केहीबेर आशमायाको आवाज आएन।
“कस्तो सानो रहेछ,” उनले बिस्तारै भनिन्।
निर्भयको आवाज पनि परबाट सुनियो।
“मलाई पनि देखाऊ।”
सन्ध्याले मोबाइल अलि पछाडि सारिन्।
“बुबा, हेर्नुस्।”
“हेरें।”
आशमाया फेरि बोलिन्।
“एकपटक लिएर आउनू नानी।”
सन्ध्याले बच्चातिर हेरिन्।
“आउँछौँ आमा।”
“कहिले?”
सन्ध्या केहीबेर रोकिइन्।
“मिलाएर आउँछौँ। अर्को सालतिर।”
उताबाट आशमायाले केही भनिनन्। सन्ध्याले बच्चाको सिरानी मिलाइन्।
“आमा, अहिले सुत्न दिनुहोस् है।”
“हुन्छ नानी।”
फोन राखियो। सन्ध्या केहीबेर मोबाइल हातमै लिएर बच्चाको छेउमा बसिरहिन्। बाहिर तुसारो पग्लिँदै थियो। झ्यालको सिसाबाट आएको फिक्का घाम बच्चाको गालामा परेको थियो। सन्ध्याले पर्दा अलिकति तानेर घाम सीधै नपर्ने बनाइन्। बच्चा निदाइरहेको थियो। उसको सानो हात मुट्ठी परेको थियो। निदाउँदा ओठहरू अलिअलि चलिरहेका थिए।
सन्ध्या भान्सामा गइन्। दूध तताइन्। बोतल सफा गरेर राखिन्। त्यसपछि कपडा मिलाउन थालिन्। सानो कोठामा बच्चाका कपडा छुट्टै थुप्रिएका थिए। केही कपडा अझै नयाँ थिए, केही नवराजले बजारबाट हतारहतार किनेर ल्याएका थिए।
दिउँसो नवराज कामबाट फर्किए।
“सुतेको छ?” उनले ढोका खोल्दै सोधे।
“सुतेको छ।”
नवराज जुत्ता खोलेर बिस्तारै कोठामा पसे। बच्चाको छेउमा गएर केहीबेर उभिए।
“आज आमाले फेरि फोन गर्नुभएको थियो?”
“गर्नुभएको थियो।”
“के भन्नुभयो?”
“आदित्यलाई लिएर आउनू भन्नुभयो।”
नवराजले बच्चाको निधारमा औँला राखे।
“आमाको एउटै कुरा छ।”
“उहाँलाई नाति खेलाउने रहर छ।”
“थाहा छ।”
सन्ध्याले कपडा मिलाउँदै भनिन्, “एकपटक त जानुपर्छ।”
नवराजले केहीबेर केही भनेनन्। झ्यालबाहिर सडकमा गाडीहरू रोकिँदै र गुड्दै थिए।
“अहिले सजिलो छैन,” उनले भने।
“मलाई पनि थाहा छ।”
“घरको किस्ता छ। हाम्रो काम छ। आदित्यलाई लिएर लामो यात्रा पनि सजिलो हुँदैन।”
सन्ध्याले कपडाको सानो मोजा हातमा लिइन्।
“दुई महिना बसौँला भनेको होइन र?”
“अर्को सालतिर मिलाउँला।”
त्यो कुरा त्यहीँ रोकियो।
दिनहरू बित्दै गए। आदित्य बिस्तारै पल्टिन थालिसकेको थियो। उसको रोदनको आवाज सुन्दा सन्ध्या जुनसुकै कोठामा भए पनि तुरुन्तै पुग्थिन्। नवराज कामबाट फर्किएपछि उसलाई काखमा लिन्थे। कहिलेकाहीँ मोबाइल अगाडि राखेर आशमायालाई भिडियो कल गर्थे।
“हेर्नु त आमा, आज पल्टिन थाल्यो।”
आशमाया पर्दाको छेउमा अनुहार ल्याउँथिन्।
“ए, मेरो बाबु!”
निर्भय पछाडिबाट सोध्थे, “मलाई देखिन्छ?”
“देखिन्छ नि।”
आदित्यले हातखुट्टा चलाउँदा आशमाया हाँस्थिन्।
“यसले मलाई चिन्यो कि क्या हो?”
सन्ध्याले हाँस्दै भनिन्, “अहिले कहाँ चिन्छ होला! तर बिस्तारै सिक्दै जाला।”
“चिन्छ। हजुरआमाको आवाज त चिन्छ।”
फोन राखेपछि आशमाया धेरै बेर त्यही मोबाइल हातमा समातेर बसिरहन्थिन्।
उता अमेरिकामा रात गहिरिँदा नवराज भोलि गर्ने कामको तयारी गर्थे। सन्ध्या बच्चाका कपडा मिलाउँथिन्। घरको एउटा कुनामा आदित्यका खेलौना थपिँदै थिए।
नेपालबाट फेरि फोन आउँथ्यो।
“बाबु, कहिले आउँछौ?”
“आमा, मिलाउँदै छु।”
“नानीलाई लिएर आउनू है।”
“हुन्छ आमा।”
हरेकपटक उत्तर उस्तै हुन्थ्यो। हरेकपटक आशमायाले पनि उस्तै गरी भन्थिन्, “यसपालि नभए अर्कोपालि।”
फोन राखेपछि आशमाया आदित्यको अनुहार भएको तस्बिर र भिडियोहरू खोलेर हेर्न थाल्थिन्। राति निदाउनुअघि आशमायाले आदित्यको अनुहार भएको तस्बिर फेरि खोल्थिन्। कहिलेकाहीँ मोबाइलको स्क्रिनमा औँला राखेर तस्बिर ठूलो बनाउँथिन्। बच्चाको आँखातिर हेर्थिन्। नाक, ओठ र निधार हेर्दै केही बेर बसिरहन्थिन्। त्यसपछि मोबाइल सिरानीछेउमा राख्थिन्। निद्रा नलागेपछि फेरि उठाएर त्यही तस्बिर हेर्थिन्।
“कस्तो छ बाबु?” निर्भयले कहिलेकाहीँ सोध्थे।
“ठीकै छ।”
“नातिको कुरा हो?”
“हो।”
निर्भय पनि नजिक सर्थे। आशमायाले मोबाइल उनको हातमा दिन्थिन्।
“हेर त।”
निर्भय तस्बिर हेरेर मुस्कुराउँथे।
“हाम्रो घरमा आएपछि झन् ठूलो हुन्छ।”
“त्यसैले त लिएर आउनू भन्छु।”
“ल्याउलान्।”
“कहिले?”
निर्भयले उत्तर दिँदैनथे।
एक बिहान मञ्जरी आइन्। आशमाया आँगनमा बसेर आदित्यको तस्बिर हेरिरहेकी थिइन्।
“आमा, फेरि नातिको फोटो?”
“हेर न, कस्तो भएको छ।”
मञ्जरीले मोबाइल हातमा लिइन्।
“ठूलो हुँदै गएछ।”
“हो नि। अब त मलाई देखेर हाँस्छ होला।”
“भिडियोमा त हाँसेकै देखिन्छ।”
आशमायाले मोबाइल फिर्ता लिइन्।
“एकपटक काखमा राखेर हेर्न पाए...”
वाक्य त्यहीँ रोकियो। मञ्जरीले आमातिर हेरिन्।
“दाजुहरू आउँछन् नि।”
आशमायाले टाउको हल्लाइन्।
“आउँछौँ त भन्छन्।”
त्यसपछि केही दिनसम्म कुरा भएन। फेरि एक साँझ नवराजको फोन आयो। यसपटक उसले लामो कुरा गर्न समय निकालेको थियो।
“आमा, आदित्य अब राम्रोसँग हिँड्न खोज्छ।”
“ए हो?”
“हो। तपाईंले हेर्नुभयो भने खुसी हुनुहुन्छ।”
“त्यसैले त भनिरहेकी छु, लिएर आऊ।”
उताबाट नवराज केही बेर चुप लाग्यो।
“यसपालि काम मिलेन आमा। अर्को साल चाहिँ दुई महिना बस्ने गरी आउँछौँ।”
“दुई महिना?”
“हो।”
आशमायाको अनुहार उज्यालियो।
“त्यसो भए त बाबुलाई पनि फुर्सद होला।”
“हुन्छ।”
“आदित्यलाई आँगनमा खेलाउँछु।”
नवराज हाँस्यो।
“आमा, अब त हिँड्न पनि सिकिसक्यो।”
“हिँड्न देऊ। हाम्रो आँगनमा दौडिन्छ।”
फोनको अर्को छेउमा सन्ध्याको आवाज आयो।
“आमा, अर्को साल पक्का आउँछौँ।”
“नानीलाई लिएर आउनू है।”
“अवश्य।”
फोन राखियो।
त्यो रात आशमायाले धेरै बेर आँगनको ढोकातिर हेरेर बसिन्। बाहिरको हावा पञ्चायनका पातहरूमा लागेर सानो आवाज निकालिरहेको थियो। उनले निर्भयलाई भनिन्, “अर्को साल आउँछन् रे।”
निर्भयले सिरानी मिलाउँदै भने, “आउलान्।”
आशमायाले केही भनिनन्।
भोलिपल्टदेखि उनले घरको एउटा कोठा हेर्न थालिन्। पुराना सामान एकातिर सारिन्। कुनामा थन्किएको सानो काठको पिर्का बाहिर निकालिन्।
“यो आदित्य बस्ने ठाउँ हुन्छ,” उनले जमुनालाई भनिन्।
जमुनाले पिर्का पुछ्दै सोधिन्, “कहिले आउँछन् त?”
आशमायाको आँखामा तैरिएको चमक बिस्तारै हराउँदै गयो। जमुनाको अगाडि कृत्रिम मुस्कान ल्याउँदै उनले भनिन्, “अर्को साल।”
जमुनाले पिर्कालाई कोठाको अलिक कुनाको नदेखिने स्थानमा राखिन्।
◉ ◉ ◉
पञ्चायनका बोटमा लागेका नयाँ कोपिला केही दिनमै फक्रिए। राता र सेता फूलहरूले फेरि आँगनको कुनाकाप्चा भरिन थाले। बिहानको हावा चल्दा फूलका डाँठहरू बिस्तारै हल्लिन्थे। झरेका फूलमाथि जमुनाको कुचो चल्थ्यो र आँगन फेरि सफा देखिन्थ्यो। ऋतु फेरिँदै गए, तर घरको आँगनमा आशमायाको प्रतीक्षा उस्तै रह्यो।
अब आदित्य तस्बिरमा मात्र देखिने बच्चा थिएन। भिडियो कलमा ऊ हिँड्न खोज्थ्यो, लड्थ्यो र फेरि उठ्थ्यो। कहिलेकाहीँ नवराजले मोबाइल भुइँतिर झुकाएर उसका साना पाइला देखाउँथ्यो।
“हजुरआमालाई नमस्ते गर त,” सन्ध्याले भन्थिन्।
आदित्य दुई हात जोड्न खोज्थ्यो। आशमायाको मुहार एकैछिनमा उज्यालिन्थ्यो।
“ए, मेरो बाबुले नमस्ते गर्न पनि जानिसकेछ!”
जमुनाले भान्साबाट निस्किएर ढोकामा उभिँदै हेर्थिन्।
“आमा, अब त भाइ ठूलो भइसकेछ।”
“ठूलो कहाँ भएको छ र? मेरो काखमा बसेपछि मात्रै ठूलो हुन्छ।”
जमुना मुस्कुराउँथिन्। आशमायाले भने मोबाइलको पर्दाबाट आँखा हटाउँदिनथिन्।
समयसँगै उनको शरीर भने बिस्तारै कमजोर हुँदै गयो। पहिले आँगनसम्म आफैँ हिँडेर आउने उनी अब कुर्सी समातेर उठ्न थालिन्। धेरै बेर बस्दा घुँडा दुख्थे। बिहानको चिसो बढेका दिनमा खोकी पनि लामो–लामो समयसम्म लाग्थ्यो।
“आमा, औषधि खाने बेला भयो,” जमुना सम्झाउँथिन्।
“अलि पछि खान्छु।”
“डाक्टरले समयमै खानू भन्नुभएको छ।”
आशमाया औषधिको गिलासतिर हेर्थिन्।
“देऊ न त... यो पनि कति खानु।”
जमुना पानी र औषधि ल्याएर हातमा राखिदिन्थिन्। मञ्जरी र माधवी पनि पालैपालो आइरहन्थे। कसैले फलफूल ल्याउँथ्यो, कसैले औषधि। घरमा चाहिने कुराको कमी थिएन। नवराजले खर्चका लागि पैसा पठाइरहन्थ्यो। तर आशमायालाई चाहिएको कुरा पैसाले किन्न सकिने थिएन।
एक साँझ नवराजको भिडियो कल आयो। पर्दामा आदित्य खेलौनासँग खेलिरहेको थियो।
“आमा, हेर्नु त, अब आफैँ हिँड्छ।”
“हेरिरहेकी छु।”
आशमायाले मोबाइल अलि आफ्नो अनुहार नजिक ल्याइन्।
“बाबु, यता हेर त।”
आदित्यले पर्दातिर हेरेर हाँस्यो। आशमाया पनि हाँसिन्।
“एकपटक काखमा राखेर खेलाउन पाए...”
उनको स्वर बिस्तारै हरायो। केवल ओठहरू मात्र फरफराए।
उताबाट नवराज केहीबेर चुप लाग्यो।
“आमा, अर्को साल चाहिँ पक्का आउँछौँ।”
“हुन्छ, बाबु।”
फोन राखिएपछि आशमायाले मोबाइल काखमा राखिन्। बाहिर पञ्चायनका फूलहरू साँझको हावामा हल्लिरहेका थिए।
जमुनाले ढोकाबाट सोधिन्,
“आमा, खाना निकालूँ?”
आशमायाले मोबाइलतिर एकपटक फेरि हेरिन्।
“निकालिदेऊ।”
त्यो रात पनि उनको मनमा एउटै कुरा घुमिरह्यो—आदित्यलाई एकपटक काखमा राखेर खेलाउने। तर समय भने आफ्नै चालमा अघि बढिरहेको थियो।
त्यसपछि पनि केही दिन आफ्नै चालमा बिते। बिहान पञ्चायनका फूलमा शीत बसिरहन्थ्यो। जमुना आँगन बढार्दै गर्दा झरेका फूलहरू छुट्याएर बोटको फेदमा राखिदिन्थिन्। आशमाया भने पहिलेभन्दा धेरैजसो समय कोठाभित्रै बस्न थालेकी थिइन्। झ्यालबाट आउने घाम ओछ्यानसम्म आइपुग्दा उनी सिरानीमा अडेस लागेर बाहिर हेर्थिन्। मोबाइलको घन्टी बज्दा भने उनको अनुहार अझै उस्तै गरी उज्यालिन्थ्यो।
एक दिन साँझ नवराजको फोन आयो।
“आमा, कस्तो छ?”
“ठीकै छ, बाबु।”
“औषधि खानुभएको छ?”
“खाएँ।”
केहीबेर दुवैपट्टि मौनता रह्यो। त्यसपछि नवराजले सोध्यो,
“आमा, केही चाहिएको छ भने भन्नुहोस् है।”
“मलाई अब के चाहिन्छ र?”
“केही त होला नि।”
आशमाया मुस्कुराइन्। उनको नजर झ्यालबाहिरको पञ्चायनतिर गयो।
“एउटा कुरा चाहिँ थियो।”
“के?”
आशमायाले केहीबेर ओठ चलाइनन्।
“धेरै पहिलेदेखिको रहर हो।”
“भन्नुहोस् न।”
“रातो बनारसी सारी लगाउने रहर।”
उता नवराज केही क्षण चुप लाग्यो। त्यसपछि हाँस्दै भन्यो,
“त्यति हो?”
“त्यति नै हो।”
“आमा, सारी आउँछ।”
“महँगो होला।”
“तपाईंले त्यसको चिन्ता गर्नुपर्दैन।”
फोन राखेपछि आशमायाले जमुनालाई बोलाइन्।
“जमुना!”
“हजुर, आमा?”
“रातो सारी लगाउन मन लागेको छ।”
जमुनाले मुस्कुराउँदै भनिन्,
“त्यो त लगाउनैपर्छ नि।”
“कस्तो होला?”
“तपाईंलाई रातो रङ सुहाउँछ।”
आशमायाले आफ्नो हाततिर हेरिन्।
“अब उमेरले कहाँ सुहाउँछ र?”
“उमेरले होइन, मनले सुहाउँछ।”
आशमाया केहीबेर चुप लागिन्। त्यसपछि हल्का हाँसिन्।
केही दिनपछि नवराजले फेरि फोन गर्यो।
“आमा, सारीको व्यवस्था गरिसकेँ।”
“साँच्चै?”
“हो। नेपालमै किन्न लगाएको छु। राम्रो सारी रोज्न भनेको छु।”
“नेपालमै?”
“हो। तपाईंलाई मन पर्ने खालको।”
आशमायाले मोबाइल दुवै हातले समातिन्।
“कहिले आउँछ?”
“छिट्टै आइपुग्छ।”
“जमुना!”
“हजुर?”
“सारी आउँदै छ रे।”
जमुना भान्साबाट बाहिर आइन्।
“रातो रङको होइन?”
“हो।”
आशमायाको आँखामा बालसुलभ चमक देखियो।
“आएपछि पहिले तिमीले खोलिदिनू है। एकपटक हेर्छु।”
“लगाउने पनि त हो नि।”
“लगाउँछु। आदित्यलाई भिडियोमा देखाउँछु।”
त्यो रात आशमायाले धेरै बेर निद्रा नलागी छततिर हेरिरहिन्। कहिलेकाहीँ हात बढाएर सिरानीछेउमा राखिएको मोबाइल छाम्थिन्। पर्दा बल्थ्यो। कुनै नयाँ खबर हुँदैनथ्यो। उनी फेरि मोबाइल राख्थिन्।
भोलिपल्ट जमुनाले कोठाको एउटा दराज सफा गरिन्।
“यहाँ राखौँला,” उनले भनिन्।
आशमायाले टाउको हल्लाइन्।
“सारी च्यातिन नदिनू है।”
“च्यातिँदैन।”
“रङ नउडोस्।”
“उड्दैन।”
“आदित्यलाई देखाउँदा कस्तो देखिएला?”
जमुनाले मुस्कुराइन्।
“उसले त तपाईंलाई नै हेर्ला।”
आशमायाले आँखाहरू केहीबेर बन्द गरिन्।
“त्यही त।”
दिन ढल्दै गयो। साँझ परेपछि आँगनमा पञ्चायनका रातो फूलहरू हावासँगै हल्लिन्थे। टाढाको बाटोमा मोटरसाइकलहरू गुडिरहेका थिए। छिमेकीका घरहरूमा बत्ती बलिसकेका थिए।
त्यही बेला बाहिरबाट मोटरसाइकल रोकिएको आवाज आयो। जमुना ढोकातिर निस्किइन्।
“को आयो?”
मूलढोकाबाहिर दुई जना युवक उभिएका थिए। एकजनाको हातमा ठूलो प्याकेट थियो। अर्कोले मोबाइल निकालेर क्यामेरा मिलाउँदै थियो।
“आशमाया आमाको घर यही हो?”
जमुनाले ढोकाबाटै भनिन्,
“हो... के ल्याउनुभएको?”
युवकले प्याकेट अगाडि बढायो।
“उहाँकै नाममा हो।”
जमुनाको नजर प्याकेटमा अडियो। भित्र कतैबाट आशमायाको आवाज सुनियो—
“जमुना, को आएको?”
जमुना फर्केर मुस्कुराइन्।
“आमा, तपाईंको रातो सारी आएको जस्तो छ।”
आशमायाको अनुहारमा एकाएक उज्यालो फैलियो।
“साँच्चै?”
“हो।”
दुई जना युवक कोठाभित्र पसे। एकजनाको हातमा प्याकेट थियो। अर्कोले मोबाइल समातेर भिडियो कलको पर्दा मिलाउँदै थियो।
“आशमाया आमा उहाँ नै हो?”
सारी बोकेको युवकले सोध्यो।
“हो,” जमुनाले भनिन्।
युवकले प्याकेट खोलेर रातो बनारसी सारी निकाल्यो। कपडाको रातो रङ कोठाको मधुरो उज्यालोमा पनि छुट्टै देखिन्थ्यो। जमुनाले दौडेझैँ गरी उज्यालो बत्ती बालिदिइन्। उज्यालो कोठाभरि फैलियो।
आशमायाले सारीतिर हेरिन्।
“नवराजले पठाएको?”
“हो, आमा। उहाँले पठाइदिनुभएको हो।”
अर्को युवकले मोबाइल अलि माथि उठायो।
“आमा, नवराज दाइ भिडियो कलमा हुनुहुन्छ।”
मोबाइलको पर्दामा नवराज र सन्ध्या देखिए। उनीहरूको बीचमा आदित्य पनि थियो।
“आमा, सारी पाउनुभयो?” नवराजले सोध्यो।
आशमाया मुस्कुराइन्। उनको मुखबाट शब्द निकाल्न कठिन भइरहेको थियो।
“पाएँ, बाबु।”
सन्ध्याले हात हल्लाइन्।
“आमा, लगाएर देखाउनुहोस् है।”
आशमायाले सन्ध्यातिर हेरिन्। ओठ हल्का खुले, तर स्वर निस्केन। उनले मुस्कुराउँदै टाउको हल्लाइन्। अनुहारमा थकान भए पनि आँखामा बालकजस्तै उत्सुकता थियो।
सारी बोकेको युवक खाटको नजिक आयो। उसले सारी दुवै हातले समातेर आशमायातिर बढायो।
“लिनुहोस्, आमा।”
आशमायाले हात उठाइन्। त्यसैबेला उनको औँलाले सारीको छेउ छोयो। अर्को क्षण उनको हात बिस्तारै लत्रियो।
“बुबा, बुबा! हेर्नुस् न, आमालाई के भयो!”
जमुना आत्तिएर चिच्याइन्।
सारी बोकेको युवकको हात त्यहीँ रोकियो। भिडियो खिचिरहेको युवकले केही क्षण मोबाइलतिर हेरिरह्यो। मोबाइल चालु नै थियो। दुवैले एकअर्कालाई हेरे। उनीहरूको मुखबाट केही शब्द निस्केन।
“दाइ...” भिडियो खिच्ने युवकको स्वर काँप्यो, “आजको यो दिन हामी जीवनभर बिर्सन सक्दैनौँ होला!”
सारी बोकेको युवकले गहिरो सास लिएर आँखाको कुनामा जम्मा भएको आँसु पुछ्यो।
“हामी त आमालाई खुसी बनाउन र नवराज दाइको चाहना पूरा भएको क्षण कैद गर्न भिडियो खिचिरहेका थियौँ...”
उसको स्वर त्यहीँ रोकियो।
दुवै युवक केही क्षण निःशब्द उभिरहे। उनीहरूले जीवनमा धेरै घरका ढोका देखेका थिए, धेरै मानिसलाई सामान पुर्याएका थिए। तर खुसीको एउटा सानो क्षण लिएर आएको दिन यसरी दुःखको साक्षी बन्नुपर्ला भन्ने उनीहरूले कहिल्यै सोचेका थिएनन्।
निर्भयले आशमायाको अनुहारतिर हेरे। उनले श्रीमतीको गाला बिस्तारै सुमसुम्याए। उनको रोदन मिसिएको अलि ठूलो स्वर मुखबाट बाहिरियो।
“जमुना, नचिच्याऊ। आमा मरेकी छैनन्। उनी त हाम्रो रोमरोममा बसेकी छन्।”
उनले एकछिन रोकिएर आशमायाको हाततिर हेरे।
“तर आदित्यलाई काखमा लिएर खेलाउने उनको रहरचाहिँ अधुरै रह्यो।”
निर्भयको स्वर कोठाभरि फैलियो। मोबाइलको स्पिकर खुलै थियो। अमेरिकाको अर्को छेउमा नवराज र सन्ध्याले त्यो वाक्य स्पष्ट सुनिरहेका थिए। उनीहरू केही बोल्न सकेनन्।
आदित्य उनीहरूकै छेउमा उभिएको थियो। नवराजले छोरातिर हेरे, अनि फेरि मोबाइलको पर्दातिर। सन्ध्याले आदित्यलाई बिस्तारै आफ्नो काखमा तानिन्।
नेपालतिर भिडियो खिचिरहेका युवकले केही क्षण मोबाइल समातिरह्यो। त्यसपछि बिस्तारै हात उठाएर क्यामेरा बन्द गर्यो।
कोठाभित्र एकाएक गहिरो शान्ति छायो।
बाहिर हावाको हल्का धक्काले पञ्चायनका बोटहरू हल्लिए। एउटा रातो फूल बोटबाट छुटेर भुइँमा झर्यो।
जमुनाले आशमायाको हातमाथि रहेको रातो बनारसी सारीतिर हेरिन्। केहीबेरअघि जसलाई लगाएर आदित्यलाई देखाउने रहर थियो, त्यही सारी अहिले उनको निश्चल हातमाथि फैलिएको थियो।
निर्भयले श्रीमतीको अनुहारतिर हेरे। श्रीमतीको हातमाथि रहेको रातो बनारसी सारी भने अझै चम्किरहेको थियो।
आँगनमा झरेको रातो पञ्चायनको फूलसँगै त्यो साँझ पनि बिस्तारै अँध्यारोमा विलाउँदै गयो।